३ महिनामा सेन्चुरी बैंकको नाफा साढे १० करोड

काठमाडौं । सेन्चुरी कमर्शियल बैंकले ३ महिनामा नाफा बढाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकले १० करोड ५७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ करोड ४२ लाख रुपैयाँ मात्र खुदनाफा गरेको थियो । बैंकको खराब कर्जा बढेर १.७ प्रतिशत पुगेको छ । गत असारमा यस्तो कर्जा १.१५ प्रतिशत मात्र थियो । कर्जा निक्षेप अनुपात ७८.४७, निक्षेप लागत ८, आधार ब्याजदर ११.१३, ब्याज स्प्रेड ३.९४ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७५ पैसा छ । गत असारको तुलनामा बैंकको निक्षेप बढेर ४५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । गत असारमा बैंकको निक्षेप परिचालन ४२ अर्ब ५९ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी बढेर ४० अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । गत असारमा बैंकको कर्जा लगानी ३९ अर्ब ५० करोड रुपैयाँ छ । बैंकको संचित कोष बढेर १ अर्ब २२ करोड रुपैयाँ पुगेको छ

सेयर ब्रोकर भन्छन्ः आफ्नै रकम भए सेयर किन्नुस, बैंकबाट ऋण लिए डुब्नुहुन्छ

काठमाडौं । सेयर ब्रोकरहरुले अहिले बैंकबाट चर्काे ब्याजदरमा ऋण लिएर सेयरमा लगानी गर्ने उपयुक्त समय नभएको बताएका छन् । उनीहरुले लगानी कर्तासँग भएको आफ्नै रकमबाट सेयर किन्न उपयुक्त समय भएको तर बैंकबाट ऋण लिएर सेयर खरिद गर्दा डुब्ने सम्भावना बढेको बताएका हुन् । बजार निरन्तर घटिरहेकाले बैंकबाट चर्को ब्याजमा ऋण लिएर सेयरमा लगानी नगर्न ब्रोकरले सुझाएका हुन् । अहिलेको अवस्थामा बैंकबाट चर्को ब्याजमा मार्जिन कर्जा लिएर तत्काल नाफा हैन घाटा हुने सेयर ब्रोकर नरेन्द्र सिजापति बताउछन् । हाल बैंकको मार्जिन कर्जाको ब्याज दर १० प्रतिशत भन्दा बढी रहेको र बजार घट्दै गएकाले सेयर बिक्रीबाट तत्काल पाउने प्रतिफल कम हुने भएकाले यस्तो बेला जोखिम नउठाउन सिजापतिको सुझाव छ । “बजार घट्दै गएकाले अहिले आफुसंग भएको बचत रकम पछिलाई हेरेर मात्र लगानी गर्ने हो” उनी भन्छन् “बैंकबाट ऋण लिएर सेयर किने डुब्न सक्छ, बिचार गर्नुपर्छ ।” बैंकबाट चर्को ब्याज तिरेर मार्जिन कर्जा लिदा घाटा नै हुने उनको विश्लेषण छ । उनकाअनुसार अहिले वाणिज्य बैंकको मार्जिन कर्जा १० प्रतिशत भन्दा बढी रहेको, विकास बैंक १२ र वित्त कम्पनीको १५ र सहकारीबाट लिदा सो भन्दा बढी भएको अवस्थामा तत्काल लाभ भन्दा हानी हुने संभावा बढी रहेको उनको भनाई छ । १० प्रतिशत मार्जिन कर्जा लिएर लगानी गर्दा ५ प्रतिशत प्रतिफल पाउने अवस्था पनि नरहेको उनी बताउछन् । आफनो खल्तिबाट लगानी गरेर केही समय कुर्ने लगानीकर्ताका लागि मात्र अहिले उपयुक्त समय भएको उनको विश्लेषण छ । बजार घटिरहेका बेला सेयर किन्ने उपयुक्त समय भएपनि ब्याज दर बढी भएकाले ऋण लिएर सेयर किन्ने अवस्था नभएको अर्का सेयर ब्रोकर नन्दकिशोर मुन्दडा बताउछन् । “अहिलेको ब्याज दरले बजार बढाउन सहयोग गर्दैन किनभने कम्पनीले १० प्रतिशत नगद लाभांश दिन्छन” उनले भने “सेयर किनेकाे मूल्यकाे अाधारमा ४ प्रतिशत भन्दा कम प्रतिफल आउछ र अझै ६ प्रतिशत घाटा छ । ब्याजको कारण नबढ्न सक्छ ।” सेयर बजारमा घटेको बेला प्रवेश गर्ने र बढेको बेला बेचेर निस्कने भएकाले अहिले नै बजारमा लगानी सुरु गर्नपर्ने उनको सुझाव छ । बैंकबाट ऋण लिएर हैन आफनो वचतको रकम मात्र सेयरमा लगानी गर्नुृपर्छ । “२५ प्रतिशत अहिले लगानी सुरु गर्ने, यो भन्दा तल आयो भने फेरी २५ प्रतिशत लगानी थप्नुपर्छ” उनी भन्छन “एकैपटक सेयरमा लगानी गर्नुहुदैन् ।” पछिल्लो समयमा बजार पनि निरन्तर घट्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मार्जिक कर्जा ४० अर्ब ४५ करोड रुपैयाँ बढी छ ।

मार्क जुकरवर्गलाई धनी बनाइदिँदै नेपाली नेता, समृद्धिको सपना बाढेर करोडौं रुपैयाँ विदेश पठाइँदै

काठमाडौं । ‘समृद्ध मुलुक’ बनाउने घोषणा गरेका नेताहरुले नै फेसबुकका मालिक मार्क जुकरवर्गलाई धनी बनाईदिँदैछन् भन्ने सुन्दा पत्याउन मुस्किल पर्छ । तर सत्य आखिर सत्य नै हुन्छ, मुलुकमा समृद्धिको यात्रा आरम्भ भएको बताउँदै नागरिकसँग मत मागिरहेका नेताहरुले मार्क जुकरवर्गको सम्पति बढाउन सहयोग गरिरहेका छन् त्यो पनि नेपालको कानुनी व्यवस्थाको उल्लंघनमार्फत । नेपालको विद्यमान कानुनले फेसबुक लगायतका सामाजिक सञ्जालहरुको प्रमोशन(स्पोन्सर) गर्नुलाई अबैधानिक भनेको छ । सामाजिक सञ्जालहरुको स्पोन्सरका लागि शुल्क बुझाउने कामलाई कानुनले नै बर्जित गरेको छ । तर नेपालका अधिकांश नेताहरुले आफ्नो फेसबुक पेज स्पोन्सर गराएर चुनावी प्रचार प्रचार गरिरहेका छन्, जसले नेपालको कानुनलाई उल्लघंन मात्रै गरेको छैन, मार्क जुकरवर्गको सम्पति पनि बढाईरहेको छ । ‘सामाजिक सञ्जालहरुको स्पोन्सरका लागि सटही सुबिधा लिन कोहि आएका छैनन् । हामीले तोकेको सेवा सुबिधा बाहेकका भुक्तानी गैर कानुनी हुन्’, नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख रमेशकुमार पोखरेलले भने । नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले समाजिक सञ्जालहरुको स्पोन्सरका लागि हुने भुक्तानी कानुन विपरिद भएको तर त्यो नेपाल राष्ट्र बैंकको कार्यक्षेत्रमा पर्ने बताए । ‘फेसबुकहरुको स्पोन्सरका नाममा करोडौं रकम विदेशिएको छ, यो गैर कानुनी काम हो, तर विदेशी मुद्राको कारोबार र नियमन गर्ने नेपाल राष्ट्र बैंकले हो, प्राधिकरणले केहि भन्न मिल्दैन’, खनालले भने । मुलुकमा कानुनी शासन र त्यसकै जगमा समृद्धि र समानताको यात्रा छेडेको दावी गर्ने मुल राजनीतिक नेतृत्व नै विद्यमान कानुनको उल्लंघन गरेर करोडौं रकम गैर कानुनी ढंगले विदेश पठाउन तल्लिन रहेको यस्ता घट्नाले प्रष्ट हुन्छ । हाल प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड), संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपा अध्यक्ष महन्थ ठाकुर, नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई देखि प्राय सबै जसो उम्मेदवारले फेसबुक पेज स्पोन्सर गराईरहेका छन् । यति मात्रै होइन, प्रतिनिधी सभाको उम्मेदवार बनेका अधिकांश नेताहरुले फेसबुक स्पोन्सर गरेका छन् । प्रदेश सभाका लागि उम्मेदवारी दिएका धेरै नेताहरु पनि यहि दौडमा सामेल भएका छन् । बिशेष गरि युवा पुस्ताका चर्चित अनुहारहरु गगन थापा, योगेश भट्टराई, राजन भट्टराई, बर्षमान पुन, उदय शमशेर राणा, महेश बस्नेत लगायतले पनि आफ्नो फेसबुक पेजको स्पोन्सर गराएका छन् । उनीहरुले यसरी आफ्नो फेसबुक पेज स्पोन्सर गराएवापत फेसबुकलाई डलरमा भुक्तानी दिनुपर्छ । त्यसका लागि नेपालबाट करोडौं रकम बाहिरिरहेको छ ।

एनबीआईले ग्लोबल आइएमई बैंकका कर्मचारीलाई तालिम दिने

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) र ग्लोबल आइएमई बैंक बिच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौडेल र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा बीच हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार एनबीआईले ग्लोबल आइएमई बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । यस सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबाट ६१ लाख रुपैयाँ बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ ।

जनता बैंकको लिलामीमा परेको सेयर किन्न आवेदन दिएका ७ सय लगानीकर्ताको पैसा फिर्ता हुने

काठमाडौं । उच्च अदालत पाटनले गुरुप्रसाद न्यौपानेबाट जफत जनता बैंकको साधारण सेयर लिलामी नगर्ने आदेश दिएपछि आवेदकले खरिद गर्न जम्मा गरेको पैसा फिर्ता पाउने भएका छन् । मुद्धा लम्बिन सक्ने संभावना भएपछि आवेदकले जम्मा गरेको रकम सेयर बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट्स लिमिटडले फिर्ता दिने भएको हो । धितोपत्र बोर्डसंग सल्लाह गरेर जम्मा भएको रकम फिर्ता दिने बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले बताए । छलफल गरेर यस विषयमा निर्णय लिने उनले जानकारी दिए । “लगानीकर्ताको पैसा धेरै दिन राख्न मिल्दैन” उनले भने “प्रक्रिया मिलाएर हामी आवेदकको पैसा केही दिनभित्रै फिर्ता दिने छौ ।” बैंकले गुरु न्यौपानेबाट जफत गरिएको ८५ हजार १ कित्ता साधारण सेयर लिलामीका लागि खुला गरेकोमा अन्तिम दिन मंगलबारसम्म ७ सय जनाको आवेदन परेको थियो । गुरु न्यौपानेले सेयर जफतको विरुद्धमा रिट हालेपछि उच्च अदालत पाटनले तत्कालका लागि सेयर लिलामी रोक्न मंगलबार प्रारम्भीक आदेश दिएको छ । काठमाडौं क्यापिटलले अर्को सुचना प्रकाशित नभएसम्मका लागि सेयर लिलामी रोकिएको जानकारी गराइसकेको छ । बैंकको सञ्चालक भएका बेला गुरु न्यौपाने संस्थागत सुशासन उल्लंघन गरेर श्रीमति सावित्रादेवी न्यौपाने नाममा ठुलो परिमाणमा भित्री रुपमा सेयर किनेको (इन्साइडर ट्रेडिङ) गरेको भेटिएपछि नेपाल राष्ट्र बैंकले गुरुकी श्रीमति सावित्रीदेवीको नाममा रहेको ८५ हजार १ कित्ता सेयर जफत गर्न निर्देशन दिएको थियो । प्रति सेयर १ सय रुपैयाँ अंकित मूल्य रहेको सेयर बिक्री गर्दा हालको बजार मूल्यअनुसार २ करोड १९ लाख रुपैयाँ हुन्छ ।

प्रभु बैंकको नाफा २५ करोड

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा २५ करोड नाफा कमाएको छ । बैंकले गत आवको पहिलो त्रैमासिकमा भने २८ करोड नाफा कमाएको थियो । प्रभु बैंकले पहिलो त्रैमासिकमा ८२ अर्ब निक्षेप संकलन गरेर ६६ अर्ब कर्जा लगानी गरेको देखिन्छ । बैंकले एक अर्ब ८५ करोड ब्याज आम्दानी गरेर एक अर्ब ३४ करोड ब्याज खर्च गरेको छ । बैंकको खुद ब्याज आम्दानी ५१ करोड रहेको छ । खराब कर्जा ४.२३ प्रतिशत रहेको बैंकले राइटब्याकबाट १३ करोड प्राप्त गरेको छ भने ११ करोड प्रोभिजन गरेको छ ।

सेयर बजार निरन्तर ओरालो, ब्रोकर मार्जिन कर्जाले पनि छोएन

काठमाडौं । सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । सोमबार ब्रोकर मार्जिन ल्याण्डिङ सार्वजनिक भएपछि पनि मंगलबारको सेयर बजार बढ्न सकेन । बोर्डले सोमबार सार्वजनिक गरेको निर्देशन अनुसार ब्रोकरमार्फत मार्जिन कर्जा सुविधा अन्तर्गत अधिकांश बैंक तथा कम्पनीको सेयर किन्न नपाइने भएपछि त्यसको असर मंगलबारको सेयर बजारमा पर्न गएको हो । साे दिनकाे नेप्से परिसूचक ८.९७ अंकले ओरालो लागेर १४८४ अंकमा अडेकाे छ । सो दिन १५९ कम्पनीको जम्मा ११ लाख २९ हजार कित्ता सेयर कारोबार भएको छ । बजारमा कुल ४२ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार ट्रेनिङ समूहको परिसूचक सामान्य अंकले हरियो भएको छ भने कारोबार भएका अन्य बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ४९.७३ अंकले ओरालो लागेको छ । सो दिन सबैभन्दा बढी काबेली विकास बैंकका लगानीकर्ताले ७ प्रतिशत गुमाएका छन् । त्यस्तै, बैंकको ब्याजदर बढी भएपछि लगानी आउन नसकेकाले सेयर बजार घटेको भन्ने बुझिन्छ । साथै, अब आउने चुनाव पछि बामपन्थी गठबन्धन सरकार बन्ने सम्भावना भएपछि लगानीकर्ता डराएका छन् जसको प्रभाव बजारमा पुग्न गएको भन्ने अनुमान गर्न सकिन्छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्दै, चीनले करिब २१ अर्ब ऋण दिने

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिड कम्पनीले विमानस्थलको निर्माण कार्यलाई अगाडि बढाएको छ । कम्पनीले अहिले कार्यालय भवन, प्राविधिक तथा मजदुर बस्ने अस्थायी भवनको निर्माण गरेको र ती संरचना निर्माण भएपछि अन्य काम तीर्व रुपमा अघि बढ्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रशासकीय अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए । आयोजनाको मूल गेटबाट विमानस्थलसम्म पुग्ने सडक कालोपत्र गर्ने, पानीलाई तर्काउन चारवटा नाला बनाउने र विजयपुर खोलातिर पानी खसाल्ने काम सकिएको छ । मुलुककै गौरवशाली आयोजनाको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन् २०२० जुलाईसम्ममा सक्ने लक्ष राखिएको छ । विसं २०७३ वैशाख १ गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उप–प्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छेदार, उप-प्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापा र नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले संयुक्तरुपमा विमानस्थलको शिलान्यास गरेका थिए । चीनको एक्जीम बैंकको करिब रु २१ अर्बको ऋृण सहयोगमा विमानस्थलको निर्माण गर्न लागिएको हो । रासस

तीन करोड ३७ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, सबैभन्दा बढी हकप्रद सेयर

काठमाडौं । मंगलबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा तीन करोड ३७ लाख ४ हजार ५७३ कित्ता सेयर सूचिकृत भएका छन् । सो दिन विभिन्न बैंक तथा वित्तीय संस्थाको हकप्रद र बोनस सेयर गरी सो मात्राको सेयर सूचिकृत भएको हो । बजारमा ४ कम्पनीको हकप्रद सेयर र एक कम्पनीको बोनस सेयर गरी जम्मा ५ वटा कम्पनीको सेयर सूचिकृत भएका छन् । ती मध्ये रिलायवल माइक्रोफाइनान्स, सेञ्चुरी कमर्शियल बैंक, हाम्रो विकास बैंक र एभरेष्ट बैंकको हकप्रद र मिसन डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा थपिएको हो । रिलायवल माइक्रोफाइनान्सको २ लाख ८२ हजार ५०० कित्ता र सेञ्चुरी बैंकको एक करोड ७० लाख २४ हजार ३८१ कित्ता हकप्रद बजारमा सेयर कारोबारका लागि थपिएका छन् । त्यस्तै, हाम्रो विकास बैंकको ८ लाख ८० हजार ७७० कित्ता र एभरेष्ट बैंकको एक करोड ५० लाख ८८ हजार ०८७ कित्ता हकप्रद नेप्सेमा सूचिकृत भएका छन् । त्यसैगरी, मिसन डेभलपमेन्ट बैंकको ४ लाख २८ हजार ८३५ कित्ता बोनस सेयर मंगलबार थपिएको हो ।

ब्रोकरमार्फत मार्जिन कर्जा सुविधाः अधिकांश बैंक तथा कम्पनीको सेयर किन्न नपाइने

काठमाडौं । धितोपत्र बोर्डले ब्रोकर व्यवसायीमार्फत सेयर धितोमा राखेर (मार्जिन ल्याण्डिङ) सुबिधा दिने निर्णय गरेपनि यसबाट अधिकांश बैंक तथा वित्तीय संस्था र कम्पनीको सेयर खरिद र धितोमा कर्जा नपाइने भएको छ । बोर्डले सोमबार ल्याएको मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशनबाट अधिकांश बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीको सेयर खरिदका लागि ब्रोकरमार्फत मार्जिन लेन्डिङ नहुने भएको हो । बोर्डले न्युतम १० हजार सेयरधनी, खुदसम्पत्ति (नेटवर्थ) सकरात्मक रही २ वर्षदेखि न्युनतम १० प्रतिशत लाभांश दिने कम्पनीको सेयर खरिदमा मात्र मार्जिन कर्जा पाउने व्यवस्था गरेपछि अधिकांश कम्पनीको सेयर अयोग्य हुन पुगेका हो । बैंक तथा वित्तीय संस्थामा सेयर धितोमा राखी लगानीकर्ताले मार्जिन कर्जा लिई रहेका छन् । ब्रोकरमार्फत मार्जिन कर्जा लिन अधिकाँश बैंक तथा वित्तीय संस्था तथा कम्पनीका सेयर संख्या १० हजार नपुगेको खुदसम्पत्ति धनात्मक भई २ वर्षदेखि न्युनतम १० प्रतिशत लाभांश दिएका संस्था कम भएकाले अधिकाँशको सेयर राखेर कर्जा नपाउने अवस्था आएको हो । बोर्डले सोमबार सार्वजनिक गरेको मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशनबाट सेन्चुरी कमर्शियल बैंक, मेगा बैंक, सिभिल बैंक, नेपाल बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक र जनता बैंकलगायत एक दर्जन बढी बैंकको सेयर धितो राखेर ब्रोकरमार्फत मार्जिन कर्जा नपाइने भएको छ ।केही वर्षअघि खुलेका र पुराना भएपछि वित्तीय अवस्था राम्रो नभएका र १० हजार सेयरधनी नपुग्ने कुनै पनि कम्पनीले नपाउने भएका हुन् । अधिकाँश विकास बैक र बीमा कम्पनी नपर्ने भएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मात्र ब्रोकरमार्फत मार्जिन लेन्डिङ हुने देखिएको छ । यस्तै युनिलिभर नेपाल लिमिटेड र चिलिमे हाइड्रोपावर लिमिटेडको सेयर मात्र पाउने देखिएको छ । लघुवित्तीय संस्थाअन्र्तगत निर्धन उत्थान विकास बैंक र छिमेक विकास बैंकलगायत केहीको सेयर धितो राखेर ब्रोकरमार्फत कर्जा पाउन सकिने देखिएको छ । बोर्डको नयाँ व्यवस्थाले अधिकांशक बैंक तथा वित्तीय संस्था, बीमा र जलविद्युत कम्पनीको सेयर किन्न ब्रोकरमार्फत मार्जिन कर्जा नपाउने अवस्था आएको कालिका सेक्युरिटिजका प्रवन्ध निर्देशक नरेन्द्र सिजापति बताउछन् । विकास न्युजसंग कुरा गर्दे उनले भने “यो सुरुवात मात्र हो, बोर्डले ल्याएको व्यवस्था अनुसार केही बैंक, बीमा र राम्रो प्रतिफल दिने कम्पनीको सेयर धितो राखेर मात्र कर्जा पाउने अवस्था छ ।” बोर्डको निर्देशन राम्रो रहेको उनको प्रतिक्रिया छ । “पछि बजार परिवक्व हुन थालेपछि बोर्डले सोच्न सक्छ अहिले यो व्यवस्थाबाट अधिकांश कम्पनीको ब्रोकरमार्फत मार्जिन लेन्डिङ हुन सक्दैन्” उनले भने । आर्थिक रुपमा मजवुत कम्पनीलाई मात्र प्राथमिता दिने गरी निर्देशन आउनु सकरात्मक भएको उनको निष्कर्ष छ । बैंकले सिधै दिइरहेको मार्जिन लेन्डिङमा फरक नपर्ने तर ब्रोकरबाट लगानीकर्तालाई प्रदान गरिने माजिर्न कर्जामा भएको व्यवस्थालाई मान्दा धेरै कम्पनीको सेयरमा लगानी गर्न नसक्ने देखिएको हो । ब्रोकर कम्पनी आफुले लगानी गर्ने नभई जमानी बसेर बैंकमार्फत सेयर कर्जा दिने व्यवस्था हुने उनको भनाई । यसमा नाफा र घाटा दुबै लगानीकर्ताको हुने छ । ब्रोकर कम्पनीको बैंकसंग साझेदारीमा यस्तो कर्जा दिने व्यवस्था हुने छ । मागेको केही घण्टामा कर्जा पाइने उनी बताउछन् ।    

जलविद्युत लगानी तथा विकास कम्पनीले ५० करोड नगद लाभांश दिने

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनीले आफ्ना सेयरधनीलाई ५० करोड रुपैयाँ नगद लभांश दिने भएको छ । कम्पनीले गत वर्षको चुक्ता पुँजीको पाँच प्रतिशत(कर सहित)का दरले सो मात्राको नगद लभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।

एक महिनापछि आउँदैछ एक अर्ब ६४ करोडको आइपीओ

काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी अन्तिम चरणमा पुगेको छ । कम्पनीले पहिलो चरणमा पहिलो चरणमा संचय कोषका संचयकर्ता, संचय कोषका कर्मचारी र ऋणलगानी गर्ने संस्थाका कर्मचारीलाई गरी १ अर्ब ६४ करोड २१ लाख ४ रुपैयाँ बराबरको १ करोड ६४ लाख २१ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । पहिलो चरणको आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आब्हानपत्र बुझाइसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव कोइरालाले बताए । संभवत एक साताभित्र धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त हुुने उनले जानकारी दिए । बोर्डबाट स्वीकृति पाएपछि ढिलोमा १ महिनाभित्र आईपीओ निष्कासनका लागि आब्हान गरिने उनले बताए । आईपीओ निष्कासनका लागि कम्पनीले गत बैशाख १३ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । पहिलो चरणको सकिएपछि दोस्रो चरणमा आयोजना प्रभावित स्थानियबासिन्दालाई १० र सर्वसाधारणलाई १३ गरी झण्डै १ अर्ब ७५ करोड रुपैयाँ रुपैयाँको आईपीओ निष्कासन गर्ने तयारी कम्पनीको छ । बोर्डबाट स्वीकृति पाउने अन्तिम चरणमा रहेको उनले जानकारी दिए । पहिलो चरणको सेयर निश्कासनपछि स्थानीय बासिन्दालाई १० प्रतिशत र त्यसपछि सर्वसाधारणलाई आईपीओ निश्कासन गरिने कोइरालाको भनाई छ । सेयर निश्कासनको काम यो आर्थिक वर्षभित्र सकिने उनको भनाई छ । कम्पनीको लगानी संरचनाअनुसार ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । रसुवागढीको काम आधा सकियो निर्माणाधिन १११ मेगावाट क्षमताको रसुवागढीको निर्माण कार्य ५० प्रतिशत सकिएको छ । कुल ४ हजार १८५ मिटर लामो सुरुङ मध्ये २ हजार ३ सय मिटर सकिएको उनले बताए । अब मुल सुरुङ खन्न १ हजार ८ सय मिटर मात्र बाँकी छ । यस्तै बाँधलगायत अन्य संरचनाको काम तिब्र गतिमा भइरहेको उनले जानकारी दिए । आयोजनाको निर्माण चाइना वाटर एन्ड इलेक्ट्रिसिटी कर्पोरेशन (सीडब्ल्यूई) ले गरिरहेको छ । भूकम्प र नाकावन्दीले आयोजनाको काम १ वर्षभन्दा बढी ठप्प भएपछि यसको असर आयोजनामा परेको छ । आगामी भदौमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएकोमा सन् २०१९ को डिसेम्बरमा सकने गरी कार्ययोजना तयार पारिएको कोइरालाले बताए । आयोजनाको समयसीमा २५ महिना बाँकी छ । निर्माण अवधिको व्याज (आईडीसी) बाहेक आयोजनाको लागत १३ अर्ब ६८ करोड रुपैयाँ छ । आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख युनिट बिजुली उत्पादन हुने छ । रसुवागढीमा चिलिमे हाइड्रोपावर लिमिटेडको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी र विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी साढे ३ प्रतिशत र सञ्चयकर्ताको साढे १९ प्रतिशतको लगानी संरचना बनेको छ ।  

फुकोट कर्णालीमा एचआईडीसीएलको १ अर्ब २६ करोड लगानी हुने

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) ले फुकोट कर्णाली जलविद्युत आयोजनामा १ अर्ब २६ करोड रुपैयाँ स्वपुँजी (इक्यिुटी) लगानी गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ४२६ मेगावाट क्षमताको आयोजनामा इक्विटीका रुपमा लगानी गर्ने निर्णय गरिएको हो । आयोजनामा एचआईडीसीएलले १० प्रतिशत सेयर लगानी गर्ने निर्णय भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छबिराज पोखरेलले बताए ।एचआईडीसीएलको निर्णयसंगै आयोजनामा अघि बढाउन सहज हुने भएको छ । एनईए इन्जिनियरिङ कम्पनी लिमिटड (एनईसी) ले आयोजनाको अध्ययन गर्नेछ । नेपाल विद्युत प्राधिकरणले हालै मात्र स्थापना गरेको कम्पनीले पहिलो पटक फुकोट कर्णाली आयोजनाको संभाव्यत्ता अध्ययन गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने छ । विद्युत प्राधिकरण अन्र्तगतको विद्युत उत्पादन कम्पनी लिमिटेडमार्फत फुलकोट कर्णाली आयोजना निर्माण हुन लागेको हो । कम्पनीमा विद्युत प्राधिकरणको ५१, विद्युत उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडको १७÷१७ प्रतिशत हुने छ । आयोजना निर्माणको जिम्मा सरकार स्वामित्वको विद्युत उत्पादन कम्पनीले पाएको छ । कालीकोटमा पहिचान भएको यो आयोजना सेना, प्रहरी तथा निजामति कर्मचारीको लगानीमा निर्माण गर्ने विषयमा ऊर्जा मन्त्रालयले गत जेठ ८ मा निर्णय गरेको थियो । मन्त्रालयले गत साउन २ गते विद्युत उत्पादन कम्पनीलाई आयोजनाको अध्ययन अनुमतिपत्र दिएको थियो ।  

माछापुच्छ्रे बैंकको खुदनाफा बढेर २८ करोड पुग्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा माछापुच्छ्रे बैंकले खुदनाफा ४ करोड रुपैयाँ बढाएको छ । अधिकाँश बैंकको नाफा घटिरहेका बेला माछापुच्छ्रेको नाफा बढेको छ । चालु आवको ३ महिनामा बैंकले २८ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले २४ करोड ६९ लाख रुपैयाँ गरेको थियो । बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको वित्तीय विरणमा नाफा बढेपनि प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १४ रुपैयाँ ३५ पैसामा सीमित भएको छ । गत असारमा ईपीएस २४ रुपैयाँ थियो । पुँजी बढेपछि बैंकको इीपीएस घटेको हो । बैंकको खराब कर्जा ०.४९, पुँजीगत लागत ७.१७, कर्जा निक्षेप अनुपात ७९.५३, आधार ब्याज दर १०.४८ र कर्जा निक्षेपबीचको ब्याज अन्तर ३.९० प्रतिशत रहेको बैंकले जनाएको छ । समीक्षा अवधिमा बैंकको निक्षेप करिव २ अर्ब रुपैयाँ बढेर ६० अर्ब ३० करोड रुपैयाँ पुगेको छ । गत असारमा निक्षेप ५८ अर्ब ६२ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी पनि ३ अर्ब रुपैयाँ बढेर ५४ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । गत असारमा कर्जा लगानी ५१ अर्ब ८६ करोड रुपैयाँ थियो । बैंकको संचित कोषमा १ अर्ब २२ करोड रुपैयाँ छ । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याएको छ ।

सिंहदरबार नै मान्दैन कानुन, सहसचिव सहित ५२१ कर्मचारी कारबाहीमा

काठमाडौं । सरकारी जागिरमा ‘हाजिरीबापत तलब/पेन्सन र काम गरे घूस’ भन्ने उखान छ । देशको प्रशासनिक केन्द्र सिंहदरबारका कर्मचारीहरु समयभन्दा ढिला कार्यालय आउने र तोकिएको पोशाक नलगाई तलबभत्ता लिनेगरेको पाइएको छ । गत विहिबार राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारका चारैवटा प्रवेशद्वारहरु अनुगमन गर्दा उच्च अहोदाका कर्मचारीहरु पनि समयमा अफिस नआउने गरेको र तोकिएको पोशाक नलगाई कार्यालय प्रवेश गरेको भेटिएको हो । केन्द्रले गरेको अनुगमनका क्रममा तोकिएको पोशाक नलगाउने र समयमा कार्यालय नआउने ५२१ कर्मचारी फेला पारेको थियो । ती कर्मचारीलाई केन्द्रले सम्बन्धित निकायमा कारबाहीका लागि सिफारिस गरेको छ । कर्मचारीहरुले सरकारबाट वार्षिक साढे सात हजार रुपैयाँ पोशाक भत्ता तर नलगाउने र ढिला आएर पनि तलब लिने गरेपछि सामान्य प्रशासन मन्त्रालयले कार्यालय समय अबधिभर अनिवार्य रुपमा पोशाक लगाउन र समयमा हाजिर हुन निर्देशन दिएको थियो । त्यो पनि पालना नभएपछि सहसचिवको नेतृत्वमा अनुगमन टोली खटाएर कर्मचारीहरुले पोशाक लगाए-नलगाएको र समय पालना गरे-नगरेको अनुगमन गरेको थियो । केन्द्रले बिहान साढे ९ बजेदेखि ११ बजेसम्म सिंहदरबारको प्रवेशद्वारमा अनुगमन गरेको थियो । निजामती कर्मचारीलाई १०-४ बजेसम्म अफिस आउन र नियमित तोकिएको पोशाक लगाउन अनिवार्य छ । कार्यालयमा ढिला प्रवेश गर्ने कर्मचारीले हाजिर गर्न नपाउने नियम छ । सतर्कता केन्द्रका सहसचिव विष्णूराज लामिछानेका अनुसार सवा १० भित्र कार्यालय प्रवेश गर्ने कर्मचारी महिनामा तीनपटकसम्म हाजिर गर्नमिल्ने छुट दिइएको छ । यद्दपी सतर्कताले सवा १० बजेपछि प्रवेश गर्ने कर्मचारीमाथी छड्के गरेको उनले जानकारी दिए । संसदिय समिति, गृह, अर्थ र परराष्ट्र मन्त्रालयका धेरै केन्द्रका अनुसार अनुगमनका क्रममा सबैभन्दा बढी संसदीय समिति, गृह, अर्थ र परराष्ट्र मन्त्रालयमा कार्यरत कर्मचारीले तोकिएको पोशाक नलगाउने गरेको पाइएको छ । संसद समितिका ४० जना कर्मचारीले कार्यालय प्रवेश गर्दा तोकिएको पोशाक नलगाएका थिएनन् । प्रधानमन्त्री कार्यालयका १२ जना कर्मचारीले पोशाक लगाएका थिएनन् भने ३ जना कर्मचारी ढिला कार्यालय पुगेका थिए । केन्द्रले गरेको अनुगमन निजामती तहका उच्च अधिकारी पनि समयमा कार्यालय नआउने र तोकिएको पोशाक नलगाउने गरेको पाइएको छ । विभिन्न मन्त्रालयका १६ सहसचिव तथा २५ उपसचिव पनि मन्त्रालयमा ढिला हाजिर भएका थिए । त्यस्तै ढिला हाजिर हुनेमा गृह, अर्थ,  संघिय मामिला, भौतिक पूर्वाधार र सामान्य प्रशासन मन्त्रालयका कर्मचारी पनि रहेका छन् । केन्द्रका सहसचिव लामिछानेले भने, ‘हामीले सम्बन्धित मन्त्रालयमा नाम पठाइसकेका छौं । अब विभागिय कारबाही गर्ने जिम्मेवारी मन्त्रालयहरुको हो ।’

ब्रोकर कम्पनीलाई मार्जिन ल्याण्डिङको सुबिधा दिने धितोपत्र बोर्डको निर्णय

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरुलाई मार्जिन ल्याण्डिङको सुबिधा दिने निर्णय गरेको छ । बोर्डले सोमबार बिशेष निर्देशन जारी गर्दै ब्रोकर कम्पनीले पनि सेयर कर्जा दिन पाउने व्यवस्था लागु गरेको हो । बोर्डले मार्जिन ल्याण्डिङको व्यवस्था कार्यान्वयनका लागि कार्यविधि बनाई पेश गर्न धितोपत्र बजार तथा धितोपत्र दलाल व्यवसायीहरुलाई धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ८७ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरीे नेपाल धितोपत्र बोर्डद्धारा “मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन, २०७४” जारी गरिएको बताएको छ । यस्ता छन मार्जिन ल्याण्डिङ कारोबार गर्ने ब्रोकर कम्पनीका लागि बोर्डका सर्त यस्ता छन मार्जिन ल्याण्डिङ कारोबार गर्ने ब्रोकर कम्पनीका लागि बोर्डका सर्त: -कम्तिमा १० हजार शेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक रही पछिल्लो दुई आर्थिक बर्षमा कम्तिमा वार्षिक १० प्रतिशत लाभांस वितरण गरेको सूचिकृत संगठित संस्थाको शेयरमामात्र मार्जिन कारोवार सुविधा उपलब्ध गराउनु पर्ने । -मार्जिन कारोवार सुविधा उपलब्ध गराउने धितोपत्र दलाल व्यवसायीको खुद सम्पत्ती कम्तिमा ५ करोड रुपैयाँ हुनु पर्ने । – धितोपत्र दलाल व्यवासायीले सूचिकृत संगठित संस्थाको शेयरको १८० दिनको औषत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको ५० प्रतिशतले हुनआउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनको रुपमा लिनु पर्ने । -धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधा अवधि भर वजारको अवस्था तथा जोखिम हेरी ग्राहकसँग न्यूनतम ४० प्रतिशत मेन्टिनेन्स मार्जिन लिनुपर्ने । -ग्राहकले मार्जिन कारोवारमा खरिद गरेको शेयरमा आवश्यक पर्ने मेन्टिनेन्स मार्जिन भुक्तान गर्न नसकेमा धितोपत्र दलाल व्यवसायीले सो शेयर विक्री गर्न सक्ने । -धितोपत्र दलाल व्यवसायीले आफ्नै स्रोत वा वाणिज्य बैंकसंग रकम लिएर मार्जिन कारोवार सुविधा प्रदान गर्न सक्ने । -धितापत्र दलाल व्यवसायीले आफ्नो प्रमाणित नेटवर्थको दुई गुणासम्म मार्जिन कारोवार सुविधा उपलब्ध गराउन सक्ने । -धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्यलाई आफ्नो नेटवर्थको वढीमा १० प्रतिशत सम्म मात्र कारोवार सुविधा उपलब्ध गराउन सक्ने। -धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोवार सुविधा उपलव्ध गराउदा ग्राहकसंग सम्झौता गरी शूरु मार्जिन, संभार मार्जिन दर, मार्जिन कल, सेवा शुल्क, खरीद गर्ने सेयरको विवरण इत्यादि शर्तरव्यवस्थाहरु खुलाउनुपर्नेछ । -साथै यस सुविधा अन्र्तगत खरिद गरिएको शेयरसहितको मार्जिन रकम विवरण ग्राहकको छुट्टाछुट्टै अभिलेख बनाई राख्नु पर्ने, लेखापरिक्षण गरिएको कारोवार भएको शेयरको हिसाव किताव तथा लेखा बोर्ड र धितोपत्र बजारलाई पेश गर्नुपर्ने तथा ग्राहकको परिस्कृत पहिचान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्याराडाइस पेपर्सको नयाँ खुलासा, वेलायतकी महारानी पनि करछलीमा संलग्न

काठमाडौं । वेलायती महारानी एलिजावेथले पनि कर छलेको खुलासा भएको छ । सोमबार ठूलो संख्यामा सार्वजनिक गरिएका आर्थिक दस्तावेजहरुले विश्वका चर्चित धनाढ्य र नेताहरुका साथै बेलायतकी महारानीसम्मले कर छलीका लागि गोप्य रुपमा लगानी गरेको खुलासा भएको छ । पानामा पेपर्सपछि भएको दोस्रो ठूलो खुलासा हो । प्याराडाइस पेपर्सले संसारभरका १०० भन्दा बढी मिडिया आवद्ध भएको ‘अन्तर्रा्ष्ट्रिय कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्ना्लिष्ट’ (आईसीएफजे) एक वर्ष लगाएर गरेको अनुसन्धानले यस्तो खुलासा गरेको हो । बेलायतकी महारानीको करोडौं बेलायती पाउण्ड केमन आइल्याण्डको फण्डमा लगानी गरिएको खुलेको छ । ट्वीटर र फेसबुकमा अरबौं डलरको रसियाको लगानी भएको प्याराडाइजले देखाएको छ । कर छलीमा प्रयोग गरिएको केमन आइल्याण्डको ट्रष्टलाई संचालन गर्न क्यानेडाका प्रधानमन्त्री जष्टिन ट्रुड्युका नजिकका व्यक्तिको संलग्नता । कर छलीमा नाइक र एप्पल जस्ता कम्पनीको पनि नाम रहेको छ । यस्तै दुई रसियन धनाढ्यले आर्सनल र एभर्टन फुटबल क्लब किन्न अफसोर लगानीको प्रयोग गरेको पाइएको छ । सार्वजनिक भएका कागजपत्रको अनुशन्धान गरेर रिपोर्ट तयार पार्न विश्वभरका ३८० पत्रकारले वर्ष दिन लगाएर ७० वर्षको तथ्यांकहरुको अध्ययन गरेका थिए । पानामा पेपर्सले पनि धेरैको विदेशमा लगानी भएको खुलाएको थियो । पानामाका कारण पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले प्रधानमन्त्री पदबाट राजिनामा दिएका छन् ।  

राप्ती हाइड्रोले साढे १२ करोडको आईपीओ निष्कासन गर्ने

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्ट्रक्सन लिमिटेडले साढे १२ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले आउदो साधारणसभामा विशेष प्रस्ताव लैजाने भएको छ । राप्तीको साधारणसभा आउदो मंसिर ३ गते राजधानीमा हुने भएको छ । कम्पनीले ५ मेगावाटको रुकुमगाड जलविद्युत आयोजना निर्माण गर्दै छ । आयोजनाले स्थानियलाई १० र सर्वसाधारणलाई १५ प्रतिशत आईपीओ निष्कासन गर्ने छ । साधारणसभाले पारित गरेपछि आईपीओ निष्कासनका लागि प्रक्रिया सुरु हुने कम्पनीले जनाएकोृ छ । कम्पनीले यसअघि निष्कासन गरेको अग्राधिकार सेयरलाई आईपीओमा परिणत गर्ने भएको छ । आईपीओमा परिणत गर्ने प्रस्ताव सभामा पेश हुने भएको छ । आयोजना निर्माणमा कम्पनीले प्राइम कमर्शियल बैंक र सेन्चुरी कमर्शियल बैंकसंग ७० करोड रुपैयाँ ऋण लगानी सम्झौता गरिसकेको छ । नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ । आयोजना निर्माणका लागि कम्पनीले निर्माणपुर्वको काम सुरु गरेको छ । आयोजना रुकमको सिस्ने र भुमे गाउँपालिकामा पर्छ । राप्तीमा सीईडीबी हाइड्रो फण्ड लिमिटेडको ९५ प्रतिशत स्वामित्व छ । सीईडीबीअन्र्तगत राधि विद्युत कम्पनी लिमिटेडले ९ करोड ४४ लाख ५५ हजार रुपैयाँको आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । यस्तै युनिभर्सल पावर कम्पनी र दोर्दी हाइड्रोपावरले पनि आईपीओ निष्कासनको तयारी थालेका छन् ।  

कृषि विकास बैंकको कर्जाको ब्याज सबैभन्दा महंगो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सबैभन्दा महंगो ब्याज दर सरकार स्वामित्वको कृषि विकास बैंकको छ । बैंकको आधार ब्याज दर ११.९७ प्रतिशत पुगेको छ । यो हालको उच्च ब्याज दर हो । आधार दर नै बढी भएपछि कर्जाको ब्याज दर महंगो हुन्छ । बैंकले निक्षेपको ब्याज दर बढेका कारण कर्जाको पनि ब्याज दर बढेको बैंकले जनाएको छ । सबैभन्दा कम ब्याज दर सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको छ ।

कुमारी बैंकको नाफा डेढ करोड घट्यो

काठमाडौं । कुमारी बैंकको नाफा डेढ करोड रुपैंयाँले घटेको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा १३ करोड ७४ लाख नाफा कमाएको बैंकले चालु आवको सोही अवधीमा भने जम्मा ११ करोड २० लाख मात्रै कमाउन सफल भएको हो । बैंकको नाफा १ करोड ५४ लाखले घटेको देखिन्छ । कुमारी बैंकको खराब कर्जा १.२६ प्रतिशतबाट बढेर १.९७ प्रतिशत पुगेको छ । बैंकले १४ करोड रुपैंयाँ प्रोभिजन गरेको देखिन्छ । कुमारीले एक अर्ब ४१ करोड ब्याज आम्दानी गरेर १ अर्ब ५ करोड ब्याज खर्च गरेको छ । बैंकको प्रति सेयर आम्दानी पनि ११.७६ रुपैंयाँबाट घटेर ७.५१ रुपैंयाँमा झरेको छ ।