बीमा कम्पनीमा ‘क्रस होल्डिङ’को सकस, मर्जरको विकल्पबारे छलफल

<p>काठमाडौं । बीमा कम्पनीहरुमा क्रस होल्डिङको समस्या विकराल बन्दै गएको छ । एउटै व्यक्ति तथा कम्पनीले ३/४ वटासम्म बीमा कम्पनीमा लगानी गरेपछि बीमा समितिले छानविन अघि बढाएको छ । समितिले कुन बीमा कम्पनीमा कसको कति लगानी छ ? कसले आफन्तका नाममा लगानी गरेर कम्पनी होल्ड गरेका छन् ? त्यसको एकिन विवरण संकलन अघि बढाएको हो [&hellip;]</p>

काठमाडौं । बीमा कम्पनीहरुमा क्रस होल्डिङको समस्या विकराल बन्दै गएको छ । एउटै व्यक्ति तथा कम्पनीले ३/४ वटासम्म बीमा कम्पनीमा लगानी गरेपछि बीमा समितिले छानविन अघि बढाएको छ । समितिले कुन बीमा कम्पनीमा कसको कति लगानी छ ? कसले आफन्तका नाममा लगानी गरेर कम्पनी होल्ड गरेका छन् ? त्यसको एकिन विवरण संकलन अघि बढाएको हो ।

‘क्रस होल्डिङको समस्या देखिएपछि लगानीकर्ताको विस्तृत विवरण मागेका छौं, प्रतिवेदन तयार पारेर सञ्चालक समितिमा पठाउँछौं’, बीमा समितिका सहायक निर्देशक सुशिलदेव सुवेदीले देशविकाससँग भने । उनले कुन कम्पनीमा कुन व्यक्ति तथा फर्मको क्रस होल्डिङ कस्तो अवस्थामा छ भन्नेबारे भने एकिन भैनसकेको बताए । ‘हामी विवरण संकलनकै चरणमा छौं, अहिले नै तथ्य बताउन सक्ने अवस्था छैन’, समितिका सहायक निर्देशक सुवेदीले देशविकाससँग भने ।

श्रोतका अनुसार करिब एक दर्जन बीमा कम्पनीमा ठूलै मात्रामा क्रस होल्डिङ रहेको छ । गोविन्द संघाईले सुर्या लाइफ र ज्योति लाइफ र एलआईसी नेपालमा लगानी गरेका छन् । आइएमई ग्रुपले जीवन बीमा तर्फ रिलायबल लाइफ र आइएमई लाइफमा लगानी गरेको छ ।

त्यस्तै, निर्जीवन बीमा तर्फ आइएमई जनरल र नेपाल इन्स्योेरेन्स कम्पनीमा पनि आइएमई समुहको लगानी रहेको छ । त्यस्तै, युनाइटेड इन्स्योरेन्स र नेको इन्स्योरेन्स कम्पनीमा राष्ट्रिय बाणिज्य बैंकले लगानी गरेको छ । मोति दुगडले गुराँस लाइफ र नेपाल रि इन्स्योरेन्स कम्पनीमा लगानी गरेका छन् ।

बीमा दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका २०७३ ले एउटा कम्पनीमा १५ प्रतिशत लगानी गर्ने व्यक्ति वा फर्मले सोही प्रकृतिको अर्काे कम्पनीमा १ प्रतिशत भन्दा बढी लगानी गर्न नपाउने व्यवस्था गरेको छ ।

आइएमई लाइफ र रिलायबल लाइफमा आइएमई ग्रुपले सो नियम भन्दा बढी लगानी गरेको समिति श्रोतले बतायो । त्यस्तै, युनाइटेड इन्स्योरेन्स र नेको इन्स्योरेन्स कम्पनीमा पनि राष्ट्रिय बाणिज्य बैंकले नियम भन्दा बढी लगानी गरेको छ । साथै, ज्योति र नेपाल लाइफमा गोविन्द संघाईले नियम भन्दा बढी लगानी गरेका छन् ।

बीमा समितिले क्रस होल्डिङमा रहेका बीमा कम्पनीहरुबाट लगानी घटाउने वा मर्जरमा पठाउने विकल्पमाथी छलफल अघि बढाएको छ । यद्यपी समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले भने क्रस होल्डिङबारे के गर्ने भन्ने निष्कर्ष सञ्चालक समितिले मात्रै निकाल्न सक्ने बताए । ‘हामी अध्ययनको चरणमा छौं, एकिन विवरण मगाएर कैफियतसहितको प्रतिवेदन सञ्चालक समितिमा लैजान्छौं र त्यहिँबाट निर्णय गर्छाै’, समितिका अध्यक्ष चापागाईँले भने ।

एकै व्यक्ति वा कम्पनीमा एउटै प्रकृतिका एक भन्दा बढी बीमा कम्पनीमा लगानी गर्दा व्यवसायीकता बढाउन, सुशासन कायम गराउन समेत असहज हुने भन्दै समितिले अध्ययन अघि बढाएको हो ।

Share News