फिफा विश्वकपको पहिलो खेल आज राति पौने दश बजेबाट शुरु हुँदै

एजेन्सी । २२ औं फिफा विश्वकप आजबाट शुरु हुँदैछ । विश्वकपमा विश्वभरबाट ३२ टोली सहभागी हुँदैछन् । अहिलेसम्म खेलिएका सबै विश्वकप जुन र जुलाई महिनामा आयोजना गरिएको थियो तर कतारको हावापानी र गर्मीलाई ध्यानमा राख्दै यसपटकको विश्वकप भने नोभेम्बर र डिसेम्बरमा राखिएको छ । पहिलो विश्वकप सन् १९३० मा उरुग्वेमा खेलिएको थियो र आयोजक टोली उरुग्वेले जितेको थियो। विश्वयुद्धका कारण सन् १९४२ र १९४६ मा विश्वकप हुन सकेन तर त्यसपछि हरेक चार वर्षको अन्तरालमा फिफा विश्वकप निरन्तर रुपमा सञ्चालन हुँदै आएको छ । आज राती ९ः४५ बजे उद्घाटन विश्वकपको पहिलो खेल कतार र इक्वेडरबीच नेपाली समय अनुसार राति ९ः४५ बजे शुरु हुनेछ । त्यस्तै नेपाली समय अनुसार साँझ ७ः४५ बजे उद्घाटन समारोह दोहाबाट ४० किलोमिटर टाढा अल–बैत रंगशालामा हुनेछ । विश्वकपमा पदर्शन दक्षिण कोरियाली ब्यान्ड बीटीएस उद्घाटन समारोहको मुख्य आकर्षण हो। बीटीएसका सदस्य जंगकुक पहिलो पटक विश्वकपको उद्घाटन समारोहमा प्रदर्शन गर्नेछन्। यसबाहेक बलिउड अभिनेत्री नोरा फतेहीले पनि प्रस्तुति दिनेछिन् । सोसँगै अमेरिकी ब्याण्ड ब्ल्याक आइड पिस, कोलम्बियन गायक जे बाल्भिन, नाइजेरियन गायक प्याट्रिक नेमेका ओकोरी र अमेरिकी र्‍यापर लिल बेबीले प्रस्तुति दिनेछन् ।

डिशहोमले विश्वकप २ के रिसोलुसोनमा प्रशारण गर्दै

काठमाडौं । डिश मिडिया नेटवर्कले आफ्नो फिफा विश्वकप २०२२ अभियान फिल द म्याजिक अफ फुटबल इन डिशहोम अभियान शुरु गरेको छ । डिशहोमले लामो समयदेखि प्रतिक्षा गरिएको फिफा विश्वकप फुटबलको प्रशारण गर्नेछ । हरेक चार चार वर्षमा हुने विश्वकप फुटबललाई नेपाली फुटबलका फ्यानहरुले हर्षोल्लासका साथ स्वागत गर्ने गरेका छन् । नेपाली सामाजिक सञ्जालको लोकप्रियता र फ्यानहरुको गतिबिधीलाई मध्यनजर गर्दै डिशहोमले धेरै उपहारहरु सहित सामाजिक सञ्जालका लागि विभिन्न डिजिटल अभियानहरु जारी गरेको छ । त्यस अभियानमा सहभागी हुनका लागि सहभागीहरुले डिशहोमको फेसबुक पेजमा गइ पोस्टमा म्याजिक मुमेन्टसमा उनीहरुको मनपर्ने टिम जस्तै, म्याजिकल मुमेन्टस अफ पोर्चुगल प्रयोग गर्नुपर्नेछ । साथै आफूले समर्थन जनाएको देशको म्याजिकल क्षणहरुको भिडियो क्लिप वा फोटो पोस्ट गर्नुपर्नेछ ।

नेपाल टेलिकमबाट विश्वकप प्याकेज खरिद गर्दा १२ जिबी डाटा निःशुल्क पाइने

काठमाडौं । नोभेम्बर २० अर्थात् मंसिर ४ गतेदेखि कतारमा आयोजना हुने विश्वकप फुटबल–२०२२ हेर्न नेपाल टेलिकमले आफ्ना एनटीटीभी ग्राहकहरुका लागि फिफा वल्र्ड कप प्याकेज उपलब्ध गराउने भएको छ । फिफा वल्र्ड कप–२०२२ हेर्नका लागि निर्धारित करसहितको शुल्क ५६५ एनटीटीभीका ग्राहकहरुले कम्पनीका ग्राहक सेवा केन्द्रमा नगई घरमै बसेर पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यसका लागि वल्र्ड कप प्रसारण हुने हिमालयन एचडी टेलिभिजन च्यानलमा गई ‘बाई प्याकेज’ मा क्लिक गरी आफ्नो मोबाइल नम्बर इन्ट्री गर्नु पर्नेछ । त्यसपछि नेपाल टेलिकमबाट प्राप्त ओटीपी प्रयोग गरी सेवा खरिद गर्न सकिन्छ । सेवा खरिद गर्दा ग्राहकको मोबाइल व्यालेन्सबाट रकम काटिनेछ । फिफा वल्र्ड कप–२०२२ हेर्नका लागि तोकिएको फिफा वल्र्ड कप प्याकेज खरिद गर्ने कम्पनीका एनटीटीभी सेवाका ग्राहकहरुलाई उक्त प्याकेज खरिद गर्न प्रयोग गरिएको मोबाइल नम्बरमा कम्पनीका तर्फबाट २८ (अठ्ठाइस) दिनसम्म प्रयोग गर्न सकिने १२ जिबी डाटा समेत निःशुल्क उपलब्ध गराइने छ । फिफा वल्र्ड कप–२०२२ हेर्नका लागि निर्धारित करसहितको शुल्क ५६५ एनटीटीभीका ग्राहकहरुले नजिकको कम्पनीको ग्राहक सेवा केन्द्रमा गएर पनि बुझाउन सकिन्छ । विश्व कप फुटबल अवधिभर उपलब्ध हुने सो अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ ।

विश्वकप हेर्न कसरी भुक्तानी गर्ने ५ सय रुपैयाँ ?

काठमाडौं । नेपालमा विश्वकप फुटबल प्रसारणसम्बन्धी विवाद सर्वाेच्च अदालतले बुधबार टुंग्याएपछि नेपालीले पैसा तिरेर विश्वकप हेर्न पाउने भएका छन् । अब ५ सय रुपैयाँ तिरेर नेपालीले विश्वकप हेर्न पाउने भएका हुन । नेपालमा विश्वकप फुटबल प्रसारणको अधिकार खरिद गरेको मिडिया हबले बुधबार अदालतले थप शुल्क लिन पाउने गरी आदेश दिएपछि प्रसारणको तयारी थालिएको बताएको छ । मिडिया हबका अध्यक्ष सोमप्रसाद धिताल अदालतको आदेशपछि नेपालमा विश्वकप हेर्नका लागि रातदिन काम सुरु भएको बताउँछन् । ‘हामीसँग छोटो अवधि मात्र बाँकी छ, विश्वकप देखाउनका लागि आवश्यक कामहरु धेरै छन्, हामीले रातदिन नभनी काम गछौँ, ग्राहकले सुरुकै दिनदेखि थप शुल्कमा विश्वकप हेर्नपाउनुहुनेछ’, उनले भने, ‘नेपाली फुटबल प्रेमी ग्राहकले थप ५ सय शुल्क भुक्तानी गर्नुपर्याे त्यसमा हामी दुखी छौँ, तर उहाँहरुको फूटबल प्रतिको मोह हामी मार्न दिदौँनौँ, थप शूल्क लिनुपर्ने हाम्रो बाध्यता हो ।’ कसरी तिर्ने शुल्क ?  विश्वकप हेर्नका लागि ग्राहकले इन्टरनेट जडान गरिएको सेवाप्रदायक कम्पनीलाई थप शुल्ल भुक्तानी गर्नुपर्नेछ । ग्राहकले आफ्नो घरमा जुन केलवको सेटअप बस राखेको छ सोही केवल सेवा प्रदायक कम्पनीलाई थप ५ सय शुल्क तिुर्नपर्ने मिडिया हबले जनाएको छ । ‘जसरी तपाईंले इन्टरनेट र टेलिभिजनको शुल्क भुक्तानी गर्नुभएको छ, सोहीमा एड गरी अथवा प्याजेक अनुसार भुक्तानी गर्न पाइन्छ’, अध्यक्ष धितालले भने, ‘वार्षिक रुपमा भुक्तानी गर्ने ग्राहकको शुल्क प्याकेजमा नै राख्ने अधिकार सम्बन्धीत इन्टरनेट सेवा प्रदायक कम्पनीले गर्नेछ, कोहीले वार्षिक प्याकेजमा एड गर्नुहुन्छ, कोहीले नेटसँग जोडेर लिन सक्छन्, केबल, एनएसओ, डीटीएचको कम्पनीले आफ्नो तरीकाले थप ५ सय शुल्क लिनुहुनेछ ।’ उनका अनुसार मिडिया हबले भारतीय कम्पनी भायकमबाट प्रसारण अधिकार खरिद गर्न सम्झौता गरेको छ । भायकमबाट प्रसारण अधिकार लिन र विश्वकपको प्रचारप्रसार गर्नका लागि मात्रै मिडिया हबले ४१ करोड रुपैयाँ खर्च गरेको उनको भनाइ छ । उनका अनुसार विश्वकप फुटबल देखाउनका लागि ठूलो परिमाणमा खर्च लाग्ने भएपछि बाध्य भएर थप शुल्क लिनुपरेको हो । नेपालमा २० देखि २१ लाखसम्म टेलिभिजन सेटअप बक्सहरू रहेको र त्यसमध्ये १० देखि १२ लाख टेलिभिजन प्रयोगकर्ताहरूले विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न सक्ने अनुमान मिडिया हबले गरेको छ । त्यसबापत १० लाख प्रयोगकर्ताहरूले मात्रै विश्वकप हेर्न शुल्क तिरे ५० करोडसम्म उठ्ने उक्त कम्पनीले प्रक्षेपण गरेको छ । मिडिया हबले ग्राहकबाट उठाएको थप ५ सय शुल्कमध्ये इन्टरनेट सेवा प्रदायक कम्पनीले ३० प्रतिशत रकम पाउनेछन् । ‘७० प्रतिशत मिडिया हबले र ३० प्रतिशत सम्बन्धीत कम्पनीले दिने गरी तयारी भएको छ तर यतिनै भन्ने यकिन भैसकेको छैन’, उनले भने, ‘७०–३० हुन्छ कि ६०–४० हुन्छ, फाइनल हुनबाँकी नै छ ।’ कतारको राजधानी दोहामा यही नोभेम्बर २१ देखि डिसेम्बर १८ तारिखको बीचमा विश्वकप फुटबल आयोजन हुनेछ ।

विश्वकप फुटबल हेर्न मिडिया हबले शुल्क लिन पाउने

काठमाडौं । मिडिया हब प्रालिले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क लिन पाउने भएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि कात्तिक २२ गते जारी अल्पकालीन अन्तरिम आदेशलाई  निरन्तरता नदिन आदेश गरेको छ । यसअघि सर्वोच्चले मिडिया हब प्रालि तथा टेलिभिजन सेवा प्रदायकले विश्वकप हेर्न प्रति ग्राहक ५ सय रुपैयाँ लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । अधिवक्ता किशोर पौडेलले मिडिया हबले विश्वकप हेर्न शुल्क लिनेकोविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।    

नेपालमा महिला विश्वकप क्रिकेट आयोजना गर्न ५ अर्बभन्दा बढी खर्च लाग्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सन् २०२७ मा हुने अन्डर नाइन्टिन महिला क्रिकेट वर्ल्ड कप प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी नेपाल र बंगालादेशलाई संयुक्त रुपमा दिने निर्णय गरेको छ । नेपालको खेलकुद इतिहासमा नेपालले विश्वकप स्तरको खेलकुद सञ्चालन गर्ने अवसर प्राप्त गरेको यो पहिलो पटक हो । आइसीसीमा विश्वका १ सय ५ वटा राष्ट्र सदस्य राष्ट्रको रुपमा रहेका छन् । डेढ महिना अगाडि उक्त अन्डर नाइन्टिन महिला विश्वकप नेपालले आयोजना गर्ने भन्दै नेपाल क्रिकेट संघ क्यानले आइसीसीको आवेदन प्रकृयामा प्रवेश गरेको थियो । यो नेपालको खेलकुद इतिहासमा ठूलो अवसर भएकोले यसलाई आवश्यक तयारी गरेर सफल पार्नु पर्ने क्यानका अध्यक्ष चतुरबहादर चन्दले बताएका छन् । तर, नेपालमा अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता आयोजना गर्नको लागि अहिलेसम्म कुनै पनि खेल मैदान योग्य छैनन् । त्यसैले अबको झण्डै साढे ४ वर्षभित्र आवश्यक पूर्वाधार बनाउने दायित्व पनि नेपाललाई आएको छ । सन् २०२३ मा इङ्ल्यान्डमा हुन लागेको अन्डर नाइन्टिन महिला विश्वकपमा १६ वटा राष्ट्रहरु सहभागी हुँदैछन् । सन् २०२७ मा हुने विश्वकपमा प्रतिस्पर्धामा समूह थपिन पनि सक्ने अध्यक्ष चन्दले बताए । त्यसको लागि अहिलेको भन्दा थप भौतिक संरचनाको आवश्यकता पनि पर्छ । नेपालले बंगालादेशसँग मिलेर विश्वकप सञ्चालन गर्दा नेपालमा पनि कम्तिमा २ वटा क्रिकेट मैदान अन्तर्राष्ट्रिय स्तरको हुनुपर्ने क्यानका अध्यक्ष चन्द बताउँछन् तर विश्वकप आयोजनाका लागि कम्तिमा ५ वटा खेल मैदान तयारी अवस्थामा राख्नुपर्ने उनको भनाइ छ । त्यसको लागि नै आइसीसीले ४ वर्षको समय उपलब्ध गराएको उनले बताए । ‘पूर्वाधारको अवस्था वर्ल्डकप आयोजना गर्ने खालको छैन्, ४ वर्ष अगाडि नै जिम्मा दिनुको अर्थ पूर्वाधार तयार गर्नलाई नै हो’, उनले भने, ‘आइसीसीको स्ट्याण्डर्डअनुसार यो अवधिमा पूर्वाधार तयार गर्नुपर्छ ।’ अध्यक्ष चन्दका अनुसार अहिलेसम्म राम्रो मानिएको किर्तिपुर क्रिकेट मैदान पनि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्नका लागि योग्य छैन । त्यस्तै पोखराको खेल मैदानमा पनि प्रतियोगिता आयोजना गर्नको लागि धेरै भौतिक पूर्वाधार लगायतका विषयहरु निर्माण गर्नुपर्ने अवस्था रहेको उनले बताए । किर्तिपुर क्रिकेट मैदानलाई प्रतियोगिता आयोजना गर्नको लागि योग्य बनाउन १५ करोड भन्दा ठूलो लगानीको आवश्यकता पर्ने चन्द बताउँछन् । खेलकुद खेलाउनको लागि खेलमैदान मात्रै नभएर सुरक्षा, एयरपोर्ट, होटल लगायतका सुविधाहरुको पनि जरुरत पर्ने हुँदा सोही अनुसार नै खेल मैदानहरुको निर्माण गर्नुपर्ने उनले बताए । ‘ग्राउन्ड फेसिलिटी मात्रै नभएर सेक्युरीटी, होटेल, इन्टरनेशनल एयरपोर्टको हिसाबले पनि हेर्नुपर्ने हुन्छ’, उनले भने, ‘सम्भव छ, हामीले सम्भव भएर नै प्रस्ताव गरेका हौं ।’ सबै सम्भाव्यताका आधारमा क्यानले किर्तिपुर, मुलपानी, पोखरा, भैरहवा र चितवनका खेलमैदानलाई तयारी अवस्थामा राख्नको लागि छनोट गरेको अध्यक्ष चन्दले बताए । ती खेलमैदानलाई ४ वर्षभित्रमा तयारी गर्नुपर्ने उनको भनाइ छ । त्यसको लागि नेपाल सरकारले नै भौतिक पूर्वाधारमा लगानी गर्नुपर्ने हुन्छ । ५ वटा खेल मैदान निर्माण गर्नको लागि कम्तिमा ५ अर्ब भन्दा बढी खर्च लाग्ने अध्यक्ष चन्दले बताए । खर्च व्यवस्थापनको लागि निजी क्षेत्रसँग पनि साझेदारी गर्न सकिने उनको भनाइ छ । ‘पूर्वाधारमा आवश्यक लगानी नेपाल सरकारले नै गर्नुपर्छ, पछि आवश्यक मर्मत आइसीसीले गर्नसक्छ’, उनले भने, ‘बनाउन सजिलो छ, मेन्टेन गर्न गाह्रो छ ।’ किर्तिपुर मैदानलाई संरक्षण गर्नको लागि १७ जना कर्मचारी सहित अन्य खर्चको व्यवस्था आइसीसीले गर्दै आएको उनले बताए । स्टेडियम, भिआईपी कक्ष, लगायतका पूर्वाधारहरु निर्माण गर्दा बढी खर्च लाग्ने उनको भनाइ छ । आइसीसीले पनि क्यानले विश्वकपको आयोजना गर्न सक्छ भनेर नै दिएकाले अब अब भौतिक पूर्वाधार निर्माणको लागि आवश्यक पहल गर्न छलफलमा जुट्ने उनको भनाइ छ । कतिपय संरचनाको व्यवस्थापनमा निजी क्षेत्रलाई पनि आह्वान गरिने उनले बताए ।

सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट नेपालमा हुने

काठमाडौं । नेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्त रुपमा दिएको हो । अब नेपाल र बङ्गलादेश मिलेर प्रतियोगिता आयोजना गर्नेछन् । त्यसैगरी आइसीसीले आज सार्वजनिक गरेको अन्य निर्णयमा सन् २०२४ को यु–१९ पुरुष विश्वकप प्रतियोगिताको आयोजना श्रीलङ्काले गर्ने भएको छ । त्यसैगरी सन् २०२५ को यू–१९ महिला विश्वकप मलेसिया र थाइल्याण्डमा संयुक्त रुपमा आयोजना गर्नेछन् । सन् २०२६ को यू–१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले संयुक्त रुपमा आयोजनाको जिम्मा पाएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले आइसीसीको यस किसिमको निर्णयले नेपाली क्रिकेटको खेल पूर्वाधार र खेलकोस्तर माथि पु¥याउन मद्दत पुग्ने विचार व्यक्त गरे । उनले पहिलो पटक आयोजनाको मौका पाएको विश्वकप सफल बनाउन सके थप प्रतियोगिता आयोजनाको मौका पाउन सक्नेसमेत बताउँदै प्रतियोगिता सम्पन्न गर्न कुनै कसर बाँकी नराखिने बताए । अध्यक्ष चन्दले प्रतियोगिता सञ्चालनको लागि करिब चार वर्षको लामो समय भएकाले अब पूर्वाधार विकासको लागि सरकारसँग कुरा गर्ने बताए ।

कोका–कोलाको विश्वकप क्याम्पेन सुरु, फिफाको सामाग्री जित्न सकिने

काठमाडाैं । फिफा वर्ल्डकपको माहोल नजिकिँदै गर्दा कोका–कोलाले आफ्ना फुटबल प्रेमी नेपाली उपभोक्ताहरूलाई लक्षित गरेर वर्ल्डकप विशेष लेबल लन्च गरेको छ । ‘ड्रिन्क–बिलिभ–विन’ नाम रहेको यस क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले फिफा वर्ल्डकप अफिसियल फुटबल, टिशर्ट, ज्याकेट जस्ता मर्कन्डाइजहरू जित्न सक्ने मौका पाउने कम्पनीले जनाएको छ । यस क्याम्पेनमा सहभागी हुनको लागि उपभोक्ताहरूले कोक बोतलको नयाँ फिफा वर्ल्डकप लेबलमा भएको क्यूआर कोड स्क्यान गरेर लेबल पछाडि भएको युनिक कोड पठाउनुपर्ने हुन्छ ।त्यस्तै कोक(स्पेस)(लेबल पछाडिको नम्बर)(स्पेस)(आफ्नो नाम)टाइप गरेर ३४९४९ मा पनि एस्एमएस् पठाउन सकिनेछ । यस्तै कम्पनीको वेबसाइटमा गएर आवश्यक जानकारी लिएर पनि यस क्याम्पेनमा सहभागी हुन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, कात्तिक १५ बाट शुरू भएको यो क्याम्पेन मंसिर २८ सम्म लागु हुनेछ । यो अफर लागु नहुने बोतलहरू पनि बजारमा उपलब्ध रहेका छन् । कम्पनीका अनुसार, पुरस्कार दावी गर्नको लागि आफुसँग भएको लेबल अनिवार्य रुपमा सुरक्षित राख्नुपर्ने हुन्छ । यो अफर २५० मिली, ५०० मिली, १ लिटर र २.२५ लिटरको कोका–कोला र कोका–कोला जिरो सुगरको खरिदमा प्राप्त गर्न सकिनेछ । नियम तथा शर्तहरु लागु हुने बताइएको छ ।

सर्वोच्चले भन्यो : विश्वकप हेर्दा पैसा नलिनु

काठमाडौं । सर्वोच्च अदालतले मिडिया हब प्रालि तथा टेलिभिजन सेवा प्रदायकले वल्ड कप हेर्न प्रतिग्राहक ५ सय रुपैयाँ लिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । मंगलबार सर्वोच्चले विश्वकपको प्रत्यक्ष प्रसारणको अनुमति लिएको मिडिया हब प्रालि तथा टेलिभिजन सेवा प्रदायकलाई उक्त अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता किशोर पौडेलले दायर गरेको रिटमा मिडिया हब प्रालि, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, टेलिभिजन सिग्नल सेवा प्रदायक संस्थाहरु एनआईटिभी स्ट्रीम्ज प्रालि, भायोनेट कम्युनिकेशन प्रालि, एडप्याड एक्युजिशन प्रालिलाई विपक्ष बनाइएको थियो । यता मिडिया हबले भने सो अनुमति लिनका लागि करिव ४० करोड बराबरको खर्च भएकाले सो शुल्क लगाउने निर्णय गर्नु परेको बताउँदै आएको छ । सो मुद्दाको फैसलाको टुंगो यही कात्तिक २७ गते लाग्नेछ ।

विश्वकप २०२२ : लागत २२० अर्ब डलर, फिफाले साढे ६ अर्ब डलर कमाउने, दर्शकका लागि महँगो

काठमाडौं । फिफा विश्वकप २०२२ नोभेम्बर २० बाट सुरु हुँदैछ । हरेक चार वर्षको अन्तरालमा हुने विश्वकप फुटबलको यो २२औँ संस्करण हो जुन एशियामा दोस्रो पटक आयोजना हुन लागेको हो । कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब राष्ट्र हो भने एसियामा विश्वकप दोस्रो पटक हुन लागेको हो । २९ दिनसम्म चल्ने यस प्रतियोगितामा ३२ राष्ट्रको सहभागितामा कुल ६४ खेल हुनेछन् । जसमध्ये ४८ लिग खेल हुनेछन् । यहाँ राम्रो प्रदर्शन गर्ने १६ टोलीले अर्को चरणमा प्रवेश गर्नेछन्, जुन डिसेम्बर ३ देखि ७ सम्म प्रतिस्पर्धा चल्नेछ । सबै टोलीलाई आठ समूहमा विभाजन गरिएको छ र लिग खेलपछि प्रत्येक समूहमा पहिलो दुई स्थानको शीर्ष १६ राउण्ड र त्यसपछि आठ टोलीबीच क्वाटरफाइनल खेल हुनेछ। सेमिफाइनल खेलहरू डिसेम्बर १४ र १५ मा हुनेछ। सेमिफाइनलमा पराजित भएका दुवै टोली तेस्रो स्थानका लागि डिसेम्बर १७ मा भिड्नेछन् भने प्रतियोगिताको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ । यस प्रतियोगितामा हुने ६४ खेल सातवटा रंगशालामा खेलाइनेछ । अहिलेसम्मकै महँगोविश्वकप आगामी नोभेम्बरबाट कतारमा हुन लागेको विश्वकप अहिले सम्मकै सर्वाधिक महँगो विश्व कपका रुपमा लिइएको छ । विश्वकपका लागि भैतिक संरचना निर्माणको काम सकिएको आयोजक राष्ट्रले जनाएको छ । यसभन्दा अगाडि रुसमा सम्पन्न विश्वकपको तुलनामा कतारमा हुन लागेको विश्वकपमा २० गुणा बढी खर्च भएको छ । रसियामा भएको विश्वकपमा १४.२ अर्ब डलर खर्च भएको थियो भने कतारमा हुन लागेको विश्वकपमा २२० बिलियन डलर खर्च हुने भएको छ । कतारले नयाँ स्टेडियम निर्माणका लागि मात्रै १० बिलियन डलर खर्च गरेको छ । यस्तै, सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा ११.६ अर्ब डलर, सन् २०१० मा साउथ अफ्रिकामा भएको विश्वकपमा ३.६ अर्ब डलर, सन् २००६ मा जमर्नमा भएको खेलमा ४.६ अर्ब डलर र सन् २००२ मा दक्षिण कोरियामा भएको खेलमा कुल ७ अर्ब डलर खर्च भएको थियो । यस्तै, सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा २.३३ अर्ब डलर, सन् १९९४ मा अमेरिकामा भएको खेलमा ५० करोड डलर र सन् १९९० इटालीमा भएको विश्वकपमा ४ अर्ब डलर खर्च भएको थियो । सबै देशको भएको विश्वकपको तुलनामा २०२२ मा कतारमा हुने विश्वकप सबैभन्दा महँगो हुने देखिएको हो । एअर कन्डिसन युक्त रंगशाला विगतमा फिफाले प्रायःजसो जुन वा जुलाई महिनामा विश्वकपको आयोजना गर्ने गर्दथ्यो । कतारमा हुन लागेको विश्वकप भने नोभेम्बर २० बाट सुरु हुने भएको हो । विश्वकपका लागि ८ वटा रंगशाला निर्माण भएका छन् । मौसमलाई ख्याल गरेर विश्वकप खेलाउनका लागि निर्माण गरिएका रंगशालाहरुलाई एअर कन्डिसनयुक्त बनाइएको छ । यसरी पुरै रंगशालामा एअर कन्डिसन जडान गरिएको यो पहिलोपटक हो । फुटबलका फ्यानहरुलाई पनि महँगो कतारमा विश्कप हेर्न जान चाहने फ्यानहरुले टिकट, बसाई र जहाज भाडाको लागि झण्डै २० हजार डलर खर्च गर्नुपर्ने भएको छ । जसले गर्दा थोरै खर्च गरेर विश्वकप हेर्न जान चाहेका फ्यानहरुलाई निराश बनाएको छ । स्थानीय मानिसको लागि टिकटमा छुटको व्यवस्था गरिएको छ । तर, बाहिरी दशर्कहरुको लागि भने स्टेज टिकट कम्तिमा ७० देखि २२० डलर र नकआउट म्याचेच टिकट ६०० देखि १६०० डलर लाग्ने बताइएको छ । ८० प्रतिशत कोठा बुुक विश्वकपका दर्शकहरुका लागि कोठा उपलब्ध गराउनुु जुनसुकै विश्वककप आयोजक देशका लागि चुनौतीपूर्ण विषय हो । कतारमा रहेको कुल होटलमध्ये हालसम्म ८० प्रतिशत होटल बुक भइसकेको बुझिएको छ । कतारको अर्थतन्त्रमा सघाउ आयोजक राष्ट्रले विश्वकप स्वतः खेल्न पाउँछ । विश्वकप खेल्न आयोजक राष्ट्र स्वत छनोट त हुन्छ, तर त्यसका लागि पूर्वाधार तथा व्यवस्थापनका लागि ठूलो लगानी गरेको हुन्छ । जसका कारण आयोजक देशको राष्ट्रिय अर्थतन्त्र चलायमान हुने गरेको छ । कतारले विश्वकप आयोजनाबाट २० अर्ब बढी डलरको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । विश्वकप आयोजनाका लागि देशहरूले फिफा समक्ष आवेदन दिनुपर्छ जसमा फिफाले कर छुटको सुविधा पनि अपेक्षा राख्छ । फिफाले साढे ६ अर्ब डलर कमाउने फिफाले २०२२ को विश्वकपबाट ६.५ अर्ब डलर कमाउने अनुमान गरेको छ । २०१८ को विश्वकपबाट फिफाले करिब ५.२ अर्ब डलर आम्दानी गरेको थियो भने सन् २०१४ मा ४.८ अर्ब डलर आम्दानी गरेको थियो । यस्तै, फिफाले २०१० मा ४.२ अर्ब डलर, सन् २००६ मा २.६ अर्ब डलर र सन् २००२ मा १.६ अर्ब डलर आम्दानी गरेको थियो ।

कतारमा विश्वकप नजिकिएसँगै आप्रवासी कामदारलाई विदा दिँदै घर पठाइँदै

एजेन्सी । कतारी अधिकारीहरुले मध्य दोहामा रहेका सयौं आप्रवासी कामदारलाई उनीहरू बसेको स्थानलाई खालि गर्न दबाव दिइएको छ । कामदारलाई विदामा बस्न दबाव दिइएपछि विश्वकप फुटबलको प्रतिस्पर्धाका लागि लाखौँ विदेशी पाहुनाहरूलाई स्वागत गर्ने पर्खाइमा रहेको कतारको छविलाई भने धुमिल पारेको स्थानइि बासिन्दा र कामदारहरुले शनिबार बताएका छन् । नोभेम्बर २० देखि सुरु हुने प्रतियोगितासुरु हुनुभन्दा चार हप्ता अघि स्थानीय बासिन्दाका अनुसार बुधबार अबेर राति नगरपालिका कर्मचारी र सुरक्षा गार्डहरू करिब १२ वटा भवनमा पसेका थिए । सरकारले ती भवनहरु ‘बस्न अयोग्य’ भएको, उचित सूचना दिइएको र सबै विस्थापितका लागि ‘सुरक्षित र उपयुक्त आवास’ को विकल्प खोजिएको जनाएको छ । प्रभावित क्षेत्र, मुख्यतया अल–मन्सौरा को आसपास, हालका वर्षहरूमा व्यापक रूपमा पुनः विकास गरिएको छ र केहि विश्व कप प्रशंसकहरू त्यस जिल्लाको अपार्टमेन्टमा बस्नेछन् । उक्त अपार्टमेन्टमा बस्दै कतारका भौतिक संरचना निर्माणका लागि काम गर्दै आएका दर्जनौं श्रमिकहरू सडकमा निकालिएका छन् । बङ्गलादेशी सवारी चालक युनुस शनिबार बिहानै अल मन्सुराको एउटा सडकमा ‘फ्ल्याट बेड’को ट्रकको पछाडि सुतेको उनले बताए । उनले भने, ‘पहिलो रात अस्तव्यस्त थियो र सबैलाई अन्य ठाउँमा जान पर्याप्त ठाउँ थिएन । जे होस्, यो ट्रक मेरो जीवन हो र म यसलाई छोड्ने छैन जबसम्म मसँग सुरक्षित विकल्प आउने छैन । यहाँ म मेरो सवारी साधनलाई रोकेर राख्न सक्छु पार्क गर्न सक्छु ।’ अल मन्सौरामा रहेको २४ घण्टा सेवा चल्ने एक स्टोरका दक्षिण एसियाली म्यानेजरले एएफपीसँग कुरा गर्दै आफूले कामदारहरूलाई दुईवटा भवनबाट निकालिएको देखेको बताएका छन् । कतारको २८ लाख जनसङ्ख्यामध्ये ८० प्रतिशतभन्दा बढी भारत, पाकिस्तान, बङ्गलादेश, नेपाल, फिलिपिन्स साथै अफ्रिकी मुलुक केन्या र युगान्डालगायत देशबाट आई कामको शिलशिलामा स्थायी तथा अस्थायी बसोबास गर्ने गरेका छन् । कतारले विश्वकपका लागि अधिकांश चम्किला नयाँ रङ्गशाला र यातायात पूर्वाधार निर्माण गर्ने विदेशी कामदारहरूको व्यवहारको बारेमा गहन जाँचको सामना गर्नुपरेको छ । यहाँ जबजस्ती विदामा बस्न लगाइएका कादारहरूले तलब नपाएको भन्दै ऊर्जाको धनी राज्यको आलोचना हुँदै आएको छ । अन्तर्राष्ट्रिय सङ्घसङ्गठनहरूले हालैका वर्षहरूमा स्थितिमा व्यापक सुधार भएको र कतारले आफ्नो सुधारलाई जोड दिएको बताएका छन्, तर अधिकार समूहहरूले अझै धेरै गर्न आवश्यक रहेको बताएका छन् ।

हुन्डाई कारको टेस्ट ड्राइभ गर्ने ४ जना फिफा विश्वकप हेर्न कतार जान पाउने 

काठमाडौं । फुटबल विश्वकप-२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गत नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा कुनै पनि कार टेस्ट-ड्राइभ गरी फिफा विश्वकप(२०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन् । साउन ३ गते बाट सुरु भएको यस अफरमा नेपालभरका कुनै पनि व्यक्तिले आफ्नो ड्राइभिंग लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा रेजिष्टर गरी सहभागी हुन सक्नेछन् । यो अफरको अन्त्यमा लक्की ड्र मार्फत दुईजना भाग्यशाली विजेताहरूको छनोट गरिने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार प्रत्येक विजेताले उपहार स्वरूप आफूलाई मनपर्ने एकजना अर्को व्यक्तिसँग कतार गई विश्वकप लाइभ हेर्न पाउनेछन् । यसरी जम्माजम्मी चारजना हुन्डाईको स्पाेन्सरसीपमा कतार जान पाउनेछन्। हुन्डाई मोटर्सको हस्पिटालिटी प्रोग्राम मार्फत ल्याईएको यो अफर नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले संयोजन गरेको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरीका १७ डिलर र १९ सर्भिस सेन्टर मार्फत आफ्नो सेवा दिइरहेको छ ।

अष्ट्रेलियाले जित्यो महिला विश्वकप क्रिकेटको उपाधि

काठमाडौं । अष्ट्रेलियाले एकदिवसीय महिला विश्वकप २०२२ को उपाधि जितेको छ । अष्ट्रेलियाले फाइनलमा इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्दै सातौं पटक उपाधि जितेको हो । ३५७ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४३.४ ओभरमा २८५ रनमा अल आउट भयो । इंग्ल्यान्डकी नाट सेभरले १ सय २१ बलमा १४८ रनको सानदार अविजित शतकीय इनिङ खेले पनि टोलीलाई विश्वकप च्याम्पियन बनाउन सकिनन् । अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन् । अष्ट्रेलियाकी अलाना किंगले १० ओभरमा ६४ रन खर्चेर ३ विकेट लिइन् । जेस जेनसेन ८.४ ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए । मेगन स्कटले २ विकेट लिइन् । त्यसअघि क्राइस्टचर्चमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धाारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५६ रन बनाएको थियो । यो महिला विश्वकप फाइनलमा बनेको सर्वाधिक ठूलो योगफल हो । अष्ट्रेलियाले सन् १९७८, १९८२, १९८८, १९९७, २००५ र २०१३ मा उपाधि जितेको थियो ।

विश्वकप फुटबल छनोट: नेपाल जोर्डनसँग पराजित, बिहीबार अस्ट्रेलियासँग खेल्दै

काठमाडाैं । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एशिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । गए राति भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोलअन्तरले पराजित भएको हो । नेपाली खेलाडीमाथि शुरुआतदेखि नै जोर्डनको टोली हावी भएको थियो । जोर्डनले पहिलो हाफमा एक गोल तथा दोस्रो हाफमा दुई गोल गर्न पुग्यो । जोर्डनका लागि बहा फैजलले दुई तथा यजान अल अरबीले एक गोल गरे । जितसँगै जोर्डन समूह बीको दोस्रो स्थानमा उक्लिएको छ । उसको १३ अङ्क रहेको छ । तेस्रो स्थानमा रहेको कुवेतको १० अङ्क छ । कुवेत सिटी रङ्गशालामा जोर्डनले खेलको १६औँ मिनेटमा गोलको अवसर पाएको थियो । यस्तै खेलको २३औँ मिनेटमा रोहित चन्दले डी बक्समा फल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो । जोर्डनका बाहा फैजल सेइफले पेनाल्टीमार्फत गोल गरे । नेपाली टिममा युवा खेलाडीको बाहुल्य रहेको थियो । इराक र चाइनिज ताइपेईविरुद्धको खेलमा बेञ्चमै रहेका विकास खवास जोर्डनविरुद्धको शुरुवाती ११ खेलाडीमै परेका थिए । खेलको २९औँ मिनेटमा घाइते भएपछि उनी मैदानबाट बाहिरिए । उहाँको स्थानमा सुनिल बल मैदान प्रवेश गरे । कुवेतमा खेल सञ्चालन हुँदा अधिकतम तापक्रम ४० डिग्री सेल्सीयसभन्दा बढी रहेको थियो । दोस्रो हाफमा जोर्डनले खेलको ४८औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनायो । खेलको ५८औँ मिनेटमा मनीष डाँगीले मौका पाए पनि गोल गर्न सक्नुभएन । खेलको ६७औँ मिनेटमा अल अरबीले गोल गर्दै नेपाललाई ३–० ले पछि पारे । नेपालले अब बिहीबार अस्ट्रेलियासँग खेल्नेछ ।

आइसीसी विश्वकप लिग दुई: कुशल मल्लले बनाए डेब्युमै विश्व कीर्तिमान

काठमाडौं । नेपालका कुशल मल्लले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाएर विश्व कीर्तिमान कायम गरेका छन् ।आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत अमेरिका विरुद्धको खेलमा शनिबार उक्त कीर्तिमान बनाएका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका लागि छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका बायाँ हाते अलराउण्डर कुशलले ५१ बल खेल्दै ५० रन बनाएका थिए । यस क्रममा उनले तीन छक्का र चार चौकासमेत प्रहार गरे। कुशलले १५ वर्ष ३ सय ४० दिनको उमेरमा विश्व कीर्तिमान बनाएका हुन् । यसअघि एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान नेपालकै रोहितकुमार पौडेलको नाममा थियो । रोहितले युनाइटेड अरब इमिरेटस् (युएई) विरुद्धको एकदिवसीय सिरिजमा उक्त कीर्तिमान बनाउनुभएको थियो । त्यो बेला १६ वर्ष १ सय ४६ दिनको थिए । नेपाल संकटको घडीमा रहेको बेला कुशल ब्याटिङ गर्न आए । त्यो बेला नेपालले पाँच विकेट गुमाएर मात्र ४९ रन बनाएको थियो । उनले विनोद भण्डारीसँग मिलेर नेपालको इनिङ सम्हाले। कुशलले भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीको रेकर्डसमेत तोडेका छन् । यसअघि सचिनले टेस्टमा १६ वर्ष २१३ दिन तथा अफ्रिदीले १६ वर्ष २ सय १७ दिनको हुँदा अर्धशतक प्रहार गरेका थिए । रासस

डिशहोमले गर्यो विश्वकप क्रिकेट लिग दुईको मुख्य प्रायोजन

काठमाडौं । डिशहोमले विश्वकप क्रिकेट लिग २ को मुख्य प्रायोजन गरेको छ । आगामी माघ २९ गतेसम्म किर्तिपुरमा चल्ने त्रिकोणात्मक क्रिकेट सिरिजको प्रायोजक डिशहोमले गरेको हो । नेपाल सहित ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् जसमा जम्मा ६ खेल हुनेछन् । हरेक टोलीले समान दुई–दुई खेल खेल्नेछन् । नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ खेल्नेछ । त्यसैगरी नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ गते हुने भएको छ ।

फिफा विश्वकपकाे दोस्रो चरणमा २३ खेलाडी छनोट

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप दोस्रो चरण छनोटअन्तर्गत समूह चरणको तेस्रो खेलका लागि आज नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । यही असोज २३ गते हुने अष्ट्रेलियाविरुद्धको खेलको लागि अखिल नेपाल फुटबल सङ्घले २३ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको हो । छनोट हुने खेलाडीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् । त्यस्तै, डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् । मिडफिल्डरमा रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई छन् भने फरवार्डमा विमल घर्तिमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् । नेपालले छनोटको पहिलो खेलमा कुवेतसँग ७–० को लज्जास्पद हार बेहोरेको थियो । त्यस्तै दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइलाई उसकै मैदानमा २–० गोललेले पराजित गरेको थियो । रासस

फिफा विश्वकप छनोट खेल्ने फुटबल टोलीको घोषणा

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने आसन्न फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत एशिया दोस्रो चरण छनोटका लागि नेपालले आज प्रारम्भिक चरणमा ३१ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले प्रशिक्षणमा बोलाइएका ३६ खेलाडीमध्येबाट प्रारम्भिक चरणमा ३१ खेलाडीको घोषणा गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे रहेका छन् । दोस्रो चरणको छनोट खेल आगामी भदौ १९ गतेदेखि शुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल कुवेतसँग खेल्नेछ । नेपालले भदौ १९ गते कुवेतसँग घरेलु मैदानमा खेल्ने तय भएता पनि दशरथ रङ्गशालाको पुनःनिर्माण कार्य नसकिदा कुवेतमा नै गएर खेल्ने पक्का भएको छ । नेपालले कुवेतसँग होम एण्ड अवे दुवै खेल कुवेतमा नै खेल्नेछ । छनोट हुने प्रारम्भिक टोलीको गोलरक्षकमा किरणकुमार लिम्बु, एलन न्यौपाने, विकेश कुथु, विशाल श्रेष्ठ छन् । डिफेन्डरमा विराज महर्जन, सरोज दाहाल, रन्जिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देभेन्द्र तामाङ, रवि सिलवाल, दिनेश राजवंशी र बिमल पाण्डे छन् । त्यसैगरी, मिडफिल्डरमा सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, त्रिदेव गुरुङ, हेमन गुरुङ, सुभाष गुरुङ छन् । स्ट्राइकरमा विमल घर्तीमगर, विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट र भरत खवास छन् । रासस

टी–२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर

काठमाडौं । सिङ्गापुरसँग पराजित भएसँगै आगामी वर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । सिङ्गापुरको इन्डियन एसोसिएशन क्रिकेट मैदानमा आज भएको आइसिसी टी–२० विश्वकपकोे एशिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाल घरेलु टोली सिङ्गापुरसँग ८२ रनले पराजित भएपछि विश्वकप खेल्ने सपना चकनाचुर भएको हो । यस हारसँगै नेपाल विश्वकपको ग्लोबल छनौटमा पुग्न असफल भएको छ । यता विजयी हासिल गरेको सिङ्गापुर समूह विजेता बन्दै ग्लोबल छनौटमा पुगेको छ । सिङ्गापुरले दिएको १९२ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १०९ रनमा समेटियो । नेपालले २७ रन जोड्दा पहिलो विकेटका रुपमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको थियो । ५४ रन जोड्दा नेपालले ज्ञानेन्द्र मल्ललाई ३९ रनमा गुमायो । त्यस्तै, नेपालका दीपेन्द्र सिंह ऐरीले २३ र सोमपाल कामीले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । नेपाललाई यस्तै समेट्ने क्रममा सिङ्गापुरका सिलाडोरे विजयकुमार एक्लैले ४ विकेट लिए भने भिनोद भास्करणले २ झारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरको सिङ्गापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९१ रनको योगफल बनायो । उसका लागि टिम डेभिडले सर्वाधिक ७७ रनको योगदान दिँदा रोहन रङ्गराजनले ४९ रन जोडे । त्यस्तै मनप्रीत सिंहले ४२ रन जोडे । नेपालका अविनाश बोहराले ४ विकेट लिए भने करण केसीले २ विकेट हात पारे । रासस

विश्वकप एशिया छनोटः कुवेतद्वारा कतार १० रनले पराजित

काठमाडौं । आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोटअन्तर्गत आज भएको खेलमा कुवेतले कतारलाई १० रनले पराजित गर्दै विजयी भएको छ । सिङ्गापुरको इण्डियन एसोसिएशन क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९७ रनको योगफल बनायो । कुवेतका लागि अदनान आर्डिसले ५६ रनको उत्कृष्ट इनिङ खेले भने मिट भावसारले ३५ तथा उस्मान वहीदले २८ रनको योगदान दिए । बलिङतर्फ कतारका लागि तमोर सज्जाद र इकवाल हुसेनले समान दुई÷दुई विकेट लिए । जीतका लागि १९८ रनको विजयी लक्ष्य बोकेर मैदान उत्रेको कतार निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८७ रनमा समेटियो । कतारका लागि तमोर शज्जादले सर्वाधिक ४६ रनको योगदान दिए भने नोमान शनवारले ३४, इनाम उक हलले २८ तथा फैसल जाभेदले २५ रन जोडे । कुवेतका शिराज खान र जनदु हमौदले दुई÷दुई विकेट झारे । यस हारसँगै तीन खेल खेलेको कतार एक खेलमा जीत तथा दुई खेलमा हार बेहोर्दै दुई अङ्क जोडेको छ । अङ्क तालिकाको अन्तिम स्थानमा रहेको कतार प्रतियोगिताबाट लगभग बाहिरिएको छ । त्यस्तै, नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना भने कायमै रहेको छ । यसअघि दुई खेल खेलेको नेपालले एक खेलमा हार तथा एक खेलमा जीत हासिल गरेको छ । नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो । नेपाल अङ्क तालिकाको चौथो स्थानमा छ । प्रतियोगितामा नेपालसहित मलेसिया, कतार, आयोजक सिङ्गापुर र कुवेत सहभागी छन् । उक्त प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउनेछन् । जारी प्रतियोगितामा आयोजक सिङ्गापुरले तीन अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ भने समान तीन अङ्क नै जोडेको कुवेत नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ । त्यस्तै, दुई अङ्क बटुलेको मलेसिया नेट रन रेटका आधारमा तेस्रो स्थानमा छ । नेपालले आफ्नो तेस्रो खेल भोलि कुवेतसँग खेल्नेछ । रासस