लगानीकर्ताले कारोबार अनलाइनमार्फत हेर्न पाउने

काठमाडौ‌ । अब सेयर लगानीकर्ताले आफ्नो खाताको विवरण अनलाइनमार्फत हेर्न पाउँने भएका छन् । सीडीएस एण्ड क्लियरिङ लिमिटेडको धितोपत्र केन्द्रीय निक्षेप सेवा र धितोपत्र कारोबार राफसाफ तथा फछ्र्योटको दोस्रोपटक संशोधित नियमावली २०७३मा यस्तो व्यवस्था गरिएको हो । नेपाल धितोपत्र बोर्डले गत माघ २७ गते गरेको निर्णयअनुसार उक्त संशोधन नियमावली मंगलबारदेखि कार्यान्वयनमा आएको बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरेले बताए । उनका अनुसार अब सेयर लगानीकताले कारोबारको लागि जहाँबाट डिम्याट खाता खेलको हुन, त्याहाँ वार्षिक शुल्क तिरेपछि अनलाइनमार्फत कारोबार हेर्न पाउँनेछन् । अभियान दैनिकबाट ।

जनता बैंककको नाफा १६ करोड १३ लाख, ६ महिनामा बैंकको नाफा १६ प्रतिशतले बृद्धि

काठमाडौं । जनता बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १६ करोड १३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ८९ प्रतिशतले बढेको छ । बैंकले गत वर्षको तुलनामा यो वर्ष २ करोड ३३ लाख रुपैयाँले नाफा बढाउन सफल भएको छ । बैंकको नाफा गत वर्ष १३ करोड ८० लाख रुपैया थियो । यो बैंकको चुक्ता पूँजी २ अर्ब ३० करोड रुपैयाँ रहेको छ । बैंकले गत पुस मसान्तसम्ममा २५ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरेर २२ अर्ब ९७ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो अवधिसम्ममा बैंकले गरेको लगानी ३ अर्ब ६७ करोड रुपैयाँ छ । बैंकको जगेडा कोषमा ३३ करोड २३ लाख रुपैयाँ मात्रै रहेको छ । खराब कर्जा अनुपात २ दशमलव ५७ प्रतिशत रहेको छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ८० दशमलव ४६ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १३ रुपैंयाँ ९९ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ ११४ रुपैंयाँ १४ पैसा छ । हाल बजारमा बैंकको प्रतिसेयर ३८७ रुपैयाँमा कारोबार भइरहेको छ ।

१६ दिनमै जम्मा भयो ७१ अर्ब निक्षेप, कर्जा लगानी १५ अर्ब मात्रै, गभर्नर भन्छन-तरलता अभाव हल हुँदैछ

काठमाडौं । लगानी योग्य पूँजीको चरम अभाव भैरहेका बेला १६ दिनमै ७१ अर्ब रुपैंयाँ निक्षेप जम्मा भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले माघ १३ देखि २९ गतेको अवधीमा ७१ अर्ब रुपैंयाँ बराबरको निक्षेप वित्तिय संस्थामा जम्मा भएको बताएका हुन् । उनले सो अवधिमा कर्जा लगानी भने १५ अर्ब मात्रै भएको जानकारी पनि दिए । ‘हामीले जथाभावी कर्जा प्रवाह रोक्न निर्देशन दिने वित्तिकै १६ दिनमा ७१ अर्ब निक्षेप जम्मा भएको छ र १५ अर्ब मात्रै कर्जा लगानी भएको छ, अब हेर्दै जानुस, केहि समयभित्रै तरलता अभावको समस्या हल हुन्छ’, नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा गभर्नर डा. नेपालले भने । उनले सो अवधिमा साढे चार प्रतिशतका दरले निक्षेप संकलन बढेको जानकारी पनि दिएका थिए । उनले वित्तिय क्षेत्रमा देखिएको तरलताको सुक्ष्म अध्ययन गरिरहेकाले सचेत रहन बैंक तथा वित्तिय संस्थाको व्यवस्थापनलाई आग्रह पनि गरेका थिए । हाल राष्ट्रको ढुकुटीमा २०१ अर्ब रहेको तथा शोधनान्तर बचत समेत ४६ अर्ब रहेको जानकारी पनि दिए । अनुत्पादक क्षेत्रको कर्जा कटौती निर्देशन दिने वित्तिकै तरलता अभावको समस्या समधान उन्मुख भएको पनि बताएका थिए । कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाहले आफूहरुलाई लाभांश बढाउनु पर्ने दबाव लगानी कर्ताबाट आइरहेको स्वीकार गरेका थिए । उनले केहि वर्ष उच्चदरको लाभांशको अपेक्षा नगर्न लगानी कर्तालाई आग्रह समेत गरे । शाहले निक्षेप वृद्धिकै तुलनामा मात्रै कर्जा लगानी गर्न बैंकरहरु सहमत भएको समेत स्पष्ट पारेका थिए । २ महिना भित्रै तरलताको हल निस्कने र चालु आर्थिक बर्षभित्रै तरलता अभावको समस्या समाधान भैसक्ने उनको दावी थियो । उनले अप्राकृतिक रुपमा नाफा बढाएर निक्षेपकर्ता माथि अन्याय गर्ने सोचमा आफूहरु नभएका पनि बताए । विकास बैंकर्स संघका अध्यक्ष कृष्णराज लामिछानेले बैंकमा लगानी गरेका ठूला घरानाले पूँजी वृद्धिकै अनुपातमा लाभांश बढाउन बैंक व्यवस्थापनलाई दबाव दिएको तरलता अभावको अवस्था आएको आरोप लगाएका थिए । ‘चार गुणा बढी पूँजी वृद्धि हुँदा चारै गुणा बढी नाफा बढाउनु किन पर्यो ?’, लामिछानेले प्रतिप्रश्न गरेका थिए । उनले एक हप्तामा कर्जाको ब्यावजर २ प्रतिशत घटाउन सकिने र एक महिनाभित्रै निक्षेपको ब्याजदर पनि २ प्रतिशतका दरले घटाउन सकिने धारणा राखेका थिए ।

मंगलबारको नेप्सेमा सामान्य अंकको गिरावट, ४० करोडको सेयर कारोबार

काठमाडौं । दिनभर केही उतारचढाव देखिएको सेयर बजारमा सामान्य गिरावट आएको छ । मंगलबार बजारमा नेप्से परिसूचक ४ अंकले घटेर १२७४ दशमलब ९७ अंकमा अडिएको छ । सोमबारको तुलनामा मंगलबार कारोबार रकममा करिब १० करोड रुपैयाँ बराबरको गिरावट भएको दखिन्छ । सोमबार ५० करोड रुपैयाँको सेयर कारोबार भएको थियो भने मंगलबार जम्मा ४० करोड बराबरको सेयर कारोबार भएको छ । मंगलबार कारोबार भएका होटल र विकास बैंक समूह बाहेक बाकी सबै समूहको परिसूचकहरु ओरालो लागेका छन् । होटल र विकास बैंक समूहको परिसूचक क्रमशः ३३ र २ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ९३ अंकले ओरालो लागेको छ ।

व्याजदर वृद्धिले निक्षेप वृद्धिमा सहयोग गरेन, अझै निक्षेप संकलन भन्दा कर्जा लगानी बढी

काठमाडौं । निक्षेप परिचालनको हिसावले निजी क्षेत्रको बैंक मध्ये उत्कृष्ट बैंक हो नेपाल इन्भेष्टमेन्ट बैंक । पुस मसान्तसम्ममा उसले १ खर्ब १६ अर्ब ६० करोड निक्षेप संकलन गरेको छ । उसको कर्जा निक्षेप अनुपात (सीडी रेसियो ७८ प्रतिशत छ । १ महिनाअघि यति राम्रो पोजिशनमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले पनि मुद्दती खातामा १२ प्रतिशत व्याज दिने विज्ञापन प्रकाशित गर्यो । अधिकांश वाणिज्य बैंकहरुले मुद्दती खातामा निक्षेपकर्तालाई १२ प्रतिशत व्याज दिने भनेका छन् । शुरुमा उच्च व्याजदरको स्कीम ७० दिन, ८० दिन वा ९० दिन अवधिका हुन्थे, अहिले १ वर्ष अवधिको स्कीमहरु सार्वजनिक भईरहेको छन् । एनएमबी बैंकले त २ वर्ष अवधिको स्कीम ल्यायो १२ प्रतिशत व्याजदरमा । बैंकहरुले जारी गरेको यी स्कीमले तरलताको अभाव लामो समय लम्बिने संकेत गरेको छ । माघ महिनामा पनि निक्षेपको तुलनामा कर्जा लगानी बढी भएको देखिएको छ । वाणिज्य बैंकहरूले पछिल्लो पाँच सातामा ८२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । सो अवधिमा निक्षेप संकलने १२ अर्ब कम अर्थात ७० अर्ब निक्षेप संकलन गरेका छन् । सानिमा बैंकमा प्रमुख कार्यकारी अधिकृत भुवन दाहालका अनुसार पुस १५ गतेसम्म १८ खर्ब ६६ अर्ब निक्षेप संकलन गरेका बाणिज्य बैंकहरूले माघ २१ गतेसम्म १९ खर्ब ३६ अर्ब रुपैयाँ संकलन गरेका छन् । पुुस दोस्रो सातासम्म १५ खर्ब ३५ अर्ब कर्जा लागनी भएकोमा पाँच सातामा १६ खर्ब १७ अर्ब पुगेको छ । बजारमा निक्षेप संकलन पनि उतार चढाव देखिएको छ । गत पुस ३० गते १९ खर्ब ७ अर्ब भएको निक्षेप संकलन माघ १४  गते आइपुग्दा १८ खर्ब ८२ अर्बमा सीमित भएको छ । यसरी हेर्दा १५ दिनको अवधिमा २५ अर्बले निक्षेप घटेको देखिन्छ । यसरी निक्षेप घट्नुको कारण वाणिज्य बैंकहरूको निक्षेप विकास बैंक वा फाइनान्स कम्पनीमा सर्नु भएको बैंकर्सहरुको बुझाईछ । पुस ३० पछि निक्षेप संकलन घटेपनि कर्जा लगानी भने बढिनै रहेको छ । पुस ३० गतेसम्म १५ खर्ब ९० अर्ब रहेको बाणिज्य बैंकहरूको कर्जा लगानी माघ १४ गतेसम्म २१ अर्ब रुपैयाँले बढेर १६ खर्ब ११ अर्ब पुगेको छ । बैंकहरुले पहिले नै गरेको प्रतिवद्धता अनुसार कर्जा लगानी गर्दा लगानी विस्तार भएको तर नयाँ कर्जा लगानीको निर्णय ज्यादै कम भएको दाहालले बताए ।

२६ वटा बाणिज्य बैंकको नाफा २० अर्ब ५९ करोड, ६ महिनामै एक अर्ब क्लबमा ६ बैंक

काठमाडौं । २६ वटा बाणिज्य बैंकहरुले पुस मसान्तसम्ममा २० अर्ब ५९ करोड नाफा कमाएका छन् । यीनै बैंकले गत आर्थिक बर्षको सोही अवधीमा जम्मा १४ अर्ब ४ करोड मात्रै नाफा कमाउन सफल भएका थिए । चालु आवको पुस मसान्तसम्ममा ६ वटा बाणिज्य बैंकहरु एक अर्ब नाफा कमाउन सफल भएका छन् । गत पुससम्ममा जम्मा चार वटा बाणिज्य बैंकले मात्रै एक अर्ब नाफा कमाउन सफल भएका थिए । यसपाली प्रभु बैंक र हिमालयन बैंक ६ महिनामै एक अर्ब नाफा कमाउने बैंकको सूचिमा थपिएका हुन् । गत पुससम्ममा नेपाल बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र राष्ट्रिय बाणिज्य बैंकले मात्रै एक अर्ब नाफा कमाएका थिए । एक अर्ब कमाउन सफल भएका बैंकहरुमध्ये नेपाल बैंक राष्ट्रिय बाणिज्य बैंक दुबै सरकारी हुन् । सबै भन्दा धेरै नाफा नेपाल बैंकले कमाउन सफल भएको छ भने सबै भन्दा कम नाफा कमाउने बैंकको सूचिमा सिभिल बैंक परेको छ । सिभिलले १६ करोड ७३ लाख मात्रै कमाएको छ भने सेञ्चुरीले २२ करोड ३९ लाख नाफा कमाएको छ । उता, धेरै कमाउने बैंकको सूचिमा एक नम्बरमा रहेको नेपाल बैंकले एक अर्ब ८९ करोड नाफा कमाएको छ । दोश्रो नम्बरमा नविल बैंक रहेको छ । नबिलले एक अर्ब ७४ करोड कमाएको छ भने तेश्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ५८ करोड नाफा कमाएको छ । चौथो नम्बरमा रहेको राष्ट्रिय बाणिज्य बैंकले भने एक अर्ब २१ करोड कमाएको छ । पाँचौंमा रहेको प्रभु बैंकले एक अर्ब ११ करोड कमाएको छ भने छैठौं नम्बरमा रहेको हिमालयनले एक अर्ब २ करोड नाफा कमाएको छ । धेरै नाफा कमाउने १० बैंकको सूचिमा एभरेष्ट बैंक, कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंक परेका छन् । स्ट्याण्डर्ड चाटर्ड बैंक भने ११ औं नम्बरमा रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले कमायो १ अर्ब २१ करोड, ६ महिनामा भएको नाफामा १३ प्रतिशतले बृद्धि

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब २१ करोड रुपैयाँ नाफा गगरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा साढे १३ प्रतिशतले बढेको छ । यो बैंकले गत आवको सोही अवधिमा १ अर्ब ७ करोड रुपैयाँ खुँद मुनाफा गरेकोमा यो वर्ष १४ करोड ५७ लाख रुपैयाँलो बढाउन सफल भएको छ। बैंकको चुक्ता पूँजी ८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । बैंकले गत पुस मसान्तसम्ममा १३८ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरेर ९३ अर्ब ९० करोड रुपैयाँ कर्जा सापटी दिएको छ। बैंकले यो अवधिसम्ममा गरेको लगानी भने ४२ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा १ अर्ब २३ करोड रुपैयाँ रहेको छ । खराब कर्जा अनुपात २ दशमलव ७५ प्रतिशत रहेको छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ६७ दशमलव ९० प्रतिशत रहेको छ ।

राजनीतिक दाउपेचमा पुनर्निर्माण प्राधिकरण, राजनीतिक स्वार्थ भित्रै पुनर्निर्माण कसरी ?

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सत्तापक्ष र प्रमुख प्रतिपक्षको राजनीतिक दाउपेचमा अल्झिन थालेको छ । प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट सुशील ज्ञवालीलाई हटाएको विषयमा प्रमुख प्रतिपक्षी दलले प्राधिकरण निर्देशक समितिको बैठकमा सोमबार गम्भीर आपत्ति जनाएपछि सत्तापक्ष र प्रतिपक्षबीच करिब दुई घण्टा आरोप–प्रत्यारोप चल्यो । ज्ञवालीले आफूलाई पदबहाली गर्न सर्वोच्च अदालतमा दिएको रिट निवेदनमाथि मंगलबार सुनुवाइ हुनु अघिल्लो दिन सिंहदरबारमा बसेको निर्देशक समितिको बैठकमा समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र उपाध्यक्ष तोकिएका एमाले उपाध्यक्ष भीम रावलबीच भनाभन चलेको हो । समितिका उपाध्यक्ष रावलले ज्ञवालीलाई हटाउनुको कारण र उनलाई हटाएपछि प्राप्त भएका उपलब्धिको विवरण मागेपछि प्रधानमन्त्री दाहाल अप्ठेरोमा परेका थिए । सर्वोच्च अदालतले ज्ञवालीलाई पुनर्बहाली गरिदिनसक्ने संकेत प्राधिकरणमा पुगेका छन् । नयाँ उत्साहसाथ प्राधिकरणको जिम्मेवारी सम्हाल्न पुगेका डा. गोविन्द पोखरेलले पनि अदालतले नसोचेको फैसला सुनाउनसक्ने संकेत पाएका छन् । प्रस्तुत गरिएका सातवटा कार्यसूचीमाथि छलफल हुनै नदिई रावलले बैठकको सुरुमै दुई महिनापछि बैठक बोलाउनुको कारण सोधेका थिए । ‘कार्यसूचीमा रहेका अधिकांश विषय यसअघिको निर्देशक समितिमा छलफल भइसकेका र कतिपय निर्णय भइसकेका छन् । भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउन र हामीले पुनर्निर्माणको काममा तीव्रता दिन महत्व दिएका थियौं । दुई महिनापछि किन बैठक भयो भनेर मैले प्रश्न उठाएँ । जे कारणले योभन्दा अगाडिका कार्यकारी अधिकृतलाई हटाइएको थियो, त्योभन्दा अहिले नयाँ के भयो त ? ’, बैठकमा आफूले तेस्र्याएका प्रश्न उद्धृत गर्दै रावलले भने । गत मंसिर ५ गतेको निर्देशक समिति बैठकले संघीय मामिला तथा स्थानीय विकास, सहरी विकास, शिक्षालगायत मन्त्रालयलाई समयसीमासहितको कार्यतालिका दिएको थियो । रावलले भने, ‘ती मन्त्रालयबाट अहिले नयाँ के भयो त रु ती काम तत्कालीन कार्यकारी अधिकृत ज्ञवालीले गर्नुपर्ने थियो कि मन्त्रालयले रु त्यतिबेलाको कार्यकारी अधिकृतले गर्नुपर्ने थियो र नभएको हो भने अहिले प्रष्ट पार्नुप¥यो । मन्त्रालयहरूले नगरेको काममा सम्बन्धित मन्त्री र मन्त्रालयलाई के कारबाही भयो रु के स्पष्टीकरण सोधियो रु ’ विदेशी दाताले समयमा बजेट नदिएको, कर्मचारी समयमा नखटिएको, प्राधिकरणका कर्मचारी आउन गाह्रो भएको जस्ता पहिलाका गनगन अहिले पनि टेबुलमा देखिएको रावलले बताए । ज्ञवालीलाई पूर्वाग्रही भएर हटाइएको पुष्टि भएको रावलले बताए । ‘यो सबै कामका लागि पहिले त सुशील ज्ञवालीलाई कारबाही गरियो । अब कुन मन्त्री, कुन मन्त्रालयको व्यक्तिलाई कारबाही गर्ने भनेर मैले प्रश्न गरेको थिएँ । पहिले निर्देशक समितिमा छलफल गरेका र पहिलेको कार्यकारी अधिकृत रहँदाबाहेक कुनै पनि नयाँ कुरा आएको छैन’, उनले भने, ‘जुन कारण देखाएर पहिलेका कार्यकारी अधिकृत हटाउने निर्णय भएको थियो । आजको बैठकबाट सरकारका ती सम्पूर्ण तर्क कुतर्क रहेछन्, त्यो सबै राजनीतिक पूर्वाग्रहबाट भएको रहेछ भन्ने छर्लंग भएको छ ।’ उनका अनुसार पहिलेका निर्णय र कार्यसूची तथा अहिलेका निर्णय र कार्यसूचीलाई तुलना गरेर हेर्दा पुनर्निर्माण त झन् सुस्त भएको रहेछ । जवाफमा प्रधानमन्त्री दाहालले ज्ञवालीलाई हटाएको विषय अदालतमा विचाराधीन रहेको अवस्थामा धेरै छलफल गर्न उपयुक्त नरहेको तर्क गरेका थिए। अन्नपूर्ण पोस्ट दैनिकबाट ।

बैंक कर्मचारीले नै चोरे २३ लाख, एटीएमबाट चोरिएको पैसा परालमुनी भेटियो

धनगढी ।  एटीएममा राखिएको रकम चोरी गरेको आरोपमा प्रहरीले एक जना बैंक कर्मचारीलाई पक्राउ गरेको छ। धनगढीस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको शाखाबाट शुक्रबार चोरिएको २३ लाख ४४ हजारसहित बैंक कर्मचारी गोविन्द उपाध्याय पक्राउ परेका हुन्। शुक्रबार एटीएममा राखिएको करिव २७ लाखमध्ये २३ लाख ४४ हजार गायव भएको थियो। प्रहरीले उपाध्यायका छिमेकी लिला जोशीको घर अगाडि परालमुनि लुकाएर राखिएको अवस्थामा रकम बरामद गरेको हो। कान्तिपुर दैनिकबाट ।

एकीकृत नमुना मुसहर बस्तीका लागि अढाई करोड अपुग, सहयोग गर्न फाउन्डेसनको आग्रह

महोत्तरी । आगामी वैशाख १ गते हस्तान्तरण गर्ने उद्देश्यका साथ तीव्र गतिमा निर्माणाधीन अवस्थामा रहेको महोत्तरीको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्तीका लागि अढाई करोड रकमको आवश्यकता देखिएको छ । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले सोमबार बिहान पत्रकारसँग कुराकानी गर्दै सो जानकारी गराएका हुन् । पचास घर परिवार मुसहरको लागि गत पुस २५ गते वरिष्ठ हाँस्य कलाकार महजोडीसहित एक दर्जनभन्दा बढी राष्ट्रियस्तरका कलाकारहरूद्वारा शिलान्यास भएको सो एकीकृत नमुना बस्तीको भवनको कार्य ३६ प्रतिशत सम्पन्न भएको अवस्थामा दुई करोड रुपैयाँ विभिन्न माध्यमबाट सङ्कलन भईसकेको अध्यक्ष धुर्मुसले बताए । बाँकी रहेको अपुग रकम सहयोगका लागि उनले हरेकसँग सहयोग गरिदिनका लागि आग्रह गरेका छन्। जसरी भएपनि फाउन्डेसनले तोकिएको समयमै आधुनिक भौतिक संरचना, उद्यान, सामुदायिक पाठशालासहितको एकीकृत नमुना मुसहर बस्ती निर्माण र हस्तान्तरण गर्ने प्रतिबद्धता फाउन्डेसनले जनाएको छ । रासस

सेयर बजारमा तीव्र उतारचढाव, परिसूचक २६ अंकले उक्लियो, ५० करोडको सेयर कारोबार

काठमाडौं । सोमबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । २ बजेसम्मकोे कारोबारमा निरन्तर ओरालो लागिरहेको परिसूचक त्यसपछिको कारोबारमा भने दोहोरो अंकले उकालो लागेको छ । सोही दिन करिब ३२ अंकले घटिरहेको परिसूचक बजार बन्द हुँदा भने २६ दशमलब ४८ अंकले बढेको छ । नेप्से दोहोरो अंकले बढेर १२७८ दशमलब ९८ अंकमा पुगेको छ । आइतबारको तुलनामा कारोबार रकममा सामान्य वृद्धि भएको छ । आतबार ४९ करोडको कारोबार भएको बजारमा सोमबार ५० करोडको सेयर कारोबार भएको छ । सो दिन १३८ कम्पनीको १३ लाख कित्ता सेयर किनबेच भएको हो । बजारमा सबैभन्दा बढी स्वावलम्बन विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता १०८९ रुपैयाँ रहेको छ । त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन बीमा समूहको परिसूचक १९२ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रोपावर, बैंकिङ् र अन्य समूहको परिसूचक क्रमशः ३३, ३० र १५ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक १४ अंकले ओरालो लागेका छन् ।

बैंकिङ क्षेत्रमा अराजकता, कानुनी सीमाभन्दा बढी कर्जा प्रवाह

काठमाडौं । राष्ट्र बैंकको कमजोर नियमनका कारण बैंकिङ क्षेत्रमा अराजकता बढ्न थालेको कतिपय बैंकर र विश्लेषकहरूले बताएका छन् । ‘धेरै बैंकरले अहिले गभर्नरलाई हेपेर कानुनी सीमाभन्दा बढी कर्जा प्रवाह गरेका छन्,’ एक बैंकरले भने, ‘यसले बजारमा अराजकताको बीजारोपण भएको छ ।’ नियममा बस्नेलाई घाटा र नियम मिच्नेले बढी नाफा हुँदा पनि नियामक चुपचाप बसेपछि अराजकता बढ्न थालेको बैंकरहरूले बताएका छन् । यस्तो अवस्थाबाट आय असमानता र विभेद सिर्जना भएको एक बैंकरले बताए । यस्तो होडबाजीले अराजकता निम्त्याउन थालेको बैंकरहरू बताउँछन् । ‘मैले सिसिडी रेसियो ७८ वा ७९ प्रतिशत राखेर बाँकी पैसा १ प्रतिशत ब्याजमा ट्रेजरी बिलमा राखेको छु,’ अर्का एक बैंकरले भने, ‘सँगैको अर्को बैंकले सिसिडी रेसियो ८४ प्रतिशत पुर्याएर १२ प्रतिशत ब्याजमा कर्जा दिएको छ ।’ यसरी बदमासी गरेर बढी नाफा कमाउँदा पनि राष्ट्र बैंक मूकदर्शक बनेपछि बैंकिङ क्षेत्रमा अराजकताले जरो गाड्न सुरु गरेको ती बैंकरले बताए । ‘कुनै बैंकले १ अर्ब मात्रै बदमासी गर्ने हो भने ११ करोड रुपैयाँ बढी नाफा कमाउँछ,’ ती बैंकरले भने, ‘यति ठूलो विभेद र कानुनको बर्खिलाप हुँदा पनि राष्ट्र बैंकले चोरलाई चौतारो, साधुलाई सुली गर्छ भने भोलिको दिनमा कसैले पनि राष्ट्र बैंकलाई किन मान्ने ?’ कारबाही हुनेमा विश्वास अझै छैन राष्ट्र बैंक ऐनअनुसार यस्तो बदमासी गर्ने बैंक तथा वित्तीय संस्थालाई केन्द्रीय बैंकले कारबाही गर्न सक्छ । ऐनअनुसार जति बदमासी गरेको छ, त्यसैबराबरको बिगो र तीन गुणासम्म जरिवाना गर्न सक्ने व्यवस्था भएको केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन् । तर, सीमा नाघेर कर्जा विस्तार गरेका बैंकहरुलाई कारबाही हुनेमा कतिपय बैंकरहरू नै विश्वस्त छैनन् । ‘राष्ट्र बैंकलाई कसले बदमासी गरेको छ भन्ने राम्रोसँग थाहा छ, कारबाही गर्ने वा नगर्ने भन्ने उसैको कुरा हो,’ एक बैंकरले नयाँ पत्रिकासँग भने, ‘कारबाही गर्छजस्तो मलाई चाहिँ लाग्दैन ।’ तथापि, राष्ट्र बैंकको इज्जतका लागि पनि कारबाही गर्नुपर्ने उनले बताए । ‘अहिलेका गभर्नर कमजोर देखेर बैंकहरूले हेपेका हुन्,’ राष्ट्र बैंककै एक अधिकारी भन्छन्, ‘युवराज खतिवडा गभर्नर भएको भए बैंकहरूले यो आँट नै गर्दैन थिए ।’ गभर्नर डा। नेपालले भने संसदीय समितिमा नियम उल्लंघन गर्ने बैंकलाई कस्तो कारबाही गर्ने भनेर छलफल भइरहेको जानकारी गराएका छन् । नाफासँग सिसिडी रेसियोलाई जोडेर हेर्दैनौँ ‘सिसिडी रेसियोको पालना भएको छ कि छैन भनेर हामीले हेर्ने हो, तर नाफासँग जोडेर राष्ट्र बैंकले विश्लेषण गर्दैन । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा त्रैमासिक रिपोर्ट पठाउँछन् । कहिलेकाहीँ हामीले दैनिक कारोबारको विवरण पनि निरीक्षण गरिरहेका हुन्छौँ । तर, त्यस्तो निरीक्षणमा परिपक्व तथ्यांक आउँदैन । बैंकहरूले दैनिक कारोबार गर्दा कुनै दिन सिसिडी रेसियो ८१ प्रतिशत पुगेको छ भने भोलिपल्ट नै ७९ प्रतिशतमा झर्न पनि सक्छ । त्यसकारण त्रैमासिकको अन्त्यमा प्राप्त हुने परिस्कृत विवरणलाई हेरेर हामीले कारबाही गर्ने वा नगर्ने भन्ने निर्णय लिनुपर्छ । यसको पनि प्रक्रिया छ । बैंकहरूलाई सफाइ लिने मौका पनि दिनुपर्छ ।’ – नारायणप्रसाद पौडेल, प्रवक्ता, नेपाल राष्ट्र बैंक नयाँ पत्रिका दैनिकबाट ।

एयरपोर्टभित्र तस्करीको छुट्टै बाटो, सुन तस्करीमा प्रयोग

काठमाडौं – मुलुकको एकमात्र अन्तराष्ट्रिय विमानस्थलमा तस्करीका लागि चेकजाँच नै नहुने छुट्टै बाटो रहेको एक अध्ययनले फेला पारेको छ । विमानस्थलबाट बारम्बार अवैध सुन लगायतका प्रतिवन्धित बस्तुहरु सजिलै भित्रिने गरेपछि भएको अध्ययनबाट यही बाटो प्रयोग हुने गरेको खुलासा भएको हो । गत महिाना ३३ केजी अवैध सुन विमानस्थलबाटै बाहिरिएपछि सरकारकै एक निकायले गरेको अध्ययनले यस्तो तथ्य फेला पारेको हो । अनुगमनको क्रममा यात्रुहरुको आवागमन हुने ठाउँबाटै वैकल्पिक बाटो भेटिएपछि निगरानी बढाईएको छ । कारोबार दैनिकबाट ।

बजार दोहोरो अंकले घट्दा ५ कम्पनीका लगानीकर्ताले कमाए, हेरौँ क-कसले कमाए ?

आइतबार कमाउने पाँच कम्पनी काठमाडौं । दोहोरो अंकले घटेको आइतबारको सेयर बजारमा जम्मा ५ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो दिन बजारमा १३२ कम्पनीको सेयर कारोबार भएको नेप्से परिसूचकले जनाएको छ । बजारमा सबैभन्दा बढी मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले करिब ६ प्रतिशत कमाएका छन् । सो दिन संस्थाको सेयर प्रतिकित्ता ६४६ रुपैयाँ रहेको छ । गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले करिब ३ दशमलब ०८ प्रतिशत कमाएका छन् । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०१ रुपैयाँ रहेको छ । त्यस्तै, सोल्टी होटल, जेबिल्स फाइनान्स र प्रभु बैंक लि. प्रमोटर सेयरको सेयर मूल्य क्रमशः १.९२, १.६३ र १.६२ अंकले बढेको छ । सो दिन सोल्टीको सेयर मूल्य प्रतिकित्ता २६६ रुपैयाँ, जेबिल्स फाइनान्सको १८७ र प्रभु बैंक लि. प्रमोटर सेयरको सेयरको सेयर मूल्य प्रतिकित्ता १८८ रुपैयाँ रहेको छ । आइतबार सेयर बजार ४३ दशमलब ७३ अंकले घटेको छ । १३२ कम्पनीको करोबार भएको बजारमा १२७ कम्पनीले गुमाएका छन् ।

नेप्सेमा भारी गिरावट, बीमा समूह ३४६ अंकले ओर्लियो, १२७ कम्पनीका लगानीकर्ताले गुमाए

काठमाडौं । आइतबार कारोबार शुरु भएसँगै नेप्से परिसूचकमा भारी गिरावट आएको छ । कारोबार शुरु भएको पौने घण्टा नबित्दै २५ अंकले घटेर १२६८ अंकमा पुगको नेप्से परिसूचक बजार बन्द हुँदा ४३ अंकले घटेर १२५२ दशमलब ५० अंकमा अडिएको छ । बजारमा ४९ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १३२ कम्पनीको १३ लाख ९ हजार कित्ता सेयर कारोबार भएको हो । आइतबार १२७ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । प्राइम लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । त्यस्तै, एनबी इन्स्योरेन्स, राप्ती भेरी विकास बैंक, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र अन्लपाइन डेभलपमेन्टका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् । सो दिन जम्मा ५ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आइतबार होटल समूह बाहेक अन्य समूहको परिसूचक ओरालो लागेको छ । होटल समूहको परिसूचक १५ अंकले उकालो लागेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३४६ अंकले ओरालो लागेको छ । त्यस्तै, अन्य समूहको परिसूचक बाहेक बजारमा कारोबार भएका बाँकी समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् । अन्य समूहको परिसूचक ६ अंकले ओरालो लागेको हो ।

एक वर्षमा विदेश भ्रमण खर्च २ अर्ब ३३ करोड

काठमाडौं । केही दिन अघिमात्र ऊर्जा मन्त्री जनार्दन शर्माबाट नलसिंहगाड जलविद्युत् आयोजनाका पदाधिकारीलाई निर्देशन दिदै भने–‘जलाशययुक्त आयोजनाको भ्रमण गर्नका लागि अष्टे«लिया होइन, माथिल्लो तामाकोशी जाऊ ।’ ठूला नेतादेखि कर्मचारी तन्त्र तथा परियोजनाका पदाधिकारीहरूबाट अवसर खोजेर भ्रमणै गर्ने र राज्यको ढुकुटी रित्याउने काम भइरहेको छ । सरकारको विदेश भ्रमण, अनुगनम तथा मूल्यांकन जस्ता अनुत्पादक क्षेत्रमा खर्च बढ्दै गएको छ । आर्थिक वर्ष २०७२/७३ मा विदेश भ्रमण, अनुगनम तथा मूल्यांकनमा मात्र दुई अर्ब ३३ करोड ९६ लाख खर्च भएको महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्क  छ । सरकार परिवर्तन सहित विभिन्न वहनामा विदेश भ्रमण गर्ने र अनुगमन तथा मूल्यांकनका नाममा भत्ता खाने प्रवृत्तिको कारण खर्च यस्तो खर्च बढ्न गएको हो  । अघिल्लो आर्थिक वर्ष २०७१/७२ मा यस्तो खर्च एक अर्ब ९२ करोड २४ लाख भएको थियो । राजनीतिक, कुटनीतिक तथा देश विकासका नाममा गरिने यस्ता भ्रमणबाट खासै उपलब्धी हासिल नभए पनि माटो रकम भने खर्च हुने गरेको छ । भ्रमणमा जाने भनेको ज्ञान तथा सिप हासिल गर्न जाने हो । तर, त्यहाँ सिकिएका सिपबाट उपलब्धी हासिल हुन नसक्ने हो कि गर्नु पर्यो विदेशको भ्रमण ।

नेप्सेमा तीव्र गिरावट जारी, आत्तिए लगानीकर्ता

काठमाडौं । आइतबार कारोबार सुरु भएसँगै नेप्सेमा भारी गिरावट भैरहेको छ । कारोबार सरु भएको पौने घण्टा नबित्दै नेप्से २५ अंक भन्दा बढिले ओरालो लागिसकेको छ । ११ बजेर ४३ मिनेटको समयमा नेप्से २७ दशमलब ३५ अंकले घटेर १२६८ दशमलब ८८ अंकमा झरिसकेको छ । नेप्सेका बैंक, बीमा, होटल, उर्जा लगायतका सात वटै समुहको कारोबारमा भारी गिरावट आएको देखिन्छ ।

सिभिल बैंकको नाफा जम्मा ७ प्रतिशले बढ्यो, ६ महिनामा बैंकको खुँद नाफा १६ करोड ७३ लाख

काठमाडौं । सिलिभ बैंकले चालू आर्थिक वर्षको पहिलो जम्मा ७ प्रतिशतले मात्रै नाफा बढाउन सफल भएको छ । यो बैंकल चालू आर्थिक वर्षको ६ महिनामा गत वर्षको सोही अवधिको तुलनामा जम्मा १ करोड १० लाख रुपैयाँ नाफा बढाएको छ । यो बैंकले ६ महिनामा १६ करोड ७३ लाख रुपैयाँ खुँद नाफा गरेको छ । बैंकको चुक्ता पूँजी ४ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । बैंकले गत पुस मसान्तसम्ममा ३२ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरेर २९ अर्ब ६१ करोड रुपैयाँ कर्जा सापटी प्रवाह गरेको छ । बैंकले यो अवधिसम्ममा गरेको लगानी भने ६ अर्ब १७ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा १ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । खराब कर्जा अनुपात ४ दशमलव ४४ प्रतिशत रहेको छ । यसले बैंकको अवस्था जोमिममा रहेको देखाउँछ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७९ दशमलव ३१ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी ७ रुपैंयाँ ३२ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १३१ रुपैंयाँ १५ पैसा छ । हाल बजारमा बैंकको प्रतिसेयर २१८ रुपैयाँमा कारोबार भइरहेको छ ।

एनएमबी बैंकको नाफा ७० करोड, ६ महिनाको बैंकको नाफा ६६ प्रतिशतले बृद्धि

काठमाडौं । एनएमबी बैंकले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ७० करोड १० लाख रुपैयाँ खुँद नाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६६ प्रतिशतले बढेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा २७ करोड ९८ लाख रुपैयाँले बढि हो । बैंकले गत वर्ष ४२ करोड १२ लाख रुपैयाँ मात्रै नाफा गर्न सकेको थियो । बैंकको चुक्ता पूँजी ५ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । बैंकले गत पुस मसान्तसम्ममा ६७ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५९ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले यो अवधिसम्ममा गरेको लगानी भने ११ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ४ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । खराब कर्जा अनुपात १ दशमलव ८७ प्रतिशत रहेको छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७८ दशमलव ८५ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी २८ रुपैंयाँ ३१ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १८३ रुपैंयाँ ६९ पैसा छ । हाल बजारमा यो बैंकको प्रतिसेयर ४४७ रुपैयाँमा कारोबार भइरहेको छ ।

ऊर्जामन्त्रीको ऊर्जाले देश उज्यालो, ३७ अर्ब सञ्चित नोक्सानीको प्राधिकरणलाई नाफामा लैजाने घोषणा

काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्माले जिम्मेवारी सम्हालेलगत्तै १ भदौमा विद्युत् प्राधिकरणलाई महसुल नतिर्ने ठूला ग्राहकको लाइन काट्न निर्देशन दिए । ११ अर्ब ७९ करोड वार्षिक घाटामा र ३७ अर्ब सञ्चित नोक्सानीमा रहेको प्राधिकरणलाई नाफामा लैजाने घोषणासमेत गरे । त्यसयता प्राधिकरणले एक अर्बभन्दा बढी बक्यौता असुली गरेको छ । नियन्त्रण अभियानसँगै अहिले करिब तीन प्रतिशत विद्युत् चुहावट घटेको अनुमान छ । प्राधिकरणको कमान्ड कुलमान घिसिङलाई विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेशराज काफ्लेले राजीनामा दिएपछि २९ भदौमा कुलमान घिसिङ नियुक्त भए । घिसिङले लोडसेडिङ अन्त्यको प्रयास, चुहावट नियन्त्रण अभियान र निर्माणाधीन अलपत्र आयोजनाका काम अगाडि बढाएका छन् । सातजना सिनियरलाई छाडेर कुलमानलाई कमान्ड दिने जोखिम ऊर्जामन्त्रीले उठाए । कुलमानले त्यो जोखिमलाई अवसरका रूपमा प्रयोग गरे । ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम ३१ भदौमा ३७ बुँदे प्रतिबद्धतामार्फत स्वदेशी लगानीमा जलविद्युत् आयोजना निर्माण गर्न ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम घोषणा गरे । ३७ मध्ये करिब २७ बुँदा कार्यान्वयनको चरणमा रहेको ऊर्जा मन्त्रालयले जनाएको छ । २५ पुसमा ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम कार्यान्वयनका लागि प्रतिबद्धता आह्वान भयो । अहिलेसम्म ३ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता प्राप्त भएको ऊर्जा मन्त्रालयले जनाएको छ । प्रतिबद्धताका आधारमा ठूला जलविद्युत् आयोजना निर्माणका लागि स्रोत जुटाइने भएको छ । दार्चुलामा निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको साँघुरिएको ९इस्क्विचिङ०को सुरुङ खुलाउन ६ असोजमा प्राधिकरण, ठेकेदार र परामर्शदाताबीच ८ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गराए । आठ सय ४३ मिटर खुम्चिएको सुरुङमध्ये अहिले करिब ३२ मिटर मात्रै खुलाउन बाँकी छ । आयोजनाको निर्माण असोजभित्र सक्ने लक्ष्य छ । एक हजार २ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि गोरखा र धादिङका आयोजना प्रभावित जग्गाको मुआब्जा निर्धारण गरिएको छ । मुआब्जा वितरणको प्रक्रियामा रहेको ऊर्जा मन्त्रालयले जनाएको छ । भूकम्पपछि निर्माण सुरु हुन नसकेको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको पहुँच सडकलगायतका काम नेपाली सेनामार्फत गराउन मन्त्रिपरिषद्बाट निर्णय भएको छ । यसबाट आयोजना निर्माणको बाटो खुलेको छ । २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना निर्माणका लागि आयोजना विकास सम्झौता ९पिडिए० भएको छ । यो आयोजना कोरियन लगानीमा निर्माण हुन लागेको हो । निजी क्षेत्रका जलविद्युत् आयोजनासँग विद्युत् खरिद–बिक्री सम्झौता ९पिपिए० गर्दा राखिने ‘लेऊ र तिर’को व्यवस्था हटेको छ । अब ‘लेऊ वा तिर’को व्यवस्था गरिएको छ । यसबाट निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित सबै बिजुली प्राधिकरणले किन्ने सुनिश्चित भएको छ । नेपालको समग्र ऊर्जा क्षेत्रको पुनर्संरचनाको प्रक्रिया पनि सुरु भएको छ । यसका लागि विद्युत् उत्पादन कम्पनी र प्रसारण ग्रिड कम्पनीको स्थापना गरिएको छ । कार्यकारी प्रमुख र सञ्चालक छनोट गरी कम्पनीले काम थालिसकेको छ । विद्युत् व्यापार र इन्जिरियरिङ कम्पनी पनि खुल्ने क्रममा छन् । जलाशययुक्त, पिकिङ रन अफ रिभर र अमेरिकी डलरमा विद्युत् खरिद–बिक्री सम्झौता ९पिपिए० गरिने आयोजनाको दर निर्धारण भएको छ । जलविद्युत् आयोजनाको लाइसेन्स प्रक्रिया सरलीकृत गर्न जलविद्युत् आयोजनाको लाइसेन्ससम्बन्धी नयाँ कार्यविधि जारी भएको छ । सय मेगावाटसम्मका आयोजनाको लाइसेन्स विद्युत् विकास विभागले नै जारी गर्न पाउने व्यवस्था गरिएको छ । वर्षौँदेखि अलपत्र खिम्ती–ढल्केबर, हेटौँडा–मातातीर्थ–स्युचाटार प्रसारण लाइनको समस्या समाधानको पहल भएको छ । अहिले दुवै प्रसारण लाइनको निर्माण सकिएको छ । विद्युत् चोरीमा कर्मचारी नै संलग्न रहेको भेटिएपछि नियन्त्रण गर्न प्राधिकरणमा अपरेसन सञ्चालन भयो । एकदेखि ५ तहसम्मका झन्डै दुई हजार पाँच सय कर्मचारीको एकैपटक सरुवासमेत गरिएको छ । यी काममा प्रगति भएन १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण मोडालिटी टुंगो लागेको छैन । विकास समिति या कम्पनीमार्फत निर्माण गर्ने भन्ने टुंगो नलाग्दा आयोजना अन्योलमा छ । यो आयोजनालाई लोडसेडिङ अन्त्यका लागि एक मात्र विकल्प मानिएको छ । विद्युत् क्षेत्रलाई प्रभावकारी नियमन गर्न नियमन आयोग विधेयक र ऊर्जा संकट निवारण विधेयक दुई महिनाभित्र व्यवस्थापिका–संसद्मा पेस गर्ने ऊर्जामन्त्रीको घोषणा थियो । तर, भदौमा गरिएको घोषणा अझैसम्म कार्यान्वयन भएको छैन । विद्युत् विधेयक पनि अगाडि बढ्न सकेको छैन । ऊर्जामन्त्रीले ३७बुँदे कार्यक्रममार्फत विद्युत् प्राधिकरणको जनशक्ति उचित व्यवस्थापन गर्न ‘उपयुक्त व्यक्ति, उपयुक्त स्थान’ अवधारणाको घोषणा गरेका थिए । तर, सो घोषणा कार्यान्वयन भएको छैन । हरेक विभागीय, क्षेत्रीय र शाखाप्रमुख तथा आयोजना प्रमुखसँग कार्यसम्पादन सम्झौता हुन सकेको छैन । उपलब्धि देखिँदै छ जनार्दन शर्मा, ऊर्जामन्त्री ऊर्जा क्षेत्रको समग्र विकासको मार्गदर्शकका रूपमा ३७ बुँदे प्रतिबद्धता पत्र ल्याएको थिएँ । लोडसेडिङ अन्त्यलाई पहिलो प्राथमिकतामा राखिएको थियो । यसमा सन्तोषजनक उपलब्धि भएको छ । चोरी नियन्त्रण र बक्यौता असुलीमा पनि उल्लेख्य प्रगति भएको छ । उपलब्धि देखिँदै छ ।नयाँ पत्रिका दैनिकबाट ।