वर्षा अघि ६० प्रतिशत भूकम्पपीडितलाई घरमा सारिन्छः प्राधिकरण

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नेपालको पुनःनिर्माण तथा पुनःस्थापनामा सहयोग गरिरहेका विकास साझेदारसँग अन्तर्क्रिया गरेको छ । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालेका युवराज भुसालको विकास साझेदारसँग यो पहिलो अन्तर्क्रिया हो । अन्तर्क्रियामा प्रमुख कार्यकारी अधिकृत भुसालले पुनःनिर्माण प्राधिकरणमा नेतृत्व परिवर्तन भए पनि यसको गतिमा कुनै कमी नआउने प्रतिबद्धता व्यक्त गर्दै सबै विकास साझेदारबाट रचनात्मक सहयोगको अपेक्षा गरेका छन् । पुनःनिर्माणसँग सम्बन्धित मन्त्रालय तथा स्थानीय तहमा काम गरेको लामो अनुभव सुनाउँदै उनले संगठनात्मक र नीतिगत चरण सकिएकाले अव तीव्ररूपमा कार्यान्वयन गर्न सकिने विश्वास व्यक्त गरेका छन् । “वर्षाअघि ६० प्रतिशत भूकम्पपीडितलाई नयाँ घरमा सार्ने लक्ष्य छ, यसमा विकास साझेदारको सहयोगको खाँचो छ, पुनःनिर्माणमा आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादनमा पनि विकास साझेदारको सहयोग आवश्यक पर्छ”–उनले भने । विकास साझेदार संस्थाका प्रतिनिधिले पुनःनिर्माणमा भइरहेको सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरेका थिए । संयुक्त राष्टसंघ, युरोपेली युनियन, जपानी सहयोग संस्था जाइका, बेलायती सहयोग संस्था डिफिड, विश्व बैंक, एसियाली विकास बैंक, चीन, भारतलगायतका प्रतिनिधिले यस्तो धारणा व्यक्त गरेका थिए । प्राधिकरणमा नौ महिना नेतृत्व गरेर हालै मात्र राजीनामा दिई राजनीतिमा सक्रिय भएका पूर्व प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेललाई विकास साझेदारका तर्फबाट बिदाइ गरिएको थियो । प्राधिकरणले पनि पूर्व प्रमुख कार्यकारी अधिकृत पोखरेललाई आइतबार बिदाइ गरेको थियो । प्राधिकरणमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भुसालले पुनःनिर्माणका लागि पोखरेलले थुप्रै सकारात्मक काम गरेको भन्दै आफूले यसलाई निरन्तरता दिने बताए । “पुनःनिर्माणलाई यो चरणमा ल्याउन पोखरेलले धेरै मेहनत गर्नुभयो, अव अर्को चरणमा यसलाई थप गति दिएर अघि बढ्ने मेरो प्रयास रहनेछ”-उनले बताए। रासस

बैंकको कर्जा लगानी ३७ अर्ब ९१ करोड वृद्धि, रियलस्टेट र ओभरड्राफटमा घट्यो, हायर पर्चेजमा बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३.५ प्रतिशतले बढेको थियो । कर्जा लगानी बढेर २० खर्ब २४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । गत असारमा १९ खर्ब ८६ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी थियो । २ महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ३७ अर्ब ९१ करोड रुपैयाँ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको १.८, विकास बैंकको ४.८ र वित्त कम्पनीको १.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ भदौसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १६.६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कृषि क्षेत्रतर्फको कर्जा २.१, औद्योगिक उत्पादन २.४, निर्माण ३.०, थोक तथा खुद्रा व्यापार ३.३, सेवा उद्योग २.८, र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.८ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६०.९ कर्जा घर जग्गाको धितोमा र १४.२ प्रतिशत कर्जा चालू सम्पत्तिको धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०. र १५.२ प्रतिशत थियो । भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल लगानीमा रहेको कर्जाको २.४ प्रतिशत अर्थात ४८ अर्ब २३ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा हायर पर्चेज कर्जा १.४ प्रतिशतले बढेको छ । यस्तै ओभरड्राफ्ट कर्जा १.६ प्रतिशतले घटेको छ । १ करोड ५० लाख रुपैयाँसम्मको व्यक्तिगत आवासीय कर्जा ३.८ प्रतिशतले बढेको छ भने रियल स्टेट कर्जा ०.४ प्रतिशतले घटेको छ । उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग अवधिमा बढेको छ । गत भदौ मसान्तसम्ममा साधारण पुनरकर्जा ६ अर्ब ४६ करोड र निर्यात कर्जा ६८ करोड १३ लाख गरी ७ अर्ब १४ करोड रुपेयाँ पुनरकर्जा लगानीमा रहेको छ । भूकम्प पीडितहरूलाई बढीमा २ प्रतिशतसम्मको ब्याजमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत समीक्षा अवधि सम्म ९० करोड ४७ लाख रुपैयाँ उपयोगमा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।  

बनेपामा सेयर कारोबार बढ्दै, दैनिक १ करोड बढीको किनबेच

बनेपा । खरिद तथा बिक्रीका लागि काठमाडौँ धाउने लगानीकर्ता आजकल घर नजिकैबाट सेयर कारोबार गर्न थालेका छन् । बनेपामा विभिन्न सेयर ब्रोकरले कार्यालय स्थापना गरी सेयरको खरिद, बिक्रीका साथै सेयरसम्बन्धी सबै सुविधा दिन थालेपछि ब्रोकर कार्यालयमा भीड बढेको देखिएको छ । “समयको बचत भएको छ र त्यहाँभन्दा बढी सुविधा पाएका छौँ”– बनेपाका सेयर लगानीकर्ता राजकुमार तिमल्सिनाले भने । उनले  ७ महिनादेखि सेयरका लागि काठमाडौँ जान बन्द गरेको  जानकारी िदए । भिजन सुक्युरिटिज प्रालि (३४), नम्बर ब्रोकर कार्यालय बनेपाका प्रमुख प्रकाश अधिकारीले ग्रामीण क्षेत्रबाट सेयर कारोबार गर्न आउने केही नयाँ सदस्य थप भए पनि अधिकांश पुरानाले नै कारोबार गर्ने गरेको बताए। कारोबार बढेको समयमा त झन दबाब बढी हुन्छ त्यसैले पनि सेयर कारोबारप्रतिको आकर्षण बढी भएको देखाउँछ उनले भने । अधिकारीका अनुसार आइतबार मात्रै बनेपा शाखाबाट १२ हजार ५५० कित्ता सेयरको  १ करोड १० लाख ८ हजार १२ रूपैयाँको कारोबार भएको छ । कारोबार भएकामध्ये सबैभन्दा बढी बैंकिङ क्षेत्रको छ । यसबाहेक ४० नम्बर ब्रोकर कार्यालय क्रियटिभ सेक्युरिटिज प्रालि र डायनामिक सेक्युरिटिज प्रालिले पनि यस क्षेत्रमा सेयर कारोबार गर्दै आएको छ । व्यापारिक केन्द्रका रुपमा रहेको बनेपामा धुलिखेल, पनौती, भक्तपुर पाँचखाललगायतका क्षेत्रबाट पनि सेयर कारोबारका लागि आउने गर्छन् ।  रासस

हकप्रद पनि आश्वा प्रणालीबाटै, प्रमुख सहरका लगानीकर्ताले लिलामीको हकप्रदमा आवेदन दिन सक्ने

काठमाडौं । अब हकप्रद सेयरमा पनि आश्वा प्रणालीबाटै आवेदन दिन सकिने भएको छ । नेपाल धितोपत्र बोर्डले हकप्रद सेयरका लागि पनि आश्वा प्रणालीबाटै आवेदन दिन पाउने व्यवस्था गर्न नेपाल स्टक एक्सचेन्ज(नेप्से), सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएस), सम्पूर्ण धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट वैकर तथा आस्वा सदस्यहरुलाई निर्देशन दिएको हो । बोर्डले धितोपत्रको हकप्रद निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री बनाउन आश्वा प्रणालीबाटै आवेदन दिन सक्ने व्यवस्था लागू गर्न भनेको हो । बिक्री नभएको हकप्रद सेयरको लिलाम प्रक्रियामा उपत्यका बाहिरको प्रमुख सहरहरुबाट आवेदन दिन सकिने छ । बोर्डले उपत्यका बाहिरको प्रमुख केन्द्रहरु कम्तिमा विराटनगर, वीरगंज, पोखरा, वुटवल, नेपालगञ्ज, सुर्खेत तथा धनगढीबाट आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ । बोर्डले धितोपत्र बजार, धितोपत्र दलाल व्यवसायी तथा मर्चेन्ट बैंकरहरुको संस्थागत सुशासनलाई अझ प्रभावकारी बनाई नियमपालनाको अवस्थालाई थप सुदृढ बनाउन नेप्से र सिडिएसलाई परिपत्र गरेकाे छ: १. धितोपत्रको हकप्रद निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री वनाउन धितोपत्रको हकप्रद निष्काशनमा आस्वा प्रणालीमार्फत समेत आवेदन गर्न सक्ने व्यवस्था गर्ने  । २. बिक्री नभएको हकप्रद सेयरको लिलाम प्रक्रियामा उपत्यका वाहिरको प्रमुख केन्द्रहरु कम्तिमा विराटनगर, वीरगंज, पोखरा, वुटवल, नेपालगञ्ज, सुर्खेत तथा धनगढीवाट आवेदन दिन सक्ने व्यवस्था गर्ने । ३. नेप्से र सिडिएसले बाेर्डमा पेश गर्नुपर्ने त्रैमासिक प्रतिवेदनमध्ये प्रत्येक दोस्रो तथा चौंथो त्रैमासिक प्रतिवेदनसँग र धितोपत्र व्यवसायी (मर्चेन्ट वैंकर) ले पेश गर्नुपर्ने अर्धवार्षिक प्रतिवेदनसँग लेखापरीक्षकवाट प्रमाणित नियमपालना प्रतिवेदन समेत वोर्डमा पेश गर्ने व्यवस्था गर्ने  भनिएकाे छ ।

‘इएमभी चीप’ पूर्ण रुपले परिपालना गर्नेमा सिद्धार्थ बैंक पहिलो, जोखिम र ठगी न्युनिकरण

काठमाडौं । सिद्धार्थ बैंक इएमभी चीप पूर्ण रुपले परिपालना गर्ने पहिलो नेपाली बैंक बनेको छ । सिद्धार्थ बैंकले नेपाल इलेकट्रोनिक पेमेन्ट सिस्टम(नेप्स)सँगको सहकार्यमा इएमभी चिप संरचनामा स्तरोन्नति गरेको हो । विद्युतीय कारोबारको सुरक्षाप्रति सजग रहँदै म्याग्नेटिक स्ट्रिप भएका कार्डहरुमा रहेका कमी कमजोरीहरुलाई हटाउन बैंकले २०७३ सालदेखि नै आफ्ना सबै कार्डहरु इएमभी चीप कार्डमा स्तरोन्नति गर्दै आएको थियो । साथै, यसको सफलता सँगै अब बैंकको एटिएम र पीओएसले पनि कार्डमा रहेको इएमभी चीपलाई नै पढेर कारोबार गर्नेछन् । सिद्धार्थ बैंक पूर्ण रुपले इएमभी चीप परिपालना गर्ने बैंक भए पश्चात म्याग्नेटिक स्ट्रिप भएको कार्डबाट कारोबार गर्दा हुने जोखिम र ठगी कारोबार पूर्ण रुपले न्युनिकरण हुनेमा बैंक विश्वस्त रहेको छ । बैंकले कार्डको प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षित तरीकाहरुको बारेमा समय समयमा विभिन्न माध्यमबाट ग्राहकहरुलाई सचेत गराउँदै आएको बैंकले जनाएको छ । साथै, बैंकले नगद रहित कारोबारलाई प्रोत्साहन र विद्युतीय कारोबारलाई थप सरल र सुरक्षित बनाउँदै आएको छ । हाल बैंकले १०२ एटिएम, १ मोबाइल एटिएम र ५५० भन्दा बढी पीओएस् मेसिनद्वारा आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

सेयर बजार राताम्मे, नेप्से दोहोरो अंकले घट्दा ५० करोडको कारोबार

काठमाडौं । तीन दिन पछि खुलेको सेयर बजार राताम्मे भएको छ । साताको पहिलो दिन (आइतबार)को बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सो दिन परिसूचक १३.४९ अंकले घटेर १५४० अंकमा अडेको छ । दोहोरो अंकले घटेको सेयर बजारमा ५० करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नेपाल बङ्गलादेश बैंकको ४ करोड २० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार कुल १५८ कम्पनीका १३ लाख ८१ हजार कित्ता सेयरहरु किनबेच भएका छन् । सो दिन कारोबारमा आएका ९ वटै समूहका परिसुचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५८ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल ३८, उत्पादनमूलक ३७, विकास बैंक १७, हाइड्रोपावर १५ र बैंकिङ समूह १२ अंकले ओरालो लागेका छन् । त्यस्तै, बाँकी रहेका ट्रेडिङ, फाइनान्स र अन्य समूहका परिसूचक सामान्य अंकले ओरालो लागेका छन् । दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी ओरियन्टल होटलको सेयर मूल्य ५ प्रतिशतले घटेको छ । उता मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले भने बजार घट्दा पनि ९.७३ प्रतिशत कमाएका छन् ।  

विद्युत प्राधिकरणले ३ सहरमा विद्युतीय ट्रान्सफरम ल्याव बनाउदै, बेजिङ हुत्यान मेकानिकललाई ठेक्का दिने तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३ स्थानमा विद्युतीय ट्रान्सफरमको परीक्षण प्रयोगशाला (ल्याव) बनाउने भएको छ । प्राधिकरणले विराटनगर, बुटवल र नेपालगन्जमा ट्रान्सफरमर परीक्षण ल्याव बनाउन लागेको हो । यसका लागि बेइजिङ हुत्यान मेकानिकल इलेक्ट्रिक इन्ष्टच्युट कम्पनी लिमिटेडलाई छनौट गरेको छ । सारभूत रुपमा प्रभावग्राही र न्युनतम मूल्य अंकित बोलपत्रदाताको रुपमा बेइजिङलाई छनौट गरिएको हो । बेइजिङले मूल्य अभिवृद्धि कर (भ्याट) लगायत भन्सार शुल्क बाहेक झण्डै १७ करोड रुपैयाँ अर्थात १६ लाख ५५ हजार १६७ अमेरिकी डलरमा ठेक्का पाउने भएको छ । प्राधिकरणको हेटौडा र काठमाडौमा ट्रान्सफरमर परीक्षण ल्याव रहेको छ । यो समेत गरी परीक्षण ल्याव ५ पुग्ने छ । ट्रान्सफरमर परीक्षणलाई सहज बनाउन थप ३ सहरमा ल्याव स्थापना गर्न लागिएको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक सुनीलकुमार ढुङेलले बताए । प्राधिकरणले नेपालमा ट्रान्सफरमर उत्पादन गर्न लागेको जानकारी दिए । उनकाअनुसार विद्युत प्राधिकरणले स्वदेशमा ट्रान्सफरम उत्पादन थाल्नका लागि ट्रान्सफरमर उत्पादन कम्पनी स्थापना गरिसकेको छ । नेपालमा सरकारी तवरबाट ट्रान्सफरमर उत्पादन गर्न प्राधिकरणले यस्तो प्रयास थालेको हो । प्राधिकरणले नेपाल इकरात इन्जिनियरिङ कम्पनी र ट्रान्सवेल्ड कम्पनीको विद्युतीय ट्रान्सफरम खरिद गर्दे आएको छ । यस्तै विदेशबाट पनि ग्लोबल टेण्डर गरेर प्राधिकरणले ट्रान्सफरमर खरिद गर्दे आएको छ । चीन र थाइल्याण्डबाट आयात गरिएका ट्रान्सफर गुणस्तरहीन भएको प्रमाणित भएपछि ठुलो काण्ड भएको थियो ।

३ जलविद्युत आयोजनाले २५ करोडको आईपीओ निष्कासन गर्दै, अनुमति माग्न पुगे धितोपत्र बोर्ड

काठमाडौं । निर्माणधिन र सम्पन्न भएका ३ जलविद्युत कम्पनीले सर्वसाधारणलाई २५ करोड ३६ रुपैयाँको साधारण सेयर (आईपीओ) निष्कासनको तयारी गरेका छन् । गत असोज महिना भित्र ३ वटै कम्पनीले सो मात्राको आईपीओे निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । ती कम्पनीले २५ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको २५ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गर्ने भएका छन् । आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिनेमा मैलुङखोला जलविद्युत कम्पनी लिमिटेड, घलेमदी हाइड्रो लिमिटेड र माउन्टेन हाइड्रो नेपाल लिमिटेड रहेका छन् । मैलुङखोला जलविद्युतले ७ करोड ३६ लाख रुपैयाँ, घलेमदी हाइड्रोले ५ करोड ५० लाख रुपैयाँ र १२ करोड ५० लाख रुपैयाँ गरी सो मात्राको आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका हुन् । मैलुङ जलविद्युतले ५ मेगावाटको मैलुङखोला आयोजना सम्पन्न गरी सञ्चालन गरिरहेको छ । यस्तै, घलमदी हाइड्रोले ४ मेगावाटको घलेमदी आयोजना र माउन्टेनले २१.६ मेगावाटको तल्लो हेवाखोला आयोजना निर्माण गरिरहेको छ । यी ३ वटै आयोजना निजी लगानी र स्वदेशी पुँजीबाट निर्माण भएका हुन् । मैलुङले सर्वसाधारण, घलमदी र माउन्टेनले स्थानियबासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेका हुन् । जलविद्युत आयोजनाका प्रवद्र्धकले स्थानियबासिन्दालाई न्युनतम १० प्रतिशत सेयर निष्कासन गर्नुपर्ने भएपछि सबै कम्पनीले धमाधम सेयर निष्कासन गर्न लागेका हुन् । धितोपत्र बोर्डले पनि न्युनतम् १० प्रतिशत सेयर सर्वसाधारणलाइ निष्कासन गर्न पाउने व्यवस्था गरेको छ । बोर्डमा विभिन्न २० कम्पनीले ३ अर्ब ५९ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका छन् । ती मध्ये १६ कम्पनी जलविद्युतसंग सम्बन्धित छन् । चालु आर्थिक वर्ष शुरु भएको ३ महिनामा राधि विद्युत उत्पादन कम्पनी लिमिटेडले मात्र १५ प्रतिशत आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । ४ मेगावाटको राधी जलविद्युत आयोजना बनाएर सञ्चालन गरिरहेको राधीले ९ करोड ४४ लाख ५५ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको छ ।

सानिमा बैंकको नाफा बढेर ३४ करोड ४४ लाख, प्रतिसेयर आम्दानी घट्यो

काठमाडौं । सानिमा बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा खुदनाफा ७ करोड रुपैयाँ बढेको छ । चालु आवको ३ महिनामा बैंकले ३४ करोड ४४ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको खुदनाफा २७ करोड १६ लाख रुपैयाँ थियो । बैंकले आइतबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशिक वित्तीय विवरणमा नाफा, निक्षेप परिचालन र कर्जा लगानीमा विस्तार भएको जानकारी दिएको छ । अघिल्लो आवको तुलनामा बैंकको खराव कर्जा बढेको छ । गत आवको सोही अवधिमा बैंकको खराव कर्जा अनुपात ०.०५ प्रतिशत रहेकोमा असोजसम्म बढेर ०.१४ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा बैंकको पुँजीगत लागत (कस्ट अफ फण्ड) दोब्बर बढेर ७.४३ प्रतिशत थियो । गत आवको पहिलो त्रैमाशमा यस्तो लगात ३.७ प्रतिशत मात्र थियो । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.१७ प्रतिशत पुगेको छ । बैंकसंग पर्याप्त लगानीयोग्य पुँजी नभएको वित्तीय विवरणले देखाएको छ । कर्जा निक्षेपबीचको ब्याजदर अन्तर घटेर ३.९३ प्रतिशत थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अन्तर ४ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानीमा गिरावट आई १६.७२ रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवमा यस्तो आम्दानी २० रुपैया थियो । चालु आवमा बैंकले ६४ अर्ब १३ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप ४८ अर्ब ६९ करोड रुपैयाँ थियो । १ वर्षमा बैंकको निक्षेप १६ अर्ब रुपैयाँ बढेको छ । समीक्षा अवधिमा बैंकले ५७ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ४४ अर्ब ६० करोड रुपैयाँ मात्र गरेको थियो । समीक्षा अवधिमा बैंकको कर्जा लगानी १३ अर्ब रुपैयाँले विस्तार भएको छ । बैंकको संचित रकम बढेर १ अर्ब ४० करोड ४० लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब ५ करोड रुपैयाँ मात्र थियो । बैंकको चुत्तापुँजी ८ अर्ब रुपैयाँ पुगेको छ ।

आन्तरिक राजस्व विभागले उठायो लक्ष्यभन्दा २९ करोड बढी राजस्व

काठमाडौं । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष २०७४/०७५ असोज महिनासम्म लक्ष्य भन्दा २९ करोड रुपैयाँ बढी राजस्व उठाएको छ । विभागले ३ महिनाको अवधिमा ५१ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिसम्मको राजस्व संकलनको लक्ष्य ५१ अर्ब ३३ करोड रुपैयाँ थियो । गत वर्षको असोजसम्मको असुलीको तुलनामा याे असाेजमा २४ प्रतिशतले वृद्धि भएको छ । विभागका अनुसार आयकर तर्फ २० अर्ब ७३ लाख, मूल्य अभिवृद्धि कर १८ अर्ब ३२ करोड र अन्तःशुल्क तर्फ १२ अर्ब  ८१ करोड रुपैयाँ संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ ९७ प्रतिशत, मूल्य अभिवृद्धि कर तर्फ १०३ प्रतिशत र अन्तशुल्क तर्फ १०३ प्रतिशत हो । त्यसैगरी, शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः २० करोड २२ लाख  र २७ करोड ७९ लाख रुपैयाँ संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ८५ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ७३ प्रतिशत संकलन भएको विभागले जनाएकाे छ । गत वर्षको तुलनामा आयकर १६ प्रतिशत, मूल्य अभिवृद्धि कर २५ प्रतिशत, अन्तशुल्क ३७ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १५ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १६ प्रतिशत रहेको छ । विभागलाई चालु अावका लागि २ खर्ब ९९ अर्ब ९१ करोड ३७ लाख रुपैयाँ लक्ष्य तोकिएको छ । विभागलाई लक्ष्यभन्दा अझै २० प्रतिशत बढी राजस्व संकलन गर्न महानिर्देशक किशोरजंग कार्कीले निर्देशन दिएका छन् । कार्कीले भदौ अन्तिम साताबाट शुरु भएको बजार अनुगमनलाई तीव्र, प्रभावकारी र शसक्त बनाउन उक्त निर्देशन दिएका हुन् ।

नारायणगढ-मुग्लिन सडकका चार पुल निर्माणको प्रक्रिया शुरु, लागत २७ करोड

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा रहेका पुलमध्ये चार वटा पुल भएका ठाउँमा नयाँ पुल निर्माण गरिने भएको छ । सो सडकको दासढुंगा पुल, खानीपुल, मौरीपुल र जलवीरे पुल भएका ठाउँमा नयाँ पुल निर्माण गर्न लागिएको हो । नारायणगढ-मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार ती पुल निर्माण गर्न हाल सोही सडक निर्माण गरिरहेका दुई ठेकेदार कम्पनीलाई ठेक्का दिइएको हो । जलवीरे पुल निर्माणको ठेक्का रौताहा कन्स्ट्रक्सनले पाएको छ भने अन्य तीन पुल निर्माणको ठेक्का लामा कन्स्ट्रक्सनले पाएको छ । जलवीरे पुल ८० मिटर लामो छ भने मौरीपुल ३० मिटर, खानीपुल ३० मिटर र दासढुंगा पुल २० मिटर लम्बाइका छन् । ती पुलको चौडाइ भने ११ मिटर हुने इन्जिनियर खनालले बताए । हाल पुल भइरहेका ठाउँ नजिकैबाट नयाँ पुल निर्माण गरिने भएकाले सवारी आवागमनमा पुलले कुनै बाधा नपुर्याउने बताइएको छ । जलवीरे पुल रू १४ करोडमा ठेक्का दिइएको हो भने अन्य तीन पुलको कूल निर्माण लागत रु १३ करोड रहेको छ । एक्काइस महिनाभित्र निर्माण गरिसक्नुपर्ने ती पुलको सम्पूर्ण प्रक्रिया पूरा भइसकेकाले आउँदो साताबाट पुल निर्माणको काम शुरु हुने इन्जिनियर खनालले जानकारी दिए। सडक विभागको वैदेशिक महाशाखाले पुल निर्माणको अनुगमनको जिम्मेवारी नारायणगढ–मुग्लिन सडक आयोजनालाई नै दिएको छ । सो सडकमा १८ वटा पुल रहेका छन् । अन्य पुलको निर्माणका लागि भने विश्व बैंकले चासो दिएकाले सडक विभागको वैदेशिक महाशाखाले गृहकार्य गरिरहेको छ । सडकको स्तरवृद्धि गर्ने काम अन्तिम चरणमा पुगिरहेका बेला पुल पनि फराकिला बनाइने भएको हो । हाल सो सडकमा रहेका पुल पाँच मिटर हाराहारी मात्र चौडा रहेका छन् । रासस

सीईओ भन्छन्: बैंकका सुनौला दिन सकिए, ईपीएस घट्दै, लगानीकर्ता निरास हुँदैछन्

काठमाडौं । चुक्तापुँजी वृद्धि भएपछि बैंक तथा वित्तीय संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) घट्दै गएको छ ।  चुक्तापुँजी बढेपछि सेयर संख्या थपिदा बैंकको प्रतिसेयर आम्दानीमा कमी आएको हो । ईपीएस निरन्तर ओरालो लागेपछि लगानीकर्ताले पहिलाको तुलनामा बैंक तथा वित्तीय संस्थाले दिने प्रतिफल समेत घट्नेछ । चुक्तापुँजी बढेको र पहिलो त्रैमाशमा बैंकले नाफा बढाउन नसकेपछि यो वर्ष लगानीकर्ताले राम्रो ईपीएस नपाउने संभावना बढेको छ । नेपाल राष्ट्र बैंकले चुक्तापुँजी ८ अर्ब पुर्याउनु पर्ने नीतिगत व्यवस्था गरेपछि बैंकले बोनस वितरण, हकप्रद सेयर जारी र थप निष्कासन (एफपीओ) गरी सेयर संख्या बढाएका छन् । गत वर्षको तुलनामा यो वर्ष पनि बैंक तथा वित्तीय संस्थाको ईपीएस घट्दै गएको चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक वित्तीय विवरणले देखाएको छ । २ अर्ब पुँजी हुदा गरेको नाफा र ८ अर्ब रुपैयाँ पुँजी पुगेपछि सोही अनुसार नाफा नबढे यसको ठुलो असर प्रतिफलमा पर्ने देखिन्छ । बैंक तथा वित्तीय संस्थामा यसको संकेत देखिन थालेको छ । गत आवको अन्तिममा पनि अधिकाँश बैंकको ईपीएस घटेको थियो । आगामी दिनमा बैंक तथा वित्तीय संस्थामा लगानी गरेर धेरै प्रतिफल लिने लगानीकर्ताले अबका दिनमा निरास हुनुपर्ने अवस्था आउन लागेको चालु आवको पहिलो त्रैमाशको वित्तीय विवरणले संकेत गरेको छ । चालु आवको पहिलो त्रैमाशको वित्तीय विवरण सार्वजनिक गर्ने एभरेष्ट बैंक र सिटिजन्स बैंकको ईपीएस गत वर्षको तुलनामा घटेको छ । गत वर्षको पहिलो त्रैमाशमा एभरेष्टको ईपीएस ७८.३१ रुपैयाँ थियो । यस्तै गत आवको असारसम्म आइपुग्दा घटेर ४४ रुपैयाँ ३२ पैसामा सीमित भएकोमा चालु आवको पहिलो त्रैमाशमा झनै घटेर ३५ रुपैयाँ २२ पैसा कायम भएको छ । बैंकको चुक्तापुँजी ६ अर्ब ११ करोड रुपैयाँ छ । बैंकले अझै १ अर्ब ८९ करोड रुपैयाँ पुँजी पुर्याउन बाँकी छ । पुँजी बढाएपछि एभरेष्टको ईपीएस अझै घट्ने देखिएको छ । गत आवको पहिलो त्रैमाशको तुलनामा एभरेष्टका लगानीकर्ताले एक वर्षमा ४३ रुपैयाँ गुमाएका छन् । चालु आवको साउनदेखि असोजसम्म ३ महिनामा बैंकले ५३ करोड १४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५१ करोड ३४ लाख रुपैयाँ नाफा गरेको थियो । पहिलो त्रैमाशको वित्तीय विवरण हेर्दा एभरेष्टले नाफा बढाउन सकेको छैन् । सेयर संख्या बढ्ने र आम्दानी सोहीअनुसार नबढ्दा ईपीएसमा कमी आउनु स्वभाविक हो । चालु आवको ३ महिनामा वित्तीय विवरण सार्वजनिक गर्ने सिटिजन्सको पनि ईपीएस घटेर १५ रुपैयाँ ९० पैसा कायम भएको छ । गत आवको पहिलो दोस्रो त्रैमाशमा सिटिजन्सको ईपीएस २२ रुपैयाँ ८१ पैसा थियो । गत असारसम्म घटेर १७ रुपैयाँमा झरेको थियो । सिटिजन्सको ईपीएस ७ रुपैयाँ घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सिटिजन्स बैंकको नाफा पनि घटेको छ । चालु आवको असोजसम्म बैंकले ३१ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३४ करोड ५१ लाख रुपैयाँ थियो । गत आवको तुलनामा चालु आवमा बैंकको खुदनाफा २ करोड रुपैयाँ बढीले घटेको छ । बैंकको पुँजी वृद्धिको तुलनामा नाफा बढ्न नसकेपछि स्वतः ईपीएस घट्ने र यसले आगामी दिनमा पनि निरन्तरता आउने सानिमा बैंकका सीईओ भुवन दाहाल बताउँछन् । विकास न्युजसंग कुरा गर्दै सीईओ दाहालले भने “बैंकले धेरै नाफा कमाएर सोही अनुसार प्रतिफल दिन्छन् भन्ने दिन अब गए । बैंकका सुनौला दिन (गोल्डेन एज) सकिएको छ ।” दाहालले भने सानिमाको ईपीएस पनि घटेको जानकारी दिदै यसलाई कायम राख्न दवाव बढेको बताए ।सेयरको संख्या ४ गुणा बढेकाले यसलाई कायम राख्न बैंकलाई चुनौति देखिएको बैंकका सीईओको भनाई छ । केही समयअघि विकास न्युजसंग कुरा गर्दै एनआईसी एसिया बैंकका सीईओ लक्ष्मण रिसालले अबको चुनौति भनेको ईपीएसलाई हालको अवस्थामा कायम राख्नलाई भनेका थिए । अहिले ईपीएस जुन अवस्थामा छ त्यसलाई कायम राख्न सक्नु नै ठुलो उपलब्धी भएको उनको निष्कर्ष थियो ।    

बाढीपीडितका लागि पाकिस्तानी राजदूत जावेदद्धारा १० करोड रुपैयाँ प्रधानमन्त्रीलाई हस्तान्तरण

काठमाडौं । पाकिस्तानी राजदुतावासले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई १० लाख अमेरिकी डलर (झण्डै १० करोड रुपैयाँ) हस्तान्तरण गरेको छ । पाकिस्तानका नेपालका लागि राजदूत मझर जावेदले विहीबार प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटी राहत बुझाएका हुन् । प्रधानमन्त्री देउवाले पाकिस्तानलाई सहयोगका लागि कृतज्ञता व्यक्त गरेका छन् । गत सेप्टेम्बरमा अमेरिकाको न्यु योर्कमा संयुक्त राष्ट्र संघद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री शाहिद अब्बासीले बाढी पहिरो पीडित तथा पूननिर्माणका नाममा राहत स्वरुप सो रकम दिने  घोषणा गरेका थिए । कुनैपनि आपतविपतको क्षणमा सहयोग गर्न र मित्रतापूर्वक सम्बन्ध राख्न तयार रहेको राजदुत जावेदले बताए ।  

तीन महिनामा ५० करोडको सिमेन्ट बिक्री

उदयपुर । देशकै ठूलो र सरकारी स्वामित्वमा रहेको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगले तीन महिनाभित्र ५० करोड रुपैयाँको सिमेन्ट बिक्री गरेको छ । साउनको पहिलो हप्तादेखि अहिलेसम्म उद्योगले छ लाख २० हजार बोरा सिमेन्ट बिक्री गरेको छ । अहिलेसम्मकै अत्यधिक सिमेन्ट बिक्री गर्न सफल भएको उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलले बताए । गैँडा छाप सिमेन्टको माग अत्यधिक बढेर जाँदा बिक्री र माग धान्नै गाह्रो भएको उनको भनाइ छ । अहिले उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा रु ८२९ रहेको छ । सो उद्योगले दैनिक ६०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । रासस

नेपाली मौलिक खानाको विश्वव्यापीकरण, पर्यटन व्यवसायमा टेवा

काठमाडौं । अन्तर्राष्ट्रिय समुदायमा नेपाली मौलिक खानाको प्रवद्र्धनबाट बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न सकिने व्यवसायीले बताएका छन् । स्थानीय रैथाने खानाको परिकारलाई विश्वव्यापीकरण गरी पर्यटक आकर्षण गर्ने उद्देश्यले शुरु गरिएको ‘नेपाली खानाको विश्वव्यापीकरण गर्ने राष्ट्रिय अभियान’ ले अन्तर्राष्ट्रिय जगतमा नयाँ पहिचान स्थापित गर्न सकिने उनीहरुको धारणा छ । होटल एशोसिएसन अफ नेपाल (हान) को संयोजनमा रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल र सेफ्स एशोसिएसन अफ नेपालले नेपाली मौलिक खानाको प्रवद्र्धनात्मक अभियान शुरु गरेका हुन् । वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यको मुख्य अग्रसरतामा थालिएको यो अभियानमा नेपालका प्रतिष्ठित सेफ, व्यावसायिक ‘फुड टेक्नोलोजिस्ट’, ‘डाइटिसियन’ लगायतको पनि सहभागिता रहेको छ । यसै सन्दर्भमा बुधबार साँझ लैनचौरस्थित ‘सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेजमेन्ट’ परिसरमा स्थानीय खानाका परिकारको प्रदर्शनी आयोजना गरियो । व्यावसायिक सेफबाट तयार गरिएका २६ प्रकारका स्थानीय रैथाने खाना राखिएको थियो । चामल, कोदो, फापर, गुन्द्रुक, च्याउ, आलु, भटमास, बदाम, स्थानीय जडीबुटी तथा मासुका विभिन्न स्वादिष्ट परिकार प्रदर्शनीमा राखिएको थियो । नेपाली खाना र संस्कृति विश्वभर फैलिएको सन्दर्भमा नेपाली मौलिक खानालाई विश्वव्यापीकरण गरी बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न अभियान शुरु गरिएको हानका महासचिव विनायक शाहले बताए । खाना प्रत्यक्षरुपमा जनजीवन, रीतिरिवाज, चाडपर्व, भूगोल, प्रकृति एवं हावापानीसँग जोडिने हुँदा पर्यटकले खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने अभियानको दाबी छ । नेपालीले विश्व बजारमा होटल रेस्टुरेन्ट सञ्चालन गरेका तर त्यहाँ, इण्डियन, इटालियन, चाइनिजलगायत खानाको बिक्री गरिरहेकाले नेपालीले आफ्नै मौलिक खानाको परिकार पस्केर नेपाली पहिचान झल्काउन् भन्ने उद्देश्यले अभियान शुरु गरिएको व्यवसायी कर्ण शाक्यले बताउनुभयो । उनका अनुसार प्रदर्शित मौलिक खानामध्ये २० परिकारका छनोट गरी विदेशीको स्वाद र रुचीअनुरुपको बनाई आकर्षक ढंगले प्रस्तुत गरिने छ । अभियानको दोस्रो चरणमा ठूलो ‘फुट फेस्टिभल’ आयोजना गरी नेपाली मौलिक खानाको अन्तर्राष्ट्रियकरण गरिने जनाइएको छ । सेफ एशोसिएसनका पूर्व अध्यक्ष गोविन्द नरसिंह केसीले नेपाली मौलिक खानालाई विदेशीको रुचिअनुसारको बनाई पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए । सिल्भर माउन्टेन कलेजकी प्रबन्ध निर्देशक आभा शाहले नेपाली मौलिक खानालाई विदेशी रेस्टुराँमा प्रवद्र्धन गर्ने अभियानमा सहकार्य गर्न पाउँदा निकै उत्साह बढेको बताएका छन् । कार्यक्रममा पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्र संघसंस्थाका प्रतिनिधि एवं सञ्चारकर्मीको सहभागिता रहेको थियो । रासस

कर्मचारी संचय कोष र बीमा संस्थानमा प्रशासक पदपूर्तिका लागि आवेदन माग, अन्तिम मिति कात्तिक २३ गते

काठमाडौं । सरकारले कर्मचारी संचय कोष र राष्ट्रिय बीमा संस्थानमा प्रशासक नियुत्तिको प्रक्रिया सुरु गरेको छ । अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धाबाट दुबै संस्थाको प्रशासकको पदपूर्तिका लागि आवेदन मागेको छ । कात्तिक २३ गतेसम्म आवेदन दिन पशासक नियुत्तिका लागि गठित छनौट तथा शिफारिश समितिले भनेको छ । मन्त्रालयले सिफारिश सम्बन्धि कार्यविधि तयार पारेपछि पदपूर्तिका लागि सूचना प्रकाशित गरेको हो । दुबै संस्था अहिले कामूको भरमा चलेका छन् । संचय कोषका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, आर्थिक, बैकिङ, वित्तीय, वाणिज्य वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी व्यवस्थापकिय तहमा कम्तीमा ५ बर्षको कार्यानुभव प्राप्त गरेको हनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । ३० वर्ष पुरा भई ६० वर्ष उमेर ननाघेको हुनुपर्ने व्यवस्था गरेको छ । उम्मेदवारले कोषको आगामी व्यवसायिक योजना समेत प्रस्तुत गर्नुपर्ने छ । यस्तै संस्थानमा प्रशासक हुनका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट बीमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, वाणिज्यशास्त्र, कानून, गणित, तथ्याङ्कशास्त्र वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहकोउपाधि हासिल गरेको हुनपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । यस्तै स्नातक उत्तीर्ण चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको योग्यता हासिल गरी व्यवस्थापकीय तहमा कम्तीमा ५ बर्षको अनुभव आवश्यक पर्ने छ ।

३ महिनामा एभरेष्ट बैंकको खुद नाफा ५३ करोड 

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा एभरेष्ट बैंकले नाफा बढाएको छ ।साउनदेखि असोजसम्म ३ महिनामा बैंकले ५३ करोड १४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५१ करोड ३४ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले बिहीबार चालु आवको पहिलो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गर्दे नाफा, निक्षेप परिचालन र कर्जा लगानी बढेको जानकारी दिएको छ । यस्तै तरलताको अवस्था पनि सन्तोषजनक रहेको बैंकले जानकारी दिएको छ । गत असोजसम्म बैंकले ९९ अर्ब ३७ करोड १२ लाख रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा बैंकले ८९ अर्ब १५ करोड ५० लाख रुपैयाँ निक्षेप परिचालन गरेको थियो । साउनयता बैंकको निक्षेप ४ अर्ब रुपैयाँ थपिएको छ । यस्तै कर्जा लगानी पनि विस्तार भएको छ । असोजसम्म बैंकले ८१ अर्ब ८५ करोड ९३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ६९ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । ३ महिनामा कर्जा लगानी झण्डै ४ अर्ब रुपैयाँ बढेको बैंकले जानकारी दिएको छ । बैंकको खराब कर्जा अनुपात ०.२६ प्रतिशत छ । प्रतिसेयर आम्दानी ३५ रुपैयाँ २९ पैसा छ । यस्तै पुजीगत लागत ४.८५ र कर्जा र निक्षेपबीचको ब्याज दर अन्तर (स्प्रेड दर)  ४.८३ प्रतिशत छ । कर्जा र निक्षेप अनुपात (सीडी रेसियो) ७६.९१ प्रतिशत छ । बैंकको संचिति ६ अर्ब ६७ करोड रुपैयाँ बढी छ । बैंकको चुक्तापुँजी ६ अर्ब ११ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

उपेन्द्र महतोको अस्पतालमा चरम लापरवाही, मेडिसिटी अस्पतालले एड्स लागेको भनिएको विरामीमा एड्स नभएको अन्य दुई ल्याब रिपोर्टको निष्कर्ष

काठमाडौं । गैरआवासीय नेपाली संघका संस्थापक डा. उपेन्द्र महतोको लगानीमा खुलेकाे र अन्तराष्ट्रियस्तरको भनिएको नेपाल मेडिसिटी अस्पताल सञ्चालनमा आएको एक महिना पनि भएको छैन । तर, अस्पतालले भने गलत रिपोर्ट बनाएर चरम लापरवाही गरेको खबर बाहिर आएको छ । मेडिसिटी अस्पतालले नियमित चेकअप गर्न आएकी  गर्भवती महिलालाई एचआईभी संक्रमण भएको गलत रिपोर्ट दिएको खुलासा भएको छ । अस्पतालको ल्याबले लोकन्थलीकी उमा (नाम परिवर्तन) को रगत परिक्षणको गलत रिपोर्ट दिएपछि बिरामी र उनका श्रीमानले पाँच दिनसम्म मानसिक तनाव बेहोर्नुपर्‍यो । नेपाल मेडिसिटी अस्पतालले दिएको ल्याब रिपोर्ट अस्पतालले उमालाई एचआईभीको संक्रमण भएको रिपोर्ट दिएपछि अर्को संस्थामा दुई पटकसम्म रगत परिक्षण गराउँदा यो रोग नभएको पुष्टि भयो । अस्पतालको ल्याबले दिएको रिपोर्ट र अर्को अस्पतालबाट आएको रिपोर्ट फरकफरक भएपछि बिरामी पक्ष आक्रोशित भएका थिए । उमाका पति मनोज(नाम परिवर्तन)का अनुसार गर्भवती सम्बन्धी नियमित चेकजाँचका लागि मेडिसिटी अस्पताल लगिएको थियो । त्यहाँबाट डा. निरा सिंह श्रेष्ठले उनलाई रगत परिक्षणका लागि ल्याब पठाइन् । गत असोज २६ गते चिकित्सकको सल्लाह अनुसार ल्याबमा रगत परिक्षण गराउँदा उनको रगतमा एचआईभी पोजेटिभ देखियो । ‘डाक्टरले रगत परिक्षण गर्नुपर्ने सल्लाह दियो । त्यतिबेला अस्पतालले एभआईभी पोजेटिभ छ भनेर रिपोर्ट दिएपछि हामीलाई तनाव भयो,’ मनोजले भने । दुई दिनपछि चित्त नबुझेर अर्को पटक जावलाखेलको साम्याक डाइग्नोस्टिक ल्याबमा पुन: रगत परीक्षण गरिन् । दोस्रो पटकको परीक्षणमा एचआईभी नेगेटिभ देखियो । सोही दिन पुन : तेस्रो पटक रगत परिक्षणको लागि भारतको मेट्रोपोलिस हेल्थकेयर पठाइयो । तिहारपछि भारतबाट रिपोर्ट आएपछि एचआईभी नेगेटिभ नै रहेको पुष्टि भयो । रगत परिक्षणको रिपोर्ट देखाउँदै मनोजले भने, ‘अन्तराष्ट्रिय स्तरको अस्पताल भनेर चर्चा भएपछि उचित तवरको उपचारका लागि मेडिसिटी गएका थियौं । सर्वसाधारणको स्वास्थ्य उपचारको नाममा यो चरम लापरबाही हो ।’ उनले अन्तराष्ट्रिय स्तरको उपचारको नाममा स्वास्थ्य माथि खेलबाड मानसिक तनाव हुने गलत रिपोर्ट दिने अस्पताल माथि कारबाही हुनुपर्ने उनले बताए । वास्तविक रिपोर्ट लिएर अस्पताल गएका दम्पती अस्पतालका निर्देशक डा. सुनिल शर्मा कहाँ गए । डाक्टरले त्यस्तो हुनु नपर्ने बताउँदै थप परिक्षणका लागि भनेपछि आफू फर्केको उनले बताए । अन्तराष्ट्रिय स्तरको भनिएको मेडिसिटी अस्पतालले सेन्टर अफ डिजिज कन्ट्रोल (सिडिसी) को मापदण्ड पनि पालना नगरेको पाइएको छ । साम्याकका डाक्टर किओर गौतमका अनुसार अस्पतालले पहिलो रिपोर्टमा एचआईभी संक्रमण देखाएपछि दुई पटकसम्म पुन: जाँच गर्नुपर्छ । ‘उहाँहरु शंका लागेर साम्याक आउनुभयो,’ उनले भने, ‘दुई पटक रगत परिक्षणमा गर्दा नी एचआईभी नेगेटिभ देखायो । त्यतीपनि चित्त नबुझेर रगतको नमुना भारत पठाइयो । उताबाट पनि नेगेटिभ आएपछि सबैजना ढुक्क भयौं ।’ विकासन्युजलाई प्राप्त ल्याब रिपोर्ट : मेट्रोपोलिस प्याथोलोजी ल्याबको रिपोर्ट साम्याकको रिपोर्ट

कर्मचारी संचय कोष र बीमा संस्थानमा प्रशासक नियुक्तिको तयारी, छनौटका लागि कार्यविधि तयार

काठमाडौं । सरकारले कर्मचारी संचय कोष र राष्ट्रिय बीमा संस्थानमा प्रशासक नियुक्तिको प्रक्रिया सुरु गरेको छ । अर्थ मन्त्रालयले दुबै संस्थाको प्रशासक छनौट सिफारिश सम्बन्धि कार्यविधि तयार पारेको छ । सरकारले औपचारिक रुपमा नियुक्तिका लागि आवेदन खुलाउने तयारी गरेको छ । दुबै संस्थाका लागि लिखित र अन्तरवार्ता समेत हुनेछ । केही महिनादेखि दुबै संस्था प्रमुख विहीन भएका छन् । संचय कोषका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, आर्थिक, बैकिङ, वित्तीय, वाणिज्य वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी व्यवस्थापकिय तहमा कम्तीमा ५ बर्षको कार्यानुभव प्राप्त गरेको हनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । यस्तै ३० वर्ष पुरा भई ६० वर्ष उमेर ननाघेको हुनुपर्ने व्यवस्था गरेको छ । उम्मेदवारले कोषको आगामी व्यवसायिक योजना समेत प्रस्तुत गर्नुपर्ने छ । बीमा संस्थानमा प्रशासक हुनका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट बीमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, वाणिज्यशास्त्र, कानून, गणित, तथ्याङ्कशास्त्र वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहकोउपाधि हासिल गरेको हुनपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । यस्तै स्नातक उत्तीर्ण चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको योग्यता हासिल गरी व्यवस्थापकीय तहमा कम्तीमा ५ बर्षको अनुभव आवश्यक पर्ने छ ।

राष्ट्र बैंकले आइतबार ८ अर्ब ८६ करोडको विकास ऋणपत्र बिक्री गर्दै

काठमाडौं । सरकारका लागि नेपाल राष्ट्र बैंकले ८ अर्ब ८६ करोड रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आउदो आइतबार केन्द्रीय बैंकले बोलकबोल मार्फत “विकास ऋणपत्र २०८२ क” बिक्री गर्ने भएको हो । ८ वर्ष अवधिको विकास ऋणपत्र बोलकबोल प्रक्रियाबाट बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्रको ब्याज दर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ । ऋणपत्र धितो राखी कर्जा लिन/दिन पाइने व्यवस्था गरिएको छ । निष्कासन आउदो सोमबार हुने छ । ऋणपत्रको साँवा भुक्तानी ०८२ कात्तिक १३ गते हुने केन्द्रीय बैंकले जानकारी दिएको छ । चालु आवमा सरकारले विभिन्न वित्तीय उपकरणमार्फत १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । यसमध्ये ७२ अर्ब रुपैयाँ विकास ऋणपत्रमार्फत उठाउने छ ।