हरेक साता निक्षेपको व्याजदर बढ्दै, पहिलो असर सेयर बजारमा पर्न सक्ने
काठमाडौं, २८ असार । कुमारी बैंकले ७० दिनको मुद्दती खातामा ७ प्रतिशत व्याजदर घोषणासहित निक्षेपको अपिल गरेको छ । ७० दिन अवधिको मुद्दतीमा न्यूनतम १ लाख बचत गर्नेले ७ प्रतिशत व्याज पाउने छन् । व्यक्तिगत निक्षेपकर्ताको लागि मात्र यो योजना ल्याएको बैंकले जनाएको छ । राष्ट्र बैंकले दिएको निर्देशक अनुसार बैंकहरुले घोषित व्याजदरमा १ प्रतिशत थप गरेर निक्षेप स्वीकार गर्न सक्नेछन् । यस आधारमा बढी रकम देखाएर मोलमोलाई गर्ने बचतकर्ताले ८ प्रतिशतसम्म व्याज पाउने देखिएको छ । बैंकहरुले गत सातादेखि संस्थागत निक्षेपकर्तालाई ७.७५ प्रतिशत व्याज दिन थालेका छन् । विगत एक महिनादेखि बैंकहरुले छोटोछोटो अवधिमा व्याजदर बढाउन थालेका छन् । प्रत्येक साता करिव शुन्य दशमलव २५ प्रतिशतले व्याजदर बढ्दै गएको छ । कर्जाको माग बढेको र लगानी योग्य पुँजीको कमी भएकोले निक्षेपको व्याजदर बढेको बैंकर्सहरुले बताएका छन् । पछिल्लो समय वित्तीय बजारमा कर्जा निक्षेप अनुपात हाल ८० प्रतिशतभन्दा माथि रहेको राष्ट्र बैंकले जनाएको छ । त्यसैले बैंकको व्याजदर अझै बढ्न सक्ने अनुमान गरिएको छ । करिव ५ वर्षपछि निक्षेपकर्ताले उच्चतम व्याज पाउन थालेका छन् । यद्यपी अहिले बजारमा चलेको व्याजदर मुद्रास्फिति दरभन्दा कम छ । चालु आर्थिक वर्षको मुद्रास्फिति ९ प्रतिशतभन्दा बढी छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहदा मुद्रास्फिति दरभन्दा निक्षेपको व्याजदर बढी हुने गरी नीति बनाउन विज्ञहरुले सुझाव दिईरहेका छन् । निक्षेपको व्याजदर वृद्धिले कर्जाको व्याजदरलाई पनि बढाउँछ । यसले उद्योगको उत्पादन लागत बढाउनुको साथै सेयर र घरजग्गाको मूल्य वृद्धिलाई रोक्ने छ । व्याजदर वृद्धिको असर सबैभन्दा पहिले सेयर बजारमा पर्न सक्छ । उच्चतम विन्दुमा पुगेको सेयर बजारमा गिरावट आउने सम्भावनाहरु बढेर गएका छन् ।
सेयर बजारको कारोबार अवधि दुई घण्टा बढाउने तयारी, क्लियरिङ बैंक थप्नुपर्ने धितोपत्र बोर्डको सर्त
काठमाडौं, २६ असार । सेयर बजारको कारोबार अवधी दुई घण्टा बढाउने तयारी सुरु भएको छ । केहि दिन पहिले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले कारोबार अवधी बढाउनु पर्ने वा नपर्नेबारे सुझाव मागेको थियो । सुझाव दिने अधिकांशले समय बढाउनु पर्ने र दुई घण्टा समय बढाउँदा उपयुक्त हुने सुझाव दिएका हुन् । ‘आएका अधिकांश सुझावहरुले समय बढाउनु पर्ने माग गरेका छन, दुई घण्टा बढाउँदा उपयुक्त हुने सुझाव धेरै छन्’, नेप्सेका प्रवक्ता शम्भु पन्तले विकासन्युजसँग भने । १० वर्षअघि कायम गरिएको १२ देखि ३ बजेको कारोबार अधवी कम भएको बताउँदै प्रवक्ता पन्तले समय बढाउन ढिलो भैसकेको बताए उता, नेपाल धितो पत्र बोर्डले नयाँ क्यिरिङ बैंक नथपि समय बढाउन नहुने सर्त अघि सारेको छ । बोर्डका प्रवक्ता निरज गिरिले कारोबार अवधी बढाउनु पर्ने आवश्यकता रहेको तर त्यो भन्दा पहिले क्लियरिङ बैंकको संख्या थप्नु पर्ने बताए । ‘कारोबार अवधी बढाउँनै पर्नेछ तर त्यो भन्दा पहिले नै क्यिरिङ बैंकको संख्या थप्नुपर्छ’, प्रवक्ता गिरिले भने । दैनिक हुने गरेको दुई अर्ब हाराहारीको कारोबार एउटै मात्र क्यिरिङ बैंकले गर्न नसक्ने बताउँदै उनले सिडिएस एण्ड क्लियरिङ हाउसलाई तत्कालै क्लियरिङ बैंकको संख्या थप्न पुनः निर्देशन दिईसकिएको पनि जानकारी दिए । यस अघि बोर्डले बैशाख १ गते भित्रै क्लियरिङ बैंकको संख्या थप्न निर्देशन दिएको थियो । तर सिडिएसले अझैसम्म पनि बोर्डको निर्देशनको पालना गर्दै क्लियरिङ बैंकको संख्या थपेको छैन् । सेयर बजार बिश्लेषक रविन्द्र भट्टराईले पनि कारोबार अवधी बढाउन ढिलो भैसकेको बताए । थोरै समयको कारोबारले बजार कमजोर रहेको सन्देश जाने भएकाले कारोबार अवधी बढाएर बजार बलियो भएको सन्देश दिनुपर्ने उनको भनाई छ । उनले समय बढाउँदै प्रबिधीमा समेत व्यापक सुधार गर्नुपर्नेमा पनि जोड दिए । कारोबार अवधी बढाउँदा बजारमा लगानी कर्ताको पहुँच सरल हुने बताउँदै उनले प्रबिधीमा सुधार नगरिए थपिएको समयले कुनै उपलब्धि नदिने दावी पनि गरे । नेप्सेले बजारको आकार ठुलो भएको, दैनिक ठुलो कारोबार भैरहेको र बजारलाई अन्तराष्ट्रिय स्तरको बनाउन तथा लगानी कर्ताको सहज पहुँच अभिवृद्धिका लागि भन्दै कारोबार अवधी बढाउने प्रयास गरिरहेको छ ।
यी हुन सेयर बजारमा गुमाउने १० कम्पनी
काठमाडौं, ५ असार । अघिल्लो साता निरन्तर बढेको सेयर बजार आइतबार दोहोरो अंकले घट्यो । त्यसमा पनि निरन्तर बढिरहेको इन्स्योरेन्स कम्पनीहरुको परिसूचक एकै पटक १५५ दशमलब शुन्य २ अंकले ओरालो लाग्यो । आइतबार नेप्से परिसूचक १० दशमलब ६७ अंकले घटेर १६२२ दशमलब २७ अंकमा झरेको छ । १३७ कम्पनीको १९ लाख ३१ हजार कित्ता सेयर एक अर्ब ६५ करोडमा कारोबार भयो । आइतबार बिभिन्न १० वटा कम्पनीको सेयर मुल्यमा भारी गिरावट आयो । गुमाउने मध्ये पाँच वटा त इन्स्योरेन्स कम्पनीका लगानी कर्ता थिए । आइतबार प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानी कर्ताले १२६ रुपैंयाँ गुमाउन पुगेका छन् भने लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका लगानी कर्ताले प्रति सेयर ९३ रुपैंयाँ गुमाएका छन् । एसियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानी कर्ताले पनि ८० रुपैंयाँ नोक्सानी व्यहोरेका छन । नेपाल इन्स्योरेन्स कम्पनीका लगानी कर्ताले ६० रुपैंयाँ नोक्सानी व्यहोरेका छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका लगानी कर्ताले पनि प्रति कित्ता एक सय रुपैंयाँ गुमाएका छन् । त्यस्तै, महिला सहयात्रा माइक्रो फाइनान्सका वित्तिय संस्थाका लगानी कर्ताले पनि प्रति कित्ता ७५ रुपैंयाँ गुमाएका छन् । अल्पाइन डेभलपमेन्ट बैंकका लगानी कर्ताले ३४ रुपैंयाँ नोक्सानी व्यहोरेका छन् । आइसीएफसी फाइनान्सको सेयर मुल्य प्रति कित्ता १६ रुपैंयाँले घटेको छ । ओम डेभलपमेन्ट बैंकका लगानी कर्ताले २१ रुपैंया नोक्सानी खाएका छन् । युनाइटेड फाइनान्सका लगानी कर्ताले पनि प्रति कित्ता १६ रुपैंयाँ गुमाउन पुगेका छन्
सेयर बजार जोखिमतिर
काठमाडौं, ५ असार । अघिल्लो साता सेयर बजारमा लगातारजसतो नयाँ रेकर्ड बने । दैनिक एक अर्ब बढिको कारोबार, इतिहासमै पहिलो पटक दुई अर्ब ५ करोडको कारोबार र सेयर बजारको मापक नेप्से परिसूचक दैनिक नयाँ उचाईमा पुगिरह्यो । नेपाली सेयर बजारको गहिराई कति हो र कतिसम्मलाई जोखिमरहित तथा कतिभन्दा बढे जोखिमयुक्त भन्ने कुनै निश्चित मापदण्ड बनिनसकेकोले यसरी बजार निरन्तर बढेपछि नियामक निकाय नेपाल धितो पत्र बोर्डले विज्ञप्ति निकाल्दै सेयर लगानीकर्तालाइ सचेत बन्न आग्रह गरेको छ । अर्थतन्त्र संकुचित भैरहेको र आर्थिक परिसूचकहरु उत्साहजनक नरहेका बेला सेयर बजार बढेको भन्दै बोर्डले विज्ञप्तिमा बजारमा जोखिम बढ्न सक्ने संकेत गरेको छ । बोर्डका प्रवक्ता निरज गिरि भन्छन्–‘सेयर बजारका लगानी कर्ताले सधै सचेत हुनु पर्छ, झन् अहिले बजार निरन्तर बढेको छ, बढिरहेको बजार घट्न पनि सक्छ, हामीले लगानी कर्तालाई सचेत गराउने हो ।’ बोर्डले सेयर बजारको लगानी जोखिम रहित नहुने तथ्य स्मरण गराउँदै अर्थतन्त्रकै वृद्धिदर सकारात्मक नभएको अवस्थामा बजारको वृद्धिले थप जोखिम निम्त्याएको बताएको छ । लगानी कर्ताको हकहितको संरक्षण गर्ने आफ्नो जिम्मेवारी अनुसार सचेत गराइएको पनि बोर्डले बताएको छ । अर्थतन्त्र खुम्चिएर शुन्य दशमलब ७७ प्रतिशतको वृद्धिदरमा सिमित हुँदा बजार निरन्तर उकालो लाग्नुलाई बोर्डले सचेत हुुनु पर्ने बताएपनि नेप्सेले भने स्वभिावक मानेको छ । सेयर बजार विश्लेषक पनि बजार बढ्नुलाई अस्वभाविक मान्दैनन् । नेपाल स्टक एक्सचेञ्ज९नेप्से०का सह प्रवक्ता मुराहरी पराजुली भन्छन–‘बजारमा जोखिम मापनको आधार के हो रु कति बढ्यो भने जोखिम मान्ने रु त्यसकारण बजारलाई जोखिम उन्मुख भन्न मिल्दैन् ।’ उनले अहिले सेयर बजार खुम्चिनु पर्ने कुनै कारण नरहेको बताउँदै भने–‘सिडिएसले कारोबारलाई सहज बनाएको छ, तरलता बढेकाले सस्तो ब्याजदरमा ऋण लिएर लगानी कर्ता सेयर बजारमा आएका छन्, आत्तिनु पर्ने अवस्था छैन् ।’ यस्तै, सेयर बजार विश्लेषक रविन्द्र भट्टराई पनि सेयर बजार बढ्नुलाई स्वभाविक नै मान्छन् । उनको विश्लेषणमा यो परफरमेन्स पुस मार्केट नभएर डिमाण्ड पुल मार्केट हो । त्यसकारण पनि बजार दैनिक बढिरहेको उनको निष्कर्ष छ । सेयरको मुल्य बढेका कारण पुराना लगानी कर्ता आकर्षित भएको र त्यसले नयाँलाई समेत बजारमा तानेको भट्टराई बताउँछन् । बजारमा विशेषतः बीमा कम्पनीको सेयरमा लगानी कर्ताको बिशेष आकर्षण बढेको छ । तीन वर्षभित्रै सबै नेपालीको बिमा गरिसक्ने सरकारी घोषणाले बीमा कम्पनी प्रति लगानी कर्ता आकर्षित भएका हुन् । त्यसो त बीमा कम्पनीहरुको पूँजी बढाउन बीमा समितिले दिएको निर्देशनले पनि बजार वृद्धिमा सहयोग गरिरहेको छ । नेप्से परिसूचक साताको पहिलो दिन अर्थात आइतबारको तुलनामा ३४ दशमलब ९८ अंकले बढेर अन्तिम दिन १,६३२ दशमलब ९४ अंकमा पुगेर बजार बन्द भएको छ । पाँच दिनमा ९ अर्ब ३० करोड ७२ लाख ४८ हजार रुपैयाँमा एक करोड ५२ लाख ९३ हजार नौ सय ७० कित्ता सेयर खरिद बिक्री भए । यो रकम अघिल्लो साता भन्दा ३५ दशमलब ८६ प्रतिशत बढि थियो
यस्ता छन् सेयर बजार बढ्नुका कारण
काठमाडौं, १ असार । पछिल्लो केहि दिनदेखि नेप्सेले लगातार नयाँ रेकर्ड कायम गरिरहेको छ । कारोबार रकम दुई अर्ब नाघ्ने देखि नेप्से परिसूचक समेत दैनिक नयाँ उचाईमा पुगिरहेको छ । आइतबारदेखि बुधबारसम्ममा नेप्से परिसूचक ५२ अंकले बढेको छ भने ७ अर्ब २५ करोडको कारोबार भैसकेको छ । अर्थतन्त्र खुम्चिएर शुन्य दशमलब ७७ प्रतिशतको वृद्धिदरमा सिमित हुँदा पनि बजार निरन्तर उकालो लागेपछि सेयर बजारका जानकारहरुकै मत पनि बाझिन थालेको छ । नियामक निकाय नेपाल धितो पत्र बोर्डले लगानी कर्ता सचेत हुनुपर्ने बताएको छ भने नेप्सेले बजार बढ्नुलाई स्वभाविक मानेको छ । सेयर बजार विश्लेषक पनि बजार बढ्नुलाई अस्वभाविक मान्दैनन् । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का सह प्रवक्ता मुराहरी पराजुली भन्छन–‘बजारमा जोखिम मापनको आधार के हो ? कति बढ्यो भने जोखिम मान्ने ? त्यसकारण बजारलाई जोखिम उन्मुख भन्न मिल्दैन् ।’ उनले अहिले सेयर बजार खुम्चिनु पर्ने कुनै कारण नरहेको बताउँदै भने–सिडिएसले कारोबारलाई सहज बनाएको छ, तरलता बढेकाले सस्तो ब्याजदरमा ऋण लिएर लगानी कर्ता सेयर बजारमा आएका छन्, आत्तिनु पर्ने अवस्था छैन् ।उता, नियामक निकायका रुपमा रहेको धितो पत्र बोर्डले भने लगानी कर्ता सचेत हुनु पर्ने बताउन थालेको छ । ‘बजार बढ्नु राम्रो हो तर सेयर बजारका लगानी कर्ता जहिल्यै सचेत हुनु पर्छ, अहिले त बजार निरन्तर बढिरहेको छ, त्यसकारण पनि लगानी कर्ताले बिशेष ध्यान पुर्याउनु पर्छ’, बोर्डका प्रवक्ता निरज गिरिले भने । बजारमा बढेको तरलता, सिडिएस प्रबिधीले ल्याएको सहजताले सेयर बजार बढेको तथ्य भने गिरि पनि स्विकार गर्छन् । बैंक तथा वित्तिय क्षेत्रको परफरमेन्स सन्तोषजनक रहेको तथा रेमिटेन्स आप्रवाह नघटेकाले सेयर बजार बढेको पनि उनले बताए । बजार विश्लेषक रविन्द्र भट्टराई पनि सेयर बजार बढ्नुलाई स्वभाविक नै मान्छन् । उनको विश्लेषणमा यो परफरमेन्स पुस मार्केट नभएर डिमाण्ड पुल मार्केट हो । त्यसकारण पनि बजार दैनिक बढिरहेको उनको निष्कर्ष छ । सेयरको मुल्य बढेका कारण पुराना लगानी कर्ता आकर्षित भएको र त्यसले नयाँलाई समेत बजारमा तानेको भट्टराई बताउँछन् । बुधबार मात्रै बजार ६ दशमलब ३२ अंकले बढेर नेप्से परिसूचक १६२० दशमलब ५७ अंकमा पुगेको छ । यो दिन १३५ कम्पनीको १७ लाख ९२ हजार कित्ता सेयर एक अर्ब ३९ करोडमा कारोबार भएको हो ।
सेयर बजार उच्च विन्दुमा, धितोपत्र बोर्ड भन्छ-लगानीकर्ता होसियार !
काठमाडौं, ३० फागुन । सेयर बजारको मूल्य मापक नेप्से विहीबार ११.४९ अंकले बढेर १३१८ पुगेको छ । यो अहिलेसम्मकै उच्चतम विन्दु हो । विहीबारको सूचकका आधारमा नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीहरुको सेयर विक्री योग्य मूल्य १४ खर्ब १९ अर्ब ९९ करोड रुपैयाँ हो । यो रकम नेपाली कुल ग्राहस्थ्य उत्पादन (जीडीपी)को करिव ७१ प्रतिशत हो । सोही दिने नेपाल धितोपत्र बोर्डले सर्वसाधारण सेयर लगानीकर्तालाई सचेत भएर लगानी गर्न आग्रह गरेको छ । बोर्डले अर्थतन्त्रका आधारभूत परिसूचकको अवस्था सन्तोषजनक नभएको अवस्थामा सेयरमा सजगतापूर्वक लगानी गर्न आग्रह गरेको छ । गत असारयता पुँजी बजार बढ्दो क्रममा रहेको भन्दै बोर्डले अर्थतन्त्र कमजोर हुँदा नेप्सेमात्रै उकालो लागेको भन्दै सचेत भएर लगानी गर्न आग्रह गरेको हो । नेप्से परिसूचक देशको अर्थतन्त्रको ऐनको रुपमा रहने भएकाले अर्थतन्त्र कमजोर भएको बेला सजग हुन पनि भनेको छ । बोर्डले बजारमा फैलन सक्ने हल्लाको पछाडि नलाग्न पनि आग्रह गरेको छ । बोर्डले विहिवार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । ‘धितोपत्र लगानीकर्ताले धितोपत्र खरीद बिक्री सम्बन्धि निर्णय गर्दा समग्र अर्थतन्त्र, सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीको हरेक पक्षको जानकारी लिनुका साथै धितोपत्र बजारको अवस्था तथा बजार सुधारका काम काबाहीहरुकोसमेत अध्ययन गरेर मात्र सुझबुझपूर्ण तबरले निर्णय लिइ लगानी गर्नुपर्नेतर्फ सचेत रहन लगानीकर्तालाई अनुरोध गर्दछ,’ बोर्डले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । विकास अवस्थाको आधारमा विकसित देशका पूँजी बजारहरुको तुलनामा नेपालको पूँजी बजार अत्यान्त पछाडि रहेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की बताउँछन् । तर बजारमा सेयरको माग र मूल्यवृद्धि उच्च छ । बजार परिपक्व नभएको र साना लगानीकर्ता डुब्ने जोखिम भएकोले लगानीकर्तालाई सजग गराउनु परेको उनी बताउँछन् । बोर्डको सचेनता मुलक सूचनालाई ठूला लगानीकर्ताले भने रुचाएका छैनन् । बजार घट्दा सरकारले सुधारको प्रयास गर्ने हो, बजारमा लगानीकर्ताले लाभ लिइरहेको समयमा सरकारी निकायको हस्तक्षेप राम्रो होइन, यस्तो विज्ञप्ती अरु देशमा जारी गर्दैनन्’ एक जना लगानीकर्ताले भने ‘पहिला पनि यस्तो विज्ञप्ती जारी गर्दा गर्दै बजार घट्यो, फेरी घट्ने जोखिम बढ्यो ।’ सार्वजनिक विदाका कारण तीनदिन बन्द भएर खुलेको विहीबारको शेयरबजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बीमा र लघुवित्त कम्पनीहरुले बजार बढाएपछि नेप्से परिसुचक ११ दशमलब ४९ अंकले बढेर १ हजार ३ सय १८ अंकमा पुगेको छ । सो दिन २ दर्जनभन्दा बढी कम्पनीको शेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढे पनि बजारमा धेरै हिस्सा ओगटेका टेलिकम लगायत कृषि विकास बैंक बाहेक अन्य वाणिज्य बैंकमा भने खासै उत्साह भने देखिएको छैन । विहीबार १ सय २६ कम्पनीको ९७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । वित्त र अन्य समूह बाहेक सबै समूह उल्लेखनीय वृद्धि भएको बजारमा कारोबार रकममा समेत उल्लेखीय रुपमा बढेको छ । अघिल्लो कारोबारको तुलनामा कारोबार रकम झण्डै २० करोड रुपैयाँले बढेको हो । यस दिन बीमा समूहमा कम्पनीको मूल्य निकै बढेको छ भने धेरै कमाउनेको सूचीमा पनि विमा कम्पनी धेरै देखिएका छन् । विहिबारको बजारमा एकदर्जन वीमा कम्पनीको शेयरमूल्य दश प्रतिशतका दरले बढेको छ । जलविद्युत, विकास बैंक, होटल र वाणिज्य बैंक समूह पनि बढेको छ । सुचिकृत मध्ये २६ कम्पनीको शेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढ्दा तीमध्ये १२ वटा वीमा कम्पनी रहेका छन् । वीमा समूहको सूचक मात्रै १ सय ८६ अंकले बढेको छ भने यो समूहको मात्रै ४२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुको समेत चुक्तापँजी बढाउने तयारी गरेको छ । यसैकारण लगानीकर्ताहरुको ओईरो लघुवित्त कम्पनीमा लागेपछि सेयर मूल्य र कारोबार रकम बढेको हो । त्यस्तै वाणिज्य बैंक समूहले २३ करोडको कारोबार गर्दा लघुवित्त समावेश विकास बैंक समुहको पनि २१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । पछिल्लो समयमा बीमा समूह र लघुवित्त समूहको सेयर मूल्य ह्वात्तै बढेको छ । यो समूहका कम्पनीको सेयर माग पनि अधिक छ । गत साताको अन्तिम कारोवार भएको दिन विहीबार बजारमा अत्याधिक सेयर माग हुने ५ कम्पनीमा सबै लघुवित्त संस्था रहेका छन् । सो दिन एउटा लघुवित्त संस्थाको १५ हजार कित्तासम्म सेयर माग भएको छ ।
सेयर बजारमा साढे १२ अंकको वृद्धि, कारोबार पनि ५० करोड नाघ्यो
काठमाडौं, ६ पुस । सोमबार पूँजी बजार १२ दशमलब ५७ अंकले बढेर ११३१ दशमलब ५२ अंकमा पुगेको छ । सो दिन १२१ कम्पनीको ७ लाख २७ हजार कित्ता सेयर ५० करोड ४६ लाखमा किनबेच भएको हो । एनआईसी एसिया बैंकको मात्रै ९ करोड ८० लाख मुल्य बराबरको सेयर किनबेच भएको छ । बैंकले हिजो मात्रै ३९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो । बैंकले बोनस सेयर वितरण गरेपछि ४ः१ को अनुपातमा हकप्रद सेयर समेत जारी गर्ने निर्णय गरेको थियो । बोनस सेयर तथा हक प्रद सेयर निष्काशन गर्ने निर्णयका कारण एनआईसी एसियाको सेयर कारोबार बढेको बिश्लेषक रबिन्द्र भट्टराईले बताए । उनका अनुसार एसबिआई बैंकको समेत बोनस सेयर वितरण गर्ने निर्णयको प्रभाव बजारमा परेको छ । सो बैंकको ५ करोड ३० लाख मुल्य बराबरको सेयर किनबेच भएको छ । सोमबार बैंकिङ समुह १८ दशमब ६६ अंकले बढेको छ भने इन्स्योरेन्स समुह ६४ दशमलब २६ अंकले बढेको छ । उता, उर्जा र होटल समुह भने क्रमशः १६ दशमलब ६१ र २० दशमलब २१ अंकले घटेका छन् ।
सेयर बजारमा मौद्रिक नीति प्रभाव–तत्काल बढ्छ, पछि घटछ
रामकृष्ण पौडेल बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने लगानीकर्ताले आगामी ३ वर्ष ३ महिना नगद लाभांश पाउने छैनन् । [divider] काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको सेयर पुँजीको न्युनतम सीमालाई ४ गुणा बढाउने घोषणा गर्यो । उक्त घोषणा लगत्तै सेयर बजारमा हरियो बत्ति बल्यो । बिहीबार २ बजे ९६८ अंक रहेको नेप्सेपरिसूचक ३ बजे १००३ अंकमा पुग्यो । बैकिङ समूहको परिसूचक ५७ अंकले बढ्यो । विकास बैंक समूहको परिसूचक २६ अंकले बढ्यो । फाइनान्स कम्पनी समूहको परिसूचक ५ अंकले बढ्यो । यदि परिपक्व लगानीकर्ता भएको विकसित सेयर बजारमा यहि नीति सार्वजनिक हुने थियो भने सेयर बजारमा रातो बत्ती बल्ने थियो । परिसूचकहरु घट्ने थिए । किनकी अगामी करिब ३ वर्ष ३ महिनासम्म कुनै पनि बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई नगद लाभांश दिने सम्भावनाको ढोका मौद्रिक नीतिले बन्द गरिदिएको छ । सेयरका लगानीकर्ताहरु ढुक्क भए हुन्छ्, यदि घोषित नीतिमा नेपाल राष्ट्र बैंक अडिएर बस्न सक्यो भने २०७५ साल असोज मसान्तअघि कुनै पनि बैंक तथा वित्तीय संस्थाले सेयरधनीलाई नगद लाभांश दिने छैनन् । बरु लगानीकर्ताले हकप्रद सेयर किन्न बैंकमा पैसा बुझाउनु पर्नेछ । नाफा गर्ने बैंकहरुले बोनस सेयर दिने छन् । नाफा गर्न नसक्नेहरु ठूलो मूल्य त्यागसहित सम्झौता गरेर नाफा गर्दै आएका बैंकमा गाभिने वा विलय हुनेछन् । मर्ज तथा विलयमा नजाने हो भने आगामी दुई वर्षमा वित्तीय क्षेत्रमा २ खर्ब ६६ अर्ब रुपैयाँ भन्दा बढीको सेयर पुँजी थप्नु पर्नेछ । ३० वटा वाणिज्य बैंकको सेयर पुँजी हाल ८७ अर्ब ६५ करोड छ । राष्ट्र बैंकको नीति अनुसार बंैकहरुले संख्या यथावत रहने हो भने कम्तिमा २३२ अर्ब रुपैयाँ सेयरपुँजी हुनुपर्छ । त्यसका लागि वाणिज्य बैंकका सेयरधनीहरुले दुई वर्षमा १ खर्ब ४५ अर्ब रुपैयाँ थप लगानी गर्नुपर्ने हुन्छ । विकास बैंकहरुमा २५ अर्ब ६० करोड रुपैयाँको सेयरपुँजी छ । मर्जरको बाटोमा नजाने हो भने यिनका लगानीकर्ताले कम्तिमा ७५ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । फाइनान्स कम्पनीहरुको सेयरपुँजी हाल १५ अर्ब ९५ करोड रुपैयाँ छ । उनीहरुले कम्तिमा ४६ अर्ब रुपैयाँ पुँजी थप्नुपर्ने हुन्छ । यति धेरै पुँजी थप्नुपर्ने नीति आएपछि बैंक तथा वित्तीय संस्थाका अधिकांश प्रवद्र्धक चिन्तित भएका छन् । त्यसमा पनि दुई दुई थरी लगानीकर्ता बढी तनावमा छन् । पहिलो थरीका लगानीकर्ता ती हुन् जसले चोरबाटो प्रयोग गरेर बैंकमा राष्ट्र बैंकले तोकेको सीमा भन्दा बढी पारिवारिक लगानी गरेका छन्, बैंकलाई परिवारको कब्जामा राखेका छन्, उक्त बैंकमा अध्यक्ष हिजो बाबु थियो, आज छोरा छ, भोली नातीलाई बनाउने सपना देख्दै आएका थिए । एउटै परिवारले ठूलो परिणाममा पुँजी थप्न गाह्रो हुनेछ । समस्यामा पर्ने दोस्रो थरी लगानीकर्ता ती हुन् जसले हिजो गैरकानुनी रुपमा आर्जन गरेर लगानी गरेका थिए, आज गैरकानुनी आर्जनको पुँजी बैंकमा लगानी गर्न सकिदैन (आम्दानीको स्रोत देखाउनुपर्छ) वा आज गैरकानुनी आर्जनका बाटोहरु बन्द भएका छन् । घोषित नीतिअनुसार २०७४ असार मसान्तसम्म चुक्ता पूँजी वृद्धि गरी वाणिज्य बैंकहरुले ८ अर्ब, राष्ट्रिय स्तरका विकास बैंकहरुले २ अर्ब ५० करोड, ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरुले १ अर्ब २० करोड, १ देखि ३ जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरुले ५० करोड तथा राष्ट्रिय स्तरका र ४ देखि १० जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीहरुले ८० करोड एंव १ देखि ३ जिल्ला कार्यक्षेत्र भएका वित्त कम्पनीहरुले ४० करोड रुपैयाँ पु¥याउनुपर्ने छ । उक्त रकम विद्यमान व्यवस्थाको चार गुणा बढी हो । बैंक तथा वित्तीय संस्थाहरुलाई एक–आपसमा गाभ्न–गाभिन र प्राप्ति गर्न थप प्रोत्साहन गर्न यस्तो नीति लिइएको राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले बताए । बैंक तथा वित्तीय संस्थाहरुको पूँजीगत आधार सुदृढ गरी दीर्घकालीन विकासका लागि आवश्यक पर्ने स्रोत परिचालन गर्न तथा वित्तीय स्थायित्व प्रवद्र्धन गर्न न्यूनतम चुक्ता पूँजी वृद्धि गर्नु परेको राष्ट्र बैंकको तर्क छ । बैंकहरुलाई बलियो बनाउन पुँजी वृद्धि गर्नुपर्छ भन्नेमा सबै सहमत छन् । लगानीकर्ता निरञ्जन तिवडेवाल भन्छन्–बैंक तथा वित्तीय संस्थाको संख्या धेरै छ । तर उनीहरुको पुँजी आधार कम छ । यसलाई बढाउँनै पर्छ । दुई वर्षमा ४ गुणा पुँजीवृद्धि गर्ने नीति व्यवहारिक र सम्भाव छैन भन्नेमा सबै सहमत देखिएका छन् । ‘यो नीति बलजफ्ती मर्ज गराउने उदेश्यले आएको छ । यसले राम्रो परिणाम दिदैन’ एक जना बैंकर्सले भने । लगानीकर्ता सचेत हुनुपर्ने बेला बिहीबार जस्तै आइतबार पनि सेयरको मूल्य ह्वात्तै बढ्न सक्छ । खास गरी बोनस सेयर पाइन्छ र बेच्दा फाइदा हुन्छ भन्ने साना लगानीकर्ताको विश्लेषण हुन्छ । नेपाल सेयर ब्रोकस एशोसिएशनका पूर्व अध्यक्ष अञ्जनराज पौडेल भन्छन्–पहिला पनि बैंक तथा वित्तीय संस्थाहरुले पुँजी बढाउने चरणमा सेयरको मूल्य निकै माथि गएको थियो । पुँजी बढाउने क्रमको मध्यमा आएपछि सेयर आपूर्ति बढ्यो र सेयर मूल्यमा उच्च गिरावट आयो । लगानीकर्ता निरञ्जन तिवडेवाल मौद्रिक नीतिको प्रभावले सेयर बजारमा २० प्रतिशतसम्म वृद्धि हुन सक्ने बताउँछन् । ‘पुँजी वृद्धि सम्बन्धि राष्ट्र बैंकको नीतिले बैंक तथा वित्तीय संस्थालाई बलियो बनाउन सघाउँछ । यसको असरले सेयर बजार वृद्धिमा सहयोग पुग्छ ।’ तर यसैको आधारमा नेप्से १५ सय÷दुई हजार पुग्छ भनेर गरिएको अनुमान गलत सावित हुने उनी बताउँछन् । सेयर बजारमा संस्थागत लगानीकर्ता आएपछि बजार लामो अवधि निरन्तर बढ्ने वा घट्ने ट्रेण्ड छैन । पौडेल भन्छन्–‘भूकम्पको असरले सेयर बजार धेरै तल जान्छ कि भन्ने आशंका थियो, तर तीन दिन मात्र नेप्से घट्यो । १६ बुँदे राजनीतिक सहमतिपछि बजार ह्वात्तै बढ्छ भन्ने अनुमान गरियो । तर एकदिन मात्र उच्चदरको वृद्धि देखियो ।’ उच्च दरमा मूल्य घट्यो वा बढ्यो भने संस्थागत लगानीकर्ता निर्णयक भएर आउने गरेको र उनीहरुले सेयर बजारलाई उनीहरुले चेक एण्ड ब्यालेन्समा राख्न सहयोग गरेको पौडेलको विश्लेषण छ । अब हुन्छ के ? बोनस सेयर र हकप्रद सेयर पाउने आसमा साना तथा ठूलो संख्यामा रहेका लगानीकर्ता अब उच्च मूल्य तिरेर सेयर किन्न तयार हुनेछन् । सेयर बजारका अनुभवी खेलाडीहरु नेप्से १५ सयदेखि २ हजारसम्म पुग्ने विश्लेषणसहित प्रचारमा ओर्लने छन् । यसले तत्काल सेयरको मूल्य वृद्धिमा सहयोग पुर्याउने छ । गत आर्थिक वर्षमा राम्रो नाफा कमाएका बैंक तथा वित्तीय संस्थामध्ये अधिकांशले आगामी ६ महिनाभित्र साधारणसभा गरि बोनस सेयर वितरण गर्ने छन् । कम नाफा गरेका र नाफै नगरेका कम्पनीहरुले पनि हकप्रद सेयर जारी गर्ने निर्णय गर्नेछन् । केही बैंक तथा वित्तीय संस्थाहरुले अग्राधिकार सेयर वा ऋणपत्र जारी गर्न सक्छन् । यसले बजारमा धितोपत्रको आपूर्ति बढाउने छ । परिणामः मूल्य घटाउन दवाब दिनेछ । दोस्रो विकल्प मर्ज वा विलय हो । यो बाध्यताको विकल्प हो । यसले कम्पनीका लगानीकर्ता, खासगरी प्रवद्र्धकलाई उत्साहित गर्ने छैन, निरास बनाउने छ । मर्ज वा विलयपछिका कम्तिमा दुई वर्ष कम्पनीले नाफा गर्न सक्दैनन् । तत्काल नाफाको खोजीमा लगानी गर्ने लगानीकर्तालाई यसले निरास बनाउने छ र त्यसको प्रभाव सेयर बजारसम्म पुग्छ । ठूलो सेयर पुँजीले बैंक तथा वित्तीय संस्थालाई बलियो बनाउने पक्का छ । जोडिएर आउने सत्य के पनि हो भने कम्पनीको सेयरपुँजी जति बढी भयो त्यसले लगानीकर्तालाई दिने प्रतिफल प्रतिशत कम हुँदै जानेछ । ८० करोड सेयरपुँजी हुँदाको बखत स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले सेयरधनीलाई १०० प्रतिशत लाभांश दिएको थियो । २०० करोड सेयर पुँजी भएपछि उसले सेयरधनीलाई ५० प्रतिशत मात्र लाभांश दिन सक्यो । गत वर्षमात्र नविल बैंकले सेयरधनीलाई ६५ प्रतिशत लाभांश दिएको थियो । भाविष्यमा कुनै पनि बैंकले यो स्तरको लाभांश दिन सक्ने छैनन् । माईक्रोसफ्टले झै नाफा दशकैसम्मको नाफा रिजर्भमा जम्मा गरे वा चुक्ता पुँजीभन्दा तीन गुणा बढी रिजर्भ बनाए भने त्यसपछिको अवस्थामा उच्चदरको लाभांश दिन सक्नेछन् ।
३० हजार कित्ता नक्कली सेयर बजारमा, जीएनजीका सञ्चालकको संग्लनता
हालै खुलासा भएको फर्जी सेयरको कारोबारमा जीएनजी कम्पनीको संलग्नता रहेको प्रारम्भिक अध्ययनमा भेटिएको छ । कम्पनी सञ्चालक गोविन्द घिमिरेको डिजाइनमा उनीसंगै छत्र थापा, भरतबहादुर थापा, रामहरी अर्याल, अर्यालकी श्रीमती लगायतले एक वर्षदेखि नै सेयरको फर्जी कारोबारमा संलग्न रहेको भेटिएको स्रोतले जानकारी दिएको छ । ‘करिब ६ महिनाअघि नै छत्र थापाले नेशनल हाइड्रोपावर कम्पनीको फर्जी सेयर कारोबार गरेको खुल्न आएपछि उनलाई प्रहरीले हिरासतमा राखेको थियो,’ स्रोतले भन्यो । उनलाई त्यतिखेर जीएनजी कम्पनीका सञ्चालक अर्यालले जमानतमा छुटाएका थिए । अरुण सेक्युरिटीजमा समेत काम गरेका थापा श्रीहरी सेक्युरिटीजमा कार्यरत रहँदा पक्राउ परेका थिए । तर पछिल्ला दिनमा चिलिमे जलविद्युत् कम्पनी र सानिमामाई हाइड्रोपावर कम्पनीको फर्जी सेयर कारोबारमा समेत छत्र थापाको संग्लनता भेटिएपछि जीएनजी कम्पनीका अन्य सञ्चालकहरु पनि अनुसन्धानको घेरामा आएका हुन् । नेशनल हाइड्रोपावर कम्पनी, चिलिमे जलविद्युत् कम्पनी र सानिमामाई हाइड्रोपावर कम्पनीको फर्जी सेयर कारोबारमा जीएनजी कम्पनीका सञ्चालकहरुको संग्लनता भेटिए पनि हरेक पटकको कारोबार फरक÷फरक तरिकाले फर्जी कारोबार गरेको देखिएको छ । नेशनल हाइड्रोपावरको २५ लाख कित्ता स्वामित्व नखुलेको, कम्पनीले हकप्रद सेयर जारी गरेर उठेको रकम हिनामिना गरेको भन्दै लगानीकर्ता दीपक कार्की र प्रकाश रजौरेले दुई बर्षअघि पनि पटक पटक आवाज उठाउँदै आएका थिए । नेशनल हाइड्रोपावर कम्पनीको सेयरमा कम्पनीको स्तरबाट नै गलत अभ्यास भएको देखिएको थियो । तर चिलिमे जलविद्युत् र सानिमामाईको फर्जी कारोबारमा व्यक्तिगत संलग्नता रहेको नेप्सेका उच्च अधिकारीहरुको बुझाई छ । नेशनल हाइड्रोपावर कम्पनीको करिब ११ हजार कित्ता फर्जी सेयर कारोबार गरेको अनुभव लिइसकेका छत्र थापा र उनको टोली अन्य कम्पनीहरुको समेत फर्जी सेयर कारोबारमा अग्रसर भए । थापा फन्र्टलाइनमा देखिएपनि मुख्य योजनाकार भने गोपाल घिमिरे रहेको पनि हालसम्मको अनुसन्धानबाट देखिएको छ । बागबजारमा कार्यालय नै खोलेर यो समूह सक्रिय रहेको खुलेको छ । ‘सानिमामाई हाइड्रोपावर कम्पनीको फर्जी सेयर कारोबारमा यो समुहले बजार सञ्चालकहरुको कमजोरीको फाइदा उठाएको देखिन्छ,’ दोस्रो स्रोतले भने । सानिमामाइ हाइड्रोपावर कम्पनीको १९ कित्ता र एक सय ४३ कित्ता सेयर राफसाफको क्रममा सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) मा पुगेको तर नामसारी भएर खरिदकर्ताले नपाएको देखिन्छ । ‘सीडीएससीबाट ती सेयर हराएको देखिन्छ, त्यही सेयरको नक्कली प्रमाणपत्र बनाएर कारोबार गरिएको आशंका गरिएको छ,’ अर्का स्रोतले भने । सीडीएससीले सेयर राफसाफको लागि दुवै पक्ष स्वयं उपस्थित हुनुपर्ने नियम दुई बर्ष अघि लगाएको थियो । ब्रोकर कर्मचारीका स्टाफ नै प्रमाणपत्र बोकेर सीडीएससीमा जाने गर्दथे । दुई पक्षको उपस्थितिमा मात्रै सेयर राफसाफ गरिन्थ्यो । तर यही क्रममा सानिमामाईको सेयर सीडीएससीमा पुगेर हराएको देखिने दोस्रो स्रोत बताउन्छ । चिलिमे जलविद्युत् कम्पनीको भने फर्जी सेयर नै बनाएर कारोबार गरेको, सेयर धितोको रुपमा समेत राखेको देखिन्छ । ‘चिलिमे जलविद्युत् कम्पनीको फर्जी सेयर बनाएर ल्याएको यस समुहले आफ्नै नाममा म्याचिङ कारोबार गरे, तर फर्जी सेयरको कारोबार भएको थहा भएलगत्तै ब्रोकर कम्पनीको सक्रियतामा यसको खुलासा भएको हो,’ सम्वद्ध स्रोतले भन्यो । चिलिमे जलविद्युत् कम्पनीको अनुसुची ‘अस्थाई सेयर’ बनाएर म्याचिङ गरेको देखिन्छ । कम्पनीको करिब १३ हजार पाँच सय कित्ता यस्तो सेयर बनाइएको देखिन्छ । कम्पनीको यही सेयर ब्ल्यांक ट्रान्सफरमा समेत कारोबार गरिएको देखिन्छ । यसरी ब्ल्यांक ट्रान्सफरमा कारोबार गरेको चिलिमेको करिब सात हजार कित्ता सेयर युनाईटेड फाइनान्समा समेत धितोमा राखेको खुलेको छ । ब्रोकर नम्बर ६ अग्रवाल सेक्युरिटीजको जमानीमा फाइनान्सले बीटी रसिदको आधारमा कर्जा समेत प्रवाह गरेको छ । फर्जी सेयरको कारोबार भएको खुलासा भएपछि युनाईटेडले आइतवार अग्रवाल सेक्युरिटिजसंग छलफल समेत गर्ने भएको छ । सामान्यतया आफुसंग भएको एकमुष्ट सेयरलाई टुक्रा पारेर बेच्नुपर्दा लगानीकर्ताहरुले अनुसुची फारम भरेर अस्थाई प्रमाणपत्रको लागि कम्पनीमा आवेदन दिनुपर्छ । मानौं कुनै लगानीकर्ताको नाममा एक सय कित्ताको एउटै प्रमाणपत्र छ र उसले ५० कित्ता बिक्री गर्न चाहेमा सेयर टुक्र्याउनु पर्ने हुन्छ । कम्पनीमा लगानीकर्ताले सक्कल प्रमाण पत्र सहित अनुसुची फारम भरेर सेयर टुक्र्याउँन कम्पनीमा निवेदन दिनुपर्ने हुन्छ । कम्पनीले सक्कल प्रमाणपत्र खिचेर न्युनत्तम १० कित्ताको दरमा टुक्राएर अस्थाई पुर्जा दिन्छ । यस्तो पुर्जा कम्पनीबाट प्रमाणिकरण भएको हुन्छ । समुहले कम्पनीको नक्कली छाप, लेटर प्याड नै बनाएर अस्थाई प्रमाणपत्र बनाएको भेटिएको हो । नेशनल हाइड्रो ११ हजार कित्ता, चिलिमे जलविद्युत्को १३ हजार पाँच सय कित्ता र सानिमाइमाइको करिब एक सय ६२ कित्ता गरि लगभग ३० हजार कित्ता सेयरको फर्जी काम भएको देखिन्छ । नेशनल हाइड्रो कम्पनीमा देखिएको विवाद, समस्या बर्षाैसम्म नियमक निकायले सल्टाउँन नसक्दा त्यसैबाट यो समुह प्ररित भएर फर्जी कारोबारमा लागेको देखिन्छ । नेप्सेले भने अनुसन्धानको क्रममा हाल अग्रवाल सेक्युरिटिज ( ब्रोकर नम्बर ६), जे एफ सेक्युरिटिज (ब्रो. ७), सिप्रवी सेक्युरिटीज (ब्रो.२२) र श्रीहरी सेक्युरिटीज (ब्रो.५६)को कारोबार रोक्का गरेको छ । नेप्सेले यस बिषमा अध्ययन गर्न प्रवक्ता शम्भु पन्त सहित तीन जनाको एक कमिटि गठन गरेको छ । कमिटिले एक साता भित्र अध्ययन प्रतिवेदन दिने बुझिएको छ । पन्तले यस बिषयमा भने अहिले कुनै जानकारी दिन नमिल्ने बताए । स्रोतका अनुसार अहिले नेप्से र नियमक निकाय धितोपत्र बोर्डबीच यस बिषयमा कुनै सार्वजनिक वक्तव्य नदिने सहमति भएको छ । ‘यस अनुसन्धानमा प्रभाव पर्ने भएकोले कसैले पनि सार्वजनिक अभिव्यक्ति नदिने निर्णय गरेको हो,’ नेप्से स्रोतले बतायो ।