समस्याग्रस्त नौ वटा वित्तीय संस्थामा नयाँ लगानीकर्ता प्रवेश, क्रिष्टलबाहेक सबै संस्था सञ्चालनमा आउने

काठमाडौं, १० पुस । नेपाल राष्ट्र बैंकले नयाँ वित्तीय संस्थालाई २०६३ सालबाट इजाजत दिन रोकिएपछि समस्याग्रस्त अवस्थामा सचालनमा भएकामा नयाँ लगानीकर्ता प्रवेश गर्न थालेका छन् । समस्याग्रस्त वित्तीय संस्थालाई किनेर राम्रो व्यवस्थापन बनाएर संचालन गर्न नयाँ लगानीकर्ता हौसिएका छन् । हाल नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको विभिन्न ११ वटा वित्तीय संस्थामध्ये नौ वटामा नयाँ लगानीकर्ताको प्रवेश सुरू भैसकेको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । उनका अनुसार बाँकी दुईवटामा क्रिष्टल फाइनान्स खारेजी प्रक्रियामा गैसकेको छ भने नेपाल सेयर मार्केट एण्ड फाइनान्सलाई भने अदालतले अहिलेकै अवस्थामा संचालन गर्नु भनेर निर्देशन दिएको छ । नयाँ वित्तीय संस्थाको इजाजत बन्द भएपछि खारेजीमा गएको संस्थाको समेत स्वामित्व लिने काम विस्तारै सुरु भएको हो । यस अघि खारेजीमा गएको नेपाल विकास बैंकलाई प्रभु बैैंकले ६ कित्ता शेयर बारबार एक कित्ता प्रभु बैंकको शेयर दिनेगरी किनेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार समस्याग्रस्त अवस्थामा रहेकको वित्तीय संस्थालाई नयाँ लगानीकर्ताले संचालन गर्ने गरी प्रक्रिया अगाडि बढिसकेको अहिले सकारात्मक सन्देश प्रवाह पनि भएको छ । समस्याग्रस्त रहेको संस्था संचालन गर्न आएका नयाँ लगानीकर्तामध्ये नौ वटामा अनुमति दिएको पनि पौडेलले बताए । नयाँ लगानीकर्ताले संचालन गर्ने भनिए पनि सबै संस्था कसले कति रुपैयाँमा किनेको हो भनेर सबैको नाम तथा खरिदको पैसा सार्वजनिक गरिहाल्ने अवस्था अहिले नरहेको पौडेल बताए । राष्ट्र बैैंकले दिएको जानकारी अनुसार पाँच वर्षदेखि वित्तीय अवस्था कमजोर भएका तथा समस्यामा परेको संस्थामा नयाँ लगानीकर्ता देखिन थालेका छन् । राष्ट्र बैंकका अनुसार २०७१ साल चैतदेखि समस्याग्रस्त भएको ललिपुर फाइनान्समा काठमाडौंकै व्यापारिक समूहले लगानी गरेको छ ।   हाल नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको विभिन्न ११ वटा वित्तीय संस्थामध्ये नौ वटामा नयाँ लगानीकर्ताको प्रवेश सुरू भैसकेको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । २०७१ माघदेखि समसयामा रहेको अरुण फाइनान्समा हाथवे इन्भेष्टमेन्ट तथा आइएमई समूहमा आवद्ध विभिन्न व्यक्तिले लगानी गरेका छन् । २०६९ देखि समस्याग्रस्त भएको क्यापिटल मर्चेन्ड एन्ड फाइनान्स गैरआवसीय नेपालीको समूह तथा टीबीआई सूहले खरिद गरेको छ । २०७० देखि समस्या ग्रस्त भएको संस्था जनरल फाइनान्सलाई गैरआवासीय नेपाली समूहले संचालन गर्ने भएको छ । २०६८ देखि समस्यामा रहेको कुबेर मर्चेन्ड एन्ड फाइनान्स बुटवलका व्यापारिक समूहले खरिद गरेका छन् भने पाँच वर्ष अगाडिबाट समस्याग्रस्त भएको नेपाल फाइनान्समा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुको समूहले पुँजी लगानी गरेको छ । दुई वर्षदेखि समस्याग्रस्त भएको कर्पोरेट डेभलपमेन्ट बैंक विरगन्जका माडबारी समूहको लगानी रहेको पनि उल्लेख छ । २०७० बैशाखबाट समस्याग्रस्त भएको वल्र्ड मर्चेन्ट बैैंकको भने शेयर विक्री उल्लेख्य छ । संमस्याग्रस्त संस्थामा नयाँ लगानीकर्ताको प्रवेशले नेपालको वित्तीय क्षेत्र सुधारको संकेत गरेको राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बताए । ११ वटा वित्तीय संस्था समस्याग्रस्त अवस्थामा रहेकोमा जनरल फाइनान्स सामान्य अवस्थामा फर्किएको बताउँदै नेपालले बाँकी बैंक तथा वित्तीय संस्थाहरु पनि आगामी चैत मसान्तसम्ममा सञ्चालनमा आउने बताए ।

७० भूकम्प पीडितलाई २१ करोड रुपैयाँ सहुलियतपूर्ण ब्याजदरमा ऋण प्रवाह

काठमाडौं १०, पुस । भूकम्पपीडितहरूले घर निर्माणका लागि सहुलियतपूर्ण ब्याजदरमा २१ करोड रुपैयाँ कर्जा सुविधा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म यो शीर्षकमा २० करोड रुपैयाँ ९७ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । राष्ट्र बैंकले भूकम्पको एक सातापछि ल्याएको यो योजनाअन्तर्गत गत कात्तिक महिनासम्ममा ७० पीडितले ऋण सुविधा लिएका हुन् । योजना सार्वजनिक भएको एक वर्षसम्म भूकम्पपीडितहरू घर निर्माणका लागि सहुलियतपूर्ण कर्जामा आकर्षित नदेखिए पनि अहिले भने कर्जा प्रवाह हुन थालेको देखिएको छ । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल भने भूकम्पपीडितका लागि २५ करोड रुपैयाँ कर्जा प्रवाह भएको बताउँछन् । “एक सयजना पीडितले घर निर्माणका लागि ऋण लगिसकेका छन्,” उनी भन्छन्, “मंसिर महिनादेखि ऋण प्रवाह अझै बढेको छ ।” राष्ट्र बैंकका अनुसार हालसम्म २८ वाणिज्य बैंक, ६४ विकास बैंक, ३९ फाइनान्स कम्पनी भए पनि भूकम्पपीडितका लागि जम्मा १२ बैंक तथा वित्तीय संस्थाले मात्र कर्जा प्रवाह गरेका छन् । अहिलेसम्म प्रवाह भएको ऋण बैंक तथा वित्तीय संस्थामार्फत मात्र भएको छ । लघुवित्त संस्थाबाट भने ऋण प्रवाह भएको छैन । राष्ट्र बैंकको तथ्यांकले भूकम्पपीडितलाई कर्जा दिन बैंक तथा वित्तीय संस्था आकर्षित नभएको देखिन्छ । नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष उपेन्द्र पौडेल तुलनात्मक रूपमा भूकम्पपीडित कर्जामा बैंक तथा वित्तीय संस्थाको आकर्षण कम भएको स्वीकार गर्छन् । “सरकारले अनुदान उपलब्ध नगराएको अवस्थामा २० करोडभन्दा बढी ऋण जानु पनि राम्रो हो,” पौडेल भन्छन्, “पीडितहरूलाई पहिलो प्राथमिकता अनुदान हो । त्यहीअनुसार पीडितले ऋणमा चासो नदिएको हुनसक्छ ।” एक महिनाको अवधीमा भूकम्पपीडितलाई जाने कर्जा ५ करोडले बढेको देखिएको छ । असोज मसान्तसम्ममा १५ करोड ३८ लाख रुपैयाँ कर्जा गएकोमा कात्तिक महिनामा २० करोड ९७ लाख कर्जा प्रवाह भएको हो । भूकम्पपीडितको भने राष्ट्र बैंकले बनाएको कार्यविधि ऋण लिन झन्झिटिलो भएकोले ऋण लिन नपाएको गुनासो गर्दै आएका छन् । बैंकरहरू पनि प्रक्रियागत झन्झटको कारण पीडितहरूले ऋणमा चासो नदिएको स्वीकार्छन् । “पीडितहरूले चासो देखाएर ऋणको लागि निवेदन दिएको देखिएको छैन,” पौडेल भन्छन्, “प्रक्रिया पु¥याएर आएको निवेदनका लागि हामीले ऋण दिन प्राथमिकता दिएका छौ । अर्बौ रुपैयाँको ऋणमा पीडितलाई घर निर्माणमा जाने हिस्सा कम नै हो ।” राष्ट्र बैंकले शून्य प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउने यस्तो सुविधा अन्तर्गत भूकम्पपीडितले दुई प्रतिशत ब्याजदरमा ऋण पाउँछन् । राष्ट्र बैंकले सहुलियत दिनको लागि निकै प्रचार गरे पनि भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितहरू ऋणका लागि खासै आकर्षित देखिएका भने छैनन् । “राष्ट्र बैंकले सहुलियतपूर्ण ब्याजदरमा ऋण प्रवाह गर्ने निर्णय गरेको हो,” प्रवक्ता पौडेलले भने, “ऋण तिर्न सक्नेले ऋण लिएर घर बनाउनका लागि सुविधा दिएको हो । सरकारले दिनेजस्तो अनुदान सोच्नु भएन ।” कारोबार दैनिकबाट ।

धान उत्पादनमा कीर्तिमान, पाँच अर्ब २० करोड किलोमा एक खर्ब चार अर्ब मूल्यको उत्पादन

काठमाडौं १०, पुस । हालसम्मका सबै रेकर्ड तोड्दै यस वर्ष करिब ५२ लाख मेट्रिक टन (पाँच अर्ब २० करोड किलो)धान उत्पादन भएको छ। कृषि मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०६८६९ मा ५० लाख ७२ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। चालू आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी परिमाणमा धान उत्पादन भए पनि मन्त्रालयले यसबारे आधिकारिक रूपमा सोमबारमात्रै सार्वजनिक गर्ने तयारी गरेको छ। बजारमूल्यअनुसार एक खर्ब चार अर्ब मूल्यबराबरको धान उत्पादन भएको छ। बजारमा धानको औसत मूल्य २० रुपैयाँ प्रतिकिलो छ। चालू आर्थिक वर्षमा हालसम्मकै उत्पादनको इतिहासमा सबैभन्दा बढी उत्पादन भएको होु, मन्त्रालय उच्च स्रोतले शनिबार अन्नपूर्णसँग भन्यो, पछिल्लो समयमा उत्पादकत्व वृद्धि हुँदा सोचेभन्दा राम्रो प्रतिफल आएको छ। यस वर्ष ५२ लाख मेट्रिकटनको हाराहारीमा धान उत्पादन भएको छ। यही अवस्थामा उत्पादन भइरहने हो भने छिट्टै चामलमा नेपाल आत्मनिर्भर हुनेछ। मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीका अनुसार यसअघि गत आर्थिक वर्ष २०७०७१ मा ५० लाख ४७ हजार मेट्रिक टन धान फलेको थियो। स्रोतका अनुसार गत आर्थिक वर्ष २०७२७३ को तुलनामा चालू आर्थिक वर्ष २०७३७४ मा झन्डै नौ लाख मेट्रिक टन बढी धान फलेको छ। गत आर्थिक वर्ष ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। यसैगरी आर्थिक वर्ष २०७१७२ मा ४७ लाख ८८ हजार मेट्रिक टन धान फलेको थियो। सहप्रवक्ता शंकर सापकोटाका अनुसार धान उत्पादनमा आएको उल्लेख्य प्रगतिका कारण चालू आर्थिक वर्षमा ठूलो परिमाणमा चामल आयात नहुने दाबी गरे। नेपाल राष्ट्रबैंकका अनुसार नेपालमा दैनिक चार करोड र वार्षिक रूपमा २६ अर्बभन्दा बढी मूल्यबराबरको चामल आयात हुन्छ। ुखाने बानीमा आएको परिवर्तनका कारण मसिना र बास्नादार चामल बढी परिमाणमा आयात हुन्छु, सापकोटाले भने। मन्त्रालयका अनुसार समयमै उपलब्ध भएको उन्नत जातका बिउ, रासायनिक मल र सिँचाइका कारण यसपटक उत्पादन तथ्यांकले ब्रेकु गरेको हो। मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा उच्च हिमाली क्षेत्रमा ९९ प्रतिशत, मध्यपहाडी क्षेत्रमा ९८ प्रतिशत र तराई क्षेत्रमा ९७ प्रतिशतको हाराहारीमा रोपाइँ भएको थियो। करिब १४ लाख २५ हजार तीन सय ४६ हेक्टर धान उत्पादन हुने क्षेत्रफलमध्ये यस वर्ष झन्डै १४ लाख हेक्टरमा रोपाइँ भएको थियो। अघिल्लो वर्ष मुलुकभर गरी चार प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन सकेन। यस्तै तराईका करिब १२ जिल्ला र कर्णालीमा गरी ३० प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन सकेन। रोपाइँ भएको क्षेत्रफलमा सिँचाइको अभावसँगै बन्दहडताल र नाकाबन्दीका कारण समयमा आन्तरिक क्षेत्रमा भएको मल र भारतसहित तेस्रो मुलुकबाट आउनुपर्ने मल नआउँदा अघिल्लो वर्षको तुलनामा १० प्रतिशतका दरले करिब चार लाख ९० हजार मेट्रिक टन कम धान उत्पादन भएको थियो। अन्नपूर्ण पोस्टबाट ।

कोकाकोला र सान्ता क्लजको वर्षौं देखिको सहयात्रा, कथा कर्पाेरेट क्रिसमशकाे

काठमाडौं, ९ पुस । कोकाकोला धेरै वर्ष देखि यसको पुर्नताजगीको प्रतिबद्धता सहित उल्लासमय क्रिशमसको विज्ञापन, अभियानहरुका साथमा एउटा महत्वपूर्ण भाग बन्दै आएको छ । मेरी र जोली सान्ता क्लज बिना क्रिश्मस को कुनै महत्व हुदैन भन्ने हामीलाई थाहा भएकै हो । यथार्थमा, अधिकांश मानिसहरु अचम्भित हुन्छन की सन् १९३२ पहिले हाल चलिआएको ठूलो र आनन्ददायक, रातोसुट लगाएको र सेतो दाह्रि पालेको सान्ता अग्लो, ख्याउटे, दुब्लो, र अलौकिक जस्तो देखिन्थ्यो । त्यसपछि, कोकाकोला कम्पनीले नै हालको आनन्दित मुद्रामा देखिने सान्ता क्लजको आकार बनाएको हो । फिनिस अमेरिकन कलाकार ह्याडोल सन्तबोल्मसँगै कोकाकोलाको पनि दशकौं, र पुस्तौं लामो सम्बन्ध छ, यो आनन्दको बिम्बसँग । कोकाकोला कम्पनीले सान्ता क्लजलाई लोकप्रिय संस्कृतिको अभिन्न अंगको रुपमा आनन्द दायक, उज्यालो रातो सुटमा सेतो दाह्रि भएको मानिसलाई लोकप्रिय बनाउन योगदान गर्यो । (आजभोली ऊसँग गाडा र तान्नको लागि बारहसिँग पनि रहेको हुन्छ, साथ साथै श्रीमती क्लज पनि हुन्छिन् ।) सन् १९२० देखि कोकाकोलाले आफ्ना विज्ञापनहरुमा प्रशिद्ध व्यक्तित्वको रुपमा एउटा ससक्त संस्करणलाई प्रचार सामाग्रीको रुपमा चित्रित गर्न थालेको हो । सन् १९३० मा कलाकार फ्रेड मिजेनले कोकाकोलाको बोतल पिउँदै गरेको सान्ताको चित्र डिपार्टमेन्टल स्टोरमा सामूहिकमा बनाएका थिए । यो विज्ञापनमा विश्वको सबैभन्दा ठूलो सोडा फाउन्टेन अंकित थियो र मिजेनको चित्रकलालाई त्यसपछि छापामा समाहित गरियो । सन् १९३१ मा, कोकाकोला कम्पनीले आफ्नो विज्ञापन सामाग्री लोकप्रिय छापा पत्रिकाहरुमा शुरु गर्ने निर्णय गर्यो र कोकाकोला एकाउन्ट समालिरहेका कार्यकारी आर्ची लीले डि आर्ची विज्ञापन एजेन्सीमा, पूर्णरुप देखाउने सान्ता, जो जीवन्त हुनुका साथै जादूमयी र उक्त समयको प्रतिबिम्बको रुपमा हुनुपर्ने बिदाको अभियानमा देखिनु पर्ने चाहना गरेका थिए । सान्ताको कलाकारि आवश्यकता र उत्प्रेरक चरित्रलाई सन्तुलनमा गर्नकालागि मिचिगनमा जन्मिएका चित्रकार हाडोन सन्डब्लोम आफैंले उक्त समयमा नै सान्ताको व्यवहारिक मानव आकृतिको श्रृजना गरेका हुन् । सान्ता कुनै कार्टुन वा काल्पनिक व्यक्तित्व नभई, समग्रमा मानवीय गुण भएको मानिस र सम्बन्धित विशेषताहरु सहित हो । सन १८२२ को क्लार्क मारीको एक कविता “अ भिजिट फ्रम सेन्ट निकोलास” का पात्र सेन्ट निकोलासबाट प्रभावित भई सन्डब्लोमले खुशी, आनन्दित र मावन जस्तै लाग्ने आकृतिको श्रृजना गरेका थिए । सान्ताको रातो कोट कोकाकोलाको रंग सँग सम्बन्धित छ भनिए पनि रातो कोट सान्ताले सान्डब्लोमले आकृति कोर्नु अगाडि नै लगाउन थालेको थियो । त्यसपछि फोटो खिचेर सान्ता तस्विर बनाउन थालियो । यस बेलासम्म मानिसहरु सान्ताको तस्विर यति शुक्ष्म ढंगेले निगरानि गर्न थालेका थिए कि सान्ताको रुप रंगको बारेमा कोकाकोलालाई चिट्ठी पठाउँथे । एक साल, सान्ताको बेल्ट पछाडिको भागमा थियो, (सायद सन्डब्लोमले त्यो समयमा ऐनामा हेरेर चित्र बनाएका थिए) । अर्को वर्ष, सान्ता विवाहको औंठि बिना नै देखापरे, यसको कारणमा श्रीमती क्लज सँगको दुखद कुनै घटना थियो । बालबालिकाहरु पनि, जो पछि विज्ञापनहरुमा देखापरे, दुई बालिकाहरु कलाकारको छिमेकीहरुमा आधारित थिए । तस्विरलाई सन्तुलित बनाउन सण्डब्लोमले ती मध्ये एकलाई बालक चित्रित गरे । सन् २००१, एलेक्जान्द्रे पेट्रोभले सिर्जना गरेको एनिमेटेड टेलिभिजन विज्ञापन, जसमा कोकाकोला सान्ता देखाईएको पनि सन् १९६२ को सण्डब्लोमको चित्रकलामा आधारित रहेको थियो । दशकौं पछि पनि सण्डब्लोमको तस्विरले आधुनिक समयमा पनि सान्ता क्लजको तस्विरलाई उत्प्रेरित गरिरहेको छ, जून विश्वभरका मानिसहरुले माया गर्दछन् । सण्डब्लोम र कोकाकोलाको सुन्दर श्रृजनाको कारण, गुलाबी गाला र न्यानो मुस्कानका साथमा हिउँ जस्तै सेतो दाह्रि भएको मानिसले खुशि फैलाउँछ, केटाकेटी र प्रौढहरुमा करिब शताब्दीदेखि खुशी संचार गरिदिएको छ र विश्वभर मानिसहरु सान्ताको शक्तिशाली प्रतिबिम्बलाई माया र आफ्नो सम्झिरहेका छन् । यसमा कुनै शंका छैन कि आगामी दिनमा पनि हाडोन सण्डब्लोम, कोकाकोला र सान्ता क्लज एक आपसमा सँधै जोडिईरहने छन् । बोटलर्स नेपाल लिमिटेडका निर्देशक, पुनित वाश्र्नेले भने, “अहिले नेपालमा र विश्वभर परिवार र साथी भाईसँग बिदाको मौसममा कोकाकोला साटासाट गर्नु वार्षिक चाडवाडहरुको अभिन्न अंग र भाग बनेको छ । यो लोभलाग्दो कथा कसरी महान ब्राण्डहरु लोकप्रिय संस्कृतिको अभिन्न अंगबन्दै ग्राहकहरुसँग बलियो र लामो नाता गाँस्न सक्छन् भन्ने कुराको प्रमाण पनि हो ।”

अर्घाखाँची सिमेन्टद्वारा इन्जिनियरर्स, कन्ट्रयाकटर्स र निर्माणकर्मीहरुसँग अन्तरक्रिया

काठमाडौं, ९ पुस । अर्घाखाँची सिमेन्टले पुस ८ गते पोखराको लेकसाइडमा अवस्थित होटल टेम्पल ट्रीमा इन्जिनियरर्स, कन्ट्रयाक्टरर्स र निर्माणकर्मीहरुको विशेष भेटघाट र अन्तरक्रिया गरेको छ । कम्पनीका इन्जिनियर विकास भट्टराइले सहभागी सबैलाई भूकम्प प्रतिरोधक भवन निर्माण गर्न र भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न बलियो घर निर्माणको प्राविधिक जानकारी प्रदान गर्नुका साथै गुणस्तरिय निर्माण सामाग्री छनौट गर्ने तरिकाहरुको बारेमा पनि जानकारी प्रदान गरेका थिए । उक्त भेटघाट कार्यक्रममा सहभागी सबैजनालाई कम्पनीका सिनियर सेल्स एण्ड मार्केटिङ् मेनेजर रमेश थापाद्वारा आगामी दिनमा अर्घाखाँची सिमेन्टले विशेष बजार नीति अपनाइ कार्य अगाडी बढाउनुका साथै अन्य संगठनमा पनि भूकम्प प्रतिरोधक भवन निर्माणको बारेमा तालिम तथा जानकारी मुलक कार्यक्रमको आयोजना गर्नेे जानकारी दिए ।

बुटवल पावरको २७ प्रतिशत लाभांश पारित, चुक्ता पूँजी १ अर्ब ७९ करोड रुपैयाँ पुग्ने

काठमाडौं, ८ पुस । बुटवल पावर कम्पनीको प्रस्तावित २७ प्रतिशत लाभांश पारित भएको छ । शुक्रबार बसेको कम्पनीको २४ औं साधारण सभाले ७ प्रतिशत बोनस सेयर तथा २० प्रतिशत नगद लाभांस गरि सो मात्राको लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । साथै साधारणसभाले बोर्डले तोकका शर्त र मापदण्डहरु पुरा गरेर एफपिओ निष्कासनको प्रक्रिया अगाडि बढाउने प्रस्ताव समेत पारित गरेको छ । उक्त कार्यक्रममा सभाले नयाँ सेयर निष्कासन (एफपिओ) जारी गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । बोनस सेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ ।

दिपायल विमानस्थलको कालोपत्रेको काम सुरु, करिब साढे ५ करोड रुपैयाँको लागत

डोटी, ८ पुस । विगत १० वर्षअगाडिदेखि गौचरनमा परिणत भएको दीपायल विमानस्थलको कालोपत्र गर्ने कार्य सुरु भएको छ । असारमा कालोपत्र गर्नका निम्ति निस्किएको टेन्डर गत कात्तिकमा आएर सम्झौता भइसकेपश्चात् कार्य अगाडि बढेको नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत बालकृष्ण रेग्मीले बताए । विमानस्थललाई कालोपत्र गर्नका निम्ति आवश्यक सामान दीपायल ल्याउने कार्य भइरहेको समेत रेग्मीले जानकारी दिएका छन् । “कालोपत्र गर्नका निम्ति अधिकतम रुपमा गिट्टीको आवश्यकता हुन्छ, त्यसका निम्ति क्रसर फिट गर्ने कार्य भइरहेको छ”, अधिकृत रेग्मीले बताए । विमानस्थल कालोपत्रको कार्य द्रुतगतिमा अगाडि बढ्ने समेत रेग्मीले बताएका छन् । सपना गाल्बा जेवी निर्माण समितिले कालोपत्र गरिरहेको विमानस्थलमा करिब पाँच करोड ५० लाख रुपैयाँको रकम खर्च हुने विमानस्थल कालोपत्रका साइट इन्चार्जसमेत रहेका अधिकृत रेग्मीले जानकारी दिएका छन् । करिब साढे चारसय मिटर लम्बाइ भएको विमानस्थलको कालोपत्र गर्ने कार्य १५ महिना भित्रै सकिने बताइएको छ । सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दीपायलमा अवस्थित विमानस्थल कालोपत्र हुँदा यहाँका जनतामा हर्ष छाएको छ । १० वर्षदेखि ओझेलमा परेको विमानस्थल कालोपत्र गर्नका निम्ति डोटी क्षेत्र नं २ का सांसद प्रेमबहादुर आलेमगरले आफूले ठूलो मिहेनत गर्नु परेको बताएका छन् । डोटेली जनताको माया र स्नेहले आफूलाई विकास गर्नका निम्ति थप उत्साह दिएको उनले बताए । अबका दिनमा विमानस्थललाई नियमित सञ्चालनका निम्ति त्यहाँका जनताले सहयोग गर्नुपर्नेमा आलेमगरको जोड रहेको थियो । सुदूरपश्चिमको मुटुमा रहेको विमानस्थल कालोपत्र हुने भएपछि छिमेकी जिल्ला अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, दार्चुला लगायतका जनतालाई सहज हुने देखिएको छ । रासस

निक्षेप अल्पकालीन योजनामा, दीर्घकालीन कर्जा प्रवाह हुँदा समस्या

काठमाडौं ८, पुस । बैंक तथा वित्तीय संस्थाले अल्पकालीन निक्षेपको योजनामै दीर्घकालीन प्रकृतिको कर्जा प्रवाह गर्दा समस्या देखिएको छ । बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता)को अवस्था छिटोछिटो परिवर्तन हुने हुँदा दीर्घकालीन कर्जा दिन बैंक तथा वित्तीय संस्थालाई समस्या परेको हो । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले अल्पकालीन निक्षेप लिएर दीर्घकालीन प्रकृतिको कर्जा प्रवाह गर्नुपर्ने बाध्यता रहेको बताए । “तरलता अभावका कारण अहिले बैंकहरुसँग कर्जा दिने पैसा छैन,” उनले भने, “दीर्घकालीन प्रकृतिको कर्जामा सम्झौता अगाडि भए पनि कर्जा प्रवाहपछि हुने हुँदा ऋण दिन समस्या छ ।” नेपाल राष्ट्र बैंकले कृषि तथा ऊर्जामा कर्जा प्रवाह अनिवार्य गरेपछि बैंक तथा वित्तीय संस्थाले यसमा कर्जा प्रवाहको रकम बढाएका छन् । कृषि क्षेत्रमा तत्काल ऋण गए पनि ऊर्जा क्षेत्रमा सम्झौता गरेको दुई वर्षपछि ऋण जाने हुँदा तरलता अभाव हुँदा कर्जा दिन समस्या हुने गरेको छ । सिद्धार्थ डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय मिश्र अल्पकालीन निक्षेप लिएर दीर्घकालीन कर्जा दिन समस्या हुने गरेको बताउँछन् । “सिद्धार्थ बैंकले नै करिब २ अर्ब रुपैयाँ ऊर्जा क्षेत्रमा कर्जा प्रवाह गर्ने सम्झौता गरेको छ,” उनले भने, “सम्झौताको करिब २५ प्रतिशत कर्जा गएको छ । अहिले कोही सम्झौताअनुसारको ऋण लिन आएमा दिनसक्ने अवस्था छैन ।” बैंक तथा वित्तीय संस्थाले स्वदेशी लगानीमा निर्माण हुने जलविद्युत् आयोजनामा करिब १ खर्ब रुपैयाँ कर्जा दिने सम्झौता गरेका छन् । तर, कात्तिकसम्म जम्मा ४५ अर्ब रुपैयाँ कर्जा गएको छ अर्थात सम्झौताको ५० प्रतिशत रकम पनि जलविद्युत् क्षेत्रमा कर्जा गएको छैन । वित्तीय स्रोत जुटाउन हुने सम्झौता भएपछि आयोजना निर्माणको काम सुरु हुने र प्रवद्र्धकले निर्माणको कामअनुसार ऋण रकम लिँदै जाने गर्छन् । तरलता अभावको कारण सम्झौता हुँदाको समयभन्दा ब्याजदर बढ्ने हुँदा यसले निर्माण आयोजनाको लागतलाई समेत बढाएको हुन्छ । सरकारले जलविद्युत् क्षेत्रमा पुनरकर्जाको सुविधा दिए पनि यो प्रभावकारी भने हुन सकेको छैन । “अहिले निक्षेपको बढीमा तीन वर्षको योजना छ,” सिद्धार्थ डेभलपमेन्ट बैंकका सीईओ मिश्रले भने, “कर्जा भने १० देखि १५ वर्षको अवधिलाई दिनुपर्छ । खासगरी सम्झौता हुने र ढिलो ऋण जाने जलविद्युत्सहित निर्माण क्षेत्रको ऋण प्रवाहमा तरलता अभावले बढी समस्या उत्पन्न गर्ने गरेको छ ।” कारोबार दैनिकबाट ।

साढे तीन अर्ब बराबरको सेयर आउँदै, १८ कम्पनीले मागे पौने चार करोड कित्ता सेयर निष्कासनको अनुमति

काठमाडौं ८, पुस । बजारमा तीन अर्ब ४७ करोड ६९ लाख रुपैयाँ बराबरको साधारण सेयर आउने भएको छ । चालु आर्थिक वर्षभित्रै तीन करोड ७५ लाख ११ हजार कित्ता साधारण सेयर निष्कासन गर्न १८ वटा कम्पनीमध्ये नेपाल धितोपत्र बोर्डमा आवदेशन दिएका छन् । आवेदन दिएका कम्पनीमध्ये सातवटाले सेयर निष्कासनका लागि स्वीकृत पाइसकेका छन् । ११ वटा कम्पनी साधारण सेयर निष्कासन गर्न पाइपलाइनमा बसेका छन् । स्वीकृत पाइसकेका कम्पनीले स्वीकृत पाएको दुई महिनाभित्र साधारण सेयर निष्कासन गरिसक्नुपर्नेछ । सात कम्प्नीले तीन अर्ब एक करोड ५१ लाख रुपैयाँ बराबरको २९ करोड ५६ लाख कित्ता सेयर निष्कासन गर्न बोर्डबाट स्वीकृत पाएका छन् । यसमा नेपाल बंगलादेश बैंक, छ्याग्दी हाइड्रोपावर हिमालय पावर पार्टन, सिनर्जी हाइड्रो, नेपाल हाइड्रो डेभलपर, युनाइटेड मोदी हाइड्रोपावर, मैलिङ खोला जलविद्युत कम्पनी, आबुखोला जलविद्युत कम्पनी, राधी विद्युत कम्पनी, गर्जाङ उपत्यका हाइड्रोपावर लगायत रहेका छन् । त्यस्तै माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाको पनि सेयर आउने भएको छ । अन्नपूर्ण पोस्टबाट ।

जनावरका लागि अस्पताल खुल्दै, चारवटा अस्पतालका लागि एक करोड २० लाख रुपैयाँ विनियोजन

काठमाडौं ८, पुस । सरकारले जंगली जनावरको उपचारका लागि अस्पताल (रेस्क्यु सेन्टर) खोल्ने भएको छ । चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएअनुसार मुलुकका चार ठाउँमा अस्पताल निर्माण गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए । जंगली जनावर चोरी सिकारी र विभिन्न कारणले मारिन थालिएपछि अस्पताल खोल्न लागिएको खड्काले बताए । सरकारले एउटा अस्पताल निर्माणका लागि ३० लाख रुपैयाँ विनियोजन गरेको छ । चारवटा अस्पतालका लागि एक करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ । सरकारले पर्सा, चितवनको सौराहा, बर्दियाको ठाकुरद्वारा र काठमाडौँको सूर्य विनायकमा जंगली जनवारको अस्पताल खोल्ने तयारी गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

मोरङमा ‘माछा जोन’ कार्यक्रमका लागि २० करोड

विराटनगर, ७ पुस । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत मोरङको एक नगरपालिका र तीन गाविसमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन हुने भएको छ । दस वर्षे सो परियोजना सञ्चालनका लागि चालु आवमा रु २० करोड विनियोजन गरिएको छ । रङ्गेली नगरपालिकाका साथै बबियाविर्ता, सोराभाग र कटहरी गाविसमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन हुन लागेको जिल्ला कृषि विकास कार्यालय, मोरङले जनाएको छ । यो कार्यक्रम सञ्चालनका लागि ५०० हेक्टर जग्गा चाहिन्छ । ती जग्गामा माछा पाल्न नयाँ पोखरी निर्माण, बजारीकरण, यन्त्र औजार खरिद, नर्सरी पोखरी र साना सिँचाइका लागि ५० देखि ८५ प्रतिशतसम्म अनुदान रकम प्रदान गरिने सो कार्यालयका प्रमुख मनोजकुमार यादवले जानकारी गराए । कृषि क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन र निर्यातलाई बढावा दिन सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सरकारले चालु आवदेखि चार तहको कार्यक्रम सुरु गरेको छ । सोअनुरुप सातवटै प्रदेशमा एक हजार हेक्टरको ‘सुपर जोन’ र छनोटमा परेका जिल्लामा ५०० हेक्टरको जिल्ला जोन, एकसय हेक्टरको इलाका र १० हेक्टरको पाकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्न थालिएको छ । प्रदेश र जिल्लामा उत्पादनमा प्रमुखता पाएका कृषि वस्तुलाई आधार बनाएर कार्यक्रम निर्धारण गरिएको हो । प्रदेश नं १ मा ‘सुपरजोन’ कार्यक्रमका लागि झापालाई छनोट गरिएको छ । सो कार्यक्रमअन्तर्गत एक हजार हेक्टर जग्गामा विशेष किसिमको धानको खेती गरिन्छ । सोहीअनुरुप सातवटै प्रदेशमा एउटा एउटा ‘सुपर जोन’ कार्यक्रम सञ्चालन हुने भएको छ । मोरङमा माछा उत्पादन बढी हुने गरेकाले मोरङमा ‘माछा जोन’ र सप्तरीमा आँप उत्पादन बढी हुने गरेकाले सप्तरीमा ‘आँप जोन’ निर्धारण गरिएको छ । सोहीअनुरुप, भोजपुर, उदयपुरलगायतका जिल्लामा प्रमुखता पाएका वस्तुलाई आधार बनाएर कार्यक्रम छनोट गरिएको बताइएको छ । माछाको उत्पादनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको मोरङ जिल्लामा ५८५ हेक्टर जग्गामा माछाको खेती गरिन्छ । गत वर्ष सरकारले ५६ हेक्टर जग्गामा नयाँ पोखरी निर्माणका लागि रु एक करोड ५० लाख अनुदान रकम वितरण गरेको थियो । सोही कारण माछा उत्पादनका लागि मोरङलाई छनोट गरिएको हो । ‘सुपर जोन’ र ‘जिल्ला जोन’का लागि छुट्टै कार्यालय स्थापना हुने र इलाका र पकेट कार्यक्रम सम्बन्धित जिल्ला कृषि विकास कार्यालयबाट सञ्चालन हुने जिल्ला कृषि विकास कार्यालय, मोरङका प्रमुख यादवले बताए । जोन सञ्चालक समितिमा कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि सामग्री व्यवसायीका साथै नजिकको कृषि विकास कार्यालयका प्रतिनिधि सदस्यको रुपमा रहने बताइएको छ । रासस

नबिल बैंकद्धारा सुरक्षाकर्मीको सम्मान

काठमाडौं, ७ पुस । नबिल बैंकले कान्तिपथ शाखाका सुरक्षक यदुनाथ पोखरेललाई नगद ५० हजार सहित प्रशंसा पत्र प्रदान गरेको छ । बैंक संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालले जि. फोर. एस. सेक्युरिटि सर्भिसेज नेपाल प्रा. लिबाट बैंकको कान्तिपथ शाखामा पोखरेललाई प्रशंसा पत्र प्रदान गरेका छन् । सम्मानित पोखरेलले १० नोभेम्बर २०१६ मा बैंकको कान्तिपथ शाखाको एटीएम बुथमा भएको गतिविधिमा शंका लागि तुरुन्त खवर गरेको र उक्त गतिविधिमा संलग्न व्यक्तिहरु उपर निगरानी राखी उनीहरु बसेका होटल पत्ता लगाई संदिग्ध व्यक्तिहरुलाई पक्राउ गर्न बहादुरी पूर्वक सहयोग गर्नुका साथै एटीएमको सुरक्षामा महत्वपूर्ण योगदान पु¥याएकाले सम्मान गरिएको बैंकले जनाएको छ । बैंकका संचालक समितिका अध्यक्ष पौड्यालले बैंकको यस प्रकारको सम्मानले सुरक्षा कार्यमा संलग्न सम्पूर्ण व्यक्तिहरुलाई आफनो कार्यमा अझ दत्तचित्त भई काम गर्न र कुनैपनि शंकास्पद गतिविधिलाई निगरानी गरी बैंक र ग्राहकको सुरक्षामा अझ बढि सचेत हुन आग्रह गरेका छन् । सम्मानित पोखरेलले बैंकको यस्तो कदमले अझ थप हौसला प्राप्त भएको र अझ बढि जिम्मेवारी पूर्वक काम गर्ने जिम्मेवारी थपेको बताएका छन् ।

साताको अन्तिम दिन नेप्से परिसूचक हरियो, ५० करोड रुपैयाँको सेयर कारोबार

काठमाडौं, ७ पुस । साताको अन्तिम दिन सेयर बजार हरियो भएको छ । बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । परिसूचक ४ दशमलब ७८ अंकले बढेर १४७५ दशमलब ४१ अंकमा पुगेको छ । लगातार घटेको बजारमा आज केही मात्रामा सुधार भएको देखिन्छ । परिसूचक सँगै कारोबार रकममा पनि सुधार भएको छ । सो दिन १३८ कम्पनीको ७६ लाख ९९ हजार कित्ता सेयर ५० करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ । बुधबारको तुलनामा बिहीबार ५ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा सनराइज बैंक लि प्रमोटर सेयरको सेयर, नेको इन्स्योरेन्स र नेपाल दुरसञ्चार कम्पनीको ४ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, चिलिमे हाइड्रो पावर कम्पनीको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । सो दिन उत्पादनमूलक, अन्य समूह, विकास बैंक र बैंकिङ समूहको परिसूचक क्रमशः ३४, १९, ५ र २ अंकले उकालो लागेका छन् । यी मध्ये बाँकी रहेका समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक २३ अंकले ओरालो लागेको छ । बजारमा एनबी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी करिब ८ प्रतिशत कमाएका छन् । उता सबैभन्दा बढी माउन्ट मकालु डेभलपमेन्ट बैंकका लागानीकर्ताले करिब ५.७ प्रतिशत गुमाएका छन् ।

नागढुंगा-नौविसे सुरुङमार्ग निर्माणका लागि जापानले दियो १५ अर्व २८ करोड ऋण

काठमाडौं, ७ पुस । जापान सरकारले नेपालको नागढुंगा सुरुङमार्ग निर्माण योजनाको लागि १५ अर्व २८ करोड ऋण दिने भएको छ । सो योजनाको लागि ऋण दिने सम्झौतामा अर्थसचिव डा.शान्तराज सुवेदी र जापानी राजदुत मासागी ओगावाले हस्ताक्षर गरे । सम्झौता हस्ताक्षरमा  उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार मन्त्री रमेश लेखकको पनि  उपस्थिति  रहेको थियो ।  ऋण ०.०१ प्रतिशत व्याजमा जापान सरकारले नेपाललाई उपलव्ध गराएको हो । सुरुङ मार्ग २.५ किलोमिटर लामो हुने अर्थमन्त्रालयले जनाएको छ । सो योजना सन् २०२२ सम्ममा पुरा गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

तरलता अभाव हुदा निक्षेप र कर्जाको व्याजदर बढ्दै, निक्षेपकर्तालाई भने फाइदा

काठमाडौं, ७ पुस । बजारमा तरलता (लगानीयोग्य रकम) अभाव हुदा निक्षेपको व्याजदरमा बृद्धि भइरहेको छ । पछिल्लो समयमा बैंक तथा वित्तिय संस्थाहरुले निक्षेपको व्याजदर समेत बढाइरहेका छन् । तीन महिनाअघि सम्म निक्षेपमा २ प्रतिशतसम्म व्याज दिने बैंकहरुले तरलता अभाव भएपछि निक्षेप तान्नको लागि व्याजदर बढाउन प्रतिष्पर्धा गरीरहेका छन् । जसले गर्दा निक्षेपकर्तालाई फाइदा पुगेको छ । केही समययता सिभिल बैंकले निक्षेपको व्याज ८.२५ प्रतिशत सम्म पुर्याएको छ भने हिमालयन बैंकले ७.७५ प्रतिशत सम्म व्याज दिने घोषणा गरेको छ । त्यस्तै नविल बैंकले पनि निक्षेपको व्याज बढाएर ७.५० प्रतिशतसम्म पुर्याएको छ । कतिपय पुराना बैंकहरुले पनि व्याज बढाएका छन् । तरलता अभाव भएपछि निक्षेप तान्नको लागि बैंक तथा वित्तीय संस्थाहरुविच प्रतिष्पर्धा हुने गरेको छ । त्यस्तै निक्षेपमा व्याज बढेपछि बैंकहरुले कर्जाको व्याज पनि बढाउनेछन् । बैंकर्स संघका पूर्व अध्यक्ष उपेन्द्र पौडेलका अनुसार बजारमा तरलताको अभाव हुदा निक्षेपको व्याजदरमा बृद्धि भएको हो । ‘निक्षेपको व्याजदर बढ्दा स्वतः कर्जाको व्याजदर पनि बढ्छ र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार हुन्छ ।’ पौडेलले भने । संस्थागत निक्षेपकर्ताको हकमा बैकर्स संघले १० प्रतिशत भन्दा व्याज नदिने निर्णय गरेको छ । यसअघि २०६६ सालमा तरलता अभाव हुदा बैंकहरुले संस्थागत निक्षेपकर्ताहरुलाई १३ प्रतिशतसम्म व्याज दिएर निक्षेप लिएका थिए । डेभलपमेन्ट बैकर एसोसिएनका अध्यक्ष कृष्णराज लामिछानेले तरलता अभाव भएको बताउँदै कतिपय बैंकहरुमा त तरलता अत्यधिक कसिलो हुदै गएकोले उनीहरु अब लगानी विस्तार गर्न नसक्ने अवस्थामा रहेको पनि बताए । उनले नीजी बैंकहरुसँगथ ब्याजदर बढाएर निक्षेप तान्नुको विकल्प नभएकोले व्याजदरमा बृद्धि गरिएकोे दावी गरे । उनले केही सरकारी बैंकमा तरलता बढी भएपनि निजी बैंक तथा वित्तिय संस्थामा भने तरलताको अभाव नै रहेको बताए । नेपाल राष्ट्र बैंकका प्रबक्ता नारायण पौडलका अनुसार बजारमा निजी बैंकहरुसँग तरलता अभाव भएपनि ओभरअलमा तरलता अभाव देखिएको छैन । उनले भने,‘हाम्रो सिस्टममा तरलता अभाव देखिदैन उल्टै १३ अर्व तरलता रहेको देखिन्छ तर नीजी क्षेत्रमा भने तरलता अभाव हुदै गएको कुरा भने साँचो हो । उनले केही बैंकहरुसँग तरलता बढी हुदा ओभरअल सिस्टममा नै तरलता बढी देखाएको बताए ।

सेयर बजार ओरालो लाग्ने क्रम जारी, नेप्से २५ अंकले घट्यो, ४६ करोडको सेयर कारोबार

काठमाडौं, ६ पुस । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । बुधबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २५ दशमलब ४८ अंकले घटेर १४७० अंकमा झरेको छ । बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । मंगलबार ६८ करोडको कारोबार भएको बजारमा बुधबार भने जम्मा ४६ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १३१ कम्पनीको ६ लाख ७८ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन ट्रेडिङ् र होटल समूहको परिसूचक सामान्य अंकले बढेको छ भने कारोबार भएका बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १७८ अंकले घटेको छ । त्यस्तै, उत्पादनमूलक र बैंकिङ समूहको परिसूचक दोहोरो अंकले झरेका छन् भने बाँकी सामान्य अंकले घटेका छन् । बजारमा एभरेष्ट बैंकको ३ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बुक क्लोज भएको दिन बैंकको प्रतिकित्ता सेयर १८०० रुपैयाँमा कारोबार भएको छ । सो दिन सबैभन्दा बढी करोबार एभरेष्ट बैंकको नै भएको छ । दोहोरो अंकले घटेको बजारमा पनि दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । नागबेली लघुवित्त विकास बैंक र एनबी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य क्रमशः ९.९९ र ९.९३ अंकले बढेको छ । रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्थाको करिब ९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

सपोर्ट माइक्रोफाइनान्सले एक करोड ८० लाख बराबरको साधारण सेयर चैतभित्र जारी गर्ने

काठमाडौं, ६ पुस । सपोर्ट माईक्रोफाईनान्स वित्तिय संस्थाले आगामी चैत्रभित्र नै साधारण सेयर जारी गर्ने भएको छ । फाइनान्सले सय रुपैयां अंकित एक लाख ८० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको हो । बुधबार प्रेस वित्रप्ति जारी गरी कम्पनीले साधारण सेयर निष्कासनको लागि एनएमबि क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको जनाएको छ । माईक्रोफाईनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रलाल ढकाल र एनएमबि क्यापिटलका श्रीजेश घिमिरेले सेयर निष्काशन सम्वन्धि सम्झौंतामा हस्ताक्षर गरे । कम्पनीको मुख्य कार्यालय सुनसरीको ईटहरीमा रहेको छ । फाईनान्सको ४ करोड ८० लाख चुक्तापुजँी रहेको छ । साधारण सेयर जारी गरेपछि फाइनान्सको चुक्तापुँजी ६ करोड रुपैयाँ पुग्ने छ । फाइनान्सको कार्यक्षेत्र १० जिल्लामा रहेको छ ।

हिमालय ऊर्जा विकास कम्पनीले २४ करोड ७५ लाखको साधारण सेयर जारी गर्ने

काठमाडौँ, ६ पुस । हिमालयन ऊर्जा विकास कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणलाई सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको १६ औँ वार्षिक साधारणसभाले रु २४ करोड ७५ लाख बराबरको २४ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारण र आयोजना प्रभावित स्थानीयवासीलाई निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीले एक महिनाभित्र बिक्री प्रबन्धक नियुक्त गरेर सेयर निष्कासनको काम अघि बढाउने आयोजनाका प्रबन्धक प्रकाश दुलालले बताए । उनका अनुसार रु नौ करोड ९० लाख बराबरको नौ लाख ९० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयवासीलाई दिइनेछ भने रु १४ करोड ७५ लाख बराबरको १४ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरिनेछ । कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ती र सात मेगावाटको माथिल्लो खिम्ती आयोजना निर्माण गरिरहेको छ । दुवै आयोजना बनाउन रु तीन अर्ब १५ करोड लाग्ने छ । आयोजनाको सिभिल निर्माणको काम तीव्र गतिमा अघि बढेको प्रबन्धक दुलालले बताए । आयोजना रामेछाप र दोलखा जिल्ला भएर बग्ने खिम्तीखोलामा आयोजना निर्माण भइरहेको छ । रासस

विद्यार्थी भर्ना प्रक्रिया सरल बनाउन ध्यानाकर्षण, शिक्षाक्षेत्र सुधार गर्न अख्तियारको चुनौति

काठमाडौं ६, पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्साशास्त्र शिक्षातर्फको एमबीबीएस र बीडीएसको प्रवेश परीक्षा तथा विद्यार्थी भर्ना प्रक्रियालाई सरल एवं सहज बनाउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ। कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातसहित अख्तियारका सबै आयुक्तको उपस्थितिमा मङ्गलबार सरोकारवाला निकायका पदाधिकारीहरूसँग भएको सामूहिक छलफलपछि यस्तो ध्यानाकर्षण गराइएको हो। त्यस क्रममा सम्बन्धित पदाधिकारीहरूले अख्तियारबाट गराइएको ध्यानाकर्षणका विषयमा जिम्मेवारपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। चिकित्साशास्त्रतर्फ एमबीबीएस र बीडीएसको प्रवेश परीक्षा तथा विद्यार्थी भर्ना सम्बन्धमा केही दिनयता विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि अख्तियारले मङ्गलबार सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर छलफल गरेको थियो। छलफलमा कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले विद्यार्थी भर्ना प्रक्रियालाई सहज, सरल र पारदर्शी बनाउनुपर्ने बताउनुभयो। सम्बन्धित संस्थाले तोकेभन्दा बढी रकम लिन नपाउने अवस्था सिर्जना गर्न सरोकारवाला निकायले भूमिका खेल्ने, नेपाल मेडिकल काउन्सिल तथा सम्बद्ध निकायका पदाधिकारीहरूले आफूलाई कानुनप्रदत्त कार्य जिम्मेवारी प्रभावकारी ढङ्गले वहन गर्ने, प्रवेश परीक्षा सञ्चालन, विद्यार्थी भर्ना प्रक्रिया, कार्यक्रम अवधि र शुल्कका सम्बन्धमा अन्तरविश्वविद्यालय एवं प्रतिष्ठानमा एकरूपता हुने गरी पारदर्शी व्यवस्था मिलाउन अख्तियारले सम्बन्धित पदाधिकारीहरूको ध्यानाकर्षण गराएको थियो। यस्तै त्यस विषयमा स्पष्ट कानुनी व्यवस्थाका लागि नियामक निकायले अनुगमनलाई प्रभावकारीसमेत बनाई नेतृत्वदायी र समन्वयात्मक भूमिका निर्वाह गर्न ध्यानाकर्षण गराइएको अख्तियारले जनाएको छ। सम्बन्धित पदाधिकारीहरूले त्यस विषयमा आवश्यक निर्णय लिन संस्थागत रूपमै प्रयासरत रहेको उल्लेख गर्दै ध्यानाकर्षण गराइएका विषयहरूमा आआफ्नो क्षेत्रबाट आफूलाई प्राप्त कार्यादेश एवं जिम्मेवारीबमोजिम कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ। छलफलमा आयुक्तहरू नवीनकुमार घिमिरे, गणेशराज जोशी, राजनारायण पाठक र डा। सावित्री थापा गुरुङ उपस्थित थिए। यस्तै सरोकारवाला निकायका पदाधिकारीहरू स्वास्थ्य सचिव, शिक्षा सचिव, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय चिकित्साशास्त्र सङ्कायका डिन, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा रजिस्ट्रार लगायतको उपस्थिति थियो। गोरखापत्र दैनिकबाट ।

नेप्से परिसूचक १४ सयमा झर्यो, ६८ करोडको सेयर कारोबार

काठमाडौं, ५ पुस । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । परिसूचक १८ दशमलब ८९ अंकले घटेर १४९५ दशमलब ९९ अंकमा झरेको छ । सो दिन १३८ कम्पनीको ७ लाख २३ हजार कित्ता सेयर ६८ करोड ३९ लाख रुपैयाँमा किनबेच भएको छ । बजारमा परिसूचक घटे पनि कारोबार रकममा भने केही सुधार आएको छ । मंगलबार अन्य समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक घटेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १११.३५ अंकले घटेको छ । अन्य समूहको २.६ अंकले बढेको छ भने बाँकीको दोहोरो अंकले घटेका छन् । बजारमा एभरेष्ट बैंकको २८ करोड रुपैयाँको सेयर काराृेबार भएको छ । उक्त बैंकको सेयर मूल्य प्रतिकित्ता ३ हजार १९० रुपैयाँ रहेको छ । सो दिन सबैभन्दा बढी नागबेली लघुवित्त विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । मञ्जुश्री फाइनान्सियल इन्स्टिट्यूसनको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।