
काठमाडौं । छ महिनादेखि रिक्त नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नियुक्ति प्रक्रिया दशैंअघि नै टुंगिने भएको छ । बैंकको सीईओ छनौट सिफारिस समितिले छनौट प्रक्रिया अन्तिम चरणमा पुर्याएको दशैं अघि नै त्यसको टुंगो लाग्ने बैंक स्रोतले जानकारी दियो ।
नेपाल बैंकमा प्रमुख कार्यकारी अधिकृत बन्न १४ जनाले आवेदन पेश गरेका थिए । अहिले प्राप्त भएका आवेदनहरुको मूल्यांकन समितिले सबै आवेदकहरूबाट प्राप्त भएको प्रस्तावको मूल्यांकन गरिरहेको छ । प्रस्ताव मूल्यांकनमा लागि पूर्वसचिव दीपेन्द्रविक्रम थापाको संयोजकत्वमा बैंकले ३ सदस्यीय मूल्यांकन कमिटी बनाएको थियो ।
मूल्यांकन कमिटीले आवेदक १४ सिईओका प्रस्तावकमध्ये ५ ओटाको सर्टलिष्ट गरेको छ । सर्टलिष्टमा परेका ५ जनाले पेश गरेका प्रस्तावहरु उपर समितिले सम्बन्धित आबेदकलाई ‘पावरपोइन्ट प्रिजिन्टसन’ गर्न लगाउँदैछ । यो काम आज भोलिनै सम्पन्न हुन्छ ।
त्यसपछि पाँचजनाले पेश गरेको प्रस्तावबाट स्कोर सहित उत्कृष्ट ३ जनाको नाम मूल्यांकन समितिले बोर्डमा पठाउँछ । बोर्डले अर्थ मन्त्रालयको सहमतिमा ३ जनामध्ये एकलाई प्रमुख कार्यकारीको रुपमा नियुक्त गर्ने प्रावधान छ । यी सबै प्रक्रियाहरु एक साताभित्रै टुङ्गिन्छ, ढिला भयो भने पनि दशैं अगाडि नै बैंकले नयाँ सीईओ पाउँछ, बैंक स्रोतले विकासन्यूजसँग भन्यो ।
१ अर्ब ६५ अर्बको वासलात आकार भएको बैंक चैत ११ गतेदेखि प्रमुख कार्यकारी अधिकृतविहीन छ । दैनिक कार्यहरु कायम मुकायम प्रमुख कार्यकारी अधिकृतबाट भइरहे पनि ठूला र दीर्घकालीन निर्णयहरु लिन बैंकलाई अप्ठ्यारो पर्दै आएको छ ।
बैंकले सुरुमा बजारमा रहेका चर्चित अनुहारहरुबाटै प्रमुख कार्यकारी अधिकृत छनौट गर्न खोजे पनि चार महिनासम्म उपयुक्त सिईओ नपाएपछि बैंकले साउन १२ गते खुला प्रतिस्पर्धाबाट सीईओ छनौट गर्न आवेदन खोलेको थियो । उक्त अवधिभरमा १ महिला सहित १४ जनाले सीईओका लागि आवेदन दिएका थिए । आवेदन दिनेहरूमा हाल बैकिङ क्षेत्रमा परिचित नाम भने कसैको छैन ।