हिमालयन डिष्टिलरीमा बाबुछोराको सेयर ७५ प्रतिशत, सञ्चालक समिति कठपूतली, कम्पनी नोक्सानमा, ३६ सय सेयरधनीको हितमा कसले बोलिदिने ?

<p>काठमाडौं, ६ फागुन । २०४२ साल साउन ९ गते स्थापना भएको हिमालयन डिस्टिलरी २०५७ सालमा पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भयो । नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत २४० कम्पनी मध्ये मदिरा (रक्सी) उत्पादन गर्ने एक मात्र कम्पनी हो हिमालयन डिष्टिलरी । यो कम्पनीमा हाल ३ हजार ९ सय ६२ व्यक्ति तथा कम्पनी सेयरधनी छन् । भनिन्छ नेपालमा [&hellip;]</p>

काठमाडौं, ६ फागुन । २०४२ साल साउन ९ गते स्थापना भएको हिमालयन डिस्टिलरी २०५७ सालमा पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भयो । नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत २४० कम्पनी मध्ये मदिरा (रक्सी) उत्पादन गर्ने एक मात्र कम्पनी हो हिमालयन डिष्टिलरी । यो कम्पनीमा हाल ३ हजार ९ सय ६२ व्यक्ति तथा कम्पनी सेयरधनी छन् ।

भनिन्छ नेपालमा प्रतिपोका २० रुपैयाँ पर्ने रक्सी उत्पादन गरे पनि, प्रतिबोटल २ लाख पर्ने रक्सी उत्पादन गरेपनि बिक्री हुन्छ । जस्तो रक्सी उत्पादन गरेपनि उत्पादक कम्पनीहरुले नाफा कमाउँछन ।

bikashnews.com

तर हिमालयन डिष्टिलरीको कथा भने वेग्लै छ । सर्वसाधारणले लगानी गर्नुपूर्व यो कम्पनी संधै नाफामा थियो । सर्वसाधारणले सेयर किनेपछि लगातार १४ वर्ष नोक्सानमा गयो । १५ औ र १६ औं वर्ष सेयरधनीलाई केही नाफा वितरण गर्यो । चालु आर्थिक वर्ष फेरी कम्पनी नोक्सानमा देखाईएको छ । ६ महिनमा कम्पनी ५ करोड २८ लाख नोक्सानमा गएको वित्तीय विवरण सार्वजनिक भएको छ ।

कसरी गयो कम्पनी घाटामा ? कसरी चलेको छ यो कम्पनी ? को हुन् यसका वास्तविक मालिक ? कम्पनीमा संस्थागत सुशासन कस्तो छ ? विकासन्यूजले खोज गर्दा अनौठा तथ्यहरु भेटिएका छन् ।

यस रिपोर्टमा सेयरधनी र सञ्चालक समितिको बारेमा केही तथ्यहरु सार्वजनिक गर्दैछौं ।

धितोपत्र सम्बन्धि कानुन र नियम अनुसार नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत हुने कम्पनीहरुले आफ्नो वार्षिक प्रतिवेदनमा शून्य दशमलव ५ प्रतिशत भन्दा बढी स्वामित्व धारण गर्नेहरुको नाम सार्वजनिक गुर्नपर्छ । सूचिकृत प्रया सबैं कम्पनीहरुले यसको पालना गरेका छन् । तर हिमालयन डिष्टिलरीले उक्त कानुनी व्यवस्था लत्याउदै आएको भेटियो ।

विकास मिडियाले हिमालयन डिष्टिलरीका मुख्य सेयरधनीको सूचि माग गर्दा कम्पनीले यस्तो जवाफ दियो ।

rti

जवाफ नदिनुको रहस्य त्यतिबेला पत्तालग्यो जतिबेला विकासन्यूजले सम्बन्धित स्रोतबाट कम्पनी कुल सेयर ३८ लाख ५६ हजार ४५५ कित्ता धारण गर्ने ३ हजार ९६२ व्यक्ति तथा कम्पनीको सूचि प्राप्त गर्यो । पब्लिक कम्पनी भएपनि यो कम्पनी पुरै पारिवारिक भएको, एउटा व्यक्तिले चलाएको र सबै काम एउटा व्यक्तिको स्वार्थमा हुने गरेको तथ्यहरु सेयरधनीको सूचि, सञ्चालक समितिको संरचना र सञ्चालकहरुको हैसियतले प्रष्ट पारेको छ ।

यो कम्पनीमा ७५ प्रतिशत सेयर विजय बहादुर शाह (उनले व्यापार थाल्दा देखि अहिलेसम्म तीन पटक नाम फेरेको भेटिएको छ । कही विजय कुमार शाह लेखिएको छ, कही विजय बहादुर शाह लेखिएको छ, कही विजय कुमार गुप्ता लेखिएको भेटिएको छ ।) र उनको छोरा राजबहादुर शाहको नाममा रहेको छ ।

शाह परिवारको नाममा मात्र २८ लाख ९९ हजार ३६५ कित्ता सेयर छ । यो कुल सेयरको करिव ७५ दशमलव १८ प्रतिशत हो ।

त्यसमा राजवहादुर शाहको नाममा २२ लाख ७० हजार ४ सय कित्ता सेयर रहेको छ भने विजय बहादुरको निजी कम्पनी डिष्टिलरीज् रिसर्ज सेन्टर प्रा लिको नाममा ६ लाख २८ हजार ९६५ कित्ता सेयर छ ।

कम्पनीको अध्यक्षमा श्रीमती मारग्रेट टि.जे. शाह छिन् । उनी विजय शाहकी श्रीमती हुन् । विजयका छोरा राजबहादुर सञ्चलक समितिमा सदस्यको साथै प्रबन्ध निर्देशकको हैसियतमा कार्यकारी प्रमुख छन् । यसरी कम्पनीको अध्यक्ष आफ्नो श्रीमतीलाई र कम्पनीको कार्यकारी प्रमुख छोरालाई राखेर विजय शाह सञ्चालक समिति बाहिर बसेको छन् ।

himalayan_distillary
यसअघि कम्पनीका प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गर्दै आएका पंकजराज श्रेष्ठलाई शाह परिवारले हालै मात्र स्याक गरिसकेको छ । मासिक करिब ४ लाख रुपैयाँ तलव खादै कम्पनीको कार्यकारी प्रमुखको हैसियतमा राजबहादुर अगाडि आएका छन् ।

हिमालयन डिष्टिलरीलाई लाईसेन्स दिने बेलामा उद्योग मन्त्रालयमा सहसचिव रहेको नरेन्द्र कुमार बस्न्यात लामो समयदेखि उक्त कम्पनीमा सञ्चालक छन् । उनीसँग २५ सय कित्ता सेयर छ । नेपाल उद्योग परिसंघको अध्यक्ष समेत रहेका बस्न्यातले हिमालयन डिष्टिलरीमा शाह परिवारको ‘एसम्यान’का रुपमा काम गर्दै आएका छन् । खासगरी सरकारी निकायमा काम लिने समयमा शाह परिवारले बस्न्यातलाई प्रयोग गर्दै आएको छ ।

अर्का सञ्चालक अखिलेशप्रसाद सिंहसँग १६ हजार कित्ता सेयर छ । उनी यो कम्पनीका प्रवद्र्धक हुन् । उनी शाह परिवारका नातेदार हुन् ।

सञ्चालक समितिमा एक जना विनोद श्रेष्ठ छन् । विनोद श्रेष्ठ नाम गरेका दुई जना सेयरधनी देखिन्छन् । नाम एउटै भए पनि उनीहरु फरक व्यक्ति हुन् । सेयरधनीको बुबाको नाम र ठेगाना मिल्दैन । एउटा विनोदसँग २ हजार कित्ता र अर्को विनोदसँग १० हजार कित्ता सेयर छ ।

सर्वसाधारण समूहबाट निर्वाचित तीन जना सञ्चालन छन् । उनीहरु पनि शाह परिवारले बनाएको कठपूतली सञ्चालक भएको तथ्य उनीहरुले धारण गरेको सेयर संख्याबाट प्रष्ट देखिन्छ ।

तिनै जनासँग प्रतिव्यक्ति ११० कित्ता सेयर छ् । सञ्चालक सान्टु श्रेष्ठको नाममा ११० कित्ता सेयर छ । उनी काठमाडौं निवासी हुन् । सञ्चालक परिमल झाको नाममा पनि ११० कित्ता मात्र सेयर छ । उनी सप्तरीबासी हुन् । अर्का सञ्चालक शंकरराज पाण्डेको स्वामित्वमा पनि ११० कित्ता सेयर छ । उनी मध्यबानेश्वर निवासी हुन् । एक पटक ११ हजार रुपैयाँ लगानी गरेर कम्पनीको सञ्चालक बन्ने र प्रति बैठक १० हजार रुपैयाँ भत्ता पाउने, उपसमितिहरुमा रहेर भत्ता खान पाउने भएकोले उनीहरुका लागि यो भन्दा राम्रो अर्को कुनै कम्पनी नपाईएला ।

पारसमणी घिमिरे कम्पनीका स्वतन्त्र सञ्चालक छन् । बैठकमा उपस्थिति हुनु, शाह परिवारको प्रस्तावलाई अनुमोदन गर्न माइन्यूटमा सहि गर्नु, लञ्च खानु र भत्ता बुझ्नु बाहेक उनको पनि अरु कुनै भूमिका नभएको स्रोतले बतायो ।

सर्वसाधारणसँग ५ कित्ता र १० कित्ता सेयर

यो कम्पनीको सेयरलगानी गर्ने ३ हजार भन्दा बढी सेयरधनीसँग ५ कित्ता र १० कित्ता मात्र सेयर छ । १०० कित्ता भन्दा कम सेयर धारण गर्ने ३ हजार ५ सय ६८ सेयरधनीको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस ।

एकसय कित्ता भन्दा बढी सेयर हुने व्यक्ति तथा सस्था करिव २७५ छन् । एकहजार कित्ता भन्दा बढी सेयर धारण गर्ने व्यक्ति करिव २५ जना मात्र छन् । १०० कित्ता भन्दा बढी सेयर धारण गर्ने ३ सय ९२ सेयरधनीको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस ।

विजयबहादुर शाह

विजयबहादुर शाह

आफूलाई मदिरा बजारको वादशाहको रुपमा प्रचार गर्ने विजयबहादुर शाह हिमालयन डिष्टिलरी पब्लिक कम्पनी भएको, ४ हजार सेयरधनी भएको, प्रोफेशनलहरुले चलाएको, पारदर्शि भएको दावी गर्छन । तर साना र छरिएर रहेका सेयरधनीलाई कम्पनीले पुरै वेवास्ता गरेको र कम्पनी शाह परिवारले मनोमानी ढंगले चलाएको साना सेयरधनीको गुनासो छ ।

Share News