
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार अपत्यारिलो व्यक्तिले चलाएको जस्तो देखिएको टिप्पणी गरेका छन् ।
लगानीकर्ताले समयमा सही सूचना नपाउँदा समस्यामा परेको बताउँदै उनले सेयर बजार अपत्यारिलो व्यक्तिले चलाएको जस्तो देखिएको बताएका हुन् । उनले लगानीकर्ताबीच सेयर बजारका बारेमा सही सुचना प्रवाह नभएको दावी गरे ।
नेपाल धितोपत्र बोर्डको रजत जयन्तीलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले यस्तो अवस्थामा नियामक सचेत हुनु पर्ने सुझाए । नियामक निकायले राम्रो नियमन गर्न सकेन भने त्यो भन्दा माथि मन्त्रालय रहेको जानकारी दिँदै काम गर्न नसके बोर्डको नेतृत्वलाई कारवाही गर्न सक्ने खतिवडाले चेतावनी दिए ।
उनले सरकार सेयर बजारबाट पुँजीको विकास गर्न लागिरहेको बताउँदै ऋणपत्र पनि पुँजीबजारमा प्रवेश गराउनु पर्ने विचार व्यक्त गरे । ऋणपत्र कारोबारले पुँजीबजार बढ्ने उनको तर्क छ । आफु स्थिर पुँजीबजारको पक्षमा रहेको जिकिर गर्दै अर्थमन्त्रीले भने “ राष्ट्रिय पुँजीको निर्माण गर्ने क्षेत्र सेयर बजार हो ।”
दीर्घकालिन प्रकृतिका ऋणपत्रमा लगानी गर्न अर्थमन्त्री खतिवडाले बैंकहरुलाई अनुरोध गरेका छन् । पुँजी बजारका बारेमा बोल्दा समस्या हुने गरेको गुनासो गर्दै उनले भने “बोल्दा पनि सुख छैन नबोल्दा पनि सुख छैन ।”