काठमाडौं । चन्द्रागिरी नगरपालिका बाँडभञ्याङस्थित ९२ रोपनी सरकारी जग्गा किर्ते कागजात बनाइ व्यक्तिको नाममा धनीपूर्जा बनाइ बिक्री गरेकोे अभियोगमा मालपोत अधिकृत सहित अन्य ५ जना विरुद्ध प्रहरीले मुद्दा दायरा गरेको छ ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले आज बुधबार ५ करोड ८९ लाख ६० हजार विगो सहित काठमाडौं जिल्ला अदालतमा सो मुद्दा दायरा गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र आदेश अनुसार मालपोत कार्यालय कलंकीका अधिकृत शिवप्रसाद रिमाल, कानुन व्यवसायी रामवहादुर शाह सहित अन्य चार जनालाई कसूर तथा संगठित अपराध मुद्दामा अनुसन्धानपछि मुद्दा दायरा गरिएको हो । कार्यालयले सुयल हाउजिङ कम्पनीको नाममा नामसारी भएर आएको ब्यूरोले जानकारी दिएको छ ।
सरकारी वनको जग्गा कानुन व्यवसायी रामवहादुर शाहको योनजामा मिनाकुमारी थापाको नाममा नक्कली जग्गा धनी पूर्जा बनाइ उक्त जग्गा सुयल हाउसिजङ कम्पनीको नाममा बिक्री भएको अनुसन्धानले फेला पारेको छ । सामुदायिक वनको उक्त जग्गामध्ये २ रोपनी व्यक्ति विशेषलाई बिक्री समेत गरेको पाइएको छ । सुयल हाउजिङ कम्पनीका प्रतिवादी राम वहादुर शाहको नाममा ७५ प्रतिशत सेयर भएको सम्झौता समेत भएको कागजात प्रहरीले फेला पारेको छ ।