गणतन्त्र दिवसमा ११ करोड २७ लाखको पदक तथा बिभुषण !
काठमाडौं । नेपाल सरकारले समाजका बिभिन्न क्षेत्रमा योगदान गरेकाहरुलाई प्रत्येक बर्षको जेठ १५ गते बिभिन्न मानपदवी, अलंकार र पदकले सम्मान गर्दै आएको छ । २०६४ साल जेठ १५ गते मुलुक गणतन्त्र घोषणा भएपछि यो क्रम सुरु भएको थियो । त्यस अघि प्रजातन्त्र दिवसका दिन समाजमा योगदान गर्नेहरुलाई विभुषित गरिँदै आएको थियो । सरकारले गृह मन्त्रालयको सिफारिसमा प्रत्येक बर्ष सयौंलाई त्यस्तो मानपदवी, अलंकार र पदक दिन्छ । तर यस्तो मानपदवी, आलंकार र पदक निर्माणका लागि राज्यले ठुलै धनराशी खर्च गर्दै आएको छ । चालु आर्थिक बर्षमा मात्रै सरकारले पदक तथा विभुषण निर्माणका लागि भनेर ११ करोड २७ लाख रुपैंयाँ बजेट उपलब्ध गराएको छ । अर्थ सचिव शान्तराज सुवेदीका अनुसार सो रकम बजेटमा कहीँ पनि राखिएको छैन् । त्यसका लागि आवश्यक पर्ने रकम बर्षेनी अर्थ मन्त्रालयले रकमान्तर गरेर उपलब्ध गराउँदै आएको छ । ‘गृह मन्त्रालयले दिने विभुषणका लागि बजेट राख्ने चलन रहेनछ, यसपाली ११ करोड २७ लाख रुपैंयाँ रकमान्तर गरेर उपलब्ध गराएका छौं’, अर्थ सचिव शान्तराज सुवेदीले भने । गृह मन्त्रालयका अनुसार त्यस्ता बिभुषणका लागि बर्षेनी १० देखि १५ करोड खर्च हुने गरेको छ । मन्त्रालयले फागुन १५ देखि सिफारिसका लागि देशभरका कार्यालयहरुमा पत्राचार गर्छ । आएका निवेदनका आधारमा मन्त्रालयको छनौट समितिले चयन गरेर मन्त्रि परिषदमा पेश गर्ने व्यवस्था छ । मन्त्रि परिषदले पास गरेपछि जेठ १५ गते त्यस्ता विभुषणको घोषणासँगै प्रधान गरिन्छ । मानपदवी अलंकार तथा पदक प्रदान गर्न विभुषण ऐन २०६४ का अनुसार ४ वटा मानपदवी, ९ वटा अलंकार र १३ वटा पदक रहेका छन् । नेपाल रत्न मानपदवी, राष्ट्र गौरव मानपदवी, राष्ट्रदिप मानपदवी छन । त्यस्तै ९ वटा अलंकारमा राष्ट्र यशोवद्र्धन, परम पौरख भास्कार अलंकार, नेपाल प्रताव शुभुषण अलंकार, नेपाल सेवा प्रविण अलंकार, अति पौरख भास्कार अलंकार, समाज सेवा रत्न अलंकार, महापौरख भास्कर अलंकार, नेपाल प्रताप भुषण अलंकार छन् । त्यस्तै, १३ वटा पदकमा लोक श्री पदक, राष्ट्र सेवा पदक, सत्कार्य पदक, समाज सेवा पदक, शिक्षा ज्योति पदक, सगरमाथा पदक, सुकिर्त पदक, विरता पदक, सौर्य पदक, प्राकृतिक प्रकोप पिडितोद्धार पदक, विकासरत्न पदक, शान्ति पदक र विज्ञान पदक रहेका छन् ।
कर्जा नियन्त्रणले सवारी साधनको व्यापार २० प्रतिशतले घट्न सक्ने, अर्थतन्त्र संकूचनतिर जाँदै
काठमाडौं । सवारी साधन खरिदका लागि प्रवाह गरिने कर्जा ‘अटोलोन’ नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले बैंकर्सलाई निर्देशन दिएपछि सवारी साधनको व्यापारमा करिव २० प्रतिशतले गिरावट आउने अनुमान गरिएको छ । सवारी कर्जा नियन्त्रणलाई अर्थतन्त्र संकूचनतिर लैजाने पहिलो कदमको रुपमा हेरिन लागेएको छ । सवारी साधन खरिदको लागि कर्जा प्रवाह नगर्ने राष्ट्र बैंकको नीति हो र बैंकहरुले सोहीअनुसार निर्णय गरेको भए त्यो गलत हुने नेपाल अटोमोवाईल डिलर्स एशोसिएशन (नाडा) का अध्यक्ष अञ्जन श्रेष्ठ बताउँछन् । ‘‘आधिकारीक निर्णय आएको छैन । समाचारमा आए जस्तै अटो लोन नियन्त्रण गरिन लागेको हो भने ‘रोग एउटा, उपचार अर्को’ हुनेछ’’ श्रेष्ठले भने । अटोलोन नियन्त्रण गरिएमा अटोमोवाइल्सको करिब २० प्रतिशतले खस्कने नाडाका उपाध्यक्ष शम्भुप्रसाद दाहाल बताउँछन् । ‘९८ प्रतिशत उपभोक्ताले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सवारी किन्ने गरेका छन्’ दाहाल भन्छन्-‘कर्जा नियन्त्रण हुने हो भने मोटर साईकलदेखि हेवि इक्वीप्टमेन्ट सम्मको आयात खस्कन सक्छ ।’ सवारी साधन किन्दा बैंक तथा वित्तीय संस्थाले तिनै साधनलाई धितोको रुपमा लिएर मूल्यको ८० प्रतिशत कर्जा लगानी गर्छन् । नेपालमा मात्र होइन, विश्वभरनै बैंकहरुले सवारी खरिदको लागि कर्जा प्रवाह गर्छन् । सवारी कर्जालाई बैंकहरुले सुरक्षीत लगानीको रुपमा लिन्छन् । ट्रक टिपर, एक्टाभेटर, डेजर, लोडर जस्ता सामाग्री उत्पादन र विकास निर्माणसँग प्रत्यक्ष सम्बन्धीत भएकोले त्यस्ता साधनमा पनि कर्जा नियन्त्रण गरिएमा त्यो ठूलो गल्ती हुने उनले बताए । ‘अटोलोन उठेन भन्ने पनि छैन, बैंकहरुले सीमा भन्दा बढी यस क्षेत्रमा लगानी गरे भन्ने पनि छैन’ दाहाल भन्छन्-‘सरकारले पूँजीगत खर्च गर्न नसक्दा समस्या आएको देखिन्छ । सरकारले पूँजीगत खर्च बढाउने हो भने सबै समस्या हल हुने थियो ।’ आर्थिक संकट आउँदा अमेरिका, चीन, जापान जस्ता विकशित देशका सरकारले खर्च वृद्धिलाई प्राथमिकतामा राखेको उदाहरण दिदै नेपाल सरकार, राष्ट्र बैंकले खर्च नियन्त्रण गर्ने नीति लिए भने आर्थिक वृद्धि संकूचित हुन सक्ने उनले बताए । सरकारको राजश्वमा करिव ३० प्रतिशत अटोमोवाइल्स सेक्टरको योगदान रहेको बताउँदै नाडाका महासचिव कृष्णप्रसाद दुलाल भन्छन-‘अटोलोन नियन्त्रण गरियो यो क्षेत्रको व्यापार मात्र खस्कदैन, सरकारको राजश्व पनि घट्नेछ, बैंक तथा बीमाको नाफा पनि घट्नेछ, आर्थिक वृद्धिलाई नै असर गर्नेछ ।’
नेपाल लाइफले कमायो १५ करोड ३० लाख, प्रतिसेयर आम्दानी १४ रुपैयाँ
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १५ करोड ३० लाख रुपैयाँ खुँद नाफा गरेको छ । यो इन्स्योरेन्सको नाफा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ३९ लाख रुपैयाँ थियो । यो इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १३ पैसा रहेको छ । कम्पनीको विमांकीय मूल्यांकनपछि प्राप्त हुने आम्दानी बाहेक नै यो आम्दानी रहेको उल्लेख छ । यसको प्रतिशेयर नेटवर्थ भने १२९ रुपैयाँ १६ पैसा रहेको छ । कम्पनीको चुक्ता पूँजी २ अर्ब १६ करोड रुपैयाँ छ । यसको जगेडा कोषमा ४० करोड ६९ लाख रुपैयाँ छ । अभिकर्तालाई कमिशनवापत ४२ करोड ३९ लाख रुपैयाँ प्रदान गरेको छ । कम्पनीले बीमा शुल्कबाट हालसम्ममा ४ अर्ब ९४ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको बीमा लेख संख्या जम्मा १० लाख वटा छ ।
सनराइज बैंकको नाफा ६७ प्रतिशतले बढ्यो, ६ महिनाको खुँद नाफा ६० करोड ९७ लाख
काठमाडौं । सनराइज बैंकले चालू आर्थिक वर्षको पहिलो ६ महिनाको नाफा गत वर्षको सोही अवधिको तुलनामा ६७ प्रतिशत बढाउन सफल भएको छ । बैंकले यो नाफा चालू आवको गत पुस मसान्तसम्ममा ६० करोड ९७ लाख रुपैयाँ खुँद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा २४ करोड ५७ लाख रुपैयाँले बढि हो । बैंकले गत वर्ष ३६ करोड ३९ लाख रुपैयाँ मात्रै नाफा गर्न सकेको थियो । बैंकको चुक्ता पूँजी ५ अर्ब ३० करोड रुपैयाँ रहेको छ । बैंकले गत पुस मसान्तसम्ममा ५७ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेर ४९ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले यो अवधिसम्ममा गरेको लगानी भने ९ अर्ब २१ करोड रुपैयाँ छ । बैंकको जगेडा कोष भने रित्तिएको छ । खराब कर्जा अनुपात १ दशमलव ४० प्रतिशत रहेको छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७९ दशमलव ९० प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी २३ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १२७ रुपैंयाँ ४१ पैसा छ । हाल बजारमा यो बैंकको प्रतिसेयर ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
६ महिनामा व्यापार घाटा ४३० अर्ब, सवारी साधनको आयात १६८ प्रतिशतले वृद्धि, सवारी कर्जा नियन्त्रणमा थप दवाव
काठमाडौं । चालु आर्थिक वर्षको प्रथम छ महिनामा नेपालले ४ खर्ब २९ अर्ब ७३ करोड रुपैयाँ बराबरको बैदेशिक व्यापार घाटा बेहोरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१.३ प्रतिशतले बढी हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार छ महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५८.८ प्रतिशतले वृद्धि भई रु.५०२.३७ अर्ब पुगेको छ । केन्द्रका अनुसार यातायातका साधन र तिनका पार्टपुर्जाको आयात १६८.२ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा ४६ अर्ब ९२ करोड रुपैयाँ बराबरको सवारी र तिनको पार्टपुर्जा आयात भएको छ । सवारी साधन खरिद गर्न बैंकहरुले बढी कर्जा लगानी गरेको भन्दै बैंकर्सहरुले आलोचना खेपिरहेको समयमा तथ्याङ्कले पनि सवारीको आयात उच्चदरले बढेको देखाएको छ । सवारी साधन सँगै पेट्रोलियम पदार्थको आयात पनि १४१ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा ५१ अर्ब ८१ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । त्यस्तै, फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा ९५.३ प्रतिशतले वृद्धि भएको छ । सो अबधिमा फलाम, स्टील र तिनको उत्पादन ५० अर्ब ६५ करोडको आयात भएको छ । इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीहरुमा ५९.४ प्रतिशतले वृद्धि भएको छ । औषधीको आयात १९.८ प्रतिशतले गिरावट आएको छ । यस अवधिमा ११.४७ अर्बको औषधी आयात भएको छ । यस अवधिमा ३८ अर्ब २२ करोड रुपैयाँको मेशिनरी तथा पार्ट्स आयात भएको छ जुन गत आर्थिक वर्षको तुलनामा १२६.४ प्रतिशतले वृद्धि भएको छ । यस्तो आयात उत्पादन वृद्धिमा सहयोग गर्छ । दूरसञ्चारका सामाग्रीहरुमा ४९.८ प्रतिशतले वृद्धि भई रु. १५ अर्ब ८२ करोडको आयात भएको छ । समीक्षा अवधिमा ११ अर्ब ८० करोड बराबरको सुन र ४ अर्ब १६ करोड बराबरको चाँदी आयात भएको छ । रु. २ अर्ब ५६ करोड बराबरको हवाईजहाज तथा हवाईजहाजका पार्ट्स पैठारी भएका छन् । साथै सो अवधिमा सिमेन्ट क्लिङ्कर ८ अर्ब ९७ करोड, भटमासको कच्चातेल ६ अर्ब ५१ करोड, तयारी पोशाक ७ अर्ब ११ करोडको आयात भएको छ । सरकारले कृषि उत्पादन वृद्धि भएको बताईरहेको समयमा अन्न १९ अर्ब २ करोड आयात भएको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.२ प्रतिशत र ९२.८ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी १०.८ प्रतिशतले वृद्धि भइ रु ३६.३२ अर्ब तथा कुल पैठारीमा ६४.३ प्रतिशतले बृद्धि भई भई रु. ४६६.०५ अर्ब पुगेको छ । उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु, हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी आदि प्रमुख रहेका छन् । नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, टर्की, जर्मनी, युके, चीन, फ्रान्स, इटाली, जापान, वंगलादेश, क्यानडा, अष्ट्रेलिया, नेदरलेण्ड्स र डेनमार्क आदि प्रमुुख रुपमा रहेका छन् ।
नेप्से परिसूचक १३ सय तल, सबै समूह राताम्मे, सातामा करिब ८७ अंकको गिरावट
काठमाडौं । बिहीबार सेयर बजारमा नेप्से परिसूचक १३ सय विन्दुभन्दा तल ओर्लेको छ । साताको शुरुदेखि नै सेयर बजार निरन्तर ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार कारोबार शुरु हुँदा १३८२ अंकमा रहेको नेप्से परिसूचक घटेर साताको अन्तिम दिन बिहीबार १२९६ दशमबल अंकमा आइपुगेको छ । जुन गत ११ महिनायताको न्यूनतम बिन्दू हो । गत बिहीबारको तुलनामा आइतबार नेप्से परिसूचक करिब १८ अंकले घटेर १३६४ अंकमा झरेको थियो । त्यस्तै, सोमबार पनि १६ अंकले घटेर १३४८ अंकमा झरेको थियो । त्यसैगरि मंगलबार १३४४ अंकमा र बुधबार करिब २० अंकले घटेर १३२२ अंकमा ओरालो लागेको थियो । समग्रमा यस साता करिब ८७ अंकले सेयर बजार ओरालो लागेको छ । बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बिहीबार एक करोड ५४ लाख कित्ता सेयर ५७ करोड ६० लाख रुपैयाँमा किनबेच भएको छ । सो दिन जम्मा १३४ कम्पनीको सेयर कारोबार भएको छ । बिहीबारको सेयर कारोबारमा जम्मा ७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । सबैभन्दा बढी मेरो माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले करिब ५ प्रतिशत कमाएका छन् । बजारमा करोबार भएका कम्पनीमध्ये १२७ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सबैभन्दा बढी एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)का लगानीकर्ताले ९ दशमलब २४ प्रतिशत गुमाएका छन् । बजारमा कारोबार भएका सबै समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २२४ अंकले ओरालो लागेको छ ।
कर्जा लगानी नियन्त्रण गर्ने बैंकर्स संघको निर्णय, सेयर, घरजग्गा र सवारी कर्जा कटौतिको सूचिमा
काठमाडौं । बैंकर्स संघले कर्जा लगानी घटाउने निर्णय गरेको छ । बजारमा तरलताको (लगानी योग्य पूँजी)को अभाव भएकाले तत्कालका लागि कर्जा लगानी घटाउने निर्णय गरेको बैंकर्स संघका अध्यक्ष तथा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले विकासन्युजलाई जानकारी दिए । बुधबार मात्रै बैंकर्स संघ, विकास बैंक एसोसियसन र वित्त कम्पनी संघको नेतृत्वसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले कर्जा लगानी र निक्षेप संकलनलार्इ सन्तुलित बनाउन निर्देशन दिएका थिए । बैंकहरुले नाफा कमाउने अभियानमा लागेर कर्जा लगानी व्यापक विस्तार गरेकाले बजारमा तरलताको अवस्था आएको बताउँदै राष्ट्र बैंक तत्काललाई कर्जा लगानी घटाउन दवाव दिदै अाएकाे छ । गभर्नरको निर्देशनपछि बिहीबार भएको बैंकर्सहरुको छलफलले कर्जा घटाउने, निक्षेपको ब्याजदरलाई स्थिर बनाउने, अनुत्पादक क्षेत्रको कर्जामा व्यापक कटौती लगायतका निर्णय गरेको अध्यक्ष शाहले जानकारी दिए । ‘गभर्नर साबसँगको छलफलबारे बैंकर्सले छलफल गरेका हौं । गभर्नरसँगको छलफलको मार्ग पछ्याउने भन्ने छ । अब ऋण लगानी घटाउँछौं, अनुत्पादक क्षेत्रको कर्जामा त झन ब्यापक कटौती गर्ने भन्नेछ, ब्याजदर बढ्ने क्रमलाई स्थिर बनाउने भन्ने पनि छ’ शाहले विकासन्युजसँग भने । उनले बचत खाताको रकम समेत मुद्धति खातामा जम्मा गर्ने क्रम बढेको निष्कर्षमा पनि बैंकरहरु पुगेको जानकारी दिए । ‘बजारमा उथल पुथल आएको छ, हामीले गम्भिर भएर सोच्नुपर्ने समय हो त्यसकारण बजारलाई स्थिर बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित भएको छ’, शाहले भने । बैकर्सले मुद्दती निक्षेपमा १२ प्रतिशत भन्दा बढी व्याज नदिने निर्णय गरेका छन् ।
स्याण्डर्ड चार्टड बैंकको खुँद नाफा ७४ करोड, ६ महिनाको नाफा करिब २१ प्रतिशतले बढ्यो
काठमाडौं । स्याण्डर्ड चार्टड बैंकको नाफा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा करिब २१ प्रतिशतले बढेको छ । यो बैंकले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ७४ करोड रुपैयाँ खुँद नाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १२ करोड ८१ लाख रुपैयाँले बढी हो । बैंकको गत वर्षको सोही अवधिको नाफा ६१ करोड २० लाख रुपैयाँ थियो । बैंकको चुक्ता पूँजी ३ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । बैंकले गत पुस मसान्तसम्ममा ६१ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३५ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले यो अवधिसम्ममा गरेको लगानी भने १९ अर्ब ७३ करोड रुपैयाँ छ । बैंकको जगेडा कोषमा ४ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । यसको खराब कर्जा अनुपात शून्य दशमलव २६ प्रतिशत रहेको छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७७ दशमलव ८६ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी ३९ रुपैंयाँ ४८ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ २२० रुपैंयाँ ३९ पैसा छ । हाल यो बैंकको प्रतिसेयर १९६७ रुपैयाँमा कारोबार भइरहेको छ ।
टेलिकमको नाफा ७ अर्ब ९१ करोड, प्रतिशेयर आम्दानी १०५ रुपैयाँ
काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को चालू आर्थिक वर्षको ६ महिनाको खुँद नाफा ७ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । टेलिकमले यो अवधिमा २२ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो । यो आम्दानी गत वर्ष २१ अर्ब २९ करोड रुपैयाँ थियो । यो वर्षको आम्दानीमा सेवा क्षेत्रबाट भएको आम्दानी २० अर्ब ६४ करोड रुपैयाँ हो भने अन्य आम्दानी १ अर्ब ८३ करोड रहेको छ । टेलिकमको अघिल्लो वर्षको सोही अवधिको आम्दानी भने ७ अर्ब २५ करोड रुपैयाँ रहेको थियो । यसको प्रति सेयर आम्दनी १०५ रुपैयाँ रहेको छ । प्रति सेयर अम्दानी गत वर्षको तुलनामा ८ रुपैयाँ ८३ पैसाले बढेको देखिएको छ । टेलिकमको प्रति सेयर नेटवर्थ ६२५ रुपैयाँ ४५ पैसा रहेको छ । यो नेटवर्थ अघिल्लो वर्ष ५७४ दशमलव ६५ पैसा रहेको थियो । यसको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७८ अर्ब ८१ करोड रहेको छ । टेलिकमको बजारमा प्रतिसेयर ६६० रुपैयाँमा कारोबार भइरहेको छ ।
कुमारी बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, ६ महिना कमायो २७ करोड ९३ लाख
काठमाडौं । कुमारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो ६ महिनाको नाफा गत वर्षको सोही अवधिको तुलनामा करिब ३३ प्रतिशले बढेको छ । बैंकले यो अवधिमा २७ करोड ९३ लाख रुपैयाँ खुँद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ६ करोड ९१ लाख रुपैयाँले बढेको छ । बैंकले गत वर्षको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा १७ करोड ३९ लाख रुपैयाँले नाफा बढाउन सफल भएको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा २१ करोड १ लाख रुपैयाँ खुँद नाफा आर्जन गरेको थियो । यो बैंकको चुक्ता पूँजी २ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । बैंकले गत पुस मसान्तसम्ममा ३९ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३३ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले यो अवधिसम्ममा गरेको लगानी भने ६ अर्ब १४ करोड रुपैयाँ छ । बैंकको जगेडा कोषमा १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । यसको खराब कर्जा अनुपात १ दशमलव १४ प्रतिशत रहेको छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७७ दशमलव ३७ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी २७ रुपैंयाँ ९५ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १६० रुपैंयाँ ८९ पैसा छ । हाल बजारमा यो बैंकको प्रतिसेयर ५०८ रुपैयाँमा कारोबार भइरहेको छ ।
माछापुछ्रे बैंकको नाफा ५७ करोड, ६ महिनाको नाफा ४३ प्रतिशतले बृद्धि
काठमाडौं । माछापुछ्रे बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ५७ करोड ५३ लाख रुपैयाँ नाफा गरेको छ । यो बैंकले ६ महिनामा गरेको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३ प्रतिशतले बढेको छ । बैंकले गत वर्षको तुलनामा चालू आवको दोस्रो त्रैमाससम्ममा १७ करोड ३९ लाख रुपैयाँले नाफा बढाउन सफल भएको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा ४० करोड १३ लाख रुपैयाँ खुँद नाफा आर्जन गरेको थियो । यो बैंकको चुक्ता पूँजी ४ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । बैंकले गत पुस मसान्तसम्ममा ६७ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५१ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले यो अवधिसम्ममा ६ अर्ब ३८ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको जगेडा कोषमा ४ अर्ब ४२ करोड रुपैयाँ रहेको छ भने यसको खराब कर्जा अनुपात शून्य दशमलव ३५ प्रतिशत रहेको छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७९ दशमलव ५९ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी २४ रुपैंयाँ ६६ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १२६ रुपैंयाँ ७७ पैसा छ । हाल यो बैंकको प्रतिसेयर ३ सय ६३ रुपैयाँमा कारोबार भइरहेको छ ।
पशुपतिनाथको जग्गा बाँड्न आज परिषद्, करोडौं पर्ने जग्गा कौडीको भाउमा
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले अधिग्रहण पीडितका नाममा जग्गा बाँड्ने निर्णय गर्न बिहीबार सञ्चालक परिषद् बैठक डाकेको छ । अधिग्रहण प्रभावितका नाममा झण्डै एक दर्जनलाई तिलगंगा आखा अस्पताल छेउमा रहेको कोषको करोडौं मूल्य पर्ने जग्गा कौडीको भाउमा घडेरीका रुपमा दिन परिषद् बैठक डाकिएको छ । कार्यसम्पादन समितिबाट समेत उक्त जग्गा दिन उचित हुने राय पेस भएपछि पशुपतिनाथको जग्गा बाँड्ने प्रस्ताव अघि बढाइएको हो । जनही दुई आना, दुई पैसा दुई दामका दरले जग्गा (घडेरी) दिने तयारी छ । कार्यसम्पादन समितिबाट मात्र जग्गा वितरण गर्न सक्ने नदेखिएपछि कोषले सिटु नामको जग्गा अधिग्रहण पीडितलाई बाड्न भन्दै परिषद्को बैठक डाकेको हो । कोषले सञ्चालक परिषद्का सदस्यलाई पठाएको पत्रमा ‘सिटु क्षेत्रको घडेरी विरण एवं बाँडफाँट सम्बन्धी’ प्रस्ताव छ । नागरिक दैनिकबाट ।
बंगलादेशबाट नेपालमा मानव तस्करी, आकर्षक काम र तलब पाउने भन्दै बंगलादेशी नेपालमा धमाधम तस्करी हुँदै
काठमाडौं । युरोप, अमेरिका र खाडी मुलुकका लागि नेपाल मानव तस्करीको ‘ट्रान्जिट’ बनेको भन्दै आलोचना भइरहेका बेला बंगलादेशबाट नेपालमा समेत मानवतस्करी हुने गरेको तथ्य खुलासा भएको छ। बंगलादेशी, भारतीय र केही नेपाली दलालले नेपालमा आकर्षक काम पाइने प्रलोभन देखाई बंगलादेशीलाई नेपाल ल्याउने गरेका छन्। मानव तस्करले नेपालमा आकर्षक काम र तलब पाउने भन्दै बंगलादेशीलाई नेपाल भित्र्याउने गरेका हुन्। नेपालमा कामदार नपाएपछि विभिन्न कम्पनीले बंगलादेशीलाई काममा लगाउन थालेका छन्। तस्करको मिलेमतोमा सस्तो कामदारका रूपमा सुन पसल, साडी पसल, गार्मेन्ट र निर्माण कम्पनीले बंगलादेशीलाई भित्र्याइरहेको स्रोतले बताएको छ। कतिपयलाई त दलालले नेपालबाट युरोप छिर्न सजिलो भएको भन्दै ल्याउने गरेका छन्। बंगलादेशीलाई नेपालसम्म ल्याउन बंगलादेश, भारत र नेपालकै केही दलाल सक्रिय छन्। दलालले त्यस्ता कामदारलाई भारतको कोलकातासम्म ल्याउने र काठमाडौंमा लामो समयदेखि बस्दै आएका बंगलादेशीले नेपाली दलालको सहयोगमा कोलकाताबाट काठमाडौंमा ल्याउने गरेको स्रोतले बताएको छ। दलालले झापाको काँकडभिट्टा नाका छलेर त्यस आसपासको सीमाबाट बंगलादेशीलाई काठमाडौंसम्म ल्याउने गरेका छन्। त्यसरी आएका बंगलादेशीले प्रतिव्यक्ति कम्तीमा २० हजार रुपैयाँ दलाललाई दिने गरेका स्रोतले बताएको छ। नेपालमा भूकम्प गएपछि पुनर्निर्माणको काम पाइने भन्दै तस्करले बंगलादेशीलाई ल्याउने क्रम बढेको हो। केही बंगलादेशी उपत्यकाका विभिन्न स्थानमा निजी घर निर्माणमा काम गर्दै आएका छन्। नेपालमा पहिल्यै आएर बसेकाकै संलग्नतामा मानव तस्करी भइरहेको स्रोतले बताएको छ। राहदानी र प्रवेशाज्ञा नभएका ती बंगलादेशीले अलिकति पैसा कमाएपछि नेपालको नागरिकता र राहदानी बनाउन खर्चिने गरेका छन्। दलालको सहयोगमा नागरिकता र राहदानी बनाउन सफल भए पहिलो रोजाइमा युरोपेली मुलुक र त्यहाँ नभए उनीहरू खाडी जाने गरेका छन्। विदेशीलाई नेपाली नागरिकता र राहदानी बनाउने गिरोह पनि काठमाडौंमै सक्रिय छन्। अन्नपूर्ण पोस्टबाट ।
बैंकर्सले गलत अभ्यास गरेकोमा गभर्नर आक्रोशित, सवारी कर्जा र कल डिपोजिटमा कडाई गरिने, पुँजी वृद्धि अवस्था नाजुक
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्चीवि नेपालले बैंक तथा वित्तीय संस्था सम्बन्धी संघ संस्थाको नेतृत्वलाई राष्ट्र बैंकमा ‘गलत बैकिङ अभ्यास गरेको भन्दै आक्रोस व्यक्त गरेको छन् । बैंकर्सलाई स्वनियममा चल्न र विवेकीय अभ्यास गर्न सुझाव दिदै नियम र निर्देशन पालना नगर्नेलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् । बैंकहरुले अस्वभाविक रुपमा व्याज बढाएको, ५ प्रतिशतको व्याजदर अन्तर सीमा उलंघन गरेको भन्दै हालै पारित वित्तीय क्षेत्र विकास रणनीति अनुसार पनि आर्थिक वर्ष २०७७/७८ सम्ममा पनि यस्तो अन्तर ४.४ प्रतिशत भन्दा कम गर्ने लक्ष्य अनुरुप अघि बढ्न निर्देशन दिएका छन् । ‘ऋणयोग्य रकमको अभावमा प्रवाह भइरहेको कर्जामा एकैपटक ५/६ प्रतिशत विन्दुसम्मको उच्च वृद्धि देखिएकोमा राष्ट्र बैंकको ध्यानाकर्षित भएको छ’ गभर्नर नेपालले बैंकर्ससँग भने–‘मुद्दती निक्षेपको ब्याज बढाइएपनि स–सानो र स्थायी प्रकृतिको निक्षेपको रुपमा रहने बचततर्फको ब्याजदर बढेको छैन । ५ प्रतिशतको ब्याजदर अन्तर निष्प्रभावी जस्तै देखिएको हुँदा यसतर्फ राष्ट्र बैंक सोच्न बाध्य भएको छ ।’ असामान्य र अस्वभाविक व्यवहार ‘केही बैंक वित्तीय संस्थाहरुबाट भएको असामान्य र अस्वभाविक व्यवहारका कारण सर्वोच्च अदालतको आदेश बमोजिम १४ बुँदामा निर्देशन जारी गर्नु परेको छ । बैंक तथा वित्तीय संस्थाले स्वच्छ, पारदर्शी एवम् निष्पक्ष व्यवहार नगरेको कारण यो स्थिति देखापरेको हो’ गभर्नरको भनाईलाई उदृत गर्दै राष्ट्र बैंकले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘ऋणी र ऋणसँग सम्बन्धित लिखत तमसुक एवम् प्रमिसरी नोट जस्ता कानुनी कागजातहरुमा दोहोरो अर्थ नलाग्ने स्पष्ट प्रावधानहरु हुनुपर्नेमा सो हुन नसकेको गुनासो छ ।’ पछिल्लो समयमा आएर बैंक तथा वित्तीय संस्थाहरुको कर्जामा भएको आक्रामक विस्तारका कारण ऋणयोग्य रकमको अभाव, निक्षेप र कर्जा विस्तारको असन्तुलन, कर्जामा लिने र निक्षेपमा दिने ब्याज वीचको फासला, धितो लिलामी प्रक्रिया तथा जमानीकर्ताको दायित्वको हद लगायत कतिपय विषयहरुमा अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग एवम् संसदीय समितिमा वहस भएको उल्लेख गर्दै बैंकर्सहरुलाई नियम अनुसार चल्न निर्देशन दिएका छन् । गभर्नरले विभिन्न संचार माध्यम र जनसाधारणबाट हुने गुनासो, हेलो सरकार मार्पmत् हुने गुनासो एवम् यस बैंकको गुनासो व्यवस्थापन इकाईमा समेत थुप्रै गुनासोहरु प्राप्त हुने गरेको पनि बताए । ‘तपाईहरु स्वनियमन (सेल्फ रेगुलेशन) बस्नुहोस्, विवेकीय अभ्यास (पुडेन्ट प्राक्टिस) गर्नुहोस्’ गभर्नरले भनेका छन्–‘नेपाल राष्ट्र बैंकले अरु थप कडाईका उपाय अवलम्बन गर्नुपूर्व नै बैंक तथा वित्तीय संस्थाहरु वित्तीय अनुशासनमा बढी सजग रहुन भन्ने उद्देश्यले नैतिक दवावका लागि हामी भेला भएका हौं ।’ सवारी कर्जामा कडाई गरिने घरजग्गा÷रियल स्टेट तथा मार्जिन लेण्डिङ्गतर्फ लोन टु भ्यालु (एलटीभी) तोकिएको भएता पनि सवारी साधन कर्जातर्फ यस्तो रेसियो तोकिएको प्रसंङग उल्लेख गर्दै गभर्नरले भनेका छन्–‘बैंक तथा वित्तीय संस्थाहरुले ९० प्रतिशतसम्म कर्जा सुविधा गरेको अवस्था बुझिन्छ । यसतर्फ एलटीभी तोक्नु पर्ने हो कि भन्ने नेपाल राष्ट्र बैंकको धारणा छ । त्यस्तै, ओभरड्राफ्ट कर्जातर्फ पनि केही नीतिगत व्यवस्था गर्नुपर्ने देखिन्छ । यस बैंकले निर्देशनात्मक व्यवस्था गर्नु पूर्व सम्बन्धित बैंक÷वित्तीय संस्थाले नै स्वनियमनमा बसी आफ्नो पोर्टफोलियो आफै मिलाउँदा राम्रो हुने हो । उनले तोकिएको उत्पादनशील क्षेत्र कर्जा विस्तार नगरेमा आगामी २०७४ असार मसान्तदेखि मौद्रिक हर्जाना लाग्ने हुँदा सबै बैंक÷वित्तीय संस्थाहरुले यसतर्फ यथोचित ध्यान निर्देशन दिएका छन् । पुँजी वृद्धि अवस्था नाजुक २०७४ असार मसान्तमा चुक्ता पुँजी पु¥याउने सम्बन्धमा हालसम्मको प्रगति हेर्दा “क” वर्गका ५ वटा लगायत “ख” र “ग” वर्गका धेरै संस्थाहरुको पुँजी वृद्धि योजना नाजुक अवस्थामा देखिएको गभर्नरको भनाई छ । ‘निर्देशन अनुसारको पुँजी नपुग भएमा आवश्यक करबाही गरिनेछ’ गभर्नरले भनेका छन्–‘तर पुँजी वृद्धिको विषयसँग ब्यवसाय आबद्ध गरी बढी जोखिमपूर्ण लगानी नगर्न नगर्नुहोस् ।’ पुँजी वृद्धिलाई शेयर लगानी कर्ताहरुले रिटर्न अन इक्विटीसँग लिने गरेतापनि नेपाल राष्ट्र बैंकले पुँजीको आधार बलियो बनाई वित्तीय प्रणालीको जोखिम कम गर्दै समग्र वित्तीय प्रणालीको वित्तीय स्थायित्वसँग जोडेको उनको भनाई छ । नोट छापेर वित्तीय साधन उपलब्ध हुँदैन गभर्नर नेपालले नोट छापेर वित्तीय साधन उपलब्ध नहुने बताएका छन् । ‘ऋणयोग्य रकमको अभाव भएको दर्शाई सीसीडी रेसियो बढाउन यस बैंकलाई विभिन्न क्षेत्रबाट प्रत्यक्ष÷अप्रत्यक्ष दवाव आएको अवस्था छ । मौद्रिक अधिकारीले अल्पकालीन तरलता व्यवस्थापन गर्ने र भुक्तानीमै असहजता देखिएमा इमरजेन्सी लिक्विडिटी सपोर्ट गर्ने हो । कर्जा लगानीका लागि दीर्घकालीन साधन केन्द्रीय बैंकबाट उपलब्ध हुँदैन’ उनले भनेको छन्–‘नोट छापेर वित्तीय साधन उपलब्ध गराउने कुरै हुँदैन । तरलताको अभाव भयो भन्ने भ्रम तोड्नु प¥यो ।’ गभर्नर नेपालले भनेका छन–तरलताको अभाव होइन, ऋण प्रवाह गर्न सीसीडीका कारण नपाएको अवस्था हो, पैसा नभएको अवस्था होइन । बैंक रन हुने पो हो कि भन्ने भ्रम आमजनमानसमा जान दिनु भएन । त्यस्ताखाले क्रियाकलाप पनि गर्नु भएन । अर्को कुरा सीसीडीमा कुनै अपवार्ड भिजन हुँदैन । यसमा कुनै दवाबले काम गर्दैन । उपयुक्त समयमा सीसीडीको सट्टा सीडी प्रयोगमा ल्याउने नेपाल राष्ट्र बैंकको सोच रहेको छ । यस्तो अनुपात अनुगमन अवश्यक परेमा दिनहुँ गर्ने र सीमाभित्र नरहेमा आवश्यक कारबाही समेत अघि बढाइने छ । त्रयमासको अन्त्यमा मात्र सीसीडी कायम गर्ने उद्देश्यले केही बैंकहरुले अन्य वित्तीय संस्थाहरुलाई अन्तर–बैंक कर्जा दिने र अन्तर–बैंक कर्जादर भन्दा ०.५ प्रतिशतसम्म बढी ब्याजदर प्रस्ताव गरी कागजी कारोबार सिर्जना गरी यस बैंकको निर्देशन छल्न खोजेको देखिएको उनले बताए । ‘यस्तो अस्वस्थ्य अभ्यास बन्द गर्न संघ मार्फत पहल होस् भन्ने नेपाल राष्ट्र बैंकको चाहना छ । यसको नियमित अनुगमन गरिने छ र सुधार नभएमा नेपाल राष्ट्र बैंक उपयुक्त कदम चाल्न बाध्य हुनेछ’ उनले भनेका छन् – ‘प्राकृतिक व्यक्तिले कल डिपोजिट खाता खोल्न नदिने व्यवस्था गर्न आवश्यक देखिएको छ । त्यसैगरी कल डिपोजिटमा सेभिङ डिपोजीट भन्दा बढी ब्याज दिन नपाइने व्यवस्था गर्न समेत आवश्यक देखिएको छ ।’ नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एसोसिएसन र नेपाल वित्तीय संस्था संघका पदाधिकारीहरुसँग समसामयिक विषयमा छलफल गर्न बोलाइएको वैठकमा गभर्नर नेपालले यस्तो भनाई राखेको केन्द्रीय बैंकले जनाएको छ । बैठकमा बैंकर्स संघकाे तर्फबाट अध्यक्ष अनिश शाह, पूर्व अध्यक्षहरू राजनसिंह भण्डारी, अशाेक राणा, सशीन जाेशी, डेभलपमेण्ट बैंकर्स एसोसिएसनकाे तर्फबाट कृष्णराज लामिछाने, भरत ढकाल र नेपाल वित्तीय संस्था संघका अध्यक्ष सराेजकाजी तुलाधर सहभागी थिए ।
उत्पादनशील क्षेत्रमा कर्जा लगानी बढाउन राष्ट्र बैंकको कडाई, तोकिएको कर्जा लगानी नगरे ब्याज बराबर जरिवाना
काठमाडौं । नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्रमा कर्जा लगानी बढाउन बैंक तथा वित्तिय संस्थाहरुलाई कडाइ गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तिय संस्था नियमन विभागले परिपत्र जारी गर्दै, बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई उत्पादनशील क्षेत्रमा तोकिएको कर्जा लगानीको मात्रा पुर्याउन निर्देशन दिएको हो । राष्ट्र बैंकले बाणिज्य बैंकलाई २०, विकास बैंकलाई १५ र फाइनान्स कम्पनीलाई १० प्रतिशत कर्जा लगानी उत्पादनशील क्षेत्रमा लगाउनु पर्ने व्यवस्था गरेको छ । सोमध्ये बाणिज्य बैंकले कुल कर्जा लगानीको १५ प्रतिशत उर्जा र कृषि क्षेत्रमा लगाउनु पर्ने व्यवस्था छ । बैंक तथा वित्तिय संस्थाले तोकिएको क्षेत्रमा तोकिए बमोजिम कर्जा लगानी नगरेमा २०७४ असार मसान्तदेखि ती संस्थाले कर्जामा लिने अधिकतम ब्याजदर बराबरको रकम जरिवाना तिराईने केन्द्रिय बैंकले जनाएको छ । उत्पादनशील क्षेत्रमा गरिने कर्जा लगानी प्रत्येक महिना समाप्त भएको १५ दिन भित्र बुझाउन पनि परिपत्रमा भनिएको छ । त्यस्तै २०७४ असार मसान्तदेखि भने प्रत्येक त्रैमासिकमा त्यस्तो विवरण बुझाउन सकिने राष्ट्र बैंकले जनाएको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेसनकोे अध्यक्षमा भीके शर्मा चयन
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को अध्यक्षमा भीके शर्मा चयन भएका छन् । माघ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले शर्मालाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो । शर्माले अब आगामी चार वर्ष सम्म कम्पनीको अध्यक्षको कार्यभार सम्हाल्ने छन् ।
२१ अंकले ओरालो लागेको बुधबारको सेयर बजारमा १३ कम्पनीका लगानीकर्ताले कमाए
काठमाडौं । केही दिन यता निरन्तर ओरालो लागिरहेको सेयर बजार बुधबार पनि ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक २१ दशमलब ६२ अंकले ओरालो लागेर १३२२ दशमलब ९८ अंकमा अडिएको छ । परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार १० लाख १८ हजार कित्ता सेयर किनबेचमा ३४ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १३७ कम्पनीको कारोबार भएको छ । दोहोरो अंकले घटेको बजारमा जम्मा १३ कम्पनीका लगानीकर्ताले कमाएका छन् । सबैभन्दा बढी महालक्ष्मी बैंकका लगानीकर्ताले करिब ६ प्रतिशत कमाएका छन् । त्यस्तै, माउन्ट मकालु डेभलपमेन्ट बैंक, निर्धन उत्थान बैंक लगायत अन्य ८ कम्पनीको सेयर मूल्य सामान्य प्रतिशतले बढेको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले करिब साढे ६ प्रतिशत गुमाएका छन् । बुधबार करिब १२४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । बुधबार सबै समूहका परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १७९ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल, विकास बैंक र बैंकिङ् समुहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् ।
२२ महिना बितिसक्दा पनि अपार्टमेन्टका बिमितले दाबी भुक्तानी पाएनन्, अझै चार अर्ब १० करोड रुपैयाँ भुक्तानी हुन बाँकी
काठमाडौं। भुइँचालोबाट भएको क्षतिको दाबी भुक्तानी नपाउँदा बिमितहरुलाई समस्या भइरहेको छ । प्राकृतिक विपत्तिबाट क्षति भएको २२ महिना बितिसक्दा पनि अपार्टमेन्टका बिमितले दाबी भुक्तानी पाएका छैनन् । काठमाडौं उपत्यकाका ५१ वटा अपार्टमेन्टमध्ये अधिकांशमा भूकम्पले क्षति पुर्याएको थियो । बिमा समितिका अनुसार निर्जीवनतर्फ १६ अर्ब ८२ करोड रुपैयाँको दाबी परेकामा १२ अर्ब ७२ करोड रुपैयाँ भुक्तानी भएको छ । यो सबै व्यक्तिगत दाबी हो । बहुतले (अपार्टमेन्ट) घरमा बस्दै आएका व्यक्तिले भने पाएका छैनन् । अझै चार अर्ब १० करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ । बिमा समितिले विपत्तिमा परेका अपार्टमेन्टको बिमा भुक्तानी दिन नसकिएको स्वीकार गरेको छ । बिमा कम्पनी र बिमितबीचको सहमति महत्वपूर्ण भएको बिमा समितिका पूर्व अध्यक्ष प्रा डा फत्तबहादुर केसीले बताए । बसुन्धराको पार्क भ्यू होराइजन, डिल्ली बजारको अपार्टमेन्ट, सानेपाको स्टाटस इन भिलेज, झम्सिखेलको अपार्टमेन्ट, सिटी भ्यू अपार्टमेन्ट, ओरियन्टललगायतका अपार्टमेन्टमा भुइँचालोले क्षति पुर्याएको छ । तीमध्ये केही मर्मत भइसकेका छन् भने केहीले पुनःसञ्चालनको अनुमति लिएका छन् । एउटै अपार्टमेन्टले फरक फरक बिमा कम्पनीसँग बिमा गरेको पाइएको र बिमा कम्पनीअनुसार फरक नीति हुने भएकाले पनि भुक्तानीमा समस्या देखिएको बुझिएको छ । बिमित भुक्तानी पाउन नसक्नुमा कम्पनी र बिमितबीचमा केही अप्ठ्यारा रहेको बताउछन्, पूर्व अध्यक्ष केसी । उनीहरुबीच सहमति भएपछि सबै समस्याको हल हुन्छ । निर्जीवनतर्फको व्यक्तिगत सबै दाबीको भुक्तानी भइसकेको तर अपार्टमेन्टका केही जटिलता भएकाले बाँकी रहेको बुझिएको छ । विशालनगर पार्क भ्यूको शिखर इन्स्योरेन्सले बिमा गरेको थियो । भुइँचालोमा क्षति भएको उक्त अपार्टमेन्टको बिमा दाबी शिखरले सबै भुक्तानी गरिसकेको जनाएको छ । भुइँचालोबाट भएको क्षतिको भुक्तानीको युनाइटेड इन्स्योरेन्स कम्पनीबाट भने चुक्ता हुन बाँकी भएको जनाइएको छ । निर्जीवन बिमा गर्ने १७ मध्ये अधिकांशले कुनै न कुनै अपार्टमेन्टको बिमा गरेका छन् । सरकारले भुइँचालोपछि रातो र हरियो स्टिकर टाँस्दाका बखत ध्यान नपुग्दा पनि समस्या भएको हो । अपार्टमेन्टको बिमा गर्दा एक भाग एक कम्पनी र अर्को भाग अर्को कम्पनीसँग गर्ने गरेकाले पनि त्यसमा समस्या आएको हो । त्यसलाई सुल्झाउन आवश्यक छ । बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंका अनुसार बिमा समितिले विपत्तिको समयमा भएका क्षतिका भुक्तानीलाई प्राथमिकता दिँदैआएको छ । सोहीअनुसार अधिकांश बिमितले भुक्तानी पाइसकेका छन् । निर्जीवन बिमालाई ग्रामीण जनता र भौतिक संरचनासम्म पु¥याउनुपर्ने उनको धारणा छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले भुइँचालोबाट क्षति भएका सबै दाबीको भुक्तानी भइसकेको जानकारी दिए । उक्त कम्पनीमा ४६ वटा दाबी परेको थियो । दाबीको दुई करोड ४३ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । बिमा क्षेत्र यतिका धेरै हुँदा पनि बिमक बढ्न नसक्नुका कारणबारे झा भन्छन्, “बिमाका विषयमा आमजनतालाई बुझाउन सकिएन ।” हाल नौवटा जीवन बिमा कम्पनी र १७ वटा निर्जीवन बिमा कम्पनी सञ्चालनमा रहेका छन् । मुलुकको कुल जीवन बिमाको सात प्रतिशत र निर्जीवन बिमाको विविधीकरण हुन सकेको छैन । भुइँचालोसँग सम्बन्धित ३८० वटा बिमा दाबी परेको थियो । ती सबैले भुक्तानी पाइसकेका छन् । जीवन बिमा गर्नेको सङ्ख्या नै न्यून हुनु अहिलेको समस्या हो । बिमासम्बन्धी जनचेतना विस्तार गर्न नसकिएका कारण पनि यस क्षेत्रको विस्तार हुन सकेको छैन । सनराइज टावर धोवीघाट अपार्टमेन्टमा बस्न रुचाउने नेपालको पहिलो हेयर स्टाइलिस्ट नीलडेबिट कटुवाल भुइँचालोपछि आफ्नै घर बनाएर सरे । उनले भने – “त्यो विपद्को समयमा मलाई धेरै त्रास भयो, त्यसपछि मेरो छोरा अपार्टमेन्टमा जान मानेन ।” भुइँचालोपछि अपार्टमेन्टको प्रयोगमा कमी आएको देखिएको छ । रासस
हिमालयन डिस्टिलरीको नाफा ३ करोड २८ लाख, प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५१ पैसा
काठमाडौं । हिमालयन डिस्टिलरीले चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ३ करोड २८ लाख ६ हजार रुपैयाँ खुँद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा भने यसको घाटा ५२ लाख रुपैयाँ रहेको थियो । डिस्टिलरी अघिल्लो त्रैमाससम्ममा पनि ४३ लाख रुपैयाँ घाटा थियो । ३८ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यो डिस्टिलरीको संचालन नाफा २९ करोड ४२ लाख रुपैयाँ रहेको छ । यसको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ५१ पैसा रहेको छ । प्रति सेयर नेटवर्थ भने १५१ रुपैयाँ १ पैसा रहेको छ । यसको सेयर मंगलबारसम्म ६२० रुपैयाँमा कारोबार भइरहेको छ ।
एभरेष्ट बैंकको नाफा ९७ करोड, ६ महिनामा २८ प्रतिशतले नाफा बृद्धि
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ९७ करोड १५ लाख रुपैयाँ नाफा गरेको छ । यो बैंकले ६ महिनामा गरेको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८ प्रतिशतले बढेको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा ७५ करोड ३७ लाख रुपैयाँ खुँद नाफा आर्जन गरेको थियो । यो बैंकको चुक्ता पूँजी ४ अर्ब ६० करोड रुपैयाँ रहेको छ । बैंकले गत पुस मसान्तसम्ममा ९० अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेर ७२ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले यो अवधिसम्ममा गरेको लगानी भने १२ अर्ब ४७ करोड रुपैयाँ छ । बैंकको जगेडा कोषमा ४ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । भने यसको खराब कर्जा अनुपात शून्य दशमलव ७० प्रतिशत रहेको छ । यस्तो खराब कर्जाको अनुपात अघिल्लो वर्ष शून्य दशमलव ६७ प्रतिशत रहेको थियो । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७६ दशमलव ६० प्रतिशत रहेकोा छ । बैंकको प्रति सेयर आम्दानी ४२ रुपैंयाँ ९३ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ २०७ रुपैंयाँ ७९ पैसा छ । हाल यो बैंकको प्रतिसेयर बजारमा १७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।