काठमाडौं । बैंक अफ काठमाडौंका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठको पक्षमा नेपाल बैंकर्स संघ संस्थागत रुपमै उभिएको छ ।
नक्कली धितो प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले श्रेष्ठलाई पक्राउ गरेसँगै संघले उनी निर्दोष रहेको ठहर गर्दै उनलाई छुटाउन संस्थागत रुपमै अघि बढ्ने निर्णय गरेको हो । त्यसका लागि हाललाई बैंकर्स संघको तर्फबाट महान्यायाधिवक्तालाई भेट्ने र भविष्यमा यस्तो समस्या आउन नदिन कानून संशोधनका लागि पहल गर्ने निर्णय गरिएको हो ।
मकवानपूर घर भएका सुरेन्द्र श्रेष्ठ नामका ऋणीले ४ वर्षअघि बैंकबाट लिएको ५ करोड ऋण नतिरेपछि उनको धितोमा राखिएको सम्पत्ति लिलामी प्रक्रिया सुर गरिएको थियो । तर, झापाको जिरिङखोलामा रहेको भनिएको धितोमा रहेको उक्त सम्पत्ति नै नक्कली देखिएपछि बैंक अफ काठमाडौंले सीआईबीमा उजुरी दिएको थियो । बैंकले दिएको उजुरीका आधारमा सीआईबीले यसअघि नै ऋणी श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ नगरी अनुसन्धान गर्न राष्ट्र बैंक र बैंक अफ काठमाडौंले आग्रह गरेको थियो भने बैंक अफ काठमाडौं जमानी नै बस्न तयार भएको थियो तर पनि सीआईबीले उनलाई छाड्न मानेको थिएन ।
बैंकर्स संघको बैठकमा बैंकरहरुले बैंकले ऋण दिँदा हुने कमजोरीमा बैंकमात्रै सँधै जिम्मेवार नहुने भन्दै अरुले गरेको गल्तीमा पनि बैंकका कार्यकारी प्रमुख दोषी हुने हो भने बैंकिङ क्षेत्रमा काम गर्न गाह्रो हुने भन्दै उनलाई छुटाउन र त्यस्तो कानून संशोधन गर्न पहल गर्न एकमत देखिएका थिए ।