५० हजार घुस लिने कर्मचारी अख्तियारको फन्दामा
भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार एक सरकारी कर्मचारीलाई पचास हजार रुपैयाँ घुस लिदालिदै पक्राउ गरेको छ । आइतबार भक्तपुरको सुर्यविनायकको गुठी संस्थान, शाखा कार्यालयमा छड्के गएको आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदालिँदै गरेको अवस्थामा सहायक प्रशासक तथा सूचना अधिकारी छत्र बहादुर पौडेललाई आयोगले पक्राउ गरेको हो। गुठीको जग्गा नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस लिएको गुठी उजुरी आएपछि आइतबार आयोग छड्के गएको थियो । घुस सहित पक्राउ पौडेलमाथि थप अनुसन्धान चलिरहेको आयोगले जनाएको छ ।
नेप्से परिसूचक ४७ अंकले बढ्यो, एक अर्ब ७६ करोडको सेयर कारोबार
काठमाडौं । सेयर बजार उकालो लाग्ने क्रम जारी रहेको छ । साताको पहिलो दिन नेप्से परिसूचक ४७ दशमलब ७९ अंकले उकालो लागेर १५३३ दशमलब ८३ अंकमा पुगेको छ । कारोबार शुरु भएको करिब ३ घण्टाको अवधिमा परिसूचक ६० अंकले बढेर १५४६ अंकमा पुगेको थियो । तर बन्द हुँदा भने परिसूचकमा सामान्य अंकको गिरावट आएको छ । भारी अंकले बढेको बजारमा कारोबार रकम पनि सुधार आएको छ । एकै दिनको बजारमा १ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १४३ कम्पनीको ३६ लाख ५७ हजार कित्ता सेयर किनबेच भएको छ । प्रभु इन्स्योरेन्स कम्पनी लि. प्रमोटरको एकै दिन १९ करोड २८ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५५१ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल क्रेडिट एण्ड कमर्शियल बैंकको ९ करोड र नेशनल हाइड्रो पावर कम्पनीको ८ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यी दुई संस्थाको सेयर मूल्य क्रमशः प्रतिकित्ता ३७६ र १५५ रुपैयाँ रहेको छ । कुल १४३ कम्पनीको कारोबार भएको बजारमा १४० कम्पनीको सेयर मूल्यमा वृद्धि भएको भएको छ भने बाँकी तीन कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सप्तकोशी डेभलपमेन्ट बैंक, साहारा विकास बैंक र प्रभु इन्स्योरेन्स कम्पनी लि. प्रमोटरको क्रमशः ३.६, १.९८ र १.९५ अंकले सेयर मूल्यमा गिरावट आएको छ । आइतबार कारोबार भएका सात समूह परिसूचक:
मनकामना यात्रा अब टुर प्याकेजमार्फत, धार्मिक पर्यटकको आकर्षक गन्तव्य बन्दै
काठमाडौं । मनकामना केवलकारको यात्रा अब टुर प्याकेजमार्फत हुने भएको छ । धार्मिक पर्यटकको लागि आकर्षक गन्तव्य बन्न थालेकोले मनाकामन दर्शनले नै ट्राभल तथा टुर कम्पनीको लागि प्रस्ताव मागेको छ । मनकामनाले इच्छुक कम्पनीलाई १५ दिन भित्र प्रस्ताव पेश गर्न आग्रह गरेको छ । नेपालको पहिलो केवलकार मनकामनामा केबलकारमा धार्मिक पर्यटक तथा विदेशी पर्यटक बढ्दै जान थालेलको टुर एजेन्सीमार्फत प्याकेज लिएर जाने व्यवस्था गर्न लागिएको मनकामना केवलकारको भनाइ छ । मनाकामने काकडभित्ता, जनकपुर, बीरगन्ज, हेटौडा, बुटवल, धनगढी र नेपालगन्जका लागि यस्तो टुर कम्पनी आवश्यक परेको उल्लेख छ । इच्छुक कम्पनीले आवश्यक कागजात पेश गरेर सेवा दिन सक्ने पनि मनकामनाको भनाइ छ ।
साढे २ करोडको भिसा शुल्क मिनाहा गर्दै गृह मन्त्रालय, ४४ अबैध आप्रवासीको भिसाशुल्क र विलम्ब सुल्क मिनाहा
काठमाडौ । गृह मन्त्रालयले संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) को संरक्षणमा रहेका ४४ जना अवैध आप्रवासीको प्रवेशाज्ञा (भिसा) र विलम्ब शुल्कबापतको करिब अढाई करोड (२ लाख ४८ हजार अमेरिकी डलर) रुपैयाँ मिनाहा गर्ने तयारी छ । गृह मन्त्रालयले कंगोका एकजना र ४३ पाकिस्तानीको प्रवेशाज्ञा र विलम्ब शुल्क मिनाहा गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको छ । अर्थले उनीहरूको विलम्ब र भिसा शुल्क मिनाहा स्वीकृत गरेपछि गृहले प्रस्ताव मन्त्रिपरिषद्मा लैजानेछ । गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले पाकिस्तानी र कंगोका नागरिकको भिसा र विलम्ब शुल्क मिनाहा गरिने बताए । प्रवक्ता पन्थीले अन्नपूर्णसँग भने, ‘अर्थले स्वीकृति दिएपछि प्रस्ताव मन्त्रिपरिषद्मा पठाउँछौं ।’ मन्त्रिपरिषद्ले भिसा र विलम्ब शुल्क मिनाहा गरेपछि अन्तर्राष्ट्रिय रेडक्रस आईसीआरसीले ट्राभल डकुमेन्ट बनाइदिनेछ । डकुमेन्टअनुसार नेपालको अध्यागमन विभागले निःशुल्क भिसा दिएपछि उनीहरू वैध बन्नेछन् । नेपालको भिसा पाएपछि उनीहरूलाई यूएनएचसीआरले युरोपेली देश, अस्ट्रेलिया, क्यानाडा, अमेरिकालगायत विकसित राष्ट्रको भिसा दिलाएर पठाउने गर्छ । राजनीतिक तथा अन्य कुनै कारणले विस्थापित भई नेपाल प्रवेश गरेका पाकिस्तानी, बंगलादेशी, इरानी, कंगोली, अफगानिस्तानी, श्रीलंकाली, बर्मेलीलगायत यूएनएचसीआरको संरक्षणमा छन् । अन्नपूर्ण पोस्टबाट ।
इन्टरनेटले बिस्थापित हुँदै अन्तर्राष्ट्रिय भ्वाइस कल, ३२ अर्ब ९४ करोडमा खुम्चियो आम्दानी
काठमाडौं । इन्टरनेट सेवमा भएको व्यापक विस्तारसँगै विदेशबाट आउने कलको आम्दनीमा व्यापक कटौती भएको छ । विदेशबाट आउने कलको आम्दानी ३२ अर्ब ९४ करोड रहेको छ । यो आम्दानी टेलिकमको प्रमुख २ सेवाप्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलको मात्रै हो । टेलिकम सेवामा ९४ प्रतिशत बजार हिस्सा रहेको यी दुई कम्पनीले दिएको सेवाका आधारमा हुने यस्तो आम्दानी अन्य कम्पनीले नगरेको पनि नेपाल दुरसञ्चार प्राधिकरणले जानकारी दिएको छ । विदेशबाट आउने कलमा डाटाकै प्रयोग बढ्दै जादा भ्वाइस कलको शुल्क घट्न थालेको नेपाल दुुुुरसञ्चार प्राधिकरणले उपलब्ध गराएको एक तथ्यांकले देखाएको छ । प्राधिकरणका अनुसार विदेशबाट आउने कलको शुल्कबापत एनसेलले गत आर्थिक वर्ष २०७१/ ७२ मा २३ अर्ब ३९ करोड कमाएको थियो । यो आम्दानी आर्थिक वर्ष २०७२/०७३ मा घटेर २१ अर्ब ५१ करोड रुपैयाँ मात्रै छ । एक वर्षको अवधिमा एक अर्ब ८८ करोड रुपैयाँ घट्नु भनेको शुल्क इन्टरनेटतर्फ मोडिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । नेपाल टेलिकमको गत आर्थिक वर्ष २०७१/०७२ मा यस्तो विदेशबाट आउने भ्वाइस कलको शुल्क ११ अर्ब ६८ करोड रहेकोमा आर्थिक वर्ष २०७२/७३ मा घटेर ११ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । नेपाल टेलिकमको पनि डाटा प्रयोगकर्ता बढेको प्राधिकरणको बुझाइ छ । डाटा प्रयोगकर्ता र यसबाट हुने आम्दानी बढिरहेको टेलिकका सहायक प्रवक्ता सोभन आधिकारीले बताए । उनका अनुसार अझै इन्टरनेट सहज र सरल नहुँदा भ्वाइसकै डोमिनेट रहेको छ । अझै भ्वाइसको बजार हिस्सा ७० प्रतिशत रहेको उनको भनाइ छ । एनसेलका सन् २०१६ को सेप्टेम्बरसम्म डाटा प्रयोगकर्ता करिब ४२ प्रतिशत थिए । एनसेलका एक करोड ४३ लाख प्रयोगकर्तामध्येबाट संकलन भएको वार्षिक ५७ अर्बको कारोबारमा १७ प्रतिशत हिस्सा डाटा प्रयोगकर्ताको रहेको उल्लेख छ । नेपालमा पछिल्लो समय इन्टरनेटरडाटा प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । मोबाइल फोनको प्रयोगले इन्टरनेटरडाटाको प्रयोग बढ्दै गएको हो । आधाभन्दा बढी प्रयोगकर्ताले मोबाइल फोनबाटै इन्टरनेट चलाउने गरेका छन् । नेपालमा हालसम्म तीन करोड १३ लाखभन्दा बढी सिम वितरण भएको भए पनि मोबाइलमार्फत इन्टरनेट चलाउनेको संख्या मात्रै एक करोड ३८ लाख पुगेको छ । तीमध्ये पनि नेपाल टेलिकमको सिम प्रयोग गरेर इन्टरनेट चलाउने ७५ लाख ८० हजार छन् भने एनसेलका प्रयोगकर्ता ६१ लाख १८ हजार छन् । अन्य प्रयोगकर्ताले अरु नै सेवा प्रदायकको इन्टरनेट प्रयोग गरेको पाइएको छ । अधिकारीका अनुसार मोबाइल डाटामार्फत सामाजिक सञ्जाल तथा अन्य एप्स चलाउने ट्रेन्ड बढिरहेको छ । यस्तो ट्रेन्ड नेपालमा मात्रै नभई विश्वमै बढ्दै गएको उनले उल्लेख गरे । टेलिकमको इन्टरनेटमा मोबाइल डाटाबाहेक एडीएसएल, इभिडो र वाइम्याक्स सेवा पनि छन् । तर, मोबाइल डाटा सेवाको हिस्सा नै सबैभन्दा बढी छ । एनसेलका अनुसार विभिन्न सेवासुविधासहित योजना आउनु, मूल्य समायोजन हुनुले डाटा प्रयोगकर्ता बढिरहेका छन् । डाटामा ल्याइने गरेका विभिन्न अफरले प्रयोगकर्ता बढेको उल्लेख । पछिल्लो समय भ्वाइस प्रयोगकर्ताको रफ्तार आफ्नै भए पनि डाटा प्रयोगकर्ताको वृद्धिदर उल्लेख्य हुँदै गएको छ । दूरसञ्चार सेवा प्रदायक कम्पनी टेलिकम, एनसेल, यूटीएल, स्मार्ट टेलिकमले इन्टरनेट सेवा पनि दिइरहेका छन् । एसटीएम टेलिकमले भिस्याटबाट हालसम्म १३ वटा प्रयोगकर्तालाई इन्टरनेट सेवा दिएको छ । यस्तै इन्टरनेट सेवा प्रदायक (आईएसपीएस)ले दुई लाख दुई हजार ग्राहकलाई इन्टरनेट सेवा पुर्याएको दूरसञ्चार प्राधिकरणको तथ्यांकमा उल्लेख छ । इन्टरनेट सेवा प्रदायकमा सुविसु केबलनेट, वल्डलिंक, भायोनेट, ब्रोडलिंक नेटवर्क, वेव सफर, लुम्बिनी नेट, क्लासिक टेकलगायतका सेवा प्रदायक कम्पनीको बजार विस्तार हुँदै गएको छ । प्राधिकरणबाट इन्टरनेटको सेवा लिएका संस्थामध्ये २३ वटा कम्पनीले सक्रिय रूपमा सेवा प्रदान गरिरहेका छन् ।
निर्वाचन क्षेत्र निर्धारण र गाउँ तथा नगरपालिकाको वडाको सङ्ख्या निर्धारण विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन क्षेत्र निर्धारण विधेयक २०७३ र गाउँ तथा नगरपालिकाको वडाको सङ्ख्या निर्धारण विधेयक २०७३ लाई शुक्रबार प्रमाणीकरण गरेका । राष्ट्रपति भण्डारीले ती दुवै विधेयक नेपालको संविधानअनुरुप प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार व्यवस्थापिका–संसद्को यही चैत ७ गतेको बैठकबाट पारित भई प्रमाणीकरणका लागि ती दुवै विधेयक पेस भएका थिए । रासस
नेप्से परिसूचक १०३ अंकको वृद्धि, ५ अर्ब ७७ करोडको सेयर कारोबार
काठमाडौं । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १०३.८५ अंकले बढेर अन्तिम दिन १४८६ अंकमा पुगेको छ । लगातार पाँचै दिन खुलेको बजारमा सबैदिन नेप्से परिसूचक उकालो लागेको छ । सातामा नेप्से परिसूचक सँगै कारोबार रकममा पनि उलेख्य सुधार भएको छ । साताभर बजारमा ५ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो अवधिमा १५५ कम्पनीको एक करोड ८ लाख ३३ हजार कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । यस साता कारोबार रकम गत साताको भन्दा २२२ प्रतिशत बढि हो । गत साता एक अर्ब ७९ करोड ३५ लाख ५६ हजार रुपैयाँ बराबरका ३८ लाख ५३ हजार एक सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । उत्पादनमूलक समूहको परिसूचक बाहेक बजारमा कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेका छन् । सो मध्ये सबैभन्दा बढी बीमा समूहको परिसूचक ५९६ अंकले उकालो लागेको छ । त्यस्तै, विकास बैंक, जलविद्युत्, होटल, वाणिज्य बैंक र वित्त समूहको परिसूचक क्रमशः १६५, १३५, १०४, ९९ र ४२ अंकले उकालो लागेका छन् । यस साता कारोबार रकमका आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो अवधिमा कम्पनीको ३२ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरकोे सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको जम्मा आठ लाख ४९ हजार कित्ताको सेयर किनबेच भएको छ । त्यसैगरी कारोबार संख्याका आधारमा नेपाल बंगलादेश बैंक अगाडी रहेको छ । साताभर बैंकको १८९२ वटा कारोबार भएको थियो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २२.८८ अंकले बढेर ३२३.२६ अंकमा आईपुगेको छ ।
५० प्रतिशत आवेदन आस्वा प्रणालीबाटै, ठूला लगानीकर्ता आकर्षित
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आस्वा प्रणाली कार्यान्वयनमा गरेपछि भएको सार्वजनिक निस्कासनमा ५० प्रतिशत आवेदन आस्वा प्रणालीबाटै भएको छ । बोर्डले माघ १ गते देखि धितोपत्र खरिद सार्वजनिक निष्काशन सम्बन्धी निर्देशिका, २०७३ को नयाँ व्यवस्था बमोजिम अनुसार आस्वा प्रणाली लागु गरेको थियो । आस्वा प्रणाली कार्यान्वयनमा आएपछि फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, यूनाईटेड मोदी र स्ट्याण्डर्ड चार्टर्ड बैंङ्क गरी तीन वटा कम्पनीहरुको सार्वजनिक निष्काशन भएको थियो । यी तीनवटा सार्वजनिक निस्कासनमा कुल रकमको ५० प्रतिशत आस्वा प्रणालीबाट आवेदन गरिएको हो । कुल आवेदन संख्याको ४५ प्रतिशतसम्म आस्वा प्रणालीबाट आएको पनि बोर्डले जानकारी दिएको छ । बोर्डले आस्वा प्रणालीमा लगानीकर्ताहरुको सहभागितामा वृद्धि हुँदै गैरहेको जनाएको छ । सो अवधीमा बोर्डले आस्वा सदस्यता प्राप्त सात वाणिज्य बैंक, दुई बिकास बैंक तथा दुई फाईनान्स कम्पनीमा स्थलगत निरीक्षण पनि गरेको थियो । निरीक्षणका क्रममा बैंक तथा वित्तिय संस्थाहरुले आफ्ना कर्मचारीहरुलाई आवेदन फाराम संकलन प्रकृया सम्बन्धमा थप अभिमुखीकरण गर्न, आवेदन फाराम संकलनको रिपोर्टिड समयमै गर्न तथा प्रणालीगत सुक्ष्म निरीक्षण गरी सञ्चालन जोखिम सम्बन्धमा सजग गराएकोे थियो । केही बैंकहरुले अनलाईनबाट समेत शेयर फारम भर्न मिल्ने व्यवस्था समेत गरेको बोर्डको निरिक्षणमा फेला परेको थियो । आस्वा प्रणालीको सफल कार्यान्वयनका लागि बोर्डले बैंक तथा वित्तिय संस्थाको उच्च नेतृत्वसँगको छलफललाई पनि तिब्रता दिएको छ । बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीहरुले आस्वा शुल्क परिमार्जन गर्ने, दरखास्त फारमलाई अझ सरलिकृत गर्न तथा आस्वा सदस्य बैंकबाट मर्चेन्ट बैंकलाई दरखास्त फारम भौतिक रुपमा नपठाई तथ्याङ्कहरु मात्र उपलब्ध गराउने व्यवस्था मिलाउन उपयुक्त हुने लगायतका सुझाबहरु दिएका पथए ।
३६५ भूकम्प प्रभावितहरूको घर निर्माण गर्न रेडक्रस सोसाइटीद्धारा ५ करोड ८३ लाख वितरण
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले भूकम्प प्रभावित ३८९ घरधुरीलाई दोस्रो किस्तावापतको रकम वितरण गरेको छ । ती प्रत्येक घरधुरीले १ लाख ५० हजारका दरले रकम पाएका हुन् । साथै रेडक्रसले भूकम्प पुनर्निर्माणको लक्ष्य प्राप्तिका लागि ६ हजार भन्दा बढी परिवारलाई प्राविधिक तथा वित्तीय सहयोग पु¥याइरहेको जनाएको छ । नुवाकोट काउले गाउँका मैनसिंह तामाङ्ग सामाजिक परिचालकसँग छलफल गर्दै यस वर्षको जनवरीमा नेपाल सरकारको दोस्रो किस्ता वितरण निर्देशिका आएपछि नेपाल रेडक्रसबाट सहयोग उपलव्ध भएका ती ३८९ सबै घरहरूले दोस्रो किस्ताका लागि सरकारको प्राविधिक जाँचपास गरेका हुन् । यस्तै, रामेछाप जिल्लाबाट नेपाल रेडक्रसले तेस्रो किस्ताको वितरण पनि सुरु गरिसकेको छ । सरकारको नीतिअनुरुप हुने गरी नेपाल रेडक्रस सोसाइटीले भूकम्पप्रभावित परिवारलाई पूर्ण प्राविधिक तथा ३ लाख रुपैंयाका दरले वित्तीय सहयोग प्रदान गरिरहेको छ । नेपाल रेडक्रस सोसाइटीले सुरक्षित र भूकम्पप्रतिरोधी घर निर्माणका लागि पहिलो किस्ता वापत अहिलेसम्म ६ हजार ३ सय ५० बढी घरधुरीलाई ५० हजारका दरले ३१ करोड ८ लाख रुपैंया वितरण गरिसकेको छ । “घर बनाउने दोस्रो किस्ताको रकम लिन मलाई कुनै अप्ठ्यारो भएन ।” रसुवा ठूलो गाउँका पूर्णबहादुर गुरूङले भने । भर्खरै नेपाल सरकारका इञ्जिनियरहरूले उनको घरको प्राविधिक जाँच गरे र पास भए पश्चात दोस्रो किस्ता लिएका हुन् । नेपाल रेडक्रसले भूकम्प प्रभावितहरूलाई भवन निर्माणका लागि नक्सा र आवश्यक प्राविधिक सल्लाह उपलव्ध गराउन आर्किटेक्ट र इञ्जिनियरको समूह नै त्यस क्षेत्रमा राखेर सहयोग पु¥याएको हुँदा पूर्ण र उनका छिमेकीलाई प्राविधिक शर्तहरू पूरा गर्न मद्दत पुगेको उनले बताए । नुवाकोट काउले गाउँका मैनसिंह तामाङ्गले नेपाल रेडक्रसले उपलव्ध गराएको कालिगढ तालिम लिएकी छिन् । नेपाल रेडक्रस सोसाइटीले भूकम्प पुनर्निर्माण कार्यक्रमअन्तर्गत तालिम प्रदान गरेका ४ हजार २ सयभन्दा बढी कालिगढ मध्ये मैनसिंह पनि एक हुन् । उनले आफ्नो घर पनि बनाउँदै छिन् भने अरु धेरैलाई घर निर्माण गराउन पनि सहयोग गरिरहेकी छिन् । “जब मैले एकहप्ते डकर्मी तालिमलिएँ, त्यसपछि मेरो कामगर्ने तरिका नै फरक भयो ” मैनसिंह भनिन् “पहिले हामी जतिसक्दो चाँडो काम सक्न हतारिन्थ्यौँ र जेजस्तो सामान पाइयो त्यही प्रयोग गर्दथ्यौँ । अहिले काम त ढुङ्गाकै गर्ने हो तर कसरी नभत्कने घर बनाउने हो त्यसतर्फ बढी सोच्छौँ”
प्रभु बैंकको २ करोड ३५ लाख कित्ता हकप्रद सेयर आउँदै, निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईडिसी नियुक्त
काठमाडौं । प्रभु बैंकले हकप्रद सेयर निष्काशन गर्न एन.सि.एम.मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ती गरेको छ । गत पुस ८ गतेको बसेको बैंकको पन्ध्रौं वार्षिक साधारणसभाले १० कित्ता शेयर बराबर ४ कित्ता अर्थात चुक्ता पूंजीको ४० प्रतिशत हुने २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो । सोही अनुसार बैंकले हकप्रद सेयर निष्काशन प्रक्रिया अगाडि बढाएको छ । प्रभु बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेयरचन र एन.सि.एम मर्चेण्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका हकप्रद शेयर निष्काशन गर्ने सम्झौता भएको छ ।
सियो पनि नबन्ने मुलुकका जनताले खान्छन ६४ करोडको विदेशी खुर्सानी
काठमाडौं । नेपालमा सियो पनि बन्दैन भनेर मुलुकको औद्योगीक क्षमता माथी व्यंग्य गरिन्छ । तर नेपालमा सियो नबन्ने मात्रै होइन आफ्नै करेसा बारीमा फल्ने खुर्सानी समेत करोडौंको आयात भैरहेको छ । गाउँघरका करेसा बारी र शहरका गगन चुम्बी भवनका छतकै गमलामा फलाउन सके मात्रै पुग्ने खुर्सानीका लागि पनि नेपालले बर्षेनी करोडौं रुपैंयाँ खर्चिरहेको तथ्यांकले देखाउँछ । गत आर्थिक बर्ष २०७२/७३ मा ६४ करोड १० लाख ६९ हजार ४ सय ६० रुपैंयाँको विदेशी खुर्सानी नेपाल भित्रिएको छ । सो मूल्य बराबरको ८ लाख ६४ हजार १ सय ४१ किलो खुर्सानी नेपाल भित्रिएको हो । यो संख्या पाँच बर्ष अघिको भन्दा ६५ दशमलब ५० प्रतिशत बढि हो । पाँच बर्ष अघि अर्थात आव २०६८/६९ मा जम्मा ३८ करोड ७३ लाख ५० हजार ६ सय ३३ रुपैंयाँ बराबरको खुर्सानी नेपाल भित्रिएको थियो । त्यसपछि विदेशी खुर्सानी आयातको यो श्रृंखला २०७१÷७२ मा बाहेक निरन्तर वृद्धि भैरहेका तथ्यांकले देखाउँछ । आर्थिक बर्ष २०६९/७० मा ४१ करोड ११ लाख, आव २०७०/७१ मा ६७ करोड ४१ लाख र आव २०७१/७२ मा ६२ करोड ४६ लाख मूल्य बराबरको विदेशी खुर्सानी नेपाल भित्रिएको छ । भारत, चीन, दक्षिण कोरिया र थाइल्याण्ड लगायतका मुलुकबाट नेपालमा खुर्सानी भित्रिने गरेको छ । कति हुन्छ नेपालमै खुर्सानीको उत्पादन ? तरकारी विकास निर्देशनालयका निर्देशक हरि बहादुर केसीका अनुसार नेपालमा ९ हजार ५ सय ८० हेक्टर जमिनमा खुर्सानी खेति भैरहेको छ । गत आव २०७२/७३ मा ९३ हजार ९ सय ३१ मेट्रिक टन खुर्सानी उत्पादन भएको थियो । ‘५० प्रतिशत व्यवसायीक खेतिबाट उत्पादन भैरहेको छ भने बाँकी घरेलु उत्पादन हो, दुईचार बोट खुर्सानी रोप्नेले पनि केहि किलोग्राम बेच्ने गरेका छन’, निर्देशक केसीले विकासन्युजसँग भने । अकबरे खुर्सानी पुर्वाञ्चलका पहाडी क्षेत्रमा फल्ने र अन्य अधिकांश खुर्सानी तराईमा फल्ने गरेको पनि उनले जानकारी दिए । कृषि विकास मन्त्रालय आव २०७१/७२ को तथ्यांक अनुसार नेपालमा ७ हजार ६ सय ७९ दशमलब ५ हेक्टरमा खुर्सानी खेति भैरहेको छ । सो खेतिबाट त्यो बर्ष ४० हजार १ सय ७१ दशमलब ७७ मेट्रिक टन खुर्सानी उत्पादन भैरहेको छ । नेपालमा खुर्सानीको उत्पादकत्व प्रति हेक्टर ५ हजार २ सय ३१ किलोग्राम रहेको सरकारी तथ्यांक छ ।
भारतबाट तीन अर्ब ९१ करोडको कृषिजन्य बस्तु आयात, सबैभन्दा बढी खाद्यान्न
कञ्चनपुर। भारतबाट कञ्चनपुरमा तीन अर्ब ९१ करोड ५८ लाख रुपैयाँ बराबरको कृषिजन्य बस्तु आयात गरिएको छ । कृषि विकास कार्यालयका अनुसार आव २०७२/७३ देखि चालु आवको हालसम्ममा एक लाख पाँच हजार ५५ मेट्रिक टन कृषिजन्य बस्तु भारतबाट आयात गरिएको हो । आयात गरिएका बस्तुमा खाद्यान्न सबैभन्दा बढी २५ हजार सात सय ७२ मेट्रिक टन रहेको छ । तोरी चार हजार ६०१ मेट्रिक टन, दलहन १८० दशमलव ८५, तरकारी पाँच हजार ६३५ दशमलव ८४, अदुवा तीन दशमलव ३१, बर्सिम घाँसको बीउ १२ दशमलव ३१ तथा आलु १९ हजार २८६ दशमलव ६ मेट्रिक टन आयात गरिएको वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले जानकारी दिए । यसैगरी पशु दाना ३३ हजार ९३५ दशमलव सात मेट्रिक टन, बोटबिरुवा ४३ हजार २५९ र फलफुल ११ हजार १२७ दशमलव ६ मेट्रिक टन आयत गरिएको छ । सोही अवधिमा रिठा २५ दशमलब एक मेट्रिक टन, अमला पाँच, काउलो बोक्रा १२ दशमलव तीन, दालचिनी सात दशमलव तीन, तेजपात ६९ दशमलव एक, कचुर जरा शून्य दशमलव ९, टिमुर शून्य दशमलव सात मेट्रिक टन र पिना ५७ दशमलव पाँच मेट्रिक टन भारत निर्यात गरिएको छ । भारततर्फ निर्यात भएका बस्तुको मूल्य रु ७० लाख ४२ हजार रहेको कार्यालयले जनाएको छ । रासस
एनसीसी बैंकका डेपुटी जनरल म्यानेजर राजाराम खड्काले राजीनामा दिए, मर्जपछि कर्मचारी व्यवस्थापन चुनौतिपूर्ण
काठमाडौं । एनसीसी बैंकका डेपुटी जनरल म्यानेजर राजाराम खड्काले दिएको राजीनामा बैंकले स्वीकृति गरेको छ । आफूभन्दा जुनियर रेबन्तकुमार दाहाललाई डेपुटी सीईओमा नियुक्त गरेपछि माघको दोस्रो साता नै खड्काले असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए । खड्काले नीजि विषय उल्लेख गरेर राजीनामा गरेको र उनको राजीनामा स्वीकृत भएको बैंकका प्रबक्ता तथा डेपुटी सीईओ बन्दना पाठकले बनाइन् । ठूलो संस्थामा कर्मचारी आउने र छोड्ने प्रक्रिया नियमित भएको उनले बताइन् । खड्का यसअघि इन्टरनेशनल डेभलमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । मर्ज हुनुपूर्व खड्कालाई एनसीसी बैंकमा डेपुटी सीईओ दिने सहमति भएको तर सहमति कार्यान्वयन नभएपछि उनले छोडेको स्रोतले बतायो । मर्जपछि बैंकहरुको कर्मचारी व्यवस्थापन सबैभन्दा चुनौतिपूर्ण कार्य भएको अनुभवीहरुले बताउँदै आएका छन् ।
उद्योग मन्त्री नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउने दौडमा,लन्डन चेम्बर अफ कमर्स र चारी ब्लेयरसँग भेटवार्ता
काठमाडौं । उद्योग मन्त्री नबिन्द्रराज जोशी वैदेशिक लगानीको लागि आकर्षक गन्तव्यको रुपमा चिनाउन प्रयासरत रहेका छन् । बेलायतको राजधानी लन्डनमा नेपाललाई आकर्षक लगानी गन्तव्यको रुपमा चिनाउन मन्त्री जोशीले बुधबार लन्डन चेम्बर अफ कमर्सका पदाधिकारीसँग भेट गरेका छन् । लन्डन चेम्बर अफ कमर्स विश्वको ठूलामध्ये एक र पुरानो चेम्बर हो । मन्त्री पौडेलले हालै लगानी नीतिसम्बन्धी परिवर्तनको जानकारी गराउँदै यसले नेपालमा व्यापार व्यवसाय गर्न सहज हुने कुरामा आश्वस्त तुल्याएका थिए । लन्डन चेम्बरका सहायक प्रमुख कायकारी अधिकृत पिटर बिसपले द्विपक्षीय व्यापार र लगानीका अवसरको सदुपयोग गर्न मिलेर काम गर्ने बताए । नेपालमा व्यापार व्यवसाय गर्दा कर्मचारीतन्त्रको अवरोधलगायत विविध विषयमा कुराकानी भएको थियो । मन्त्री जोशीले विदेशीलाई नेपालमा व्यवसाय गर्न अवरोध क्रमशः हटाउँदै लैजाने विषयमा काम भइरहेको बताए । मन्त्री जोशीले सो अवसरमा लण्डन चेम्बरलाई नेपाली चिया उपहार स्वरुप प्रदान गरेर नेपाली उद्योगीलाई बेलायतमा अवसर प्रदान गर्न आग्रह गरेका थिए । मन्त्री जोशीको साथमा नेपाल ब्रिटेन चेम्बर अफ कमर्सका उपाध्यक्ष प्रशान्त कुँवर पनि साथै थिए । मन्त्री जोशीले बेलायती पूर्व प्रधानमन्त्री टोनी ब्लेयरका पत्नी चारी ब्लेयरलाई पनि भेटेका थिए । भेटमा व्यवसायका महिलाको सहभागिता र त्यसको महत्वका विषयमा कुराकानी भएको थियो । श्रीमती ब्लेयरले विशेषतः दक्षिण एसिया उद्यम विकास आयोजनाको क्षेत्रमा क्रियाशील छिन् । सो आयोजना नेपालमा समेत विस्तार गर्ने विषयमा समेत सो भेटमा छलफल भएको थियो । उनीहरुले विकासशील राष्ट्रमा एफडीआई भित्र्याउँदा अन्तर्राष्ट्रिय व्यापार कानुन र मध्यस्थता कानुन र यसको महत्वका बारेमा समेत छलफल गरेका थिए । मन्त्री जोशीले गोर्खा सैनिकको मुद्दा उठाएकोमा धन्यवाद दिँदै नेपाल भ्रमणको निमन्त्रणा समेत दिएका थिए । मन्त्री जोशी नेपाल र बेलायतबीच २ सय औं वार्षिकोत्सव मनाउने क्रममा लर्ड मेयरको निमन्त्रणामा लन्डन पुगेका हुन् । भ्रमणका क्रममा मन्त्री जोशीले विभिन्न व्यापारिक घराना, सरकारी अधिकारी र सभासदहरुलाई समेत भेट्ने कार्यक्रम रहेको छ ।
७४४ वटै स्थानीय तहलाई एक/एक करोड अनुदान, तत्कालिन पुर्वाधारमा खर्च गरिने
काठमाडौं । सरकारले नव गठित ७४४ वटै स्थानिय तहलाई एक एक करोड नगद अनुदान प्रदान गरेको छ । अर्थ मन्त्रालयले बुधबार सबै स्थानिय तहको भौतिक पूर्वाधार बिकासमा खर्च गर्न गरि ७४४ करोड रुपैंयाँ अनुदान निकासा गरेको हो । नयाँ बनेका गाउँ पालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको पूर्वाधार विकासका लागि एक करोडका दरले रकम निकासा गरिएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए । यसले जनताले स्थानीय निकायको पुनःसंरचना भएको अनुभुती गर्ने अपेक्षा अर्थ मन्त्रालयले गरेको महराले बताए । ‘स्थानिय निकायको पुनःसंरचना हुने तर आवश्यक पर्ने रकम नहुँदा, स्थानीय तहको पुनःसंरचना बोर्डमा मात्र सीमीत नहोस् भनेर यो रकम उपलब्ध गराएका हौं’, महराले भने ।
सेयर बजार उकालो लाग्ने क्रम जारी, नेप्से १८ अंकले बढ्दा एक अर्ब ३९ करोडको कारोबार
काठमाडौं । सेयर बजार उकालो लाग्ने क्रम जारी रहेको छ । लगातार उकालो लागेको परिसूचक बुधबार पनि दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक १८ दशमलब ८५ अंकले बढेर १४८१ दशमलब ०८ अंकमा अडेको छ । बजार खुलेको करिब ३ घण्टामै १५१२ अंक नाघेको परिसूचक त्यसपछिको कारोबारमा भने केही गिरावट आएको देखिन्छ । बजारमा परिसूचक सँगै कारोबार रकममा पनि सुधार आएको छ । बुधबार १ अर्ब ३९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । १४६ कम्पनीको २५ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकम करिब ४ करोड रुपैयाँ घटी हो । सो दिन बीमा समूहको परिसूचक ८८ दशमलब ६२ अंकले ओरालो लागेको छ भने अन्य बाँकी समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक ४० अंकले उकालो लागेको छ । त्यस्तै, बैंकिङ र हाइड्रोपावर समूहको परिसूचक २५ अंकले बढेका छन् । बुधबार कारोबार गर्ने उत्कृष्ट दश कम्पनी बुधबार कमाउने उत्कृष्ट दश कम्पनी
वस्तु विनिमय कम्पनी खोल्न न्यूनतम पुँजी ५० करोड, धितोपत्र बोर्डको स्वीकृत बिना कारोबार गरे ५० लाख जरिवाना
काठमाडौं । वस्तु विनिमय बजार सम्बन्धी विधेयक संसदमा प्रवेश गरेको छ । मंगलबार उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले पेश गरेको विधयेक प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो । नेपालमा पहिलो ल्याइएको उक्त विधेयक पास गरेको हो । अब विधेयक पास भएपछि नेपाल धितोपत्र बोर्डबाट अनुमति नलिइ वस्तु विनिमय बजार सञ्चालन गरेमा वा वस्तु विनिमय बजारको नाम प्रयोग गरेमा १० लाखदेखि ५० लाखसम्म जरिवाना तिर्नु पर्ने व्यवस्था गरेको छ । राफसाफ तथा वेयर हाउस सञ्चालन गरेमा दुई ला देखि दशलाखसम्म र वस्तु कारोबार गरेमा एकलाखदेखि पाँच लाखसम्म जरिवान गर्न सकिने विधेयकमा उल्लेख गरिएको छ । विधेयकले वस्तु विनिमय बजार सञ्चालन गर्दा संगठित संस्थाको न्यूनतम चुक्ता पुँजी ५० करोड हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै वस्तु कारोबार, राफसाफ, तथा फस्यौट व्यवसाय वा वेयर हाउस सञ्चालन गर्ने संस्थाको न्यूनतम चुक्ता पुँजी धितोपत्र बोर्डले तोके बमोजिम हुुनपर्ने छ । वस्तु विनिमय बजार सञ्चालन गर्ने अनुमति प्राप्त संस्थाले अनुमति प्राप्त गरेको मितिले १८० दिन भित्र व्यवसाय शुरू गरिसकेको हुनुपर्ने छ । यस्तो बजार सञ्चालन गर्ने कम्पनीले चुक्ता पँुजीको ५ प्रतिशतभन्दा बढी सेयर राख्न पाउने छैन । अर्को वस्तु विनिमय बजार कम्पनीको सेयरधनी रहेकाले वस्तु विनिमय बजारको सेयर लिन पाउने छैन । कुनै कारणले कालोसूचीमा रहेको वा हटेको तीन वर्षपछिमात्र यस्तो बजारमा प्रवेश पाउने छ । सरकारी रकम तिर्न बाँकी भएको अवसथामा पनि वस्तु विनिमय बजारको सेयर लिन पाउने छैनन् । विदेशी पुँजी, सीप तथा प्रविधिको प्रयोग गरी वस्तु विनिमय बजार सञ्चालन गर्ने प्रयोजनका लागि रणनीतिक साझेदारको रुपमा विदेशी लगानीकर्ताले यस्तो कम्पनीको चुक्ता पुँजीको ५१ प्रतिशतसम्म सयेर लिन सकने छन् । त्यस्तै एक पटकमा कारोबार गर्न सकिने वस्तुको सीमा बोर्डले वस्तुको किसिम अनुसार निर्धारण गर्ने छ । त्यस्तै यस्तो बजारबाट लगानीकर्तालाई हुने सक्ने सम्भावित प्रणलीगत जोखिम (सिष्टमिक रिक्स) बाट सुरक्षित गर्न लगानीकर्ताको संरक्षण कोष स्थापना गर्नुपर्ने व्यवस्था विधेयकले गरेको छ । वस्तु कारोबार गर्न व्यवसायीले वस्तु विनिमय बजारबाट सदस्यता लिनुपर्नेछ । वस्तु बजारलाई सही मूल्य निर्धारण गर्ने, मूल्य जोखिम कम गर्ने, महँगी नियन्त्रण गर्ने उद्देश्यसहित विधेयक ल्याएको हो । उक्त विधेयकले कृषक, व्यवसायी र सरकारलाई समेत फाइदा पुग्ने नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ । नयाँ ऐनले बजारलाई नियमका साथै व्यवस्थापन समेत गर्ने बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । विधेयक पारितपछि बस्तु विनिमय बजार करको दायरामा विस्तार हुने, रोजगारीको बढोत्तरी, अनुगमन तथा अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्न नयाँ विधेयकले काम गर्ने अर्थमन्त्रीले बताएका छन् । उनले आर्थिक अनियमितता र ठगी नियन्त्रण गर्न सकिने तथा सीमित व्यक्तिले बजार नियन्त्रण गर्ने अवस्थाको समेत अन्त्य यसबाट हुने बताएका छन् ।
विश्वव्यापिकरणको फाइदा र राष्ट्रवाद एवं संरक्षणवादकाे पीडा
विश्वव्यापिकरणको पक्षमा म पूँजीवादी भएको कुरा मैले अंगिकार गर्नुपर्छ । मेरो विचारमा धर्म, देश र मानिस बीचको क्रमश अन्तरसम्बन्धको प्रकृया नै हाम्रो समयको सबैभन्दा सकारात्मक विकास हो । तर अहिले जनवादीले अमेरिकाको नेतृत्वलाई अति आर्थिक राष्ट्रवाद र संरक्षणवादको संज्ञा दिएको छ । र कैयौं मुलुकमा बढ्दो जनवादी असन्तुष्टीलाई पुरा गर्न कथित नयाँ नीतिहरुको आवश्यकता साझा बहसको विषय बन्ने गरेको छ । मैले यो धरतीमा पाइला टेक्दा विश्वको जनसंख्या दुई अर्ब पचास करोड थियो । म स्पष्ट रुपले मेरो स्मरण गर्न चाहन्छु त्यतिबेला धेरै मानिसहरु भोकमरी, धनी-गरिब बीचको अन्तर र सबै कुरा सखाप हुने कुरा सोचेर डराउथे । अहिले हामी सात अर्ब पचास करोड जनसंख्या माझ छौं र पूर्णरुपमा गरिबी द्रुत रुपमा घटेको छ र धनी र गरिब बीचको दुरी पनि घटेको छ । विश्वभर मानिसको औषत आयु ४८ वर्षबाट बढेर ७१ वर्ष पुगेको छ र प्रति व्यक्ति आय दर पनि पाँच सय प्रतिशतले बढेको छ । पछिल्लो २५ वर्षको अवधी हेर्दा मानवताले उत्कृष्ट समय बिताएको सहर्ष स्वीकार्न सकिन्छ । सन् १९९० देखिको मूल्यांकन गर्दा गरिबी ४७ बाट १४ प्रतिशतमा झरेको छ भने शीशु मृत्युदर आधा कममा झरेको छ । प्रतिव्यक्ति अम्दानी ५०० प्रतिशतले बढेको छ । यति छेडे अविधिमा यति धेरै परिवतर्न विगतमा कहिल्यै भएके थिएन । त्यस्तै अन्य सूचकांकले पनि चहकिलो चित्र कोरेको छ । विगतका तुलनामा युद्ध मैदानमा मारिनेको संख्या पनि घटेको छ जसको हामीसँग तथ्यांक छ । केही वर्षअगाडी पनि जनप्रतिनिधि सरकारको संख्या पनि क्रमश बढ्दो छ । यी चमत्कारी प्ररिवर्तनको आशिंक रुपमा श्रेय विज्ञान तथा प्रविधिलाई जान्छ । यद्दपी कम्तीमा व्यापार तथा लगानीबाट बढ्दो आर्थिक अन्तरक्रियालाई पनि यसको कृतज्ञता मिल्छ । संक्षिप्तमा दशकौंको उपलब्धीको मुख्य कारण विश्वव्यापिकरण नै हो । विगतमा प्राय व्यापारलाई विकसित मूलुकहरुमा उद्योग बन्द गर्ने र कर्मचारीलाई विस्थापित गर्ने जस्ता गलतरुपमा आरोप लगाइयो । तर वास्तवमा पुराना कारखानालाई नयाँ प्रविधिले विस्थापित गरेर उत्पादनशीलतामा सुधार ल्याएको छ र समाजको पूँजीलाई पनि विस्तार गरेको छ । त्यसबाहेक, वास्तविकरुपमा वा कल्पितरुपमा होस् बढ्दो असमानताका कारण व्यापार भन्दा प्रविधिमा जोड दिनु आवश्यक छ । अहिलेका किसान शताब्दी पहिलेका जस्ता छैनन् । ती उद्योगका पुस्ताहरु सहरोन्मुख क्षेत्रको विकासमा लागिपरेका छन् । केहि दशक पहिले त्यहा रोजगारीको कल्पना समेत गर्न सकिदैनथ्यो । अहिले तिनले त्यही रोजगारी पाएका छन् । विश्वव्यापिकरणको स्थापना हुनुअगाडि विश्वका अधिकांश मानिसको अवस्था नाजुक, कष्टकर र छोटो आयुको थियो । र अहिले पनि विश्वव्यापिकरण विरोधीहरु विगतलाई सम्झेर रुने कराउने गरेको पाइन्छ । तिनीहरु अमेरिका, रुस वा इस्लामलाई तथाकथित ‘महान’ बनाउन चाहन्छन् । प्रत्येकले एक अर्काको विरुद्य आवाज उठाउने गर्छन् तर तिनीहरुले विश्वव्यापिकरणको उपहास गरिरहेका छन् । सन् २००८ को आर्थिक मन्दी लगायतका वर्षमा आर्थिक अवस्था निश्चितै अनुकुल थिएन तर समग्र क्षेत्रमा अहिले रोजगारी र आर्थिक क्षेत्रमा सकारात्मकरुपमा उलटपुलट भएको छ । युरोपली क्षेत्रमा जिडिपिको उल्लेखनिय मात्रामा वृद्धि भइरहेको छ र आगामी वर्षहरुमा पनि बढ्ने संकेत देखिएको छ । त्यस्तै अमेरिकाको अर्थतन्त्रपनि राम्रो भएको छ । बेरोजगारी पाँच प्रतिशतले कम छ र आय पनि बढ्दो छ । पक्कैपनि धेरै समाजले अप्रत्याशितरुपमा परम्परागतरुपमा असुरक्षित महसुस गर्नुपरेको छ। बाह्य शक्ति जस्तो कि बसाइसराइले शान्ति र स्थिरताको परम्परागत स्रोतलाई नष्ट पार्छ भन्ने धेरै मानिसलाई के विश्वास दिलाइएको छ । यस्तो सोचले विश्वका सबैभन्दा असुरक्षित मानिसलाई गम्भिररुपमा आतंकित पारेको छ । सन् २०३० सम्ममा चरम गरिबीलाई लुप्त पार्ने संयुक्त राष्ट्र संघको (युएनएसडि) अभियान व्यापार, प्राविधिक आविष्कार र अन्तराष्ट्रिय सहकार्यमार्फत हुने निरन्तर आर्थिकवृद्धिमा पूर्णरुपमा निर्भर छ । व्यापार अवरोध खडा गर्ने, डिजिटल व्यापारिक प्रणाली अपनाउने र स्वतन्त्र विश्वलाई नष्ट पार्ने प्रयत्न जस्ता कामले अफ्रिका लगायत विभिन्न अविकसित क्षेत्रका विभिन्न चरम गरिबलाई नोक्सान पुर्याएको छ । यसले पश्चिम भरजिनियाका कोइला खानीका मजदुरलाई पनि असर पारेको छ । बलियाले सधै आफ्नो व्यवस्था मिलाउछ तर कमजोरले गनगने संरक्षणवादको भार बहन गर्नुपर्छ जसले विश्वव्यापिकरणको सुविधालाई खेर फाल्छ । विश्व यस वर्ष ड्याभोसमा भएको आर्थिक सम्मेलनको वार्षिक बैठकमा चिनियाँ राष्ट्रपति सि जिङपिङबाहेक अरु पश्चिमी व्यापारी नेतृत्वले विश्वव्यापिकरणको सराहना गरेन । कम्युनिष्टहरुले नै विश्वव्यापिकरणमा विश्वास राखिरहेको बेला पूँजीवादीहरुले गुमाएको अवस्था छ । यो विचित्र छ र विगतको क्रियाकलाप र अहिलेको तथ्यसँग नितान्त फरक छ । हामीले प्रकृयाको सराहना गर्नुपर्ने अनेक कारणहरु छन् । केहि दशक अगाडि कल्पना गर्न नसकिने अवस्थाको समृद्धि पाएका छौं । विश्वव्यापिकरणको वकालत र प्रतिकृयावादी गुनासाहरुको विरोध गर्न हिचकिचाउन जरुरी छैन । हामीले उज्ज्वल भविष्य प्राप्त गर्न सक्छौं तर यसलाई विगतमा खोज्नु भएन । (बिल्ट स्विडेनका पूर्व प्रधानमन्त्री तथा विदेश मन्त्री हुन् र उनकाे विचार प्रोजेक्ट सिन्डिकेटबाट अनुबाद गरिएकाे हाे ।)
सिटिजन्स बैंकको १ करोड ३८ लाख कित्ता हकप्रद निष्कासन, चैत २४ देखि आवेदन खुला
काठमाडौं । सिटिजन्स बैैंकले प्रति सेयर १ सय रुपैयाँ अंकित १ करोड ३८ लाख ४३ हजार ३९७ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । यो बैंकले १० वटा साधारण सेयर बराबर २ दशमलव ५ (१०ः२.५)को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ । हाल बैंककाे ५ अर्ब ५३ करोड ७३ लाख ५१ हजार ७६१ रुपैयाँ छ । बैंकले १ अर्ब ३८ करोड पुँजी थप गर्ने उद्देश्यले हकप्रद साधारण सेयर निष्कासन गरेको छ । याे हकप्रद निष्कासनपछि यस बैककाे चुत्ता पुँजी ६ अर्ब ५२ कराेड १६ लाख ८९ हजार ६६१ रुपैयाँ पुग्ने भएकाे छ । हकप्रद सेयर लिनकाे लागि यही चैत २४ गतेदेखि बैशाख २७ गतेसम्म अावेदन दिन सकिने छ । गत फागुन २४ गतेसम्म सेयर खरिद गरेकाे सेयरधनीले मात्रै हकप्रद लिन पाउने बैंकले जनाएकाे छ । यो बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड हो । हकप्रद सेयरको सानिमा क्यापिटल लिमिटेड नारायण चौर नक्साल, सिटिजन्स बैंको सम्पूर्ण शाखामा र सिबिआईएल क्यापिटल लिमिटेड बाटुलेघर डिल्लीबजारबाट आवेदन दिन सकिने छ ।
एटिएम ठगीको नयाँ शैली, अनलाइनबाटै डाटा ह्याक गरेर तीन करोड ३१ लाख चोरी
काठमाडौं । नक्कली एटिएममार्फत भइरहेको नयाँ शैलीको ठगी प्रहरीले पत्ता लगाएको छ । नेपालमै बसेर विदेशमा रहेका व्यक्तिहरूको एटिएम डाटा अनलाइनबाटै ह्याक गरेर एक समूहले करोडौँ पैसा निकालिसकेको प्रहरीले पत्ता लगाएको हो । त्यस्तो गिरोहका आठजना पक्राउ परेका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ । दुई वर्षदेखि नक्कली एटिएमबाट पैसा चोरी गर्दै आएको गिरोहका नाइके सुरेश केसीसहितका आठजनालाई महानगरीय अपराध महाशाखाले तीन दिनको अनुसन्धानपछि पक्राउ गरेको हो । उनीहरूले हालसम्म काठमाडौं तथा पोखराका होटेल तथा पसलमा रहेका प्वाइन्ट अफ सेल ९पिओएस० मेसिनहरूबाट तीन करोड ३१ लाख रुपैयाँ ठगी गरिसकेका छन् । गिरोहमा आबद्ध भारतीय नागरिक अभिषेक पाण्डेलाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाइएको महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले बताए । पक्राउ पर्ने अन्यमा केवलशमशेर जबरा, अभिषेक नकर्मी, अनुज नकर्मी, विजय लामा र नदिम खान छन् । केवलशमशेर दुई वर्षअघि पनि एटिएम ठगी अपराधमा जेल परेर छुटेका हुन् । अभिषेक र अनुजले गिरोहका लागि सहयोगीका रूपमा काम गरेका थिए । त्यस्तै, लामा र खान प्वाइन्ट अफ सेल (पिओएस)मेसिन दुरुपयोग गरी ठगीमा सघाउने व्यवसायी हुन् । खानको क्षेत्रपाटीमा डी सोभिनियर नामको पसल छ भने लामाको भक्तपुरमा पौराणिक थान्का पसल छ । आफ्नो पसलमा रहेको पिओएस मेसिन दुरुपयोग गरेर उनीहरूले लाभ लिएको अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले बताए । एटिएम ठगीको नयाँ शैली स् बिटक्वाइन कारोबारी र आइसिक्वु नामक एप्समार्फत सो गिरोहले विदेशी नागरिकको डेबिट तथा क्रेडिट कार्डहरूको डाटा चोरी गरेको अनुसन्धान अधिकृत रहेका महाशाखाका डिएसपी अजय केसीले बताए । आइसिक्वु एप्समा रहने ब्रोकरहरूमार्फत उनीहरूले एटिएमको डाटा बेच्ने गर्दथे । ५० देखि ५ सय अमेरिकन डलरसम्म तिरेर उनीहरूले त्यस्ता एटिएम पिन नम्बरसहितको डाटा किन्ने र सोही डाटाबाट नक्कली एटिएम कार्ड बनाउँदै आएका थिए । नयाँ पत्रिका दैनिकबाट ।