नेपाल बंगलादेश बैंकको नाफा ७ करोड र ईपीएस २० रुपैयाँ घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा नेपाल बंगलादेश बैंकको नाफा ७ करोड रुपैयाँ घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकले १५ करोड ४० लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २२ करोड ५० लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशिक वित्तीय विवरणमा वित्तीय अवस्था सन्तोषजनक देखिएको छैन् । नाफा घटेर पु्ँजी बढेपछि प्रतिसेयर आम्दानी (ईपीएस) २० रुपैयाँ घटेर ८ रुपैयाँमा सीमित भएको छ । गत असारमा बैंकको ईपीएस २८ रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.७३ प्रतिशत मात्र छ । बैंकको पुँजीगत लागत बढेर ७.९६, कर्जा निक्षेप ब्याज अन्तर ७४, आधार दर ११.३९ र कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ३.४० प्रतिशत रहेको बैंकले जनाएको छ । गत असारको तुलनामा बैंकको निक्षेप परिचालन घटेर ४२ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा निक्षेप ४३ अर्ब ३७ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी सामान्य बढेर ३८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । असारमा कर्जा ३७ अर्ब ४६ करोड रुपैयाँ थियो । बैंकको संचित कोषमा २ अर्ब ५० करोड रुपैयाँ छ । चुक्तापुजी ८ अर्ब ८ करोड रुपैयाँ छ ।

सिभिल बैंकको नाफा घट्यो, खराब कर्जा बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सिभिल बैंकको नाफा ३ करोड रुपैयाँ घटेको छ । चालु आवको ३ महिनामा बैंकले ११ करोड ३३ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १४ करोड ५५ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशको वित्तीय विवरणमा नाफा घटेको जानकारी गराएको हो । बैंकले बढ्दो ब्याजदर र कर्जा जोखि व्यवस्थाले नाफा घटेको बैंकले जनाएको छ । बैंकको नाफा घटे पनि बैंकले ३ महिनामा प्रतिसेयर आम्दानी (ईपीएस) बढाएर ८ रुपैयाा ४९ पैसा पुर्याएको छ । गत असारमा यस्तो आम्दानी ६ रुपैयाँ ५२ पैसा थियो । यस्तै ३ महिनामा बैंकको खराब कर्जा बढेर ४.६९ प्रतिशत पुगेको छ । गत असारमा यस्तो कर्जा ४ प्रतिशत थियो । बैंकको लगात बढेर ८, कर्जा निक्षेप अनुपात ७६.४८, आधार दर ११.५५ प्रतिशत पुगेको छ । समीक्षा अवधिसम्म बैंकको निक्षेप परिचालन ३४ अर्ब २४ करोड रुपैयाँ छ । गत असारमा बैंकको निक्षेप ३४ अर्ब ११ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकले निक्षेप बढाउन सकेको छैन् । कर्जा लगानी बढेर ३० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । गत असारमा २९ अर्ब ४९ करोड रुपैयाँ थियो । बैंकको संचित कोषमा १ अर्ब ७५ करोड ६२ लाख रुपैयाँ छ । चुक्तापुँजी बढेर ५ अर्ब १८ करोड ५२ लाख रुपैयाँ छ । बैंकले चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याउन ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै छ ।

गोकर्ण बिष्टको घोषणाः अर्काे बर्षदेखि वृद्ध भत्ता पाँच हजार

गुल्मी । । नेकपा(एमाले)का सचिव गोकर्ण विष्टले सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याउने बताएका छन् । स्थिर सरकार र समृद्धीका लागि बाम गठबन्धन निर्माण भएर भएर चुनावी मैदानमा रहेकाले अब बन्ने सरकारले सामाजिक सुरक्षा भत्ता ५ हजार बनाउने बताएका हुन । गुल्मीको प्रतिनिधी सभा क्षेत्र नम्वर २ का बाम गठबन्धनका उम्मेदवार समेत रहेका विष्टले वृद्ध, अपाङ्ग, दलित, महिला जनजाती लगायत सवै क्षेत्रको सबिधानमा लेखिएका अधिकारहरु ब्यवहारमा लागु गर्नका लागि वाम गठबन्धन निर्माण भएकाले निर्वाचन पछि बन्ने सरकारले सामाजिक सुरक्षा बृद्धि गर्ने दावी गरे । आईतबार बिहान वाम गठबन्धन मुसिकोट नगरपालिका वामीटक्सारले आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गदै उनले निर्वाचनमा वाम गठबन्धनको दुई तिहाई बहुमत आउने दावी गदै त्यसपछि बन्ने सरकारले सामाजिक सुरक्षा बृद्धि भई ५ हजार पुग्ने ठोकुवा गरेका हुन । ‘अहिले बृद्ध भत्ता मासिक २ हजार छ ’, उनले भने,‘ यसलाई बढाएर मासिक ५ हजार बनाउन कुनै समस्या छैन ।’ साथै उनले देशलाई सम्पन्न मुलुकका रुपमा चिनाउन र यहाँका जनताको जिवनस्तर माथी उठाउनका लागि यो वाम एकता भएको स्पष्ट पारे । उनले १ स्थानीय तहमा १ उद्योग सञ्चालन गर्ने, टेक्निकल शिक्षालय स्थापना गर्ने, प्रत्येक घरमा खानेपानीको धारा, सिचाई, अस्पताल निर्माण लगायतमा नयाँ ढगंले विकास गर्नका लागि पनि आफु गुल्मी क्षेत्र नम्बर २ वाट प्रतिनिधी सभा निर्वाचनका उम्मेदवार भएको बताए । साथै उनले बिएसम्म निःशुल्क शिक्षा प्रदान गर्ने समेत बताए । नेता विष्टले कार्यक्रमलाई सम्वोधन गदै मुसिकोट नगरपालिकाको गूरु योजना निमार्ण गर्ने काम अगाडि बढीरहेको जानकारी गराउदै गूरु योजना सम्पन्न भएपछि मुसिकोट नगरपालिका देशकै नमुना बन्ने बताए । ‘म आफु जनताको काम गर्नका लागि सेवकको रुपमा उपस्थित भएको छु’ विष्टले भने ‘मैले राजनितीलाई गफको रुपमा हैन, जनताको विकास र समृद्धीसगँ बुझेको छु ।’

कार्यालय प्रयोजनबाहेक बाणिज्य बैंकका कर्मचारीलाई इन्टरनेटमा बन्देज

काठमाडौं । सूचना प्रविधि (आईटी सेक्युरिटी) सुरक्षाको कारण देखाउँदै बाणिज्य  बैंकहरुले कर्मचारीलाई कार्यस्थलमा इन्टरनेट प्रयोगमा रोक लगाएका छन् । ह्याकरले स्वीफट ह्याक गरी एनआईसी एसिया बैंकबाट करोडौ रुपैयाँ चोर्ने प्रयास गरेपछि सुरक्षा जोखिम देखाउदै सबै बैंक व्यवस्थापनले कर्मचारीलाई कार्यालयको काम बाहेक अन्य इन्टरनेट सेवा चलाउन नपाउने व्यवस्था गरेका हुन् । कर्मचारीको कामको प्रकृति हेरेर आवश्यकता अनुसार मात्रै इन्टरनेटमा पंहुच दिइएको छ । केही बैंकले यसअघि नै कर्मचारीलाई इन्टरनेटको पंहुच बाहिर राखेका थिए । एनआइसी एसिया बैंकको स्वीफ्ट ह्याक प्रकरणपछि भने अधिकांश बाणिज्य बैंकहरुले कडाई गरेका हुन् । बैंकका कर्मचारीले फेसबुक, ट्विटर, यूट्युव लगायतका सामाजिक सञ्जाल र इमेल तथा गुगल जस्ता सर्च इञ्जिन प्रयोगमा बन्देज गरिएको छ । सीमित व्यक्तिलाई मात्र इन्टरनेट सुविधा भएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले स्वीकार गरेका छन् । बैंकले काम सकिएपछि रात्रीकालिन समयमा दैनिक १२ घण्टासम्म स्वीफ्ट प्रणाली बन्द (डाउन) गरिरहेका छन् । स्वीफ्ट ह्याकको संभावना रहेको भन्दै यसको प्रणालीलाई राती डाउन गर्न थालिएको हो । कर्मचारीलाई कार्यलयको काम बाहेक अन्य काम गर्न इन्टरनेट सुविधा बन्द गरिएको जनता बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) परर्शुराम क्षेत्री बताउँछन् । साइबर ह्याक बढ्दै गएकाले सुरक्षाका लागि इन्टरनेट पंहुच हटाइएको उनको भनाई छ । आवश्यकताअनुसार कार्यालयको काम परेमात्र लिंक दिने गरेको क्षेत्रीले जानकारी दिए । ‘साइबर सेक्युरटीको जोखिम बढेपछि इन्टरनेट प्रयोगमा कडाई र निगरानी गरेका हौं’, जनता बैंकका सिइओ क्षेत्रीले भने । माछापुच्छ्रे बैंकका सीईओ निरजकुमार श्रेष्ठले पनि एनआईसी एसियामा ह्याक भएपछि सुरक्षाको कारण कर्मचारीलाई इन्टरनेट पंहुच बन्द गरिएको बताए । सुरक्षाका कारण कर्मचारीलाई कार्यालय प्रयोजन बाहेक अन्य कामका लागि इन्टरनेट चलाउन नसक्ने व्यवस्था गरिएको उनको भनाई छ । मेल पठाएर ह्याकरले प्रणालीलाई ह्याक गरी पैसा चोर्नेलगायत जाेखिम देखिएपछि इन्टरनेट सुविधा नदिएको श्रेष्ठ बताए । आवश्यक व्यक्तिले बैंकको सफटवेयर मात्र सञ्चालन गर्न पाउने छन् । उनले बैंक डिजिटल डाटा सुरक्षा जटिल बन्दै गएकाले पंहुचमा कडार्इ गर्नु परेकाे बताए । धेरै अघिदेखि कर्मचारीलाई इन्टरनेट सेवा बन्द गरिएको स्ट्याण्डर्ड चाटर्ड बैंकका ब्राण्ड तथा संस्थागत मामिला प्रमुख दीवाकर पौडेल बताए । “हामी ग्लोबल प्रणालीअनुसार सञ्चालन हुने भएकाले सोही अनुसार बैंकिङ सुरक्षा प्रणाली रहेको छ” उनले भने “बैंकमा कुनै पनि कर्मचारीले इन्टरनेट प्रयोग गरेर फेसवुक, ट्विटर, गुगल र इमेल खोल्न सक्दैनन् ।” ग्लोबल आइएमई बैंकका सीईओ जनक शर्माले पनि बैंकले सुरक्षा प्रणालीलाई अझ मजबुत बनाएको बताए । विकासन्युजसंग कुरा गर्दै उनले आइटी सुरक्षामा बैकले जोड दिएको बताए । एनआईसी एसियाका सीईओ लक्ष्मण रिसाल आईटीको प्रयोग गर्दा यसको जोखिम, डिजिटल डाटाको सुरक्षाको बारेमा होसियार र चनाखो हुनु पर्ने बताउँछन् । ‘अपरिचित इमेल नखोल्न, आए त्यसलाई डिलेट गर्न, बारम्बार यस्ता इमेल आएमा आइटी शाखालाई जानकारी गराउन कर्मचारीसलाई निर्देशन दिएका छौं’, रिसालले भने । राष्ट्र बैंकले बैंकलाई आईटी सुरक्षाको तालिम दिने आइटी प्रणालीको सुरक्षा कमजोर भएको भन्दै नियामक नेपाल राष्ट्र बैंकले आइटी सुरक्षाको जानकारी गराउने भएको छ । साइबरमाथिको जोखिम बढ्दै गएपछि राष्ट्र बैंकले आइटी विज्ञलाइ ल्याएर सुरक्षाको बारेमा जानकारी गराउन लागेको हो । यसका लागि राष्ट्र बैंकले काम थालेको प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । एक महिनाभित्र बैंकका आइटी अधिकारीलाई तालिम दिने उनले जानकारी दिए । राष्ट्र बैंकले आइटीको विषयमा पहिला नै निर्देशिका ल्याइसकेको उनले बताए ।  

नेप्से परिसूचक १४९६ अंकमा, ६३ करोडको सेयर कारोबार

काठमाडौं । आइतबारको सेयर बजारमा भारी गिरावट आएको छ । बजार खुलेको केही समय पछि निरन्तर दोहोरो अंकले ओरालो लागेको नेप्से बजार बन्द हुँदा २६.३५ अंकले ओरालो लागेर १४९६ अंकमा झरेको छ । नेप्से परिसूचकमा गिरावट आएता पनि सेयर कारोबारमा भने केही वृद्धि भएको छ । सो दिन १५९ कम्पनीको ६३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक १५७ अंकले ओरालो लागेको छ । होटल र फाइनान्स समूह क्रमशः ९ र ६ अंकले घटेका छन् । ट्रेनिङ समूहको परिसूचक २ अंकले उकालो लागेको छ भने बाँकी समूहको परिसूचक दोहोरो अंकले राताम्मे भएका छन् ।

सिर्जना फाइनान्सले ३२ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी ४० करोड नाघ्ने

काठमाडौं । सिर्जना फाइनान्सले आफ्ना सेयरधनीलाई ३२.५० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत वर्षको मुनाफाबाट चुक्ता पुँजीको सो मात्राको(कर प्रयोजनको लागि नगद लभांश सहित) बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको कात्तिक ६ गते बसेको कम्पनीको १७७औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ । जसमा ३२.५० प्रतिशत बोनस वितरण पश्चात कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ नाघ्ने छ ।

माथिल्लो त्रिशूली थ्री ए आयोजना १ वर्षभित्र सक्न विद्युत् प्राधिकरणको ताकेता

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत आयोजना तोकिएको समय अघिनै सम्पन्न गर्न ताकेता गरेको छ । ऊर्जासचिव एवम् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष अनुपकुमार उपाध्याय, कार्यकारी निर्देशक कुलमान घिसिङ, ऊर्जा मन्त्रालयका योजना तथा कार्यक्रम महाशाखा प्रमुख प्रवीण अर्याल र उत्पादन निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक हरराज न्यौपाने सहितको टोलीले शनिबार स्थगलत निरीक्षण गरी अर्को वर्षको हिउँदमा विद्युत उत्पादन हुने गरी काम गर्न निर्देशन दिएका हुन् । टोलीले आयोजनास्थलमै ठेकेदार कम्पनी, भूकम्प र पहिरो क्षति पुर्याएको बा“ध स्थलको दाया“–बाया“ र प्रवेश मार्गको विभिन्न स्थानमा गएको पहिरोको रोकथाम र सडक मर्मतको जिम्मा पाएको नेपाली सेना र परामर्शदाता कम्पनीबीच छलफल गरेको थियो । टोलीले तोकिएको समयभन्दा अगाडिनै निर्माण सम्पन्न गर्न आवश्यक सहयोग गर्ने र ठेकेदार कम्पनीहरुले पनि तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । ‘माथिल्लो त्रिशुली थ्री एलाई सरकारले उच्च प्राथमिकता दिएर विशेष निगरानीमा राखेको छ, त्यसैले तोकिएको समयभन्दा अघि नै आयोजनाको निर्माण सकिनु पर्छ’, सचिव उपाध्यायले भने,‘निर्माण आउने अवरोध तथा समस्या समाधानका लागि मन्त्रालय र प्राधिकरण सञ्चालक समिति सँधै तयार छ ।’ भुकम्प र पहिरोले काबु बाहिरको परिस्थिति (फोर्स मेजर) उत्पन्न भएपछि प्राधिकरणले आयोजनाको म्याद ०७६ बैशाख १७ गतेसम्म अर्थात (३० अप्रिल २०१९) सम्म थप गरेको छ । प्रसारण लाइन निर्माण सहितको समग्र निर्माण प्रगति ६५ प्रतिशत रहेको आयोजनाले जनाएको छ । लागत सय समय बढ्न नदिन इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत्गृह, बा“ध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)स“ग ०६८ जेठ अर्थात सन् २०११ जुनबाट कार्यान्वयमा आएको थियो । ३५ महिनामा काम सक्ने गरि सिजिजिसीस“ग ठेक्का सम्झौता भएको थियो । समयमा निर्माण स्थल दिन नसक्दा, विद्युत गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय लगायतका कारणले आयोजनाको निर्माण ढिलाई भएपछि २०७३ असार १६ गतेसम्म म्याद थपिएको थियो । भुकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै प्रभावित भएको थियो । ठेकेदार कम्पनीले अहिले करिव ३ सय जना कामदार परिचालन गरी काम गरिरहेको छ । मुख्य संरचना, प्रसारण लाइन, भूकम्प र पहिरो क्षति पुर्याएको बा“ध स्थलको दाया“–बाया“ र प्रवेश मार्गको विभिन्न स्थानमा गएको पहिरोको रोकथाम तथा सडक मर्मतको काम एकसाथ भइरहेको छ । कार्यकारी निर्देशक घिसिङले आयोजनाको कामलाई तिब्रता दिन अहिले कुनै समस्या नरहेको बताए । ‘चिनियाँ एक्जिम बैकले ऋणको अवधि थप भइसकेको छ,सेनाले पनि काम सुरु गरिसकेको छ’,उनले भने,‘अर्को वर्षको फेब्रुअरीभित्र विद्युत उत्पादन गर्ने गरी काम हुनुपर्छ, त्यस समयमा निर्माण सकिएमा हिउँदको विद्युत माग व्यवस्थापन गर्न भारतबाट विजुली ल्याउनु पर्दैन, जुन मुलुकका लागि ठूलो उपलब्धि हो ।’ घिसिङले निर्माणमा थप जनशक्ति परिचालन गर्न र निर्माणको समन्वयका लागि आयोजना, ठेकेदार कम्पनीहरु र परामर्शदाता कम्पनीबीच हरेक हप्ता बैठक बसी समस्या समाधान गर्न निर्देशन दिए । आयोजनाले निर्माण गरिहेको त्रिशली ३ ए–मातातिर्थ २२० केभी प्रसारण लाइनको एक सय ४२ वटा टावरमध्ये अहिलेसम्म ९१ वटाको जग हालिएको छ । लाइन निर्माणमा केही ठाउँमा भइरहेको अवरोध हटाउन सुरक्षाकर्मी समेत परिचालन गरिने कार्यकारी निर्देशक घिसिङले बताए । आयोजना सरकार तथा प्राधिकरणको लगानी र चीनियाँ एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको हो । आयोजनाको काम नसकिदै ५ वर्षको ब्याज तिर्नु नपर्ने अवधि (ग्रेस पिरियड) सकिएर ऋण तिर्ने समय सुरु भएको थियो । एक्जिम बैकले केही अघि म्याद थप गरेको थियो । आयोजनाका लागि चीनले एक्जिम बैंकमार्पmत ११ करोड ५७ लाख अमेरिकी डलर ऋण दिएको थियो । पहिरो क्षति पुर्याएको बा“ध स्थलको दाया“–बाया“ र प्रवेश मार्गको विभिन्न स्थानमा गएको पहिरोको रोकथाम र सडक मर्मत आगामी चैत्रभित्रमा सक्ने गरी काम भइरहेको सेनाले जनाएको छ ।

सामाजिक सेवामा ४५ करोड खर्च गर्ने योजना बनाउँदै बाणिज्य बैंकहरु

काठमाडौं । २८ वटा बाणिज्य बैंकहरु यतिबेला ४५ करोड २५ लाख रुपैंया खर्च गर्ने योजना बनाउन तल्लिन छन् ।  नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशिका २०७४ मार्फत नाफाको न्यूनतम एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोष मार्फत खर्च गर्नुपर्ने व्यवस्था ल्याएपछि बैंकहरु योजना निर्माणमा जुटेका हुन्। कुन बैंकले कति खर्च गर्दैछन्? गत आर्थिक बर्षमा २८ वटा बाणिज्य बैंकहरुले ४५ अर्ब २५ करोड नाफा कमाएका थिए । सो नाफाको एक प्रतिशत वापत हुने ४५ करोड २५ लाख रुपैंयाँ संस्थागत सामाजिक दायित्वको क्षेत्रमा खर्च गर्नुपर्नेछ । एकिकृत निर्देशिकामा बैंक तथा वित्तिय संस्थाले आफ्नो कुल मुनाफाको एक प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायीत्व कोष खडा गरि वार्षिक रुपमा खर्च गर्नुपर्ने र सो को विवरण नेपाल राष्ट्र बैंकलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ । ‘बैंकले यस अघि पनि संस्थागत सामाजिक उत्तरदायित्वका लागि काम गरेका थिए, तर त्यो एक प्रतिशत बराबरको रकम थिएन, अब भने न्यूनतम एक प्रतिशत अनिवार्य भएको छ’, बैंकर्स एसोसियसनका अध्यक्ष अनिल शाहले भने । राष्ट्र बैंकले सामाजिक परियोजना अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक सम्वद्र्धन, दुर्गम क्षेत्रमा पुर्वाधार सुधार, पिछडिएका वर्गको आय आर्जन क्षमता अभिवृद्धि, वित्तिय साक्षरता, ग्राहक संरक्षण लगायतका काममा बिशिष्टकृत संस्थाहरुबाट सार्वजनिक सूचना मार्फत प्रस्ताव माग गरेर काम गर्नुपर्ने उल्लेख छ । प्रत्यक्ष अनुदान खर्चका लागि अति विपन्न वर्गको शिक्षा तथा स्वास्थ्यमा हुने खर्च व्यहोरीदिने गरि हुने प्रत्यक्ष अनुदान वा त्यस्ता काममा क्रियाशिल संघ संस्थाहरुको भौतिक संरचना निर्माणमा उपलब्ध गराउन सकिने व्यवस्था छ । त्यस्तै, दिगो विकास लक्ष्य(२०१६–३०) ले पहिचान गरेका १७ वटा क्षेत्रमा तोकिएको लक्ष्यहरुको प्राप्तिमा सहयोग गर्न सकिनेछ भने बैंक तथा वित्तिय संस्थाले आफ्नो संस्थामा क्रियाशिल कर्मचारीका सन्तानहरुका लागि बाल हेरचार केन्द्र व्यवस्थापन गर्न पनि सक्नेछन् । ‘नाफा कमाउने कम्पनीहरुले सामाजिक उत्तरदायित्वका लागि पनि आफ्नो आम्दानीको न्युनतम एक प्रतिशत खर्च गर्नुपर्छ भनेर अनिवार्य व्यवस्था ल्याएका हौं’, नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने । उनले बैंक तथा वित्तिय संस्थाहरुले सामाजिक उत्तरदायित्व कोषमा रकम जम्मा गरेर कार्यान्वयनको योजना बनाईरहेको र खर्चको विवरण आर्थिक बर्षको अन्तिममा बुझाउने स्पष्ट पारे । बैंकर्स संघका अध्यक्ष शाहले बैंकहरुले कर्मचारीहरुको सलंग्नतामा फाउण्डेसनहरु बनाएर धमाधम खर्च गर्ने अभियान चलाईसकेको दावी पनि गरे । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पनि सामाजिक उत्तरदायित्व कोषको रकम खर्च गर्ने योजना बनाईरहेको बताए । ‘हामीले यस अघि ७०÷७५ लाख रुपैंयाँ सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएका थियौं, अब एक करोड २५ लाख जति पुग्ने अवस्था छ, हामी धमाधम कार्यक्रम बनाईरहेका छौं’, दाहालले भने ।

३ महिनामा बैंक अफ काठमाण्डुको नाफा ५ करोड घट्यो

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडको नाफा ५ करोड रुपैयाँ घटेको छ । चालु आर्थिक वर्षको ३ महिनामा बैंकले २२ करोड ४० लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले २७ करोड ९ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले चालु आवको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा घटेपछि प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १५.९२ रुपैयाँमा झरेको छ । गत असारमा बैंकको ईपीएस २२ रुपैयाँ थियो । चालु आवको ३ महिनामा खराब कर्जा बढेर २ प्रतिशत पुगेको छ । गत असारमा यस्तो कर्जा १.४६ प्रतिशत थियो । यस्तै बैंकको लागत ७.७८, सीडी रेसियो ७७.३९, आधार दर १०.६८ र स्प्रेड दर ३.८३ प्रतिशत रहेको बैंकले जनाएको छ । गत असारको तुलनामा बैंक निक्षेप झण्डै ३ अर्ब रुपैयाँ घटेर ६९ अर्ब १५ करोडमा सीमित भएको छ । गत असारमा निक्षेप ७२ अर्ब १३ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि घटेको छ । असोजसम्म बैंकले ६२ अर्ब ३२ करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा बैंकको निक्षेप ६२ अर्ब ५४ करोड रुपैयाँ थियो । बैंकको संचित कोष बढेर ३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको चुक्तापुँजी ५ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

पुनःनिर्माणलाई तीव्रता दिन प्राधिकरणकाे २८ बुँदे घोषणापत्र

काठमाडौ । भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २८ बुँदे घोषणापत्र जारी गरेको छ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका स्थानीय तहका पदाधिकारीसँगको अन्तरक्रियापछि प्राधिकरणले २८ बुँदे घोषणापत्र जारी गरेको हो । घोषणापत्रमा प्राविधिकलाई दिने तलबभत्ता स्थानीय तहमै पठाउने उल्लेख गरिएको छ । पुनःनिर्माणका क्रममा उत्कृष्ट काम गर्ने स्थानीय तह र कर्मचारीलाई पुरस्कृत गर्ने, भूकम्प प्रभावित जिल्लाका पीडितले घर भत्किएको स्थानमा कुनै कारणले बनाउन नसक्ने भए अर्को जोडिएको जिल्लाको स्थानीय तहमा मात्र बनाउन पाउने घोषणा गरेको छ । घोषणामा भूकम्पपीडित लाभग्राहीको खातामा रकम हाल्न तोकिएका बैंकलाई चेक प्राप्त भएको दुई दिनभित्र पैसा जम्मा गरिसक्नुपर्नेलगायत २८ बुँदा छन् । अन्तरक्रियामा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आउँदो वर्षाअघि ६० प्रतिशत भूकम्पपीडितलाई स्थायी घरको छानामुनि ल्याउने लक्ष्य भए पनि स्थानीय तह र कर्मचारीलाई ८० प्रतिशत नाघ्ने गरी काम गर्न अनुरोध गरे । रासस

सनराइज बैंकको नाफा ५ करोड घट्यो

काठमाडौं । सनराइज बैंकको नाफा पाँच करोड रुपैंयाले घटेको छ । गत आवको पहिलो त्रैमासिकमा २५ करोड ३१ लाख नाफा कमाएको बैंकको नाफा यसपाली २० करोड ३७ लाखमै खुम्चिएको हो । बैंकले ६० अर्ब निक्षेप संकलन गरेर ५४ अर्ब कर्जा प्रवाह गर्दा एक अर्ब ६८ करोड ब्याज आम्दानी र एक अर्ब १६ करोड ब्याज खर्च गरेको देखिन्छ । सनराइज बैंकको खराब कर्जा १.४९ प्रतिशत रहेको छ भने १५ करोड प्रोभिजन गरेको छ । बैंकको प्रति सेयर आम्दानी ९.९९ रुपैंयाँ तथा प्रति सेयर नेटवर्थ १२१.०६ पैसा रहेको छ ।

सेयर बजारलाई विश्वास गरौं, सकरात्मक सोचौं, सुनौलो दिन आउदै छन्

एक समयको कुरा हो सुमन र निरोज एकदम मिल्ने साथि थिए । दुबै जना असाध्यै बहादुर, दुःखीलाई सहयोग गर्ने र घुमफिर गर्न मन पराउथे । एक दिन गर्मिको समयमा दुबै जना माछा खान दोलालघाट पुगे । माछा खादै दुबै जना सुनकोसो नदी किनारमा रमाइरहेका मानिसहरु लाई हेरिरहेका थिए । निरोजले अचानक सुमनलाई भन्यो ओहो यस्तो गर्मिमा पौडि खेल्नु पर्छ जाउ हिड । दुबै पौडि खेल्न थाले तर नदि दुबैजनाले अपेक्षा गरे भन्दा धेरै गहिरो थियो । यतिकैमा निरोज पौडि खेल्दै अलि पर पुगिसकेको थियो । अकस्मात उसलाई नदीले अलि तल गहिरो स्थानमा पुर्यो । निरोज अतालिसकेको थियो । सुजबुझ गुमाइ सकेको निरोज डुव्नै लागिसकेको थियो । आफनो साथी डुब्दै गरेको देखने बित्तिकै सुमन अतालिदै बाहिर निस्कन्छ र छेवैमा रहेको सुकेको काठको मोटो हागो निरोज तिर तेर्साउदै धकेल्छ । दुरभाग्य निरोज काठको हागो समाउन सकिरहेको थिएन । सुमनले काठको हागो निरोज भएतिर फालिदियो । किनारमा रमाइरहेका सबै मानिस आइपुगे र भन्न थाले अब यो बाच्दैन नदिले बगायो यसलाई । सुमनको मनमा पनि यस्तै भावना आइसकेको थियो कि अब निरोज बाच्दैन नदिले बगाउने भो । यस्तो बहाव भएको नदिमा बाच्न संम्भव छैन भन्दै सबै शोकमग्न अवस्थामा थिए । निरोजको शोकमा सबै जना किनारमा बसिरहेका थिए यतिकैमा अलि तल तिरबाट सुनिलको साथमा कोही माथि तिर आउदै गरेको देखियो । अलि नजिक आएपछि थाहा भयो सुनिलको साथमा आएको मानिस अरु कोही नभएर निरोज नै रहेछ । सबै जना खुसीले चकित हुदै निरोजलाई प्रश्न गर्छन यसरी बगेको मानिस कसरी बाचिस् । तिमीहरुको यो प्रश्नको जवाफ म दिन्छु भन्दै सुनिलले भन्यो यति तेज बहाव भएको नदिले बगाउदा पनि निरोज किन बाचो ? भने तेतिबेला उसलाई अब त बाच्दैनस, तलाई नदीले बगायो भन्ने वाला कोही थिएन । निरास गर्ने वाला कोही थिएन । अत्ताउने वाला कोही थिएन । नत अब त मरिस भन्ने वाला कोही थियो । निरोजको सामुने थियो त केवल काठको हागो र बाच्ने आशा । यही आशा र आत्मविश्वासले गर्दा निरोज नदिको किनार लागेर बाच्न सक्यो । मित्र हाम्रो जीवनमा पनि यस्तै हुन्छ जब अरु मानिसहरु कुनै काम असम्भव भन्छन बस हामी हात उठाइ दिन्छौ र भन्ने गर्छौ की यो असम्भव नै छ । हामी आफनो क्षमताको मापन पनि अरुले भने अनुसार गर्ने गर्छौ । झन शेयर बजारमा यस्तो कुराको उदाहरण अझ देख्न पाइन्छ । बजार घट्ने भो वा बढ्ने भो भनेर कसैले भनिदियो भने हामी तत्कालै बेच्न र किन्न तयार भई दिन्छौं । तपाई हामीले चिने जानेका ठुला लगानीकर्ताले शेयरमा नोक्सान व्यहोरेको देखेर त झन हामी हतोसाही हुने गर्छौ र मनमनै भन्ने गर्छौ । ओहो उसलाई त नोक्सान व्यहोनु परो झन मेरो अवस्था के होला ? बजारले उसलाई त साथ दिएन झन मलाई के साथ देला ? ठुलाले त बेचिरहेका छन् म किन नबेच्ने ? जानकार भनाउदाहरुले त झन बजार नकरात्मक हुन्छ भनिरहेका छन् ।बजार हामी जस्तो साना लगानीकर्ताको बसमा छैन, ब्रोकर र ठुलालेमात्र चलखेल गर्दा रहेछन् बेकारमा लगानी गरिएछ यो त मेरो क्षमता भन्दा बाहिरको विषय रहेछ आदि इत्यादि । यस्ता प्रकारका बिचारहरु मनन गर्दा र सुन्दै गर्दा हामी आफनै बुद्घि र बिवेकको प्रयोग गर्न सक्दैनौ र अन्तमा हार स्वीकार गर्न थाल्छौ । तसर्थ अरुले भनेको भरमा आफुलाई कमजोर नठानौं । हरेक व्यक्तिको आ आफनै क्षमता हुन्छ । जस्तो कि निरोजलाई बारम्वार अरुले अब त बाच्दैनस, डुविस, नदिले बगायो त निस्कनै सक्दैनस भनेर भनिरहेको भए नत उसले आफनो विवेकको प्रयोग गर्न सक्थ्योे । नत उ बचेर आउन नै सक्थो । तसर्थ विश्वास र विवेक कायम राखौ । आफनो लगानी र आफनो बजारप्रति विश्वास गरौ । मजवुद र निरन्तर प्रतिफल दिइरहेका कम्पनीहरु छनौट गरौ । आफैलाई विश्वास गरौं, आफनो पसिनाको कमाई प्रति विश्वस्त होऔं , आफुले गरेको लगानीलाई पुर्ण विश्वास गरौं, बजारलाई विश्वास गरौं, सकरात्मक सोचौं । कसैलाई आरोप लगाउदैमा आफु आरोप मुक्त भइदैन । सुनौलो दिन आउदै छ । शुभ समय गरौ लगानी शुभ जिन्दगी ।

एसबीआई बैंकको नाफा ९ करोड बढ्यो, खराव कर्जा न्युन

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा नेपाल एसबीआई बैंकको नाफा ९ करोड रुपैयाँ बढेको छ । चालु आवको पहिलो त्रैमाशमा बैंकले ४३ करोड ८८ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३५ करोड ४१ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको अपरिष्कृत वित्तीय विवरणमा खराब कर्जा अनुपात ०.१३ प्रतिशत रहेको देखाएको छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ १८ पैसा छ । असारमा बैंकको ईपीएस ३० रुपैयाँ ६२ पैसा छ । बैंकको पुँजीगत लागत ५.१९, कर्जा निक्षेप अनुपात ७६.३७ र आधार दर ९.३२ प्रतिशत छ । कर्जा निक्षेप ब्याज अन्तर ४.८१ पैसा छ । समीक्षा अवधिमा बैंकले ८६ अर्ब ६२ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत असारमा बैंकले ८१ अर्ब ६६ करोड रुपैयाँ थियो । बैंकले ३ महिनामा झण्डै ६ अर्ब रुपैयाँ निक्षेप बढाएको छ ।यस्तै कर्जा लगानी बढेर ६७ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । गत असारमा कर्जा लगानी ६३ अर्ब २ करोड रुपैयाँ थियो । ३ महिनामा कर्जा लगानी ५ अर्ब रुपैयाँ बढेको छ । संचित कोषमा ४ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । चुक्तापुँजी ६ अर्ब ९७ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।

३ महिनामा सिद्धार्थ बैंकको नाफा १५ करोड घट्यो, खराब कर्जा बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सिद्धार्थ बैंकको नाफा १५ करोड रुपैयाँ घटको छ ।  चालु आवको ३ महिनामा बैंकले २१ करोड ६४ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३५ करोड ९७ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको असोजसम्मको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १२ रुपैयाँ ६८ पैसामा सीमित भएको छ । गत आवको असारसम्म बैंकको ईपीएस २१ रुपैयाँ ३९ पैसा थियो । समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर २ प्रतिशत नाघेको छ । गत असारमा बैंककको यस्तो कर्जा १.१५ प्रतिशत मात्र थियो । बैंकको पुँजीगत लागत बढेर ७.३२ प्रतिशत पुगेको छ । कर्जा निक्षेप अनुपात ७८.३६ प्रतिशत छ । बैंकको आधार दर १०.२८ र कर्जा निक्षेपबीचको ब्याज दर अन्तर ३.८६ प्रतिशत रहेको बैंकले जनाएको छ । ३ महिनामा बैंकले ५० करोड रुपैयाँ मात्र निक्षेप बढाएको छ । असोजसम्म बैंकको निक्षेप परिचालन बढेर ७७ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । गत असारमा बैंकको निक्षेप ७७ अर्ब ३१ करोड रुपैयाँ थियो । यस्तै असोजसम्म बैंकले ६८ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत असारसम्म बैंकले ६६ अर्ब ६ करोड रुपैयाँ लगानी गरेको थियो । ३ महिनामा कर्जा लगानी झण्डै ३ अर्ब रुपैयाँ बढेको छ । समीक्षा अवधिमा बैंकको संचित कोष बढेर ३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । बैंकको चुक्तापुँजी ६ अर्ब ८४ करोड रुपैयाँ छ ।

ग्लोबल आईएमई बैंकको नाफा ७ करोड घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा ग्लोबल आईएमई बैंकको खुदनाफा ७ करोड रुपैयाँ घटेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकको नाफा घटेर ३५ करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा बैंकले ४२ करोड रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको ३ महिनाको अपरिष्कृत वित्तीय विवरणमा नाफामा गिरावटसगै प्रतिसेयर आम्दानी (ईपीएस) मा समेत घटेर १७.४८ प्रतिशतमा सीमित भएको छ । गत असारमा बैंकको ईपीएस २५ रुपैयाँ २२ पैसा थियो । समीक्षा अवधिमा बैंकको खराब कर्जा १.५७ प्रतिशत पुगेको छ । बैंकको पुँजीगत लागत बढेर ७.२३ प्रतिशत पुगेको छ । प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी) ७७.३५, आधार दर १०.५४ प्रतिशत रहेको छ । कर्जा निक्षेपबीचको औसत ३.२५ पैसा रहेको बैंकले जनाएको छ । असोजसम्म बैंकले निक्षेप परिचालन ३ अर्ब रुपैयाँ बढाएर १ खर्ब ४ अर्ब ९४ करोड रुपैयाँ पुर्याएको छ । कर्जा लगानी बढेर ८८ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । गत असारमा यस्तो लगानी ८० अर्ब ८१ करोड रुपैयाँ थियो । ३ महिनामा बैंकले कर्जा लगानी ८ अर्ब रुपैयाँ बढाएको वित्तीय विवरणमा उल्लेख छ । बैंकको संचित कोष बढेर ४ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । यस्तै बैंकको चुक्तापुँजी ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

इन्भेष्टमेन्ट बैंकको नाफा ९१ करोड , धेरै बैंकको नाफा घट्दा यस बैंकको १८ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा ९१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ करोड रुपैयाँले बढी हो । अधिकांश वाणिज्य बैंकहरुको नाफामा सुस्तता देखिएको समयमा यस बैंकको नाफा १८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको प्रथम तीन महिनामा यस बैंकले ७७ करोड रुपैयाँ नाफा गरेको थियो । यस बैंकको चुक्ता पुँजी १० अर्ब २६ करोड रुपैयाँ छ । संचित कोषमा ९ अर्ब ११ करोड रुपैयाँ छ । असोज मसान्तसम्ममा बैंकले १ खर्ब ३१ अर्ब निक्षेप परिचालन गरेको छ भने कर्जा सापटी १ खर्ब ७ अर्ब रुपैयाँ प्रवाह गरेको छ । बैंकले विभिन्न क्षेत्रमा ३० अर्ब लगानी गरेको छ । बैंकको सीडी रेसियो ७५ प्रतिशत रहेको छ भने क्यापिटल एडेक्वसी १२.७८ प्रतिशत रहेको छ । कष्ट अफ फण्ड ६.०८ प्रतिशत छ भने बेसरेट ८.९१ प्रतिशत रहेको छ । बैंकको आरोइ १८.४६ प्रतिशत छ भने पीई रेसियो ३४.३१ रहेको छ । प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ छ भने विहीबार यस बैंकको सेयर ६२८ रुपैयाँमा किनबेच भएको छ ।

प्राधिकरणले रत्नपार्कमा बनायो विद्युतीय सवारीको चार्जिङ स्टेशन, शुल्क तिरेर चार्ज गर्न सकिने

काठमाडौं । विद्युतिय सवारी साधन चलाउनेहरुका लागि खुसीको खबर छ ।  आफ्नो सवारी साधनलाई घरमै चार्ज गरेर गुडाउनुपर्ने बाध्यता अब अन्त्य भएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतिय सवारी साधनका लागि हाइ भोल्टेज चार्जिङ स्टेशन बनाइ सञ्चालनमा ल्याएको छ । प्राधिकरणले परीक्षणको रुपमा बिजुलीबाट चल्ने गाडीको ब्याट्रीलाई चार्ज गर्न केन्द्रीय कार्यलय रत्नपार्कमा सःशुल्क चार्जिङ स्टेशन बनाएको छ । मिटर समेत जडान गरेर ४० किलोवाट क्षमताको उच्च गतिको चार्जिङ स्टेसन जडान गरेको छ । एउटा गाडीको ब्याट्री चार्ज हुन ४५ मिनेटको समय लाग्ने प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । बिजुली खपतका आधारमा चार्जिङ शुल्क तिर्नुपर्ने उनले बताए । विद्युतीय सवारीसाधनको प्रयोग बढाउन र पेट्रोलियम निर्भरता कम गर्न प्राधिकरणले हाइ भोल्टेज चार्जिङ स्टेशन बनाउन लागेको छ । यसका लागि प्राधिकरणले चार्जिङ स्टेशन निर्माण नीतिको मस्यौदा तयार पारिरहेको छ । प्राधिकरणले पहिलो चरणमा आफैले विद्युतीय सवारीसाधन खरिद गरेर प्रयोगमा ल्याउने तयारी गरेको छ । विद्युतीय सवारीसाधनको प्रयोग युरोप र अमेरिकामा धेरै वर्षदेखि सुरु भएको हो । भारतले आगामी सन् २०३५ सम्म विद्युतीय परिवहनमा जान लागेको छ । काठमाडौं उपत्यका लागायत विराटनगर, पोखरा, भैरहवा, नेपालगन्जलगायत प्रमुख शहरमा विद्युतीय परिवहनका लागि चार्जिङ स्टेशन निर्माण गर्ने सोँच बनाएको हो । वातावरणमैत्री भएकाले यसको आवश्यकता बढ्दै गएको उनको भनाई छ । युरोपका अधिकाँश मुलुकले आगामी सन् २०३० पछि पेट्रोलियमबाट चल्ने सवारीसाधनलाई विस्थापन गरी विद्युतीयमा जाने तयारी थालेका छन् । यो सवारीसाधन वातावरणमैत्री भएकाले प्राधिकरणले गृहकार्य अघि बढाएको हो ।  

बैंकहरुको नाफा घट्न थाल्यो, लगानीकर्ताले कमाउने दिन सकिएकै हुन् र?

काठमाडौं । स्थानीय निर्वाचनको सफलता तथा संघ र प्रदेशको निर्वाचन सम्मुखमै आइपुग्दा केहि बैंकहरु भने नाफा बढाउन असफल भएका छन् । निर्वाचनले अर्थतन्त्रलाई चलायमान बनाउने र बैंकहरुको पनि बजार बढ्ने बताइँदै आएका बेला लगानीकर्तालाई निराश पार्ने गरी बैंकको नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गरेका आधा दर्जन बैंक मध्ये ३ वटाको नाफा घटेको छ भने ३ वटाको बढेको छ । हिमालयन बैंक, मेगा बैंक र सिटिजन्स बैंकले पहिलो त्रैमासिकमा आफ्नो नाफा बढाउन सकेनन् । नविल बैंक, प्राइम कमर्शियल बैंक, एनएमबी बैंक र सानिमा बैंकको नाफा बढेपनि सन्तोषजनक छैन् । यसबाट चालु आर्थिक वर्षमा बैंकको नाफा धेरै नबढ्ने देखिएको छ । ‘गत बर्ष ६ महिनासम्म झेलिएको तरलता अभावले ब्याजदर १३ प्रतिशतसम्म पुगेको थियो, अहिले त्यसकै परिणाम भोगिँदैछ’, बैंकर्स संघका अध्यक्ष समेत रहेका मेगा बैंकका सिइओ अनिल शाहले भने । शाहले नेतृत्व गरेको मेगा बैंकको नाफा घटेर ८ करोड ११ लाख रुपैयाँमा खुम्चिएको छ । मेगा बैंकले गत आवको पहिलो त्रैमासिकमा १४ करोड रुपैयाँ ६९ रुपैयाँ नाफा कमाएको थियो । बैंकको नाफा घटेपछि प्रतिसेयर आम्दानी १७.२७ बाट घटेर १.७७ प्रतिशतमा खुम्चिएको छ । त्यस्तै, सिटिजन्स बैंकको नाफा पनि ३४ करोड ५१ लाखबाट खुम्चिएर ३१ करोडमा झरेको छ । ३ महिनामा सिटिजनले ३ करोड रुपैयाँ नाफा घटेको उसले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । नाफा घटेपछि सिटिजन्सको प्रतिसेयर आम्दानीमा गिरावट आएर १५ रुपैयाँ ९० पैसामा झरेको छ । हिमालयन बैंकको पनि नाफा ३ करोड रुपैयाँ घटेको छ । बैंकले गत आवको पहिलो त्रैमासिकमा ४३ करोड ८४ लाख नाफा कमाएको थियो तर चालु आवको सोही अवधीमा जम्मा ४१ करोड मात्रै नाफा कमाउन सफल भएको देखिन्छ । आखिर किन घट्यो त बैंकको नाफा ? बैंकर्स संघको अध्यक्ष शाह भन्छन–‘तरला अभाव भएको ६ महिनाको ब्याजदर, दशैं तिहारमा ऋण असुलीमा ढिलाईले पहिलो त्रैमासिकमा नाफा घट्यो ।’ उनले त्रैमासिक सकिएको १५ दिन भित्रै वित्तिय विवरण बुझाउनुपर्ने बाध्यात्मक कारणले पनि नाफा कम देखिएको दावी गरे । ‘राष्ट्र बैंकले १५ दिनभित्र वित्तिय विवरण बुझाउन भनेको छ, त्यसले १६ औं दिन हुने आम्दानीलाई समेट्न सकिएन, त्यसैले पनि नाफा थोरै देखिएको हो’, शाहले भने । उनका अनुसार बैंकहरुले पुँजी वृद्धिकै मात्रामा बजार बढाउन लगानीका नयाँ स्रोतहहरुको व्यापक खोजी गरिरहेका छन् । २ सय वटा स्थानीय तहमा शाखा विस्तारसँगै गाउँ गाउँमा वित्तिय पहुँच पुगेको र त्यसले नयाँ बजार पाएसँगै दोश्रो त्रैमासिकमा बैंकहरुको नाफामा उल्लेख्य वृद्धि हुने दावी पनि उनले गरे । आसन्न निर्वाचनपछि स्थानीय, प्रदेश र केन्द्र सरकारले गर्ने विकास खर्चले बैंकहरुको नाफा बढाउन ठुलो योगदान दिने आशा पनि उनले व्यक्त गरे । उता, नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले एकाध कम्पनीहरुलाई आधार मानेर बैंकहरुको नाफा घटेका भन्न नमिल्ने बताए । ‘कुनै बैंकले पहिलो त्रैमासिकमै झण्डै एक अर्ब कमाएका पनि छन, केहि बैंकले भने नाफा घटाएको देखिन्छ’, सहायक प्रवक्ता पण्डितले भने । उनले कम्पनीहरुलाई छुट्टा छुट्टै अध्ययन गरेपछि मात्रै कुनै बैंकको नाफा किन ह्वात्तै बढेको र कुनैको घटेको बारे भन्न सकिने स्पष्ट पारे । सानिमा बैंकका सिइओ भुवन दाहालले पनि बैंकहरुका लागि सुनौला दिन सकिएको बताउँदै आएका छन् । उनले पुँजी वृद्धिको तुलनामा बजार र नाफा बढाउन निकै चुनौती बढ्दै गएको बताए । उनी नेतृत्वको बैंक सानिमाले ३ महिनामा ७ करोड रुपैयाँ नाफा बढाएपनि प्रतिसेयर आम्दानी भने घटेको छ ।  

१० कम्पनीको १ अर्ब २२ करोडको बोनस सेयर धितोपत्र बोर्डमा दर्ता

काठमाडौं । आर्थिक वर्ष ०७४/०७५ सुरु भएयता धितोपत्र बोर्डमा १० कम्पनीको बोनस सेयर दर्ता भएको छ ।हालसम्म १ अर्ब २२ करोड ३३ लाख रुपैयाँ बराबरको १ करोड २२ लाख ३३ हजार ४३० कित्ता बोनस सेयर दर्ता भएकोे बोर्डले जानकारी दिएको छ । बोर्डमा दर्ता भएका कम्पनीमा सांग्रीला विकास बैंकको ४५ करोड ७३ लाख ९४ हजार, भागर्व विकास बैंकको २ करोड ४० लाख, सेती फाइनान्स लिमिटेडको ५७ लाख १० हजार, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको ४० लाख रुपैयाँ दर्ता भएको छ । यस्तै कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको ३ करोड २५ लाख र लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको २६ करोड ५२ लाख २४ हजार रुपैयाँको बोनस सेयर दर्ता भएको छ । गुराँश लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४ करोड ४० लाख रुपैयाँ बराबरको ४४ लाख र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको १ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको १ लाख ६४ हजार कित्ता बोनस सेयर बोर्डमा दर्ता भएको छ । यस्तै नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३३ करोड १२ लाख ९ हजार ९ सय र मिसन डेभलपमेन्ट बैंकको ४ करोड २८ लाख ८३ हजार ५ सय रुपैयाँको बोनस सेयर दर्ता भएका छन् । यी मध्ये अधिकाँशको बोनस सेयर नेपाल स्टक एक्चेन्ज लिमिटेडमा कारोबारका लागि सुचिकृत भएका छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुक्तापुँजी बढाउन गत आवको नाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गरेका हुन् । अन्य कम्पनीको बोनस सेयर दर्ता हुने क्रममा रहेको छ । गत वर्ष बैंक तथा वित्तीय संस्था, जलविद्युत, बीमा र उत्पादनमुलक क्षेत्रका गरी १६४ कम्पनीको ३४ अर्ब ७९ करोड ५९ लाख रुपैयाँ बराबरको ३५ करोड २६ लाख ९८ हजार रुपैयाँ बराबरको बोनस सेयर दर्ता भएको बोर्डले जानकारी दिएको छ ।

३ महिनामा एनएमबी बैंकको नाफा १० करोड बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा एनएमबी बैंकले खुदनाफा १० करोड रुपैयाँ बढाएको छ । असोजसम्म बैंकले ४५ करोड १३ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३५ करोड ३६ लाख रुपैयाँ थियो । बैंकले बिहीबार सार्वजनिक गरेको ३ महिनाको अपरिष्कृत विवरणमा वित्तीय सुचक सकरात्मक रहेको देखाएको छ । समीक्षा अवधिमा बैंकको खराव कर्जा १.६७ प्रतिशत रहेको छ । पुँजीगत लागत दोब्बर बढेर ७.१४ प्रतिशत पुगेको छ । प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात ७७.८४ प्रतिशत रहेको छ । बैंकको आधार दर बढेर १०.२१ प्रतिशत पुुगेको जानकारी दिएको छ । कर्जा निक्षेपबीचको ब्याज दर अन्तर ४.०९ प्रतिशत छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ९४ पैसा छ । ३ महिनामा बैंकको निक्षेप परिचालन २ अर्ब रुपैयाँ घटेर ७१ अर्ब ९४ करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा बैंकको निक्षेप ७३ अर्ब २२ करोड रुपैयाँ थियो । कर्जा लगानी बढेर ६२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । गत असारमा ६१ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको संचित कोष बढेर ४ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । चुक्तापुँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।