इन्भेष्टमेन्ट कम्पनीको लगानी र लगानीकर्ता खोजी गर्दै धितोपत्र वोर्ड, पूजी बजारमा शंकास्पद लगानी गरेको अनुमान

<p>काठमाडौं, ६ फागुन । इन्भेष्ट कम्पनी मार्फत पूजी बजारमा हुने लगानी शंकास्पद देखिएपछि धितोपत्र बोर्डले अनुसन्धान थालेको छ । यस्ता कम्पनीमा भएको लगानी तथा त्यस्ता कम्पनी मार्फत हुने लगानीको विषयमा कुनै पनि नियामक निकायले खोजी नगरेपछि कारोवारप्रति शंका गर्दै बोर्डले अनुसन्धान थालेको हो । बोर्डले पहिलो चरणमा विवरण संकलन गरिरहेको छ । नेपाल स्टक एक्सचेन्ज [&hellip;]</p>

काठमाडौं, ६ फागुन । इन्भेष्ट कम्पनी मार्फत पूजी बजारमा हुने लगानी शंकास्पद देखिएपछि धितोपत्र बोर्डले अनुसन्धान थालेको छ । यस्ता कम्पनीमा भएको लगानी तथा त्यस्ता कम्पनी मार्फत हुने लगानीको विषयमा कुनै पनि नियामक निकायले खोजी नगरेपछि कारोवारप्रति शंका गर्दै बोर्डले अनुसन्धान थालेको हो ।

बोर्डले पहिलो चरणमा विवरण संकलन गरिरहेको छ । नेपाल स्टक एक्सचेन्ज र ब्रोकर कम्पनी मार्फत विवरण संकलन गरेर अध्ययन थालिएको बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले जानकारी दिए ।

‘हामीले नेपाल स्टक एक्सचेन्जसँग सन् २००७ देखि इन्भेष्टमेन्ट कम्पनीले गरेको कारोवारको विवरण र ब्रोकरहरुसँग यस्ता कम्पनीको लगानी र लगानीकर्ताको विवरण मागेका छौं, यस्तो विवरण प्राप्त भएपछि उनीहरुको लगानीका विषयमा आवश्यक देखिए थप अनुसन्धान हुन्छ,’ बोर्डका अध्यक्ष डा. कार्कीले भने ।

ब्रोकरले सेयर कारोवार गर्दा ‘नो योर कष्टुमर’ (केवाइसी¬) फर्म अनिवार्य रुपमा भर्नुपर्ने भएकोले उनीहरुसँग विवरण हुने आधारमा बोर्डले ब्रेकरसँग लगानी र लगानीकर्ताको विवरण मागेको हो ।

इन्भेष्टमेन्ट कम्पनीमा हुने लगानी र त्यस्ता कम्पनीबाट पूजी बजारमा हुने लगानीका विषयमा अहिलेसम्म नियमन र सुपरिवेक्षण हुने गरेको छैन । कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी दर्ता गरेर पछि पूजी बजारमा जतिपनि लगानी गर्न पाउने अवस्था छ ।

यस्ता कम्पनीमा अदृश्य रुपमा सरकारी अधिकारीहरुको लगानी भएको हुन सक्ने शंका बोर्डको छ । त्यस्ता अधिकारीले सुचनाको दुरुपयोग गरी कारोवार गरिरहेको पनि हुन सक्ने भन्दै बोर्डले अनुसन्धान थालेको हो ।

इन्भेष्टमेन्ट कम्पनीमा लगानीकर्ताले आफ्नो आम्दानीको स्रोत देखाउनु पर्दैन । यही सुविधा प्रयोग गर्दै केही शंकास्पद लगानी पनि भएको हुन सक्ने शंका बोर्डले गरेको छ । इन्भेष्टमेन्ट कम्पनीको नाममा पूजी बजारमा बर्सेनि अर्बाै रुपैयाँ बराबरको कारोवार हुने गरेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ ।

अहिले अदृश्य रुपमा बैंक तथा वित्तीय संस्थाले इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्ने र त्यसै मार्फत पूजी बजारमा लगानी गर्ने गरेको शंका बोर्डको छ । यस्तै अधिकांश सहकारी संस्थाहरुले पनि इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेर त्यसै मार्फत सेयर कारोवार गर्ने गरेका छन् । जलविद्युत आयोजना निर्माताले पनि इन्भेष्टमेन्ट कम्पनी मार्फत सेयर बजारमा कारोवार गर्ने गरेका नेप्सेको भनाइ छ ।

Share News