ग्लोबल आइएमई बैंकले गण्डकी प्रदेशलाई दियो १० लाख रुपैयाँ

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच बैंकको गण्डकी प्रादेशिक कार्यालय प्रमुख महेश सिलवालले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । कोभिड-१९ ले विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने बैंकको विश्वास रहेको छ । स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको बैंकले आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जानेछ ।

गण्डकी प्रदेशमा ३२ संक्रमित थपिए, ८ सय ३८ पुगे

कास्की । गण्डकी प्रदेशमा आज ३२ जना कोरोना संक्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ८ सय ३८ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान विज्ञप्ति जारी गरी स्याङ्जामा २२, बागलुङमा आठ तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा दुई जनामा संक्रणमण पुष्टि भएको जनाएको छ । सङ्क्रमितमध्ये छ जना महिला छन् । बागलुङको काठेखोला गाउँपालिकामा सात र ढोरपाटन नगरपालिकामा एक जना छन् । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा १३ पुरुष र छ महिला, पुतलीबजारमा एक तथा वालिङमा एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । त्यसैगरी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा दुई जना रहेका छन् । हुप्सेकोट र वालिङ नगरपालिकाका सङ्क्रमित व्यक्ति आइसोलेसन कक्षमा बसिसक्नुभएको तथा अन्य पालिकाका सबै व्यक्तिलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयाारी भइरहेको निर्देशक शर्माले जानकारी दिए । प्रदेश क्षयरोग केन्द्र पोखरा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ सङ्क्रमण पुष्टि भएको बताइन्छ । प्रदेशमा हालसम्म बागलुङमा १ सय ५१, स्याङ्जामा १ सय ५८, नवलपरासीमा २ सय १२, पर्वतमा ७२, मुस्ताङमा एक, कास्कीमा ३६, मनाङमा एक, लमजुङमा २३, गोरखामा ८२ र तनहुँमा १ सय २ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी अहिलेसम्म विभिन्न अस्पतालमा उपचारपछि १ सय १८ जना निको भएर घर फर्किएको निर्देशनालयले जनाएको छ । सङ्क्रमित दुई जनाको भने मृत्यु भएको छ । प्रदेशमा ९ हजार ४ सय ५८ जनाको पिअिआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन गरिएकामा ७ हजार ९ सय ५८ जनामा सङ्क्रमण नदेखिएको र ८ सय जनाको नतिजा आउन बाँकी रहेको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख नवराज शर्माले जानकारी दिए ।  रासस

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

कास्की । गण्डकी प्रदेशमा आज थप २५ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान विज्ञप्ति जारी गरी तनहुँमा दुई, स्याङ्जा र बागलुुङमा एक÷एक तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २१ जनामा सङ्क्रणमण पुष्टि भएको जनाएको छ । सङ्क्रमितमध्ये २३ जना पुरुष र दुई महिला छन् । सङ्क्रमितमा तनहुँको ब्यास नगरपालिकामा ४९ र ३० वर्षीय पुरुष, स्याङ्जा कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय एक पुरुष, बाग्लुङ बरेङ गाउँपालिकाका २३ वर्षीय एक पुरुष तथा नवलपरासीको गैँडाकोट र कावासोती नगरपालिकाका १९ जना पुरुष र दुई महिलामा कोरोना पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । अहिले सबै जना सङ्क्रमितलाई जिल्लास्थित आइसोलेसन कक्षमा लैजाने तयारी गरिएको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म सङ्क्रमितको सङ्ख्या ७९२ पुगेको छ भने १०१ जना निको भएर घर फर्किएका छन् । गण्डकी प्रदेशमा हालसम्म ७९२ जना कोरोना सङ्क्रमित पुगेका छन् । प्रदेशको मुस्ताङबाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । स्याङ्जाका दुई सङ्क्रमितको भने मृत्यु भएको छ ।

गण्डकी प्रदेशमा थप ३२ जनामा काेराेना, संक्रमितकाे संख्या ७ सय २९

काठमाडाैं । गण्डकी प्रदेशकाे  ८ जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय २९ पुगेको छ । बुधबार बिहान प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणकोको पछिल्लो विवरण अनुसार बाग्लुङमा ९ ,स्याङ्जामा ७, लमजुङमा ५, पर्वतमा १, कास्कीमा ५, गोरखा १ जना, नवलपुरमा ३ र तनहुँ १ जनामा काेराेना पुष्टि भएकाे गण्डकी प्रदेश काेराेना नियन्त्रण तथा राेकथाम कार्यक्रमका निर्देशक डा.विनाेद बिन्दु शर्माले जानकारी दिए । पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय ४

काठमाडौं । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विहानै चार जिल्लाका थप १६ जनालाई कोरोना पुष्टि भएको जानकारी दिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । आइतबार संक्रमित हुनेहरुमा बाग्लुङ जिल्लाका ९ जना, म्याग्दीका ४ जना, तनहुँका १ जना र पर्वतका २ जना रहेका छन् । उनीहरु सबैलाई सम्बन्धित जिल्लामा रहेको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको डा. शर्माले बताएका छन् ।

गण्डकी प्रदेशमा एकै दिन १०८ सङ्क्रमित थपिए , मुस्ताङमा पनि काेराेना

कास्की/गण्डकी प्रदेशमा शनिकार मात्र १०८ जना नयाँ सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले साँझ ७ः४५ बजे जारी गरेको विज्ञप्तिअनुसार ५० जनामा नयाँ सङ्क्रमण पुष्टि भएको जनाइएको छ । हालसम्म प्रदेशमा सङ्क्रमित ४८८ जना पुगेका छन् । यससँगै हिमालपारिको जिल्ला मुस्ताङमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशका अन्य १० जिल्ला सङ्क्रमण देखिँदा मुस्ताङमा देखिएको थिएन । मुस्ताङको घरपजोङ गाउँपालिकाका ८३ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठन गरिएको उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । पछिल्लो अद्यावधिक विवरण अनुसार बाग्लुङमा २९, तनहुँमा दुई, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १८ र मुस्ताङमा एकजना छन् । यसअघि बिहान कास्की, तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, स्याङ्जा र बाग्लुङमा गरी ५८ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । नयाँ सङ्क्रमितहरु सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेकाहरु भएको र अहिले सबै जनालाई जिल्लास्थित आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा हालसम्म सङ्क्रमितको सङ्ख्या ४८८ पुगेको छ । हालसम्म स्याङ्जामा ७६, नवलपरासीमा १३३, बागलुङमा १०३, पर्वतमा ४३, गोर्खामा ४१, तनहुँमा ७०, कास्कीमा १५, म्याग्दीमा चार तथा लमजुङ, मुस्ताङ र मनाङमा एक÷एकजना सङ्क्रमित छन् । हालसम्म ३९ जना विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । एकजना सङ्क्रमितको भने मृत्यु भएको छ ।

गण्डकी प्रदेशमा थप ७७ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या ३ सय २४

काठमाडौं । विहीबार गण्डकी प्रदेशमा हालसम्म कै सबैभन्दा धेरै कोरोना ७७ जना संक्रमित भेटिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयले बिहान ५:४५ बजे, ८ बजे र ९ बजे गरी तीन पटक जारी गरेको प्रेस विज्ञप्तीमा ७७ जना नयाँ संक्रमित भेटिएका जनाएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयको पछिल्लो सूचनाअनुसार स्याङजामा ९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमित पुष्टि हुनेमा आँधिखोला गाउँपालिकामा ७२ र ३४ वर्षीया २ जना महिला तथा १३ र १९ वर्षका २ पुरुष छन् । यसैगरी कालिगण्डकी गाउँपालिकाका १८, २१, २६, ३० र ३३ वर्षीय ५ जना पुरुषमा कोरोना पुष्टि भएको छ । त्यस्तै पर्वतमा ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । कुश्मा नगरपालिका २० वर्षीय पुरुष, फलेबास नगरपालिकाका १९ र २२ वर्षीय २ पुरुष, जलजला गाउँपालिकाका १६ वर्षीय पुरुष रहेका छन् । बागलुङ गल्कोट नगरपालिकाका ३३ वर्षीय एक पुरुषम पनि कोरोना पुष्टि भएको हो । तनहुँको ब्यास नगरपालिकाका ३ जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । उनीहरु २९, २५ र ४५ वर्षीय पुरुष हुन् । पूर्वी नवलपरासीका १३ जनामा कोरोना पुष्टि भएको छ । १९ देखि ३९ वर्ष समूहका उनीहरु हुप्सेकोट गाउँपालिका र विनयत्रिवेणी गाउँपालिकाका हुन् । संक्रमित सबै भारतबाट आएर सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा रहेको निर्देशनालय निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् । संक्रमित सबै क्वरेन्टाइनमा नै रहेको र सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ जनाएकाे छ । विहीबार विहान नै गोरखामा ११ जना, तनहुँमा १२ जना, नवलपरासीमा १८ जना र मनाङमा १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । हिमाली जिल्ला मनाङमा पहिलो पटक कोरोना देखिएको हो । गण्डकी प्रदेशमा योसँगै कोरोना संक्रमितको संख्या ३ सय २४ पुगेको छ ।  जसमध्ये २२ जना निको भइ घर फर्किसकेका छन् भने १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना पुष्टि, पहिलो पटक मनाङमा नि देखियो

काठमाडौं । गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार विहान गोरखा, मनाङ, तनहुँ र नवलपरासी पूर्वमा थप ४२ जना कोरोना संक्रमित भेटिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । जसमा अन्तर्गत मनाङमा १ जना, गोरखामा ११ जना, तनहुँमा १२ जना र नवलपरासीमा १८ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको सङ्ख्या २ सय ८९ पुगेको छ। हिमाली जिल्ला मनाङको चामे गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । अब गण्डकी प्रदेशमा मुस्ताङ बाहेक सबै जिल्लामा कोरोना संक्रमित देखिएको छ ।

प्रदेश नं २ मा संक्रमितको संख्या २ हजार १ सय ८२, गण्डकी प्रदेशमा थप २१ जनामा काेराेना

काठमाडाैं । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ३ सय ६७ पुगेको छ । पछिल्लो २४ घण्टामा सात महिलासहित १ सय ८५ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यसअघि प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार १ सय ८२ थियो । सप्तरीमा ३, सिरहामा ३, धनुषामा २१, महोत्तरीमा ९, सर्लाहीमा १६, रौतहटमा ५२ र पर्सामा २ गरी १ सय ८५ नयाँ सङ्क्रमित थपिएको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए । यस प्रदेशबाट मङ्गलबार २८ सङ्क्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म सङ्क्रमितमध्येबाट ५ सय ६ उपचारपश्चात निको भएर घर फर्केको सचिव डा घिमिरेले बताए । प्रदेशमा अहिलेसम्म ३४ हजार ४ सय ४५ को स्वाब सङ्कलन गरिएकामा २१ हजार ५० को रिपोर्ट नेगेटिभ आएको छ भने १ हजार २ सय २८ जनाको रिपोर्ट आउन बाँकी छ । अहिलेसम्म १५ हजार ७ सय ३४ को आरडिटी माध्यमबाट परीक्षण गर्दा ७ सय ८२ मा पोजिटिभ देखिए भने १४ हजार ९ सय ५२ जनाको रिपोर्ट नेगेटिभ रहेको छ । प्रदेशअन्तर्गतका ४ सय ३९ क्वारेन्टिनअन्तर्गत १२ हजार ३ सय ३१, होम क्वारेन्टिनमा १४ हजार ५ सय ७९ र आइसोलेसनमा ९ सय ३९ जना बसेका छन् । गण्डकी प्रदेशमा २१ जना कोरोना सङ्क्रमित थपिए गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) र पर्वत जिल्लामा गरी बुधबार थप २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ७ः५० बजे विज्ञप्ति जारी गरी नवलपरासीमा १८ र पर्वतमा तीन नयाँ सङ्क्रमित थपिएको जनाएको छ । नवलपरासीको हुप्सेकोट गाउँपालिकाका १९, १९, २३, २०, २४, ३५, ३६, १८, २०, १८, २०, २४, २१ र १८ वर्षका गरी १४ पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । त्यसैगरी मध्यविन्दु नगरपालिकाका १६ र ३० वर्षका पुरुष, कावासोती नगरपालिकाका वर्ष ३७ वर्षका पुरुष तथा पालिका नखुलेको एक जना २७ वर्षका पुरुषमा समेत सङ्क्रमण फेला परेको बताइएको छ । पर्वतको फलेवास नगरपालिका १९ र २१ वर्षका दुई पुरुष र ४६ वर्षीया एक महिलामा समेत सङ्क्रम पुष्टि भएको छ । नयाँ सङ्क्रमण पुष्टि भएका सबै जना भारतबाट आएर सम्बन्धित जिल्लाको स्थानीय तहको क्वारेन्टिनमा रहेकाहरु भएको र अहिले जिल्लामा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा हालसम्म २ सय ४७ कोरोना सङ्क्रमित पुगेका छन् । प्रदेशका मनाङ र मुस्ताङबाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । अहिलेसम्म स्याङ्जामा ६४, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ६६, बागलुङमा ४१, पर्वतमा २९, गोरखामा २५, तनहुँमा ११, कास्कीमा सात, म्याग्दीमा तीन र लमजुङमा एक जना सङ्क्रमित छन् । कूल सङ्क्रमितमध्येमा १३ महिला छन् । सङ्क्रमितमध्ये २२ विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । एक सङ्क्रमितको भने मृत्यु भएको छ । प्रदेशमा हालसम्म ८ हजार ४ सय ४३ जनाको पिसीआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन (स्वाब) लिइएकामा ५ हजार ८ सय ६२ को नतिजा नेगेटिभ आएको छ । स्वाब लिइएकाहरुमध्ये २ हजार ३ सय ५५ जनाको नतिजा आउन बाँकी रहेको बताइन्छ । रासस

गण्डकी प्रदेशमा कृषिमा ७४ करोड वृद्धि

कास्की । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०७७/७८ मा कृषितर्फको बजेट वृद्धि गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सोमबार प्रदेशसभामा प्रस्तुत गरेकाे नयाँ बजेट ३४ अर्ब ८४ करोड रूपैयाँ, २१ लाख ६० हजार मध्ये कृृषि, सहकारी तथा भूमि व्यवस्थातर्फ ३ अर्ब १६ करोड १० लाख रूपैयाँ विनियोजन गरिएको छ । चालू आर्थिक वर्षमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको बजेट प्रदेश सरकारको १ अर्ब ६७ करोड तथा सङ्घीय सरकारबाट ससर्त अनुदान ७५ करोड रूपैयाँ गरी २ अर्ब ४२ करोड रहेकामा आगामी वर्षमा ७४ करोड १० लाख रूपैयाँ वृद्धि गरिएको हो । आगामी आर्थिक वर्षमा कोभिड–१९ का कारणले रोजगारी गुमाएर विदेशिएका नागरिक स्वदेश फर्किने अनुमानसहित सरकारले देशभित्रै रोजगारी सिर्जना तथा स्वरोजगार बनाउने तथा उत्पादन वृद्धिका कार्यक्रमलाई बजेटमा समेटेको छ । बजेटमा एक पालिका, एक उत्पादन कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न अन्नबाली, फलफूल, नगदेबाली तथा तरकारी र पशुपक्षी तथा मत्स्यपालनका पकेट क्षेत्र स्थापना र विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । भू बनोट र संभाव्यताको आधारमा आलु खेती, चैते धान, अगौटे सुन्तला, कागती, अलैँची, कफी, च्याउ, रेशम खेती, घाँसेबाली, मौरीपालन जस्ता कार्यक्रमलाई निरन्तरता दिँदै यसका लागि २ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ । पशु, फलफूल, तरकारी र अन्नबालीको नयाँ प्रजाति विकास, पशु नश्ल सुधार र उन्नत बिउ उत्पादन गर्ने अनुसन्धानात्मक कार्यक्रमलाई जोड दिँदै गाई, भैंसी तथा बाख्राको नश्ल सुधार गरी उत्पादकत्व वृद्धि गर्न स्रोत केन्द्रको विकास गर्ने कार्यक्रम छ । स्याउ उत्पादनमा आत्मनिर्भर हुन मनाङ, मुस्ताङ र गोरखाका (धार्चे र चुमनुब्री) उच्च घनत्वमा आधारित स्याउ खेती विकास कार्यक्रम तथा बाली तथा पशुपक्षी बीमा कार्यक्रमलाई निरन्तरता दिने बजेटमा उल्लेख छ । सरकारले सहुलियत ब्याजदरमा कृषि ऋण उपलब्ध गराउने कार्यक्रमको व्यवस्थाका लागि रु दुई करोड दुई लाख विनियोजन गरेको छ । बाँझो तथा खेतीयोग्य जमीनको चक्लाबन्दी गरी सहकारी, सामूहिक, करार तथा व्यावसायिक खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै कृषि उपजको उत्पादन परिमाणका आधारमा यस्ता समूहलाई प्रोत्साहित गर्ने कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ । उत्पादन र उत्पादकत्व वृद्धि गर्न मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रमलाई निरन्तरता दिँदै सबै स्थानीय तहमा विस्तार गर्न ४ करोड २६ लाख विनियोजन गरिएको छ । कृषि उपज तथा पशुपक्षीजन्य उत्पादनको बजारीकरणलाई सहज र व्यवस्थित गर्न सङ्कलन केन्द्र, प्रशोधन केन्द्र, शीतभण्डार गृह, चिस्यान केन्द्र र आधुनिक पशु बधस्थल स्थापना र सञ्चालन गर्न सहयोग गर्ने कार्यक्रमलाई निरन्तरता दिन ६ करोड ४१ लाख रूपैयाँ छुट्टाइएको छ । तनहुँको आँबुखैरेनी र स्याङजाको मालुङ्गामा स्थापित द्रुत विषादी अवशेष परीक्षण केन्द्रलाई थप स्रोतसाधन सम्पन्न बनाइ पशुपक्षी रोग नियमन गर्ने प्रयोगशालाको रूपमा समेत सञ्चालन गर्न रु दुई करोड ९९ लाख विनियोजन गरिएको छ । ‘पार्कोटे‘ र ‘लिमे’ जस्ता गण्डकी प्रदेशका रैथाने जातका भैँसीपालन कार्यक्रमलाई प्राथमिकता तथा स्थानीय प्रजातिका खरी जातको बाख्रा, च्याङ्ग्रा, भेडा, चौरी, कुखुरा, कालो सुँगुर, जेठोबुढो धान आदि प्रवद्र्धन गर्ने सरकारको योजना छ । पशुपंक्षीको लागि आवश्यक पर्ने दानाको आपूर्तिलाई सहज र सर्वसुलभ बनाउन निजी क्षेत्रको साझेदारीमा दाना र साइलेज उद्योग स्थापना गर्न १ करोड १२ लाख रूपैयाँ विनियोजन गरिएको छ । भेटेरिनेरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्रयोगशालाको स्तरोन्नती गर्न तथा पशु रोग नियन्त्रणका लागि खोप बैंक स्थापना गरी पशुखोप कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरिएको जनाइएको छ । खेतीयोग्य जमीनमा १२ महिना सिँचाइ सुविधा पुर्याउन साना सिँचाइका नयाँ आयोजनाको निर्माण, पुराना आयोजनाको स्तरोन्नती र मर्मत–सम्भार तथा प्रभावकारी व्यवस्थापन गर्ने कार्यक्रमलाई निरन्तरता दिन २ करोड ४ लाख रूपैयाँ विनियोजन गरिएको छ । भौगोलिक सूचना प्रणालीमार्फत भूउपयोगको तथ्याङ्क अद्यावधिक गरी प्रदेशस्तरीय भूउपयोग योजना तयार गर्ने गर्ने, सरकारी तथा सार्वजनिक, निजी र गुठी जग्गाको अभिलेख अद्यावधिक गरी व्यवस्थित गर्न आवश्यक बजेटको व्यवस्था गरिएको बजेटमा उल्लेख । बजेटमा सहकारी संस्थाको दर्ता, नवीकरण, नियमन, अनुगमन तथा संस्थागत क्षमता विकास गर्ने र एक सहकारी, एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिइएको छ ।   रासस

गोरखामा थप १० जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय २३ पुग्यो

काठमाडौं । गण्डकी प्रदेशको ५ जिल्लामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअन्तर्गत गोरखामा मात्रै १० जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको संख्या २ सय २३ पुगेको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिएका छन् । कोरोना संक्रमण हुनेहरुमा गोरखा नगरपालिकाका ७ पुरुष र १ महिला, गोरखाकै बारपाक सुलिकोट गाउँपालिका निवासी ५३ र २५ वर्षका २ जना पुरुषमा पनि कोरोना देखिएको छ । त्यस्तै पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका १/१ जनामा कोरोना देखिएको छ । यसैगरी कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष र बाग्लुङको ताराखोला गाउँपालिकाको ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको चापाकोट नगरपालिकाका ४ जना पुरुषमा कोरोना संक्रमण देखिएको निर्देशक डा. शर्माले बताएका छन् । क्वारेन्टाइनमा रहेका सबै जना कोरोना संक्रमितहरु भारतबाट फर्किएका हुन् । अब उनीहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक डा.शर्माले बताएका छन् ।

गण्डकी प्रदेशकाे ३४ अर्बकाे बेजेटकाे प्राथमिकतामा कृषि, उद्योग र रोजगारी

काठमाडाैं । गण्डकी प्रदेश सरकारले ३४ अर्ब ८० करोड रुपैयाँको बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले साे बजेट प्रस्तुत गरेका हुन् । प्रदेशले कुल बजेटकाे चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार रुपैयाँको बजेट विनियाेजन गरकाे छ । यस्तै, वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ प्रस्ताव गरिएको छ । आगामी आर्थिक वर्षको बजेटमा खर्च ब्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ११ करोड २६ लाख, ससर्त अनुदान ४ अर्ब ८४ लाख, समपूरनक अनुदान १ अर्ब ४९ करोड ६९ लाख, विशेष अनुदान ५४ करोड, राजस्व बाँडफाँडबाट प्राप्त हुने ७ अर्ब ५७ करोड ३७ लाख, रोयल्टीमार्फत ३० करोड, आन्तरिक राजस्वबाट प्राप्त हुने ४ अर्ब ६० करोड ८५ लाख रुपैयाँ अनुमान गरिएको छ । गण्डकी प्रदेश सरकारले ल्याएको बजेटमा स्वास्थ्य, कृषि, उद्योग, रोजगार, शिक्षामा जोड दिएको छ । आगामी वर्ष प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने बताउँदै गण्डकी प्रदेशले अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा खर्च, जोखिम भत्ता लगायतका सबै प्रकारका भत्ता साउन १ गतेदेखि खारेज गरेको छ । कोरोना रोगको रोकथाम, नियन्त्रण र उपचारमा संलग्न स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी लगायतका राष्ट्रसेवकलाई प्रदेश सरकारका तर्फबाट दिइदै आएको जोखिम वहन तथा प्रोत्साहन भत्तालाई निरन्तरता दिने आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताए ।

एउटै गाँउपालिका ५ जनामा काेराेना, गण्डकी प्रदेशमा संक्रमितकाे संख्या २ सय ४

काठमाडाैं । तनहुँ जिल्लाकाे घिरिङ गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त गाउँपालिका स्थायी ठेगाना भई सोही गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४५, २२, २७, २७, र ४६ वर्षिय ५ जना पुरुषहरूमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले बताएका छन् । याेसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या २ सय ४ पुगेकाे छ । उनीहरूलाई शुक्लागण्डकी नगरपालिकामा रहेको जी.पी.कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसन कक्षमा ल्याइएको छ ।  

गण्डकी प्रदेशमा कोरोना संक्रमितकाे संख्या १ सय ९९ नाघ्याे

कास्की । गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा आज थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान विज्ञप्ति जारी गरी देवचुली नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष २३ र ३२ का दुई पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ । यससँगै हालसम्म प्रदेशमा संक्रमितको सङ्ख्या १ सय ९९ पुगेको छ । संक्रमित दुवै जनालाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा उपचारका लागि लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । स्याङ्जामा ६०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ४५, बागलुङमा ४०, पर्वतमा २६, गोरखामा १५, कास्कीमा पाँच, तनहुँमा चार, म्याग्दीमा तीन र लमजुङमा एक जना संक्रमित रहेका छन् । त्यस्तै १६ जना उपचार पछि निकाे भएर घर फर्किएका छन् । रासस

गण्डकी प्रदेशमा ३७ सङ्क्रमित थपिए

पाेखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमित ३७ जना थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिअनुसार गण्डकीका स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र नवलपुरमा एक-एक जनामा सङ्क्रमण पुष्टि भएको छ । थपिएका तीन वर्षदेखि ६६ वर्षसम्मका पुरुष छन् । स्वास्थ्य निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथामका लागि गठित उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माका अनुसार स्याङ्जाको गल्याङ नगरपाालिकाका ६६, ४४, १६, २०, १८, २९, ३५, २३, १५, ४५, २५, २०, ३१, २५, २०, २०, २४ र ३५ वर्ष उमेरका गरी १८ र वालिङ नगरपालिकाका ३३ र ३५ वर्ष तथा अर्जुन चौपारी गाउँपालिकाका तीन वर्षका एक र अर्को चार वर्षका एक जना छन् । त्यसैगरी पर्वतको कुस्मा नगरपालिका-१० मध्ये १९, २३, २९, ३७, ४५, २८, २० र २८ वर्षीय पुरुष र अर्का एक जनाको उमेर खुलेको छैन । ३५ वर्षका एक पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गरिहेको रहेको बताइन्छ । अन्य सङ्क्रमित पैँयु गाउँपालिकाका २० र विहादी गाउँपालिका ३५ वर्षका छन् । तनहुँको घिरिङ गाउँपालिकाको १९ वर्षका र नवलपरासीको मध्यविन्दु नगरपालिकाका १७ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशक शर्माले जानकारी दिए । सङ्क्रमितलाई सम्बन्धित जिल्लाको जिल्ला अस्पतालमा उपचारका लागि ल्याउने तयारी भइरहेको बताइन्छ । हालसम्म गण्डकीका मनाङ र मुस्ताङबाहेक अन्य नौ जिल्लामा कोभिड-१९ सङ्क्रमित फेला परेका छन् । जम्मा सङ्क्रमित १८८ पुगेका छन् । स्याङ्जामा ६०, बागलुङमा ४०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ३८, गोरखामा १५, पर्वतमा २२, कास्कीमा पाँच, तनहुँमा चार, म्याग्दीमा तीन र लमजुङमा एक सङ्क्रमित छन् । गण्डकी प्रदेशका गत चैत १५ गते बाग्लुङका एक १९ वर्षीया किशोरीमा पहिलोपटक सङ्क्रमण फेला परेको थियो । हालसम्म सङ्क्रमितमध्ये ११ जना उपचार गराएर निको भएपछि घर फर्किएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सङ्क्रमितमध्ये स्याङ्जाका एक जनाको मृत्यु भएको छ । रासस

गण्डकी प्रदेशमा थप २४ जनामा काेराेना पुष्टि, संक्रमितको संख्या १ सय ४४

काठमाडाैं । गण्डकी प्रदेशकाे ३जिल्लामा थप २४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १ सय ४४ पुगेकाे  छ । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेकाे काेराेना परीक्षणमा नवलपरासी बौदीकाली गाँउपालिका निवासी १२ जना  रहेकाे गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डा. विनोद बिन्दु शर्माले बताए । म्याग्दी जिल्ला बेनी नगरपालिका निवासी १ जना र बाग्लुङ निसीखोला गाँउपालिकाका ३ जना र सोही जिल्लाको बरेङ गाँउपालिका निवासी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ सय १३

काठमाडौं । आइतबार विहानै गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा ४ जिल्लाका ३८ जना पुरुषमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । याेसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १ सय १३ पुगेकाे छ । संक्रमित हुनेहरुमा स्याङ्जा वालिङ नगरपालिका निवासी १३ जना र भिरकोट नगरपालिका निवासी १ जना पुरुषमा कोरोना पुष्टि भएको छ । त्यस्तै बाग्लुङ बडिगाड गाँउपालिका ९ जना पुरुष र ढोरपाटन गाँउपालिका निवासी १ जना पुरुष सहित बाग्लुङ्मा एकैचोटी १० जनामा कोरोना पुष्टि भएको छ । यता गोरखा जिल्लाको पालुङटार नगरपालिकामा १ र गण्डकी नगरपालिका ९ जनामा कोरोना देखिएको छ । भने नवलपरासी वर्दघाट सुस पूर्वको हुप्सेकोट गाँउपालिका ४ जनामा कोरोना पुष्टि भएको निर्देशक डा. शर्माले जानकारी दिए । हाल सबै संक्रमितहरुलाई सम्बन्धित जिल्ला अस्पतालको आईसोलेसनमा लैजाने तयारी भइरहेको जनाएका छन् ।

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या ७५

काठमाडौं । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १४ जना र भरतपुर अस्पतालमा ३ जना गरि शनिबार थप १७ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । जसमा स्याङ्जा जिल्ला वालिङ नगरपालिका निवासी ८ जना पुरुषहरु १६, १९, २३, २५, ३२, ४४, ५२, ५४ उमेरसमूहका र हरिनास गाँउपालिकाका १८, ४० वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो ।  बाग्लुङ, ताराखोला गाँउपालिकाका ३९ वर्षिय पुरुष, कास्की जिल्ला रुपा गाँउपालिकाका २३, ३२ वर्षिय पुरुषहरु र पोखरा महानगरपालिकाका ५९ वर्षिय पुरुष रहेका छन् । त्यसैगरी भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा कोरोना पुष्टि हुने नवलपरासी, बिनय त्रिबेणी गाँउपालिका निवासी १८, १९, २७ वर्षिय पुरुष रहेका छन् । हाल सबै संक्रमितलाई  जिल्ला अस्पताल पुराउने तयारी भइरहेकाे गण्डकी प्रदेश काेराेना राेकथाम तथा  नियन्त्रण कार्यक्रमका निर्देशक डा. विनोद बिन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

स्याङ्जा र पर्वतमा थप १० जनामा कोरोना, गण्डकी प्रदेशमा ३७ जना पुगे संक्रमित

काठमाडौं । स्याङ्जा र पर्वत जिल्लामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वत जिल्लामा भने पहिलो पटक एकैचोटी ५ जनामा कोरोना संक्रमण देखिएको हो । मंगलबार पर्वतको फलेवास नगरपालिकाका २० र ४० वर्षिय पुरुष, र महाशिला गाँउपालिका निवासी ३ जना १९, २०, २१ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् । त्यस्तै स्याङ्जाको चापाकोट नगरपालिका निवासी ४ जना २२, २६, ३२, ४० वर्षिय पुरुषहरु र विरुवा गाँउपालिकाका २० वर्षिय पुरुषसहित ५ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । हालसम्म ३ जना उपचारपछि निको भइ घरफर्किएका छन् ।

गण्डकी प्रदेश सरकारले सागका पदक विजेता खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने

कास्की । गण्डकी प्रदेश सरकारले सागका पदक विजेता खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने गण्डकी प्रदेश सरकारले १३ औँ दक्षिण एशियाली खेलकुद (साग)मा गण्डकी प्रदेशबाट सहभागी भई पदक विजेता खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने भएको छ । प्रदेश सरकारको आइतबारको मन्त्रिपरिषद् बैठकले पदक विजेता खेलाडीलाई पुरस्कृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए । सरकारले व्यक्तिगततर्फ स्वर्ण विजेतालाई रु एक लाख, रजत पदकलाई रु ७५ हजार तथा काँस्य पदकलाई जनही रु ५० हजारका दरले पुरस्कृत गर्ने निर्णय गरेको छ । समूहतर्फ स्वर्ण विजेतालाई रु ७५ हजार, रजतलाई रु ५० तथा काँस्य पदकलाई रु ३० हजार नगद पुरस्कार प्रदान गर्ने भएको । त्यसैगरी प्रशिक्षकलाई समेतलाई जनही रु ३० हजार, रु १५ हजार रु १० हजारका दरले सरकारले नगद पुरस्कार दिने भएको छ । मन्त्री बस्नेतले कोभिड–१९ को अहिलेको विषम अवस्थाका कारणले तत्कालै पुरस्कार प्रदान गर्न नसकिएकाले उपयुक्त समयमा खेलाडीहरुलाई घोषित नगद पुरस्कार प्रदान गरिने बताउनुभयो । सागमा व्यक्तिगत र टिम इभेन्टमा गरी गण्डकीका कूल ३७ जना खेलाडीले चार स्वर्ण, २३ रजत र १६ काँस्य गरी ४३ पदक जितेको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीले जानकारी दिए । लमजुङका पार्वती गुरुङ र स्याङ्जाकी प्रशंसा क्षेत्री (तेक्वान्दो) र बाग्लुङका नवीन रसाइली (कराँते) मा स्वर्ण पदक जित्न सफल भएका थिए । फुटबलमा सुमन अर्याल (नवलपुर)ले समूहतर्फ स्वर्ण पदक जितेका थिए । गत वर्ष मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन भएको १३ औँ सागअन्तर्गत विभिन्न आठ खेल गण्डकी प्रदेशको राजधानी शहर पोखरामा खेलाइएको थियो ।