
काठमाडौं । पर्यटन वर्ष २०२० सफल पार्न हिमालयन बैंक अग्रसर भएको छ । नेपाली सम्पदाहरुलाई विश्वमा चिनाउन हिमालयन बैंकले नेपाल पर्यटन बोर्ड र अमेरिकन एक्सप्रेससँग सहकार्य गर्दै पर्यटन प्रवद्र्धनको सहकार्यको लागि अग्रसर भएको हो ।
बिहीबार हिमालयन बैंकको कार्यालय कमलादीमा आयोजित कार्यक्रममा यी तीन संस्थाहरुबीच ‘एक्सपेरियन्स नेपाल’ अभियानको सुरुवात भएको छ । जसअनुसार अमेरिकन एक्सप्रेसले विश्वभर आफ्ना कार्ड प्रयोगकर्ताहरुकहाँ नेपाली सम्पदा र पर्यटकीय स्थलहरुबारे प्रचारप्रसार गरिदिनेछ भने नेपाल पर्यटन बोर्डले अमेरिकन एक्सप्रेसलाई आफ्नो प्लेटफर्म प्रयोग गर्न दिनेछ । हिमालयन बैंकले भने नेपालमा रहेका आफ्ना ८० भन्दा बढी मर्चेन्ट पार्टनरहरुमा खरिदबिक्री गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ ।
उक्त कार्यक्रममा अमेरिकन एक्सप्रेसकी दिव्या जैनले नेपाल होलिस्टिक पर्यटन गन्तव्य भन्दै नेपाली पर्यटकीय स्थानहरुको प्रवद्र्धन गर्न आफूहरुले सहयोग गर्ने बताइन् । कार्यक्रममा हिमालय बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले यस्तो सम्झौता हिमालयन बैंकको पहलमा भएको दोस्रो सम्झौता रहेको र यसअघि २०१७ सालमा पनि यस्तै सम्झौताका कारण पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको बताए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले २०१७ तिर भुकम्प र नाकाबन्दीका बाबजुद नेपालमा पर्यटकको संख्या २०/२५ प्रतिशतले बढेको भन्दै यस्तो हुनुमा त्यतिबेलाको सम्झौताको योगदान पनि महत्वपूर्ण रहेको बताए । नेपाललाई गुणस्तरीय पर्यटकको खाँचो रहेको भन्दै उनले २०२० मा ‘भिजिट नेपाल फर लाइफटाइम एक्सपेरियन्स’ क्याम्पियन अघि बढाएको दाबी गरे ।