काठमाडौं । दबारमार्ग, महाबौद्ध, असन, न्यूरोड, भोटाहिटी र ठमेलका व्यापारीलाई घरधनीले लकडाउनकै बीचमा फोन गरेर घरभाडा मागेको थिए । पसल खुल्न थालेपछि व्यापारीले पसल खोल्नुभन्दा पहिले नै आएर घरधनीहरुले भाडा माग्न थालेका छन् ।
व्यापारीहरुले लकडाउन अवधिभर पसल बन्द गरेर बसेका थिए । लकडाउनमा पसल बन्द गरेको व्यापरीहरुलाई घरधनीले फोन गरेर घरभाडा माग्ने गरेको थिए । तर, लकडाउनका कारण हातमुख जोर्नै समस्या परेको भन्दै केही दिनयता व्यापारीहरुले पसल खोल्न थालेका छन् ।
अढाइ महिनादेखि व्यापार बन्द भएपछि आफूहरु भोकै हुने अवस्था आएको व्यापारीहरु बताउछन् । लकडाउनभर पनि व्यापारीहरु पसलको भाडा कसरी तिर्ने भन्ने चिन्तामा परिरहेका थिए । व्यापार खोल्नुको बिकल्प नभएको भन्दै व्यापारीहरुले विस्तारै पसलहरु खोल्न सुरु गरका हुन् ।
तर पसल खोल्न आउदा भाडा माग्न घरधनी आएकाले पसलेहरु पसल नै छाड्ने अवस्थामा पुगिसकेको बताउछन् ।
नेपाल व्यापार संघका उपाध्यक्ष तथा चाहाना भोटाहिटी व्यापार संघका आजिवन सदस्य हरि गौतमले पसल खोल्ने बितिकै घरधनी भाड माग्न आएको बताए । अढाइ महिनादेखि व्यापार बन्द छ, त्यसैले पसल खोल्ने बितिकै भाडा दिने अवस्था नभएको भनेर घरधनीलाई जानकारी दिएको गौतमले बताए ।
धेरै पसलेहरु पसल खोले पनि घरधनीले भाडा माग्ने, व्यापार नहुने, कोरोनाबाट कसरी बचेर व्यापार गर्ने भनेर चिन्तामा रहेको उनको भनाइ छ ।
‘पहिले घरभाडा तिर, अनि मात्रै पसल खोल भनेर घरधनीले भनिरहेका छन्, व्यापार भएर कमाएको पैसा पनि लकडाउनको समयमा बसेर खादा सकिएको छ, व्यापारीहरु नै भोकै हुने अवस्थामा आइसकेका छन्, यो बेला घरधनीलाई भाडा दिन सकिने अवस्था नै छैन्’, गौतमले भने ।
धेरै व्यापारीहरुलाई घरधनीहरुले पहिले भाडा तिर, अनि मात्रै पसल खोल भनेर भनेकोले अब के गर्ने भनेर आफूलाई फोन गर्ने गरेका उनले सुनाए । सबै घरधनीलाई सम्झाउन सकिने अवस्था नरहेको भन्दै उनले यस्तो बेलामा पनि संघीय सरकार, प्रदेश सरकार वा स्थानीय तहले समस्या समाधानको लागि कुनै पहल नगरेको गुनासो गरे ।
व्यापारीहरुले स्थानीय तहसगँ बसेर पनि आफूहरुका समस्याका बारेमा जानकारी गराएका थिए । तर खासै पहल नभएको उनको गुनासो छ ।
‘लामो समयदेखि व्यापारमा लागेका साथीहरुले अब यो क्षेत्रमा आफ्नो भविष्य देख्न छोडिसके, अब कहाँ जाने, के गर्ने भनेर चिन्ता थपिएको छ, बैंक ऋणको व्याज, सरकारलाई कर, कर्मचारीलाई तलब घरधनीलाई घरभाडाको नै सबै भन्दा ठूलो समस्या भएको छ,’ उनले थपे ।
गौतमको पनि पसलको भाडा १ लाख ८० हजार रुपैयाँ तिर्न बाँकी भइसकेको छ । उनले भोटाहिटीमा मासिक ६० हजार भाडा तिरेर रेडिमेट पेन्सी पसल सञ्चालन गरिरहेका छन् ।
खिचापोखरी न्युरोड व्यापार संघका अध्यक्ष गणेशकुमार न्यौपानेले पसल खोले पनि व्यापार नभएको बताए । सावर्जनिक सवारी साधन सञ्चालन नहुने बेलासम्म मान्छे नै नहुन भन्दै उनले मान्छे नभए पछि व्यापार पनि नहुने र यसैकारण व्यापारी समस्यामा परेको बताए ।
‘उपत्यकामा मान्छेको चहलपहल नै छैन, अहिले होलसेल मात्रै खेलेका हुने, स्थानीय सरकारले पनि केही नयाँ निर्णय आउछ भनेको छ, बिहान ८ बजेदेखि ११ बजेसम्म मात्रै पसल खोलेर के गर्नु, सामान किन्न मानिस हिडेर आउन सक्ने अवस्था नै छैन,’ न्यौपानेले भने ।
पिपुल प्लाजा व्यापार संघका अध्यक्ष युवराज चापागाईले खुद्रा पसलहरु सञ्चालन भएपछि मात्रै व्यापार सुरु हुने बताए । अहिले खुलेका पसलहरु पनि सफा गर्ने, मुसा र चिसोबाट जोगाउने काम मात्रै भैरहेको उनको भनाइ छ ।
‘अहिले पसल खुलेको उपभोक्तालाई जानकारी मात्रै हो, हिडेर आएर सामान किन्ने अवस्था नै छैन, व्यापार राम्रो हुनका लागि केही समय लाग्छ, हामी पनि अब पर्ख र हेरको अवस्थामा छौं,’ चापागाईले भने ।
काठमाडौंको व्यापारिक केन्द्र दबारमार्ग, महाबौद्ध, असन, न्यूरोड र ठमेललगायतका व्यापारीहरुको सगंठले धेरै पटक व्यापारीको समस्या सरकारलाई सुनाउने प्रयास गरे । तर सरकारले भने व्यापारीहरुको कुरा नै सुन्न नचाहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए ।
अरुबेला उपत्यका र उपत्यका बहिरका व्यापारी आएर भरिभराउ हुने ठमेलमा दबारमार्ग, न्युरोड अहिले सुनसान जस्तै नै छ । पसल खुले पनि व्यापार नभएको व्यापरीहरु बताउछन् ।
किनमेल गर्नेको सधैं भीड रहने देशभरिकै अति व्यस्त सहरहरु पनि अहिले धेरै बन्द छन् । खुलेका पसल पनि घरधनीदेखि सरकारसम्मले दुःख दिएको व्यापारी बताउँछन् । सरकारले कर तिर भनिरहेको तथा घरधनीले भाडा मागिरहेका व्यापारीको गुनासो छ ।
व्यापारीहरुले सामान चीनबाट सोझै आयात गर्ने गरेका थिए । काठमाडौं उपत्यकाका विभिन्न स्थानका साथै बाहिरी जिल्लाका खुद्रा बिक्रेताले हारालुछ गरेर सामान लाने गरेका थिए । भीड कहिल्यै नघट्ने दबारमार्ग, न्युरोड, ठमेल, महाबौद्धका लगायतका बजार यतिबेला सुनसान देखिन्छन् ।
लत्ताकपडा, जुत्ता, मोबाइल र कम्प्युटर लगायतका विभिन्न वस्तुको प्रमुख बजारको रुपमा रहेको महाबौद्ध, असन, न्यूरोड र ठमेलमा लगायतका क्षेत्रमा हुने सामान बिक्री र छहलपहल शुन्य नै छ । धेरैजसो व्यस्त रहने काठमाडौंका व्यापारिक कम्प्लेक्स शून्य देखिएका छन् ।
न्यूरोडका इलेक्टीक सामानका व्यापारी महेन्द्र चित्रकार विहान ८ बजेदेखि ११ बजेसम्म पसल खोलेर बसे पनि व्यापार नै नहुने गरेको बताउछन् । उनका हजुरबाको पालादेखि पसल सञ्चालन गरेको उनी बताउछन् । करिब ३ महिन पसल बन्द भएपछि खुले पनि व्यापार नभएको उनको भनाइ छ ।
महाबौद्धका कपडा व्यापारी रमेश लामिछानेको पनि पसल खोले पनि सटर भाडा कसरी तिर्ने भन्ने चिन्ता छ । लकडाउनकै समयमा पसल खुले पनि व्यापार नभएको र कहिलेदेखि व्यापार राम्रो हुने हो भनेर उनले अनुमान लगाउन सकेका छैनन् ।
लकडाउन कहिले खुल्छ भन्ने अझै यकिन भएको छैन । लकडाउन नखुली व्यापार नहुने व्यापारीहरुको भनाइ छ । व्यापारी केन्द्रहरुका घर भाडा नै महिनाको ३ लाख रुपैयाँभन्दा बढी छ । समस्या परेको बेलामा सरकारले सहयोग गर्छ कि भन्ने आसा व्यापारीहरुको थियो ।
व्यापार बन्द हुदा धेरै समस्या परेको भन्दै काठमाडौंका व्यवसायीहरुले २१ जेठ बिहीबारदेखि बिहान ११ बजेसम्म पसल र व्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरेका थिए । सरकार पनि व्यवासायीको निर्णयमा शान्त बस्यो ।
सरकारले गरेको लकडाउन नमान्दै पसलहरु खुला भए पनि नेपाल सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता अपनाएर पसल सञ्चालग भैरहेको व्यापारीहरुको भनाइ छ ।
सम्बन्धित सामग्री