
काठमाडौँ । अक्टोबर १७ देखि १९ सम्म हुने रिभर्स बायर सेलर मिट २०१९ र भाइब्रेण्ट गोवाः ग्लोबल एक्स्पो एण्ड समिट २०१९ मा भाग लिन नेपाल चेम्बर अफ कमर्सको टोली भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।
कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय प्रतिनिधि मण्डल नयाँ दिल्ली र ३८ सदस्यिय प्रतिनिधि मण्डल गोवातर्फ बुधबार विहान प्रस्थान गरेको हो । १७ वटा रोड शो विभिन्न मुलुकमा गरी १८ औं गोवा एक्स्पो रोड सो नेपालमा गर्ने क्रममा भाइब्रेण्ट गोवा टोलिले गत भदौमा नेपाल चेम्बर अफ कमर्शको सचिवालय जमलमा आफ्नो प्रस्तुति प्रस्तुत गरेको थियो ।
नयाँ दिल्लीमा हुने “रिभर्स बायर सेलर मिट २०१९” मा उद्योग, व्यापार सञ्चालनका लागि क्रेता र बिक्रेताहरुबीच समन्वय र सहकार्य गर्ने मौका मिल्ने बताइएको छ ।
गोवा राज्यमा भएका उद्योग एवम् व्यवसाय जगतको सबल पक्ष देखाउने सुवर्ण अवसर भएको र यसबाट व्यवसायीक अवसर प्राप्त भई व्यवसाय तथा ज्ञानको आदान प्रदान गर्न करिब १२ मुलुक र भारतका २० प्रान्तका उद्योगी व्यवसायीको सहभागिता हुनेछ ।
सो एक्स्पोमा कृषि तथा खाद्य प्रसोधन, निर्माण व्यवसाय, हल्का इञ्जिनियरिङ, फर्मा तथा बायोटेक, पर्यटन र मेडिकल टुरिजम, जल परिबहन, सूचना प्रविधि, शिक्षा, मनोरञ्जन, वेडिङ तथा फिल्म डेष्टिनेशन आदी क्षेत्र समावेश भएकोले नेपाली उद्यमी व्यवसायी सो एक्स्पोमा भाग लिन गोवातर्फ प्रस्थान गरेको हो ।
गोवामा हुने सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले भूपरिवेष्ठित विकाशोन्मुख मुलुकहरुमा देखिएका अवसर र चूनौती विषयमा प्रस्तुती गर्नुहुने कार्यक्रम रहेको छ ।
नयाँ दिल्लीको प्रतिनिधि मण्डलमा चेम्बरका सदस्य, जिल्ला चेम्बर अफ कमर्सका पदाधिकारीहरु, उद्यमी, व्यवसायीहरुको सहभागिता रहेको छ । गोवाको प्रतिनिधिमण्डलमा चेम्बर सदस्य, जिल्ला चेम्बर अफ कमर्सका पदाधिकारीहरु, उद्यमी, व्यवशायीहरु, प्रदेश ५ का संसद भोजप्रसाद श्रेष्ठ, ५ नम्बर प्रदेशका विभिन्न नगरपालिकाका उपमेयरहरुको समेत सहभागिता रहेको छ ।