
काठमाडौं । ग्लोबल आइएमई बैंकले धनकुटा जिल्लाको हिले बजारमा रहेको शाखा कार्यालय मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग, नेपाल प्रहरीका एसपी सुदर्शन कोइराला, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मंगलबार आयोजित एक समारोहबीच संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै मेयर तामाङ्गले बैंक तथा वित्तीय संस्थाहरुले ठूला उद्योगपतिहरुलाई मात्र नभई साना किसान तथा व्यवसायीलाई पनि सहयोग गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सबैका लागि बैंक भन्ने बैंकको मुल नारालाई चरितार्थ गर्दै देशको सबै क्षेत्रमा सेवा पु¥याउने बताए ।
ढकालले बैंकिङ्ग सेवाको पहुचभन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भएसम्म बैंक शाखा विस्तार गर्दै तथा शाखा विस्तार गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ्ग सेवाका माध्यमबाट सेवा विस्तार गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । उनले हाँले बैंकले प्रदान गरिरहेका सुविधाहरु जस्तै साना व्यवसायी कर्जा, कृषि कर्जा, घर कर्जा, रेमिट्यान्स सुविधा लगायतका सेवाको माध्यमबाट यस क्षेत्रको आर्थिक सम्वृद्धिमा टेवापुग्ने विश्वास व्यक्त गरे ।
ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्ससँग एकीकृत कारोबार सुरु गर्न अन्तिम तयारी गरिरहेको बताउँदै उनले जनता बैंक नेपालसँग पनि मर्जरमा जाने सहमति गरेको बताए । धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष घिमिरेले बैंकले साना तथा स्थानीय व्यवसायीलाई फाइदा पुग्ने बताए । घिमिरेले बैंकको कर्जा सरल र सुलभ बनाउन पनि आग्रह गरे ।