
काठमाडौं । गण्डकी विकास बैंकले सरकारले स्थापना गरेको राहत कोषमा ३० लाख रुपैयाँ जम्मा गर्ने भएको छ । विकास बैंकले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा प्रभावितहरुलाई राहात स्वरुप उक्त रकम सहयोग गर्ने भएको हो ।
बैंकका अध्यक्ष सुशिल गौचन, सञ्चालक किशोर ओझा र प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाले बिहीबार गण्डकी प्रदेशका मूख्यमन्त्री माननीय पृथ्वीसुब्बा गुरुङको कार्यकक्षमै पुगी संकटको यस घडिमा बैंकले गर्नसक्ने सहयोग सम्बन्धमा छलफल गरेका थिए ।
उक्त अवसरमा गण्डकी विकास बैंकको तर्फवाट गण्डकी प्रदेशले स्थापना गरेको राहत कोषका लागि बैंकका अध्यक्ष सुशिल गौचनवाट गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वीसुब्बा गुरुङलाई ६ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । गण्डकी प्रदेश बाहेकका बाँकी ६ वटै प्रदेशलाई प्रति प्रदेश ४ लाख रुपैयाँको दरले २४ लाख रुपैयाँ छिट्टै हस्तान्तरण गरिने जनाइएको छ ।