काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिप्रति के कस्तो आउँला भन्ने आम चासो छ । मौद्रिक नीतिमा समावेश हुने मुलभुत विषय सार्वजनिक पनि भइसकेका छन् ।
मौद्रिक नीतिले कोरोना भाइरस संक्रमण सन्त्रासका कारण समस्या परेका ऋणीका लागि बम्पर प्याकेज र मर्जरमा वर्ग अनुसारको प्रोत्साहन दिने कार्यक्रम समावेश गरिएको छ । कोरोना भाइरस संक्रमण सन्त्रासको कारण थल परेको आफूहरुको पेशा, उद्योग तथा व्यवसाय उकास्न मौद्रिक नीतिले के कस्तो राहत कार्यक्रम ल्याउँला भन्ने प्रतिक्षा धेरैले गरेका छन् ।
बजेटले राहत प्याकेज खासै नल्याएको कारण धेरैको ध्यान मौद्रिक नीतितिर तानिएको हो । मौद्रिक नीतिले दिने राहत भनेको बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गरिसकेको र गर्ने कर्जा तिर्ने म्याद र व्याजमा हो । बजेटले जस्तो बृहत प्रकारको राहत प्याकेज ल्याउने ठाउँ मौद्रिक नीतिमा हुँदैन ।
तर, पनि मौद्रिक नीतिले के कस्तो राहत प्याकेज ल्याउला भन्ने चासो धेरैको देखिन्छ । आम चासो जस्तै गरी राष्ट्र बैंकले पनि सकेसम्म सबैका सुझाव समेट्ने प्रयास गरेको स्रोतले जानकारी दियो ।
‘बैंकर, सेयर लगानीकर्ता, बीमा, होटल, शिक्षा, उद्योगी, व्यापारी, पेशाकर्मीलगायत धेरैले सुझाव दिएका छन्, यो संकटको समयमा केही राहत मिल्ला भनेर नै हामीसम्म आइपुगेका त होलान् नि भनेर हामीले सुझाव दिने जति सवैको कम्तिमा पनि एउटा सुझाव समेट्ने गरी मौद्रिक नीति तयार पारेका छौं,’ स्रोतले भन्यो ।