काठमाडौं, ११ माघ । नेपाल उद्योग परिसंघ नयाँ नेतृत्व नेतृत्व चयन प्रक्रियामा जुटेको छ । परिसंघले फागुन २० र २१ गते १३ औ साधारणसभा आयोजना गर्दैछ । सो साधारणसभाले राष्ट्रिय परिषद् (गभर्निङ काउन्सिल), चार जना उपाध्यक्षसहित नयाँ नेतृत्व चयन गर्नेछ । विधानअनुरा वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्मा परिसंघको अध्यक्ष निर्वाचित हुनेछन् । विनोद चौधरीको नेतृत्वमा स्थापना भएको परिसंघमा शर्मा तेस्रो अध्यक्ष हुदैछन् ।
परिसंघको विधानमा वरिष्ठ उपाध्यक्षलाई सर्वसहमतिमा अध्यक्ष बनाउने व्यवस्था गरिएकोछ । निर्वाचन समितिले जनाएअनुसार परिसंघमा संस्थापक सदस्यहरु (आजीवन समेत) मध्येबाट १३ जना, प्रतिष्ठानगत सदस्यहरु (आजिवन समेत) मध्येवाट १२ जना र संस्थागत सदस्यहरु (आजिवन समेत) मध्येवाट ३ जना गरि जम्मा २८ जनाको राष्ट्रिय परिषद सदस्यहरुको निर्वाचन हुँदैछ । गभर्निङ काउन्सिल र उपाध्यक्षहरुको भने निर्वाचत हुनेछ । गभर्निङ काउन्सिलले पछि वरिष्ठ उपाध्यक्ष चयन गर्ने परिसंघको विधानमा उल्लेख छ ।
परिसंघको साधारणसभा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन कार्यक्रम ह्यात होटलमा हुने र बन्दसत्र तथा निर्वाचनका कार्यक्रम परिसंघको कार्यलय रहेको थापाथलीस्थीत ट्रेड टावरमा हुने परिसंघले जनाएको छ । परिषद्को सदस्यमा उम्मेदवारी दर्ता गर्न ५० हजार रुपैयाँ लाग्नेछ । हाल परिसंघको व्यक्ति तथा कम्पनी गरी करिव १५० सदस्य रहेको स्रोतले बतायो ।
