भरतपुर अस्पतालमा ३२ प्रकारका अत्याधुनिक उपकरण

चितवन । भरतपुर अस्पतालमा करिब रु ३० करोड मूल्य बराबरका ३२ प्रकारका अत्याधुनिक उपकरण थप गरिएको छ । उपकरण थप भएपछि कतिपय थप सेवा सुरु हुने भएको छ भने कतिपय सेवा विस्तार गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीकाअनुसार धेरैजसो उपकरण आइसकेका छन् भने केही उपकरण आउने क्रममा छन् । अस्पतालको मागबमोजिम स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग बजेट माग गरी यसअघिनै बजेट सुनिश्चितता पत्र अस्पताललाई दिएपछि खरिद प्रक्रिया अघि बढेको थियो । डा मरासिनीका अनुसार मिर्गौलाको डायलासिसका लागि आवश्यक १२ थान उपकरण अस्पतालमा जडान भइसकेको छ । जिल्लामा दुई मेडिकल कलेजले मात्र डायलासिस गर्दै आएकोमा अबको एक सातापछि भरतपुर अस्पतालमा पनि डायलासिस गरिने मरासिनीले बताउनुभयो । त्यसैगरी अस्पतालमा १२८ स्लाइसको सिटिस्क्यान मेसिन पनि जडान भइसकेको छ । जिल्लामा मेडिकल कलेज र अस्पतालमा भन्दा उच्चस्तरको उपकरण सरकारी अस्पतालमा भित्रिएको उनले बताए । सघन उपचार कक्षका लागि पाँच थान भेन्टिलेटर, थप एक सेट ल्याबका उपकरण, एउटा एक्सरे, दुईवटा अल्ट्रासाउण्ड, एनेस्थेसिया उपकरण चार थान, १५ वटा शव राख्न मिल्ने एउटा फ्रिजर पनि थपिएको छ । कपडा धुने उपकरण पनि भित्र्याइएको छ । यसअघि अस्पतालमा हातले कपडा धोइदै आएको थियो । त्यस्तै अस्पतालभित्रै अक्सिजन उत्पादनका लागि आबश्यक उपकरणको एलसी खोली सकिएको छ । सबै उपकरण सार्वजनिक खरिद ऐनअन्तर्गत खरिद गरिएको मेडिकल सुपरिटेन्डेन्ट मरासिनीले बताए । मन्त्रालयले रु २३ करोड बजेट निकासा गरेकोमा प्रतिस्पर्धा भएका कारण रु ३० करोड बराबरको उपकरण खरिद गर्न सकिएको उनले बताए । चितवन र छिमेकी जिल्लाका गरी वार्षिक रुपमा करिब दुई लाख बिरामीले यो अस्पतालबाट सेवा लिने गरेको अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले बताए । गरिब जनताले आर्थिक अभावमा उपचार नपाउने समस्याको अन्त्य गर्न नयाँ नयाँ उपकरण भित्र्याएर थप सेवा विस्तार गर्न अस्पताल लागि परेको पनि उनले बताए । रासस

वारेन बफेटले दानमा पनि दिए सेयर नै, वर्कशायर हाथवेको ३ अर्ब १७ करोडको कित्ता सेयर दान

काठमाडौं । अमेरिकी अर्बपति वारेन बफेटले एकै दिन ३ अर्ब अमेरिकी डलर भन्दा बढि दान गरेका छन् । उनले सोमबार चार वटा संस्थालाई ३ अर्ब १७ करोड अमेरिकी डलर दान गरेका हुन् । उनले हालसम्मकै ठुलो दान गरेको बताएका छन् । वर्क सायर हाथवे कम्पनी मार्फत बफेटले दान गरेका हुन् । १२ औं दान दिवसका अवसरमा वर्क शायर हाथवेको ख वर्गमा रहेको १ करोड ८६ लाख ३० कित्ता सेयर दान दिएका हुन् । विश्व सेयर बजारका बादशाहको उपनाम पाएका बफेट ७६ अर्ब ३० करोड अमेकिरी डलर सम्पति सहित विश्वको चौथो धनी व्यक्तिको सूचिमा छन् ।

दुई महिनामा १४४२ कर्मचारी विदेश सयरमा, विदेश घुमेरै एक अर्ब स्वाहा

काठमाडौं । पछिल्लो दुई महिनासम्म सरकारका १ हजार ४ सय कर्मचारीले विदेश भ्रमणमा गरेर राज्यकोषको एक अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन्। यो रकम दैनिक भ्रमण भत्ता र हवाई टिकटमा भएको सामान्य हिसाव मात्र हो। ती कमर्चरीले यस अवधिमा एसिया, अफ्रिका, युरोप, उत्तर, अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलियाका विभिन्न मुलुकको भ्रमण गरेका हुन्। ‘यस अवधिमा कर्मचारीहरू अन्टार्टिकाबाहेक सबै महादेशमा पुगेका छन्, प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने। विदेश भ्रमणमा सबैभन्दा बढी ११४ जना अर्थ मन्त्रालयका कर्मचारी गएका छन् । परराष्ट मन्त्रालयका ९२ जनाले विदेश भ्रमण गरेको छन भने कृषि मन्त्रालयका ८६ जना कर्मचारी गएको तथ्यांकले देखाएको छ । नागरिक दैनिकबाट ।

बजारमा ९९ करोडको सेयर कारोबार, नबिल बैंकको मात्रै २४ करोडको प्रमोटर सेयर बिक्री

काठमाडौं । मंगलबारको सेयर बजारमा साँढे ९९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४९ कम्पनीको १९ लाख ३० हजार कित्ता सेयर करिब ९९ करोड ६३ लाख रुपैयाँमा सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी नबिल बैंकको प्रमोटर सेयर बिक्री भएको छ । सो बैंकको एकैदिन २४ करोड ६१ लाख रुपैयाँ बढीको प्रमोटर सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११२४ रुपैयाँ रहेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १९ रुपैयाँले बढी हो । त्यस्तै, यस बैंकको प्रमोटर सेयर ११०० रुपैयाँदेखि ११३४ रुपैयाँ सम्ममा किनबेच भएको छ । मंगलबारको नेप्से परिसूचक ९ दशमलब ७९ अंकले बढेर १५८५ अंकमा पुगेको छ । करिब दोहोरो अंकले बढेको बजारमा कारोबार भएका सबै समूहको परिसूचक हरिया देखिएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६० अंकले उकालो लागेको छ । त्यस्तै, होटल, हाइड्रोपावर र विकास बैंक समूहको परिसूचक क्रमशः ३५, १५ र १३ अंकले उकालो लागेका छन् । बजारमा दुई बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्था र कुबेर मर्चेन्ट फाइनान्सको सेयर मूल्य क्रमशः ९.९८ र ९.६२ प्रतिशतले वृद्धि भएका छन् । उता नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरको मूल्य करिब ९.०९ प्रतिशतले घटेको छ ।

विद्युत प्राधिकरणले राजधानीमा ५ वटा व्यापारिक कम्प्लेक्स बनाउने, १५ वटा सहायकको कम्पनी त्यसैभित्र रहने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नाफा बढाउने तथा जग्गा अतिक्रमणबाट जोगाउने लक्ष्यसहित उपत्यकाभित्र खाली जग्गामा व्यापारिक कम्पेक्स बनाउने योजना अघि सारेको छ । उपत्यकाभित्र प्राधिकरणको नाममा रहेको खाली जग्गामा ‘प्राधिकरण पूर्वाधार विकास आयोजना’ अन्तर्गत व्यापारिक कम्प्लेक्स निर्माण गर्न लागिएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । व्यापारिक कम्प्लेक्स बनेपछि हाल भाडामा बसिरहेका प्राधिकरण अन्तर्गतका कम्पनीहरू राखिने छन् । कार्यालय प्रयोजनबाट वाँकी हुन आएको भवन भाडामा लगाउने प्राधिकरणको सोच छ । अहिले प्राधिकरणले गठन गरेका १५ वटा कम्पनीको आफ्नो कार्यालय भवन नभएको पनि उनले जानकारी दिए । त्यतिकै उपयोग विहिन बनेका जग्गाको सहि सदुपयोग गर्दा आम्दानी बढ्नुका साथै आफूले भाडा पनि तिर्न नपर्ने उनको भनाइ छ । हाल प्राधिकरणको रत्नपार्कमा ४ रोपनी, लैनचौरमा ५ रोपनी, महाराजगंजमा ३ रोपनी, स्वयम्भुमा ८ रोपनी र लगनखेलमा १० रोपनी जमिन रहेको छ । प्राधिकरणको नाममा रहेका खाली जग्गामा अतिक्रमण बढेकाले प्राधिकरण प्रयोजनाका लागि आवश्यक जमिन छुट्यार बाँकी स्थानमा ठूला पूर्वाधार निर्माण गर्न लागिएको हो । प्राधिकरणका अनुसार स्वयंभु, महाराजगंज, लगनखेलमा र रत्नपार्कको खाली जमिनका पहिलो चरणमा कम्प्लेक्स बनाइनेछ भने लैनचौरस्थित ट्रान्सफर्मर मर्मत केन्द्र खरिपाटीमा सारेर पूर्वाधार खडा गरिने प्राधिकरणले बताएको छ । उपत्यका पछि अन्य जिल्लाको खाली जग्गा पनि उपयोगमा ल्याउने प्राधिकरणले जनाएको छ ।

निगम धान्ने ग्राउण्ड ह्याण्डलिङ सुधार गर्न १० करोडका र्याम बस भित्रियो, भुटान एयरलाइन्सको टुंगो आज नलागे रद्द

काठमाडौं । राष्ट्रिय ध्वाजबाहक नेपाल वायुसेवा निगमलाई अहिलेम्म घाटामा जानबाट जोगाउने र उडान घाटाको अवस्थामा पनि सहज बनाउँन सहयोग पुर्याउँने ग्राउन्ड ह्याण्डलिङ सेवा सुधार हुँदै गएको छ । निगमले वार्षिक २ देखि साढे दुई अर्ब रुपैयाँको कारोबार गरिरहेको विमानस्थलको यो सेवालाई थप प्रभावकारी बनाउन, हरेक यात्रुले वायुसेवा निगमलाई मात्रै गाली गर्ने पाटोलाई नै हटाउन र यात्रु सेवालाई उत्कृष्ट बनाउँन प्रयास गरिरहेको बताएको छ । निगमले निगमले भर्खरै यो सेवामा क्रमागत सुधार भएकोले निगमले अन्तर्राष्ट्रिय मान्यता प्राप्त आइसागो अवार्ड पाएको छ । निगमले पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आइसागो प्रमाणपत्र प्राप्त गरेको हो । निगमले उत्कृष्ट ग्राउन्ड ह्यान्डलिङ (भूमि सेवा) बापत अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको हो । आइएटिएज सेफ्टी अडिट फर ग्राउन्ड अप्रेसन विश्वका ग्राउन्ड ह्याण्डलिङ गर्ने उत्कृष्ट एयरलाइन्सलाई सर्टिफाइ गर्छ । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्ड सर्भिस प्रोभाइड’ गरेबापत अन्तर्राष्ट्रिय प्रमाणपत्र पाएको हो । विमानस्थलमा हाल निगमका ग्राउन्ड ह्यान्डलिङ, इन्जिनियरिङ, क्यास र क्वालिटी फ्लाइट सेफ्टी विभागमा नौ सय भन्दा बढी कर्मचारीले निरन्तर गरेको प्रयास नै यो सफलता भएको निगमले जानकारी दिएको छ । निगमले ग्राउन्ड ह्याण्डलिङ सेवा प्रभावकारी बनाउनै दशकपछि २ वटा र्यामबस पनि भित्र्याएको छ । निगमले दुई दिन अगाडि मात्रै भित्र्याएको यी दुई बसमा करिब १० करोड रुपैयाँ खर्च भएको वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । उनका अनुसार निगमले जर्मनीबाट भित्र्याइएको यी दुई वस विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलबाट यात्रुलाई अन्तर्राष्ट्रिय उडानका जहाजसम्म पुर्याउने काम गर्छ । जहाज विमानस्थलमा अवतरण गरेपछि यात्रुलाई बाहिर ल्याउने र जहाजसम्म पुर्याउँन यो वसको प्रयोग हुन्छ । हाल यात्रु बोक्नका लागि पाँचवटा मात्रै यस्ता बस छन् । निगम एक्लैले विमानस्थलबाट उडान गर्ने सबै यात्रुलाई सेवा दिनुपर्ने भएकोले पनि बस कम भएकोले थप गरेर सेवा सुधार गर्न लागिएको हो । दुवटा वस आइसक्यो अब अगामी आवमा थप २ वटा ल्याउने गरी प्रक्रिया अगाडि बढाएको पनि निगमले जानकारी दिएको छ । भुटान एयरलाइन्स भाडामा लिने प्रक्रिया आज तय नभए रद्द भुटान एयरलाइन्स भाडामा लिने प्रक्रिया आज तय नभएर यसका सबै काम रद्द हुने भएको छ । निगमसँग भएको वोइङ जहाज विग्रिएको, एयरवस २ वटाले मात्रै सवै गन्तव्यमा उडान धान्न नसक्ने भएकोले निगमले २ महिनाका लागि भुटान एयरलाइन्सको जहाज भाडामा लिने प्रक्रिया अगाडि बढाएको थियो । १५ वर्ष भन्दा पुराना जहाज खरिद गर्न नपाइने सर्तमा जोडेर हवाई क्षेत्रकै नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छैन । यो जहाज ल्याउने प्रस्तावको अन्तिम स्वीकृतिलाई फाइल पर्यटन मन्त्रालय पठाएको छ । पर्यटन मन्त्रालयले आज सोमबार अनुमति नदिए जहाज ल्याउन ढिलो हुने र निगमका उडान कटौती गर्नै पर्ने भएकोले पनि जहाज भाडाको प्रक्रिया रद्द हुने पनि कंसाकारले जानकारी दिए ।

एक किमि सडक मर्मत गर्न सवा करोड, ५० किमि मर्मत गर्न ६५ करोडको ठेक्का

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले भत्काएको सडक मर्मत गर्न प्रतिकिलोमिटर सवा करोड रुपैयाँ खर्च हुने भएको छ । आयोजना कार्यान्वयनका क्रममा चक्रपथभित्र पाईप विछ्याउन भत्काईएको मुल सडक मर्मतका लागि सडक विभागले प्रतिकिलोमिटर एक करो ३० लागख रुपैयाँ खर्च गरिहरको छ । सडक मत्काएर पाईप विछ्याएपछि सडक विभागले रिङरोडभित्रको ५० किमि सडक बनाउन ६५ करोड रुपैयाँ बराबरको ठेक्का लगाएको छ । सडक विभागले मेलम्ची सडकले भत्काएको ६७० किमी मध्ये मुल सडकको मात्रै मर्मत जिम्मा पाएको छ । बाँकी सडक मेलम्ची आफैंले मर्मत गरिरहेको छ । सडक विभागले पाएको यो जिम्मेवारीलाई पनि विभिन्न चारवटा खण्डमा विभाजन गरेर ठेक्का लगाएको उल्लेख छ । अन्नपूर्ण पोष्टबाट ।

कलात्मक घर बनाउने भूकम्प पीडितलार्इ थप ५० हजार अनुदान दिने प्राधिकरणको घोषणा

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पप्रभावित विभिन्न पुरातात्विक तथा पर्यटकीय महत्वका प्राचीन बस्तीहरुको संरक्षण गर्न त्यहाँ बन्ने निजी आवासलाई थप ५० हजार रुपैया दिने लगायतका प्रोत्साहनको प्रस्ताव अघि बढाएको छ । प्राधिकरणको कार्यकारी समितिको बैठकले काठमाडौं उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी ६ वटा वस्तीमा प्राचीन स्वरुप झल्कनेगरी पुनर्निर्माण गर्ने कार्यलाई प्रोत्साहन गर्न यस्तो प्रस्ताव गरेको हो । प्राधिकरणले काठमाडौंको साँखु, ललितपुरका खोकना तथा बुंगमती तथा गोरखाबजारको गोरखा दरबार तथा संग्रहालय क्षेत्र, नुवाकोटको दरबार क्षेत्र एवम् दोलखाको भीमेश्वर मन्दिर वरिपरिको बजार क्षेत्रमा रहेका करिब तीन हजार निजी घरलाई प्राचीन स्वरुप झल्किने गरि कलात्मक बनाएर पुनर्निर्माण गर्ने गरि थप सहयोगको प्रस्ताव अघि सारेको हो । यससम्बन्धी प्रस्ताव यही २८ गते बुधबार बस्ने निर्देशक समितिको बैठकमा प्रस्तुत हुनेछ र समितिबाट पारित भएपछि कार्यान्वयनमा जानेछ । खासगरी घरको अगाडि पट्टिको भाग प्राचीन स्वरुपमा निर्माण गराउन प्रोत्साहन गर्न प्राधिकरणले परम्परागत इंटा खरिदमा ५० हजार रुपैंया सहुलियत दिने योजना अघि सारेको छ । त्यस्तै, प्राधिकरणले त्यसरी घर निर्माण गर्दा काठमा सहुलियत दिन तथा नक्सा पास निःशुल्क गर्न स्थानीय तहलाई सिफारिस गर्ने व्यवस्था मिलाउन प्रस्ताव गरेको छ । प्राधिकरणले शताब्दीऔं पुरानो परम्परागत स्वरुपलाई कायम राख्दै त्यहाँको कला तथा संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले प्राचीन स्वरुपमा घर बनाउन प्रोत्साहन गर्दै आएको छ । त्यहाँको पर्यटकीय संभावना र पर्यटनमार्फत् जीविकोपार्जनमा पनि टेवा पुग्ने भएकोले प्राचीन स्वरुपमा घर निर्माण गर्न प्रोत्साहन होस् भनेर यसप्रकारको निर्णय गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले बताए । यी सबै ६ वटा प्राचीन बस्तीमा नेवार समुदायको बाहुल्यता छ । यी सबै नेपालका पर्यटकीय क्षेत्र पनि हुन् । साँखु काठमाडौंबाट १७ किलोमिटर उत्तर पूर्वी कुनामा रहेको प्राचीन नेवार वस्ती हो । शंख आकारको यो बस्ती अहिले शंकरापुर नगरपालिकामा पर्छ । त्यस्तै, बुंगमती र खोकना बस्ती ललितपुरको रिंगरोड क्षेत्रबाट दक्षिण पश्चिम आठ किलोमिटरको दूरीमा छ । खोकना विश्व सम्पदा सूचीका लागि सिफारिसमा परेको क्षेत्र हो । महत्वपूर्ण पर्यटकीय क्षेत्रको संरक्षण गर्न स्थानीयलाई प्रोत्साहन गर्न सके त्यसले अन्ततः राष्ट्रको पहिचान र आम्दानीमा नै टेवा पुग्न प्राधिकरणको विश्वास छ । प्राधिकरणको ६२ औं कार्यकारी समितिको बैठकले प्राचीन बस्तीहरुको सम्पदाको संरक्षण तथा व्यवस्थापनका लागि लिन सकिने उपायबारे अध्ययन गर्न कार्यकारी समिति सदस्य धु्रवप्रसाद शर्मा एवं डा. हरिराम पराजुली रहेको कार्यदल बनाएको थियो । कार्यदलले गरेको सिफारिसमा टेक्दै प्राधिकरण कार्यकारी समितिले नयाँ प्रस्ताव तयार गरेको हो । सम्पदा संरक्षण तथा पर्यटकीय महत्वलाई ध्यानमा राखेर प्राधिकरणले प्राचीन सम्पदायुक्त दरबार तथा अन्य संरचनाको यथासंभव प्रबलीकरण गर्न जोड दिँदै आएको छ ।

वीर अस्पतालमा टोमो थेरापी उपकरण जडान हुँदै, सेवा लिन रु दुई लाखसम्म खर्चिनु पर्ने

काठमाडौं । वीर अस्पतालले टोमो थेरापी उपकरणको माध्यमबाट क्यान्सरका बिरामीको उपचार गर्ने तयारीमा जुटेको छ । “जुन सेलमा क्यान्सर देखिएको छ, त्यो सेललाई सेकी (रेडिएसनमार्फत) मार्न (किल) का लागि पछिल्लोपटक सो प्रविधि विकसित भएको हो । यो प्रविधिलाई वीर अस्पतालले पनि भित्र्याउँदै छ” -अस्पतालका निर्देशक प्रा डा भूपेन्द्र बस्नेतले भने । हाल सो सेवा निजीस्तरका केही अस्पतालमा मात्र उपलब्ध छ । यो सेवा लिन रु दुई लाखसम्म बिरामीले खर्चिनुपर्छ । “टोमो थेरापी सेवा हामी रु पाँच हजारदेखि दश हजार रुपैयाँसम्ममा दिने तयारीमा छौँ, यसमा अति विपन्न, असहाय, गरिब बिरामीलाई भने निःशुल्क सेवा प्रदान गर्दैछौँ”- निर्देशक प्रा डा बस्नेतले भने । स्वास्थ्य मन्त्रालयले यही आर्थिक वर्षमा उपकरण खरिद गरी सेवा सञ्चालनमा ल्याउन अस्पताललाई ४० करोड रुपैयाँ विनियोजन गरेको थियो । अस्पताल र अमेरिकाको एक्युरे कम्पनीबीच सो उपकरण खरिदका लागि सम्झौतासमेत भइसकेको छ । अस्पतालले उपकरण खरिद गर्न एलसी खोल्ने तयारीमा जुटेको छ । क्यान्सरका बिरामीको उपचारका लागि प्रयोग हुँदै आएका कोवाल्ट र लिन ज्याक उपकरणभन्दा टोमो थेरापी सेवा अत्याधुनिक र नयाँ प्रविधि मानिन्छ । विगतमा वीर अस्पतालले ती दुवै प्रविधिद्वारा सेवा दिँदै आएकामा विगत केही वर्षदेखि दुवै उपकरण बिग्रिएर थन्किएका छन् । हाल नयाँ र अन्यन्त्रबाट सिफारिस भइ आएका गरी दैनिक ५०/६० जना क्यान्सरका बिरामी अस्पतालमा आउने गर्छन् । उपकरणका अभावमा त्यस्ता बिरामीको उपचारका लागि अस्पतालले अन्य अस्पतालमा सिफारिस गर्ने गर्छन् । नयाँ उपकरण जडान भइसकेपछि अस्पतालले दुई सिफ्टमा सेवा दिने तयारी गरेको छ । निर्देशक प्रा डा बस्नेतले भने – “क्यान्सर उपचारका लागि अस्पतालमा आएजति सबै बिरामीलाई सेवा दिन तयार छौँ ।” गरिब, विपन्न, असहाय क्यान्सर रोगीका बिरामीलाई सस्तो, सुलभ तथा अति विपन्नलाई निःशुल्कसमेत सेवा दिन र वीर अस्पतालले क्यान्सर उपचारमा अन्तर्राष्ट्रिय सेवा दिन सक्षम छ भन्ने सन्देश सेवाको सुरुवात्सँगै जाने अस्पतालले विश्वास गरेको छ । सबै विभागका लागि आवश्यक उपकरण आउँदै अस्पतालअन्तर्गत विभागलाई आवश्यक पर्ने सबै उपकरण पूरा गर्ने भएको छ । हाल अस्पतालमा १४ विभाग रहेका छन् । “विभागका मागअनुसार आवश्यक उपकरणको खरिद प्रक्रिया अगाडि बढिसकेको छ, कुनै उपकरण जडान भए, कुनै आउँदै छन्” निर्देशक प्रा डा बस्नेतले भन्नुभयो । नयाँ ग्यास्टो इन्डोस्कोपी उपकरण खरिदको प्रक्रियासमेत शुरु गरेको छ । यसैबीच मुना मेमोरियल ट्रष्ट पाल्पाले अस्पतालमा भर्ना भएका बिरामीलाई आवश्यक पर्ने ३७० वटा गाउन प्रदान गरेको छ । पूर्व स्वास्थ्यमन्त्री गगन थापाले अस्पतालका निर्देशक प्रा डा बस्नेतलाई रु दुई लाख बराबरका ती गाउन आज यहाँ आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरे। रासस

नुवाकोटका द्वन्द्वपीडितका लागि रु १७ करोड

  नुवाकोट । शान्ति तथा पुनःनिर्माण मन्त्रालयले नुवाकोटका द्वन्द्वपीडितलाई राहत (आर्थिक सहायता) स्वरुप करिब रु १७ करोड बजेट निकासा गरेको छ । तत्कालीन नेकपा माओवादी र राज्यबीच भएको सशस्त्र युद्धको समयमा द्वन्द्वको चपेटामा परी पीडित भएकालाई राहत तथा क्षतिपूर्तिस्वरुप आर्थिक सहायता उपलब्ध गराउन मन्त्रालयबाट रु १६ करोड ९६ लाख ५९ हजार बजेट आएको स्थानीय शान्ति समिति नुवाकोटका संयोजक बिन्दा अर्यालले जानकारी दिइन । द्वन्द्वको समयमा पीडित भएका विभिन्न सात वर्ग शीषर्कमा प्रभावितलाई थप सहायता तथा नयाँ पहिचान भएका पीडितलाई उपलब्ध गराउन प्राप्त भएको आर्थिक सहायतालाई चालु आव भित्र वितरण गर्न अख्तियारी दिइएको छ । प्राप्त रकम चालु आवभित्रै वितरण गर्नुपर्ने निर्देशन आएपछि पाँच दिनभित्र पीडितको हातमा पु¥याउन कठिन बनेको छ । प्राप्त बजेटमा द्वन्द्वको समयमा आमाबाबु गुमाएका टुहुरा बालबालिकाका लागि रु १८ लाख, ५१ प्रतिशतदेखि माथिका अङ्गभङ्ग भई अपाङ्गता भएकाका लागि जीवन निर्वाह भत्तास्वरुप रु पाँच लाख ९५ हजार, अपहरणमा परेकालाई आर्थिक सहायता रु ७० लाख २५ हजार, मृत्युवरण तथा बेपत्ता पारिएका व्यक्तिका हकदारलाई थप आर्थिक सहायता उपलब्ध गराई एकमुष्ट रु पाँच लाख उपलब्ध गराउन रु ४० लाख १९ हजारको अख्तियारी आएको छ । यस्तै विस्थापित भएका व्यक्ति एवम् परिवारलाई अधिकतम रु २५ हजारका दरले वितरण गर्न रु चार करोड, ४९ लाख ५० हजार र यसअघि रु पाँच लाख अथवा त्योभन्दा बढी रकम प्राप्त गरिसकेका मृतक र बेपत्ता भएका व्यक्तिका हकदारका लागि थप रकम दिएर रु १० लाख पु¥याउन रु ११ करोड १२ लाख ५० हजार आएको स्थानीय शान्ति समिति, नुवाकोटका संयोजक अर्यालले जानकारी दिए । सशस्त्र द्वन्द्वको समयमा नुवाकोटमा २२७ ले ज्यान गुमाएका, २२ जना बेपत्ता, ६९ जना अङ्गभङ्ग भएको तथ्याङ्क छ । द्वन्द्वको समयमा विस्थापित, अपहरणमा परेका, र सम्पत्ति क्षति व्यहोरेकाको सङ्ख्या भने यकिन हुन बाँकी छ । रासस

सडकमा खाल्डाखुल्डी देखिए खबर गर्नुस् तत्काल मर्मत टोली आउँछ, ५० किमि सडक मर्मत गर्न ८५ करोड !

 काठमाडौं । काठमाडौंका मूल सडकमा कुनै खाल्डाखुल्डी भए सडक विभागलाई खबर गर्नुस तत्काल मर्मत टोली आउँछ । काठमाडौंको मूल सडक मर्मत गर्न, खाल्डाखुल्डी पुर्न र आपतकालित कामको लागि सडक विभाग अन्तर्गत मर्मत महाशाखाले तत्काल र्यापिड एक्सन टोली परिचालन गर्न थालेको छ । ‘काठमाडौंका कुनै मूल सडक भत्कियो, बर्षायाम भएको कारण सवारी आवागमनमा असहज हुने गरी खाल्डाखुल्डी भयो भने तत्काल तपाईले दिने सानो खबरले मर्मत टोली पनि परिचालन गर्न थालेका छौ’, मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालय प्रमुख शिवहरि सापकोटाले विकास न्युजसँग भने । उनका अनुसार विभागले मेलम्ची आयोजनाको पाइप विच्छ्याउँन भत्काइएका सडक मर्मतदेखि आवश्यक सबै मर्मतमा तत्काल टोली अगाडि बढाउन थालेको छ । मेलम्ची आयोजनाले पाइप विच्छ्याउँदा भत्काएका सडक मर्मत गर्न सडक विभागलाई दिएको रकमबाटै हाललाई अस्थायी मर्मत गरिरहेका छौं । सोही रकमबाट तत्कालाई अस्थायी गर्ने र पाइप विच्छ्याइएपछि स्थायी कालोपत्रे गर्ने जिम्मा पनि सडक विभागकै भएको उनले जानकारी दिए । यही रकमबाट अस्थायी र स्थायी सडक मर्मत गर्ने जिम्मा विभागले पाएको पनि उल्लेख छ । ५० किमी मर्मत गर्न ८५ करोड  मेलम्ची आयोजनाले काठमाडौंका भित्रि सडक आफैं मर्मत गरिरहेको छ भने मूल सडकको करिब ५०  देखि ६० किमी क्षेत्र मात्रै सडक विभागलाई दिएको उल्लेख छ । यो सडक मर्मत गर्न सडक विभागलाई मेलम्ची आयोजनाले गत वर्ष नै ८५ करोड रुपैयाँ दिने सहमति भएको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन दिर्नेशनालयका प्रवक्ता लिला  ढकालले बताए । उनका अनुसार २० करोड निकास भैससकेको छ । बाँकी रकम निकास हुन बाँकी छ । तर, सडक विभागले आवश्यक काम भने गरिरहेको उल्लेख छ । यो रकमबाट मूल सडक भत्काउने वित्तिकै आवश्यक मर्मत गर्न मेलम्ची आयोजनाले सडक विभागलाई खबर गर्छ । त्यसपछि विभागले मर्मत गर्ने गरेको छ । मूल सडकको स्याण्डर्ड कायम राख्न विभाग आफैंले मर्मत गर्ने गरेको हो । अन्य भित्री सडक भने काठमाडौं महानगरपालिका र मेलम्ची खानेपानी आयोजना आफैंले मर्मत गरिरहेको छ । सडक विभागको जिम्मा उपत्यकाको ४० प्रतिशत सडक मर्मत मात्रै हो भने बाँकी ६० प्रतिशत मर्मत पाइप विच्छाउँदा भत्काएको अवस्थामा मेलम्ची आयोजना आफैंले मर्मत गरिरहेको उल्लेख छ । सडक विभागको जिम्मेवारीमा पर्ने मूल सडक त्रिपुरेश्वर—माइतीघर, लैनचौर—लाजिम्पाट—महाराजगन्ज, पुतलीसडक—रामहाशपथ,चावहिल—जोरपाटी, चावहिल—गौशाला—पुरानो वानेश्वरसहितका मूल सडक मर्मतको जिम्मा विभागको हो । विभागले आफ्नो जिम्मेवारीमा परेको सडकलाई मेलम्ची आयोजनासँग समन्वय गरेर धमाधम आवश्यक मर्मत गरिरहेको पनि उल्लेख छ । सडक मर्मत अझै भद्रगोल वर्षायाम सुरु भएसँगै काठमाडौंका सडक मर्मत भद्रगोल हुन पुगेका छन् । राजधानी छिर्ने प्रमुख नाका नागढुंगा कलंकी त्रिपुरेश्वर सडक विस्तारमा ढिलाइ भएको छ । यो सडक खण्डमा भएको मुआब्जा विवाद, स्थानीयको सडक विस्तारमा अबरोध, अदालतको दजनौ स्थानमा स्टेअर्डरसहितको कारणले यो सडक विस्तार तथा मर्मत भद्रगोल नै भएको सडक विभागले स्वीकार गरेको छ । अन्य स्थानका सडक पनि समयमा नै मर्मत गर्न नसक्दा, ठेकेदारले धेरैवटा काम एकैपटक हात हाल्दा र मेलम्ची आयोजनाको कामले गर्दा भद्रगोल नै रहेको उल्लेख छ । काठमाडौंमा ८० वर्ष भन्दा पुराना पाइप रहेको र एउटा ठाउँमा मर्मत गर्दा अर्को स्थानमा चुहिने समस्याले पनि फेरि अर्को ठाउँमा भत्काउनुपर्ने हुन्छ । वर्षायाम लागेको र सडकमा नै पानी जमेर आहाल हुने भएकोले पनि सडक अस्तव्यस्त  र भद्रगोल हुन पुगेको उल्लेख छ ।

६० हजार कर्मचारी प्रदेश र स्थानीय तहमा समायोजन, गाँउ गाँउसम्म कर्मचारी जानुपर्ने

काठमाडौं । सरकारले हाल केन्द्रको प्रत्यक्ष मातहत रहेका करिव ६० हजारभन्दा बढी कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा समायोजना गर्न विधेयक ल्याएको छ । सरकारी सेवामा कार्यरत कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने सम्बन्धमा आवश्यक ब्यवस्था गर्न सो विधयेक ल्याईएको हो । विधेयक लागनु भएपछि केन्द्रमा रहेका ६० हजार भन्दा बढी कर्मचारीहरु प्रदेश र स्थानीय तहमा समायोजन हुने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालायका सचिव दिनेश थपलियाको अनुमान रहेको छ । नेपाल समाचरपत्र दैनिकबाट।

भृकुटिमण्डपमा भोलिदेखि दोस्रो राष्ट्रिय मह मेला शुरु, करिब २० वटा स्टल राखिने

काठमाडौ । कृषि विभाग अन्तर्गतको व्यवसायिक कीट विकास निर्देशनालयको आयोजनामा आगामी असार १६ गतेदेखि राजधानीको भृकुटिमण्डपमा दोस्रो राष्ट्रिय मह मेला सञ्चालन हुने भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्देशनालयले आगामी असार २६ गतेदेखि २९ गतेसम्म मह मेला सञ्चालन गर्ने भएको छ । ‘आर्थिक समृद्धिका लागि व्यवसायिक मौरी पालन’ भन्ने मूल नाराका साथ व्यवसायिक मौरी पालनमा लागेका कृषकहरुलाई उत्साहित गर्न तथा नेपाली महको विकास एवं प्रवद्र्धन गर्न दोस्रो मह मेला आयोजना गर्न लागिएको व्यवसायिक कीट विकास निर्देशनालयका कार्यक्रम निर्देशक हरिहर अधिकारीले बताए । पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम निर्देशक अधिकारीले नेपाली महको प्रवद्र्धन गर्नका लागि बैशाखमा नै मह मेला आयोजना गर्ने भनिए पनि राष्ट्रिय राजनीति तथा स्थानीय तहको निर्वाचनका कारण असारमा गर्न लागिएको जानकारी दिए । अधिकारीले पत्रकारहरु मार्फत सम्पूर्ण नागरिकहरुलाई मह बारे जानकारी लिन मह मेला अवलोकन गर्न आग्रह समेत समेत गरे । पत्रकार सम्मेलनमा बोल्दै मौरी व्यवसायी संघका अध्यक्ष जगदिशभक्त श्रेष्ठले सर्वसाधारणमा मौरी र महबारे चेतना कमी रहेको बताए । मौरीले टोक्दा समेत एचआईभीको संक्रमण हट्ने भन्दै अध्यक्ष श्रेष्ठले मौरी र महको धेरै महत्व रहेको बताए । ‘नेपालमा १० हजार मेट्रिकटनसम्म मह उत्पादन गर्न सक्ने क्षमता भएकाले मह उत्पादन गरेर बाहिरी मुलुकमा निर्यात गर्नुपर्ने बताए । यसैगरी मौरि विज्ञ अनि रुद्रनाथ शुक्ललाले मौरीको महको स्टाण्डर्डको र गुणस्तरबारे जानकारी दिए । मौरीको मह सबै एकै किसिमको नहुने भन्दै मौरीको महबारे सबैले बुझ्नु आवश्यक रहेको शुक्लाले बताए । कार्यक्रममा बोल्दै मौरी विज्ञ शुक्लाले जथाभावी बिक्रि वितरण गर्न राखिएको मह गुणस्तरहिन र मिसावट गरिएको हुने भन्दै त्यस्तो मह खरिद नगर्न आग्रह गरे । असार २६ गतेदेखि ४ दिनसम्म चल्ने मह मेलामा व्यवसायिक मौरीपालन, महको महत्व तथा फाइदाका बारेमा जानकारी गराईने आयोजकले जनाएको छ । त्यसबाहेक मेलामा विभिन्न क्षेत्रका कृषक एवं व्यवसायीहरुले उत्पादन गरेका महका स्वाद सेवन गर्नुका साथै सुलभ दरमा महको बिक्री वितरण हुन बताइएको छ । आयोजकका अनुसार प्रत्येक दिन बिहान १० बजेबाट साझ ५ बजेसम्म अवलोकन गर्न सकिने उक्त मेलामा करिब २० वटा स्टल रहने बताइएको छ ।  

ऋणिलाई रूवायो मौद्रिक नीतिले, निक्षेप र कर्जाको व्याज अझै बढ्ने अनुमान

काठमाडौं । ‘मौद्रिक नीति निकै निराशा जनक छ । एक वर्षमा कर्जाको व्याजदर १०० प्रतिशतले बढिसक्यो । यति ठूलो समस्यालाई समाधान गर्न मौद्रिक नीतिमा कुनै नयाँ नीति आएन’ नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मौद्रिक नीति सुनेपछि सञ्चारकर्मीसँग व्यक्त गर्दै भने–‘मलाई लाग्छ आज राती धेरै उद्योगी व्यवसायीलाई निद्रा लाग्दैन ।’ ‘एक वर्षअघि ६/७ प्रतिशतमा लिएको कर्जाको व्याज अहिले १३/१४ प्रतिशत पुगेको छ । नयाँ कर्जा लिन गयो भने बैंकले १५÷१६ प्रतिशत भन्छन्’ गोल्छाले भने–‘यो अवस्थामा कसैले पनि बैंकबाट कर्जा लिएर लगानी विस्तार गर्न सक्दैनन् । निजी क्षेत्रले लगानी विस्तार गर्न नसक्दा आगामी आर्थिक वर्ष ७.२ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य पनि पुरा हुन सक्दैन।’ ‘सीडी रेसियो ८५ प्रतिशत बनाउन, सीआरआर घटाउने, स्प्रेडदर घटाउन, नेपाली बैंकमा भन्दा सस्तो व्याजदरमा ऋण पाए विदेशी बैंकबाट कर्जा लिन पाउने व्यवस्था गर्न उद्योग वाणिज्य महासंघले माग गरेको थियो । हाम्रा माग र सुझाव कुनै पनि सुनुवाई भएन’ गोल्छाले भने । निक्षेप र कर्जा दुबैको व्याज बढ्ने मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए । ‘तरलता संकट समाधान गर्नतर्फ मौद्रिक नीति मौन छ । सीडी रेसियो हिसाव गर्दा उत्पादनमुलक क्षेत्रमा गएको लगानीको कर्जाको ५० प्रतिशत घटाउन पाउने नीति पनि असोजदेखि समाप्त हुने भयो । अब बैंकको व्याज झन बढ्छ’ उनले भने । कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा ४५ प्रतिशत हुनुपर्ने सीमाले सर्वसाधारणतर्फको निक्षेपको व्याज थप वृद्धि हुने शाहको विश्लेषण छ । वित्तीय क्षेत्रले गत ६/७ महिनादेखि भोगिरहेको तरलता संकट समाधानतर्फ मौद्रिक नीति मौन बस्नुले वित्तीय क्षेत्रमा नैराश्यता आएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । निक्षेप बढाउन फेरी पनि बैंकहरुले व्याज बढाउन वाध्य हुने उनको तर्क छ ।

आइतबारको सेयर बजारमा उतारचढाव, एकैदिन एक अर्ब १२ करोडको सेयर कारोबार

काठमाडौं । नयाँ मौद्रिक नीति सार्वजनिक भएको आइतबारको सेयर बजारमा उतारचढाव आएको छ । दिनभर उतारचढाव भएको बजारमा कारोबार बन्द हुँदा नेप्से सामान्य अंकले उकालो लागेको छ । आइतबार मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अघिको बजार निरन्तर उकालो लागिरहेको थियो । त्यसपछि मौद्रिक नीति सार्वजनिक भएपछि १६०५ अंकमा रहेको परिसूचक एक्कासी घटेर १५६२ अंकमा झरेको थियो । त्यस्तै, कारोबार बन्द हुँदा भने नेप्से २ दशमलब ०४ अंकले बढेर १५८४ अंकमा पुगेको छ । सामान्य अंकले बढेको सेयर बजारमा एक अर्ब १२ करोडको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो कारोबार(बिहीबार)को तुलनामा ३९ करोड ३८ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बिहीबार बजारमा ७६ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड २७ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१७८ रुपैयाँ रहेको छ । आइतबार दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९.९७ प्रतिशत र सेन्ट्रल फाइनान्स कम्पनीको ९.८८ प्रतिशतले सेयर मूल्य बढेको छ । समग्रमा, आर्थिक वर्ष २०७४/७५ को लागि आईतबार सार्वजनिक गरिएको मौद्रिक नीति सेयर बजारप्रति निकै उदार र स्पष्ट रहेको छ ।

सेयर कर्जाप्रति उदार र स्पष्ट मौद्रिक नीति, सेयर कर्जा २७५ प्रतिशत बढाउन मिल्ने सुविधा

काठमाडौं । आर्थिक वर्ष २०७४/७५ को लागि आईतबार सार्वजनिक गरिएको मौद्रिक नीति सेयर बजारप्रति निकै उदार र स्पष्ट रहेको छ । सेयर कर्जाबारे वर्षौदेखिको अन्यौलतालाई नयाँ मौद्रिक नीतिले हटाएको छ । कुन बैंकले कति सेयर लगानी गर्न पाउने र कुन कम्पनीको सेयर धितोमा कतिसम्म कर्जा लगानी गर्न पाउने भन्ने विषयमा मौद्रिक नीतिले स्पष्ट पारेको छ । नयाँ मौद्रिक नीति अनुसार बैंक तथा वित्तीय संस्थाहरुले सेयर पुँजी (प्राथमिक पुँजी)को ४० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने भएका छन् । यस आधारमा सेयर कर्जा २७५ प्रतिशतसम्मले हुन सक्ने बैंकर्सहरुले बताएका छन् । बैंकहरुको चुक्ता पुँजी ८ अर्ब भईसकेको अवस्थामा ४० प्रतिशत रकम सेयर कर्जामा प्रवाह गर्न पाउने व्यवस्था पुँजी बजारको लागि निकै उदार भएको गभर्नर डा चिरञ्जीवि नेपालले बताए । ‘२ अर्बको बैंक हुँदा यहि नीति अनुसार ८० करोड रुपैयाँ मात्र सेयर कर्जा प्रवाह हुन सक्थ्यो । ८ अर्बको पुँजी भएको बैंकले ३२० करोड रुपैयाँ सेयर कर्जामा लगानी गर्न पाउँछ’ विकासन्युजसँग कुरा गर्दै गभर्नर नेपालले भने । बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी वृद्धि हुँदै जाँदा सेयर बजारमा प्रवाह हुने कर्जा पनि विस्तार हुँदै जाने उनले बताए । नयाँ नीतिका आधारमा बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब २० अर्ब रुपैयाँसम्म मार्जिन प्रकृतिको कर्जामा लगानी गर्न सक्ने बैंकर्स अनलराज भट्टराईले बताए । ‘हाल बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको कर्जामा करिव ३२ अर्ब रुपैयाँ मात्र लगानी गरेका छन् । अब १२० अर्ब रुपैयाँसम्म लगानी गर्न सक्ने बाटो खुला भएको छ ।’ त्यस्तै एउटै कम्पनीको सेयर धितोमा कुनै पनि बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजीको १० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था गरिएको छ । चुक्ता पुँजी ८ अर्ब भएको कुनै एक बैंकले नेप्सेमा सूचिकृत कुनै पनि एक कम्पनीको सेयर धितोमा ८० करोड रुपैयाँसम्म कर्जा लगानी गर्न पाउने भएको छन् । ‘पहिला सेयरमा बढी कर्जा प्रवाह भयो मात्र भनिन्थ्यो । तर स्पष्ट मापदण्ड थिएन । अहिले स्पष्ट मापदण्ड आयो’ भट्टराईले भने । मौद्रिक नीतिले सेयर कर्जा प्रवाहको लागि प्रशस्त ठाउँ खुला गरिए पनि बैंकहरु लगानी गर्ने अवस्थामा नभएको नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले बताए । ‘मौद्रिक नीतिले कर्जा प्रवाह गर्न तरलता उपलब्ध गराएको छैन, उत्पादनमुलक क्षेत्रमा अनिवार्य लगानीको सीमा वृद्धि गरिएको छ । यस अवस्थामा सेयर कर्जामा बैंकहरुले लगानी गर्न सक्दैनन्’ शाहले भने ।

दुर्गमका स्थानीय तहमा जाने बैंकलाई एक बर्ष-एक करोड सित्तैमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रामिण क्षेत्रमा जाने बैंकका शाखाहरुलाई एक बर्षसम्म एक करोड रुपैंयाँ बिना ब्याज उपलब्ध गराउने भएको छ । केन्द्रिय बैंकले नयाँ मौद्रिक नीति मार्फत दुर्गमका स्थानीय तहमा जाने बैंकलाई एक बर्षसम्म ब्याज बिनै एक करोड रुपैंयाँ उपलब्ध गराउने भएको हो । बैंकको शाखा विस्तार नभएका स्थानीय तहमा केन्द्रिय बैंकले अनिवार्य रुपमा शाखा विस्तार गर्न निर्देशन दिने पनि जनाएको छ । त्यस्तै, ग्रामिण क्षेत्रमा शाखा खोलेर २ हजार ५ सय जनाको नयाँ खाता खोल्ने बैंकको शाखालाई पनि एक बर्षसम्म ब्याज नलिई एक करोड रुपैंयाँ उपलब्ध गराउने नीति लिएको हो । यसले सबै नेपालीको बैंक खाता खोल्ने अभियान र वित्तिय पहुँचमा सहयोग पुग्ने अपेक्षा केन्द्रिय बैंकले गरेको छ ।

रियल स्टेट कर्जा ४० प्रतिशतमा झारियो, व्यवसाय संकटमा पर्ने

काठमाडौं । नयाँ मौद्रिक नीतिले  रियल स्टेट कर्जामा थप कडाई गरेको छ । नयाँ मौद्रिक नीति रियल स्टेट क्षेत्र प्रति अनुदार देखिएको हो । । अब काठमाडौं उपत्यका भित्र रियल स्टेट कर्जा ४० प्रतिशतमा सिमित गरिएको छ । यस अघि रियल स्टेट कर्जा ५० प्रतिशतसम्म प्रवाह गर्न पाइन्थ्यो । नयाँ मौद्रिक नीतिले उपत्यका भित्रको रियल स्टेट व्यवसायमा भने नकारात्मक असर गर्नेछ । उपत्यका बाहिरको रियल स्टेट कर्जामा भने पुर्ववत ५० प्रतिशतको व्यवस्था कायम रहनेछ ।

मौद्रिक नीतिको राहतः अटोलोनको सिमा ६५ प्रतिशत पुग्यो, नीजी आवास कर्जा १ करोड ५० लाखसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले निजी सवारी साधनको खरिदमा ६५ प्रतिशतसम्म बैंकले लगानी गर्न पाउने व्यवस्था गरेको छ । आगामी आर्थिक बर्षको मौद्रिक नीति मार्फत केन्द्रिय बैंकले निजी प्रयोजनका सवारी साधनमा ऋण प्रवाह गर्दा सो सवारीको मूल्याङ्कनको ६५ प्रतिशतसम्म बैंक तथा वित्तिय संस्थाले लगानी गर्न पाउने व्यवस्था गरेको हो । यस अघि अधिकतम ५० प्रतिशतसम्म मात्र बैंकले लगानी गर्न सक्ने व्यवस्था थियो । यसले अटोमोबाइल्स क्षेत्रको व्यापारमा बढोत्तरी हुनेछ । नयाँ मौद्रिक नीतिले व्यक्तिगत विद्युतीय सवारी साधनको हकमा उक्त सीमा ८० प्रतिशतसम्म ऋण प्रवाह गर्न पाउने व्यवस्था पनि गरेको छ । त्यसै गरि, व्यक्तिगत प्रयोजनका आवासिय कर्जामा पनि केन्द्रिय बैंकले खुकुलो नीति अख्तियार गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने व्यक्तिगत आवासीय घर कर्जाको सिमा १ करा्ढ ५० लाख पुर्याएको छ । यस अघि बैंक तथा वित्तिय संस्थाहरुले व्यक्तिगत आवासिय भवनका लागि एक करोेड मात्रै लगानी गर्न पाउने सुबिधा थियो । त्यसैगरि बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा जाने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पुँजीको ४० प्रतिशत रकमसम्म मात्र प्रवाह गर्न पाउने छन् । तर एउटै सूचीकृत कम्पनीको शेयरको धितोमा मार्जिन प्रकृतिको कर्जा आफ्नो प्राथमिक पुँजीको बढीमा १० प्रतिशतसम्म मात्र प्रवाह गर्न सक्ने व्यवस्था पनि अघि सारेको छ ।  

नयाँ मौद्रिक नीतिः उत्पादनशिल क्षेत्रमा २५ प्रतिशत कर्जा अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा २५ प्रतिशत कर्जा लगानी गर्नुपर्ने व्यवस्था ल्याएको छ । केन्द्रिय बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा १० प्रतिशत, जलविद्युतमा ५ प्रतिशत, पर्यटन क्षेत्रमा ५ प्रतिशत र बाँकी अन्य प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको न्यूनतम २५ प्रतिशत लगानी गर्नै पर्ने व्यवस्था ल्याएको हो । यस अघि त्यस्तो लगानी २० प्रतिशत मात्रै अनिवार्य गरिएको थियो । त्यस्तै, विकास बैंक र वित्त कम्पनीहरुले समेत प्राथमिकता प्राप्त क्षेत्रमा आफ्नो कुल कर्जाको न्यूनतम क्रमशः १५ प्रतिशत र १० प्रतिशत कर्जाप्रवाह गर्नुपर्ने व्यवस्था नयाँ मौद्रिक नीतिमा कायम गरिएको छ । वाणिज्य बैंकले आप्mनो कुल कर्जा लगानीको ५ प्रतिशत, विकास बैंकहरुले ४.५ प्रतिशत र वित्त कम्पनीहरुले ४ प्रतिशत कर्जा विपन्न वर्गमा लगानी गर्नुपर्ने व्यवस्था थयावत कायम गरिएको छ । वाणिज्य बैंकहरुले विपन्न वर्ग अन्तर्गत प्रत्यक्ष रुपमा प्रवाह गर्नुपर्ने न्यूनतम २ प्रतिशतको कर्जा अनुपात अनिवार्य नहुने व्यवस्था गरिएको छ ।