
काठमाडौं । अब बीमा कम्पनीले पनि म्युचुअल फण्ड सञ्चालन गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले त्यस्तो व्यवस्थासहितको सामूहिक लगानी कोष नियमावली संशोधन प्रस्ताव अर्थ मन्त्रालयमा पेश गरेको जनाएको छ । बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले त्यस्तो प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गरेसँगै त्यस्तो ढोका खुल्ने बताएका हुन् ।
हाल बैंक तथा वित्तीय संस्थाहरुले मात्रै म्युचुअल फण्ड सञ्चालन गर्न पाउने व्यवस्था नियमावलीले गरेको छ । राष्ट्र बैंकले भने अघिल्लो वर्षसम्म वाणिज्य बैंकलाई मात्रै त्यस्तो फण्ड सञ्चालन गर्न पाउने व्यवस्था गरिएको भए पनि यो वर्षदेखि भने विकास बैंक तथा फाइनान्स कम्पनीका लागि समेत त्यस्तो व्यवस्था गर्न दिने व्यवस्था गरेको छ । प्रस्तावित नियमावलीले भने बीमा कम्पनीलाई समेत यस्तो व्यवस्था गर्न लागेको हो ।
बीमा कम्पनीहरु नियमित आम्दानी भएका संस्थाहरु हुन् । हाल बैंक तथा वित्तीय संस्थाहरुको उल्लेख्य निक्षेपको स्रोतको रुपमा बीमा कम्पनीहरु समेत रहेको देखिन्छ । यस्ते अवस्थामा बीमा कम्पनीहरुलाई आफ्नै म्युचुअल फण्ड खोल्न दिए उनीहरुले आफ्नो स्रोतको व्यवस्थापन गरेर दोस्रो बजारलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।
हाल एक अर्ब भन्दा बढी चुक्ता पुँजी भई ५ वर्षसम्म निरन्तर चलेर पछिल्लो ३ वर्ष निरन्तर नाफामा रहेका वित्तीय संस्थाले सामूहिक लगानी कोष सञ्चालन गर्न पाउने व्यवस्था छ । बोर्डले वित्तीय संस्थाको परिभाषमा बीमा कम्पनीहरुलाई समेत समावेश गरी त्यस्तो बाटो खोल्ने प्रस्ताव गरेको हो । बोर्डले सो व्यवस्था गरेमा बीमा समितिले बीमा कम्पनीहरुलाई त्यस्तो फण्ड खोल्न स्वीकृति दिन सक्नेछ ।