नेप्से ३७ अंकले बढ्दा १ अर्ब ४२ करोडको कारोबार, सबैभन्दा बढी नेशनल लाईफको

काठमाडौं । मंगलबार उतारचढाव देखिएको सेयर बजारमा नेप्से परिसूचक ३७ दशमबल ८५ अंकले बढेर १४६२ दशमलब २३ अंकमा पुगेको छ । बजार खुलेको साढे १ घण्टाको अवधिसम्ममा सेयर बजार घट्ने बढ्ने क्रम जारी थियो । त्यसपछिको कारोबारमा भने बजारलाई केही टेवा पुगेको देखिन्छ । मंगलबार सेयर बजारमा कुल १ अर्ब ४२ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये नेशनल लाईफ इन्स्योरेन्सको मात्रै ११ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१ सय ५६ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल कमर्श क्रेडिट एण्ड कर्मश बैंक, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्भेष्टमेन्ट बैंक प्रमोटर सेयरको ५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । मंगलबारको बजारमा कुल १४७ कम्पनीको २२ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी बीमा समूहको परिसूचक १०८ अंकले उकालो लागेको छ । त्यस्तै, अन्य समूहको परिसूचक सामान्य अंकले उकालो लागेको छ भने उत्पादनमूलक समूह स्थिर रहेको छ । त्यस्तै, मंगलबार कारोबार भएका बाँकी समूहको परिसूचक भने दोहोरो अंकले उकालो लागेका छन् ।

घारखोला जलविद्युत् आयोजना निर्माण शुरु, दुई अर्ब ४१ करोड रुपैयाँ लागत

म्याग्दी । अन्नपूर्ण गाउँपालिकाको घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । म्याग्दी हाइड्रोपावर कम्पनीले दुई अर्ब ४१ करोड ५८ लाख रुपैयाँ लागतको सो आयोजना निर्माण शुरु गरेको हो । आयोजना २०७६ साल मङ्सिरमा सञ्चालनमा ल्याउने लक्ष्य रहेको उक्त कम्पनीका प्रबन्ध निर्देशक अर्जुन पौडेल जानकारी दिए । शिखको कुरिला बगरमा बाँध रहने सो आयोजनाको विद्युत्गृह घारको पोखरेबगरको गोजेमा निर्माण गरिने छ । तीन किमी ४८ मिटर लामो सुरुङ रहने उक्त आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाको ७० प्रतिशत तथा संस्थापक र प्रभावित क्षेत्रका बासिन्दाको ३० प्रतिशत सेयर लगानी रहने छ । पहिलो चरणमा बाँध र सुरुङ रहने स्थलसम्म जाने पहुँचमार्गको ट्र्याक खोल्ने र पुरानो सडकलाई स्तरवृद्धि गर्ने काम भइरहेको छ । रासस

स्थानीय तहका कार्यकारीमा जथाभावी सरुवा गरिएकाेमा निजामती कर्मचारी संगठनको अाराेप

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले नव गठित ७ सय ४४ वटा स्थानीय तह (महा/उपमहा/नगरपालिका र गाउँपालिका) को व्यवस्थापनका लागि मन्त्रालयले पूर्वाग्रही ढंगबाट विना मापदण्ड कर्मचारीको काज सरुवा गरेको आरोप लगाएको छ । मन्त्रालयले लापरबाही, अनुत्तरदायी, कानूनविपरित र गैरजिम्मेवारीपूर्ण तरिकाले दरबन्दी सिर्जना नभएका स्थानमा कर्मचारीको मनोबल गिराउने ढंगले गरिएको काज सरुवा गरेको भन्दै संगठनले विरोध जनाएको छ । संगठनकाे स्थानीय विकास मन्त्रालय विभागीय कार्य समितिका अध्यक्ष दीलबहादुर पौडेलले देश स्थानीय तहको निर्वाचनमा होमिएको अवस्थामा निर्वाचनको वातावरण बनाउने कर्मचारीलाई उत्प्ररित गरी आआफ्नो कार्य क्षेत्रमा खटाउनु पर्नेमा आत्मबल कमजोर पार्ने र निर्वाचनको वातावरण खलबल्याउने गरी राजनैतिक हस्तक्षेप, आर्थिक चलखेल र नाताबाद, कृपाबादका आधारमा गरिएको आरोप लगाएका छन् । एउटै कर्मचारीलाई दुई ठाउमा खटाइएको, मन्त्रालयमा लामो समय काम गरेर अनुभव भएका सिनियर कर्मचारीलाई खटाउने कार्य नगरी, फाजिलमा रहेका कर्मचारीहरुलाई व्यवस्थापन नगरी, गाउँविकास समितिमा कार्यरत पुराना शाखा अधिकृतहरुलाई जिम्मेवारी नदिई सामान्य प्रशासन मन्त्रालयसंग कर्मचारी माग गरी खटाउने कार्य भएको जनाएको छ । लामो समय योजना अधिकृत र कार्यकारी अधिकृत  भएका कर्मचारीलाई गाउपालिकामा पठाएर स्टाफ कलेजको तालिममा रहेका शाखा अधिकृतहरुलाई नगरपालिकाको कार्यकारी अधिकृतमा खटाइएको आरोप पनि लगाएको छ । १२ दिन अघि म्यांलुंगबाट काजमा रामेछाप ल्याइएका गणेश नेपालीलाई खोटांग पठाइएको छ भने कमलामाई नपामा कार्यरत जगतप्रसाद भुसाललाई त्यही जिल्लाभित्रको सबैभन्दा दुर्गम  गाउँपालिका हरिहरपुरगढी गाउँपालिकामा बिनाआधार पठाइएको छ । यसैगरी कपिलवस्तु नपाका निरन भट्टराई, कृष्णनगर नपाका हरि पौडेल जस्ता पुराना कार्यकारी अधिकृतहरुलाई दुर्गम गाउँपालिकामा पठाई नयाँ तालिमका अधिकृतहरुमध्ये केहीलाई छानी छानी कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको उनले बताए । कंचनपुर जिल्लाका नयाँ सबै नगरपालिकामा शाखा अधिकृत खटाइएको छ भने दक्षिणी भागको पुनर्वासन गरपालिकामा सिनियर उप सचिव हिमलाल भण्डारीलाई खटाइएको संगठनले बतायो । सामान्य प्र्रशासन मन्त्रालयबाट पठाइएका ६४ शाखा अधिकृत (जो उपसचिव हुने प्रक्रियामा छन्) मध्ये नेपाल निजामती कर्मचारी संगठनका निवर्तमान उपाध्यक्ष रामहरि शर्मालाई कुनै जिम्मेवारी नदिइको उनले बताए ।

संसारका धनीहरुको सूचि सार्वजनिक, माइक्रोसफ्टका विल गेट्सदेखि सेयर बजारका वारेन बफेट हुँदै फेसबुकका जुकर बर्गसम्म

काठमाडौं । फोब्र्स पत्रिकाले संसारकै धनीहरुको नयाँ सूचि सार्वजनिक गरेको छ । फोब्र्सले सन २०१७ का लागि संसारकै धनी व्यक्तिहरुको नाम सार्वजनिक गरेको हो । यो सूचिमा फेरी पनि माइक्रोसफट्का मालिक बिल गेट्स एक नम्बरमै परेका छन् ।  ६१ बर्षिय अमेरिकी नागरिक गेट्सको सम्पति ८६ बिलियन अमेरिकी डलर पुगेको छ । बेर्कसायर हाथवेका मालिक अर्का अमेरिकी नागरिक वारेन बफेटको सम्पति ७५ दशमलब ६ बिलियन अमेरिकी डलर पुगेको छ । ८६ बर्षिय बफेट सेयर बजारका लगानी कर्ता हुन् । अर्का अमेरिकी नागरिक ५३ बर्षिय जेफ बेजोजको सम्पति ७२ दशमलब ८ बिलियन अमेरिकी डलर रहेको छ । चार नम्बरमा भने जारा कम्पनीका मालिक ८० बर्षिय स्पेनी उद्योगी इमान्सीओ ओर्गेगा परेका छन् । उनको सम्पति ७१ दशमलब ३ बिलियन अमेरिकी डलर पुगेको छ । फेसबुकका संस्थापक मार्क जुकरवर्ग पनि विश्वका धनाढ्यहरुको सूचिमा पाँचौ नम्बरमा परेका छन् । ३२ बर्षिय अमेरिकी नागरिक जुकरवर्गको सम्पति ५६ बिलियन अमेरिकी डलर पुगेको छ । मेक्सिकोका टेलिकम मालिक ७७ बर्षिय कार्लाेस स्लीम हेलुले ५४ दशमलब ५ बिलियन अमेरिकी डलर सम्पति जोडेर छैठौं स्थान सुरक्षित गरेका छन् । ७२ बर्षिय अर्का अमेरिकी सफ्टवेयर कम्पनीका मालिक ल्यारी इलिसनले ५२ दशमलब २ बिलियन अमेरिकी डलरका साथ सातौं स्थान सुरक्षित गरेका छन् । डाइभर्सिफाइड कम्पनीका मालिक ८१ बर्षिय चाल्र्स कोचले ४८ दशमलब ३ बिलियन अमेरिकी डलर सम्पति जोडेर ८ औं स्थानमा कब्जा जमाएका छन् । अर्का अमेरिक नागरिक डेभिड कोच पनि ४८ दशमलब ३ बिलियन अमेरिकी डलर सम्पतिसहित ८ औं नम्बरमै रहेका छन् । १० नम्बरमा पनि ब्ल्युमबर्गका मालिक माइकल ब्ल्युमबर्गले ४७ दशमलब ५ बिलियन अमेरिकी डलर सम्पति जोडेर १० औं नम्बर सुरक्षित गरेका हुन् । विश्वका १० धनाढ्यहरुमा ८ अमेरिकी उद्योगी परेका छन भने एक स्पेनी र एक मेक्सिन नागरिक परेका छन् । पछिल्लो २३ बर्षको सूचिमा १८ पटक विल गेट्सले एक नम्बर धनीका रुपमा उभ्याउन सफल भएका छन् । यसपालीको सूचिमा १९५ जना नयाँ धनीहरु थपिएका छन र ति अधिकांश चिनियाँ नागरिक रहेका छन् । २० बर्षिय अलेक्जेण्डर एन्डर्सनले दोश्रो पटक सबै भन्दा कम उमेरका धनाढ्यका रुपमा आफ्नो नाम सुरक्षित बनाउन सकेका छिन् । उनलाई उनका बुवाले १ दशमलब २ बिलियन सम्पति हस्तान्तरण गरेका थिए । सबै भन्दा कम उमेरमा आफ्नै कमाईले धनाढ्य बन्न सफल भएका छन २६ बर्षिय जोन कोलिजन उनको सम्पति १ दशमलब १ बिलियन रहेको छ ।

बैंकले उपभोग्य कर्जाको व्याजदर बढाउँदा समस्या, व्याजदर छिटो बढेपछि ऋणीलाई समस्या

काठमाडौं । बैैंक तथा वित्तीय संस्थाले उपभोग्य कर्जाको व्याजदर जथाभावी बढाउँदा कर्जा जोखिममा पर्ने संभावना बढ्दै गएको छ । व्यक्तिगत जमानत वा धितोमा प्रवाह भएको उपभोग्य कर्जाको व्याजदर छोटो समयमा नै उच्च दरले बढेपछि ऋणीहरुले समायमा नै पैसा तिर्न नसकेको बैंकहरुले नै बताएका छन् । ऋणीलाई आफ्नो बजेट बनाउँदा बैंक किस्ताका किस्ताका रुपमा छुट्याइएको रकम थोरै हुन्थ्यो । तर छिटो व्याजदर बढेको र दोब्बरसम्म व्याजदर पुगेका कारण ऋयालीलाई समस्या परेको उल्लेख छ । बैंक तथा वित्तीय संस्थादले पछिल्लो ५ महिनादेखि वित्तीय प्रणालीमा तरलमा अभाव भएको भन्दै निक्षेपको व्याजदर बढाएपछि कर्जाको व्याजदर पनि पछिल्लो ३ महिनामा दोब्बर भएको छ । नयाँ पत्रिका दैनिकबाट ।

टेलिकम सेवामा ३२ प्रतिशत कर, करकाे भारले सूचना नै महँगाे

काठमाडौं । नेपालको टेलिकम सेवाबाट सरकारले ३२ प्रतिशत कर उठाउने गरेको छ । सरकारले दुर सञ्चार सेवा प्रदायक कम्पनीबाट विभिन्न शिर्षकमा ३२ प्रतिशतसम्म कर उठाएको हो । सरकारले दुर सञ्चार सेवा शुल्क ११ प्रतिशत, स्वामित्व कर २ प्रतिशत, भ्याट १३ प्रतिशत, रोयल्टी ४ प्रतिशत र ग्रामिण दुर सञ्चार विकास कोषमा २ प्रतिशत गरि ३२ प्रतिशत कर असुल्दै आएको छ । दुर सञ्चार सेवा प्रदायक कम्पनीले दुर सञ्चार कम्पनीले उपभोक्तालाई एक सय रुपैंयाँको सेवा बिक्रि गर्दा दुर सञ्चार सेवा शुल्क वापत ८ रुपैंयाँ ६० पैसा, स्वामित्व करका लागि एक रुपैंयाँ ७३ पैसा, भ्याट वापत ११ रुपैंयाँ ५१ पैसा तिर्नुपर्छ । त्यसपछि बचेको रकमबाट पनि ४ प्रतिशत रोयल्टी शुल्क र २ प्रतिशत ग्रामिण दुर सञ्चार विकास कोषमा बुझाउनु पर्छ । नेपाल टेलिकमका चिफ फाइनान्सियल अफिसर सुर्यभक्त पोखरलले कम्पनीले सरकारको राजश्वमा ठुलो योगदान गरेको बताए ।‘हामीले एक सय रुपैंयाँको सेवा बिक्रि गर्दा ३२ रुपैंयाँ त सरकारलाई कर नै तिरिरहेका छौं’, पोखरेलले भने । टेलिकमले उपभोक्तालाई सेवा बिक्रि गरेवापत २६ प्रतिशत कर बुझाउँछ भने बाँकी ६ प्रतिशत कर आफ्नो नाफाबाट तिर्ने गरेको छ । नेपाल टेलिकमले आर्थिक बर्ष २०७२/७३ मा कुल २३ अर्ब ११ करोड कर तिरेको थियो । कुल राजश्वमा टेलिकमले मात्रै ५ दशमलब शुन्य २ प्रतिशत योगदान गरेको छ । चाँडो नाफा कमाउन सकिने व्यवसायका रुपमा स्थापित टेलिकम बिजनेशबाट मुलुककै राजश्व प्रणालीमा पनि ठुलै योगदान प्राप्त भैरहेको छ । नेपाल टेलिकमले गत आर्थिक बर्षमा १३ अर्ब २७ करोड नाफा गरेको थियो ।

यूनिभर्सल इलेक्ट्रोकमद्धारा हिट्याची ब्राण्डको शुरुवात, घरायसी उपकरणमा ख्याति प्राप्त

काठमाडौं । यूनिभर्सल इलेक्ट्रोकम लक्की ग्रुप अन्तर्गत हिट्याची ब्राण्डको शुभारम्भ भएको छ । सोमबार काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजित एक कार्यक्रमद्धारा उक्त ब्राण्डको शुभारम्भ भएको हो । हिट्याची जापानको एक नं. घरायसी उपकरणमा ख्यातिप्राप्त बिभिन्न व्यक्तित्व सेलिब्रेटी तथा सरकारी कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको थियो । हिट्याची जापानका प्रतिनिधिले यूनिभर्सल इलेक्ट्रोकोमसँग व्यापारीक साझेदारी रहेको खुलासा गर्नुका साथै आगन्तुकलाई प्रडक्टको बारेमा समेत जानकारी दिईएको थियो । हिट्याची प्राविधिक गुणले उच्च रहेकोले यो विभिन्न रुपले विश्व प्रख्यात हुनुका साथै टि.भि., एयर कन्डिस्नर, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर तथा ग्याँस चुल्हो नेपाली बजारमा भित्र्याएको छ । यूनिभर्सल इलेक्ट्रोकोमका सिइओ ललित मिश्रका अनुसार नेपाली बजारमा हिट्याचीको प्रोडक्टले ठूलो व्यापारीक हिस्सा ओगट्ने छ र नेपाली उपभोक्ताको मन जित्नेछ । साथै, यसको ऐतिहासिक विश्वव्यापी सफलताले गर्दा नेपालमा पनि धेरै सम्भावना रहेको उनले बताए ।

नेप्सेले पार गर्यो १४०० विन्दु, एक अर्ब २६ करोडको सेयर कारोबार, बीमा ५६६ अंक माथी

काठमाडौं । सोमबारको सेयर बजारमा नेप्से परिसूचकले १४०० विन्दु पार गरेको छ । सो दिन परिसूचक ४२ दशमलब १९ अंकले उकालो लागेर १४२४ दशमलब ३८ अंकमा पुगेको छ । जुन आइतबारको तुलनामा ४२ अंकले बढेको छ । आइतबार नेप्से २४ अंकले बढेर १३८२ अंकमा रहेको अडेको थियो । बजारमा नेप्से परिसूचक सँगै कारोबार रकममा पनि सुधार आएको छ । सो दिन मात्र एक अर्ब २६ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबारको तुलनामा ५८ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सोमबारको बजारमा १४० कम्पनीको २५ लाख २७ हजार कित्ता सेयर किनबेच भएको छ । सोमबार उत्पादन मूलक समूह बाहेक कारोबार भएका अन्य समूहको परिसूचकहरु उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५६६ अंकले उकालो लागेको छ । त्यस्तै, होटल, हाइड्रो, विकास बैंक, बैंकिङ् र फाइनान्स समूहको परिसूचक क्रमशः ७६, ४४, ३९, २९ र १८ अंकले बढेका छन् । उत्पादन मूलक समूहको परिसूचक भने ५ दशमलब १२ अंकले घटेको छ ।

सगरमाथा फाइनान्सको हकप्रदलाई लगानीकर्ताले पत्याएनन, पुनः ५ लाख ६६ हजार कित्तालाई बोलपत्र

काठमााडौं । सगरमाथा फाइनान्स लिमिटेडको संस्थापक समूहतर्फको हकप्रद सेयर विक्रीका लागि भएको वोलपत्रमा लगानीकर्ताको उत्साह देखानन् । यो फाइनान्सले ७ लाख २० हजार ३१८ कित्ता हकप्रद सेयर गत फागुन २६ देखि चैत २ गतेसम्मका लागि बोलकबोलबाट विक्री खुला गरेको थियो । यो अवधिमा जम्मा १ लाख ५४ हजार ४० कित्ता सेयरका लागि मात्रै आवदेन परेको छ । बाँकी ५ लाख ६६ हजार २८७ कित्ता संस्थापक सेयरका लागि फाइनान्सले पुनः लिलाम बढाबढ गर्ने गरी बोलपत्र आव्हान गरेको छ । यो फाइनान्सले चैत ७ गतेदेखि १५ गतेसम्मको समय दिएको छ । न्युनतम १ सय रुपैयाँमा आवेदन दिन सक्ने गरी यो फाइनान्सले बोलपत्र आव्हान गरेको हो । हिमालयन बैंकको १ लाख ४५ हजार कित्ता पनि विक्रीमा यो बैंकले पनि सर्वसाधारण तर्फको १ लाख ४५ हजार ५८० कित्ता सेयरको लिलाम बढाबढ गर्ने भएको छ । गत चैत १६ गतेसम्मको हकप्रद विक्रीका लागि खुला गरेको भएपनि सो समयमा विक्री नभएपछि बैैंकले यही चैत १० गते देखि १६ गतेसम्मको समय दिएर न्युनतम १ सय रुपैयाँ कबोल गर्ने गरी वोलपत्र आव्हान गरेको छ । सेती फाइनान्सको पनि १ लाख ८० हजार कित्ता लिलामीमा सेती फाइनान्सले पनि १ लाख ८० हजार ३५ कित्ता सेयरको लिलामी गर्ने भएको छ । यो फाइन्सको पनि संस्थापक सेयर विक्री नभएकोले पुनः लिलामी गर्न गर्न लागिएको हो । यो फाइनान्सले आगामी चैत १७ गतेभित्र आवेदन दिनेका लागि यो सेयर विक्री गर्ने भएको छ । काष्टमण्डप डेपलपमेन्ट बैंकको पनि १ कित्ता लिलामीमा यो बैंकले साधारण समूहतर्फको १ लाख ७ हजार ६ सय १ कित्ता हकप्रद सेयरको लागि लिलामी गर्ने भएको छ । यो बैंकले आगामी चैत २८ गतेभित्र आवेदन दिन सक्ने गरी न्युनतम १ सय रुपैयाँमा प्रस्ताव पेश गर्न आवव्हान गरेको छ ।

३ अर्बको १० करोड किलो विदेशी प्याज नेपालीका भान्छामा

काठमाडौं । के तपाइँले आफ्नो भान्छामा पाक्ने प्याज स्वदेशी हो वा विदेशी भनेर कहिल्यै ख्याल गर्नु भएको छ ? तपाइँ हाम्रै भान्छामा पाक्ने तरकारीमा स्वाद भर्न बर्षेनी अरबौं नेपाली रुपैंयाँ बाहिरिरहेको छ । गत आर्थिक बर्ष २०७२/७३ मा मात्रै ३ अर्ब १८ करोड ६२ लाख २४ हजार ७ सय ८० रुपैंयाँ मूल्यमा १० करोड ५ लाख ८ हजार २ सय ४४ किलो प्याज नेपाल भित्रिएको छ । जबकी पाँच बर्ष अघि अर्थात आर्थिक बर्ष २०६८/६९ मा एक अर्ब १७ करोड पैंयाँमा ८ करोड ३२ लाख किलो प्याज आयात भएको थियो । यो क्रम बर्षेनी वृद्धि भैरहेको छ । आव ६९/७० मा एक अर्ब ८५ करोडको ९ करोड ४६ लाख किलो प्याज आयात भएको थियो । आव २०७१/७२ मा ३ अर्ब ७६ लाखको ९ करोड ६२ लाख किलो प्याज आयात गरिएको थियो । गत आवमा नेपाल भित्रिएको प्याजको औषत मूल्य प्रति केजी ३१ रुपैंयाँ ७० पैसा पर्न आउँछ ।

इभरडाइमको आधिकारीक बिक्रेतामा एफजी इन्कर्पोरेटिड नियुक्त

काठमाडौं । दक्षिण कोरियाली कम्पनी इभरडाइमले एफजि इन्कर्पोेरेटिड प्रालीलाई नेपालका लागि आधिकारीक बिक्रेता नियुक्त गरेको छ । यस अघि फोर्स ग्रुपले नेपालमा इभरडाइमका हेभी इक्युपमेन्ट आयात गर्दै आएको थियो । नेपालमा इभरडाइमको बजार राम्रो देखेसँगै फोर्स ग्रुपले एफजी इन्कर्पोेरेटिड प्राली नामको भगीनी कम्पनी खोलेर आधिकारीक बिक्रेता बनेको हो । करिब पाँच बर्ष अघिदेखि नै इभरडाइमका हेभी इक्युपमेन्ट नेपाली बजारमा थिए । हालसम्म इभरडाइमका ७५ थान भन्दा बढि हेभिइक्युपमेन्ट नेपाली उपभोक्तासम्म पुगिसकेको फोर्स ग्रुपका अध्यक्ष केदार लामिछानेले बताए । कम्पनीले ९ वटा सेवा सञ्जाल मार्फत इभरडाइमका हेभी इक्युपमेन्ट बेच्ने जानकारी दिएको छ । साथै २५ जना इञ्जिनियरहरुले मर्मतको सेवा प्रदान गर्नेछन् । फोर्स ग्रुपका निर्देशक विपिन लामिछानेले हेभी इक्युपमेन्टका साथमा पार्ट पुर्जाको आयात र व्यवस्थापनमा बिशेष ध्यान दिने बताए । इक्युपमेन्ट बेच्ने धेरै कम्पनीले पार्टपुर्जा सहज रुपमा उपलब्ध गराउन नसकेको आरोप लाग्ने गरेको तर आफ्नो कम्पनीले भने समयमै आवश्यक पार्ट पुर्जा उपलब्ध गराउने उनले जानकारी दिए । इभरडाइमका रक ब्रेकर, एट्याचमेन्ट, फायर फाइटिङ भेइकल, टावर क्रेन, बुम पम्प, ह्यामर ड्रिल जस्ता उत्पादन संसारका ८० भन्दा बढि मुलुकमा उपयोग भैरहेका छन् । दक्षिण कोरियामा हेभी इक्युपमेन्टको सबै भन्दा ठुलो बजार हिस्सा इभरडाइमले ओगटेको लामिछानेले बताएका थिए ।

एनआईबिएल प्रगति फण्डको ७ करोड ५० लाख इकाई नेप्सेमा सूचिकृत

काठमाडौं । एनआईबिएल प्रगति फण्डको १२ करोड ५० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ । आइतबार मात्र यो फण्डको सो मात्राको इकाई नेपाल स्टक एक्स्चेञ्जमा सूचीकरण गरिएको छ ।

सीजी मोटोकर्पले ल्यायो तीन दिने सुजुकी एक्स्चेञ्ज मेला

काठमाडौं । सुजुकी मोटरको आधिकारिक विक्रेता सीजी मोटोकर्पले तीन दिने ‘सुजुकी एक्स्चेञ्ज मेला’ योजना ल्याएको छ । यस तीनदिने योजना मार्फत ग्राहकलाई झन्झट मुक्त कागजपत्र, सरल र कम किस्ताबन्धीको व्यवस्था गरिने कम्पनीले जनाएको छ । उक्त योजना मार्फत ८.९९ प्रतिशत न्युन व्याजदरमा फाईनान्स सुविधा साथसाथै पुनबिक्री सुविधा, सरल एक्स्चेञ्ज, एक्स्चेञ्ज बोनस, निःशुल्क २ वर्ष सर्भिसिङ्ग र ४ वर्ष वारेन्टिको सुविधा प्राप्त गर्न सकिने छ । कम्पनी अनुसार यो योजना सबै मोडलका गाडीहरुमा काठमाडौं उपत्यका भित्रका सम्पूर्ण सोरुमबाट सेवा लिन सकिन्छ । विशेष अफर अन्तर्गत ब्रिजा जेडडिआई मोडलमा विक्री मुल्य ३९ लाख ४९ हजार रुपैयाँ तोकेको छ ।

नेप्से परिसूचक २४ अंकले उकालो लाग्दा ६८ करोडको सेयर कारोबार, सबै सूचक हरिया

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचकमा दोहोरो अंकको सुधार भएको छ । आइतबार नेप्से २४ दशमलब ८५ अंकले बढेर १३८२ दशमलब १९ अंकमा पुगेको छ । परिसूचक सँगै कारोबार रकममा पनि सुधार आएको छ । बजारमा ६८ करोड ७७ लाख रुपैयाँको सेयर करोबार भएको छ । सो दिन कुल १३६ कम्पनीको १४ लाख ४८ हजार कित्ता सेयर किनबेच भएको छ । आइतबार करोबार भएका सबै समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३६७ दशमलब ४९ अंकले उकालो लागेको छ । त्यस्तै, होटल, हाइड्रोपावर, विकास बैंक र बैंकिङ् समूह क्रमशः ६०, ५५, १७ र १२ अंकले उकालो लागेका छन् । त्यसैगरि, अन्य समूह, फाइनान्स र उत्पादनमूलक समूहको परिसूचक क्रमशः ९, ६ र २ अंकले बढेका छन् । सो दिन तीन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, एभरेष्ट इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको सेयर मूल्य क्रमशः ९.९९, ९.९९ र ९.९६ प्रतिशतले बढेको छ । त्यस्तै, आइतबार यी तीन कम्पनीको सेयर मूल्य क्रमशः १४६, १३९ र ७३ रुपैयाँ रहेको छ ।

नलसिङ गाड जलविद्युत आयोजनाको अनियमितता छानविनको दायरामा, १० करोड ३९ लाखको नोक्सानी कसले व्यहोर्छ ?

काठमाडौं । नलसिङ गाड जलविद्युत आयोजनाको परामर्श दाता छनौटमा भएको अनियमितता छानविनको दायरामा आएको छ । ११ करोड बढि रकम कबोल गर्ने कम्पनीलाई परामर्श दाताका रुपमा छनौट गरिएको तथ्य फेला परेपछि व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले छानविनका लागि उप समिति गठन गरेको हो । नलसिङ गाड जलविद्युत आयोजना विकास समितिले भ्याट बाहेक ८६ करोड ६५ लाख ६६ हजार २ सय ३३ रुपैंयाँ कबोल गरेको एएफ कन्सल्ट जेभीलाई नदिएर भ्याट बाहेक एक अर्ब १९ करोड ९१ लाख ५६ हजार ८ सय ३२ रुपैंयाँ ८१ पैसा कबोल गरेको स्मेक जेभीलाई परामर्श दाताका रुपमा छनौट गरेको थियो । एएफ जेभीले भ्याटसहित एक अर्बमा काम गर्ने भनेको थियो भने स्मेक जेभीले भ्याट सहित एक अर्ब २८ करोडमा काम गर्ने भनेको थियो । स्मेक जेभील एक अर्ब ११ करोडमा काम गर्ने भनेपछि विकास समितिले उसैलाई परामर्श दाताका रुपमा छनौट गरेको थियो । यसबाट राज्यलाई १० करोड ३९ लाख ३१ हजार ४२ रुपैंयाँ ५३ पैसा नोक्सानी भएको सांसदहरुले आरोप लगाएका छन् । तर आयोजना विकास समितिका प्रमुख मोति बहादुर कुँवरले भने प्राबिधिक पक्ष बलियो देखिएकाले १० करोड ३९ लाख बढि कबोल गरेको कम्पनीलाई परामर्श दाता छनौट गरेको बताए । परामर्श दाता छनौट गर्दा ८५ प्रतिशत अंकभार प्रबिधिक पक्षको र १५ प्रतिशत आर्थिक प्रस्तावको अंकभार रहने नियम अनुसार नै स्मेक जेभीलाई छानेको पनि बताएका थिए । बैठकमा सांसदहरुले १० करोड भन्दा बढि रकम राज्यलाई हानी भएको भन्दै छानविन गरेर कारवाही गर्नुपर्ने बताएका थिए । सांसद पशुपति चौलागाईँ, रामहरी खतिवडा, मोहन बहादुर बस्नेत, विकास लम्साल लगायतले आयोजनाको काम नरोकी छानविन अघि बढाउनु पर्ने धारणा राखेका थिए । ‘राज्यलाई करिब ११ करोड घाटा लागेको छ, त्यो नोक्सानी कसले व्यहोर्छ’, सांसद रामहरी खतिवडाले प्रश्न गरेका थिए । लेखा समिलते एक महिना भित्रै छानविन सम्पन्न गर्नेगरि उप समिति गठन गरेको छ ।

बस्तुगत उपाध्यक्षमा शंकर पाण्डेको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचतमा बस्तुगत समूहको उपाध्यक्ष पदमा शंकर पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । बरिष्ठ उपाध्यक्ष किशोर प्रधानको समूहको तर्फबाट उनले शनिबार उम्मेदवारी घोषणा गरेका हुन् । पाण्डेको उम्मेदवारी घोषणा सभामा प्रधान, महासंघमा पूर्व अध्यक्षहरु सुरज बैद्य, कुशकुमार जोशी, विनोद बहादुर श्रेष्ठ, पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारसहित विभिन्न बस्तुगत संघको पदाधिकारीहरुको उपस्थिति थियो । सभामा बाेल्दै अध्यक्षहरु  बैद्य, जोशी, श्रेष्ठ, पूर्व वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले पाण्डेले महासंघमा धेरै वर्ष काम गरेकाे र खासगरी नेपाली पश्मिनालार्इ विश्व बजारमा ब्राण्डिङ गर्नेतर्फ उल्लेख्य काम गरेकाे बताउँदै उनलार्इ जिताउन सहयाेग गर्ने बताए । प्रधानको समूहबाट जिल्ला नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् भने एशोसिएटतर्फको उपाध्यक्षमा उम्मेदवारी घोषणा भएको छैन ।

सूचना विभागबाट प्रेस पास लिने पत्रकार २३ हजार, सञ्चार गृहमा सञ्चारकर्मीको अभाव

काठमाडौं । सूचना विभागको प्रेस पास लिने सञ्चारकर्मीको संख्या बर्षेनी बढ्दै गए पनि आम सञ्चार माध्याममा दक्ष सञ्चारकर्मीको अभाव रहेको पाइएको छ । सुचना विभागका निर्देशक राजु भण्डारीका अनुसार हालसम्म सुचना विभागबाट पें्रस पास लिनेको संख्या २३ हजार ४ जना रहेको छ  भने त्यस मध्ये ३६ जना विदेशी रहेका छन् । नेपाल जस्तो सानो देशमा २३ हजार भन्दा बढी पत्रकार हुनु आफैमा ठूलो संख्या भएको उनी बताउँछन् । तर सञ्चार माध्ययममा पत्रकारको ज्यादै आभाव देखिन्छ । दैनिक पत्रिकाहरुमा दैनिक जसो पत्रकार आावश्यक भएको सूचना प्रकाशित हुन्छ । सञ्चारगृहमा सञ्चचचारकर्मीको अभाव हुनुमा आर्थिक समस्या मुख्य कारण रहेको बताउँछन् भण्डारी । मेहनत अनुसार पैसा कमाउन नसक्ने भएकाले गर्दा पे्रस पास लिएर पनि धेरै पत्रकार आफ्नो पेशा छोड्न बाध्य भएको उनले बताए । साधारणतया प्रेस पास लिनको लागि न्यूनतम शैक्षिक योग्यता पूरा गरेको र आफूले काम गर्ने सञ्चारगृहबाट न्यूनतम पारिश्रमिक पाउने गरि नियुक्ती पत्र पाएकोलाई मात्र सूचना विभागले प्रेसपास दिने गरेको भण्डारीले बताए । पत्रकार महासंघका महासचिव उचिल मगर भने सञ्चारगृहमा सञ्चारकर्मीको अभाव भएको कुरा स्वीकार्दैनन् । कुनै पनि सञ्चारगृहमा सञ्चारकर्मीको अभाव भएर सञ्चारगृह नै बन्द नभएको उनको तर्क छ । ‘पत्रकार महासघंमा भने कुनै पनि सञ्चारगृहमा सञ्चारकर्मी नभएर बन्द भयो भनेर कुनै पनि सुचना आएको छैन’उनले भने । सञ्चार माध्यममा दक्ष पत्रकारको अभाव भए नभएको सञ्चार माध्यमको गुणस्तरले देखाउने बताउँछन् नेपाल आर्थिक पत्रकार समाजका निवर्तमान अध्यक्ष विज्ञान अधिकारी । आफन्तबाद, नाताबाद र राजनीतिक दलका ठूला व्यक्तित्वको  आड सूचना विभागकाबाट प्रेस पास लिनेको संख्या जति धेरै भएपनि दैनिक पत्रकारितमा संलग्न पत्रकार धेरै कम भएको उनले बताए । पत्रिका, अनलाइन र टेलिभिजन जस्ता सञ्चारगृहको संख्या बढ्दै गए पनि राम्रो आम्दानी नहुने भएकोले पत्रकारहरु धेरै समयसम्म सञ्चार गृहमा टिक्न नसक्ने समस्या देखिएको काठमाण्डौको हिमालय कलेजका पत्रकारिता विद्यार्थी प्रबल कोइराला बताउँछन् । पत्रकारता पढेका फ्रेस विद्यार्थीलाई मिडियाले प्राथमिकता नदिने गरेकोले पनि दक्ष सञ्चारकर्मीको अभाव भएको उनी बताउँछन् । उनी भन्छन् पत्रकारिता पढेर भन्दा पनि पत्रकारिता नपढिकन पत्रकार बन्नेको संख्या उच्च छ । जवसम्म सञ्चारगृहले पत्रकारीता पढेकोलाई प्राथमिकता र प्रोत्साहन दिदैनन तबसम्म यो समस्या रहिरहन्छ । राजधानी काठमाण्डौमा मात्रै नभएर मोफसलका सञ्चारगृहमा समेत सञ्चारकर्मीको अभाव छ । विराटनगरबाट संचालनमा आएको विराट खबर डटकम अनलाइनका सम्पादक अविजाल विष्टका अनुसार काठमाडौँमा त केहि मात्रामा भएपनि मिडिया क्षेत्रमा काम गर्ने सञ्चारकर्मीहरु भेटिन्छन् । काठमाडौँ भन्दा बाहिरका शहरमा राम्रै पारिश्रमीक दिन्छौ भन्दा पनि सञ्चारकर्मी पाउन सकिदैन । उनका अनुसार पत्रकारिता र मिडिया सम्बन्धी पठन पाठन हुने क्याम्पस नहुनु र पत्रकारिता प्रति विद्यार्थीको घट्दो आकर्षणले गर्दा सञ्चारगृहले यस्तो समस्या आएको हो । (केशर के.सी./प्रशिक्षर्थी पत्रकार)

स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा २८ अर्ब ५० करोडको सेयर माग, आश्वा प्रणालीबाट आवेदन थोरै तर माग धेरै

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले निष्काशन गरेको एफपीओमा साढे २८ अर्ब रुपैयाँ बराबरकाे सेयर माग भएकाे छ । निष्काशन तथा बिक्री प्रबन्धक एनएमवी क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कमल नेपालका अनुसार १ लाख ८१ हजार २३३ आवेदनबाट २८ अर्ब ४९ करोड ९६ लाख रुपैयाँको सेयर माग भएको छ । उक्त विवरणमा केही थप हुन सक्ने उनले बताए । ‘हामीले शुक्रबार राती साढे १० बजेसम्म इमेलबाट प्राप्त विवरणहरु अपडेट गरेको छौं । तर शुक्रबार केही आश्वा मेम्बरबाट र केही संकलन केन्द्रबाट विवरण प्राप्त हुन सकेन’ विकासन्युजसँग कुरा गर्दै नेपालले भने–आईतबार ११ बजेसम्म पूर्ण विवरण संकलन हुनेछ । थप एक/ढेड अर्ब रुपैयाँ बराबर सेयर माग आवेदन परेको हुनसक्न ।’ नेपालका अनुसार हालै प्रयोगमा आएको आश्वा प्रणालीबाट ६१ हजार ५०६ आवेदन मार्फत १६ अर्ब ९५ करोड ५१ लाख रुपैयाँको सेयर माग भएको छ भने पुरानो प्रणालीको फारमबाट १ लाख १९ हजार ७२७ वटा आवेदन मार्फत ११ अर्ब ५४ करोड ४५ लाख रुपैयाँको सेयर आवेदन भएको छ । विवरणअनुसार ठूला लगानीकर्ताले आश्वा प्रणालीबाट आवेदन गरेको र साना लगानीकर्ताले पुरानो शैली अपनाएको देखिएको छ । यस बैंकको सेयरमा आवेदन गर्ने ठूला लगानीकर्ताले मागको करिव ८ प्रतिशत सेयर पाउने देखिएको छ । यसअघि नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको एफपीओमा ठूला लगानीकर्ताले मागको करिब साढे ५ प्रतिशत सेयर पाएका थिए । बैंकले प्रतिकित्ता १०० अंकित सेयरमा ११९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२९० रुपैयाँमा सेयर निष्काशन गरेको हो । बैंकले २५ लाख ५८ हजार १४० कित्ता एफपीओ निष्काशन गरेकोमा शुक्रबार आवेदन गर्ने समय सकिएको छ।

चैतदेखि जेठसम्म पानीको हाहाकार, माग साढे ३७ करोड लिटरमा पूर्ति हुन्छ ६ करोड लिटर

काठमाडौं । विगतमा झैँ यस वर्ष पनि काठमाडौं उपत्यकामा खानेपानीको हाहाकार हुने देखिएको छ । विशेषगरी चैत, वैशाख र जेठमा उपत्यकामा खानेपानीको चरम अभाव हुने गरेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले उपत्यकामा खानेपानी वितरणको काम गर्दै आएको छ । केयुकेएलले सुक्खायामका तीन महिनालाई लक्षित गरी सुधारका कुनै काम नगरेकाले विगतझैँ यस वर्ष पनि खानेपानीको चरम अभाव हुने संकेत देखिएको हो । सुक्खायामका महिनामा सतहमाथि र मुनिका पानीको स्रोत सुक्ने भएकाले उपत्यकामा पानी उत्पादन कम हुने गरेको छ । केयुकेएलले उपत्यकामा खानेपानीको संकट नपर्ने दाबी गरेको छ । केयुकेएलका प्रवक्ता सुरेशप्रसाद आचार्यले यस वर्ष विद्युत् नियमित भएको र सतहमुनिका पानी प्रयोगमा ल्याउन सजिलो हुने भएकाले खानेपानीको हाहाकार नहुने बताए । ‘प्रत्येक वर्षको सुक्खायाममा उपत्यकाभित्र खानेपानीको हाहाकार हुने गर्छ । तर, यस वर्ष त्यस्तो संकट नपर्ला भन्ने लाग्छ,’ उनले भने, ‘यस वर्ष राजधानी लोडसेडिङमुक्त भएको छ । जसले गर्दा जमिनमुनिको पानी चलाउन सजिलो हुन्छ ।’ ट्यांकरबाट वितरण हुने पानीको माग बढ्ने केयुकेएलबाट वितरण हुने पानीको परिमाण घटेपछि ट्यांकरबाट वितरण हुने पानीको माग बढ्ने भएको छ । उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार उपत्यकाभित्र खानेपानी वितरणका लागि दैनिक सात सयको संख्यामा ट्यांकर सञ्चालन हुँदै आएका छन् । ती ट्यांकरले दैनिक पाँच करोड लिटर पानी वितरण गर्दै आएको व्यवसायीहरूको भनाइ छ । तर, सुक्खायाममा ट्यांकरको पानी मात्रै दैनिक १० करोड लिटर माग हुँदै आएको व्यवसायीको दाबी छ । ‘अहिले गर्मी बढिसकेको छैन । त्यसो हुँदा पानीको माग सालाखाला दैनिक पाँच करोड लिटर हो । सुक्खायाममा गर्मी बढ्छ र पानीको स्रोत घट्छ । त्यसवेला पानीको माग अत्यधिक बढ्छ,’ संघका अध्यक्ष विष्णु दाहालले नयाँ पत्रिकासँग भने, ‘यस वर्षको गर्मी सुरु हुँदै छ । गर्मीयाममा सधैँ पानीको माग बढ्छ । किनकि केयुकेएलले आवश्यक मात्रामा पानी वितरण गर्नै सक्दैन ।’ काठमाडौंमा पानीको स्रोत उपत्यकामा भक्तपुरको झौखेल, ललितपुरको सातदोबाटो र गोदाबरी, काठमाडौंको चाल्नाखेलदेखि हिमाल सिमेन्ट कारखाना रहेको स्थानसम्म, मातातीर्थ, स्वयम्भू, बालाजु, जोरपाटी, सानेपाको बागमती नदीलगायतका क्षेत्रमा आधुनिक मेसिन राखेर जमिनमुनिको पानी तान्ने गरिएको छ । केयुकेएलका अनुसार उपत्यकाभित्र दैनिक ३७ करोड ५० लाख लिटर पानीको माग छ । विगत वर्षका तथ्यांक हेर्दा चैत, वैशाख र जेठमा प्रतिदिन नौ करोड लिटर मात्रै पानी उत्पादन हुँदै आएको छ । त्यसमध्ये ३५ देखि ४० प्रतिशत पानी चुहिएरै सकिन्छ । उपभोक्ताकहाँ पुग्ने पानी करिब ६ करोड लिटर मात्रै हो । उपत्यकाभित्रका २७ लाख जनतालाई त्यही पानी बाँड्नुपर्छ । त्यसो हुँदा एकजनाको भागमा करिब २० लिटर पानी पर्छ । तर, केयुकेएलले सो परिणामको पानी कतै ६ दिन त कतै नौ दिनमा एक घन्टा मात्रै वितरण गर्दै आएको छ । यो तथ्यांक हेर्दा एकजनाको भागमा मुस्किलले दुई लिटर पानी पर्छ । केयुकेएलका अनुसार एकजनाका लागि प्रतिदिन १३५ लिटर पानी आवश्यक पर्छ । यो वर्ष पनि केयुकेएलले थप पानी व्यवस्थापन गर्न चासो नदेखाएका कारण हाहाकार हुने निश्चित छ । नयाँ पत्रिका दैनिकबाट ।

३३ केजी सुनका तस्कर समातिए, भन्सारका अधिकृतसहित सात जेल चलान, मुख्य तस्करलाई रेड कर्नर

काठमाडौं । विमानस्थलबाट डेढ वर्षदेखि सुन तस्करीमा संलग्न एयरपोर्ट भन्सारका कर्मचारीसहित चारजना जेल चलान भएका छन् । विमानस्थल सुरक्षामा खटिएका एसएसपीसहित चारजना सुनपसले भने धरौटीमा छुटेका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ । भन्सार चोरीपैठारी तथा संगठित अपराध मुद्दामा जिल्ला अदालतल काठमाडौंले एसएसपी श्याम खत्री तथा वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेसका सञ्चालकहरू राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई धरौटीमा छाड्ने आदेश दिएको हो । विमानस्थलका तत्कालीन एसएसपी खत्री दुई लाख रुपैयाँ धरौटीमा छुटेका छन् भने अदालतले अन्यलाई एक–एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले विमानस्थल भन्सार कार्यालयका तथ्यांक अधिकृत श्रीनारायण यादव तथा एक्सरे टेक्निसियनहरू राजकुमार ढकाल र श्याम श्रेष्ठलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको छ । तस्करीमा संलग्न रामहरि कार्की, दिलबन्धु थापा, सन्तोष काफ्ले र गोपाल शाहीलाई समेत अदालतले जेल चलानको आदेश दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले गत २१ पुसमा विमानस्थलबाट भित्रिएको ३३ किलो ५ सय ७७।४० ग्राम सुन तिलगंगाबाट बरामद गरेको थियो । दुई महिना लगाएर अनुसन्धान गरी १२ जनालाई पक्राउ गरी सिआइबीले गत २२ फागुनमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो । करिब दुई हप्ता लामो थुनछेक बहसपछि जिल्ला अदालतले शुक्रबार त्यसमा आदेश दिएको हो । सिआइबीले मुख्य तस्करसहित २१ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । मुख्य तस्करलाई रेड कर्नरको तयारी मुख्य तस्करहरू विदेशमा रहेकाले इन्टरपोलको सहयोगमा उनीहरूलाई पक्राउ गरेर नेपाल ल्याउने प्रयास भइरहेको सिआइबीका डिआइजी नवराज सिवलालले बताए । अदालतले उनीहरूको नाममा वारेन्ट जारी गरेकाले अब रेडकर्नर नोटिसमा राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । तस्करीका मुख्य नाइके हरिशरण खड्का, रोशन ९गुप्तलाल० भुसाल, राजन पन्थ, अर्जुन खरेल, किसनगोपाल अग्रवाल, चूडामणि उप्रेती, सीताराम खरेल, केशव चापागाईं, गोपी भुसाल र प्रमोद श्रेष्ठलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । उनीहरूमध्ये अधिकांश दुबईमा छन् । उनीहरूको सम्पत्तिको समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ । त्यस्तै, तस्करीमा सहयोगीको भूमिकामा उत्तरढोकास्थित दरबार दोहोरी क्लबका सञ्चालकद्वय रामप्रसाद खड्का र प्रकाश खरेल, सुन ओसारपसारमा संलग्न भोला मगर, संकेत खतिवडा, विष्णु सुवेदी, माधव सुवेदी तथा एयरपोर्ट भन्सारका कर्मचारीहरू गंगा भुसाल, तेजबहादुर श्रेष्ठ र प्रद्युम्नहरि श्रेष्ठविरुद्ध समेत मुद्दा दायर भएको छ । विशालबजारस्थित आरके ज्वेलर्स र दरबारमार्गस्थित आरके डायमन्डका सञ्चालक राजेन्द्र शाक्य र मलिका बज्राचार्य शाक्य, सालिमार ज्वेलर्सका सञ्चालकहरू रामकृष्ण गोयल, कुसुम गोयल र राहुल गोयल तथा बटुस्थित साइराम ज्वेलर्सका सञ्चालक अनमोल विभुते भाइचन्द्र पनि उक्त मुद्दाका फरार प्रतिवादी हुन् । तथ्यांक अधिकृतले पोले हाकिम र डिआइजीलाई पक्राउ परेका एयरपोर्ट भन्सारका तथ्यांक अधिकृत श्रीनारायण यादवले सुन तस्करीमा एयरपोर्टका तत्कालीन डिआइजी र भन्सारका हाकिमहरूको समेत संलग्नता रहेको बताएका हुन् । प्रहरीलाई उनले दिएको लिखित बयानमा तस्करहरूले हाकिमहरूलाई समेत मिलाएको उल्लेख छ । ‘मलाई विमानस्थलको भन्सारको कार्यालयको प्रमुख प्रशासकले भन्सारको सबै डिउटीमा खटाउँथे । सानोतिनो परिणाममा सुनको तस्करी होला भन्ने लागेको थियो । तर, हालको परिणामलाई देख्दा भन्सार अन्य निकायका प्रमुख तथा कर्मचारीहरू पनि संलग्न भएको कुरामा मलाई विश्वास लाग्छ । विमानस्थलका कार्यरत अन्य सम्बन्धित उच्च अधिकारीहरूले सुन व्यापारीहरूबाट पैसा लिने कुरा मलाई विश्वास लाग्छ,’ बयानमा यादवले भनेका छन्, ‘प्रहरीतर्फको पैसाको भाग मैले एसएपी श्याम खत्रीलाई दिने गरेको थिएँ । उक्त रकम डिआईजीसमेतलाई दिनुपर्छ भनेका थिए । उनले अन्य को–को प्रहरीसँग सेटिङ मिलाएका थिए उनलाई नै थाहा होला ।’ पक्राउ परेका तस्करहरूले पनि एक किलो सुन एयरपोर्टबाट पास हुँदा ५० देखि ८० हजार रुपैयाँसम्म सेटिङमा खर्च हुने गरेको बताएका छन् । तर, पक्राउ परेका भन्सारका कर्मचारी तथा एसएसपीले एकपटकको करिब ३ लाख रुपैयाँ लिने गरेको अनुसन्धानमा देखिन्छ । एकपटकमा उनीहरूले २० केजीसम्म सुन ल्याउने गर्दथे । सिआइबीको अनुसन्धानमा सो समूहले कम्तीमा एक सय ३८ पटक सुन विमानस्थलबाट भित्राएको खुलेको छ । जसअनुसार उनीहरूले दुबईबाट करिब दुई हजार केजी सुन नेपालमा तस्करी गरेको प्रहरी अनुमान छ । नयाँ पत्रिका दैनिकबाट ।