सेयर बजारमा उच्च अंकको वृद्धि, १३ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । साताको पहिलो दिन आइतबार करिब ४५ अंकले घटेको नेप्से परिसूचक मंगलबार १२७४ अंकमा अडिएको थियो । त्यसपछिको दुई दिनमै नेप्से परिसूचक करिब ७० अंकले उकालो लागेको छ । बिहीबार नेप्से परिसूचक २७ दशमलब ०५ अंकले उकालो लागेर १३४३ दशमलब ८५ अंकमा पुगेको छ । दुई दिनयताको बजारले अबको सेयर बजारमा सुधार आउने संकेत देखाएको छ, जसले गर्दा लगानीकर्ताको मुहारमा खुसीयाली छाएको छ । त्यस्तै, बिहीबार परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । सो दिन बजारमा ६५ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जुन रकम मंगलबारको तुलनामा करिब २५ करोड र बुधबारको तुलनामा करिब १३ करोड रुपैयाँ बढी हो । बिहीबार १४५ कम्पनीको २६ लाख ६५ हजार कित्ता सेयर किनबेच भएको छ । १४५ कम्पनीको सेयर कारोबार भएको बजारमा १३ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । जसमा चारवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । नेपाल इन्स्योरेन्स कम्पनी, नविल ब्यालेन्स फण्ड १, एभरेष्ट इन्स्योरेन्स कम्पनी र एनबी इन्स्योरेन्स कम्पनीका सेयर मूल्य १० प्रतिशतले बढेको हो । बिहीबार कारोबार भएका अन्य समूह र उत्पादमूलक समूह बाहेक बाँकी समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २९० अंकले बढेको छ । त्यस्तै, बाँकी समूहको परिसूचक दोहोरो अंकले बढेका छन् । अन्य समूह र उत्पादमूलक समूहको क्रमशः ६.६५ र ६.३५ अंकले घटेका छन् ।

सेयर बजारमा तीव्र उतारचढाव, परिसूचक २६ अंकले उक्लियो, ५० करोडको सेयर कारोबार

काठमाडौं । सोमबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । २ बजेसम्मकोे कारोबारमा निरन्तर ओरालो लागिरहेको परिसूचक त्यसपछिको कारोबारमा भने दोहोरो अंकले उकालो लागेको छ । सोही दिन करिब ३२ अंकले घटिरहेको परिसूचक बजार बन्द हुँदा भने २६ दशमलब ४८ अंकले बढेको छ । नेप्से दोहोरो अंकले बढेर १२७८ दशमलब ९८ अंकमा पुगेको छ । आइतबारको तुलनामा कारोबार रकममा सामान्य वृद्धि भएको छ । आतबार ४९ करोडको कारोबार भएको बजारमा सोमबार ५० करोडको सेयर कारोबार भएको छ । सो दिन १३८ कम्पनीको १३ लाख कित्ता सेयर किनबेच भएको हो । बजारमा सबैभन्दा बढी स्वावलम्बन विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता १०८९ रुपैयाँ रहेको छ । त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन बीमा समूहको परिसूचक १९२ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रोपावर, बैंकिङ् र अन्य समूहको परिसूचक क्रमशः ३३, ३० र १५ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक १४ अंकले ओरालो लागेका छन् ।

सेयर बजार ओरालो लाग्ने क्रम जारी, धितोपत्र बोर्ड भन्छ- हस्तछेप गर्ने बेला भएको छैन

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । आइतबार ४३ अंकले घटेको नेप्से सोमबार कारोबार शुरु भएको करिब तीन घण्टामा २४ अंकले घटेर १२२७ अंकमा झरेको छ । गत बिहीबार १२९६ अंकमा रहेको नेप्से परिसूचक घटेर १२२७ अंकमा झरेको छ । सेयर बजारमा दुई दिनमै करिब ७० अंकको गिरावट देखेपछि लगानीकर्ताहरु आत्तिएका छन् । गत सोमबारको तुलनामा यस सोमबारको करिब तीन घण्टाको सेयर कारोबारमा करिब १२१ अंकको गिरावट देखिएको छ । गत साताको सोमबार नेप्स परिसूचक १३४८ अंकमा रहेको थियो । बजारमा कारोबार भएको सबै समूहका परिसूचकहरु राताम्मे भएका छन् । १२६ कम्पनीको सेयर कारोबार मध्ये पाँच कम्पनीको सेयर मूल्यमा सामान्य वृद्धि भएको छ भने बाँकी कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सोही अवधिसम्म करिब ३५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल धितोपत्र बोर्डका सह प्रवक्ता डा. नवराज अधिकारीले सेयर बजारको सुक्ष्म अध्ययन गरिहेको तर हस्तक्षेपबारे ठोस निर्णय भने नभएको बताए । ‘हामी बजारको सुक्ष्म अध्ययन गरिरहेका छौं, लगानी कर्ताको मनोबल कसरी उकास्ने भन्नेबारे सोचिरहेका छौं तर निष्कर्षमा पुगेका छैनौं र तत्कालै हस्तक्षेप गर्ने योजना बनाएका पनि छैनौं’, धितोपत्र बोर्डका सह प्रवक्ता डा. अधिकारीले भने । सेयर बजारको ठुलो लगानी मार्जिन लेण्डिङमा आधारित रहेकाले पनि बजारमा समस्या आएको हुन सक्ने उनले दावी गरे ।

२१ अंकले ओरालो लागेको बुधबारको सेयर बजारमा १३ कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौं । केही दिन यता निरन्तर ओरालो लागिरहेको सेयर बजार बुधबार पनि ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक २१ दशमलब ६२ अंकले ओरालो लागेर १३२२ दशमलब ९८ अंकमा अडिएको छ । परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार १० लाख १८ हजार कित्ता सेयर किनबेचमा ३४ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १३७ कम्पनीको कारोबार भएको छ । दोहोरो अंकले घटेको बजारमा जम्मा १३ कम्पनीका लगानीकर्ताले कमाएका छन् । सबैभन्दा बढी महालक्ष्मी बैंकका लगानीकर्ताले करिब ६ प्रतिशत कमाएका छन् । त्यस्तै, माउन्ट मकालु डेभलपमेन्ट बैंक, निर्धन उत्थान बैंक लगायत अन्य ८ कम्पनीको सेयर मूल्य सामान्य प्रतिशतले बढेको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले करिब साढे ६ प्रतिशत गुमाएका छन् । बुधबार करिब १२४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । बुधबार सबै समूहका परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १७९ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल, विकास बैंक र बैंकिङ् समुहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् ।

बैकिङ र सेयर बजारमा बारम्बार प्रयोग बाइस शब्दहरु, जसको व्याख्या यस्तो छ बाफियामा

१. “प्राथमिक पूँजी” भन्नाले बैंक वा वित्तीय संस्थाको चुक्ता पूँजी, शेयर प्रिमियम, फिर्ता नहुने अग्राधिकार शेयर, साधारण जगेडा कोष र सञ्चित नाफा–नोक्सान शीर्षकमा रहेको रकम सम्झनु पर्छ र सो शब्दले राष्ट्र बैंकले समय समयमा प्राथमिक पूँजी भनी तोकिदिएको अन्य शीर्षकमा रहेको कोष वा रकम समेतलाई जनाउँछ । २. “धितोपत्र” भन्नाले बैंक वा वित्तीय संस्था वा संगठित संस्थाले जारी गरेको शेयर, स्टक, बण्ड, डिबेन्चर, डिबेन्चर स्टक वा सामूहिक लगानी योजना सम्बन्धी प्रमाणपत्र वा नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गरेको प्रमाणपत्र, बचतपत्र वा बण्ड सम्झनु पर्छ र सो शब्दले धितोपत्र बजारमार्फत कारोबार हुन सक्ने वा हस्तान्तरण हुनसक्ने भनी धितोपत्र बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो धितोपत्र खरिद बिक्री वा विनिमय गर्न सक्ने अधिकारपत्र समेतलाई जनाउँछ । ३. “पूँजी” भन्नाले बैंक वा वित्तीय संस्थाको अधिकृत पूँजी, जारी पूँजी वा चुक्ता पूँजी सम्झनु पर्छ । ४. “पूँजीकोष” भन्नाले राष्ट्र बैंकले तोके बमोजिमको बैंक वा वित्तीय संस्थाको प्राथमिक पूँजी र पूरक पूँजीको योग सम्झनु पर्छ र सो शब्दले राष्ट्र बैंकले समय समयमा तोकेको अन्य कोष वा रकम समेतलाई जनाउँछ । ५. “प्राथमिक पूँजी” भन्नाले बैंक वा वित्तीय संस्थाको चुक्ता पूँजी, शेयर प्रिमियम, फिर्ता नहुने अग्राधिकार शेयर, साधारण जगेडा कोष र सञ्चित नाफा–नोक्सान शीर्षकमा रहेको रकम सम्झनु पर्छ र सो शब्दले राष्ट्र बैंकले समय समयमा प्राथमिक पूँजी भनी तोकिदिएको अन्य शीर्षकमा रहेको कोष वा रकम समेतलाई जनाउँछ । ६.  “बोनस शेयर” भन्नाले बैंक वा वित्तीय संस्थाको मुनाफाबाट भएको बचत वा अन्य कोषलाई पूँजीकरण गरी शेयरधनीलाई अतिरिक्त शेयरको रुपमा जारी गरिएको शेयर सम्झनु पर्छ र सो शब्दले बचत वा अन्य कोषलाई पूँजीकरण गरी शेयरको चुक्ता रकम वृद्धि गरेको अवस्था समेतलाई जनाउँछ । ७. “खुद सम्पत्ति (नेट वर्थ)” भन्नाले बैंक वा वित्तीय संस्थाको वासलातमा रहने सम्पत्तिको कुल जोडमा वाह्य दायित्वलाई घटाई कायम हुन आउने रकम सम्झनु पर्छ । ८. “कार्यकारी प्रमुख” भन्नाले बैंक वा वित्तीय संस्था सञ्चालनको जिम्मेवारी पाएको प्रमुख कार्यकारी अधिकृत सम्झनु पर्छ र सो शब्दले बैंक वा वित्तीय संस्थाको कार्यकारी प्रमुखको रुपमा काम गर्ने कार्यकारी अध्यक्ष र प्रबन्ध सञ्चालक समेतलाई जनाउँछ । ९. “सञ्चालक” भन्नाले सञ्चालक समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले सञ्चालक समितिको अध्यक्ष र वैकल्पिक सञ्चालक समेतलाई जनाउँछ । १०. “संस्थापक” भन्नाले यस ऐन बमोजिम बैंक वा वित्तीय संस्था संस्थापना गर्नको लागि प्रबन्धपत्र तथा नियमावलीमा कम्तीमा एक शेयर लिन मन्जूर गरी संस्थापकको हैसियतले हस्ताक्षर गर्ने व्यक्ति सम्झनु पर्छ । ११. “पदाधिकारी” भन्नाले बैंक वा वित्तीय संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, कम्पनी सचिव र कुनै विषयमा निर्णय गर्ने अख्तियारी प्राप्त अधिकृतस्तरको कर्मचारी सम्झनु पर्छ । १२. “परिवार” भन्नाले सञ्चालकको पति वा पत्नी, छोरा, वुहारी, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफूले पालनपोषण गर्नु पर्ने दाजु भाउजु, भाइ वुहारी र दिदी बहिनी सम्झनु पर्छ । तर सो शब्दले अंशवण्डा गरी मानो छुट्टिई आ–आफ्नो पेशा व्यवसाय गरी बसेको परिवारको सदस्यलाई जनाउने छैन । १३. “सम्बद्ध व्यक्ति” भन्नाले बैंक वा वित्तीय संस्थाको सञ्चालक, पदाधिकारी वा निजकोे परिवारको उल्लेख्य स्वामित्व रहेको कुनै फर्म, कम्पनी वा संस्था वा त्यस्तो फर्म, कम्पनी वा संस्थामा उल्लेख्य स्वामित्व रहेको कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्था वा सोमा उल्लेख्य स्वामित्व राख्ने सोको हिताधिकारी सम्झनु पर्छ । १४. “गैर कार्यकारी सञ्चालक” भन्नाले बैंक वा वित्तीय संस्थाको दैनिक कार्य सम्पादन गर्ने कार्यकारी सञ्चालक वाहेकको अन्य सञ्चालक सम्झनु पर्छ । १५. “साहु” भन्नाले बैंक वा वित्तीय संस्थाले तिर्नु बुझाउनु पर्ने व्यक्ति वा संगठित संस्था सम्झनु पर्छ र सो शब्दले खारेजीको प्रयोजनका लागि निक्षेपकर्ता तथा डिबेञ्चरहोल्डरलाई समेत जनाउँछ । १६.“जोखिमभारित सम्पत्ति” भन्नाले बैंक वा वित्तीय संस्थाको वासलातभित्रको र वासलातबाहिरको प्रत्येक शीर्षकमा रहेको रकमलाई राष्ट्र बैंकले तोकेको ढाँचामा तोकिएको जोखिमभारले गुणन गरी निकालिएको कुल सम्पत्ति सम्झनु पर्छ । १७. “वित्तीय स्वार्थ” भन्नाले सञ्चालक, एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएको शेयरधनी वा कार्यकारी प्रमुख वा त्यस्तो व्यक्तिको परिवार वा सञ्चालक मनोनित गर्ने अधिकार पाएको व्यक्ति, कम्पनी वा संगठित संस्थाले कुनै फर्म, कम्पनी वा संगठित संस्थाको चुक्ता पूँजीको दश प्रतिशत वा सोभन्दा बढी हुने गरी छुट्टाछुट्टै वा संयुक्त रुपमा शेयर खरिद गरेमा त्यस्तो व्यक्ति वा व्यक्तिहरुको दश प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व रहेको संस्थामा रहेको निजहरुको स्वार्थ सम्झनु पर्छ र सो शब्दले राष्ट्र बैंकले समय समयमा वित्तीय कारोवारको प्रकृति र अवस्था हेरी वित्तीय स्वार्थ भनी तोकिदिएको स्वार्थ समेतलाई जनाउँछ । १८. “विद्युतीय कारोबार” भन्नाले टेलिफोन, टेलेक्स, कम्प्युटर वा म्याग्नेटिक टेप वा त्यस्तै प्रकारका अन्य विद्युतीय उपकरणको माध्यमबाट निक्षेप लिने, भुक्तानी दिने, रकमान्तर गर्ने कारोबार सम्झनु पर्छ र सो शब्दले टर्मिनल, अटोमेटेड टेलर मेसिन र क्यास डिस्पेन्सिङ्ग मेसिनको माध्यमबाट हुने कारोबार, चार्ज कार्ड, डेबिट वा क्रेडिट कार्डबाट हुने कारोबार समेतलाई जनाउँछ । १९. “हाइपोथिकेसन कर्जा” भन्नाले मालवस्तु स्टकको भोगाधिकार सम्बन्धित ऋणीमै कायम राखी सोको धितोमा बैंक वा वित्तीय संस्था र ऋणी बीच सम्झौता भई प्रवाह गरिएको कर्जा सम्झनु पर्छ । २०. “जोखिमभारित सम्पत्ति” भन्नाले बैंक वा वित्तीय संस्थाको वासलातभित्रको र वासलातबाहिरको प्रत्येक शीर्षकमा रहेको रकमलाई राष्ट्र बैंकले तोकेको ढाँचामा तोकिएको जोखिमभारले गुणन गरी निकालिएको कुल सम्पत्ति सम्झनु पर्छ । २१. “वासलात बाहिरको कारोबार” भन्नाले बैंक वा वित्तीय संस्थाले दायित्व व्यहोर्नु पर्ने सम्भावना भएको प्रतितपत्र, जमानतपत्र, स्वीकारपत्र, प्रतिबद्धता, विदेशी विनिमय सम्बन्धी स्वाप, अप्सन, अग्रिम कारोबार सम्झनु पर्छ र सो शब्दले राष्ट्र बैंकले समय समयमा तोकिदिएका उपकरणको कारोबार समेतलाई जनाउँछ । २२. “तरल सम्पत्ति” भन्नाले बैंक वा वित्तीय संस्थाको नगद मौज्दात, चल्ती खातामा रहेको मौज्दात, राष्ट्र बैंकमा राखेको मौज्दात र राष्ट्र बैंकले समय समयमा तरल सम्पत्ति भनी निर्धारण गरिदिएको बैंक वा वित्तीय संस्थाको सम्पत्ति सम्झनु पर्छ ।

सेयर बजारमा उतारचढाव, नेप्से परिसूचक १६ अंकले उकालो, ५२ करोडको सेयर कारोबार

काठमाडौं । केही दिन यता सेयर बजारमा निकै उतारचढाव देखिएको छ । सोमबार ६५ अंकले झरेको नेप्से परिसूचक मंगलबार दोहोरो अंकले उकालो लागेको छ ।  त्यस्तै, मंगलबारको सेयर बजारमा पनि उतारचढाव देखिएको छ । सेयर कारोबार शुरु भएको एक घन्टामै नेप्से परिसूचक बढेर १३३४ अंकमा पुगेको थियो । त्यसपछिको करिब आधा घण्टामा फेरि घटेर १२९३ अंकमा पुगेको थियो । त्यसपछिको सेयर कारोबार भने केही टेवा पुगेको देखिन्छ । कारोबार बन्द हुँदा नेप्से परिसूचक १६ दशमलब ९० अंकले बढेर १३२६ अंकमा अडेको छ । सो दिन १३७ कम्पनीको १६ लाख ४९ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन ५२ करोड ८५ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर करोबार भएको छ । बजारमा बीमा र अन्य समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक १०९ अंकले उकालो लागेको छ । त्यस्तै, बैंकिङ, उत्पादमूलक र हाइड्रोपावर समूहको परिसूचक क्रमशः २५, १९ र १३ अंकले उकालो लागेका छन् । बीमा र अन्य समूहको परिसूचक क्रमशः २८ र ०.२९ अंकले ओरालो लागेका छन् । मंगलबार साल्टी होटल र श्री राम मिल्स कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी गराँस लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

सेयर बजार ३० प्रतिशतले घट्दा जलविद्युत कम्पनीका सेयरधनीले गुमाए ४४ प्रतिशत, बीमाका लगानीकर्ताकाे ४० प्रतिशत गुम्यो, बैकिङ समूह बढी सुरक्षित

काठमाडौं । गत साता ९० अंकले घटेको सेयर सोमबार ६५ अंकले घटेको छ । सेयर बजार मापन गर्ने सूचक नेप्से १३०९ अंकमा झरेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५४६ अंकले घटेको छ । सोमबार मात्र होइन, सेयर बजारमा मन्दी शुरु भएदेखि नै बीमा कम्पनीका सेयरधनीले बढी गुमाउँदै आएका छन् । गत असारमा नेप्से परिसूचक १८८१ पुगेको थियो । सात महिना यता नेप्से ५७२ अंकले घटेको छ । यस अवधिमा बीमा समूहको परिसूचक ९ हजार ५५३ बाट ५ हजार ७३७ अंकमा झरेको छ । समग्रमा बजार करिब ३० प्रतिशतले घट्दा बीमा समूहको परिसूचक ४० प्रतिशतले घटेको छ । गत असारमा ४ हजार ५९६ रुपैयाँमा कारोबार भएको नेपाल लाईफको सेयर सोमबार २२५५ रुपैयाँमा झरेको छ । गत कात्तिकमा प्रतिकित्ता ४३ सयमा कारोबार भएको शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १७५५ रुपैयाँमा झरेको छ । गत जेठमा प्रतिकित्ता २९९९ रुपैयाँमा कारोबार भएको सगरमाथा इन्स्योरेन्स कम्पनी सेयर मूल्य ९०९ रुपैयाँमा झरेको छ । असोजमा २१९४ रुपैयाँमा कारोबार भएको एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १२९२ रुपैयाँमा झरेको छ । असारमा २५०० रुपैयाँमा कारोबार भएको प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ११५७ रुपैयाँमा झरेको छ । गत असारमा २४९५ रुपैयाँमा कारोबार भएको प्राइम लाईफ इन्स्योरेन्सको सेयर १३०० रुपैयाँमा झरेको छ । बढ्दा पनि बीमा कम्पनीहरुको सेयर मूल्य अस्वभाविक रुपमा बढेको थियो । बीमा समितिले कम्पनीहरुको चुक्ता पुँजी २ देखि ५ अर्ब बनाउन कानुन मै उल्लेख गर्ने प्रस्ताव गरेको आधारमा यो क्षेत्रमा सेयर मूल्य उच्च दरमा बढेको थियो । बीमा समितिको अध्यक्ष परिवर्तनसँगै बीमा कम्पनीहरुको व्यापार विस्तार र पुँजी विस्तार सन्तुलित बनाउने सन्देश प्रकाशमा आईरहेको छ । साथै, बीमा कम्पनीहरुको लाइसेन्स खुला गर्ने संकेतहरु बीमा समितिबाट प्रकट भएको छ । बीमा कम्पनीको सेयर किन्नेले भन्दा बढी जलविद्युत कम्पनीका सेयरधनीले बढी गुमाएका छन् ।  जलविद्युत कम्पनी समूहले परिसूचक २७६९ बाट १५४७ मा झरेको छ । समग्र बजार ३० प्रतिशतले यो समूहका लगानीकर्ताले ४४ प्रतिशत लगानी गुमाएका छन् । अपि पावरको सेयर ८८० रुपैयाँबाट ३३८ रुपैयाँमा झरेको छ जुन ६१ प्रतिशतले गिरावट हो । अरुण भ्यालीको सेयर ४५८ रुपैयाँबाट २१८ रुपैयाँमा झरेको छ । बुटवल पावरको ९९० रुपैयाँबाट ५०० रुपैयाँमा झरेको छ । चिलिमेको १५३० बाट ७८१ रुपैयाँमा झरेको छ ।  सानिमा माईको सेयर ११२२ रुपैयाँबाट ७७१ रुपैयाँमा झरेको छ । नेप्से परिसूचक ३० प्रतिशतले खुम्चिदा बाणिज्य बैंक समूह २९ प्रतिशतले, विकास बैंक समूह २८ प्रतिशतले, फाइनान्स कम्पनी समूहको परिसूचक ३१ अंकले घटेको छ । नेपाल टेलिकमको सेयर मूल्यमा सबैभन्दा बढी स्थायित्व देखिएको छ । कम्पनीको सेयर मूल्य बढीमा ७२० र घटीमा ६५० रुपैयाँ देखिएको छ ।

अपडेट: सेयर बजारमा उच्च गिरावट, बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाउँदै

काठमाडाैं । साेमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । कारोबार खुलेको करिब पौने २ घण्टामा नै नेप्से परिसूचक ३६ दशमलब ५४ अंकले घटेको छ । कारोबार शुरु हुँदा १३७४ अंकमा रहेको नेप्से घटेर १३३८ अंकमा झरेको छ । बीमा कम्पनीकाे सेयरमा लगानी गनेर् लगानीकर्ताले धेरै गुमाएकाे छन् ।  यूनाइटेड इन्स्योरेन्स कम्पनी र प्रिमियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् । सो अवधिसम्म यी दुई कम्पनीको सेयर क्रमशः प्रतिकित्ता १०१ र १२५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै प्रभु इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र एसियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले  करिब ९ प्रतिशत गुमाएका छन् । त्यसैगरि नेपाल लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य क्रमशः ७.५, ७.०५ र ६.८९ प्रतिशतले घटेको छ । बीमा समूहको परिसूचक २८७ अंकले ओरालो लागेका छन् । त्यस्तै, अन्य समूहको परिसूचक ७ अंकले ओरालो लागेको छ भने बाँकी समूहका परिसूचकहरु दोहोरो अंकले ओरालो लागेका छन् ।

निक्षेपको व्याजदर २० प्रतिशतले बढ्दा सेयर बजार ९० अंकले घट्यो

काठमाडौं, १४ माघ । गत साता बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती खातामा २० देखि ३५ प्रतिशत व्याज बढाए । अघिल्लो सातासम्म बैंकहरुले निक्षेकर्ताले १० प्रतिशत व्याज दिएका थिए । गत साता एनसीसी, एनआईसी, ग्लोवल आईएमई लगायत वाणिज्य बैंकहरुले १२ प्रतिशत व्याजमा निक्षेप आह्वान गरे । वाणिज्य बैंकहरुले व्याज बढाएपछि विकास बैंक र फाइनान्स कम्पनीहरुलाई पनि असर पर्यो । ९ प्रतिशत व्याज दिदै आएको कैलाश विकास बैंकले १२ प्रतिशत व्याज प्रस्ताव गर्यो । अधिकांश राष्ट्रिय स्तरका विकास बैंकहरुले १२ प्रतिशत व्याज दिने प्रस्ताव गरे । गुडविल फाइनान्सले निक्षेपकर्तालाई १३.५ प्रतिशत व्याज प्रस्ताव गरेको छ । बैंकहरुले निक्षेपको व्याजदर वृद्धि गर्दा निक्षेपकर्तालाई लाभ भएको छ । तर सेयर बजारमा त्यसको उल्टो प्रभाव पर्यो । यस साता मात्र सेयर बजार ९० अंकले घट्यो । मुद्दती व्याजमा २० देखि ३५ प्रतिशत वृद्धि हुँदा सेयर बजार करिव ६ प्रतिशतले झरेको छ । आईतबार १४६५ मा रहेको नेप्से परिसूचक विहीबार १३७५ अंकमा झरेको छ । यस साता नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने सुधार आएको छ । साताभर दुई अर्ब २२ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा १९.९४ प्रतिशत बढि हो । गत साता एक अर्ब ८५ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यस साता १५५ कम्पनीहरुको एक करोड ६६ लाख ६७ हजार  सेयरहरु खरिद बिक्री भएका छन् ।

सेयर बजारमा क्रेडिट क्रन्चको असर, कर्जाको व्याजदर बढेपछि सेयर बजारका लगानीकर्ता समस्यामा

काठमाडौं १३, माघ । वित्तीय प्रणालीमा कर्जा प्रवाहयोग्य पुँजीको अभाव (क्रेडिट क्रन्च) भएपछि त्यसको असर पुँजी बजारमा समेत परेकोे छ । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्न नसक्दा लगानीकर्ता दबाबमा परेपछि सेयर बजार सूचक ३६ अंकले घटेको छ । पछिल्लो समय घट्दो गतिमा रहेको सेयर बजार मंगलबार २५ अंकले घटेकोमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक बुधबार ३६ अंकले घटेको छ । बैंक तथा वित्तीय संस्थाले कर्जाको व्याजदर बढाएपछि सेयर बजारका लगानीकर्ता समस्यामा परेका हुन् । नेपाल राष्ट्र बैंकले मंसिरसम्मको तथ्यांकमा आधारित भएर बैंक–वित्तीय संस्थाको सेयरमा कर्जा प्रवाह बढेको भन्दै सचेत भएर लगानी गर्न निर्देशन दिएको छ । सेयर बजारमा आपूर्ति बढेको समयमा वित्तीय प्रणालीमा समस्या देखिँदा धितोपत्र बजारलाई प्रत्यक्ष असर गरेको छ । बैंक–वित्तीय संस्थाबाट कर्जा पाउन छाडेपछि कर्जामा लगानी गर्ने सेयर लगानीकर्तालाई धितोपत्र बजारको लगानी घातक सावित हुँदै आएको छ । सेयर बजार परिसूचकसँगैै कारोबार रकममा पनि आएको गिरावटले सेयर बजार तत्काल नफकर्ने संकेत गरेको बुझिन्छ । वित्तीय प्रणालीको व्याजदर र सेयर बजारको उल्टो सम्बन्ध हुन्छ । व्याजदर बढेको अवस्थामा सेयर बजार घट्दो क्रममा जान्छ । तर, व्याजदर बढेको भए पनि कर्जा नै नपाउने अवस्था आए पनि सेयर लगानीकर्तालाई पुरानो कर्जाका लागि पनि सेयर बिक्री गनुपर्र्ने बाध्यता छ । सेयर आपूर्ति बढेको र सेयर बजारमा बिक्री गर्ने लगानीकर्ता वढ्दा सेयर बजारमा उच्च अंकले घटेको हो । वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३०।४ प्रतिशतले बढेकोमा ओभरड्राफ्ट, हायर पर्चेज, घरजग्गा तथा शेयरको धितोमा प्रवाह हुने कर्जा उल्लेख्य रुपमा बढेको राष्ट्र बैंकले जनाएको छ । उत्पादनमूलक क्षेत्रमा जानुपर्ने कर्जा जोखिमयुक्त क्षेत्रतर्पm उन्मुख हुँदा समस्या आउनसक्ने भएकाले केन्द्रीय बैंकले सावधान हुन सुझाव दिएको छ । बैंक तथा वित्तीय संस्थाहरू ‘क्रेडिट क्रन्च’को सामना गरिरहेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए । “वित्तीय प्रणालीमा क्रेडिट क्रन्च भएकाले सेयर बजार पनि प्रभावित भएको हो,” उनले भने, “बैंकहरू सीसीडी रेसियोको समस्यामा छन्, त्यो भनेको क्रेडिट क्रन्च नै हो ।” सेयर बजारमा बचत परिचालन गर्ने भन्दा पनि कर्जामार्फत लगानी गर्ने धेरै भएको हुनाले हालको अवस्थमा सेयर बजार नकारात्मक भएको दाहालको तर्क छ । ऋणमा सेयर लगानी गर्ने लगानीकर्ता व्याजदर वढ्दै गए पनि लगानी वढाउने भन्दा घटाउने पक्षमा हुँदा सेयर बजारमा आपूर्ति झनै बढेको छ । बैंकहरूले कर्जा प्रवाह गर्न नसकेको सेयर लगानीकर्ता पनि दबाबमा परेको उनले जानकारी दिए । बैंकहरूले पुँजी वृद्धिको योजना हालको समस्या निम्त्याएको विश्लेषण छ । बैंकहरूले पुँजी वृद्धिसँगै छोटो अवधिको कर्जा प्रवाह पनि तीब्र रुपमा वढाए । बैंकहरूले वित्तीय सूचक राम्रो देखाउनका लागि गरेको कर्जा प्रवाहले पुँजी, कर्जा र निक्षेप अनुपामा कसिलो हुन पुग्यो । जसले गर्दा हाल बैंकहरूसँग कर्जा प्रवाह गर्नसक्ने अवस्था नभएको हो । सेयर बजारमा धितोपत्रको आपूर्ति बढिरहेकाले बजार घटेको नेपाल धितोपत्र बोर्डका प्रबक्ता निरज गिरीले बताए । पछिल्लो समयमा बिक्री खुला भएका नयाँ निस्कासनहरूमा कर्जा नपाएको गुनासो लगानीकर्ताको गरेको गिरीले बताए । उनले भने, “बैंकहरूमा व्याजदर वढेको हुनाले त्यसको असर नेप्से सूचकमा परेको हो ।” बचत भन्दा पनि बैंकको कर्जामार्फत लगानी गर्ने लगानीकर्ताको संख्या अधिक भएकाले पनि बैंकहरूले कर्जाको व्याजदर वढाए पनि पुँजीबजारमा असर परेको हो । मंगलबार २५ अंकले वढेको नेप्से परिसूचक बुधबार ३६।३८ अंकले घटेर १३९६।६१ अंकमा झरेको छ । यो विन्दु पछिल्लो ९ महिनाकै न्यून हो । यसभन्दा अघि २०७२ चैत ३० गते नेप्से परिसूचक १३८० अंकमा थियो । बुधबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । तर, उत्पादनमूलक समूहमा लगानी गर्ने लगानीकर्ताले कमाएका छन् । बुधबार अधिकांश समूहगत परिसूचक समेत घटेका छन् । नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने केही सुधार आएको छ । प्रभु बैंकको संस्थापक सेयरको बल्क कारोबारले बुधबारको नेप्सेको कारोबार रकम ५९ करोड भन्दा धेरै पुगेको छ । कारोबार दैनिकबाट ।

बैंकको व्याजदर भन्दा डबल अंकले घट्यो सेयर बजार, बीमा समूहको परिसूचक १४० अंकले घट्याे

काठमाडौं, ११ माघ । सेयर बजारको मापन गर्ने परिसूचक मंगलबार २४ अंकले घटेको छ । मंगलबार विहान दुई वाणिज्य बैंकले मुद्दती बचतमा १२ प्रतिशत व्याज दिने योजना सार्वजनिक गरेपछि सेयर बजारका लगानीकर्ता थप आत्तिएर सेयर बेच्न थालेको देखिएको छ । मंगलबार नेप्से परिसूचक १४३३ अंकमा झरेको छ । यो अंक गत बैंशाख ८ गतेयताको सबैभन्दा तलको विन्दु हो । बजारमा सबै समूहका परिसूचकहरु घटेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १४० अंकले घटेको छ । खानीखोला हाइड्रोपावर, लुम्बिनी फाइनान्स, पोखरा फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंकको सेयरधनीले बढी गुमाएका छन् । राष्ट्रिय बीमा कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, साझा विकास बैंक, बरुण हाईड्रोपावरका सेयरधनीले घटेको बजारमा पनि ३ प्रतिशतभन्दा बढी नाफा गरेका छन् । सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि घटेर ३८ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ ।

सेयर बजारमा सामान्य सुधार, खानीखोलाको सेयर मूल्य १० प्रतिशतले वृद्धि

काठमाडौं, २८ पुस । साताको अन्तिम दिन कारोबार हुने सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । बजारमा ३ दशमलब ३५ अंकले परिसूचक बढेर १४७९ दशमलब ८६ अंकमा पुगेको छ । सो दिन ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबारको तुलनामा कारोबार रकममा भने ४ करोड रुपैयाँ कमी हो । बिहीबार १२० कम्पनीको २६ लाख ७७ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन कम्पनीको सेयर मूल्य करिब ३५३ रुपैयाँ रहेको छ । सबैभन्दा बढी कर्नाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले झन्डै १० प्रतिशत गुमाएका छन् । बजारमा कारोबार भएका होटल समूह र अन्य समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् । सबैभन्दा बढी जलविद्युत समूहको परिसूचक करिब १० अंकले उकालो लागेको छ । होटल र अन्य समूहको परिसूचक क्रमशः ३० र २ अंकले ओरालो लागेका छन् ।

सेयर बजारले अर्थतन्त्रमा पुर्याएको योगदान गणना गर्दै केन्द्रीय तथ्याङ्क विभाग, आर्थिक गणना गर्न बिजनेश डाइरेक्टरी बनाईदै

काठमाडौं, २५ पुस । केन्द्रीय तथ्याङ्क विभागले सेयर बजार र यसले अर्थतन्त्रमा परेको योगदानका बारेमा अध्ययन तथा गणना गर्ने भएको छ । राष्ट्र निर्माणमा सेयर बजार तथा ब्रोकरहरुको के कति योगदान रहेको छ भन्ने जानकारी पाउन विभागले गणना गर्न लागेको हो । अबको केही दिनमै उक्त गणना शुरु हुने विभागका निर्देशक डा. जिष्णुमोहन भट्टराईले बताए । ‘प्रश्नावली तयार भइसकेको छ, उनले भने ‘ अब विद्युतीय सिष्टम तयार हुने वित्तिकै हामी नेपाल स्टक एक्ञ्चेन्जमा प्रश्नावली पठाउँछौ ।’ यसमा सेयर ब्रोकर कम्पनीहरुले गर्ने कारोबार तथा उनीहरुले गर्ने खर्च तथा कमिशन, कर लगायतका विषयहरु समेत समेटिने छन्,’ उनले भने । हामीले सिष्टम बनाएर पठाउने वित्तिकै नेप्सेले केही थप्नु पर्ने विषय भएमा थप गरी सात दिन भित्र ब्रोकरहरुलाई आफूले गरेको कारोबार अपलोड गर्न लगाउने छ । विभागले आगामी आवमा गर्ने भनेको समष्टिगत आर्थिक गणनका आधारहरु तय गर्न सेयर बजार तथा ब्रोकरहरुको अध्ययन तथा गणना गर्न लागेको हो । यसअघि यस्तो गणना गरिएको थिएन । विभागले आर्थिक सर्वेक्षणको लागि विगत दुई वर्षदेखि यस्ता क्षेत्रको अध्ययन तथा अनुसन्धान एवम् पहिचान गर्दै गणना गरिरहेको छ । विभागले आगामी आर्थिक वर्षमा देशभित्रका सम्पूर्ण आर्थिक क्रियाकलापकाम क्षेत्रलाई समेटेर आर्थिक गणना गर्ने तयारी गरेको छ । विभागले सो गणना अर्थतन्त्रको आकार, स्वरूप तथा संरचनाको यथार्थ विवरण पत्ता लगाउन सो गणना गर्न लागेको हो । ‘कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा गणना हुँदै आएका बाहेक अन्य क्षेत्रको समेत गणना गरिनेछ,’ उनले भने ‘गणनामा साना हुन् या ठूला सबै आर्थिक क्रियाकलापको पूर्ण गणना हुनेछ ।’ देशको अर्थतन्त्रको ‘बेञ्चमार्क’ गर्न समष्टिगत आर्थिक सर्वेक्षण गर्ने तयारी गरेको उनले बताए । आर्थिक गणनाको लागि प्रश्नावली तयार भइरसकेको उनले जानकारी दिए । विभिन्न चरणमा सरोकारवालहरुसँग छलफल भइसकेको छ भने कतिपयसँग छलफलको क्रममा रहेको छ । समष्टिगत तथ्याङ्क देश निर्माणको आधारशिला भएकाले यसबाट नेपालको वास्तविक अर्थतन्त्रबारे जानकारी विभागका उपमहानिर्देशक डा. रुद्र सुवाल बताउँछन् । यसबाट सबै क्षेत्रको कारोबारको अवस्थासमेत पत्ता लाग्ने उनले बताए । विभागले हालसम्म पालोपालो गर्दै गरेको टुक्रे सर्वेक्षणलाई आधार मानेर जीडीपीको गणना गर्दै आएको छ । यस्तो सर्वेक्षणले सबै क्षेत्रलाई समेट्न नसकेकाले समष्टिगत आर्थिक गणना बढी भरपर्दो हुने उनले बताए । जीडीपीमा समग्र आर्थिक क्षेत्रको योगदान के कति छ भनी वास्तविक तथ्याङ्क पत्ता लगाउन सो गणना गर्न लागेको सुवालले बताए । हाल जीडीपी गणनामा उत्पादनमूलक क्षेत्रमात्र समेटिएकाले यस्तो गणना आवश्यक भएको विभागको भनाइ छ । जीडीपी गणनाबारे उब्जिएका विवादहरूको समाधान गर्न विभागले यस्तो गणना गर्न लागेको सुवालले बताए । यस्तो गणनामा आर्थिक क्रियाकलाप हुने हरेक क्षेत्रलाई समेटिनेछ । विभागका अनुसार गणनाका लागि सर्वेयरहरू चियारनाङ्लो पसलदेखि ठूलो उत्पादन तथा व्यापारिक केन्द्र, वित्तीय संस्थान, कन्सल्टेन्सीलगायत क्षेत्रमा पुग्नेछन् । जीडीपीमा कृषि तथा वन भनी एउटा क्षेत्रलाई बुझाए पनि यसभित्र धेरै उपक्षेत्रहरूको पनि छुट्टाछुट्टै गणना गरिने बताइएको छ । आर्थिक गणनाबाट ती क्षेत्रको जीडीपीमा रहेको योगदानको स्पष्ट र वास्तविक तथ्याङ्क पत्ता लाग्ने उनले बताए । आर्थिक गणना गर्न बिजनेश डाइरेक्टरी आर्थिक सर्वेक्षणको तयारीका लागि विभागले पहिलो चरणमा ‘बिजनेश डाइरेक्टरी’ निकाल्ने भएको छ । उद्योग प्रतिष्ठानको नाम, ठेगाना, प्रतिष्ठान प्रमुख तथा कार्यालयको सम्पर्क नम्बर तथा प्रतिष्ठानले गर्ने कार्यलगायत सबै जानकारी त्यस्तो डाइरेक्टरीमा समेटिने र जसले गर्दा आर्थिक गणना गर्न सजिलो हुने सुवालले बताए । उनका अनुसार डाइरेक्टरीमा देशमा सञ्चालित सबै क्षेत्रका उद्योग व्यावसायिक प्रतिष्ठानको तथ्याङ्क पनि समेटिनेछ ।

उल्टियो सेयर बजार ट्रेन, मर्जपछि खुलेको महालक्ष्मी विकास बैंकको सेयर मूल्य घट्यो, क्रेता खोई ?

काठमाडौं, २५ पुस । गणितमा २ जोड २ बराबर ४ हुन्छ । तर मर्जमा २ प्लस २ बराबर ५ हुन्छ भनिन्छ । त्यो भनेको मर्जपछि कम्पनीको पुँजी र व्यापार जोड्ने मात्र होइन, मर्जले कम्पनीमा सिनर्जी इफेक्ट दिन्छ, नयाँ उर्जा दिन्छ । विगतमा यस्तो विचारलाई सेयर बजारले पनि समर्थन गरेको देखिन्थ्यो । मर्जपछि खुलेको बैंकको सेयर कारोबारमा शुरुका दिनमा दैनिक १० प्रतिशत वृद्धि देखिन्थ्यो । तर यतिबेला यस्तो दिन गए । समग्र सेयर बजारमा मन्दीसँगै मर्जपछि खुलेको सेयर किन्ने मान्छे नै नआएको पनि देखियो । महालक्ष्मी फाइनान्स, मालिका विकास बैंक र सिद्धार्थ फाइनान्स मर्ज भई बनेको महालक्ष्मी विकास बैंकको सेयर सोमबार खुल्यो । कारोबार खुलेको डेढ घण्टामा कम्पनीको सेयर मूल्य ९ प्रतिशतले घट्यो । मर्ज प्रक्रिया शुरु हुनुपूर्व करिव १० महिनाअघि मालिका विकास बैंकको सेयर मूल्य ३५० रुपैयाँ भन्दा माथि थियो । महालक्ष्मी फाइनान्सको प्रतिकित्ता ३१५ मा र सिद्धार्थ फाइनान्सको सेयर प्रतिकित्ता २३० रुपैयाँमा कारोबार भएको थियो ।

एक वर्षमा सेयर बजारमा गरिएका सुधार र प्रक्रियामा रहेका योजना

पूर्ण स्वचालित युगमा प्रवेश नेपालमा धितोपत्रको कारोवार प्रणाली यसअघि नै स्वचालित भइसकेकोमा विद्युतीय नामसारी र राफसाफ सेवाको पूर्ण स्वचालित संचालनको लागि २०७२ माघदेखि सम्पूर्ण सूचिकृत कम्पनीहरुको अभौतिकृत धितोपत्रको मात्र कारोवार हुने गरी नामसारी र राफसाफ समेतको पूर्ण स्वचालित सेवा संचालनको व्यवस्था गरिएको छ । यो व्यवस्था कार्यान्वयन भएसँगै नेपालको धितोपत्र बजार दक्षिण एशियाका अन्य देशको धितोपत्र बजार सरह नै आधुनिकीकरणको चरणमा प्रवेश गरेको छ । यसबाट दैनिक औसत कारोवार र कारोवार संख्यामा समेत बृद्धि भएको छ । दलाल व्यवसायी शुल्कमा ४० प्रतिशतसम्म कटौती दक्षिण एशियामा नै उच्च रहेको नेपालको धितोपत्र कारोवारमा लाग्ने दलाल व्यवसायी शुल्कलाई नेपाल सरकारको स्वीकृतिमा संसोधन गरी ४० प्रतिशतसम्म कटौती गरिएको छ जसबाट लगानीको लागत घटी धितोपत्रमा हुने लगानी प्रोत्साहित भएको छ । विविध व्यवस्था सहितको धितोपत्र दर्ता तथा निष्काशन नियमावली लागू पुँजी बजारमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई प्रवेश गराउने क्रममा पब्लिक कम्पनीको रुपमा स्थापना हुने उद्योग व्यवसायलाई आयकरमा १५ प्रतिशत छुट दिने व्यवस्था सरकारको आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्य मार्फत गरिएकोमा सो कार्यलाई थप प्रोत्साहनमूलक बनाई वास्तविक क्षेत्रका कम्पनीहरुलाई पुँजी बजारमा भित्र्याउन तत्कालीन नियमावलीलाई प्रतिस्थापन गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ जारी गरिएको छ जसले धितोपत्रको निष्काशन कार्य थप व्यवस्थित तथा पारदर्शी भई विगत २५ वर्षदेखि फिक्ड प्राइसमा सार्वजनिक निष्काशन हुने गरेकोमा निश्चित मापदण्ड पूरा गरी प्रिमियम मूल्यमा सेयर जारी गर्न सक्ने व्यवस्था गरेको, आईएफसी, एडीबी जस्ता अन्र्तराष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न पाउने ढोका खुलेको,‘कन्फिक्ट अफ इन्ट्रेष्ट’लाई सम्बोधन गरेको छ । प्राथमिक बजारमा संरचनात्मक सुधार गर्न आस्बा प्रणाली लागू बोर्डले सार्वजनिक निष्काशन प्रकृयालाई थप सरल, व्यवस्थित, पारदर्शी बनाई सार्वजनिक निष्काशनको ७० दिने समयावधिलाई उल्लेख्यरुपमा न्यून गर्ने उद्देश्यले २०७३ माघ १ गतेदेखि “धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३”(अस्बा प्रणाली) लागू गरेकोछ । बोर्डको संस्थागत क्षमता अभिबृद्धि गर्न २७ नयाँ कर्मचारीको नियुक्ति नेपाल धितोपत्र बोर्डमा न्यून कर्मचारी रहेको पृष्ठभूमिमा लोकसेवा आयोग समेतको सम्लग्नतामा२७ नयाँ कर्मचारीहरुको नियुक्ति गरी कर्मचारी संख्या दोब्बर बनाई बोर्डको संस्थागत क्षमता अभिबृद्धि गरिएको छ । थप निष्काशनको मूल्य निर्धारण विधि लागू बोर्डले थप निष्काशनको मूल्य निर्धारण कार्यमा एकरुपता ल्याई थप व्यवस्थित र पारदर्शी बनाउनको लागि चार मापदण्ड (पूँजीकृत भएको आम्दानी, प्रति सेयर खुद सम्पत्तिको मुल्य, १८० दिनको औसत बजार मुल्य, भबिष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मुल्य)निर्धारण गरी लागू गरेको छ । प्रत्यक्ष नियमनकारी निकाय नभएका कम्पनीहरुको हकप्रद तथा थप निष्काशन सम्बन्धमा नयाँ मापदण्ड लागू प्रत्यक्ष नियमनकारी निकाय नभएका कम्पनीहरुको हकप्रद तथा थप निष्काशनको लागि वित्तीय योजना तथा रणनीतिहरु साधारण सभाबाट पारित गराएको हुनुपर्ने, हकप्रद निष्काशनको औचित्य पुष्टि गर्ने आधारहरु प्रष्ट हुनुपर्ने, निष्काशनको सार्वजनिक सूचना प्रकाशित गर्नु भन्दा कम्तीमा ५ कार्य दिन अगाडि परियोजना निर्माणको लागि वित्तीय व्यवस्थापन तथा फाइनान्सियल क्लोजर भएको जानकारी गराई बोर्डको स्वीकृति लिएर मात्रै दरखास्त खुल्ला गरिएको सूचना सार्वजनिक गर्नुपर्ने लगायतका मापदण्ड लागू गरेको छ । बजारको गहिराई हेर्ने व्यवस्था दास्रो बजार मुल्य पारदर्शी बनाउन सम्पूर्ण लगानीकर्ताहरुलाई धितोपत्रको माग तथा आपूर्तिको जानकारी लिन सक्ने गरी बजारको गहिराई हेर्ने व्यवस्था गरिएको छ । प्राथमिक निष्काशनमा डिम्याट खाता अनिवार्य २०७३ श्रावण १ गतेदेखि काठमाडौं उपत्यका र २०७३ माघ १ गतेदेखि काठमाडौं उपत्यका बाहिरबाट समेत सार्वजनिक निष्काशनमा दरखास्त दिने दरखास्तवालाहरुले आफ्नो डिम्याट खाता दरखास्त फाराममा अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने तथा सोही खातामा बाँडफाँट भएको सेयर जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ । सुपरिवेक्षणमा सुदृढीकरण गरी कारवाही गरिएको बोर्डले सुपरिवेक्षण कार्यलाई सकृय तथा सुदृढ बनाउने क्रममा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम समयमै विवरण पेश नगर्ने ८ ब्रोकर तथा ४ मर्चेन्ट बैंकरलाई कारवाही गरेको छ । बोर्डको यो कदमबाट संस्थागत सूशासन, पारदर्शिता र अनुपालनामा सुधार ल्याई पुँजी बजारको विकासमा थप टेवा पुग्ने देखिन्छ । बोर्डको परिचय सहित पुँजी बजार सम्बन्धी पुस्तिका प्रकाशित बोर्डको कार्य क्षेत्र, संगठनात्मक स्वरुप, धितोपत्रका विभिन्न आयामहरु आदिका बारेमा संक्षेपमा जानकारी गराउने उद्देश्यले बोर्डले “नेपाल धितोपत्र बोर्ड एक परिचय” नामक पुस्तिका प्रकाशन गरेको छ । नयाँ क्रेडिट रेटिङ्ग एजेन्जीलाई स्वीकृति प्रदान हाल एक मात्र क्रेडिट रेटिङ्ग संस्था रहेको पृष्ठभूमिमा क्रेडिट रेटिङ्ग व्यवसायको प्रतिस्पर्धा बढाई रेटिङ्ग कार्यको स्तरोन्नति गर्न, रेटिङ्ग व्यवसायमा व्यवसायिकता बढाउन, रेटिङ्ग शुल्क प्रतिस्पर्धी बनाई समग्र पुँजी बजारलाई लाभान्वित गराउन बोर्डले नयाँ क्रेडिट रेटिङ्ग एजेन्जीलाई स्वीकृति प्रदान छ । दरखास्त फाराममा सुधार तेश्रो व्यक्तिको प्रयोगलाई निरुत्साहित गरी वास्तविक लगानीकर्ताहरुले बजारबाट फाइदा लिन सकुन भन्ने उद्देश्यले दरखास्तवालाले एकाघर परिवार बाहेक एक भन्दा बढी दरखास्त फाराम समावेश गरी आवेदन दिएको अवस्थामा प्रत्येक दरखास्तावालाले आफ्नै एकाउन्ट पेई चेक मार्फत रकम जम्मा गरेको हुनुपर्ने व्यवस्था गर्न निर्देशन दिएको छ । नेपालको धितोपत्र बजारले अन्तर्राष्ट्रिय मान्यता पाउने क्रममा नेपाल आईओएससीओ र एएनएनएको सदस्य धेरै वर्षको प्रयास पश्चात् बोर्डले २०१६ जुलाईमा धितोपत्र बजारको नियमन निकायहरुको अन्र्तराष्ट्रिय संस्थाको रुपमा रहेको इन्टरनेशनल अर्गनार्यजेशन अफ सेकुरिटीज् कमिशन (आईओएससीओ)को एशोसियट सदस्यता प्राप्त गरी नेपालको धितोपत्र बजारले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । यस्तै वोर्डको समन्वयमा सिडिएस एण्ड क्लियरिङ्ग लि.ले एशोसिएशन अफ नेशनल नम्बरिङ एजेन्सी (एएनएनए)को सदस्यता प्राप्त गरेको छ । प्रक्रियामा रहेका कार्यक्रम तथा योजना अन्तर्राष्ट्रिय कारोवार प्रणालीको स्तर अनुरुप हुने टेस्टेड सिस्टम भित्र्याउन नेप्सेलाई निर्देशन विश्व पुँजी बजारमा अत्याधुनिक प्रणालीहरु प्रचलनमा आइसकेको अवस्थामा हालको अन्तर्राष्ट्रिय स्तरको प्रणाली जस्तै नयाँ अन्तर्राष्ट्रिय कारोवार प्रणालीको स्तर अनुरुप हुने प्रणाली भित्र्याउनेतर्फ पहल गर्न बोर्डले नेप्सेलाई निर्देशन दिएको छ । धितोपत्र कारोवारको राफसाफ तथा फछ्र्यौट कार्यको उपयुक्त व्यवस्था धितोपत्र कारोवारको राफसाफ तथा फछ्र्यौट कार्यलाई व्यवस्थित गर्न तथा लगानीकर्ताहरुको धितोपत्र कारोवारमा विश्वसनीयता अभिबृद्घि गर्न कारोवार भुक्तानी सुनिश्चित कोष संचालन गर्नका लागि आवश्यक कार्यविधि तयार गरी बोर्डमा पेश गर्न, क्लियरिङ्ग बैंक थप गर्न, धितोपत्र तथा रकमको राफसाफ सम्बन्धमा ‘टी प्लस टू’मा नै पे–इन गर्न लगाउने, टी प्लस थ्री)मा खरिदकर्ताको खातामा धितोपत्र तथा बिक्रीकर्ताको खातामा रकम जम्मा हुने व्यवस्था गर्न र लगानीकर्ताले ढिलोमा कारोबार भएको चौथो दिनभित्र धितोपत्र तथा रकम पाउने व्यवस्था गर्न सम्पूर्ण निक्षेप सदस्य तथा राफसाफ सदस्यलाई सिडिएस एण्ड क्लियरिङ्ग लि.ले परिपत्र गरी कडाइका साथ सो को पालना गर्न गराउन सिडिएस एण्ड क्लियरिङ्ग लि.लाई निर्देशन दिएकोमा सोही अनुसारको व्यवस्था भएको छ । विनियमावली स्वीकृति तथा आवश्यकता अनुरुप सुधार गर्न निर्देशन नेप्सेबाट स्वीकृतिको लागि प्राप्त कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावलीे स्वीकृत भैसकेको तथा धितोपत्र कारोवार संचालन विनियमावलीे, अक्सन कारोवार कार्यविधि, धितोपत्र व्यापारी (डिलर) को लागि कारोवार कार्यविधि, ट्रेड ग्यारेण्टी फण्ड विनियमावलीमा आवश्यक सुधार गर्न निर्देशन दिइएको र प्राप्त विनियमावलीमध्ये एक सूचिकरण विनियमावलीमात्र बोर्डमा आवश्यक अध्ययन भै सुधार सहित स्वीकृत गर्ने प्रकृयामा रहेको छ । धितोपत्र निष्काशनलाई सहजीकरण गर्न र संस्थागत सुशासन कायम गर्न धितोपत्र व्यवसायीहरुलाई निर्देशन बोर्डले सिडिएस एण्ड क्लियरीङ्ग लि लाई हितग्राही खाता खोल्दा अनिवार्य रुपमा बैंक खाता नम्बर राख्ने व्यवस्था प्रणालीमा तत्काल मिलाउन, मर्चेन्ट बैंकरलाई अर्थतन्त्र र जनसंख्यालाई आधार मानि पर्याप्त मात्रामा संकलन केन्द्रहरु राख्न तथा जेष्ठ नागरिक, महिला अपाङ्गलाई ध्यानमा राखी संकलन केन्द्रमा उपयुक्त व्यवस्था मिलाउन, हकप्रद सेयर बापत प्राप्त हुने खण्डित सेयरलाई पूर्ण मानी सो व्यवस्था गर्न, मर्चेन्ट बैंकले नाफाको निश्चित प्रतिशत कर्मचारीको तालिम तथा विकासमा खर्च गर्न साथै सूचिकृत कम्पनीलाई गाभ्ने÷गाभिने कार्य सम्पन्न भई एकिकृत कारोबार शुरु भएसँगै सेयर कारोबार शुरु हुने व्यवस्था गर्न निर्देशन दिएको छ । विविध  कार्यक्रम धितोपत्र बजारमा स्थायित्व कायम गर्ने उद्देश्यले नागरिक लगानी कोषलाई संस्थागत लगानीकर्ताको रुपमा दोश्रो बजारमा सहभागिता गराउने सन्दर्भमा प्राविधिक पक्षको अध्ययन कार्य सम्पन्नभई अध्ययनको सुझाव अनुसार बोर्डको नियमावलीमा आवश्यक सुधारको कार्य अगाडि बढाइएको छ । बोर्डले गैर आवसीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने सन्दर्भमा अध्ययन गरी कार्यविधिको मस्यौदा तयार गरी सिफारिस गर्न एक समिति गठन गरी कार्य अगाडि बढाएकोछ । बोर्डले नेप्सेमा सूचिकृत नभएका पब्लिक कम्पनीहरुको धितोपत्रको खरिद बिक्री ओटिसी बजारमा गर्न सकिने जानकारी कम्पनी रजिष्ट्रारको कार्यालयमा दिनुको साथै बोर्डले नेप्सेलाई ओटिसी बजार व्यवस्थित गर्न निर्देशित गरे पश्चात् आ.व. २०७२/७३ मा नेप्सेमा ओटिसी बजार मार्फत सेयर कारोबार शुरु भई ओटिसी बजारको कारोवार शुल्क समेत ९० प्रतिशत सम्म कटौती गरिएको छ । सूचिकृत संगठित संस्थाहरुले आफ्नो मूल्य संवेदनशील सूचनाहरु नेप्सेलाई तत्काल उपलब्ध गराउनुपर्ने र उक्त लि.ले त्यसरी प्रवाह हुने सूचना प्रमाणित गरी एउटै स्टाण्डर्ड फरम्याटमा लगानीकर्ताहरुले सहज रुपमा हेर्न पाउने व्यवस्था गर्न निर्देशन दिइएको छ । मुल्य सीमा परिवर्तन नहुने गरी १० कित्तासम्म कारोबार धितोपत्रको नियमित कारोबारमा हुने व्यवस्था मिलाउन, नेप्से तथा सिडिएससीलाई सिडिएससीको अटोमेटेड सिस्टमको सिस्टम अडिट शुरु गर्न, सम्पूर्ण धितोपत्र व्यवसायीहरुलाई उनीहरुले प्रदान गर्ने सेवाको पूर्ण जानकारी दिई बडापत्रको व्यवस्था गर्न, महिला, अपांग, केटाकेटीसहितका साना लगानीकर्ताहरुलाई समेत समेट्ने गरी दलाल व्यवसायीको ट्रेडिङ्ग फ्लोरमा थप ट्रेडिङ्ग विण्डो उपलव्ध गराउने व्यवस्था गर्न बोर्डले निर्देशन दिएको छ । त्यस्तै, लगानीकर्ताको हित, पुँजी बजारको विकास, धितोपत्र व्यवसायी सेवाको गुणस्तर सुधार गर्न उल्लेखित कार्यहरु सहित अन्य सुधार सम्बन्धी विभिन्न कार्य भइरहेको छ । (बोर्डले विहीबार प्रकाशत गरेको कार्यप्रगति विवरणबाट)

सेयर बजार राताम्मे, २६ अंकको गिरावट, ३९ करोडको सेयर कारोबार

काठमाडौं, १९ पुस । मंगलबार सेयर बजार पुरै राताम्मे भएको छ । बजारमा नेप्से परिसूचक २६ दशमलब ०३ अंकले घटेर १४५६ दशमलब ८२ अंकमा झरेको छ । परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा जम्मा ३९ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १३० कम्पनीको ६ लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा कारोबार भएका सबै समूहका परिसूचकहरु राताम्मे भएका छन् । बीमा समूहको परिसूचक २१६ दशमलब ९६ अंकले ओरालो लागेको छ । त्यस्तै, बैंकिङ्, होटल र विकास बैंक समूहको परिसूचक क्रमशः २६, २५ र २४ अंकले घटेका छन् । दोहोरो अंकले घटेको बजारमा पनि दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । अरुण फाइनान्स र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले क्रमशः ९.८९ र ९.६५ प्रतिशत कमाएका छन् । सबैभन्दा बढी साझा विकास बैंकका लगानीकर्ताले ७ प्रतिशत गुमाएका छन् ।

सोमबारको सेयर बजारमा उतारचढाव, नेप्से १७ अंकले वृद्धि, ५१ करोडको सेयर कारोबार

काठमाडौ, १८ पुस । सोमबार सेयर बजारमा उतारचढाव देखिएको छ । सेयर कारोबार सुरु भएको आधा घन्टामै नेप्से परिसूचक बढेर १४८४ अंकमा पुगेको थियो । त्यसपछिको एक घण्टामा फेरि घटेर १४६६ अंकमा पुगेको थियो । त्यसपछिको सेयर कारोबार भने केही टेवा पुगेको देखिन्छ । कारोबार बन्द हुँदा नेप्से परिसूचक १७ दशमलब १३ अंकले बढेर १४८२ अंकमा अडेको छ । सोमबार बजारमा ५१ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोही दिन १३० कम्पनीको १० लाख १७ हजार कित्ता सेयर किनबेच भएको हो । सोमबार जस्तै आइतबार पनि सेयर बजार उकालो लागेको थियो । सो दिन होटल समूह बाहेक कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २८ अंकले उकालो लागेको छ । त्यस्तै, बैंकिङ् र विकास बैंक समूहको परिसूचक क्रमशः २३ र १३ अंकले बढेका छन् । होटल समूहको परिसूचक ६ दशमलब ३७ अंकले ओरालो लागेको छ । बजारमा तीन कम्पनीका सेयर मूल्य करिब १० प्रतिशतले बढेका छन् । सप्तकोसी डेभलपमेन्ट बैंक, अरुण फाइनान्स र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले क्रमशः ९.७५, ९.६४ र ९.२९ प्रतिशत कमाएका छन् । मिथिला लघुवित्त विकास बैंकको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । सो दिन सबैभन्दा बढी एभरेष्ट बैंकको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, सिटिजन बैंक इन्टरनेशनल, बैंक अफ काठमाण्डू लुम्बिनी र सिद्धार्थ बैंकको २ करोड बढीको सेयर कारोबार भएको छ ।

सेयर बजारमा छायो हरियाली, ५ अंकले बढ्यो नेप्से, सबै समूह उक्लिए

काठमाडौं, १३ पुस । बुधबार सेयर बजारमा हरियाली छाएको छ । दिनभर उतारचढाव देखिएको बजार अन्तत ५ दशमलब ६२ अंकले बढेर १४१३ अंकमा अडिएको छ । बजार खुलेको केही बेरमै उकालो लागेर १४२२ अंकमा पुगेको नेप्से परिसूचक पछि ओरालो लागेर १४०५ अंकमा झरेको थियो । त्यसपछि करोबार बन्द हुँदा भने बजारलाई केही टेवा पुगेको देखिन्छ । नेप्से परिसूचकसँगै बजारमा कारोबार भएका सबै समूहको परिसूचकहरु पनि हरिया भएका छन् । ७ समूहको कारोबार भएको बजारमा सबैभन्दा बढी होटल समूहको परिसूचक ३९ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रोपावर, बीमा र विकास बैंक समूहको परिसूचक दोहोरो अंकले उकालो लागेका छन् भने अन्य बाँकी समूहको परिसूचक सामान्य अंकले बढेका छन् । नेप्से परिसूचकमा केही सुधार आएता पनि कारोबारमा भने अझै सुधार आउन सकेको छैन । मंगलबार जम्मा ४६ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १२८ कम्पनीको १३ लाख ८३ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन नेको इन्स्योरेन्सको सबैभन्दा बढी ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, एभरेष्ट बैंकको २ करोड रुपैयाँ र सिद्धार्थ बैंकको एक करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी नेको इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ८.१३ प्रतिशतले बढेको छ । सोही दिन ललितपुर फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ६.४८ प्रतिशत गुमाएका छन् ।

बुबाको पेन्सन सेयर बजारमा डुबेपछि निन्द्रा लाग्न छोड्यो

धेरै दिन भो गहिरो निद्रामा सुत्न नसकेको । ६ महिना देखिको नेप्सेको उतारचढाव चढाव नै मेरो निद्राको उतारचढाव प्रमुख कारण हो । गत बर्ष देखि पूँजी बजारमा प्रवेश गरेकी सिकारु लगानीकर्ता । विद्यार्थी जीवनबाट भर्खर सामान्य जागिर गरेकी । मेरो जागिरको सानो बचत, बुवा आमाले माया गरेर दिएको केही पैसा, दाजु र भिनाजुबाट प्राप्त रकम समेत खाई नखाई र लुकाई राखेको पैसाले गत वर्ष देखि शेयर बजारमा प्रवेश गरे । सायद म बजार प्रवेश गर्दा नेप्से १२०० को हाराहारी थियो । शेयर बजारमा म प्रवेशको परिवेश पनि आफ्नै छ । मेरा धेरै चिनेजानेका आफन्तहरुले शेयर बजारमा लगानी गरि मनग्य कमाएका थिए । तीन चार बर्ष अगाडी च्याउरिएको अनुहार सहित बसमा हिड्नेहरु आफ्नै कारमा हिंड्न् थालेका थिए । त्यो सबै देखेकी म र तिनीहरु भन्दा सक्षम छु भन्ने मेरो बुझाईले म पनि केही गर्न सक्छु त्यो पनि शेयर बजारबाटै भन्ने सोची यो क्षेत्रलाई नै बचत लगानीको क्षेत्रको रुपमा रोजेकी थिए । जम्मा जम्मी ५ लाखबाट शुरु गरेको यो मेरो आफ्नो ब्यबसाय गत असारमा आउदा करिब १२ लाखको भएछ । म अति नै उत्साहित थिए । मेरो सम्पति बढेको देखेर । मेरो लोभ अनि जोस संगसगै बढेको थियो। मैले मेरा बुवा दाजु भिनाजु सबैलाई मेरो प्रगतिबारे सुनाए । सबै खुशी हुनु भयो । सबैले मलाई स्याबासी दिनुभयो । छरछिमेकले बजारबाट कमाएको देखेको हाम्रो परिवार अनि मैले नै कमाएको प्रमाण देख्नु भएको मेरो बुवा शेयर बजारप्रति अति नै उत्साहित हुनुभयो । मेरो शेयर बजारमा गरेको प्रगति देखेर मेरो बुवाले ५८ वर्ष निजामती सेवामा जागीर गरेर अबकास हुँदा प्राप्त गरेको रु २० लाख साउनको पहिलो हप्ता मलाई लगानी गर्न दिनुभयो । म सारै उतसाहित भए । तुरुन्तै त्यो रकम बजारमा लगानी गरे । सायद त्यतिबेला नेप्से १८०० मा थियो । सबै भन्दै थिए बजार छिट्टै २२०० पुग्छ । बुवाले जीवनकाल भरी कमाउन नसकेको रकम अब म बुवालाई कमाएर दिन्छु भन्ने प्रतिबद्धता साथ बजारमा बुवाको त्यो मेहनतको कमाई लगाए । साथी भाईको सल्लाह र मेरो आफ्नै विवेकलेले गरेको त्यो लगानी आज धेरै घटेको छ । मैले गत बर्ष गरेको लगानी त नोक्सानमा छैन अझसम्म तर मेरा बुवाको लगानी ३०% जति नै घटेको छ । मलाई मेरो लगानीको भन्दा मेरो बुवाको जिन्दगी भरीको कमाई डुबाएकोमा ठूलो पश्चाताप छ । बेलुका सुत्न गाह्रो भएको छ । दिन एकान्त प्रेमी बन्न थालेको छ । कहाँ जाउ के गरौं जस्तो भएको छ । बेचौ घाटा छ नबेचौ अझै कति नोक्सान हुने हो थाहा छैन । सधै यस्तै तरङ्गले मन बिचल्लीत भएको छ । बुवाको जिन्दगी भरीको त्यो मेहनत को कमाई ३०% घटेको कसरी सहन गर्न सक्नु हुने छैन । धेरै साथी भाइसंग सरसल्लाह गरेको छु । कसैले भन्छ यो त घटन मात्र सुरु गरेको अबस्था मात्र हो नानी । सम्झ तिमीले शेयर खरिद गर्दाको अबस्था भर्खरै असारको शुरुको खोलाको बहाव थियो । तिम्रो बुवाको लगानी मध्य साउनको खोलाको बहाव थियो । मानौ अहिलेको अबस्था दसैं तिरको खोलाको बहाब हो । पौषमा पानी जम्न त बाकी नै छ । बिस्तारै चैत आउछ अनि हिउँ पग्लिन्छ र फेरि बर्षा शुरु हुन्छ अर्थात फेरि शेयर चरम उत्कर्शमा पुग्छ । धैर्य गर नानी तिमी गलत समयमा बजार प्रवेश गरेउ । अर्को साथीलाई सोध्यो यो पुरै ठूलाहरुको चलखेल हो । यस्तो अवस्था पटक पटक आएको हो । अब ठूलाले सबै शेयर बेची सके । केही दिनमा यिनीहरु बजारमा आइ हाल्छन । अनि क्रमस बजार बढ्छ । तिमीले तिम्रो बुवाको सपना छिट्टै साकार गर्दैछौ । शुक्रबार राती अबेर सम्म एस्तै कुराले राती २ बजेसम्म निद्रा परेन अनि बल्ल २:३० बजे निदाएछु । तर झन डरलाग्दो सपनी देखे । मन पुरै बेचैनी छ । के गरु कसो गरु भनेर । फेसबुकबाट

सेयर बजार ओरालो लाग्ने क्रम जारी, नेप्से २५ अंकले घट्यो, ४६ करोडको सेयर कारोबार

काठमाडौं, ६ पुस । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । बुधबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २५ दशमलब ४८ अंकले घटेर १४७० अंकमा झरेको छ । बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । मंगलबार ६८ करोडको कारोबार भएको बजारमा बुधबार भने जम्मा ४६ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १३१ कम्पनीको ६ लाख ७८ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन ट्रेडिङ् र होटल समूहको परिसूचक सामान्य अंकले बढेको छ भने कारोबार भएका बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १७८ अंकले घटेको छ । त्यस्तै, उत्पादनमूलक र बैंकिङ समूहको परिसूचक दोहोरो अंकले झरेका छन् भने बाँकी सामान्य अंकले घटेका छन् । बजारमा एभरेष्ट बैंकको ३ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बुक क्लोज भएको दिन बैंकको प्रतिकित्ता सेयर १८०० रुपैयाँमा कारोबार भएको छ । सो दिन सबैभन्दा बढी करोबार एभरेष्ट बैंकको नै भएको छ । दोहोरो अंकले घटेको बजारमा पनि दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । नागबेली लघुवित्त विकास बैंक र एनबी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य क्रमशः ९.९९ र ९.९३ अंकले बढेको छ । रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्थाको करिब ९ प्रतिशतले सेयर मूल्य घटेको छ ।