स्क्यामरको पासोले बैंक खाता रित्तियो
काठमाडौं । ‘हेल्लो म खल्ती एपको म्यानेजर बोलेको हुँ । तपाईंले खल्ती एप चलाउनु हुँदो रहेछ । बधाई छ, तपाईंलाई ६ हजार रुपैयाँको बोनस प्राप्त भएको छ,’ ललितपुरका नवीन श्रेष्ठको फोनमा नयाँ नम्बरको ह्वाट्सएपबाट अनौठो आवाज सुनिन्छ । उनी अपरिचित नम्बरबाट पैसा प्राप्त भएको खबर सुनेर मख्ख पर्दै बोल्छन् । ती व्यक्तिको कुराले नवीन उत्साहित पनि भए । उनीहरूबीच केही समय कुराकानी लम्बिन्छ । अपरिचित व्यक्तिले उनलाई बोनसको पैसा प्राप्त गर्न खल्ती एपको लिङ्कको सम्पूर्ण विवरणसहितको नम्बर लगायत सबै जानकारी पठाउन अनुरोध गरे । नवीनले पनि बोनस पाउने लोभमा खल्ती एपको सबै विवरणसहितको लिङ्क अपरिचित व्यक्तिलाई ह्वाटसएपमा पठाइदिन्छन् । त्यसपछि उनले फोन राखे । फोनमा कुरा गरेको तीन दिनपछि ४२ वर्षीय नवीनको खल्ती एपबाट क्षण–क्षणमा गरेर ९० हजार काट्यो । लगत्तै खल्तीको अफिसमा गए । त्यहाँ जाँदा उनले सबै थाहा पाए । पैसा अरु कसैले लगेको । खल्तीको प्रतिनिधिले जब उनलाई सोधे, ‘तपाईंले कसैलाई खल्तीको एप वा ओटीपी दिनु भएको थियो,’ नवीनले जवाफ दिए, ‘हो मैले एकजनालाई खल्ती एपको लिङ्क दिएको थिए ।’ खल्ती एपका प्रतिनिधिले पुनः भने, ‘तपाईं प्रहरीकोमा जानू । तपाईंको पैसा कसैले लगेको देखिन्छ । प्रहरीकोमा गएर उजुरी दिनू ।’ नवीन लगत्तै प्रहरीकोमा उजुरी दिन पुगे । सबै डिटेल लिएर उजुरी दिन पुगे । उनको पैसा काठमाडौंकै हिमाल भन्ने व्यक्तिको खातामा गएको देखियो हिमालसँग सम्पर्क गर्दा उनले पनि आफ्नो पैसा हराएको सुनाउँछन् । ईसेवाबाट आफू ठगिएको भन्दै २७ वर्षीय सीता तामाङ पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगिन् । ईसेवाको कर्मचारी भन्दै उनलाई एक साताअघि फोन आएको थियो । ईसेवाकी महिला कर्मचारी बताउनेले उनलाई फोन गर्दै भनेकी थिइन्, ‘म्याम नमस्ते । हजुरलाई बधाई ।’ केका लागि बधाई पाइन् त्यसको चाल सीताले थाहा पाइनन् । उनलाई बिहान आएको फोन पुनः सोही नम्बरबाट साँझ आयो । बेलुकी फोन गर्दा पनि ती महिलाले सीताले भनिन्, ‘बधाई छ । हजुरको ईसेवामा बोनस आएको छ । तर, हजुरले बोनस रकम प्राप्त गर्न केवाइसी भर्नु पर्छ ।’ सीता पनि सित्तैमा पैसा पाइने भएपछि फुरुङ्ग भइन् । उनले भनिन्, ‘केवाइसी फाराम कसरी भर्नु ? यो भनेको के हो मलाई थाहा छैन ।’ ती महिलाले सीतालाई भनिन, ‘केवाइसी फारम भर्न नआएमा हामी नै सहजीकरण गरिदिन्छौं । हामी तपाईंहरूका लागि सहयोग गर्न बसेका हौ ।’ यति भनेपछि सीताले पनि उनको कुरामा विश्वास गरिन र समर्थन जनाइन् । सीतालाई ती महिलाले तपाईंको मोबाइल म्यासेजमा एउटा नम्बर आएको होला हेरेर ओटीपी नम्बर बताइदिन आग्रह गरिन् । उनको मोबाइलमा पनि नम्बर आएको रहेछ लगतै ओटीपी नम्बर बताइदिन् । नम्बर पाएपछि उनले सीतालाई भनिन्, ‘मैले नम्बर पाएँ । सबै प्रक्रिया पुरा गरेपछि बोनस आउँछ र संकलन गर्नूहोला ।’ सीता र उनको कुरा भएको भोलिपल्ट ईसेवाबाट पैसा काटियो । उनको खातामा १२ हजार थियो । ईसेवाबाट ५ सय रुपैयाँ मात्र राखेर उनको पैसा हरायो । उनी आत्तिन र चिनेजानेका साथी तथा आफन्तलाई आफ्नो समस्या सुनाइन् । उनले अन्ततः स्क्यामरबाट ठगिएको थाहा पाइन् । उनले पनि नवीनको जस्तै प्रक्रिया गरेर बुझिन् । ईसेवामा सम्पर्क गरिन् । ईसेवाबाट पैसा हरायो । कसरी यस्तो भयो भनेर ईसेवामा सोधपुछ गरिन् । तर, ईसेवाको जवाफ पाएपछि उनी आफू ठगिएको र स्क्यामरको सिकार बनेकी थाहा पाइन् । अनलाइनको भर पर्दा पैसा गुम्यो डल्लुकी २३ वर्षीय कल्पना महर्जन अनलाइनबाट लुगा मगाउँथिन् । फेसबुक र इन्स्टाग्राममा लुगाका राम्रा–राम्रा विज्ञापन देख्थिन् । अनलाइनमा लुगाको राम्रो विज्ञापन देखेर अनलाइनबाट लुगा मगाइन् । उनले विभिन्न आइटमका लुगाका साथै लेडिज ब्याग मगाइन् । उनले सामान प्राप्त गर्नका लागि फेसबुक र इन्स्टाग्राममा रहेको नम्बरमा सम्पर्क गरिन् । फोन गरेर आफूले चाहेको लुगा मगाइन् । पहिलोपटक कल्पनाले १२ हजार रुपैयाँ पठाइन् । फेसबुकमा रहेको नम्बरको ईसेवामा पैसा पठाइन् । पैसा पठाए पनि अनलाइन सपिङ्गको नम्बरबाट पैसा नआएको उनलाई बताइन्छ । कल्पनाले पैसा पठाए पनि उताबाट पैसा अड्किएको बताइन्छ । अनलाइनवालाले पैसा नआउनुको कारण कल्पनालाई बताउँछन् । ‘तपाईंको सायद केवाइसी नभरेकाले त्यसरी पैसा अड्किएको हुन सक्छ,’ अनलाइनवालाले कल्पनालाई भन्छन् । उनले पनि केवाइसी नभरेको जानकारी दिन्छिन् । केवाइसी नभरेको भए हामी भरिदिन्छौ । तपाईंको मोबाइलमा ओटीपी नम्बर आएको होला मलाई भन्दिनु । सबै काम एकैछिनमा सकिने र अड्किएको सबै पैसा यता आउने अनलाइनवालाले उनलाई बताउँछन् । ओटीपी नम्बर कल्पनाले हतपत्त अनलाइनवालालाई दिन्छिन् । उताबाट अड्केको पैसा पनि आफूले पाएको उनलाई खबर दिन्छन् । त्यसको भोलिपल्ट कल्पनाको ईसेवामा खातामा रहेको ४५ हजार सबै हराउँछ । उनी पनि सीताजस्तै आत्तिइन पैसा हराएपछि लगत्तै ईसेवालाई सम्पर्क गरिन् । पैसा हराएको विवरण र सम्पूर्ण जानकारी ईसेवालाई दिइन् । ईसेवाले सम्पूर्ण पैसा स्क्यामरबाट लगिएको कल्पनालाई जानकारी दियो । आफू ठगिएको थाहा पाएपछि कल्पना काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी लिएर पुगिन् । पछिल्लो समय काठमाडौं उपत्यका अपराध अनुसन्धा कार्यालयमा पनि खल्ती, ईसेवा र अनलाइन लुगा पसलबाट ठगिएको भनेर उजुरी दिन पुग्नेको संख्या बढेको छ । दैनिक जसो ओटीपीको माग गरेर पैसा हराएको भन्दै सेवाग्राहीहरू गुनासो पुग्न थालेका छन् । अपराध अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृतका अनुसार ओटीपीको माग गरेर पैसा हराएको भन्दै दैनिक ८–९ वटा निवेदन पर्न थालेका छन् । केवाईसी अपडेट गर्नुपर्ने भन्दै स्क्यामरले ओटीपी माग गरेर पैसा हराएको भन्दै सेवाग्राही आएको उनले जानकारी दिए । ह्वाट्सएपमा मात्र कुराकानी सेवाग्राहीबाट नयाँ नम्बरबाट ¥यान्डमली व्यक्तिलाई फोन आउने गरेको उनले सुनाए । अपरिचित व्यक्तिबाट पैसा पाउने प्रलोभनमा परेर सेवाग्राहीहरू पनि बोल्ने गर्दा फस्ने गरेको ती प्रहरी अनुसन्धान अधिकृतले विकासन्युजलाई बताए । स्क्यामरले साथीहरूको फेसबुकबाट फ्रेण्ड लिस्ट हेरेर फ्लोअप गर्ने गरेको अनुसन्धानबाट खुलेको उनको भनाइ छ । पैसा गुमाउनेमा शिक्षित तथा सबै प्रकारका मानिसहरू पर्ने गरेको ती प्रहरीको अनुभव छ । स्क्यामरहरूले ह्वाटसएपबाट मात्र कुरा गर्ने गरेको उनले जानकारी दिए । स्क्यामरले ह्वाट्सएपबाट मात्र कुरा गर्ने भएकाले भेट्न नसकिने प्रहरीको भनाइ छ । उनीहरूले व्यक्तिको हराएका नम्बर फेला पारेर कुरा गर्ने गरेको उनको भनाइ छ । स्क्यामरहरू विदाको दिनमा सक्रिय कलेजका विद्यार्थी तथा सरकारी पेन्सन खाने कर्मचारीहरू ओटीपी माग गरेर ठगी भएको भन्दै उजुरी दिन आउने पीडितको संख्या बढिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्का बताउँछन् । स्क्यामहरूले सेवाग्राहीहरूको रूचि अनुसारको कुरा गरेर ओटीपी माग गर्ने गरेको उनले बताए । ‘स्क्यामरले सेवाग्राहीको रुचि तथा स्वभावका कुरा गर्छन्,’ उनले भने, ‘सेवाग्राहीको कुरा तथा भावना बुझेपछि सोही अनुसारको कुरा गरेर ओटीपी माग्न सफल हुन्छन् ।’ सेवाग्राहीले पनि एक पटक कसलाई र किन नम्बर दिँदैछु भनेर नसोची ओटीपी नम्बर दिने गरेको प्रमुख खड्का बताउँछन् । ठगीमा पर्नेहरू विभिन्न पेशामा आवद्ध र घरायसी काम गर्नेदेखि विद्यार्थीहरू समेत ठगिएको उनले जानकारी दिए । प्रलोभनमा परेर, अरुलाई विश्वास र सोधखोज नगरी पैसा तथा ओटीपी नम्बर दिँदा आममानिसहरू पीडित बनिरहेको खड्काले अनुभव सुनाए । पेन्सन खाने कर्मचारीलाई वाणिज्य बैंकबाट बोलेको भन्दै प्रलोभनमा परेर बैंक डिटेल मागेर लैजाने गरेको उनले बताए । स्क्यामरले खाताग्राहीको सम्पूर्ण विवरण पाएपछि खाताको सबै पैसा झिकेको भन्दै उजुरी दिन आएको उनले जानकारी दिए । स्क्यामरले ह्वाट्सएपबाट मात्र कुराकानी गर्ने गरेको खड्काले बताए । स्क्यामरले धेरैजसो विदाको अघिल्लो दिन पारेर वा विदाको दिनमा पैसा झिक्ने गरेको उनले बताए । बिदाको दिन अफिस बन्द रहने भएकाले बैंकमा कम्प्लेन गर्न नसकून् भनेर उनीहरूले त्यस्तो गरेको हुन सक्ने खड्काले बताए। स्क्यामरहरूलाई नियन्त्रणमा लिन धेरै गाह्रो पर्ने उनको भनाइ छ । उनीहरूलाई नियन्त्रणमा धेरै समय लाग्ने गरेको उनले उल्लेख गरे । ‘ओटीपी कसैलाई नदिनू’ साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार फेसबुक तथा इन्स्टाग्रामबाट अनलाइन लुगा तथा अन्य सामग्री मगाएर पैसा नआएको भन्दै ओटीपीको माग गरिएको छ । सामान मगाउँदैमा पैसा आएन भनेर ओटीपी नदिने उनले आग्रह गरे । स्क्यामरले ओटीपी राख्न लगाएर मोबाइल बैंकिङबाट पैसा लैजान सक्ने अवस्थीको भनाइ छ । सेवाग्राहीलाई प्रलोभनमा पारेर स्क्यामरले बैंक खाताबाहकको विवरण लिने गरेको अवस्थी बताउँछन् । म समस्या वा अप्ठ्यारोमा परेको छु, तुरुन्त पैसा पठाइदिनुहोस्, मेरो बैंकिङ्ग एपमा समस्या आएर मैले पैसा पठाउन सकिरहेको छैन । तपाईं यस क्यूआरमा पैसा पठाइदिनुहोस् भन्ने प्रकारका म्यासेज आएर ठगी क्रम बढेको उनले उल्लेख गरे । उनले साथीभाई लगायत आफन्तहरूलाई पठाई ठगी गर्ने घटनाहरू बढिरहेकोले यस्ता घटनाबाट जोगिन सचेत गराए । उनले ह्वाटसएपमा आएका म्यासेजहरूमा तुरुन्त विश्वास नगर्न आग्रह गरे । सम्भव भएसम्म व्यक्तिलाई प्रत्यक्ष फोन गरेर शंकास्पद लिंक, कोड वा फाइल क्लिक/डाउनलोड नगर्न आग्रह गरे । टु स्टेप भेरिफेकसन अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने अवस्थीको भनाइ छ । आफ्नो ओटीपी तथा भेरिफेकिसेन कोड कसैलाई नदिन अवस्थीले बताए । डिजिटल साक्षरता नहुँदा पैसा गुमाउने बढे आम मानिसमा डिजिटल साक्षरता नहुनुमा ओटीपी नम्बरको माध्यमबाट पैसा गुमाउनेको संख्या बढ्दै गएको साइबर विज्ञ बिक्रम लामा बताउँछन् । डिजिटल कारोबार गर्ने मानिसले मुख्यतया लोभ त्याग गर्नुपर्ने उनको भनाइ छ । ‘डिजिटल कारोबार गर्दा कस्ता मानिससँग आर्थिक व्यवहार गर्दैछु, त्यस विषयमा सचेत हुनुपर्ने र सोच्नुपर्छ,’ साइबर विज्ञ लामाले भने, ‘कसैले गिफ्ट दिँदैछ भनेर फोन गर्छ भने किन र कसले सित्तैमा दिन्छ भनी सोचेर प्रश्न गर्नुपर्छ ।’ उनका अनुसार नियामक निकाय नेपाल राष्ट्र बैंक तथा डिजिटल कारोबार गर्ने पसल वा इकमर्स बजारले डिजिटल साक्षरता बढाउन ध्यान दिनुपर्छ । बैंकमा खाता खोल्दा अनिवार्य रूपमा केवाइसी फाराम भर्नु पर्दछ । केवाईसी फाराममा आफ्नो फोटो, परिचयपत्र, ठेगाना र पारिवारिक विवरण पूर्ण रूपमा खुलाउनु पर्दछ । बचत खाता खोल्न बचत खाता खोल्ने फाराम, फोटो र आवासको प्रमाण (जस्तैः धारा, टेलिफोन वा बिजुलीको रसिद) आवश्यक पर्छ ।
अनलाइन ठगी बढेपछि नेपालमा टेलिग्राम बन्द गर्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई तत्कालै टेलिग्राम एप बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । प्राधिकरणका अनुसार, पछिल्लो समय टेलिग्राम एपको प्रयोग गरी अनलाइन ठगी, गैरकानुनी कारोबार र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर आपराधिक गतिविधि बढेकाले यसलाई बन्द गर्नुपरेको हो । निर्देशनमा के छ ? प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ‘टेलिग्राममार्फत अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउन्डरिङजस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकोले उक्त टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने र बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवाप्रदायकहरुलाई निर्देशन गरिएको छ ।’
सिंगापुरमा अनलाइन ठगीमा दोब्बर वृद्धि
सिंगापुर । सिंगापुरमा इन्टरनेटको माध्यमबाट हुने व्यवसायमा ठग्ने र ठगिने क्रम बढेको छ । सन् २०२३ मा ‘ई–कमर्स’ बाट गरिने खरिद् बिक्रीमा हुने छलीका घटनामा दोब्बरले वृद्घि भएको ‘ई–कमर्स मार्केटप्लेस लेनदेन सुरक्षा मूल्याङ्कन प्रतिवेदनले देखाएको छ । प्रशासनका अनुसार करिब ५० प्रतिशत ई–कमर्ससम्बन्धी ठगी फेसबुक र अन्य सामाजिक सञ्जालको माध्यमबाट हुने गरेको छ । सन् २०२२ मा अनलाइन छलीका घटनाहरूमा एक हजार १३८ रहेकोमा सन् २०२३ मा यो सङ्ख्या चार हजार ५५० मा पुगेको उल्लेख गरिएको छ । मूल्याङ्कन प्रयोगकर्ता प्रामाणिकता, लेनदेन सुरक्षा, हानि समाधानका स्रोत र अनलाइन किनमेलका लागि बनाइएका वेबसाइटहरू गरी चार तहमा आधार भएर गरिएको हो । मूल्याङ्कन प्रतिवेदनमा फेसबुकलाई सबैभन्दा कम अङ्क दिएको छ भने अमेजन, लाजादा, शोपीलगायतका अनलाइन किनमेलका लागि प्रसिद्ध वेवसाइटलाई पूर्ण अङ्क दिइएको छ । गृह राज्यमन्त्री सन जुएलिङले संसद्मा गरेको सम्वोधनमा सामाजिक सञ्जाल मेटालाई फेसबुकमा छलीविरुद्ध सुरक्षा उपायहरू अङ्गीकार गर्न अस्वीकार गरेकोमा आलोचना गरे । रासस
लाखौं मानिसलाई ‘साइबर दास’ बनाएर अनलाइन ठगी
भारतीय पीडितलाई उद्धार गर्दे थाई अधिकारी काठमाडौं । ‘उनीहरूले मेरो लुगा खोले, मलाई कुर्सीमा बसाए र मेरो खुट्टामा बिजुलीको झटका दिए, मलाई लाग्यो मेरो जीवन समाप्त भयो।’ श्रीलंकाका २४ वर्षीय रवि आईटी जागिरका लागि थाइल्याण्ड गएका थिए । तर, बैंककको अग्लो कार्यालयमा बसेर काम गर्नुको सट्टा उनी म्यानमारको अँध्यारो कम्प्लेक्समा फसेका थिए । रविको अपहरण भएको थियो । त्यसपछि उनलाई थाइल्यान्डको सीमावर्ती सहर ‘मे सोट’ नजिकै नदी पारी लगिएको थियो । उनी भन्छन्, ‘त्यहाँ मलाई अनलाइन घोटाला गर्ने चिनियाँ भाषी मानिसहरूका लागि धेरै शिविरहरू मध्ये एउटामा बेचिएको थियो ।’ ती शिविरमा रविजस्ता तस्करीको शिकार भएका पीडितहरूलाई लामो समय काम गर्न बाध्य पारिन्छ । यी पीडितहरूको नक्कली अनलाइन परिचय बनाइन्छ र महिलाको रूपमा प्रस्तुत गरिन्छ । तिनीहरूको काम अमेरिका र युरोपका एकल पुरुषहरूलाई धोका दिने हो । एक पटक उनीहरूको ‘कमजोर लक्ष्य’ फेला परेपछि उनीहरूलाई छिटो प्रतिफलको झूटो वाचा गरेर नक्कली व्यापारिक प्लेटफर्ममा ठूलो रकम लगानी गर्न विश्वस्त पारिन्छ । रवि जुन साइबर दासत्वको क्याम्पमा फसे, त्यो म्यानमारको म्यावाड्डी नजिकैको जंगलमा बनाइएको थियो । त्यो त्यस्तो क्षेत्र हो जसमा म्यानमारको सैन्य सरकारको प्रत्यक्ष नियन्त्रण छैन । इन्टरपोलका अनुसार एसिया, पूर्वी अफ्रिका, दक्षिण अमेरिका र पश्चिम युरोपका हजारौं युवा–युवतीलाई कम्प्युटरसम्बन्धी कामको प्रलोभनमा राखेर ‘साइबर अपराधी’ शिविरमा फसाइने गरिएको छ । जसले उनीहरूको आदेश मान्दैनन्, तिनलाई मारपिट र बलात्कार पनि गरिन्छ। रविले भने, ‘ उनीहरूले भनेको नमानेका कारण मैले १६ दिन एउटा कोठरीमा बिताएँ, उनीहरूले मलाई पिउन दिएको पानीमा चुरोटको टुक्रा र खरानी मिसाइएको थियो।’ उनले थप भने, ‘म कोठरीमा बसेको ५–६ दिन भएको थियो, त्यो बेला छेउको कोठरीमा दुईजना केटीलाई ल्याइयो, उनीहरूलाई मेरो आँखा अगाडि १७ जनाले बलात्कार गरेका थिए, तीमध्ये एक फिलिपिन्सकी थिइन् ।अर्को पीडित युवतीको देश मलाई थाहा भएन ।’ तस्करीको सिकार को–को हुँदैछन् ? संयुक्त राष्ट्रसंघले अगस्ट २०२३ मा म्यानमारमा १.२० लाखभन्दा बढी र कम्बोडियामा १ लाख मानिसलाई विभिन्न प्रकारका अनलाइन घोटाला गर्न बाध्य पारिएको अनुमान गरेको थियो । संयुक्त राष्ट्रसंघका अनुसार तिनीहरू अवैध जुवादेखि क्रिप्टोकरेन्सी जालसाजी र अनलाइन घोटालासम्मका गतिविधिहरूमा प्रयोग भइरहेका छन् । गत वर्ष इन्टरपोलको रिपोर्ट अनुसार लाओस, फिलिपिन्स, मलेसिया, थाइल्याण्ड र भियतनाममा अनलाइन ठगी केन्द्रहरू थिए । इन्टरपोलका प्रवक्ताले यो प्रवृत्ति अहिले विश्वव्यापी सुरक्षाका लागि खतराभन्दा पनि क्षेत्रीय समस्या बनेको बताए । संगठनका अनुसार अन्य धेरै देश ठगीको केन्द्र, ठगीको मार्ग वा मानिसको तस्करी हुने ठाउँ बनेका छन् । यस महिनाको सुरुमा भारत सरकारले अहिलेसम्म कम्बोडियामा बेचबिखन गरिएका २५० नागरिकलाई उद्धार गरिएको जनाएको छ । मार्चमा चीनले म्यानमारका यी केन्द्रहरूबाट सयौं नागरिकहरूलाई स्वदेश फिर्ता गर्न सफल भयो । चीनले यी ठगी केन्द्रहरू बन्द गर्न म्यान्मारको सैन्य सरकार र सशस्त्र समूहहरूलाई दबाब दिइरहेको छ । श्रीलंकाका अधिकारीहरूका अनुसार उनीहरूले आफ्ना कम्तीमा ५६ जना नागरिकका बारेमा पत्ता लगाएको छ जो म्यानमारका चार फरक ठाउँमा फसेका छन् । म्यानमारका लागि श्रीलंकाका राजदूत जनक बन्दाराले बीबीसीलाई भने– यीमध्ये आठ जनाको हालै म्यानमार अधिकारीहरूको सहयोगमा उद्धार गरिएको थियो। यी शिविरहरू चलाउने मानिसहरूको सिकार हुने प्रवासी मजदुरहरूको कुनै कमी छैन । दक्षिण एसियाबाट हरेक वर्ष लाखौं इन्जिनियर, डाक्टर, नर्स र आईटी विशेषज्ञहरू कामको खोजीमा विदेश पलायन हुन्छन् । कम्प्युटर विशेषज्ञ रवि आफ्नो देशको अर्थतन्त्र संकटमा परेको कारण श्रीलंका छाड्न आतुर थिए । यस्तो बेला उनले थाइल्याण्डको राजधानी बैंककमा डाटा इन्ट्रीको काम अफर गर्ने स्थानीय एजेन्टको बारेमा थाहा पाए । भर्ती गर्ने एजेन्टले दुबईका एक सहकर्मीसँग मिलेर उनलाई कम्पनीले ३,७०,००० श्रीलंकाली रुपैयाँ (१,२०० डलर) आधारभूत तलब दिने आश्वासन दिए । भर्खरै विवाह गरेका रवि र उनकी श्रीमतीलाई यो जागिरले आफ्नै घर बनाउन सकिन्छ भन्ने लागेको थियो । त्यसैले, उनलेले एजेन्टलाई दिन धेरै ऋण लिए । थाइल्याण्डदेखि म्यानमारसम्मको यात्रा २०२३ को सुरुमा रवि र अन्य श्रीलंकालीहरूको समूहलाई पहिलो पटक बैंकक पठाइएको थियो । त्यसपछि उनलाई पश्चिमी थाइल्याण्डको माई सोट सहर पठाइयो । ‘हामीलाई एउटा होटेलमा लगियो। त्यसपछि हामीलाई चाँडै दुई बन्दुकधारीहरूलाई सुम्पियो । उनीहरूले हामीलाई नदी पारी म्यानमार लगे,’ रविले भने । त्यसपछि उनीहरूलाई चिनियाँ भाषी गुण्डाहरूद्वारा सञ्चालित शिविरमा पठाइयो। रविका अनुसार उनीहरू डराएका थिए । श्रीलंका, पाकिस्तान, भारत, बंगलादेश र अफ्रिकी देशका करिब ४० जना युवक र युवतीलाई जबरजस्ती त्यो शिविरमा राखिएको थियो। परिसर वरिपरि अग्लो पर्खाल र काँडेतार लगाइएको थियो र प्रवेशद्वारलाई बन्दुकधारीले चौबीसै घण्टा सुरक्षा दिएका थिए । रवि र अरूलाई दैनिक २२ घण्टा काम गर्न बाध्य पारिएको थियो । महिनामा एक दिनमात्रै बिदा हुन्थ्यो । र, हरेक दिन कम्तिमा तीन जनालाई पीडित बनाउने उनीहरूको अपेक्षा हुन्थ्यो । जसले उनीहरूले भनेको मान्दैनथे उनीहरूले यातना सहनुपर्थ्यो या बच्नका लागि पैसा तिनुपर्थ्यो । भारतको महाराष्ट्रका २१ वर्षीय नील विजयलाई पनि यस्तै गरिएको थियो । उनलाई अगस्ट २०२२ मा फिलिपिन्सका अन्य पाँच भारतीय पुरुष र दुई महिलासहित तस्करी गरि म्यानमार लगिएको थियो । नील विजयले उनकी आमाका एक साथीले उनलाई बैंककको कल सेन्टरमा जागिर दिने वाचा गरेको बताए । र, एजेन्टको शुल्कको रूपमा उनीबाट १.५० लाख (१८ सय डलर) लिए । नीलले भने, ‘चिनियाँ भाषा बोल्नेहरूले धेरै कम्पनीहरू चलाइरहेका थिए, तिनीहरू सबै घोटाला गर्नेहरू थिए, हामीलाई ती कम्पनीहरूमा बेचियो । जब हामी त्यहाँ पुग्यौं, मैले आशा गुमाए । यदि मेरी आमाले उनीहरूलाई फिरौतीको पैसा नदिनुभएको भए, मलाई पनि अरूलाई जस्तै यातना दिइन्थ्यो ।’ यो घोटालामा भाग लिन अस्वीकार गरेपछि नीलको परिवारले घोटाला गर्नेलाई ६ लाख भारतीय रुपैयाँ (७२ सय डलर) तिरे । तर, त्यहाँबाट रिहा हुनुअघि नै लक्ष्य पूरा नगरेको वा फिरौती नतिर्नेलाई क्रूर सजाय दिइने गरिएको थियो । उनको रिहाईपछि थाई अधिकारीहरूले उनलाई भारत फिर्ता गर्न मद्दत ग रे। यता, उनका परिवारले उनलाई भर्ना गर्ने स्थानीयलाई कानुनी कारबाही गरेका छन् । थाई अधिकारीहरूले त्यस्ता पीडितहरूलाई उनीहरूको देशमा फिर्ता पठाउन अन्य देशहरूसँग काम गरिरहेका छन् । तर, त्यहाँको न्याय मन्त्रालयका एक वरिष्ठ अधिकारीले छिमेकी देशहरूमा चलिरहेका शिविरहरूमा फसेका मानिसहरूको तुलनामा उद्धार गरिएका मानिसहरूको सङ्ख्या निकै कम रहेको बताए । थाइल्याण्डको विशेष अनुसन्धान महाशाखाका उपनिर्देशक पिया रक्सकुलले भने, ‘यी आपराधिक गिरोहहरूका बारेमा सचेतना जगाउनका लागि हामीले विश्वसँग सञ्चार बढाउन अझ धेरै गर्न आवश्यक छ ताकि तिनीहरूले आफूलाई पीडित हुनबाट जोगाउन सकून् ।’ उनी भन्छन्– मानव तस्करहरूले मानिसहरूलाई ल्याउन बैंककलाई केन्द्रको रूपमा प्रयोग गर्छन् । किनभने ‘भिसा अन अराइभल’ को सुविधाका कारण भारत, श्रीलंकालगायत धेरै देशका मानिस सजिलै थाइल्याण्ड आउन सक्छन् । अपराधीहरूले यो सुविधाको फाइदा उठाएर मानिसहरूलाई काममा लैजान तस्करी गर्ने गरेको उनले बताए । यी ठगहरूले कसरी काम गर्छन् ? चोरीको फोन नम्बर, सामाजिक सञ्जाल र म्यासेजिङ प्लेटफर्मबाट रोमान्टिक सम्बन्ध बनाएर पश्चिमा देशका धनी व्यक्तिलाई निशाना बनाउनका लागि उनीहरूले भन्ने गरेको रविले बताए । उनले पीडितहरूसँग प्रत्यक्ष सम्पर्क गर्थे । पहिला उनीन ती व्यक्तिलाई पहिलो सन्देश ‘हाई’ गल्लीले सेन्ड भएको भनेर विश्वास दिलाउँथे । रवि भन्छन्, ‘कतिपयले मेरो म्यासेजलाई बेवास्ता गर्थे, तर एक्लै बस्ने वा सेक्स चाहने मानिसहरू यसमा फसेका थिए ।’ उनीहरूबाट जवाफ पाएपछि शिविरमा रहेका युवतीहरुलाई थप लोभ्याउन यौनजन्य तस्बिर पठाउन बाध्य पारिएको थियो । केही दिनभित्र सयौं सन्देशहरू आदानप्रदान गरेपछि घोटाला गर्नेहरूले यी मानिसहरूको विश्वास प्राप्त गर्थे । त्यसपछि उनीहरूलाई नक्कली अनलाइन ट्रेडिंग प्लेटफर्ममा ठूलो रकम लगानी गर्न मनाइन्थ्यो । त्यसपछि यी नक्कली एपहरूले उनीहरूलाई लगानी र नाफाको बारेमा गलत जानकारी दिन्थ्यो । रवि भन्छन्, ‘कसैले १ लाख डलर ट्रान्सफर गरेमा यो आफ्नो नाफा हो भन्दै ५० हजार डलर फिर्ता गर्थ्यौं । यसले गर्दा अहिले डेढ लाख डलर छ जस्तो उनीहरूलाई लाग्थ्यो । वास्तवमा, तिनीहरूले आफ्नो प्रारम्भिक १ लाखको आधा मात्र पाउँथे, बाँकी आधा हामीसँग हुन्थ्यो ।’ यति धेरै विश्वास निर्माण गरेपछि घोटाला गर्नेहरूले पीडितहरूलाई सकेसम्म शोषण गर्छन्, त्यसपछि तिनीहरूले खाता र सोशल मिडिया प्रोफाइलहरू स्वतः गायब बनाउँछन् । यो ठगी व्यवसायको आकार पत्ता लगाउन गाह्रो छ । तर, एफबीआईले आफ्नो सन् २०२३ को इन्टरनेट क्राइम रिपोर्टमा अमेरिकामा यस्ता ‘ट्रस्ट वा रोमान्स’ घोटालाका १७ हजारभन्दा बढी उजुरी आएको बताएको छ । यी गुनासोअन्तर्गत कुल घाटा रकम करिब ६५ करोड डलर रहेको बताइएको छ । मानसिक र शारीरिक घाउहरू एक महिना जेल बसेपछि आफूलाई अर्को गिरोहमा बेचेको रविले बताए । किनभने उनले काम गरेको ‘कम्पनी’ बन्द भइसकेको थियो । उनी ६ महिनासम्म म्यानमारमा फसेका थिए र त्यही क्रममा उनलाई तीनवटा विभिन्न गिरोहमा बेचिएको थियो । उनले आफ्ना नयाँ ग्याङ्मास्टरहरूलाई अब आफ्रले अरु मान्छेलाई धोका दिन नसक्ने र उनलाई उनलाई श्रीलंका फर्कन अनुमति दिनुपर्ने बताएका थिए । एक दिन यही विषयमा उनको टोली नेतासँग झगडा भयो । त्यसपछि रविलाई कोठरीमा लगेर १६ दिनसम्म यातना दिइयो । अन्ततः उनको ‘चिनियाँ हाकिम’ ले रविलाई भेटे । उननले रविलाई फेरि काम गर्ने एक अन्तिम मौका दिए । रविले भने, ‘मसँग विकल्प थिएन । त्यतिन्जेलसम्म मेरो आधा शरीर अपंग भइसकेको थियो ।’ अर्को चार महिनासम्म रविले भीपीएन, आर्टिफिसियल इन्टेलिजेन्स एप्स र थ्रीडी भिडियो क्यामेराको सहयोगमा फेसबुक एकाउन्ट व्यवस्थापन गरे । यसैबीच, रविले आफ्नी बिरामी आमालाई भेट्न श्रीलंका जाने अनुमति मागे । गिरोहका नेताले रविसामु ६ लाख भारु (२ हजार डलर) फिरौती र नदी तरेर थाइल्याण्ड जान दुई लाख भारु (६५० डलर) तिर्ने सर्त राखे । रविका बाबुआमाले घर धितो राखेर फिरौती तिरे । त्यसपछि उनलाई माई सोत लगियो । भिसा नपाएका कारण उनलाई विमानस्थलमा २० हजार थाई बाट (५५० डलर) जरिवाना समेत गरिएको थियो । यसका लागि रविका बाबुआमाले अर्को ऋण लिनुपर्ने भयो । रविका अनुसार जब उनी श्रीलंका पुगे तब उनीसँग कुल १८.५० लाख रुपैयाँ (६ हजार १०० डलर ) ऋण लागेको थियो । उनले भने, ‘अहिले म यो ऋण तिर्न ग्यारेजमा दिनरात काम गर्छु, ब्याज तिर्न हामीले हाम्रा दुवै विवाहको औंठी धितो राखेका छौं।’ बीबीसी
अनलाइन ठगीको रकम हुन्डी कारोबारमा, दुई अपराधको फ्युजनले प्रहरी तनावमा
काठमाडौं । गाडी ग्यारेजमा काम गर्ने एक नेपाली आफ्नै बुलबुतामा काम गरिरहेको हुन्छ । उसको तलबले सामान्य खान लाउन पुगेकै छ । एकदिन ह्वाट्स एपमा अपरिचितसँग कुरा हुन्छ । केहीदिनको बोलचालपछि आफू भारतीय नागरिक भएको बताउँछन् । आफूले नेपालमा व्यापार गर्न लागेको जसको लागि चार वटा बैंक खाता भएको मान्छे चाहियो कुरा उसलाई सुनाउँछ । गाडी ग्यारेजमा सामान्य काम गरेर बसिरहेको व्यक्तिलाई काम खासै गर्नु नपर्ने र मासिक २० हजार रुपैयाँ तलब आउने प्रस्तावले सहजै लोभ्याउँछ । फेरि उसैले खोलेको बैंक खातामा धेरै रकम आउने त्यसमा २० हजार तलब वापत आफैले कटाएर बाँकी रकम त्यो व्यक्तिको खातामा जम्मा गरिदिनुपर्ने प्रस्तावले उसलाई शंका गर्ने ठाउँ पनि त्यति दिँदैन । तलबबारे र कामबारे सोध्दा आफ्नो खातामा पैसा आउँछ । मासिक २० हजार खर्च कटाएर मैले भनेको खातामा पैसा जम्मा गर्नु केही गर्नुपर्दैन भनेर उसलाई प्रस्ताव गर्ने व्यक्तिले सुनाउँछ । त्यसपछि सजिलो जागिर भन्ने थाहा पाएपछि ग्यारेजमा काम गर्ने व्यक्तिले सहमति जनाउछ । उसले बैंक खाता खोल्छ, पैसा जम्मा हुन्छ, जागिर सुरु हुन्छ । तर, केही समयपछि अर्कै परिस्थिति सिर्जना हुन्छ । यहीबीचमा केही नेपाली आफूहरु अनलाइन ठगीमा परेको उजुरी लिएर प्रहरीकोमा जान्छन् । यसरी उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ठगको खोजीमा जुट्छ । र, अनुसन्धान गर्दै जाँदा पैसा ठगी गर्ने व्यक्ति सोही ग्यारेजवाला भएको भेटिन्छ । अनुसन्धानको क्रममा त्यही ग्यारेजमा काम गर्ने व्यक्तिको नाममा अनलाइन ठगी गरेको ३० लाख रुपैयाँ जम्मा भएको देखिन्छ र प्रहरीले उनलाई पक्राउ गर्छ । तर, ठगीको मुख्य योजनाकार भने पक्राउ पर्दैन । विदेशमा बसेर योजना बनाउने, सामान्य नेपाली नागरिकको कागजात प्रयोग गरेर ठगी गर्ने जस्ता कार्य भएकोले मुख्य योजनाकारसम्म पुग्न सहज नभएको प्रहरीले बताउँदै आएको छ । सुचना प्रविधिको दुरुपयोग गरी भइरहेको अनलाइन ठगीको रकम हुन्डी कारोबारमा प्रयोग हुन थालेको छ । हुन्डी कारोबारमा नेपालमा भुक्तानी गर्नुपर्ने रकम यतै अनलाइन ठगीबाट जुटाउने गरिएको प्रहरी अनुसन्धानले देखाएको हो । महानगरी अपराध महाशाखाका अनुसार हुन्डीको रकम सिधै नेपाल आउन नपाएपछि नेपालमै ठगी गरेर हुन्डीको भुक्तानी हुने गरेको हो । प्रहरीले अनलाइन ठगीको रकम हुन्डी कारोबारमा प्रयोग भएको फेला पारिसकेको छ । प्रहरीका अनुसार ओमानबाट एक व्यक्तिले हुन्डी मार्फत रकम नेपालमा आफन्तलाई पठाएका थिए । हुन्डी मार्फत आएको रकम पैसा पठाउने व्यक्तिका परिवारले बैंकबाट नै पाए । हुन्डीबाट पठाएको रकम यता बैंक मार्फत भुक्तानी गर्ने प्रयोजनमा अनलाइन ठगीको रकम प्रयोग भएको यस्ता घटनाले पुष्टि गरेको प्रहरीको दाबी छ । प्रहरी अनुसन्धानबाट के खुल्छ भने नेपालीहरूलाई चिठ्ठा पर्यो, पार्सल पठाइदिन्छु, फेसबुक ह्याक,ओपीडी कोडजस्ता कार्यमा ज्ञान नभएका वा फसेकाहरूको रकम पनि सिधै विदेशीको खातामा जम्मा हुँदैन । ती रकम नेपालकै दलालीको खातामा रहन्छ । जब विदेशका काम गर्ने नेपालीले हुन्डीबाट रकम पठाउछन् । तब यही नेपालीलाई नै भाइबर, ह्वाट एप, इमो, म्यासेन्जर जस्ता अनलाइन ठगीबाट ठगिएकाहरूको रकम नै बैंक मार्फत पाउने गरेको नेपाल प्रहरीको अपराध महाशाखाको अनुसन्धानले देखाउँछ । यस कार्यमा अनलाइन ठगीका अन्तराष्ट्रिय गिरोह संलग्न हुने भएकोले प्रहरीको टाउको दुखाइ भएको नेपाल प्रहरीको अपराध महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाको भनाइ छ । पछिल्लो समय हुन्डी कारोबार मौलाउनुको कारण नै डिजिटल ठगी हो । डिजिटल ठगी यति धेरै मौलाएको छ कि प्रहरी र सरकारले नियन्त्रण गर्न सकेको छैन । नियन्त्रणका लागि नीतिगत व्यवस्था र कानुनको आवश्यकता छ । तर नेपालमा यसबारे कानुन नै नबनेकोले समस्या भएको प्रहरीले जनाएको छ । प्रहरीले यस्ता केसको अध्ययन गर्न नीतिगत रुपमै समस्या भएकोले पटक–पटक विभिन्न देशमा सहचारी राख्न नेपाल सरकारसँग माग गरिसकेको छ । प्रहरी स्रोतका अनुसार चार वर्षअघि विभिन्न ६ देशमा र तीन महिनाअघि मात्र खाडी मुलुकहरूमा सहचारी राख्न नेपाल सरकारसँग माग गरेको थियो । तर उक्त माग पूरा हुन नसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता कोइरालाका अनुसार समयसापेक्ष अपराध नियन्त्रणका लागि प्रहरी संगठनभित्र दक्ष जनशक्तिसँगै काम गर्ने अधिकारका लागि नीतिगत सुधार ल्याउन आवश्यक छ । प्रहरीले नेपालभित्र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा टेकेर अनुसन्धान र कारबाही गरिरहेको छ भने देशबाहिर रहेका अभियुक्तलाई सोही देशसँगको सहकार्यमा काम गरिरहेको छ ।
अनलाइन ठगी प्रकरणमा काठमाडौं प्रहरी प्रमुख ज्ञवाली मुछिए
काठमाडौं । घटना जेठ दोस्रो साताको हो । समय देशव्यापी लकडाउनकाे थियाे । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको उपभोक्ता अधिकार सूचना प्रणालीको ११३७ नम्बरमा फोन आयो । फोन विभागका एक कर्मचारीले उठाए । फोन गर्ने व्यक्ति एकजना व्यापारी थिए । उनी कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न प्रयोग गरिने स्वास्थ्य सुरक्षाका सामग्री बिक्री गर्दथे । उनको गुनासो थियो, ‘एक जना मोबाइल व्यापारीले गैरकानुनी रुपमा फेसबुकमा पेज बनाएर थर्मल गन, पीपीई, स्यानिटाइजर मास्कलगायतका स्वास्थ्य सुरक्षा सामग्रीको विज्ञापन तथा बिक्री गरिरहेका छन्’ भन्ने । उनले फेसबुक पेजको नाम पनि बताए । त्यो पेजको नाम थियो ‘भर्जिन मोबाइल ।’ सामाजिक सञ्जाल फेसबुकमा भर्जिन मोबाल नाम राखेर अनलाइन विज्ञापन गरिरहेकोको सो फेसबुक पेज कसको हो ? कसले चलाइरहेको हो भन्ने खोजीमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लाग्यो । अनुसन्धान गर्दै जाँदा फेसबुकमा ‘भर्जिन मोबाइल’ नाम गरेको फेसबुक पेज भेटियो । र, त्योसँगै सो पेजका सञ्चालक र उनको सम्पर्क नम्बर पनि भेटाउन विभाग सफल भयो । विभागले पनि त्यो फेसबुक पेजमा स्वास्थ्य साम्रगी विज्ञापनका लागि राखेको भेटायो । खोज्दै जाँदा भर्जिन मोबाइल नाम गरेको व्यवसाय दर्ता गरेको काठमाडौं जिल्लामा कतै भेटिएन । विभागले सो पेजका सञ्चालको सम्पर्क नम्बर पनि पाइसकेपछि उनलाई फोन लगायो । त्यो नम्बर कहिले नउठ्ने, कहिले व्यस्त भन्ने लगायतका झमेला विभागले झेल्नु पर्यो । अन्ततः ती व्यक्ति विभागको सम्पर्कमा आए । उनी थिए काठमाडौंको ताम्राकार हाउसमा मोबाइल व्यापार गर्दै आएका एकजना शर्मा थरका । विभागले खोजी गर्दै जाँदा उनले ललितपुरमा आफ्नो मोबाइल व्यापारका लागि दर्ता गरेका रहेछन् । तर, व्यापार भने काठमाडौंमा । विभागले उनको एउटा त्रुटी त्यहाँ नेर देख्यो । व्यवसाय दर्ता ललितपुरमा, व्यापार काठमाडौंमा । अर्को त्रुटी थियो, उनले कुनै अनुमति तथा व्यवसाय दर्ता नै नगरी अनलाइनमा स्वास्थ्य समग्रीको व्यापार गरिरहेका थिए । जसको उनीसँग न कुनै बिल बिजक थियो नत कुनै व्यापार गर्न अनुमति लिएको प्रमाणपत्र नै । विभागका कर्मचारीले उनीबाट व्यवसाय गरेको बिल बिजक र व्यवसाय दर्ताको प्रमाण पत्र मागे । ती मान्छेले ती कर्मचारीलाई अहिले भ्याउँदिन, भोलि/पर्सि ल्याउँछु भने र त्यहाँबाट घर लागे । ती व्यक्ति न भोलि आए, न पर्सि नै । विभाग उनको प्रतिक्षामा थियो । एक हप्तासम्म नआएपछि विभागका एक कर्मचारीले विभागमै खटिएका प्रहरी जवानलाई ती व्यक्तिलाई फोन लगाउन भने । ती प्रहरी जवानले ती व्यक्तिलाई फोन गरे । ती व्यक्ति त्यतिखेर वाणिज्य विभाग आउनुको साटो महानगरीय प्रहरी परिसर काठमाडौं गएको विभागका अधिकारीहरुको आरोप छ । त्यसको एक हप्तापछि उनले धेरै बिल बिजक ल्याएर विभागमा बुझाएको विभागका अधिकारीहरु बताउँछन् । ती सबै बिल–बिजकहरु नियाल्दा कुनै पनि बिल थर्मल गन, पीपीई, मास्क र स्यानिटाइजर खरिद बिक्री गरिएको बारे नभएको उनीहरुको भनाई छ । ती व्यक्ति कमिसन र गलत मनसायका लागि विज्ञापन गरेको बुझिएको विभागको ठहर छ । अहिले पनि विभाग उनले दिएको बिल–बिजक अध्ययन गरिरहेको छ । विभागमा खटिएका सुरक्षाकर्मी नै फिर्ता शर्मा थरका ती व्यक्तिको केस विभागमा आइसकेपछि प्रहरीले विभागमा खटिएका चार जना सुरक्षाकर्मीलाई पनि फिर्ता लगिसकेको छ । विभाग स्रोतका अनुसार ती व्यक्ति (अनलाइन व्यापार गर्ने) ले महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली आफ्नो साथी भएको भन्दै कसैले केही गर्न नसक्ने धम्की दिएको विभागका कर्मचारीहरु बताउँछन् । ज्ञवाली उनका दाजु ठाकुर ज्ञवाली नेपाल प्रहरीको महानिरीक्षक भएको बेलामा परिसर प्रमुख भएका थिए । त्यसलगत्तै परिसरले कोरोना भाइरसको कारण जनशक्ति अभाव भएको भन्दै विभागमा खटिएका सुरक्षाकर्मीलाई फिर्ता लिने जानकारी गराउँदै विभागलाई चिठी पठाएको थियो । मौखिक रुपमा कुरा गरेर परिसरले २ दिन अगाडि प्रहरी फिर्ता लिएको थियो । त्यसको दुई दिन पछाडि अर्थात जेठ २५ गते विभागलाई पत्र लेखेर प्रहरी फिर्ता लिएको जानकारी परिसरले गरेको थियो । विभागबाट सुरक्षाकर्मी फिर्ता भएको भोलिपल्ट शर्मा थरका ती व्यक्ति पुनः विभाग आए । उनले विभाग आएर चुनौतिका साथ धम्की दिएर गएको विभागका कर्मचारीहरु बताउँछन् । ‘प्रहरी फिर्ता गएको भोलिपल्टै ती व्यक्ति विभाग आए, हामीलाई धम्काउँदै देखिस् मेरो पावर भन्दै टेबुलमा हात बजारे, सिसाको टेबुल भएको भए टुट्थ्यो, काठको भएर केही भएन, एग्रेसिभ भएर बोलिरहेका थिए, त्यसाे गर्ने व्यक्तिलाई हामीले थुन्नु पर्थ्यो, हामीसँग सुरक्षाकर्मी पनि थिएन, हामीले सकेनौं,’ विभागका एक उच्च अधिकारीले भने । अनुगमनमा प्रहरीले साथ नदिएको गुनासो वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनमा प्रहरीले साथ नदिएको बताएको छ । अनलाइन ठगहरुले विभिन्न आइडिया लगाएर गैरकानुनी काम गर्ने गरेको पाइएको हुँदा त्यसमा प्रहरीको आवश्यकता हुने विभागका प्रवक्ता रविन्द्र आचार्य बताउँछन् । तर त्यसमा प्रहरीले साथ नदिएको उनको गुनासो छ । ‘धेरै जोखिम र चुनौतीपूर्ण केसहरु हामीले हेर्नुपर्ने हुन्छ, त्यसको अध्ययन अनुसन्धानका लागि हामीलाई प्रहरीको आवश्यकता एकदमै महत्वपूर्ण हुन्छ, उल्टै ठगहरुले शक्तिको आडमा हामीलाई चुनौति तथा धम्की दिने गरेका छन्, यसमा प्रहरीको साथ छैन,’ उनले भने । ‘ठगहरुले नै हामीलाई फोन गरेर सरुवा गरिदिन्छु भनेर पावरको अभ्यास गर्छन्, पछिल्लो समय त्यस्ता धन्दा गर्नेहरुलाई पक्राउ गर्न पनि समस्या भइरहेको छ, विभागमा भएका प्रहरी नै फिर्ता लिइयो, तर अझै पनि हामी सक्रिय भएर लागेका छौं,’ उनले थपे । एसएसपी ज्ञवाली भन्छन्ः प्रहरीलाई गलत प्रयोग गरियो, अनि फिर्ता गरें काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली भने वाणिज्य विभागले लगाएको आरोप स्वीकार्दैनन् । उनले विभागमा सुरक्षाकर्मीको गलत प्रयोग भएकोले फिर्ता लिएको बताएका छन् । तर, उनले विभागलाई पठाएको चिठ्ठीमा कोरोना भाइरसको कारण जनशक्तिको अभाव भएकोले सुरक्षाकर्मी फिर्ता लिएको उल्लेख गरेका छन् । ‘हामी जिल्ला प्रशासनले माग गरेको बेला पनि गइरहेका छौं, वाणिज्य विभागले भनेको समयमा पनि गइरहेका छौं तर सुरक्षाकर्मीको गलत प्रयोग हुन भएन,’ उनले विकासन्युजसँग भने । ‘हाम्रो काम भनेको सुरक्षा दिने हो, अनुगमनमा जाने हो, व्यापारीहरुलाई फोन लगाउने होइन, विभागले सुरक्षाकर्मीलाई फोन एक्सटेन्सन र आफ्नो अन्य ड्युटीको लागि प्रयोग गरेपछि फिर्ता बोलाएको हुँ,’ उनले थपे । ती अनलाइन व्यापारीको कनेक्सन एसएसपी ज्ञवालीसँग भएको विभाग स्रोतको आरोप छ । उनलाई पक्राउ गर्न खोज्दा र त्यसका लागि प्रहरीको साथ चाहिएको बेलामा त्यहाँ भएका प्रहरीलाई नै ज्ञवालीले फिर्ता लिएको आरोप विभागको छ । अनलाइन ठगहरुको तपाईसँग कनेक्सन छ भन्ने आरोप छ नि भन्ने विकासन्युजको प्रश्नमा ज्ञवालीले भने, ‘त्यसलाई समीक्षा गर्ने क्षमता तपाईको विषय भयो । तर, प्रहरीले व्यापारीलाई फोन लगाउने होइन, हाम्रो काम सुरक्षा दिने हो, सुरक्षाबाहेक अन्य काममा प्रहरीलाई प्रयोग गर्न उहाँहरुलाई कुन कानुनले अधिकार दिएको छ ?,’ उनले प्रश्न गरे । ‘प्रहरी हामी सबैको हो, प्रहरी बिगार्नु भनेको हामी सबै बिग्रनु हो । प्रहरीलाई बिगार्नु भएन, त्यो उहाँको गल्ती थियो,’ उनले भने । प्रहरीले अनुगमनमा साथ नदिनु भन्नु उहाँहरुको शतप्रतिशत गलत भएको ज्ञवालीको भनाई छ । तर, व्यापारीलाई सरकारी टेलिफोनबाट नै बोलाउनु पर्ने भएकोले विभागका कर्मचारीको भनेको नमानेपछि प्रहरीले फोन गर्ने गरेको विभाग बताउँछ । प्रकरण गृह मन्त्रालयसम्म पुग्यो वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौं प्रहरीको दूरी बढेपछि विभागले सुरक्षा तथा अनुगनमा प्रहरीको व्यवस्था गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेको छ । विभागले बजार अनुगमनका लागि प्रहरी फोर्सको आवश्यकता परेकोले पठाउनको लागि उद्योग मन्त्रालय मार्फत गृह मन्त्रालय समक्ष पत्र पठाएको आचार्यले बताए । ‘केन्द्रिय बजार अनुगमन समितिबाट निर्णय भएर प्रहरी फोर्सका लागि मन्त्रालय मार्फत गृह मन्त्रालयमा पत्र पठाएका छौं, फेरि एक दुई दिनमै बसेर कुरा पनि गर्छौं,’ आचार्यले भने । घटनाको बारेमा अर्थात प्रहरी फिर्ता लिएको बारेमा विभागले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पनि जानकारी गराइसकेको उनले बताए । गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले पनि घटनाको बारेमा विभागका महानिर्देशन नेत्र सुवेदीसँग कुराकानी भइसकेको बताए । उनले पत्र आएको नआएको जानकारी नभएको बताए पनि पत्र आएको हो भने हेडक्वाटरसँग समन्वय गरेर सुरक्षाकर्मी पठाउन सकिने जानकारी दिए ।