काठमाडौं । वित्तीय बजारमा लगानी योग्य पुँजी अभाव देखिएपछि नेपाल राष्ट्र बैंकले आज बिहीबार १५ अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । एक सातामा परिपक्व हुने गरी राष्ट्र बैंकले रिपो जारी गर्न लागेको हो ।
रिपो बिहीबार अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ । जेठ ३० गते परिपक्क हुने यस रिपोको ब्याजदर ५ प्रतिशत तोकिएको छ ।
बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ । बजारमा लगानी योग्य तरलता बढी भएमा तरलता प्रशोचन गर्ने गर्दछ ।
यसको मापनको लागि राष्ट्र बैंकले ब्याजदर करिडोर लागू गरेको छ । अन्तर बैक कारोबार ५ प्रतिशतभन्दा माथि ब्याजदर गएमा राष्ट्र बैंकले बजारमा तरलता पठाउने गर्छ भने ब्याजदर तल ओर्लिएमा बजारबाट पैसा खिच्ने गर्दछ । ब्याजदर करिडोर उच्च विन्दु सातलाई मानिएको छ भने तल्लो विन्दु तीनलाई मानिएको छ । ५ भने मध्यम विन्दु हो । आज हुन लागेको रिपोको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।