दुई दिन सेयर बजार बन्द, दशैंपछि बजार बढ्ने अपेक्षा
काठमाडौं । आइतबार र सोमबार सेयर बजार नखुल्ने भएको छ । सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेसँगै दुई दिनका लागि नेप्से बन्द हुने भएको हो । दशैं बिदापछि आइतबारदेखि सेयर बजार सञ्चालनमा आउने अपेक्षा गरिएको थियो । तर, देशभर अविरल वर्षासँगै सिर्जित प्रतिकूल अवस्थाका कारण सरकारले थप दुई दिन सार्वजनिक बिदा दिएको छ । यससँगै आज र भोलि सेयर कारोबार नखुल्ने भएको हो । दशैंपछि बजार बढ्न सक्ने अनुमान लगानीकर्ताको छ । दशैंमा ठूलो परिमाणको रकम चलायमान भएकोले त्यो रकम सेयर बजारमा आएर बजार बढ्न सक्ने अपेक्षा लगानीकर्ताको छ । भारी वर्षाका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारले काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने लामो दूरीका सवारीसाधन सञ्चालनमा समेत रोक लगाएको छ । यसले दशैं मनाउन गाउँ गएका सर्वसाधारणलाई काठमाडौं फर्कन कठिन हुने भएपछि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सेयर बजारमा १११.७० अंकको उछाल, ९ अर्ब बढी कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार १११.७० अंकले बढेर २६२३.६२ बिन्दुमा पुगेको छ। जेनजी प्रदर्शनपछिको पहिलो दिन १६० अंकले घटेर सेयर बजार क्र्यास भएको थियो । गत बिहीबार बजार परिसूचक नकारात्मक सर्किट लाग्दै १६० अंकले घटेर बन्द भएको थियो । आज कारोबार रकमसमेत ९ अर्ब १९ करोड पुगेको छ । २ करोड कित्ता खरिदबिक्रीमा उक्त परिमाणको कारोबार भएको हो । आज २२४ वटा सेयरको मूल्य बढ्दा २८ वटाको घटेको छ । आज निर्जीवन बिमा र म्युचुअल फन्डबाहेक सबै सूचक बढेका छन् । निर्जीवन बिमा समूहमा सबैभन्दा धेरै ३.५३ प्रतिशत मूल्य घटेको छ भने ट्रेडिङ समूहमा सबैभन्दा धेरै ८.३३ प्रतिशतले बढेको छ । त्यस्तै, इन्भेस्टमेन्ट समूहमा ७.७७ प्रतिशत, विकास बैंकमा ६.३४ प्रतिशत, फाइनान्स समूहमा ६ प्रतिशत, हाइड्रो समूहमा ५.९८ प्रतिशत तथा जीवन बिमा समूहमा ५.९३ प्रतिशत वृद्धि भएको छ । त्यस्तै, उत्पादनमूलक क्षेत्रमा ४.८६ प्रतिशत, बैंकिङमा ४.७६ प्रतिशत तथा माइक्रो फाइनान्समा ४.०३ प्रतिशत मूल्य बढेको छ । बजारमा आज १६ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । सिन्धु विकास बैंक, भूगोल इनर्जी, गुडबिल फाइनान्स, शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, अपि पावर, आँखुखोला जलविद्युत्, बलेफी हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ७.६४ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको भयो । उक्त कम्पनीको ८३ करोडको कारोबार भएको हो ।
सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हट्यो
काठमाडौं । सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औषत गणना विधि हटाइएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाएको प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । गत वर्षको चैत ७ गतेदेखि लागु हुने गरेर नेप्से अन्तिम १५ मिनेटको बजार कारोबारलाई आधारित मानेर भारित औषत गणना गर्ने निर्णय गरेको थियो । तर, उक्त विधिका कारण सेयर मूल्यमा म्यानुपुलेट भएको भन्दै लगानीकर्ताले हटाउनुपर्ने माग गरिरहेका थिए । प्रवक्ता पराजुलीका अनुसार, आज परीक्षण गरिएको यो व्यवस्था ६ असोजबाट लागू हुनेछ । तर, भोलि घटस्थापनामा सार्वजनिक बिदा भएको कारण बजार बन्द रहनेछ ।
सेयर बजारमा ५ अर्बको कारोबार, हिमस्टार ऊर्जामा सकारात्मक सर्किट
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोराे अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३ अंकले घटेर २६७५ बिन्दुमा झरेको छ । आज २२ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको सेयर मूल्य घटेको छ । सोमबार ३२० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रिइन्स्योरेन्सको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, युनियन हाइड्रोको २४ करोड, युनिभर्सल पावर कम्पनीको २३ करोड, हिमालयन रिइन्स्योरेन्सको २१ करोड र युनाइटेड मोदीको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
सेयर बजारको उतारचढावमा ग्लोबल आइएमई सेक्युरिटिजको प्रगती, लगानीकर्ताको भरोसा वृद्धि गर्ने
काठमाडौं । ग्लोबल आइएमई सेक्युरिटिजले संस्थागत सुधार र सेवा प्रभावकारितालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ । कम्पनीको दोस्रो वार्षिक साधारणसभामार्फत वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा आगामी रणनीति पारित गर्दै सेवा प्रभावकारितामा जोड दिएको हो । साधारणसभाका अवसरमा आयोजित कार्यक्रमका वक्ताहरूले लगानीकर्ताको विश्वास र भरोसा अभिवृद्धि गर्दै संस्थागत हितमा लाग्ने विश्वास व्यक्त गरे । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कम्पनीले हालसम्म हासिल गरेको उपलब्धिहरू प्रशंसनीय रहेको उल्लेख गर्दै भविष्यमा अझ प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए । उनले लगानीकर्ताको विश्वास र भरोसा कायम हुने गरी संस्थाको सेवालाई प्रभावकारी बनाउन आग्रह गरे । कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले संस्थाको बृहत्तर हितमा काम गर्न जरुरी भएको उल्लेख गरे । कम्पनीकी प्रबन्ध सञ्चालक प्रवीना पाण्डेले सेयर बजारको उतारचढाव, नियामक निकायका मार्गनिर्देशन र लगानीकर्ताको अपेक्षाबीच कम्पनीले पारदर्शिता, भरोसा र सेवा सुधारलाई प्राथमिकता दिँदै वित्तीय वर्ष २०८१/८२ मा उल्लेखनीय प्रगति हासिल गरेको बताइन् । साधारणसभाले कम्पनीका अध्यक्ष पोखरेलले प्रस्तुत गरेको सञ्चालक समितिको प्रतिवेदनलाई सर्वसम्मतीले पारित गरेको छ । ग्लोबल आइएमई बैंकको शतप्रतिशत लगानीमा स्थापित ग्लोबल आइएमई सेक्युरिटिजले आफ्नो दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको हो । साथै सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, साथै प्रबन्धपत्र र नियमावली संशोधनसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ । कार्यक्रममा कम्पनी रजिस्ट्रार कार्यालयका उपरजिष्ट्रार सूर्यप्रसाद चापागाईँ तथा विभिन्न क्षेत्रका व्यक्तित्व, बैंकका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
सेयर बजारमा ८ अर्बको कारोबार, २४ कम्पनीको मूल्य बढ्यो
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ अंकले घटेर २७८१ बिन्दुमा झरेको छ । आज २४ कम्पनीको सेयर मूल्य बढ्दा २२७ कम्पनीको सेयर मूल्य घटेको छ । बिहीबार ३२२ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९ कारोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रिइन्स्योरेन्सको ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको ६० करोड, हिमालयन डिस्टीलरीको ३५ करोड, शिवम् सिमेन्टको २२ करोड र युनाइटेड मोदीको १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै सेक्टरका सूचक घटेका छन् । विकास बैंक सबैभन्दा धेरै २.३८ प्रतिशतले घटेको छ । बैंकिङ ०.८७, फाइनान्स १.९७, होटल तथा पर्यटन १.६०, हाइड्रोपावर १.४४, लगानी १.५८, जीवन बीमा १.६५, उत्पादन तथा प्रशोधन १.७०, माइक्रोफाइनान्स १.४०, अन्य १.७० र व्यापार १.२६ प्रतिशतले घटेको छ । निर्जीवन बीमा जम्मा ०.०१ प्रतिशतले बढेको छ । आज विकास हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
सेयर बजारमा ५ अर्बको कारोबार, २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २३ अंकले बढेर २७६३ बिन्दुमा पुगेको छ । आज १८२ कम्पनीको सेयर मूल्य बढ्दा ६८ कम्पनीको सेयर मूल्य घटेको छ । सोमबार ३१७ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको २३ करोड, हिमालयन डिस्टीलरीको २० करोड, राधी विद्युत कम्पनीको १७ करोड र छिमेकी लघसवित्तको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह ०.०५ र म्युचुअफ फण्ड समूह ०.३४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । बैंकिङ ०.५८, विकास बैंक ०.९५, वित्त ०.२०, होटल तथा पर्यटन ०.४५, जलविद्युत् ०.३२, लगानी ०.३४, र जीवन बिमा समूह ०.५६ प्रतिशतले बढेको छ । त्यस्तै, लघुवित्त १.५०, निर्जीवन बिमा ०.३१, व्यापार ०.०५ र अन्य समूह २.७९ प्रतिशतले बढेको छ । आज २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक र विकास हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
घट्यो सेयर बजार, ५ अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले घटेर २७५७ बिन्दुमा झरेको छ । आज ५३ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको मूल्य घटेको छ । बिहीबार ३१९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्सको २० करोड, बलेफी हाइड्रोको १४ करोड, बुटवल पावरको १३ करोड र हिमालयन डिस्टीलरीको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा निर्जीवन बीमाबाहेक सबै समूहका सूचक घटेका छन् । निर्जीवन बीमा ०.१४ प्रतिशतले बढेको छ । घटेका सबै समूहको गिरावट दर १ प्रतिशतमुनि रहेका छन् । बैंकिङ ०.११, विकास बैंक ०.६५, फाइनान्स ०.५५, होटल तथा पर्यटन ०.८६, हाइड्रोपावर ०.५२, लगानी ०.२६, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.१८, माइक्रोफाइनान्स ०.२१, अन्य ०.५२ तथा व्यापार ०.६४ प्रतिशतले घटेको छ । आज विकास हाइड्रोको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
सेयर बजारमा १४२ कम्पनीको मूल्य बढ्यो, ५ अर्बको कारोबार
काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ अंकले बढेर २७७६ बिन्दुमा पुगेको छ । आज १४२ कम्पनीको सेयर मूल्य बढ्दा १०७ कम्पनीको सेयर मूल्य घटेको छ । मंगलबार ३१६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार युनाइटेड मोदीको भएको छ । युनाइटेडको ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन डिस्टीलरीको २८ करोड, राधी विद्युत कम्पनीको २० करोड, बुटवल पावर कम्पनीको १७ करोड र माउन्टेन इनर्जीको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक बढेको छ । बैंकिङ ०.४०, विकास बैंक ०.२०, वित्त ०.०२, होटल तथा पर्यटन ०.०५, जलविद्युत् ०.१६ र लगानी समूह ०.२१ प्रतिशतले बढेको छ । त्यसैगरी जीवन बिमा ०.२५, उत्पादन तथा प्रशोधन ०.४६, लघुवित्त ०.१२, म्युचुअल फन्ड ०.२९, निर्जीवन बिमा ०.११, व्यापार ०.१८ र अन्य समूह ०.०९ प्रतिशतले बढेको छ । आजको कारोबारमा सान्भी इनर्जी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ६.९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ६.१४ प्रतिशतले घटेको छ ।
सेयर बजारका बादशाह बफेटको नयाँ कदम : कमजोर छवि भएको बीमा कम्पनीमा अर्बौं लगानी
काठमाडौं । धेरै महिनादेखि नगद संकलन गरिरहेका विश्वप्रसिद्ध लगानीकर्ता वारेन बफेटले दोस्रो त्रैमासिकमा आफ्नो पोर्टफोलियोमा ठूलो परिवर्तन गरेका छन् । बफेटको कम्पनी बर्कशायर ह्याथवेले युनाइटेडहेल्थ ग्रुपमा १।६ अर्ब डलरको लगानी गरेको हो । ह्याथवेले यस बीमा कम्पनीका ५० लाख कित्ता सेयर खरिद गरेको हो । यो खबर बाहिर आएपछि युनाइटेडहेल्थको सेयर करिब १२ प्रतिशतले बढ्यो । तर बफेटको यस निर्णयलाई लिएर बजारमा आश्चर्य छाएको छ । यसको कारण के भने एक समय विश्वका शीर्ष कम्पनीमध्ये पर्ने युनाइटेडहेल्थको सेयर गत एक वर्षमा आफ्नो उच्चतम स्तरबाट ६० प्रतिशतसम्म घटिसकेको छ । हालैको केही समयदेखि युनाइटेडहेल्थको छवि कमजोर बन्दै गएको छ । न्याय विभागले कम्पनीविरुद्ध मेडिकेयर बिलिङसम्बन्धी अनुसन्धान गरिरहेको छ । यसबाहेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले राजीनामा दिएका थिए र नाफासम्बन्धी धेरै चेतावनीहरूसमेत सार्वजनिक भएका थिए । यी सबैबीच पनि बफेटले यस कम्पनीमा ठूलो बाजी थापेका छन् । अब युनाइटेडहेल्थ बफेटको पोर्टफोलियोमा सामेल भएको १८औं ठूलो सेयर बनेको छ । शुक्रबार युनाइटेडहेल्थको सेयर ११.९८ प्रतिशतले बढेर बन्द भयो । यससँगै कम्पनीको बजार मूल्य (मार्केट क्याप) बढेर २७५.३३ अर्ब डलर पुगेको छ । एप्पलका सेयर बिक्री यसबीच बर्कशायरले एप्पलका करिब २ करोड सेयर बेचिसकेको छ । यसका कारण आईफोन निर्माता कम्पनीमा बर्कशायरको सेयर मूल्य ९.२ अर्ब डलरले घटेको छ । तर पनि बर्कशायरको पोर्टफोलियोमा एप्पल अझै शीर्ष स्थानमै छ । बफेटको कम्पनीले दोस्रो त्रैमासिकमा बैंक अफ अमेरिकाका २.६ करोड सेयर समेत बेचेको छ । अब यस बैंकमा कम्पनीको हिस्सेदारी करिब ८ प्रतिशत मात्रै बाँकी छ । साथै बर्कशायरले टी-मोबाइल यूएसमा गरेको १ अर्ब डलर बराबरको सम्पूर्ण लगानी पनि फिर्ता लिएको छ । यसरी बफेटले टेलिकम क्षेत्रबाट पूर्ण रूपमा हात झिकेका छन् । बर्कशायरले नुकोर (स्टिल कम्पनी) र होममेकर लेनारमा पनि लगानी गरेको छ भने डीआर हर्टनका सेयर बिक्री गरिसकेको छ । यसबाहेक बफेटको कम्पनीले लामर एडभर्टाइजिङ (आउटडोर विज्ञापन कम्पनी) र एलिजियन (सेक्युरिटी प्रडक्ट कम्पनी) मा पनि सानो हिस्सेदारी किनेको छ । बफेट यो महिनामा ९५ वर्षका हुनेछन् र वर्षको अन्त्यतिर बर्कशायरको सीईओ पदबाट अलग हुने तयारीमा छन् । जूनको अन्त्यसम्म बर्कशायरको सबैभन्दा ठूलो हिस्सेदारी भएका कम्पनीहरू एप्पल, अमेरिकन एक्सप्रेस, बैंक अफ अमेरिका, कोका-कोला र शेवरान रहेका थिए । विश्वका सबैभन्दा सफल लगानीकर्तामध्ये एक बफेट मानिन्छन् । सन् १९६५ मा उनले बर्कशायर ह्याथवेमा नियन्त्रण लिएपछि यसलाई विश्वकै ठूलो लगानी होल्डिङ कम्पनीमा रूपान्तरण गरेका थिए । बफेट दीर्घकालीन लगानी रणनीतिका लागि चर्चित छन् । उनले प्रायः त्यस्ता कम्पनी रोज्छन् जसको व्यवसाय मोडेल स्थिर, ब्रान्ड बलियो र दीर्घकालीन आम्दानी सम्भावना उच्च हुन्छ । यही कारणले उनले कोकाकोला, अमेरिकन एक्सप्रेसजस्ता कम्पनीमा लगानी गर्दै आएका छन् । फोर्ब्सका अनुसार बफेट संसारका सर्वाधिक धनी व्यक्तिहरूमध्ये एक हुन् । उनको नेटवर्थ १२० अर्ब डलरभन्दा बढी छ । उनले आफ्नो सम्पत्तिको ९० प्रतिशतभन्दा बढी परोपकारका लागि दान गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन् । उनी संसारकै धनी व्यक्तिहरूमध्ये भए पनि अत्यन्तै सादा जीवनशैलीका लागि चर्चित छन् । बफेट अझै पनि १९५८ मा ३१ हजार ५०० डलरमा किनेको आफ्नै पुरानो घरमै बस्छन् । उनलाई फास्ट–फूड, कोकाकोला र साधारण कार मन पर्छ ।
सेयर बजारमा ७ अर्बको कारोबार, नेपाल रिपब्लिकमा सकारात्मक सर्किट
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ अंकले बढेर २७८८ बिन्दुमा पुगेको छ । आज १०८ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको मूल्य घटेको छ । बिहीबार ३२० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४१ करोड, वलेफी हाइड्रोको ३६ करोड, हिमालयन रिइन्स्योरेन्सको २२ करोड र साहस उर्जाको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
अमेरिकी सेयर बजार पहिलोपटक ६ हजार ४०० अंक पार, १३.५ ट्रिलियन डलरको नाफा
काठमाडौं । अमेरिकी सेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको छ । मंगलबार एसएण्डपी ५०० र न्यास्ड्याक कम्पोजिट नयाँ रेकर्डमा पुगेका छन् । जुलाईमा महङ्गी दर अनुमानभन्दा राम्रो आउनुले आगामी महिना फेडरल रिजर्भले ब्याजदरमा कटौती गर्ने सम्भावना बढाएको छ । यसले सेयर बजारमा थप वृद्धि ल्याएको हो । एसएण्डपी १।१३ प्रतिशत वृद्धि भई ६ हजार ४४५.७६ अंकमा बन्द भयो भने टेक सेयरको दबदबामा रहेको न्यास्ड्याकमा १.३९ प्रतिशत उछाल आई २१ हजार ६८१.९० अंकमा पुग्यो । डाउ जोन्स इन्डस्ट्रियल एभरेज पनि ४८३.५२ अंक (१.१० प्रतिशत) बढेर ४४ हजार ४५८.६१ मा बन्द भयो । एसएण्डपी अप्रिलको न्यूनतम स्तरबाट ३३ प्रतिशत बढिसकेको छ । यस अवधिमा लगानीकर्ताको कुल सम्पत्तिमा १३.५ ट्रिलियन अमेरिकी डलरको वृद्धि भएको छ । लगानीकर्ताहरू ट्यारिफले देशमा महङ्गी बढाउने डरमा थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका धेरै देशहरूमा उच्च ट्यारिफ लगाएका छन् । भारत र ब्राजिल जस्ता प्रमुख व्यापार साझेदारमा ५० प्रतिशतसम्मको ट्यारिफ लगाइएको छ । तर मंगलबार सार्वजनिक भएको महङ्गीको तथ्याङ्कले लगानीकर्ताको विश्वास फर्काएको छ । डाउ जोन्सले जुलाईमा महङ्गी दर २.८ प्रतिशत हुने अनुमान गरेको थियो, तर उपभोक्ता मूल्य सूचकांक (सीपीआई) २.७ प्रतिशत मात्र बढ्यो । दर कटौतीको माग यो रिपोर्ट आएपछि ब्याजदर कटौतीको आशा बढेको छ । व्यापारीहरूको भनाइमा ब्याजदर घट्ने सम्भावना ९४ प्रतिशत छ, जुन रिपोर्ट आउनुअघि ८५ प्रतिशत मात्र थियो । अक्टोबर र डिसेम्बरमा पनि दर कटौतीको अपेक्षा छ। ट्रम्पले फेडरल रिजर्भसँग ब्याजदरमा ३ प्रतिशत कटौतीको माग गरेका छन् । अमेरिकी इतिहासमा एकैपटक यति ठूलो कटौती पहिले कहिल्यै भएको छैन । ट्रम्पको भनाइमा उच्च ब्याजदरका कारण अमेरिकाले आफ्नो ऋणमा ब्याजको रूपमा धेरै रकम तिर्नु परेको छ ।
सेयर बजारमा १० अर्बको कारोबार, रिभर फल्स पावरमा सकारात्मक सर्किट
काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ अंकले घटेर २८२२ बिन्दुमा झरेको छ । आज ३० कम्पनीको सेयर मूल्य बढ्दा २२० कम्पनीको मूल्य घटेको छ । सोमबार ३२४ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा १० अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ । शिवम्को ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको ४२ करोड, हिमालयन रिइन्स्योरेन्सको ४२ करोड, नेपाल रिइन्स्योरेन्स कम्पनीको ३६ करोड, साहस उर्जाको ३६ करोड र बुटवल पावर कम्पनीको २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा अधिकांश समूहका सूचक घटेका छन् । माइक्रोफाइनान्स र विकास बैंक समूह सबैभन्दा धेरै घटेका छन् । माइक्रोफाइनान्स २.३५ तथा विकास बैंक २.३१ प्रतिशतले घटेको छ । बैंकिङ ०.४१, फाइनान्स १.२७, होटल तथा पर्यटन ०.७६, हाइड्रोपावर १.४१, लगानी १.१७, जीवन बीमा ०.८०, उत्पादन तथा प्रशोधन ०.७५, निर्जीवन बीमा १.२४ तथा व्यापार समूह १.४४ प्रतिशतले घटेको छ । अन्य समूह ०.३१ प्रतिशत बढेको छ । आज रिभर फल्स पावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
सेयर बजारमा ७ अर्बको कारोबार
काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ अंकले बढेर २८३३ बिन्दुमा झरेको छ । आज ११२ कम्पनीको सेयर मूल्य बढ्दा १३८ कम्पनीको सेयर मूल्य घटेको छ । बुधबार ३२० कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्रको भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको २८ करोड, शिवम् सिमेन्टको २४ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको २३ करोड र बलेफी हाइड्रोको २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । वीन नेपाल लघुवित्त, माहुली लघुवित्त र ट्रेड टावर लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
सेयर बजारमा १९ अर्बको कारोबार, समता घरेलु लघुवित्तमा सकारात्मक सर्किट
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ अंकले घटेर २९ सय ७२ बिन्दुमा झरेको छ । आज ९४ कम्पनीको मूल्य बढ्दा १५६ कम्पनीको मूल्य घटेको छ । सोमबार ३२१ कम्पनीको ४ करोड कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ । शिवम् सिमेन्टको ९२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन डिस्टीलरीको ७६ करोड, न्यादी गुप्रको ५७ करोड र लुम्बिनी विकास बैंकको ५५ करोड र हाइड्रोइलेक्ट्रिसीटीको ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज विकास बैंक र व्यापार समूह ३ प्रतिशतभन्दा धेरैले बढेको छ । व्यापार ३.२४ र विकास बैंक समूह ३.०४ प्रतिशतले बढेको छ । त्यस्तै फाइनान्स २.७५, उत्पादन तथा प्रशोधन १.७१ प्रतिशतले बढेको छ । बैंकिङ ०.८९, होटल तथा पर्यटन ०.२८, हाइड्रोपावर ०.५०, लगानी ०.१०, जीवन बीमा ०.६६, माइक्रोफाइनान्स ०.३३, निर्जीवन बीमा ०.७२ तथा अन्य ०.७६ प्रतिशतले घटेको छ । आज समता घरेलु लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
सेयर बजारमा साढे १९ अर्बको कारोबार, ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । पछिल्लो समय सकारात्मक माहोल बनेपछि सेयर बजार निरन्तर उकालो लागिरहेको छ । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले बढेर २९ सय ७८ बिन्दुमा पुगेको छ । आज ९८ कम्पनीको मूल्य बढ्दा १५२ कम्पनीको सेयर मूल्य घटेको छ । बुधबार ३१९ कम्पनीको ४ करोड कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, शिवम् सिमेन्टको ७५ करोड, निफ्राको ६२ करोड, बुटवल पावर कम्पनीको ६२ करोड र नेपाल रिइन्स्योरेन्स कम्पनीको ५५ करोड रुपैयाँको कारोबार भएको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ट्रेड टावर, ग्रीन भेन्चर र सान्भी इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
सेयर बजारमा लोभले होइन, बुद्धिले काम गर्छ
अङ्ग्रेजीमा एउटा भनाइ छ 'यदि तपाईँले मरेको घोडा चढिरहेको थाहा पाउनुभयो भने उत्तम उपाय भनेको झर्नु नै हो ।' यस उक्तिले दिएको सन्देश भनेको खासगरी लगानीमा मुर्खताभन्दा धैर्यताले काम गर्छ भन्ने हो । यसैले विजय हुने नाममा जबर्जस्तको लगानीले ठीक नतिजा नदिन सक्छ । पुँजी बजारमा सिनो घोडा बोकेरै भए पनि पहिलो भएर देखाउने थुप्रै दुस्साहस हुने गर्छ तर त्यो दिगो हुन सक्दैन । केही मिनेट, घण्टा, दिन वा महिना सही देखिए तापनि अन्ततः दीर्घकालमा त्यो गलत सावित हुनेछ । ‘डेड हर्ष थ्यौरी’ मा घोडा सवार व्यक्ति जित्न चाहन्छ । उ घोडा दौडमा पहिलो भएर उत्कृष्ट हुने अभिलाषा बोकेर हिँडेको हुन्छ । यसैले आफूसँग भएको धन दौलत सबै घोडामाथि खर्चिएर भए पनि आफ्ना प्रतिस्पर्धीलाई माथ खुवाउने यात्रामा लागी रहन्छ तर परिणाम त्यसो हुन सक्दैन । बरु आफ्नै सम्पत्ति गुम्न पुग्छ । ठीक यस्तै पुँजी बजारमा पनि हुने गरेको देखिन्छ । आफूले कुनै कम्पनीको सेयर किनेपछि जसरी पनि बजार मूल्य बढाउन खेल खेल्ने गर्छन् । चाहे त्यो आर्थिक हिसाबले कमजोर होस् वा नियामकबाट कारबाही खेपिरहेको होस् । चाहे प्रतिफल क्षमता शून्य होस् वा ऋणमा डुबेको होस् जुन अवस्थामा रहेता पनि आफूले उठाएपछि त्यो एकैपटक लसुनबाट सुन हुनुपर्ने मुर्खता जब ठूला वा साना लगानीकर्ता जो कसैले पनि गर्न सक्छ, त्यस्तो मुर्खताले दिगो सफलता भेट्न सकिँदैन । यही वास्तविकतालाई बुझ्न नसक्दा धेरै लगानीकर्ताले लगानी डुबाइरहेको देखिन्छ । सन् १९९८ ताका विश्वको पुँजी बजारमा सूचीकृत कम्पनीको पछाडि डट् कम लेखिएको छ भने मूल्य आकासिन्थ्यो तर सन् २००२ तिर जब ‘डट् कम बबल’ फुट्यो, राष्ट्रिय प्रतिभूति व्यापारी सङ्घको स्वचालित मूल्य सूची प्रणाली (न्यासड्याक–अमेरिका स्थित एक प्रमुख इलेक्ट्रोनिक सेयर बजार, यो संसारकै प्रथम कम्प्युटर प्रणालीमा आधारित सेयर बजार हो) को सूचाङ्क ५० प्रतिशतभन्दा बढीले घट्यो र पेटस् डट् कम र वेबभ्यान जस्ता धेरै कम्पनीहरु पूर्ण रुपमा बन्द भए । त्यसमा लगानी गरेर कमाउँछु भन्ने धेरैले आत्महत्याको बाटोसमेत रोजे । सन् २००२ देखि २००६ सम्ममा ‘रियल स्टेट बबल’ आयो त्योभन्दा अगाडि रियल स्टेटको मूल्य कहिले नघट्ने विश्वास गरेर लगानी गर्ने थुप्रै व्यक्तिहरु मुर्ख सावित भए । सन् २००८ मा बबल फुटेपछि विश्वमा वित्तीय मन्दी आयो । यसले थुप्रै लगानीकर्तालाई बगाइदियो । धेरै व्यक्तिहरु महलबाट सडकमा आइपुगे । नेपालमा हेर्ने हो भने ३२०० विन्दु र १८०० विन्दुको बुलमा बजार उक्लदै गर्दा खराब कर्जा ३०/४० प्रतिशत भएका र जीवनभर प्रतिफल नदिएका कम्पनीहरुको मूल्य रु एक हजारमाथि पुग्यो तर जब बजार बियरीस हुन थाल्यो, उक्त स्टकमा भरिएको बलुनको हावा फुस्कियो तब सात/आठ सय प्रतिशतको गिरावट देखियो । केही समय अगाडि केही फाइनान्स कम्पनी २४००/२६०० सयसम्म भाउ बढेर पुगे तर जब बजार हल्लिन थाल्यो । जतिबेला फाइनान्समा भएका विकृतिका विषय समाचार बनेर बजारमा आयो, त्यस्ता कम्पनीको मूल्य एक वर्षको उतावचढावमा ८०० प्रतिशतसम्म झर्यो । तर मान्छेहरु ती कम्पनीलाई बजारको विजेता बनाउने दौडमा लागी परे । आफ्ना सारा स्रोत लगानी गरे । तर रुपकको घोडा जस्तै मृतश्ययामा पुगेका कम्पनीको भाउ छोटो समयका लागि आकासिएको देखिएता पनि उम्लिएको दूधजस्तै पहिलेकै अवस्थामा फर्किन प¥यो । यसले गर्दा अरबौको लगानी व्यर्थ भएको छ । लगानीमा मुर्खताले होइन, धैर्यता र अनुशासनले बाजी मार्न सकिन्छ । मुर्खताले जित्न सकिँदैन, बरु गुुमाउन प्रेरित गर्नेछ । तसर्थ सिनो भएका कम्पनीको शेयर बोकेर कमाउने र रमाउने मुर्ख नबनौँ । जित्नका लागि दौडन सक्ने घोडाको सधैँ खोजी गरौँ र त्यसैमा लगानी गर्ने बानी बसालौँ । यो नै लगानीको मूलमन्त्र हो । ‘डेड हर्ष थ्यौरी’ ले लगानीकर्तालाई दिएको मूल सन्देश यही हो । जहाँ सम्भावना शून्य भागभन्दा कम छ त्यहाँ प्रयास नगर्नुहोस् चाहे त्यो लगानीको क्षेत्र होस् वा जीवनका अन्य पक्ष त्यो व्यर्थ हुनेछ । जसरी मृत घोडामाथिको लगानी खेर गयो त्यसरी नै खराब सेयर माथिको लगानी बालुवामा पानी खन्याएसरह हुने निश्चित छ । कतिपय कम्पनीहरु वासलत बिग्रिएका, सञ्चालक खराब भएका, खराब कर्जाले थिचिएका, प्रतिशेयर आम्दानी र मुनाफा नकारात्मक भएका, आयले खर्च धान्न नसकेका, बजार क्षेत्र खुम्चदै गएका, प्रतिस्पर्धीको अगाडि निरीह रहेका, प्रतिफल कम्पनी खुलेदेखि दिन नसकेका, प्रविधिको विकासले माग घट्दै गएका कम्पनीको सेयरमा बजार हल्ला, कर्नरिङ्ग, म्याचिङ्ग, मिडिया ट्यापिङ र सामाजिक सञ्जालमार्फत बुलिङ आदि गरेर मूल्य बढाउने प्रयासमा लागेका हुन्छन् । त्यस्तो कम्पनीको बारेमा राम्ररी बुझ्न जरुरी हुन्छ । आफूलाई त्यस कम्पनीको यस्ता गलत प्रवृत्तिका बारेमा जानकारी छ भने त्यस्ता कम्पनीमा थप लगानी बढाउनु हुँदैन । कहिलेकाहीँ ‘फाइनान्स आर्मी’ को नाममा त्यस्ता कम्पनीको सेयर मूल्य अस्वभाविक बढाएर लैजाने गरिन्छ, जुन नेपालमा भयो । तर समयसँग त्यो उसको वास्तविक आकार र स्वरुपमा फर्किनु नै पर्ने हुन्छ । टुप्पामा लगानी गर्नेहरुले कहिल्यै आफ्नो सम्पत्ति पाउन सक्ने छैनन् । यसैले यस्तो दुस्साहस नगर्नु नै वेश हुन्छ । कतिसम्म भयो भने नेपाल राष्ट्र बैंकले कारबाही गर्दै गरेको कर्णाली विकास बैंकको शेयरको मूल्य कारबाही भएर कारोबार रोकिन भन्दा अघिलो दिन १० प्रतिशतको सर्किट लाग्यो । यस्तो कम्पनीमा सेयर मूल्य बढेको देखेर लगानी बढाउने नगर्नुहोस् । किनकी यसले उल्टो तपाईको खल्तीको धन सोसेर लैजाने सम्भावना बढी हुन्छ । हो, बजारमा केही हर्ष मेहताहरु हुने गर्छन् । जसले यति धेरै जोखिम उठाउँछन्, बजार मूल्य बढाउन बलुनमा यति धेरै हावा भर्छन् जुन नफुटुनजेल भरी रहन्छन् । कल्पना गर्नुहोस्, तपाईले लगानी गर्दै गरेको बेलुन त्यही पर्यो भने के हुन्छ ? पक्का छ, बलुन फुट्यो भने बलुनसँगै तपाईको लगानी पनि फुट्नेछ, कहिले फर्कने छैन । यसैले तपाई हर्ष मेहता नबन्नुहोस्, यसरी फुलाइएका स्टकहरु थाहा पाउनुभयो भने छिटो निस्कनुहोस्, थप लगानी थप्ने नगर्नुहोस् । नत्र घोडा सवारले मृत घोडामाथि सारा स्रोत रित्ताएर लगानी गरेजस्तै शेयर बजारमा लगानी गर्ने हामीहरु पनि पछुताएर हिँड्नुबाहेक बाँकी केही रहने छैन । तसर्थ, जे कुरा चल्दैन, त्यसलाई छोड्नु बुद्धिमानी हो, किन भने मरेको घोडा दौडिदैन । पुँजी बजारमा पनि लगानीकर्तामा देखिने लोभका कारण नै उनीहरु ठगिन पुग्छन् । कमाउने सपना लिएर बजार आएकाहरु आफ्नै सम्पति बचाउन नसकेर गुमाउन पुगेका थुप्रै उदाहरणहरु छन् । यसैले मृत घोडाबाट गरिएको आशा र कमजोर वित्तीय स्वास्थ्य र कुशासन भएको कम्पनीको शेयरमा लगानी गर्नु भनेको कहिले पूरा नहुने अधुरो लगानी हो भनेर बुझ्न सक्नुपर्छ । शून्य सम्भावनामा लगानी गरेर जोखिम लिने नगरौँ, चाहे त्यो मृत घोडा होस् वा प्रतिफल शून्य कम्पनीको शेयर, दुवै उस्तै हुन् । सधैँ सजग भएर लगानी गर्ने गरौंँ । सेयर बजारले मुनाफामा हिँड्न मार्गप्रशस्त गरेको छ । मात्रै सही मार्ग पहिल्याउन सक्नुपर्छ । (लेखक पुँजी बजारका जानकार हुन्)
सेयर बजार अलटाइम हाइ, १२ महिनायताकै उच्च
काठमाडौं । पछिल्लो समय सकारात्मक माहोल बनेपछि सेयर बजार निरन्तर उकालो लागिरहेको छ । निरन्तर उकालो लागिरहेको पुँजी बजार मंगलबार पनि उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.८२ प्रतिशत अर्थात् ८१.७७ प्रतिशत बढेर २ हजार ९७४.५० अंक पुगेर बन्द भएको छ । जुन १२ महिनायताकै उच्च हो । यसअघि २०८१ साउनमा ३ हजार अंकमा पुगेपछि बजार निरन्तर ओरालो लागेको थियो। लगानीकर्ता देव गुरागाईं माहोल सकारात्मक भएपछि लगानीकर्ताहरू सक्रिय भएको बताउँछन् । उनका अनुसार यो आर्थिक वर्ष बजार अलटाइम हाइ नै हुने र त्यही लाइनमा बजार रहेको छ । ‘मौद्रिक नीति खुकुलो आएको छ । यसले मनोवैज्ञानिक प्रभाव लगानीकर्ताहरूमा परेको छ । ब्याजदर सस्तो छँदैछ, तरलता फालाफालको अवस्था छ । अर्थतन्त्र सुधार हुने र मौद्रिक नीतिले सहजीकरण गरेको छ भन्नेमा हामी आशावादी छौं,’ उनले भने । उनका अनुसार गत वर्षको नाफाबाट कम्पनीहरुले लाभांश वितरण गर्ने समय सुरु भइसकेकाले पनि लगानीकर्ताहरु थप बजारमा आकर्षित भएका छन् । ‘लाभांश खानुपर्छ भन्ने हिसाबले पनि लगानीकर्ताहरू तातेका देखिन्छन्,’ गुरागाईंले भने । मंगलबार २३६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको सेयर मूल्य घटेको छ । साथै आज दिनभरिमा ३१९ कम्पनीको ४ करोड ३५ लाख ८१ हजार कित्ता सेयर १ लाख ७७ हजार १०१ पटक खरिदबिक्री हुँदा २० अर्ब ८ करोड ५३ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज विभिन्न तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ट्रेड टावर, शिवम् सिमेन्ट र सान्भी इनर्जीको सेयर मूल्य १० प्रतिशत बढेको छ । साथै, आज नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर कारोबार सर्वाधिक भएको छ । यस कम्पनीको ७१ करोड ८८ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, शिवम् सिमेन्टको ६८ करोड ८३ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ५६ करोड १ लाख रुपैयाँ, बुटवल पावर कम्पनीको ५१ करोड ६७ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ४६ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सले जनाएको छ । मंगलबार सबै समूहमा हरियाली छाएको छ । आज बैंकिङ समूह २.१० प्रतिशत, विकास बैंक समूह २.२६ प्रतिशत, फाइनान्स समूह १.९४ प्रतिशत, होटल एण्ड तथा पर्यटन समूह ३.४४ प्रतिशत, जलविद्युत समूह १.९० प्रतिशत, लगानी समूह ३.२४ प्रतिशत, जीवन बीमा समूह ४.३६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ४.६३ प्रतिशत, लघुवित्त समूह ४.०७ प्रतिशत, म्युचुअल फण्ड समूह ०.५६ प्रतिशत, निर्जीवन बीमा समूह २.५६ प्रतिशत, अन्य समूह ३.३६ प्रतिशत र व्यापार समूह १.०१ प्रतिशत बढेको नेप्सेको तथ्याङ्क छ ।
सेयर बजारको आकारमा नयाँ रेकर्ड, नेप्से परिसूचक एक वर्ष यताकै उच्च
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१ अंकले बढेर २८ सय ९२ बिन्दुमा पुगेको छ । आज १५३ कम्पनीको मूल्य बढ्दा ९६ कम्पनीको मूल्य घटेको छ । सोमबार ३११ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ । बजारको आकारमा नयाँ रेकर्ड बनेको छ । बजारको पूँजीकृत रकम ४८ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । यसअघि ४७ खर्ब ९९ अर्बको रेकर्ड बनेको थियो । यस्तै, नेप्से परिसूचक पनि ११ महिनायताकै उच्च हो । साेमबार सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको ७५ करोड, बुटवल पावर कम्पनीको ५६ करोड, फस्ट माइक्रो फाइनान्स लघुवित्तको ५१ करोड र लुम्बिनी विकास बैंकको ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह १.४२, लघुवित्त १.९३, निर्जीवन बीमा १.२७ र अन्य समूह १.८४ प्रतिशतले बढेको छ । बैंकिङ ०.४८, होटल तथा पर्यटन ०.३०, जलविद्युत् ०.४६, लगानी ०.३७, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३७, म्युचुअल फन्ड ०.१९ र व्यापार समूह ०.४३ प्रतिशतले बढेको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्री स्टार हाइड्रोपावरको ९.९९, ट्रेड टावर र सानभी इनर्जीको ९.९८ प्रतिशतले सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
सेयर बजारमा साढे १६ अर्बको कारोबार, ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन बिहीबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७५ अंकले बढेर २८ सय ७० बिन्दुमा पुगेको छ । आज २३९ कम्पनीको सेयर मूल्य बढ्दा ९ कम्पनीको सेयर मूल्य घटेको छ । बिहीबार ३११ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ५९ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको ६० करोड, राधी विद्युत कम्पनीको ५६ करोड, सानिमा माइ हाइड्रोको ४२ करोड र न्यादी गुप्रको ४१ करोड रुपैयाँको कारोबार भएको छ । आज ३ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । ट्रेड टावर, शुभम पावर र थ्री स्टार हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बिहीबारको कारोबारमा सबै समूहका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ५.०९ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ १.७६, विकास बैंक १.९५, फाइनान्स २.८०, होटल तथा पर्यटन २.६०, हाइड्रोपावर ३.०४, लगानी ३.१७, जीवन बीमा ३.१४, उत्पादन तथा प्रशोधन २.९४, माइक्रोफाइनान्स २.५०, निर्जीवन बीमा २.१८ र व्यापार १.७६ प्रतिशतले बढेको छ ।