
काठमाडौं । हाल बजारमा ‘सनराइज फर्स्ट म्युचअल फण्ड’ नामक योजना बिक्री भइरहेको छ । सनराइज बैंकद्धारा स्थापित सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त योजनामा आगामी कात्तिक ७ गतेसम्म लगानी गर्न पाइने छ ।
नेपाल धितोपत्र बोर्डको अनुमति पाएसँगै संस्थाले कोष व्यवस्थापक सनराइज क्यापिटल मार्फत १० करोड इकाई बिक्रीमा राखेको हो । भदौ २३ गते बोर्डको अनुमति पाएको यस संस्थाले असोज ८ गतेदेखि अंकित मूल्य १० रुपैयाँको दरले एक अर्ब रुपैयाँ बराबरको फण्ड बिक्री गरिरहेको छ ।
केयर रेटिङ् नेपालले फण्ड म्यानेजमेन्ट क्वालिटी रेटिङ (एफएमक्यूआर) “एएमसी थ्री” तोकेको छ । यसको मतलब सम्पत्ति व्यवस्थापन कम्पनी (एएमसी) को व्यवस्थापन गुणस्तरकाे आधारमा यस संस्था राम्रो मानिएको छ ।
उक्त फण्डमा व्यक्ति एवं संस्थाहरु सबैले लगानी गर्न पाउने छन् । लगानी गर्न इच्छुकले एक हजारदेखि १० करोडसम्म लगानी गर्न पाउने व्यवस्था रहेको छ । इच्छुक सर्वसाधारण तथा संघ संस्थाहरुले कात्तिक ७ गतेसम्म आफ्नो खाता रहेको बैंक वित्तीय संस्थाबाट आस्वा प्रणाली र मेरो सेयर अनलाइल प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
१० वर्षे अवधि रहेको उक्त योजनाले उच्चतम प्रतिफल दिने लक्ष्य राखेकाे छ । संस्थाका अनुसार सनराइज फर्स्ट म्युचुअल फण्डको औषत वार्षिक प्रतिफल २४.२९ प्रतिशत र औषत वार्षिक लाभांश १४ प्रतिशत रहेको प्रक्षेपण गरिएको छ ।
१० वर्षे बन्दमुखी योजना अन्तर्गत सनराइज फर्स्ट म्युचुअल फण्ड नामको यो पहिलो योजना हो । यस योजनाको लगानी नीति मध्यमदेखि दीर्घकालीन पुँजी मूल्यांकन रहेको छ । त्यस्तै, आय वितरण नियमित हुने र लगानीको जोखिम न्युनिकरण गर्ने यस योजनामा मुद्दति निक्षेप, सरकारी सुरक्षा लगायतका विभिन्न सुविधा रहेको छ ।
यो योजना विभिन्न क्षेत्रका पाँच प्रतिष्ठित व्यक्तित्वहरु वा कोष सुपरिवेक्षकहरुद्धारा सञ्चालित भइरहेको छ । उनीहरुको वर्षौंको अनुभवले यस योजनाका इकाईधनीहरुको इकाई थप सुरक्षित र व्यवस्थित हुने संस्थाले जनाएको छ । संस्थाको कोष सुपरिवेक्षकहरुमा चण्डीप्रसाद श्रेष्ठ, कृष्णबहादुर मानन्धर, बुद्धिप्रसाद आचार्य, प्राध्यापक पूर्णमान शाक्य र सीए सुधिरकुमार शर्मा रहेका छन् ।