
काठमाडौं । सेयर बजार बढ्ने क्रमले निरन्तरता पाएको छ । सोमबारको बजारमा नेप्से परिसूचक २.४९ अंकले बढेर १३४९.१३ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१८ प्रतिशतले बढी हो ।
त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.१६ अंकले बढेर २८७.९१ अंकमा पुगेको छ ।
दिनभरको बजारमा १७७ कम्पनीको एक अर्ब ६१ करोडको सेयर कारोबार भएको छ । नेको इन्स्योरेन्स र ग्लोबल आईएमई बैंकको ५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जसमध्ये नेको इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ६ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, ग्लोबल आईएमई बैंकको ५ करोड रुपैयाँ एक लाख रुपैयाँ बराबरकोे सेयर किनबेच भएको छ ।
सोमबार तीन कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी गरिमा विकास बैंकको सेयर मूल्य ९.३६ प्रतिशतले बढेको छ । त्यस्तै, नेशनल हाइड्रो पावर कम्पनी र छ्याङ्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य क्रमशः ९.२६ र ९.०९ प्रतिशतले बढेको छ ।
सोमबार निर्जीवन बीमा समूह ५९, हाइड्रोपावर ४८ र विकास बैंक ३० अंकले उकालो लागेका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ४२ अंक र होटल समूह १७ अंकले ओरालो लागेका छन् ।
मल्टीपर्पोज फाइनान्सका लगानीकर्ताले सबैभन्दा ३.९२ प्रतिशत गुमाएका छन् ।