३ महिनामा मेगा बैंकको नाफा ६ करोड घट्यो, इीपीएस १.७७ रुपैयाँ मात्र
काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा मेगा बैंकको खुदनाफा ६ करोड रुपैयाँ भन्दा बढीले घटेको छ । चालु आवको पहिलो त्रैमाशमा बैंकले ८ करोड ११ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १४ करोड ६९ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको वित्तीय विवरणका सुचक सकरात्मक नभएको पाइएको छ । कर्जा नोक्सानीका लागि थप व्यवस्था गर्नुपर्दा खुदनाफा घटेको बैंकले जनाएको छ । बैंकको खराब कर्जा बढेर १.६७ प्रतिशत पुगेको छ । गत असारमा यस्तो कर्जा १.३६ प्रतिशत थियो । बैंकको पुँजीगत लागत बढेर ७.८० प्रतिशत पुगेको छ । यस्तै कर्जा निक्षेप अनुपात ७८.२६ प्रतिशत पुगेको छ । बैंकलाई थप लगानी गर्न निक्षेपको कमी देखिएको छ । आधार ब्याज दर बढेर १०.७२ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा बैंकको आधार दर ७.२८ प्रतिशत थियो । असारमा बढेर ११ प्रतिशतसम्म पुगेको थियो । बैंकको कर्जा र निक्षेपको ब्याजदर अन्तर घटेर २.४९ प्रतिशतमा सीमित भएको छ । गत आवमा यस्तो दर ३.८५ प्रतिशत थियो । प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १.७७ प्रतिशतमा सीमित भएको छ । गत असारमा १७.२७ थियो । ३ महिनामा १५ रुपैयाँ बढीले घटेको छ । ३ महिनामा बैंकको निक्षेप १ अर्ब रुपैयाँ बढेर ३९ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । गत असारमा बैंकको निक्षेप ३८ अर्ब ९३ करोड रुपैयाँ थियो । कर्जा लगानी पनि १ अर्ब रुपैयाँ हारहारीमा वृद्धि भएको छ । चालु आवको ३ महिनासम्ममा कर्जा लगानी ३५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । बैंकको संचित कोष बढेर १ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । यस्तै चुक्तापूँजी ४ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ ।
३ महिनामा हिमालयन बैंकको नाफा ३ करोड घट्यो, खराब कर्जा बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा हिमालयन बैंकको नाफा झण्डै ३ करोड रुपैयाँ घटेको छ । चालु आवको ३ महिनामा बैंकले ४१ करोड रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ४३ करोड ८४ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको ३ महिनाको वित्तीय विवरणमा सुचकहरु सन्तोषजनक नभएको पाइएको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात बढेर १.२४ प्रतिशत पुगेको छ । गत असारमा बैंकको यस्तो कर्जा ०.८७ प्रतिशत मात्र थियो । बैंकको पुँजीगत लागत पनि दोब्बर बढेर ६.५९ प्रतिशत पुगेको छ । गत असारमा यस्तो अनुपात ३.९९ प्रतिशत थियो । यस्तै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७७.७४प्रतिशत छ । बैंक अब थप कर्जा लगानी गर्न सक्ने अवस्थामा देखिन्दैन् । यस्तै आधार दर पनि ९.४५ प्रतिशत छ । गत असारमा यस्तो दर ९.५७ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी घटेर २५ रुपैयाँ २७ पैसामा सीमित भएको छ । गत असारमा यस्तो आम्दानी ३३ रुपैयाँ ५३ पैसा थियो । समीक्षा अवधिमा बैंकको कुल संचिती बढेर ५ अर्ब ६८ करोड ६६ लाख रुपैयाँ पुगेको छ । यस्तै बैकले निक्षेप बढाएर ९६ अर्ब १३ करोड रुपैयाँ पुर्याएको छ । गत असारमा ९२ करोड ८८ लाख रुपैयाँ थियो । ३ महिनामा बैंकले निक्षेप ३ अर्ब रुपैयाँ बढाएको छ । कर्जा लगानी पनि विस्तार भएर ८० अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । गत असारमा बैंकको ७७ अर्ब ६५ करोड रुपैयाँ थियो । कर्जा लगानी पनि ३ अर्ब रुपैयाँ बढेको बैंकले जनाएको छ । बैंकको चुक्तपुँजी ६ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।
बिटक्वाइनमा नयाँ रेकर्ड, मूल्य ६४६० डलर पुग्यो
लण्डन । बुधबार भर्चुयल मूद्रा बिटक्वाइनको मूल्य बढेर ६ हजार ४ सय ६० अमेरिकी डलर पुगेर अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको छ । विश्वकै ठुलो डेरिभेटिभ्स अपरेटरले बिटक्वाइन सार्वजिनक गर्ने घोषणा गरेपछि क्रिप्टोकरेन्सीले मुलधारको वित्तीय क्षेत्रमा प्रवेश गर्ने दाबी गरिएको छ । सिएमइ ग्रुप इकंका अनुसार यसले क्रिप्टोकरेन्सी मार्केटलाई व्यवस्थित व्यापारिक स्थान प्रदान गर्नेछ र २०१७को चौमासिकतिर नयाँ डेरिभेटिभहरुपनि सार्वजनिक गर्नेछ । बिटक्वाइनको मूल्य ६ गुणाले बढेको छ र यो मध्य सेप्टेम्बर को भन्दा दोब्बरले वृद्धि भएको हो । लक्जमबर्गमा आधारति बिटस्ट्याम्प एक्सेञ्जमा बुधबार यसको मूल्य ०.३ प्रतिशतले माथि थियो ।
उम्मेदवार मनोनयन दर्तामा उत्साहजनकरुपमा सहभागी हुन आह्वान
काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा भोलि कात्तिक १६ गते बिहीवार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवारीको मनोनयन दर्ता कार्यमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा सहभागी हुन सबै राजनीतिक दल र उम्मेदवारहरुलाई आह्वान गरेको छ । मंसिर २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवार मनोनयनको लागि आवश्यक तयारीबारेमा जानकारी दिने उद्देश्यले बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको उम्मेदवार मनोनयनलाई ऐतिहासिकरुपमा सफल बनाउने अभियानमा सहयोग पुरयाउन सबैसँग आग्रह गरे । निर्वाचन मनोनयका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भइसकेको जनाउँदै उनले भने , “भोलि बिहान १० देखि अपराह्न ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि उपस्थित हुन सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई निर्वाचन आयोग हार्दिक आह्वान गर्दछ ।” मुलुकका ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारहरुले बिहीबार मनोनयन दर्ता गर्दै हुनुहुन्छ । आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन मंसिर १० र २१ गते दुई चरणमा हँुदैछ । नेपाली जनताको लामो त्याग, बलिदान र संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र ऐतिहासिक संविधानसभाबाट बनेको ‘नेपालको संविधान’ को सफल कार्यान्वयन गर्ने क्रममा आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुन लागेको हो । निर्वाचनका सम्पूर्ण गतिविधिलाई सुरक्षा प्रदान गर्न आवश्यक सुरक्षा प्रबन्ध भइसकेको जनाउँदै आयोगले निर्वाचनलाई महान् उत्सवको रुपमा सफल बनाउन सबैबाट सम्पूूर्ण सहयोग अपेक्षा गरिएको उल्लेख गरेको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारहरुको बन्दसूची पेश भई यही कातिक १७ गते सार्वजनिक गर्ने कार्यक्रम रहेको पनि सो अवसरमा जानकारी दिइयो । समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ७४ लाख मतपत्र र मतदाता नामावली छपाइको काम पूरा भइसकेको तथा सर्वाेच्च अदालतको आदेशअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै पानामा मतपत्रको छपाइ कार्य जारी रहेको आयोगले जानकारी दिएको छ । प्रतिनिधिसभा सदस्यका लागि हरियो रङमा निर्वाचन चिह्न भएको मतपत्र र प्रदेशसभाका लागि कालो मसीमा निर्वाचन चिह्न रहने गरी मतपत्रको ढाँचा स्वीकृत गरी २१ जिल्लाको मतपत्र छाप्न पठाइसकेको जानकारी दिँदै आयोगले कात्तिक २० गतेसम्म पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका सम्पूर्ण मतपत्र छपाइ गरी सम्बन्धित जिल्लामा पठाउने कार्य योजनाअनुसार तीव्र गतिमा काम भइरहेको जनाएको छ । अदालतको आदेशअनुसार, परिमार्जन तथा संशोधन गर्नुपर्ने नियमावली, निर्देशिका तथा कार्यविधिहरु द्रुत गतिमा संशोधन तथा परिमार्जनको काम भइरहेको बताउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले पहिलो हुने निर्वाचित हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि छुट्टाछुट्टै पानामा मतपत्रको व्यवस्था गर्दा आवश्यक पर्ने मतपेटिका, स्वस्तिक छापलगायत सामग्रीको छोटो समयमै व्यवस्थापन गर्ने प्रक्रिया शुरु भइसकेको जानकारी दिए । नियमावली र निर्देशिका परिमार्जन गरी सोही आधारमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने हुँदा मतदाता शिक्षासम्वन्धी तालीम, प्रशिक्षण कार्यक्रम छिट्टै सञ्चालन गर्न आयोगले गृहकार्य गरिरहेको जनाएको छ । निर्वाचन आचारसंहिताको सबैबाट पूर्ण पालना हुने विश्वास लिएको जनाउँदै आयोगले कहीँ कतैबाट आचारसंहिता उल्लंघन भएमा आवश्यक कारबाही गर्न ७७ जिल्लामा मुख्य÷निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीलगायतलाई आवश्यक निर्देशन दिइसकेको जानकारी दिएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निवर्तमान सांसदको सिफारिशमा सञ्चालन गर्न आचारसंहिता प्रतिकूल भएकाले त्यस्ता कार्यक्रम रोक्न आयोगले निर्देशन दिएको र ७७ वटै जिल्लाबाट त्यस्ता कार्यक्रम रद्द गरी रु १० अर्ब निकासा रोक्का भइसकेको जानकारी आयोगलाई प्राप्त भएको पनि सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा यादवले जानकारी दिए । आयोगबाट स्वीकृत फोटासहितको मतदाता नामावलीमा नाम समावेश भएका तर निर्वाचनमा खटिने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीलगायतको मताधिकारलाई सुरक्षित गर्न अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति बनाई कार्य अगाडि बढाइएको पनि सो अवसरमा जानकारी दिइएको थियो । आगामी मंसिरमा हुने निर्वाचनको पर्यवेक्षणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई आयोगले निर्वाचन पर्यवेक्षण गर्न अनुरोध गरिसकेको छ । रासस
बाढी प्रभावित क्षेत्रको पुनःनिर्माणको जिम्मेवारी प्राधिकरणलाई
काठमाडौं । बाढीबाट प्रभावित तराईका जिल्लाको पुनःनिर्माणको जिम्मेवारीसमेत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई दिइएको छ । बाढी प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि आवश्यक अध्ययन गरी नीतिगत व्यवस्था मिलाउन र पुनःनिर्माणको समन्वय गर्न प्राधिकरण मातहत विशेष बाढी पुनःनिर्माण आयोजना एकाइ निर्माण गरिएको हो । मन्त्रिपरिषद्को कात्तिक ६ गतेको बैठकले बाढी तथा डुबान प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनःनिर्माण गराउने विषयको अध्ययन, नीतिगत सम्बोधन र पुनःनिर्माणको समन्वय गर्न प्राधिकरण अन्तर्गत विशेष एकाइको गठन गर्ने निर्णय गरेको थियो । यो विशेष एकाइको आयोजना प्रमुखका रुपमा डा सुमन कर्ण नियुक्त भएका छन् । कर्णले कात्तिक १३ गते सोमबारदेखि नै जिम्मेवारी सम्हालेका छन् । मोरङका डा कर्णले यसअघि प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृतको विशेष सल्लाहकारका रुपमा काम गरेका थिए । शहरी विकासमा विद्यावारिधि गरेका डा कर्णसँग संयुक्त राष्ट्रसंघमा आबद्ध भई इराक, सुडान, अफगानिस्तान र जोर्डनमा पुनःनिर्माण तथा विकाससम्बन्धी कार्य गरेको अनुभव छ । बाढीबाट तराईमा भएको क्षतिको विस्तृत अध्ययन राष्ट्रिय योजना आयोगले गरिरहेको आयोजना प्रमुख कर्णले बताए। अहिलेसम्म अनुमानित ६० हजार घर पूर्णरुपमा क्षति भएको विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ । “आंशिकरुपमा क्षति भएका घरको विवरण आयोगको प्रतिवेदनपछि मात्र भन्न सकिन्छ, बाढीको क्षति कम भएकाले छिटोछरितो पुनःनिर्माण गरिन्छ, पुनःनिर्माणमा स्थानीय तहलाई पनि सहभागी गराएर पीडितलाई राहत दिने योजना बनाएका छौँ”-उनले भने । बाढीले तराईमा सिँचाइ, कृषि, सडक, पुललगायत भौतिक संरचनामा पनि क्षति पुर्याएको थियो । बाढीबाट तराईका २४ जिल्ला प्रभावित बनेका थिए । आयोगले गरेको अध्ययनको प्रतिवेदन यसै साता प्राधिकरणलाई बुझाउने जनाइएको छ । रासस
कतार एयरवेजद्धारा आकर्षक योजना सार्वजनिक, एउटाको मूल्यमा दुईटा विजनेश क्लास टिकट पाइने
काठमाडौं । कतार एयरवेजले आफ्नो २०औँ बार्षिकोत्वसको अवसरमा इकोनोमी तथा विजनेस क्लास क्वाविन दुबैमा आकर्षक तथा अपत्यारिलो मूल्यको घोषणा गरेको छ । जस अन्तर्गत एउटा विजनेश क्लास टिकटको मूल्यमा यात्रुले दुई ओटा विजनेश क्लास टिकट पाउन सक्छन् । त्यसैगरी, दूई इकोनोमी टिकटको मूल्य तिर्दा तीन वटा इकोनोमी क्लास टिकट पाउन सक्छन् । उक्त योजना नोवेम्बर १ देखि १०(अर्थात कात्तिक १५ देखि कात्तिक २४) सम्म लागु हुने छ । योजना अन्तर्गत यात्रुले सुविधाको उपयोग २०७४ कात्तिक १५ देखि २०७५ कात्तिक १४(अर्थात नोवेम्बर १-२०१७ देखि अक्टोबर ३१ २०१८)सम्मको यात्रा अवधिभर गर्न सक्छन् । साथै, २० जना भाग्यशाली विजेतालाई प्रिभलेज क्लब गोल्ड मेम्बरसिप अफर तथा वैश्विक सञ्जाल भरका प्रिभलेज क्लब मेम्बरहरुलाई गन्तब्य छान्न रिडेम्पशन टिकटमा ५० प्रतिशत छुटको घोषणा पनि गरेको छ । ‘हाम्रो २०औँ वार्षिकोत्सवका अवसरमा वैश्विक रुपमा आकर्षक योजनाको घोषणा गर्न पाउँदा हामी निकै हर्षित छौँ । हाम्रा यात्रुलाई तिनको सहयोगका लागि कृतज्ञता स्वरुप केही दिने बर्षका रुपमा हामीले यस अवधिलाई लिएका छौँ ।’ कतार एयरवेजका चिफ कमर्शियल अफिसर एमब अमिनले भने ‘यसर्थमा हाम्रा ईकोनोमी तथा विजनेश क्लास क्याविनमा आकर्षक योजना उपलब्ध गराउँदै कार्य सम्पादनको सफल २० बर्ष साथमा मनाउँदै विभिन्न स्थानमा संगै जान पाउँदा हामी निकै खुशी छौँ ।’ २०औँ बार्षिकोत्सवको अवसरमा सार्वजनकि आकर्षक छुट योजनाका साथै कतार एयरवेजले आफ्ना सामाजिक सञ्जालहरुमा कात्तिक ९ गतेदेखि (अक्टोवर २६ देखि) २० दिने ट्वान्टि रिजन टु फ्लाई क्याम्पेन पनि सञ्चालन गरेको छ । क्याम्पेन अन्तर्गत २० बर्षको यात्राका दौरान कतार एयरवेजले हात पारेका महत्वपूर्ण सफलताहरु माथि प्रकाश पार्ने प्रयास गरिएको छ ।
हुम्लाका २०० कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र
हुम्ला । दशैं, तिहार र छठ पर्व मनाउन घर गएका हुम्लाका करिब दुईसय कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका छन् । हुम्ला फर्किन हवाईजहाजको टिकट नपाएपछि ती कर्मचारी नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका हुन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिँदै गएको अवस्थामा कर्मचारी हतार हतारमा आ–आफ्नो कार्यालय फर्किन थालेका थिए । तर अधिकांश कर्मचारी हवाईजहाजको टिकट नपाउँदा हप्तौँदेखि नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका मुख्य निर्वाचन अधिकृत अनिलकुमार शर्माले बताए । “कर्मचारी जिल्ला नआइसकेको अवस्थामा निर्वाचनमा खटिनेहरुको नामावली केन्द्रमा पठाउन सकिएको छैन,” उनले भने । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा कर्मचारी चाँडै फर्किन खोजेपनि हवाईजहाज उडान नियमित नहुँदा मारमा परेको बताए । जिल्ला समन्वय समितिका सचिव लोकबहादुर सुनारले हवाईजहाजको टिकटका लागि एक हप्ता नेपालगञ्ज बस्नुपरेको बताए । “बल्ल आज टिकट पाइयो र आउन सके, अरु कर्मचारी अलपत्र परेका छन्,” उनले भने । तारा, सीता र नेपाल एयरलाइन्सका विमानले नेपालगञ्ज र सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएपनि नियमित भने छैनन् । रासस
सेयर बजार निरन्तर ओरालो, ४२ करोडको कारोबार
काठमाडौं । यो साताको शुरु देखि नै सेयर बजार निरन्तर ओरालो तिर लागिरहेको छ । बुधबार पनि नेप्से परिसूचक ७ दशमलब ०२ अंकले घटेर १५२६ अंकमा पुगेको छ । बजारमा परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको देखिन्छ । सो दिन १५९ कम्पनीको १० लाख ३१ हजार कित्ता सेयर ४२ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ । सो दिन उत्पादन मूलक समूह र अन्य समूहको परिसूचक सामान्य अंकले उकालो लागेको छ भने बाँकी अरु समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समुहको परिसूचक ४९ अंकले ओरालो लागेको छ । आजदेखि नै छुट्टिएका विकास बैंक र लघुवित्त समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् । सो दिन विकास बैंक समूह १३ र लघुवित्त समूह १२ अंकले ओरालो लागेका छन् । बजारमा राष्ट्रिय बीमा कम्पनीको ३ करोड १० लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएका छन् । बुधबार उक्त सेयरको मूल्य प्रतिकित्ता १६ हजार ५१० रुपैयाँ रहेको छ । बुधबार मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य ९.८० प्रतिशतले बढेको छ । भार्गव विकास बैंकका लगानीकर्ताले भने ७ प्रतिशत गुमाएका छन् ।
बैंक खातामै नगद लाभांशः लगानीकर्ताले रुचाएनन् कि नियामकले चाहेनन् ?
काठमाडौं । ‘धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले लगानीकर्ताको बैंक खातामै नगद लाभांश दिने व्यवस्था मिलाउन भनेको धेरै समय बित्यो तर अझै अधिकांश लगानीकर्ता नगद लाभांश चेक मै माग्दै आउँछन्’, यो भनाई हो एनआइबिएल क्यापिटलका जनरल मेनेजर मेखबहादुर थापाको । थापाका अनुसार नियामकको कमजोर निर्देशन र बैंक खातामै नगद दिने व्यवस्था प्रति लगानीकर्तामा विश्वास बढाउन नसक्दा त्यस्तो भएको हो । ‘डिम्याट खाता अनिवार्य गर्न भनियो, लगानी कर्ता पनि ताते, हामीले पनि काम गर्यौ, तर बैंक खातामै नगद लाभांश दिनु भन्ने निर्देशन बाध्यात्मक भएन, त्यसैले लगानीकर्ताले पनि खासै चासो देखाएन र हामीले पनि सोचे जस्तो काम गर्न सकेनौं’, एनआइबिएल क्यापिटलका जनरल मेनेजर थापाले विकासन्युजसँग भने । एनआइबिएलबाट हालसम्म १५ प्रतिशत जति लगानीकर्ताले नगद लाभांश बैंक खातामै पाईरहेका छन् । बाँकी लगानीकर्ता भने अझै पनि नगद लाभांशका लागि चेक माग्दै आउने गरेको उनले जानकारी दिए । उता, धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले पनि बैंक खातामै नगद लाभांश दिनु भन्ने निर्देशन बाध्यात्मक नभएको बताए । ‘बैंक खातामै नगद लाभांश दिनु भन्ने निर्देशन बाध्यात्मक होइन, पुराना डिम्याट खाताहरु पनि धेरै छन, त्यसैले अभ्यास गर्दै जानुपर्छ भनेर नरम खालको निर्देशन दिएका हौं’, प्रवक्ता गिरीले भने । सिडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले पनि पुराना डिम्याट खातावालहरुले न्युन मात्रामा बैंक खाता अद्यावधिक गरेको बताए । ‘नयाँ डिम्याट खाताका लागि बैंक खाता अनिवार्य गरेका छौं तर पुराना खातावालहरुले बैंक खाता अद्यावधिक गर्न खासै रुचि देखाएका छैनन्’, सिडिएसका सिइओ गुप्ताले भने । कसले कहिले के भन्यो बैंक खातामै नगद लाभांश बारे ? नेपाल धितोपत्र बोर्डले २०७३ साल भदौ ७ गते नै लगानीकर्तालाई नगद लाभांश बैंक खातामै उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन दिएको थियो । सिडिएसले २०७३ चैत मसान्त भित्र पुराना डिम्याट खातावालाहरुलाई बैंक खाता उपलब्ध गराउन भनेको थियो । २०७३ साल पुस १२ गतेपछि खोलिएको डिम्याट खाताहरुमा बैंक खाता अनिवार्य गरिएको छ । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन २०७३ मार्फत नगद लाभांश बैंक खातामै उपलब्ध गराउने व्यवस्था गर्न भनेको थियो । के गर्नुपर्छ बैंक खातामै नगद लाभांश पाउन ? लगानीकर्ताले बैंक खातामै नगद लाभांश प्राप्त गर्नका लागि डिम्याट खाता र बैंक खाता अद्यावधिक गर्नुपर्छ । अर्थात २०७३ साल पुस १२ गते अघि नै खोलिएका डिम्याट खाता धनीहरुले बैंक खाता उपलब्ध गराउनु पर्छ । नयाँ डिम्याट खाता भने बैंक अकाउण्ट बिना खोल्नै नपाउने व्यवस्था छ । धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकको नरम निर्देशन र बैंक खातामै नगद लाभांश पाइने तथ्यमा लगानीकर्ता विश्वस्त नहुदा योजना अपेक्षाकृत रुपले सफल नभएको हो ।
राष्ट्रिय वाणिज्य बैंकको खुदनाफा ७१ करोड
काठमाडौं । सरकार स्वामित्वको राष्ट्रि वाणिज्य बैंकले ३ महिनामा २१ करोड रुपैयाँ नाफा बढाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकले ७० करोड ९५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५० करोड रुपैयाँ मात्र नाफा गरेको थियो । बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरणमा वित्तीय सुचक सकरात्मक देखिएका छन् । बैंकको निष्क्रय कर्जा २.९२, पुँजिगत लागत १.६७, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७१.७९, कर्जा निक्षेपबीचको ब्याजदर अन्तर ४.९५ र प्रतिसेयर आम्दानी (ईपीएस) २३.५४ प्रतिशत रहेको बैंकले जनाएको छ । समीक्षा अवधिमा बैंकको निक्षेप १ खर्ब ४८ अर्ब ३१ करोड रुपैयाँ छ । यस्तै कर्जा लगानी १ खर्ब ६ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । जगेडामा ३ अर्ब ८२ करोड र चुक्तापुँजी ८ अर्ब ५८ करोड ८९ लाख रुपैयाँ छ ।
३ महिनामा नविल बैंकको नाफा ८५ करोड, इपीएस घट्यो
काठमाडौं । नविल बैंकले चालु आर्थिक वर्षको पहिल त्रैमाशमा नाफा ६ करोड रुपैयाँ बढाएको छ । चालु आवको असोजसम्म बैंकले ८५ करोड १४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ८९ करोड २६ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशिक वित्तीय विवरणमा नाफा, कर्जा लगानी र निक्षेप परिचालन बढेको छ । चालु आवमा नाफा बढेपनि बैंककको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ४१ रुपैयाँ १० पैसामा सीमिति भएको छ । गत आवको सोही अवधिमा ५० रुपैयाँ ६७ र असारमा ५८ रुपैयाँ ४१ पैसा थियो । असारको तुलनामा असोजमा ईपीएस १८ रुपैयाँ घटेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर १.११ प्रतिशत पुगेको छ । गत आवको असारमा यस्तो कर्जा ०.८० प्रशित मात्र थियो । बैंकको पुँजीगत लागत बढेर ४.४० प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा १.८८ प्रतिशत र असारमा बढेर २.७० प्रतिशत पुगेको थियो । यस्तै बैंकको कर्जा निक्षेप अनुपात र प्राथमिक पुँजी (सीसीडी रेसियो) ७५.८३ र कर्जा निक्षेपबीचको ब्याज दर अन्तर (स्प्रेड) ४.८३ प्रतिशत रहेको बैंकले जनाएको छ । असोजसम्म बैंकले १ खर्ब २२ अर्ब ७९ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब २० करोड रुपैयाँ निक्षेप परिचालन गरेको थियो । यस्तै कर्जा लगानी ९४ अर्ब ९८ करोड रुपैयाँ छ । गत आवको सोही अवधिमा बैंकको लगानी ८३ अर्ब ५४ करोड रुपैयाँ थियो । बैंकको संचिति ६ अर्ब ९० करोड ५० लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा यस्तो संचिती ६ अर्ब २० करोड ७८ लाख रुपैयाँ थियो । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब ४ करोड ३२ लाख रुपैयाँ पुर्याएको छ ।
चिकित्सा शिक्षा अध्यादेश पेश भएको एक साता बितिसक्दा पनि राष्ट्रपतिबाट प्रमाणिकरण भएन्
काठमाडौं । सरकारले चिकित्सा शिक्षा अध्यादेश पारित गरेका एक साता बितिसक्दा पनि राष्ट्रपतिबाट अध्यादेश प्रमाणिकरण भएको छैन। प्रा.डा. गोविन्द केसीको माग सम्बोधन गर्नलाई सरकारले अध्यादेश पारित गरी ८ दिन अघि प्रमाणिकरणका लागि राष्ट्रपति कार्यलय पठाएको थियो । संसदबाट पारित गरिएको विधेयक पेश भएको केही दिनभित्रै प्रमाणिकरण हुने गरेकोमा चिकित्सा विद्ययेक एकसाता बढी भइसक्दा पनि प्रमाणिक नभएकाले फिर्ता आउने संभावना बढेको छ । राष्ट्रपतिबाट अध्यादेश जारीपछि कार्यान्वयनमा आउनेछ । अध्यादेश प्रमाणिकरण भएको ६ महिनामा संसदबाट पारित हुनुपर्छ । प्रस्तावित अध्यादेशमा निजी क्षेत्रलाई मेडिकल कलेज खोल्न निषेध गरेको छ । अध्यादेशमा एक विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल शिक्षण संस्थालाई सम्बन्धन दिन नसक्ने कानूनी व्यवस्था गरेपछि सरकार स्वामित्वको त्रिभुवन र काठमाडौ विश्वविद्यालयले नपाउने भएका छन् । प्रस्तावित अध्यायदेशमा नयाँ मेडिकल कलेज खोल्नका लागि थुप्रै अड्चनहरु राखिएका छन् । विश्वविद्यालयले एक जिल्लामा एक भन्दा बढी मेडिकल वा डेन्टल विषयका शिक्षण संस्थालाई सम्बन्धन दिन नपाउने व्यवस्था प्रस्तावित अध्यादेशमा गरिएको छ । स्वास्थ्य मन्त्रालयको स्वीकृतिपत्र लिई आफ्नै अस्पताल पूर्णरुपमा सञ्चालन गरेको ३ वर्षको अवधि पूरा भएपछि मात्र मेडिकल कलेज सञ्चालनका लागि अनुमति पाइने व्यवस्था गरिएको छ । नयाँ व्यवस्थाअनुसार मेडिकल कलेज खोल्ने लगानीकर्ताले पहिला अस्पताल सञ्चालन गरेपछि मात्र पाउने भएका छन् । काठमाडौं, ललितपुर र भत्तपुर जिल्लामा मेडिकल कलेज खोल्न प्रतिवन्ध लगाइएको छ । अध्यादेश कार्यन्वनमा आएको १० वर्षसम्म राजधानीको ३ जिल्लामा मेडिकल कलेज खोल्न सम्बन्धन नपाइने व्यवस्था गरिएको छ । १० वर्षसम्म कुनै पनि शिक्षण संस्थालाई सम्बन्धन दिइने वा चिकित्सा शिक्षा सम्वन्धी कुनै संस्था वा प्रतिष्ठान स्थापना नहुने स्पष्ट व्यवस्था गरिएको छ । नयाँ मेडिकल कलेजले कम्तीमा ३ सय तथा डेन्टल र नर्सिङतर्फ १ सय शैयाको अस्पताल पूर्ण रूपमा सञ्चालन नगरेसम्म सम्बन्धित विषयको कुनै कार्यक्रम सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ ।
१५० करोड लागतमा यस्तो बन्दैछ महानगरपालिकाको हरिभवन, तयार भयो डिजाइन
काठमाडौं । काठमाडौं महानगरपालिकाले बागदरबारस्थित हरि भवन पुननिर्माण गर्ने भएको छ । मंगलबार महानगरपालिकाले हरि भवनको डिजाइन सहितको स्केच तयार पारेको छ । महानगरले ४२ महिनाभित्रै कार्य सम्पन्न हुने गरी निर्माण गर्ने तयारी गरेको छ । २ लाख वर्ग फुट क्षेत्रफलमा निर्माण हुने यो भवनको १ सय ५० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । भवनको डिजाइन मौलिकता झल्कने प्रकारको रहेको महानगरपालिकाले जानकारी दिएको छ । भवनको बाहिरी मोहडा तीनवटा मौलिकता झल्कने गरी डिजाइन गरिएको छ । भित्री डिजाइनहरु भने आआफ्नै मौलिकता झल्कने प्रकारको रहेको महानगरपालिकाले जानकारी दिएको छ । नयाँ बन्ने भवन पुरानो बागदरबारको आकारमा तीन तल्लाको मात्र हुनेछ । यसको एतिहासिक मौलिकता कायम गर्न खोजिएको र यो ब्लक भित्र फिनिसिङहरु पनि पौराणिक शैलीमा निर्माण गरिएको छ । मल्लकालिन चोकहरु भवनभित्र चार वटा मल्लकालिन परम्परागत शैलीका चोकहरु हुनेछन् । ती चोकहरुले काठमाडौमा लोप हुँन गइरहेको पुरातात्विक चोकहरुको पूर्ण स्वरुप झल्कने गरी डिजाइन गरिएको महानगरले जानकारी दिएको छ । मोहडाको दोस्रो भागमा लिच्छवीकालिन शैलीको डिजाइन अनुसार तयार पारिएको छ । यो भवन साढे ६ तल्लाको हुनेछ । त्यस्तै तेस्रो भागमा महानगरपालिकाको छुट्टै पहिचान दिने भ्यू टावर पनि निर्माण गरिएको छ । १५ तल्लाको माथिल्लो तल्लाबाट उपत्यका लगायतका विभिन्न हिमश्रृंखला दृश्यावलोकन गर्न सकिने र विपद व्यवस्थापनका लागि बाइनाकुलर मार्फत महानगरपालिकाका घटनाक्रमहरु अवलोकन गरी विपद न्युनिकरण गर्न सकिने महानगरपालिकाले जानकारी दिएको छ । भवनभित्र सम्पूर्ण प्यासेज, लबी, कोठाहरुमा उज्यालो छिर्ने गरी डिजाइन तयार पारिएको छ । डिजाइनमा प्रदर्शनी हल, पुस्तकालय, लिफ्टको पनि व्यवस्था गरिएको छ । नयाँ बन्ने भवन अपाङ्ग मैत्री रहेको छ । यसमा अपाङ्गमैत्री र्याम्प र पार्किङको पनि व्यवस्था छ । त्यस्तै दृष्टिविहिनहरुका लागि फ्लोरहरुमा सांकेतिक टाईलको व्यवस्था गरिने छ भने लाइब्रेरीमा ब्रेल लिपि पुस्तकहरुको पनि व्यवस्था गरिने महानगरपालिकाले जानकारी दिएको छ । पार्किङ महानगरपालिकाका अनुसार पार्किङका सम्बन्धमा भूमिगत तल्लामा १ सय वटा गाडी र १ सय वटा मोटरसाइकल अट्ने सुविधा राखिनेछ । जसमा भविष्यमा अर्को १ तल्ला गाडीको पार्किङ थप्न मिल्ने पनि व्यवस्था गरिनेछ । ग्राउण्डमा भने ५० वटा गाडी र करिब २ सय वटा मोटरसाइकल अट्न सक्ने पार्किङको पनि सुविधा रहनेछ । संग्राहलय भवनमा काठमाडौं महानगरपालिका भित्रका पौराणिक कालदेखि लोप हुँदै गएका सम्पदा पुरातात्विक महत्वका वस्तुहरुको संरक्षण गर्न संग्राहलयको पनि व्यवस्था गरिनेछ। उक्त संग्राहलय सर्वसाधारणका लागि पनि खुला गरिने महानगरले जानकारी दिएको छ ।
नेप्से, सिडिएस, मर्चेण्ट बैंकर र ब्रोकरले कम्प्लाएन्स रिपोर्ट ६/६ महिनामा धितोपत्र बोर्डमा बुझाउनु पर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से), सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड(सिडिएस), मर्चेण्ट बैङ्कर्स र धितोपत्र दलाल व्यवसायीलाई संस्थागत सुशासनभित्र रहेर काम गर्न निर्देशन दिएको छ । बोर्डले नेप्से, सीडीएस, मर्चेन्ट बैङ्कर्स र धितोपत्र दलाल व्यवसायीलाई आर्थिक कारोबारको पूर्ण विवरण ६/६ महिनामा पेस गर्न निर्देशन दिएको छ । उक्त संस्थाहरुको संस्थागत सुशासनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले नियम परिपालनाको अवस्थालाई थप सुदृढ बनाउन सो निर्देशन जारी गरेको बोडद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । बोर्डको निर्देशन अनुसार नेप्से, सिडिएस, धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकरले अर्धवार्षिक रुपमा लेखापरीक्षकबाट प्रमाणित नियम परिपालना प्रतिवेदन (कम्प्लाएन्स रिपोर्ट) बोर्डमा पेश गर्नुपर्ने भएको छ । धितोपत्र सम्बन्धी ऐन र सो अन्र्तगत बनेका नियम, विनियम र निर्देशनहरुमा उल्लेखित संस्थाहरुको काम कारवाहीलाई व्यवस्थित तथा पारदर्शी बनाई संस्थागत सुशासन कायम गर्न विभिन्न व्यवस्थाहरु गरिएका छन् । यस व्यवस्थाबाट धितोपत्रबजार, धितोपत्र दलाल व्यवसायी तथा मर्चेन्ट बैकरको नियम परिपालनाको अवस्थामा सुधार भई उक्त संस्थाहरुको सेवा प्रवाह व्यवस्थित, अनुशासित एवं पारदर्शी हुनु गई समग्र धितोपत्रबजार थप सुदृढ हुने बोर्डको अपेक्षा रहेको छ ।
राष्ट्र बैंकले ९६ करोड मुद्धति निक्षेपमा राख्न माग्यो बैंकसंग प्रस्ताव
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफुसंग भएको ९६ करोड २३ लाख रुपैयाँ मुद्धति निक्षेपमा राख्ने भएको छ । मुद्धति निक्षेपमा राख्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थासंग प्रस्ताव आब्हान गरेको छ । केन्द्रीय बैंकले ७६ करोड ९८ लाख रुपैयाँ वाणिज्य बैंक, विकास बैंकमा १४ करोड ४४ लाख र वित्त कम्पनीमा ४ करोड ८० लाख रुपैयाँ निक्षेप राख्ने भएको हो । बैंकले आउदो आइतबार प्रस्ताव पेश गर्ने मिति तोकेको छ । यो मंसिरदेखि आउदो मंसिरसम्मका लागि केन्द्रीय बैंकले निक्षेप राख्न लागेको हो ।
नेसनल हाइड्रोपावरको नाफा ९५ लाख, संचित नोक्सान अझै ४२ करोड
काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा नाफा गरेको छ । ३ महिनामा कम्पनीले ९५ लाख रुपैयाँ नाफा गरेको छ । गत अर्थिक वर्षमा ५ करोड ५७ लाख रुपैयाँ नोक्सान व्योहरेको नेसनलले पहिलो त्रैमासमा नाफा गरेको छ । कम्पनीले नाफा गरे पनि संचित नोक्सान अझै ४२ करोड रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा चालु आवमा संचित नोक्सान घटेको कम्पनीले जनाएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशको वित्तीय विवरणअनुसार बिजुली बिक्रीबाट ५ करोड ३८ लाख रुपैयाँ आम्दानी गरेको छ ।
बाणिज्य बैंकले तत्काल ब्रोकर लाइसेन्स नपाउने, राष्ट्र बैंकले राख्यो २० प्रतिशतको सर्त
काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई तत्काल ब्रोकर लाइसेन्स नदिने भएको छ । बाणिज्य बैंकहरुले ब्रोकर लाइसेन्स मागेपछि राष्ट्र बैंकले निर्देशक हरिशरण केसीको संयोजकत्वमा अध्ययन समिति बनाएको थियो । सो अध्ययन समितिले केहि महिना अघि नै तत्काल बाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन नमिल्ने प्रतिवेदन राष्ट्र बैंक सञ्चालक समितिमा बुझाएको हो । ‘राष्ट्र बैंकले गठन गरेको अध्ययन समितिले तत्काल बाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन मिल्दैन भन्ने निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ’, राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने । श्रोतका अनुसार अध्ययन समितिले सेयर बजारमा बाणिज्य बैंकहरुकै हिस्सा ६० प्रतिशत रहेको अवस्थामा बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिन नहुने सुझाव दिएको छ । ‘विदेशमा पनि बाणिज्य बैंकलाई ब्रोकरको लाइसेन्स दिने चलन रहेछ तर बाणिज्य बैंकहरुको हिस्सा ६० प्रतिशत रहेको हाम्रो सेयरमा बाणिज्य बैंकलाई नै ब्रोकर लाइसेन्स दिँदा बजार गलत दिशामा जान सक्ने देख्यौं’, अध्ययन समिति श्रोतले विकासन्युजसँग भन्यो । अध्ययन समितिमा सहभागी एक अधिकारीले सेयर बजारमा बाणिज्य बैंकहरुको हिस्सा २० प्रतिशत भन्दा कम नभएसम्म बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिन नहुने स्पष्ट पारे । ‘हाम्रो जस्तो सेयर बजारको संरचना भएको मुलुकमा बाणिज्य बैंकलाई लाइसेन्स दिने चलन अरु देशमा पनि रहेनछ, हामीले पनि तत्काल बेला भएको छैन, अन्यथा बिकृति आउँछ भनेका हौं’, अध्ययन समिति श्रोतले भन्यो । उता, नेपाल धितोपत्र बोर्डका निर्देशक डा. नबराज अधिकारीले भने बाणिज्य बैंकका सहायक कम्पनीहरुको सेवामा कुनै गुनासो गर्ने ठाउँ नदेखिएकाले ब्रोकर लाइसेन्सका दिन सकिने धारणा राखे । ‘बाणिज्य बैंकका सहायक कम्पनीहरुले पुँजी बजार सम्बन्धी अहिलेसम्म दिएका सेवाहरुले पुँजी बजारलाई नकारात्मक प्रभाव पारेको देखिन्न, विदेशमा पनि बाणिज्य बैंकहरुले ब्रोकर सेवा दिएका छन, हाम्रोमा पनि दिन सकिन्छ भन्ने सुझाव हामीले दिएका थियौं’, बोर्डका निर्देशक डा. अधिकारीले विकासन्युजसँग भने । बोर्डले डा. अधिकारी कै नेतृत्वमा बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिन हुन वा नहुने भन्नेबारे आफ्नो धारणा राष्ट्र बैंकलाई दिएको थियो । अधिकारीले ब्रोकर लाइसेन्स पाउने बाणिज्य बैंकले आफ्नै सेयर कारोबार गर्न भने नपाउने व्यवस्था हुनुपर्ने सुझाव पनि दिएका थिए । बैंकर्स एसोसियसनले बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने माग गर्दै आएको थियो । बाणिज्य बैंकहरुको मागमा धितोपत्र बोर्ड भने सकारात्मक रहँदै आएको थियो । तर राष्ट्र बैंकले नै तत्काल ब्रोकर लाइसेन्स दिन नसकिने बताएपछि सहायक कम्पनी खोलेर ब्रोकर सेवा दिने बाणिज्य बैंकहरुको योजना तत्कालका लागि रोकिएको छ । बैंकलाई ब्रोकर लाइसेन्स नदिनका लागि ब्रोकर एसोसियसनहरुले पनि तिब्र लबिङ गर्दै आएका थिए । सेयर ब्रोकर नन्दकिशोर मुन्दडाले नेपालका सन्दर्भमा बैंकलाई ब्रोकर लाइसेन्स दिँदा स्वार्थ बाझिने दावी गरे । उनले बैंकलाई ब्रोकर लाइसेन्स दिन नहुने स्पष्ट पारे ।
घर किन्न एनएमबी बैंकले ल्यायो ३५ वर्षे कर्जा योजना, ब्याजदर १०.५ प्रतिशत
काठमाडौं । तपाईलाई घर बनाउन अथवा नयाँ घर किन्नलाई लामो अवधिको कर्जा सुविधा चाहिएको छ ? अब चिन्ता नगर्नुस तपाइको सम्पुर्ण समस्याको समाधान एनएमबी बैंकले गर्ने भएको छ । एनएमबी बैंकले नेपालमा पहिलो पटक ३५ वर्षसम्म लामो अवधिको घरकर्जा सुविधा ल्याएको छ । ग्राहकको सुविधा र सहजताका लागि भन्दै एनएमबीले दीर्धकालिन कर्जा योजना ल्याएको हो । बैंकले १०.५ प्रतिशत ब्याज लिने बताएको छ । यस्तै काठमाडौ उपत्यकामा ५० प्रतिशत र बाहिर ६० प्रतिशतसम्म कर्जा लगानी गर्ने छ । प्रक्रिया पुरा गरेको १० दिनम कर्जा पाइने बैंकले जनाएको छ । ३५ वर्ष लामो कर्जा सुविधा नेपालमा पहिलो पटक हो । बैंकले १० वर्षको हारहारीमा घरकर्जा दिदै आएका छन् । यसअघि एनएमबीले २५ वर्ष लामो अवधिको घरकर्जा ल्याएका थिए । बैंकले न्युनतम मासिक किस्ता, अतुलनिय ब्याज दर र लामो समयले आर्थिक भार कम हुने जानकारी दिएको छ ।
चिनी आयात रोक्न वा भन्सार कर ५०% बनाउन सरकारमाथि दवाब, उपभोक्तालाई मूल्य भार थपिदै
काठमाडौं । विदेशबाट चिनी आयात रोक्न चिनी उद्योगीले दबाव दिएका छन् । आयातित चिनीसँग प्रतिस्पर्धा गर्न नसकेको भन्दै आगामी आर्थिक वर्षदेखि चिनीको आयात बन्द गर्न उनीहरुले आपूर्ति मन्त्रालयसँग माग गरेका हुन् । नेपाल चिनी उद्योग संघले आगामी आर्थिक वर्षदेखि चिनीको आयात पूर्णरुपमा बन्देज लगाउन माग गर्दै आपूर्ति मन्त्रालयमा सोमबार निवेदन दिएको छ । संघले आयातित चिनीको भन्सार महसुल पनि ३५ प्रतिशतले बढाउन प्रस्ताव गरेको छ । हाल १५ प्रतिशतसम्म रहेको भन्सार महसुललाई बढाएर ५० प्रतिशत पुर्याउनुपर्ने उनीहरुले प्रस्ताव गरेका छन् । साल्ट ट्रेडिङले आयात गर्ने चिनी सिमावर्ती क्षेत्र अन्तर्गत विरगञ्जमा ७९ रुपैयाँ प्रति किलो छ भने उपत्यकामा ८२.५ रुपैयाँमा बिक्री गरिरहेको छ । नेपालमा चिनीको लागत नै ७४.०२ रुपैयाँ प्रतिकिलो पर्ने र ९० रुपैयाँसम्ममा बिक्री गरिरहेको छ । अन्तराष्ट्रिय बजारमा चिनी तुलनात्मक रुपमा सस्तो भएकाले आयातित चिनीसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने उनीहरुको भनाई छ । कालोबजारीका कारण बजारमा चिनीको अभाव भएपछि सरकारले साल्ट ट्रेडिङलाई चिनी आयात गरेर सस्तोमा बेच्न अनुमति दिएको छ । अन्तराष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ ११० रुपैयाँबाट घटेर १०३ पुगेको र चिनीको मूल्य पनि १८० अमेरिकी डलरले घटेको उद्योगीले जानकारी दिएका छन् । गत जेठमा मन्त्रालयले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग अन्तर्गत मूल्य लागत विश्लेषण समिति गठन गरेको थियो । उक्त समितिले चिनी उद्योगले बजारमा कृत्रिम अभाव गराएर सर्वसाधारणबाट चर्को मूल्य असुल्ने तथ्य सहितको प्रतिवेदन मन्त्रालयलाई बुझाएको थियो । त्यसपछि उद्योगीले आयातित चिनीको आयात महशुल बढाउन लबिङ गरिरहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । चिनीको प्रमुख कच्चा पदार्थको रुपमा रहेको उखुँको मूल्य बढाएकोमा उद्योगीले सरकारको आलोचना गरेका छन् । उँखुको भाउ बढ्नाले स्वदेशी उत्पादनको चिनीको भाउ महंगो भएको उनीहरुको दाबी छ । सरकारले प्रति क्विन्टल ४ सय ४८ रुपैयाँ रहेको उँखुको भाउ बढाएर ५ सय ३१ रुपैयाँ कायम गरेको थियो । कृषि मन्त्रालयको तथ्यांक अनुसार गत आर्थिक वर्षमा चिनीको उत्पादन १ लाख २९ टन चिनी उत्पादन भएको थियो । यद्दपी देशभरको वार्षिक माग साढे दुई लाख टन रहेको छ । स्वदेशी उत्पादनले मात्रै माग धान्न नसक्ने भन्दै साल्ट ट्रेडिङ कोर्पोरेशनका विभागीय प्रमुख ब्रजेश झाले चिनीको आयात बन्द गर्ने प्रस्तावको विरोध गरेका छन् । उनले भने, ‘सरकारले आयातमा प्रतिबन्ध लगाउनुपर्ने भए उद्योगीले पनि माग धान्न सक्ने आधार देखाउनुपर्छ । अहिलेसम्म त स्वदेशी उत्पादनले धानेको अवस्था छैन ।’ नेपालले भारत लगायत बंगलादेश र पाकिस्तानबाट पनि चिनीको आयात गरिरहेको साल्ट ट्रेडिङले जानकारी दिएको छ । उद्योगीले आयातित चिनीलाई छाडेर बरु सरकारसँग अनुदानको माग गर्नु उपयुक्त हुने झाको भनाई छ । व्यवसायीकाे माग अनुसार अायात बन्द भएमा वा भन्सार कर बढाएमा त्यसकाे माग उपभाेक्तामा थपिने निश्चित छ ।
एनबीआईले सिद्धार्थ बैंकका कर्मचारीलाई विभिन्न तालिमहरु उपलब्ध गराउने
काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट(एनबीआई)ले सिद्धार्थ बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने भएकाे छ । जसका लागि सिद्धार्थ बैंकले एनबीआईबाट ५० लाख रुपैयाँ बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ । यी दुई संस्थाले कर्मचारीको दक्षता अभिबृद्धि सम्बन्धि विभिन्न तालिम कार्यक्रम संचालन गर्ने सम्झौता पत्रमा गरेका छन् । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम र एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर गरेका हुन् । हाल बैंक ग्राहकको सेवा र सुविधाका लागि ७७ शाखा, ३ एक्स्टेन्सन काउन्टर १०३ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ५५० भन्दा बढी पीओएस मार्फत् उच्चस्तरिय बैंकिंग सेवा प्रदान गर्दै आएको छ ।