काठमाडौं । काठमाडौंमा समयमै काम नसक्ने १८ ठेकेदार सिडियो कार्यालय पुगेका छन् । सरकारले काम नसक्ने ठेकेदारलाई पक्राउ गर्ने चेतावनी दिएपछि कामको विवरण बोकेर १८ ठेकेदार सिडियो कार्यालय पुगेका हन् ।

१८ आयोजनाको काम प्रगती विवरण आइसकेको सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । ‘अहिलेसम्म १८ आयोजनाको काम प्रगती विवरण आइसकेको छ, बेलुकी ३ बजेसम्म २४ वटै आयोजनाको विवरण आउनेछ, त्यसपछि कार्य प्रगतिको मुल्यांकन गरी कारबाही प्रक्रिया अघि बढाउछौं,’ घिमिरेले विकासन्युजसँग भने ।
उनले सडक, खानेपानी लगायतका आयोजना प्रमुखको नाम, ठेगाना, नम्बरसहित कामको प्रगती विवरण आएको जानकारी दिए ।
यसअघि काठमाडौंमा विभिन्न आयोजनाको काम गरिरहेका २४ ठेकेदारलाई कार्यालयले अत्यन्त जरुरी पत्र काटिको थियो ।
कार्यालयले सडक डिभिजन कार्यालय, भवन डिभिजन कार्यालय, सिँचाइ डिभिजन, काठमाडौं उपत्यका खानेपानी लिमिटेडसहितलाई पत्र पठाएको थियो ।
गृह मन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापरवाही ढंगले काम गर्ने र ठेकेदारको सूची बनाएर एक हप्ताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेपछि काठमाडौँ कार्यालयले सम्बन्धित आयोजनाबाट कामको प्रगति विवरण माग गरेको हो ।
निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका काम पनि कमसल हुने गरेको गुनासो बढ्दै गएपछि मन्त्रालयले जिल्लास्तरमा सञ्चालित विकास निर्माण, सबै आयोजना, परियोजनाको अनुगमन गरी विवरण संकलन गर्ने, समयमै कार्य सम्पन्न नगर्ने फार्म, ठेकेदारको ठेगाना, सम्पर्क नम्बरसमेतका विवरण एक हप्ताभित्र पठाउन निर्देशन दिएको हो ।
यो पनि हेर्नुहोस