सेयर बजारमा सामान्य अंकको सुधार, ८१ करोडको करोबार, ३ कम्पनीको सेयर मूल्य १० प्रतिशले बृद्धि

काठमाडौं, १३ असोज । बुधबार घटेको सेयर बजार बिहीबार भने सामान्य अंकले सुधार भएको छ । बिहीबार नेप्से परिसूचक ४ दशमलब २८ अंकले बढेर १७५३ अंकमा पुगेको छ । सो दिन १४२ कम्पनीको ९२ लाख ६९ हजार कित्ता सेयर ८१ करोड २४ लाख ७४ हजार रुपैयाँमा किनबेच भएको छ । बिहीबार बैंक अफ काठमाडौं लुम्बिनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै ज्योति विकास बैंक र कुमारी बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी निर्धन उत्थान बैंकका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । सो दिन कारोबार भएका ८ समूह मध्ये ३ समूहको परिसूचक उकालो लागेका छन् भने अन्य समूहको परिसूचक ओरालो लागेका छन् । उत्पादनमूलक, बैंकिङ् र होटल समूहको परिसूचक क्रमशः १८, १२ र ६ अंकले बढेका हुन् । बीमा र विकास बैंकको क्रमशः १९ र १८ अंकले घटेका छन् भने अन्य बाँकी समूहको सूचक सामान्य २ अंकले घटेको छ । बिहीबार नेपाल बङ्गलादेश बैंकको ८ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । सनराइज बैंकको ४ करोड र एभरेष्ट बैंक, शिखर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ बैंकको प्रति कम्पनी करिब ३ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

सेयर बजार निरन्तर ओरालो, ९४ करोडको कारोबार, परिसूचक १७७९ अंकमा

काठमाडौं, ५ असोज । यो साताको शुरु देखि नै सेयर बजार निरन्तर ओरालो तिर लागिरहेको छ । बुधबार पनि नेप्से परिसूचक ७ दशमलब ३७ अंकले घटेर १७७९ अंकमा पुगेको छ । बजारमा परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको देखिन्छ । सो दिन १४२ कम्पनीको २२ लाख १९ हजार कित्ता सेयर ९४ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ । सो दिन दुई समूहको परिसूचक सामान्य अंकले घटेको छ भने बाँकी अरु समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक करिब ५० अंकले घटेको छ । त्यस्तै, बीमा, हाइड्रोपावर, होटल, बैंकिङ् र फाइनान्स समूहको परिसूचक क्रमशः ३४, २०, ११, ८ र १ अंकले ओरालो लागेका छन् । विकास बैंक र अन्य समूहको परिसूचक क्रमश ०.६३ र ०.२९ अंकले उक्लिएका छन् । बजारमा सनराइज बैंक र नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल बङ्गलादेश बैंक, सिद्धार्थ बैंक र सिटिजन्स बैंक इन्टरनेशनलको ४ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । रिलायवल माइक्रोफाइनान्स वित्तिय संस्थाका लागानीकर्ताले सबैभन्दा बढी ७ प्रतिशत कमाएका छन् । नविल ब्यालेन्स फण्ड १ का लागानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् ।

सेयर बजारमा करिब साढे २ अर्बको कारोबार, परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं, २ असोज । आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । परिसूचक १० दशमलब ६९ अंकले घटेर १८०४ दशमलब ६९ अंकमा पुगेको छ । परिसूचक घटेपनि बजारमा २ अर्ब ४६ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४२ कम्पनीको २४ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ । आइतबार सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट बैंकको सबैभन्दा बढी एक अर्ब २० करोड रुपैयाँको सेयर किनबेच भएको छ । सनराइज बैंकको १५ करोड ८८ लाख रुपैयाँको सेयर करोबार भएको छ । त्यस्तै, मुक्तिनाथ विकास बैंकको ६ करोड रुपैयाँ र नविल बैंकको करिब ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा तीन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । किसान माइक्रो फाइनान्स वित्तिय संस्था, सिन्धु विकास बैंक र मुक्तिनाथ विकास बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका हुन् । सोही दिन नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले करिब ७ प्रतिशत गुमाएका छन् । आइतबार तीन समूहको परिसूचक ओरालो लागेका छन् भने ४ समूहको परिसूचक उकालो लागेको छ र एक उत्पादनमूलक समूहको परिसूच स्थिर रहेको छ । बीमा, बैंकिङ् र फाइनान्स समूहको क्रमशः ८७, १८ र 0.७२ अंकले ओरालो लागेको छ । होटल, हाइड्रोपावर, अन्य समूह र विकास बैंक समूहको परिसूचक क्रमशः २१, १३, ९ र ३ अंकले उकालो लागेका छन् ।

सेयर बजारमा ८ अर्ब ५२ करोडको कारोबार, परिसूचक बढेर १८२३ अंकमा

काठमाडौं, २४ भदौ । यो साता नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीहरुको कारोबार भएको छ । सो हप्ता ४१ हजार ८०५ कारोबारबाट ८ अर्ब ५२ करोड १९ लाख ४८ हजार रुपैयाँ बराबरका एक अर्ब १६ लाख ७९ हजार सात सय कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २३.३३ प्रतिशत बढि हो । यस साता सेयर बजारमा नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीहरुको कारोबार भएको छ । नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.२२ अंकले बढेर अन्तिम दिन १८२३.०५ अंकमा पुगेको छ । सातामा बीमा समूहको परिसूचक ८२ अंकले बढेको छ । जलविद्युत र होटल समूहको परिसूचक क्रमशः ६६ र २४ अंकले बढेका छन् । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०.३९ अंकले बढेर ३९५.५७ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम ( ७६ करोड ८८ लाख २० हजार रुपैयाँ) को आधारमा नेपाल बंगलादेश बैंक लि. अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (१४ लाख ३४ हजार कित्ता) को आधारमा एनएमवि सुलभ इन्भेस्टमेन्ट फण्ड १ अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (६६८२ वटा) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लि. अग्रस्थानमा रहेको छ ।

बुधबार सेयर बजारमा ९ अंकको गिरावट, एक अर्ब ६५ करोड रुपैयाँको कारोबार

काठमाडौं, २२ भदौ । बुधबार बजार खुलेको आधा घण्टामा नै परिसूचक घटेर १८१९ अंकमा पुगेको थियो । त्यसपछि बजारमा केहि सुधार देखिएको हो । बजार बन्द हुँदा भने परिसूचक ९ दशमलब ९७ अंकले घटेर १८२४ अंकमा पुगेको छ । सो दिन १४५ कम्पनीको २९ लाख ३१ हजार ९३४ कित्ता सेयर १ अर्ब ६५ करोड २१ लाख रुपैयाँमा किनबेच भएको छ । सो दिन बीमा, होटल र अन्य समूहको परिसूचक बाहेक अरु बाकी समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बैंकिङ् समूहको परिसूचक २० अंकले ओरालो लागेको छ भने बाकी समूहको सूचक सामान्य अंकले ओरालो लागेका छन् । बीमा, होटल र अन्य समूहको परिसूचक क्रमशः ९४, २ र ०.५८ अंकले उकालो लागेका छन् । बुधबार नबिल बैंकको १३ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । लुम्बिनी जेनेरल इन्स्योरेन्स कम्पनीको ११ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । त्यस्तै, नबिल बैंक लि. प्रमोटर सेयर, नेपाल बङ्गलादेश बैंक, प्रभु इन्स्योरेन्स, एभरेष्ट बैंक र सनराइज बैंकको ७ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले करिब ७ प्रतिशत गुमाएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. प्रमोटरका लगानीकर्ताले करिब ६ प्रतिशत गुमाएका छन् । रिलायवल माइक्रोफाइनान्स वित्तिय संस्थाको सेयर मूल्य ९ प्रतिशतले बढेको छ ।

बिहीबार पनि बढ्यो सेयर बजार, नेप्से परिसूचकले नाघ्यो १८ सय

काठमाडौं, १६ साउन । यो साता लगातार सेयर बजार बढेको छ । बिहीबार पनि नेप्से परिसूचक ७ दशमलब ७३ अंकले बढेर १८०५ दशमलब १८ अंकमा पुगेको छ । यो साताभरिकै उच्च अंक हो । सो दिन १४४ कम्पनीको १७ लाख ९९ हजार कित्ता सेयर १ अर्ब ३५ करोड ४३ लाख रुपैयाँमा किनबेच भएको छ । आज कारोबार रकममा भने गिरावट भएको छ । बिहीबार बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकको सबैभन्दा बढी ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन बैंकको सेयर मूल्य १ हजार ८५ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बङ्गलादेश बैंक, माछापुछ्रे  बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एनएमबी बैंकको करिब ५ करोड बढी रुपैयाँमा सेयर किनबेच भएको छ । सो दिन विकास बैंक, बैंकिङ् र फाइनान्स समूहको परिसूचक बाहेक अन्य बाकी समूहको परिसूचक ओरालो लागेका छन् । विकास बैंक, बैंकिङ् र फाइनान्स समूहको परिसूचक क्रमशः २२, ११ र ४ अंकले बढेको छ । सबैभन्दा बढी बीमा इन्स्योरेन्सको परिसूचक २४ अंकले घटेको छ । त्यस्तै, हाइड्रोपावर समूहको २० अंकले बढेको छ भने अन्य ३ समूहको परिसूचक सामान्य अंकले घटेको छ । सो दिन सबैभन्दा बढी साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका लागानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । त्यस्तै, त्रिभेणी विकास बैंक र अरनिको डेभलपमेन्ट बैंकका लागानीकर्ताले करिब ९ प्रतिशत कमाएका छन् । सबैभन्दा बढी प्रोगेसिभ फाइनान्सका लागानीकर्ताले करिब ६ प्रतिशत गुमाएका छन् ।

मंगलबार सेयर बजारमा ७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

काठमाडौं, १४ भदौ । मंगलबार सेयर बजारमा ७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यूनियन फाइनान्स कम्पनी, वमी माइक्रोफाइनान्स वित्तिय संस्था, सुमिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सिन्धू विकास बैंक र बोटलर्स नेपाल(तराई) का लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सो दिन सबै समूहमा हरियो रङ देखिएको छ । सबैभन्दा बढी डेभलपमेन्ट बैंकको समूह ९० अंकले उकालो लागेको छ । उत्पादनमूलक ७२, बैंकिङ् २४, विकास बैंक १८, बीमा १५ र होटल समूह ११ अंकले बढेका छन् । त्यस्तै, फाइनान्स र अन्य समूह दुबै ३ अंकले बढेका छन् । मंगलबार नेप्से परिसूचक २१ दशमलब ५४ अंकले बढेर १७८८ दशमलब ०८ अंकमा पुगेको छ । सो दिन १४२ कम्पनीको १८ लाख ९७ हजार कित्ता सेयर एक अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सो दिन तीन कम्पनीको ८ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । चिलिमे हाइड्रोपावर कम्पनीको ८ करोड ७८ लाख रुपैयाँ, नेपाल बङगलादेश बैंकको ८ करोड १३ लाख र सिटिजन बैंक इन्टरनेसनलको ८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै हिमालयन जेनेरल इन्स्योरेन्स कम्पनीको ७ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

मेरो कारण सेयर बजार घटेको हैन – प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वको सरकारका कारण सेयर बजार नघटेको बताएका छन्। नेपाल टेलिभिजनको ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा शनिबार राति प्रत्यक्ष कुराकानी गर्दै प्रधानमन्त्रीले आर्थिक विकासलाई नै आफ्नो सरकारले प्राथमिकताको एउटा मूल मुद्दा बनाएको हुनाले सेयर बजार चिन्तित हुनुपर्ने कुनै कारण नभएको बताए। उनले कार्यक्रममा भने, ‘मलाई त्यस्तो लाग्दैन। यो सेयर मार्केट अलि अलि तल जाने र माथि आउने त भइ नै राख्छ। अहिले तपाईँले यो प्रश्न गर्दैगर्दा फेरि सेयर बजार माथि उकालो लाग्न सुरु भएको छ। त्यसकारण त्यो ममाथि अथवा मेरो नेतृत्वमाथि प्रश्न हो भनेर म मान्न सक्ने स्थिति मैले ठान्दिनँ।   तर मैले निजी क्षेत्रसँग पनि र समग्र आर्थिक विकासलाई नै प्राथमिकताको एउटा मूल मुद्दा बनाएको स्थितिमा सेयर बजारमा अथवा आर्थिक कारोबार गर्ने कोही पनि समुदायले चिन्तित हुनुपर्ने कुनै कारण छैन।‘ प्रचण्ड प्रधानमन्त्री भएको केही दिनमै नेप्से ओरालो लागेर सर्किट ब्रेकर लगाई कारोबार बन्द भएको थियो।   त्यही दिन कालो धन छानबिन गर्न बनाएको समिति धितोपत्र बोर्डले खारेज गरेपछि भोलिपल्टै सेयर बजार उकालो लागेको थियो। तर आज फेरि सेयर बजार झण्डै ४१ अङ्कले घटेको छ।

सेयर बजार अत्याधिक बढेपछि सर्किट ब्रेकर

काठमाडौं, २५ साउन । सोमवार ५ प्रतिशतले घटेपछि स्वभाविक समयभन्दा डेढघण्टा पहिला नै बन्द गराइएको सेयर बजार मंगलवार एक घण्टामै ५ प्रतिशतले बढेपछि कारोवार बन्द गरिएको छ । मंगलवार सवा १२ बजेसम्ममा नेप्से पसिुचक ५ दशमलब ०४ अंकले बढेपछि कारोवार बन्द गरिएको हो । एकै दिनमा ५ बजार ५ प्रतिशतले बढे वा घटेमा सो दिनको कारोवार बन्न गर्ने ब्यवस्था छ । मंगलवार बजार खुलेसँगै परिसुचक तिब्र गतिमा बढ्न थालेको थियो । छोटो समयमा नै परिसुचक ८४ दशमलब ५१ अंकले बढेर १७६० दशमलब ४२ अंकमा पुगेको छ । मंगलवार बैंकिङ समुह ९६ अंकले, होटल समुह ११९ अंकले, विकास बैंक समुह ४४ अंकले, जलविद्युत समुह १३८ अंकले, फाइनान्स कम्पनी समुह १२ दशमलब ६९ अंकले, बीमा कम्पनी समुह ५११ दशमलब ३९ अंकले र अन्य समुह १५ अंकले बढेको छ । सो दिन २० करोड ८३ लाख रुपैयाँ बराबरको कारोवार भएको छ ।

सात दिनमा सेयर बजारमा २०२ अंकको गिरावट, किन घट्यो बजार ?

काठमाडौं, २४ साउन । साउन १२ गते १८८१ अंकमा पुगेर नेप्से परिसूचकमा इतिहासकै सर्वाधिक उचाई कायम भएको थियो तर साउन २४ गते आईपुग्दा बजार ओरालो लागेर १६७५ दशमलब ९१ अंकमा आईपुगेको छ । पछिल्लो ७ वटा कारोबारमा नेप्से परिसूचक २०२ दशमलब २१ अंकले घटेको छ । त्यसो त पछिल्लो आठ दिनको कारोबारमा भने बजार २०६ अंकले घटिसकेको छ । पुँजी बजार साउन १३ गतेदेखि नै ओरालो लाग्न थालेको थियो । एक साता अघि लगानी कर्ता कहाँबाट आएका थिए र अहिले कहाँ गए भन्ने जिज्ञासा उत्पन्न भएको छ । तर नियामक निकायसँग यसको चित्त बुझ्दो जवाफ भेटिन्न । यस्ता छन बजार घट्नुका कारणहरु धितोपत्र बोर्डको लगाम नेपाल धितोपत्र बोर्डले बजार अनावश्यक रुपमा बढेको भनेर पटक पटक सचेत गराउँदै विज्ञप्ति प्रकाशित गर्दै आएको थियो । पछिल्लो पटक बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले नियमित पत्रकार भेटघाट कार्यक्रममा बजार अश्वभाविक रुपमा बढेको र साना लगानी कर्ता जोखिममा परेको बताएका थिए । त्यसको केहि दिनपछि बजारका बारेमा एउटा लेख नै लेखेका थिए । त्यहि लेखका कारण बजार ओरालो लाग्न थालेको आरोप लगानी कर्ताहरुको छ । ब्रोकरको बदमासी सेयर बजारका पण्डितहरुका अनुसार बजार अनावश्यक रुपमा बढ्नुका पछाडी सेयर ब्रोकरहरुको ठुलो भूमिका थियो । ब्रोकरहरुले आफन्तहरुका नाममा कारोबार गरिरहेका थिए । पछिल्लो समय धितोपत्र बोर्डले ब्रोकरको कारोबारमाथी निगरानी बढाएपछि उनीहरु भटाभट सेयर बिक्रि गर्न लागिपरेका छन् । माग भन्दा आपुर्ति बढी भएपछि बजार घट्ने नै भयो । कालोधनको सकस सेयर बजारमा कालोधन लगानी भएको भन्दै बोर्डले छानविन समिति नै बनाएर अध्ययन गरिरहेको छ । त्यसकारण श्रोत खुलाउन नसकेका सम्भावित कालोधन वाला लगानी कर्ता सुरक्षित तवरले सेयर बेचेर अवतरणको प्रयास गरिरहेका छन् । ठुला लगानी कर्ताको चलाखी नेप्से परिसूचक १५०० अंक नाघेपछि ठुला लगानी कर्ता बाहिरिईसकेको स्वंय लगानी कर्ताहरुले दावी गरेका थिए । ब्रोकर एसोसियसनका पुर्व अध्यक्ष नरेन्द्र सिँजापतिले लाली गरासँ लाइफ इन्स्योरेन्स कम्पनीको सेयर किनिदिनु पर्यो भन्दै लगानी कर्ता आएको बताएका थिए । यसले पनि बजारमा नयाँ लगानी कर्ता ठुलो मात्रामा भित्रिएको पुष्टि हुन्थ्यो । नयाँ र बजार नबुझेका लगानी कर्ता भित्रिएपछि बढेको बजार ओरालो लाग्नु स्वभाविक नै देखिन्छ ।  

लगानीकर्ताले भने–सेयर बजार घट्नुपर्ने कारण छैन, धितोपत्र बोर्डको हस्तक्षेप सह्य हुन्न

काठमाडौं, २४ साउन । सेयर बजारका लगानीकर्ताहरुले बजार घट्नुको कारण नभएको दावी गर्दै नेपाल धितोपत्र बोर्डको अनावश्यक हस्तक्षेप आफुहरुलाई सह्य नहुने घोषणा गरेका छन् । सेयर लगानीकर्ता संघको तदर्थ समिति घोषणा सभामा लगानीकर्ताहरुले बजार घट्नु पर्ने कारण नभएको बताउँदै बजारमा अनावश्यक हस्तक्षेप नगर्न बोर्डलाई चेतावनी दिएका हुन् । इन्भेष्टर्स फोरमका सदस्य समेत रहेका हाथवे इन्भेष्टमेन्टका अम्बिका पौडैलले बजार घटाउन बोर्डले अनावश्यक हस्तक्षेप गरेको आरोप लगाए । उनले बजारमा यथेष्ठ मात्रामा तरलता रहेको, लगानीको अन्य विकल्प नभएको, बैंक तथा वित्तिय संस्थाको वित्तिय विवरण राम्रो रहेको तथा बैंकको ब्याजदर समेत न्युन रहेकाले सेयर बजार बढेको बताए । धितोपत्र बोर्डले सेयर कालोधनको त्रास र साना लगानी कर्ताको त्रास देखाएर बजार घटाईरहेको आरोप लगाए । उनले आफुले हाल दैनिक दुई तीन करोडको सेयर खरिद गरिरहेको पनि जानकारी दिएका थिए । त्यस्तै, अर्का लगानी कर्ता दिपक कार्कीले सिमित व्यक्तिहरुको स्वार्थमा लागेर बोर्डले बजार ओरालो लगाउन थालेको आरोप लगाए । उनले कालोधनको छानविन गर्ने अधिकार बोर्डलाई नभएर सम्पति सुद्धिकरण विभागलाई भएको पनि स्पष्ट पारे । लगानी कर्ता साना र ठुला नहुने भन्दै कार्कीले धितोपत्र बोर्डले नियोजित रुपमा बजारमा चलखेल गरेको दावी गरे । त्यस्तै, अर्का लगानी कर्ता दिलिप श्रेष्ठले पनि धितोपत्र बोर्डको दादागिरीका कारण सेयर बजार ओरालो लागेको आरोप लगाए । उनले बैंकहरुमा निक्षेपको ब्याजदर नबढेसम्म सेयर बजार उकालो लागिरहने स्पष्ट पारे । त्यस्तै, अर्का लगानी कर्ता ज्योति दाहालले पनि धितोपत्र बोर्डले क्षेत्राधिकार नाघेर सेयर बजारमा अनावश्यक हस्तक्षेप गरेको आरोप लगाए । धितोपत्र बोर्ड लगानी कर्ताको हित भन्दा पनि कम्पनीहरुको पक्षपोषणमा लागेको आरोप समेत लगाए । चलचित्र  निर्माता समेत रहेका सेयर बजारका लगानी कर्ता उज्वल घिमिरले बजार घट्नुपर्ने कुनै कारण नभएको दावी गरे । उनले पनि धितोपत्र बोर्डको अनावश्यक हस्तक्षेपका कारण बजार घटेको बताउँदै बोर्डले कसको पक्षपोषण गरिरहेको छ ? भन्दै प्रश्न समेत गरे । उनले आफुले सेयर बजारमा तीन करोड लगानी गरिसकेको बताएका थिए । सेयर लगानीकर्ता संघको घोषणा कार्यक्रममा सैयौंको संख्यामा लगानी कर्ताहरुको उपस्थिती रहेको थियो । सो भेलाले उत्तम अर्यालको अध्यक्षतामा सेयर लगानीकर्ता संघ घोषणा गरेको छ । जसको उपाध्यक्षमा ताराप्रसाद फुल्लेल, महासचिव नवराज सुवेदी र कोषाध्यक्षमा मोहन बहादुर बस्नेतलाई तोकिएको छ । उनीहरुले सेयर बजारलाई घटाउने धितोपत्र बोर्डको नियोजित षडयन्त्र विरुद्ध आवश्यक परेको खण्डमा संघर्ष गर्ने चेतावनी समेत दिएका छन् ।

आइतबार पनि घट्यो सेयर बजार

काठमाडौं, २३ साउन । अघिल्लो साता लगातार घटेको पुँजी बजारमा यो साताको आइतबार पनि बजार घटेको छ । आइतबार बजार खुल्ने वित्तिकै नेप्से परिसूचक उकालो चढ्न सुरु गरेको थियो तर बन्द हुँदा भने ओरालो झरेको छ । बजार खुलेको ४० मिनेट भित्रै परिसूचक १३ दशमलब ८८ अंघले बढेर १७८२ दशमलब ४८ अंकमा पुगेको थियो । सो अवधीमा ७ करोड मूल्य बराबरको सेयर किनबेच भैसकेको थियो । त्यस्तै १२ बजे बढेर १८०५ अंकमा पुगेको थियो । सोही दिन बजार बन्द हुँदा परिसूचक ३ दशमलब ८८ अंकले घटेर १७६४ अंकमा पुगेको छ । आइतबार बजारमा एक अर्ब ५३ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४१ कम्पनीको २१ लाख १६ हजार कित्ता सेयर किनबेच भएको हो । सबैभन्दा बढी नेपाल बङ्गलादेश बैंकको ११ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल बैंक र सिद्धार्थ बैंकको पनि १० करोड बढी रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा कारोबार भएका ८ कम्पनीहरु मध्ये ४ कम्पनीको समूह ओरालो लागेको छन् भने अन्य ४ कम्पनीको समूह उकालो लागेका छन् । उत्पादनमूलक, बीमा, बैंकिङ् र हाइड्रोपावर समूहको परिसूचक क्रमशः ८१, ५२, ७ र ०.०२ अंकले ओरालो लागेका छन् । अन्य समूह, होटल, विकास बैंक र फाइनान्स समूहको सेयर सामान्य अंक क्रमशः १७, ४, ३ र ०.६३ अंकले उकालो लागेका छन् ।

सेयर बजारमा ११३ अंकको गिरावट, कहाँ गए लगानीकर्ता ?

काठमाडौं, २० साउन । असार १२ गते १८८१ अंकमा पुगेर नेप्से परिसूचकमा इतिहासकै सर्वाधिक उचाई कायम भएको थियो । सो दिन दुई अर्ब २६ करोड रुपैंयाँ बराबरको सेयर किनबेच भएको थियो । तर त्यसको ठिक आठ दिन अर्थात साउन २० गते बजार घटेर १७६८ दशमलब ६० अंकमा झरेको छ । आठ दिनमा बजार ११३ अंकले घटेको छ भने कारोबार रकम पनि १५० करोडमा सिमति भएको छ । एक साता अघि लगानी कर्ता कहाँबाट आएका थिए र अहिले कहाँ गए भन्ने जिज्ञासा उत्पन्न भएको छ । तर नियामक निकायसँग यसको चित्त बुझ्दो जवाफ भेटिन्न । नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरि भन्छन–‘बजार बढ्नुको पछाडी पनि कारण थिएन, घट्नुको पछाडी पनि कुनै कारण देखिन्न ।’ सेयर बजार विश्लेषक रविन्द्र भट्टराईले त झन बजार घट्यो भनेर आत्तिनै नपर्ने दावी गरे ।‘हिजो जुन मात्रामा बजार बढेको थियो, आज त्यो मात्रामा घटेको छैन्, यो आत्तिने समय नै होइन, बजार फेरी बढ्न सक्छ ।’ विश्लेषक भट्टराइले भने । लगानी कर्ताले भने बजार अनाश्यक रुपमा बढेकाले घट्ने क्रम जारी रहने दावी गरे ।‘बजार अनावश्यक रुपमा बढेलकाले ठुला लगानी कर्ता धेरै समय पहिले सुरक्षित भैसकेका थिए, अब बजार घट्ने कुरा स्वभाविक हुन्छ’, नाम उल्लेख नगर्ने सर्तमा एक लगानी कर्ताले भने । ब्रोकरहरुको अनावश्यक चलखेलका कारण बजार बढेको आरोप पनि उनले लगाए । त्यसो त धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले केहि पहिले मात्रै सेयर बजारका साना लागनी कर्ता जोखिममा पर्ने भन्दै सचेत गराएका थिए । बजारमा कालोधन लगानी भएको आशंका गर्दै धितोपत्र बोर्डले छानबिन थालेपछि बजार घट्ने क्रम सुरु भएको हो । त्यस्तै, ब्रोकरहरुले आफन्तका नाममा कारोबार गरेको आंशकामा पनि बोर्डले छानबिन थालेको छ । त्यसले पनि बजार घटाउन भूमिका खेलेको बताइन्छ । त्यसो त बजारमा नयाँ लगानी भित्रिएकाले पनि बजार आकाशिएको र अहिले पुनः घट्न थालेको बताउनेहरु पनि प्रशस्तै छन् । यो पनि पढ्नु होस (किन घट्दैछ सेयर बजार ? यस्ता छन् चार कारण)

किन घट्दैछ सेयर बजार ? यस्ता छन् चार कारण

काठमाडौं, २० साउन । आइतबारदेखि ओरालो लाग्न थालेको पुँजी बजार बिहिबारसम्म निरन्तर ओरालै लागिरहेको छ । आइतबारदेखि बुधबारसम्ममा बजार नेप्से परिसूचक ६४ दशमलब ८ अंकले घटिसकेको छ । र यो क्रम बिहिबार बजार खुल्दा पनि यथावत छ । अर्थतन्त्रका नाजुक परिसूचक तथा सत्ता परिवर्तनको सरगर्मीका बावजुद निरन्तर बजार बढेकोमा नेपाल धितोपत्र बोर्डले लगानी कर्तालाई सचेत गराइरहेको थियो । बजार किन बढ्यो र अहिले किन घटिरहेको छ ? नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गीरि भन्छन–‘बजार बढ्नुको पछाडी पनि ठोस कारण थिएन र अहिले घट्नुमा पनि कुनै कारण देखिन्न ।’ उनले बजार बिनाकारण बढेपछि घट्नु पनि स्वभाविक नै भएको बताए । यस्ता छन बजार घट्नुका कारणहरु ब्रोकरको कारोबारमा निगरानी सेयर बजारका पण्डितहरुका अनुसार बजार अनावश्यक रुपमा बढ्नुका पछाडी सेयर ब्रोकरहरुको ठुलो भूमिका थियो । ब्रोकरहरुले आफन्तहरुका नाममा कारोबार गरिरहेका थिए । पछिल्लो समय धितोपत्र बोर्डले ब्रोकरको कारोबारमाथी निगरानी बढाएपछि उनीहरु भटाभट सेयर बिक्रि गर्न लागिपरेका छन् । माग भन्दा आपुर्ति बढी भएपछि बजार घट्ने नै भयो । कालो धनको सकस सेयर बजारमा कालोधन लगानी भएको भन्दै बोर्डले छानविन समिति नै बनाएर अध्ययन गरिरहेको छ । त्यसकारण श्रोत खुलाउन नसकेका सम्भावित कालोधन वाला लगानी कर्ता सुरक्षित तवरले सेयर बेचेर अवतरणको प्रयास गरिरहेका छन् । ठुला माछा उम्किए नेप्से परिसूचक १५०० अंक नाघेपछि ठुला लगानी कर्ता बाहिरिईसकेको स्वंय लगानी कर्ताहरुले दावी गरेका थिए । ब्रोकर एसोसियसनका पुर्व अध्यक्ष नरेन्द्र सिँजापतिले लाली गरासँ लाइफ इन्स्योरेन्स कम्पनीको सेयर किनिदिनु पर्यो भन्दै लगानी कर्ता आएको बताएका थिए । यसले पनि बजारमा नयाँ लगानी कर्ता ठुलो मात्रामा भित्रिएको पुष्टि हुन्थ्यो । नयाँ र बजार नबुझेका लगानी कर्ता भित्रिएपछि बढेको बजार ओरालो लाग्नु स्वभाविक नै देखिन्छ । संघाई पक्राउ प्रकरण लागु औषध कारोबारको आरोपमा संघाई ग्रुपका रतन संघाई पक्राउ परे । संघाई ग्रुपको सेयर बजारमा ठुलो लगानी छ । रतन संघार्ईको बैंक एकाउण्ट रोक्का गरिएको भएपनि सेयर कारोबार रोक्का गरिएको छैन् । रतन पक्राउ परेपछि संघाई समुहले धमाधम सेयर बेचिरहेको बताइन्छ ।

सेयर बजारमा करिब १९ अंकको गिरावट, कारोबार रकम १४२ करोडमा खुम्चियो

काठमाडौं, १८ साउन । मंगलबार सेयर बजारमा १८ दशमलब ९४ अंकको गिरावट देखिएको छ । परिसूचक दोहोरोे अंकले घटेर १८२६ अंकमा पुगेको छ । सो दिन सेयर कारोबार पनि खुन्चिएको छ । बजारमा जम्मा एक अर्ब ४२ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कुल १३९ कम्पनीको ३२ लाख ९८ हजार कित्ता सेयर किनबेच भएको हो । सबैभन्दा बढी प्राइम कमर्सियल बैंकको करिब १९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । सिद्धार्थ बैंकको करिब १० करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै नेपाल बैंक, नेपाल बङ्गलादेश बैंक र कृषि विकास बैंकको करिब ५ करोड बढीको सेयर कारोबार भएको छ । सो दिन उत्पादनमूलक समूह बाहेक बाकी समूहको परिसूचकमा गिरावट आएको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक १४६ अंकले घटेको छ । त्यस्तै होटल, हाइड्रोपावर, विकास बैंक र बैंकिङ् समूहको परिसूचक दोहोरो अंक क्रमशः ३७, २९, २३ र १८ ले घटेका छन् । उत्पादनमूलक समूहको परिसूचक भने ३४ अंकले बढेको छ । मंगलबार सबैभन्दा बढी प्रोगेसिभ फाइनान्सका लागानीकर्ताले करिब ७ प्रतिशत गुमाएका छन् । त्यस्तै लुम्बिनी फाइनान्स, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी, सिन्धु विकास बैंक, एनआइडिसी क्यापिटल मार्केटस् र एस डेभलपमेन्ट बैंकको करिब ६ प्रतिशतले सेयर मूल्यमा गिरावट आएको छ । बजारमा जम्मा १७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । सबैभन्दा बढी ललितपुर फाइनान्सको १० प्रतिशतले सेयर मूल्यमा वृद्धि भएको छ । अन्य कम्पनीको सेयर मूल्य करिब ७ प्रतिशतभन्दा कमले बढेको छ ।

सेयर बजारमा दोहोरो अंकको गिरावट, करिब एक अर्ब ७५ करोडको कारोबार

काठमाडौं, १६ साउन । आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक १५ दशमलब ७६ अंकले घटेर १८६२ अंकमा झरेको छ । सो दिन कारोबार रकममा पनि गिरावट आएको छ । १४१ कम्पनीको ३५ लाख ९४ हजार सेयर एक अर्ब ७५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार हाइड्रोपावर र अन्य समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ९५ अंकले ओरालो लागेको छ । त्यस्तै बीमा, उत्पादनमूलक, बैंकिङ् र फाइनान्स समूहको परिसूचक क्रमशः ४५, ३६, २० र ११ अंकले घटेका छन् । विकास बैंकको परिसूचक सामान्य ०.३९ अंकले घटेको छ । हाइड्रोपावर र अन्य समूहको परिसूचक क्रमशः २३ र १ अंकले उकालो लागेका छन् । सो दिन सबैभन्दा बढी गुह्ेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले करिब ८ प्रतिशत गुमाएका छन् । सिनर्जी फाइनान्स, तारागाउँ रिजेन्सी होटल र सोल्टी होटलका लागानीकर्ताले करिब ६ प्रतिशत गुमाएका छन् । करिब ४ प्रतिशतले गुमाउनेमा अन्य ८ कम्पनीका लगानीकर्ताहरु रहेका छन् । सो दिन ३ कम्पनीको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ । आइतबार सबैभन्दा बढी नेपाल बैंक लि.को १४ करोड ८४ लाख ६४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कैलाश विकास बैंकको करिब ८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक लि., प्राइम कमर्सियल बैंक र अरुन भ्याली हाइड्रोपावर डेभलपमेन्ट बैंकको करिब ६ करोड बढी रुपैयाँको सेयर कारो बार भएको छ ।

सेयर बजार ओरालोतिर

काठमाडौं, १३ साउन । साताको अन्तिम दिन सेयर बजार ओरालो लागेको छ । बजार खुलेको ४० मिनेट नबित्दै बजार १५ दशमलब ४३ अंकले घटेको हो । सो अवधीमा जम्मा ३१ करोड रुपैंयाँ बराबरको सेयर कारोबार भएको छ । विकास बैंक र अन्य समुहको परिसूचक बाहेक सबैमा ओरालो लागेका छन् ।

सेयर बजारका साना लगानीकर्ता जोखिममा, बजार बढ्नुको औचित्य छैनः डा. कार्की

काठमाडौं, १२ साउन । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले सेयर बजारका साना लगानी कर्ता जोखिममा रहेको बताएका छन् । बुधबार बोर्डले आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने–‘बजार निन्तर बढिरहेको छ, ठुला लगानी कर्ता धमाधम सेयर बेचिरहेका छन, नयाँ र साना लगानी कर्ता जोखिममा पर्ने खतरा बढिरहेको छ ।’ कुनै पनि आर्थिक परिसूचकले सेयर बजारमा भैरहेको निरन्तरको वृद्धिलाई पुष्टि गर्ने आधार नभएको उनले बताए । ‘वर्तमान अर्थतन्त्रको कुनै पनि परिसूचकले सेयर बजार यसरी बढ्ने अवस्था देखाउँदैन तर पनि बजार बढिरहेको छ, पैसा आकाशबाट फल्दैन, फेरी पनि लगानी बढिरहेको छ, यो ठुलो चिन्ताको विषय हो’, डा. कार्कीले भने । उनले सेयर बजार बढ्नुमा बोर्डलाई खासै आपक्ति नभएपनि हचुवाका भरमा लगानी कर्ता तानिएकोले आफुहरुलाई चिन्तित बनाएको स्पष्ट पारे । ‘साक्षरता ७० प्रतिशत पुग्यो तर वित्तिय साक्षरता निकै कम छ, त्यसैले जोकोहीले हचुवाका भरमा सेयर बजारमा लगानी गरिरहेका छन्’, डा. कार्कीले भने । उनले ठुला लगानी कर्ता बजारबाट बाहिरिसकेको बताउँदै साना लगानी कर्तालाई डुब्न नदिन बोर्डले बिशेष सतर्कता अपनाईरहेको पनि बताए । ‘ठुला लगानी कर्ता धमाधम सेयर बेचिरहेका छन, नयाँ र साना लगानी कर्ता बजारमा ओइरिएका छन, त्यसैले बजारमा जोखिम बढेको अनुभुति भएको छ’, डा. कार्कीले भने । तरलता, बैंकको न्युन ब्याजदर तथा लगानीका उपयुक्त अवसर नपाएकाले लगानी कर्ता सेयर बजारमा होमिएको बताउँदै उनले यद्यपी बजारको वृद्धिदर अश्वभाविक नै भएको दावी गरे । ‘तरलता, न्युन ब्याजदर र लगानीको उपयुक्त विकल्प नभएर सेयर बजार बढेको भनिएको छ, तर बजार वृद्धिको यो साइजलाई यी तर्कहरुले पुष्टि गर्न सक्दैनन’, डा. कार्कीले भने । उनले छोटो समयमै नेप्से परिसूचक ९ सय अंकले बढ्नुलाई आश्चर्यको बिषय भएको पनि स्पष्ट पारे । सूचिकृत कम्पनीकै मिलेमतोमा इनसाइडर ट्रेडिङ बोर्डका अध्यक्ष कार्कीले सूचिकृत कम्पनीहरुकै मिलेमतोमा बजारमा इनसाइडर ट्रेडिङ भैरहेको आरोप पनि लगाए । कम्पनीका सञ्चालक समिति सदस्यहरुले महत्वपुर्ण निर्णय ब्रोकरलाई सुनाएर रातारात सबै सेयर आफन्तलाई किन्न लगाउँदै आएको उनको आरोप छ । ‘सूचिकृत कम्पनीका सञ्चालकहरुले महत्वपुर्ण निर्णय हुने वित्तिकै ट्वाइलेटबाट ब्रोकरलाई फोन गरेर भनिदिन्छन र आफन्तका नाममा सेयर किन्छन्’, डा. कार्कीले आरोप लगाए ।

सेयर बजारमा साढे १३ अंकको गिरावट, उत्पादनमूलक बाहेक सबै समूह ओर्लिए

काठमाडौं, ५ साउन । नेप्सेले समयाबधी थप गरेसँगै बजारमा उतार चढावको क्रम जारी छ । मंगलबार १३ अंकले बढेर १८०० अंकमा पुुगेको बजार बुधबार भने १३ दशमलब ६३ अंकले घटेर १७८६ अंकमा पुगेको छ । सो दिन १४१ कम्पनीको ३४ लाख ७४ हजार कित्ता सेयर २ अर्ब १२ करोड ९१ लाख रुपैयाँमा सेयर किनबेच भएको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकममा पनि करिब २ करोड बढीको गिरावट आएको छ । बुधबार उत्पादनमूलक समूह बाहेक अन्य सबै समूहको परिसूचक आरालो लागेका छन् । बजारमा सबैभन्दा बढी इन्स्योरेन्स समूहको परिसूचक १२६ अंकले ओरालो लागेको देखिन्छ । होटल, अन्य, हाइड्रोपावर र बैंकिङ् समूहको परिसूचक क्रमशः ३५, १५, १२ र ११ अंकले घटेका छन् । विकास बैंक र फाइनान्स समूह भने सामान्य अंक क्रमशः ६ र १ अंकले झरेका छन् । बजारमा सबैभन्दा बढी सिद्धार्थ बैंकको ३९ करोड ६९ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । शिखर इन्स्योरेन्स कम्पनीको करिब १० करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, माछापुच्छ्रे बैंक, नेपाल बैंक, एनआइसी एसिया बैंक र एडिविएल बैंकको ७ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । सो दिन ६ वटा कम्पनीको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ । मिसन डेभलपन्ट बैंक र बोटलर्स नेपाल(तराई) का लागानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत कमाएका छन् । त्यस्तै, किसान माइक्रोफाइनान्स वित्तिय संस्था, एडिबिएल, कैलाश विकास बैंक र अरनिको डेभलपमेन्ट बैंकको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ । मिथिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत गुमाएका छन् ।

धितोपत्र बोडमा तयार भयो सेयर बजारका सुधार ८ बुँदे कार्ययोजना, नेप्से र सीडीएसको पनि सहमति

काठमाडौं, ४ साउन । सेयर बजारमा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड बीच तत्काल काम गर्ने गरी ८ बुँदे कार्ययोजना बनेको छ । बढदो बजारको आयतन सँगसँगै लगानीकर्ताहरुलाई सहज र सरल रुपमा कारोबार र कारोबार पश्चातको फछर्यौट तथा राफसाफ चुस्त बनाउने साथै बजारमा देखिएका समस्याहरु समाधान गर्न यि काम गर्न लागिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष्य डा रेवतबहादुर कार्कीको अध्यक्षता सोमबार बसेको बैंठकमा बोर्डका उच्च अधिकृतहरु, नेप्से र सिडिएस एण्ड क्लियरिङ्ग लि.का उच्च अधिकृतहरुसँगको समेत सहभागितमा बनेको बनेको समयसिमा सहितको योजना र निर्णय निम्नअनुसार भएको बोर्डले जनाएको छ । १. सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले क्लियरिङ्ग बैंक थप्ने सम्बन्धमा कार्य अगाडि बढाइसकेकोमा यही साउन मसान्तअर्थात अगष्ट १६ सम्ममा प्राविधिक कार्य सम्पन्न गरी क्लियरिङ्ग बैंक थप्ने कार्यलाई सम्पन्न गर्ने । २. लगानीकर्ताको पहिचानका लागि यूनिक इन्भेष्टर आइडिन्टिफिकेशन (इन्भेष्टर आइडि) प्रदान गर्न बार्डले आवश्यक प्रविधि तथा प्रकृया विकास गर्ने सम्बन्धमा प्रकृया अगाडी बढाइ सकिएकोमा यसलाई आगामी भाद्र १५ गते सम्ममा अन्तिम रुप दिने सम्बन्धमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट आवश्यक कार्य गर्ने । ३. धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९ को व्यवस्था बमोजिम धितोपत्र तथा रकमको राफसाफ सम्बन्धमा टीप्लस टूमा नै पे–इनगर्न लगाउने, टीप्लसस थ्रीमा खरीदकर्ताको खातामा धितोपत्र तथा बिक्री कर्ता खातामा रकम जम्मा हुने व्यवस्था गर्ने र लगानीकर्ताले ढिलोमा कारोबार भएको चौथो दिनभित्र धितोपत्र तथा रकम पाउने व्यवस्था गर्न सम्पूर्ण निक्षेप सदस्य तथा राफसाफ सदस्यलाई सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले परिपत्र गरी कडाइका साथ सो को पालना गर्ने गराउने । ४. धितोपत्र दलाल व्यवसायीको भौतिक पूर्वाधार सहित मार्जिन लेण्डिङ्ग, डिलरसिप कार्य गर्न दिने सम्बन्धमा आवश्यक पुनरावलोकन गर्न आवश्यक देखिए बमोजिम यस सम्बन्धमा पहिलेनै नेपाल स्टक एक्सचेञ्जबाट राय सुझाव माग गरेकोमा नेप्सेले यही साउन मसान्तसम्ममा राय सुझाव उपलब्ध गराउने । ५. काठमाडौं बाहिर धितोपत्र दलाल व्यवसायीको कार्यालय विस्तार गर्ने सम्बन्धमा नेप्सेबाट कार्यदल गठन गरी कार्य अगाडि बढाइसकेकोमा उक्त कार्यदलबाट यथाशिघ्र प्रतिवेदन प्राप्त गरी आवश्यक कार्य अगाडि बढाउने । ६. नेप्सेले धितोपत्र बजारको सदस्यता तथा कारोबार विनियमावली, २०५५ तथा धितोपत्र सूचिकरण विनियमावली, २०५३ लाई प्रतिस्थापन गर्न पेश गरेको विनियमावलीहरुमा बोर्डको सुझाव अनुसार परिमार्जन गरी आगामी भाद्र १५ गते भित्र बोर्डको स्वीकृतिका लागि पेश गर्ने । ७. हालबजारमा दैनिक २ अर्बको कारोबार हुन लागि सकेको परिपे्रक्ष्यमा सेटलमेन्टको जोखिमसमेत बढदै गइरहेकोले त्यसलाई न्युनीकरण गर्न सेटलमेन्ट ग्यारेण्टी फण्ड तथा अक्सन मार्केटको व्यवस्था गर्ने सम्बन्धमा आवश्यक कार्यविधी तयार गरी नेप्सेले आगामी भाद्र १५ गते भित्रबोर्डमा पेश गर्ने । ८. सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले उक्त संस्थाको विनियमावलीका बिभिन्न दफाहरुमा संशोधन गर्न बोर्डको स्वीकृतिका लागि पठाएकोमा विभिन्न समयमा आएका संशोधनलाई एकीकृत गरी पेश गर्ने र बोर्डले स्वीकृति सम्बन्धीकार्य अविलम्ब अगाडि बढाउने ।