काठमाडौं । ‘एनएमबि बैंक प्रविधि र कार्यसञ्चालनमा सबल छ । हामी विकास बैंक, हाम्रो कार्यप्रणाली नै फरक छ । हामी प्रविधि र क्षमतामा कमजोर छौं । हाम्रा कर्मचारीहरु बच्चा छन्, हाम्रा बच्चाहरुलाई माया गर्नुहोला’ ओम डेभलपमेन्ट बैंकका अध्यक्ष सुशीलकुमार गाेसाली को भनाई हो यो । एनएमबि बैंकसँगको ओम डेभलपमेन्ट बैंकसँगको मर्जरका लागि एमओयू कार्यक्रममा भावुक भएका उनले मर्जरपछिको बैंकको सञ्चालक समितिमा ओम डेभलपमेन्ट बैंकको समेत प्रतिनिधित्व हुने भए पनि ओमका अध्यक्षले एनएमबि नेतृत्वसँग त्यस्तो अनुनय गरेका हुन् ।
मर्जरका लागि एमओयू गरेलगत्तै सम्बोधन गरेका उनले एनएमबि बैंकसँगको आफ्नो मिलन भगवानको इच्छा भएको समेत बताए । ओम नमः शिवाय भन्दै सम्बोधन सुरु र ओम शान्ति भन्दै अन्त्य गरेका कुसारीले प्राइमसँगको मर्जर तोडिनु र छोटो समयमै एनएमबि बैंकसँग कुरा मिल्नुलाई ‘भगवानको इच्छा’को रुपमा व्याख्या समेत गरे ।
‘प्राइम बैंकसँग मर्जरमा कुरा गर्नुअघि मैले एनएमबि बैंकसँग कुरा गरेको थिएँ तर एफएमओको लगानी रहेकोले विभिन्न मापदण्ड पूरा गरेर मात्रै मर्जरमा जान सकिने धारणा त्यतिबेला उहाँहरुले राख्नुभयो । तर, मैले त्यति मापदण्ड अहिलै हामी पूरा गर्न सक्दैनौं… सरी भनेँ । त्यसपछि हामी अर्को बैंक (प्राइम बैंक)सँग कुरा अघि बढायौं, भगवानले फेरि हाम्रो मिलन हुज लेखेका रहेछन्, अहिले यति छिट्टै हाम्रो सहमति भयो’ उनले भने ।
उनले प्राइम बैंकले एमओयू सम्झौताको बुँदा नम्बर १९ उल्लंघन गरेकोले ओमले मर्जरमा जान नसकेको बताए । उहाँहरुको धेरै समस्या थियो, कर्मचारी आन्दोलनका कारण हाम्रो कर्मचारी समायोजन पनि रोकियो । बुँदा नं १९ मा मर्जरपछि संयुक्त साधारणसभा गर्ने सम्झौता विपरित उहाँहरुले साधारणसभा बोलाउनुभयो, त्यसो गर्दा हामीलाई २.३४ प्रतिशत बोनस शेयर घाटा लाग्ने भयो । हाम्रा सञ्चालकले मर्जरपछिको बैंकमा प्रतिनिधित्व गर्ने अवसर पनि नपाउने भए, त्यसकारण हामी टाढियौं’ उनले भने ।
उनले अब आकाश खसे मात्रै मर्जर प्रक्रिया असफल हुने भन्दै १० महिनासम्म शेयर कारोबार रोकिँदा शेयरधनीमा परेको क्षतिप्रति क्षमायाचना गर्दै भने ‘त्यो हामीले चाहेर भएको होइन ।’