काठमाडौं, ११ फागुन । १० ओटा ब्रोकर मिलेर नयाँ निक्षेप सदस्य कम्पनी (डिपी) स्थापनाको पहल अगाडि बढेको छ । एक भन्दा बढी सेयर दलाल ब्यवसायी (ब्रोकर) मिलेर नयाँ डिपी कम्पनी खोल्न धितोपत्र वोर्डले बाटो खुल्ला गरेसँगै यस्तो पहल भएको हो । नयाँ कम्पनी स्थापनाको लागि कम्पनी रजिष्टार कार्यालयको प्रक्रिया पूरा गरिसकिएको ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष अन्जनराज पौडेलले जानकारी दिए । नयाँ कम्पनी स्थापनाको लागि १० ब्रोकर कम्पनीले सवै कम्पनीले बराबर सेयर लगानी गर्ने भएका हुन् ।
‘नयाँ डिपी स्थापनाको लागि कम्पनी रजिष्टारको कार्यालयको प्रारम्भिक काम सकिएको छ, धितोपत्र वोर्डले राय दिने वित्तीकै कम्पनी दर्ता हुन्छ र हामी काम सुरु गर्छाैं,’ थ्राइभ ब्रोकरेज हाउस (ब्रोकर नम्बर १३) का संचालक समेत रहेका पूर्वअध्यक्ष पौडेलले भने ।
नयाँ कम्पनीको नाम डिपी एण्ड क्लियरिङ हाउस लिमिटेड प्रस्ताव गरिएको छ । कम्पनीको चुक्ता पूजी १ करोड ५० लाख रुपैयाँ राख्ने तय भएको छ । नियामक निकाय धितोपत्र वोर्ड अनुमति दिएमा यस्तो कम्पनीले पोर्टफोलियो म्यानेजमेन्टदेखि पूजी बजार सम्बन्धित अन्य काम पनि गर्ने सोच बनाएको बताइएको छ ।
कम्पनी संचालनको अनुमति पाउने वित्तिकै कम्पनीको लागि प्रमुख कार्यकारी अधिकृतदेखि लिएर अन्य कर्मचारीसमेतको ब्यवस्थापन गरिहाल्ने तयारी कम्पनीको छ । कम्पनीको कार्यालय स्थापनाको लागि केही स्थानमा भवन समेत हेर्ने कार्य भएको पौडेलले जानकारी दिए ।
पब्लिक कम्पनी दर्ता गर्न लागिएको हो । धितोपत्र वोर्डले अनुमति दिएमा यस्तो कम्पनीको सेयर सर्वसाधारणलाई पनि विक्री गरिने गरी कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा ब्यवस्था गरिएको बताइएको छ । धितोपत्र वोर्डले केही साता अगाडि मात्रै एकभन्दा बढी ब्रोकर मिलेर नयाँ कम्पनी स्थापना गरी आएमा नयाँ डिपीको लागि अनुमति दिन सकिने नीतिगत ब्यवस्था गरेको थियो ।
नयाँ कम्पनीको संस्थापक सेयरधनीमा कुमारी सेक्युरिटिज, जेएफ सेक्युरिटिज, प्रज्ञान सेक्युरिटिज, मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ कम्पनी, थ्राइभ ब्रोकरेज हाउस, नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज ट्रेडिङ, मिदास स्टक ब्रोकिङ कम्पनी, निभ सेक्युरिटिज, सिप्रबी सेक्युरिटिज र स्वेता सेक्युरिटिज रहेका छन् । धितोपत्र वोर्डका अधिकारीहरुले पनि यस्तो कम्पनीलाई तत्काल अनुमति दिने बताउदै आएका छन् ।
