तनावमा साना व्यवसायीः न रातमा निद्रा लाग्छ नत दिनमा भोक !

  २०७७ जेठ २२ गते १३:२९     राजाराम न्याैपाने

काठमाडौं । आजभन्दा ६ महिना अगाडि हेटौंडा घर भएकी सरिता दाहालले काठमाडौंको कलंकीमा ८ लाख रुपैयाँमा एउटा कपडा पसल खरिद गरिन् । तीन महिना अघिसम्म सो पसल राम्रैसँग चलेको थियो । ८ लाख रुपैयाँ बैंकबाट ऋण लिएर सञ्चालन गरेको सो पसलको भाडा, छोरीको पढाई खर्च र घर खर्च पनि राम्रैसँग चलाइरहेकी थिइन् सरिताले ।

तर, तीन महिना बित्न नपाउँदै सरिताले आफ्नो पसल अनिश्चितका लागि बन्द गर्नु पर्यो । चैत ११ गतेदेखि देशमा लकडाउन सुरु भएपछि मानिसको आवतजावतदेखि सम्पूर्ण व्यापार व्यवसायहरु पनि बन्द भए । त्यही अवस्थामा सरिताले पनि आफ्नाे पसल बन्द गर्न पुगिन् ।

सरितालाई लागेको थिएन कि यो लकडाउन यतिका दिनसम्म रहन्छ भनेर । तर, उनी र उनी जस्ता लाखौं व्यवसायीहरुका कमाइ खाने भाँडो (व्यापार व्यवसाय) बन्द भएपछि अब के खाने भन्ने चिन्ताले पिरोल्न थालेको छ ।

बैंकबाट लिएको ८ लाख रुपैयाँको व्याज तिर्नुपर्ने, कपडा पसलको भाडा तिर्नुपर्ने, अनि छोरी र घर खर्च पनि चलाउनु पर्ने । अब यो सब कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले उनलाई साह्रै सताउन थालेको छ ।

उनी भन्छन्, ‘ऋण लिएको पैंसाले धेरै समस्या पारेको छ, पसल बन्द भएपछि कसरी ऋण तिर्ने भनेर चिन्ता परेको छ, पसलमा श्रीमान र मैले नै व्यापार गर्ने गरेका थियौं, एउटा छोरीलाई पनि त्यही पसलको कमाइबाट पढाउने भनेर काठमाडौं आएका थियाैं, अब के गर्ने भन्ने चिन्ताले साह्रै पिरोल्न थालेको छ ।’

‘दिनमा ३० हजार जतिको व्यापार हुन्थ्यो, त्यसबाट व्याज र परिवार चलेको थियो, अहिले त्यो बाटो बन्द भयो ।’ उनले भनिन् ।

देशव्यापी रुपमा निरन्तर बढिरहेको लकडाउनको कारण दिनभरी व्यापार व्यवसाय गरेर खाने साना व्यवसायीहरु साह्रै मारमा परेका छन् । सीमित रकम बैंकबाट ऋण लिएर सानो व्यवसाय सुरु गरेका उनीहरुलाई एकातर्फ बैंकको व्याज तिर्ने चिन्ता छ भने अर्को तर्फ पसलको भाडा र घर खर्च चलाउने तनाव छ ।

लामो सपना बोकेर काठमाडौंमा आई सानो तिनो व्यापार व्यवसाय सुरु गरेका उनीहरुलाई अहिले घरबेटीको भाडा दिनु पर्ने कचकच, बैंकबाट व्याज तिर्नु पर्यो भनेर आउने दैनिक फोन र छोराछोरीको विद्यालयबाट आउने फोनले पनि वाक्कदिक्क बनाइरहेको छ ।

कतिपयले त राति निद्राल नै नलागेर सुत्ने औषधि खाएर सुत्ने गरेको गुनासो विकासन्युजसँग गरे । आज लकडाउनको ७३ दिन पुगेको छ । काठमाडौंको कलंकीमै कपडा पसल सञ्चालन गर्दै आएका सुजन घिमिरेले पनि पसल बन्द गरेका ७३ दिन पुगिसक्यो । तर, उनको पसल खोल्ने भने कुनै सुरसार नै छैन ।

१० वर्ष पहिले देखि कलंकीमा कपडा पसल गरेर ४ जना परिवारको घर खर्च चलाउँदै आएका सुजन चैत ११ गतेदेखि घरभित्रै छन् । उनको पनि सरिताको जस्तै हाल छ । चैत १० गते ५४ हजारको व्यापार गरेको थिएँ, पसलमा आउने ग्राहकले भोलिबाट पसल बन्द हुन्छ भन्थे, तर उनीहरुले सस्तोमा कपडा दिन्छ कि भनेर भनेको होला भन्ने सोचेको उनी बताउँछन् ।

बेलुका कोठामा गएर समाचार हेर्दा भोलिबाट लकडाउन भनेर थाहा पाएको उनी बताउँछन् । त्यसपछि निरन्तर चिन्ता बढ्न थालेको उनले बताए । दैनिक ४०/५० हजारको व्यापार गरेर घरपरिवार चलाइरहेका सुजनलाई जति लकडाउन बढ्दै गयो घरायसी चिन्ता पनि थपिँदै गयो ।

‘घरधनीहरुले घरको र सटरको भाडाहरु माग्न थाले, लकडाउन भएकोले व्यापार खुलेपछि व्यापार गरेर भाडा दिन्छु भनेर घरधनीलाई सान्त्वना गरेको उनी बताउँछन् ।

‘व्यापारबाट दिनमा ८/१० हजार कमाइ थियो, र त्यही कमाइबाट बुटवलमा एउटा घडेरी जोडेको थिएँ, अब त्यो नै बेच्नु पर्ने अवस्था आइसक्यो, पसल र घरको गरी महिनाको ६० हजार भाडा तिर्नु पर्छ, गाउँमा गएर खेती गरौं भने पनि जग्गा छैन्, अब पसल खोल्नुको बिकल्प नै छैन्,’ घिमिरेले भने ।

यस्तै, कलंकीमै गोकुल खाजा घर नाम दिएर व्यापार व्यवसाय गर्दै आएका गोकुल लामा पनि अहिले तनावमा छन् । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसभन्दा पनि घर खर्च कसरी चलाउने, भाडा कसरी तिर्ने भन्ने चिन्ताले आफुलाई सताउन थालेको उनी बताउँछन् ।

लकडाउन हुनु भन्दा पहिले चिया, खाजा तथा खाना लगायत बिक्री गरेर दिनमा ८/१० हजारको व्यापार हुने गरेको बताउँदे उनले अहलिे छोरीको पढाई खर्च, कोठा भाडा कसरी तिर्ने भन्ने तनावले पिरोल्न थालेको उनले बताए ।

‘सरकारले भाडा छुट दिन्छ भनेर हल्ला हुँदा धेरै खुशी लागेको थियो, तर पछि सरकारले घरभाडाको विषयमा बोल्नै छाड्यो, घरधनीले पनि सरकारले भनेर हुन्छ ? सरकारको घर होर भन्न थाले, समस्या हामीलाई नै छ,’ उनले भने ।

रोगले भन्दा पनि भोकले मरिने होकी भन्ने चिन्ता पनि हुन थालेको उनको भनाई छ । यी त केही प्रतिनिधि पात्रहरु मात्र हुुन् । यसरी दुरदराजबाट ठूलो सपना बोकेर काठमाडौंमा सानो व्यापार व्यवसाय सुरु गर्दै आएका मानिसहरु लाखौं छन् । अहिले लकडाउनको समयमा ती सबैको समस्या एउटै छ। हिजोको दिनमा त्यही व्यवसायबाट घर खर्च र भाडा तिर्दै आएका उनीहरु अहिले ठूलो समस्यामा परेका छन् ।

आफुहरुलाई कोराना भाइरसको संक्रमणभन्दा पनि भोकले मरिने होकी भन्ने चिन्ता बढ्न थालेको उनीहरू बताउँछन् । दिनभरी व्यापार गरेर घरखर्च चलाउने उनीहरुको व्यापार विगत तीन महिनादेखि बन्द हुँदा अब के गर्ने कस्तो गर्ने भन्ने अवस्थामा उनीहरु पुगिसकेका छन् ।

सरकारले यी साना व्यवसायीहरु मात्र नभई सम्पूर्ण नागरिकको जीवन सहज र यस्तो किसिमको तनाव सिर्जना नगर्नको लागि उचित व्यवस्थापन गर्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.