सेयर बजार अडिन सकेन ४.४ अंक घट्यो, महुली लघुवित्तका लगानीकर्ताले कमाए
काठमाडौं । लगानीकर्ताको विश्वास बढन् नसकेपछि साताको पहिलो दिन सेयर बजार घट्को छ । आइतबार बजार खुल्दा बढ्दै गएको बजार अडिन नसक्दा बन्द हुने समयमा आएर ४.४ अंकले घटेको छ । आइतबार वित्तीय समूह बाहेक सबै परिसूचकको मूल्य घटेको छ । आइतबार ५५ करोड ९५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । शत्प्रतिशत बोनस सेयर दिने भएपछि स्ट्याण्डर्ड चाटर्ड बैंकको कारोबार बढेको छ । आइतबार स्ट्याण्डर्डको सेयर प्रतिकित्ता २ हजार ७७ रुपैयाँमा ८ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार महुली सामुदायिक लघुवित्त संस्था लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । महुली र ग्रीनको सेयर मूल्य झण्डै १० प्रतिशत बढेको छ । महुलीका लगानीकर्ताले प्रतिसेयर एकैदिन २०३ रुपैयाँ र ग्रीनकाले ५३ रुपैयाँ कमाएका छन् ।
एनआरएनले भने-सेयर बजारमा १० अर्ब लगानी गर्छाै
काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएन) का पदाधिकारीहरुले सेयर बजारमा लगानी गर्ने व्यवस्था भएमा सुरुमै १० अर्ब लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीसँग सेयर बजारमा एनआरएनको लगानीका बारेमा छलफल गर्न पुगेका पदाधिकारीहरुले सुरुमै १० अर्बको लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । भेटमा एनआरएनका अध्यक्ष भवन भट्टले विदेशमा ठूलो संख्यामा छरिएर रहेका एनआरएनहरु नेपालको पुँजी बजारमा संस्थागतरुपमा लगानी गर्न इच्छुक रहेको र सुरुमै १० अर्ब लगानी गर्ने मनसाय तयार पारेको बताएका हुन् । भेटमा बोर्डका अध्यक्ष डा. कार्कीले हालसालै पुँजी बजारमा पूर्ण स्वचालित कारोवार, सार्वजनिक निष्काशनमा स्वतन्त्र मूल्य निर्धारण, विदेशी वित्तीय संस्थाहरुले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न सक्ने कानुनी व्यवस्था र बजार विस्तार तथा पहुंचमा बृद्धि लगायतका सुधारका काम सम्पन्न गरेको बताएका थिए । उनले एनआरएनको पछिल्लो प्रस्तावलाई सकारात्मकरुपमा लिदै नेपालको धितोपत्र वजारमा एनआरएनलाई सहभागी गराउन आवश्यक नीतिगत व्यवस्था गर्न वोर्डले कार्य अगाडि बढाईसकेको जानकारी पनि दिएका थिए । डा.कार्कीले एनआरएनका लागि धितोपत्रको दोस्रो बजार खुला गर्ने सम्बन्धमा बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थमन्त्रालयका प्रतिनिधि तथा विज्ञ सम्लग्न समिति गठन भई अध्ययन र प्राथमिक बजारमा लगानी अवसर उपलब्ध गराउने सम्बन्धमा बैकल्पिक लगानी साधन सम्बन्धी नियमावलीको मस्यौदा कार्य भइरहेको जानकारी पनि दिएका थिए ।
सेयर बजार १२ अंकले ओरालो
काठमाडौं । साताको अन्तिम सेयर कारोबार १२.३२ अंकले ओरालो लागेर १४७२.१५ अंकमा झरेको छ । दोहोरो अंकले ओरालो लागेको बजारमा कुल ४७ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी स्ट्याण्डार्ड चार्टार्ड बैंकको ३ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको ३ करोड ५८ लाख र मुक्तिनाथ विकास बैंकको ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन उत्पादनमूलक समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ७७ अंकले झरेको छ । उत्पादनमूलक समूहको सूचक भने १४ अंकले उकालो लागेको छ । त्यस्तै, दोहोरो अंकले घटेको बजारमा पनि माहुली सामुदायिक लघुवित्त संस्थाका लगानीकर्ताले ६ प्रतिशत कमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२११ रुपैयाँ रहेको छ । बजारमा विजया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने करिब ६ प्रतिशतले घटेको छ ।
बुधबारको सेयर बजारमा उतारचढाव, नेप्से ९ अंकले घट्दा ४२ करोडको कारोबार
काठमाडौं । बुधबारको सेयर बजारमा उतारचढाव आएको छ । बजार खुल्दा १४९३ अंकमा रहेको नेप्से करिब एक घण्टामा १० अंकले ओरालो लागेर १४८३ अंकमा पुगेको थियो । त्यस पछि फेरि एक घण्टाको अवधिमा ९ अंकले बढेर १४९२ अंकमा पुगेको नेप्से पछि पुन ओरालो लागेको छ । अन्ततः बजार बन्द हुँदा नेप्से अघिल्लो दिनको तुलनामा ९.२९ अंकले झरेर १४८४ अंकमा आइपुगेको छ । बजारमा नेप्से सहित कारोबार रकममा पनि गिरावट आएको छ । बुधबारको बजारमा कुल १५५ कम्पनीको ४२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन जम्मा ९ लाख ८३ हजार कित्ता सेयर किनबेच भएको छ । मंगलबारको जस्तै बुधबार पनि सबै समूहका परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ४३ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक र हाइड्रोपावर समूहको परिसूचक क्रमशः ३१ र २६ अंकले झरेका छन् ।
बामपन्थी बहुमतलाई सेयर बजारको ग्रीन सिग्नल, दोहारो अंकको वृद्धि
काठमाडौं । बाामपन्थीहरुको बहुमतलाई सेयर बजारले ग्रीन सिग्नलसहित अनुमोदन गरेको छ । लगातार तीन दिन घटेको सेयर बजार बुधबार भने १०.५३ अंकले उकालो लागेर १५२०.७४ अंकमा पुगेको छ । बजारमा परिसूचकमा वृद्धि भए पनि सेयर कारोबारमा भने गिरावट आएको छ । सो दिन जम्मा ४८ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जनु रकम अघिल्लो कारोबार(मंगलबार)को भन्दा १८ करोड रुपैयाँ घटी हो । मंगलबारको बजारमा भने कुल ६६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको थियो । बुधबार सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको सेयर कारोबार भएको छ । यस बैंकको कुल ५ करोड ४० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । बजारमा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३४ रुपैयाँ रहेको छ । त्यस्तै, बुधबारको सेयर बजारमा कारोबारमा आएका सबै समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५२ अंकले उकालो लागेको छ । त्यसैगरी, होटल र उत्पादनमूलक समूहको परिसूचक क्रमशः ३८ र ३२ अंकले बढेका छन् । बजारमा कुल १० वटा समूहको कारोबार भएको थियो । दोहोरो अंकले उकालो लागेको बजारमा सबैभन्दा बढी कुबेर मर्चेन्ट फाइनान्सका लगानीकर्ताले ९.६३ प्रतिशत कमाएका छन् । त्यस्तै, ललितपुर फाइनान्सका लगानीकर्ताले पनि ९.५५ प्रतिशत कमाएका छन् ।
बामपन्थी गठबन्धनलाई सेयर बजारको रेड सिग्नल, ६ अंकले अरोलो
काठमाडौं । देशभर बामपन्थी गठबन्धनले प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन जितिरहँदा सेयर बजार भने ओरालो लागेको छ । आइतबारको सेयर बजारमा सामान्य गिरावट आएको छ । सो दिन नेप्से परिसूचक ६.०५ अंकले ओरालो लागेर १५३०.४९ अंकमा अडेको छ । बजारमा परिसूचकमा गिरावट आएता पनि कारोबारमा भने वृद्धि भएको छ । बजारमा ८४ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५८ कम्पनीको १२ लाख १२ हजार कित्ता सेयर किनबेच भएको छ । सामान्य अंकले घटेको बजारमा सबैभन्दा बढी स्ट्याडर्ड बैंकको २६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१९७ रुपैयाँ रहेको छ । कम्पनीले १०० प्रतिशत बोनस र ५ प्रतिशत नगद लभांश दिने घोषणा गरेपछि कम्पनीको सेयर कारोबारमा वृद्धि भएको हो । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ७२ अंकले ओरालो लागेको छ । उत्पादनमूलक समूह ४० र अन्य समूह २ अंकले उकालो लागेका छन् । त्यस्तै, ट्रेडिङ समूहको परिसूचक स्थिर रहेको छ भने बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । त्यसैगरी, बोटलर्स नेपाल(तराई)का लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५९० रुपैयाँ रहेको छ । सबैभन्दा बढी सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ४ प्रतिशत गुमाएका छन् ।
बामपन्थी सरकारः अब कता जान्छ सेयर बजार ?
काठमाडौं । मंसिर २० गते बुधबारका दिन सेयर बजार ११.६७ अंकले बढेर १४३६.५४ पुगेर रोकियो । बिहिबार ४५ जिल्लामा दोश्रो चरणको निर्वाचन भयो र यतिबेला धमाधम निर्वाचनको परिणाम आईरहेको छ । निर्वाचनले आगामी पाँच बर्षका लागि बामपन्थीहरुको सरकार गठन हुने निश्चित देखाएको छ । सेयर बजार प्रति अनुदार मानिँदै आएका बामपन्थीहरुको सरकार गठन हुने निश्चित भएसँगै अब सेयर बजार कता जान्छ भन्ने कौतुहलता उत्कर्षमा पुगेको छ । ‘स्थिर सरकारका कारण अर्थतन्त्र सुधार हुने भएकाले सेयर बजार पनि सुधार हुने अपेक्षा गरेका छौं, सरकारको नीति पनि अब छिटो छिटो परिवर्तन नहोला त्यसले गर्दा सेयर बजार पनि उकालो नै लाग्ने आस छ’, एक सेयर ब्रोकरले भने । उनले बामपन्थी सरकारसँग सेयर बजार डराउनुपर्ने कुनै कारण नभएको पनि बताए । नेपालको नेप्से इन्डेक्स बामपन्थी सरकारहरुकै पालामा उच्चतम विन्दु कायम भएको इतिहास पनि उनले सुनाए । सेयर बजार बामपन्थी सरकारका कारण नभएर आफ्नै स्वभाविक विकासक्रमका कारण भने घट्ने वा बढ्ने अवस्था आउने पनि उनले बताए । सेयर बजारका जानकार ज्योति दाहालले पनि बामपन्थी सरकारका कारण सेयर बजारमा तात्विक असर नपर्ने बताए । उनले बामपन्थीहरुको घोषणा पत्रमा सेयर बजारबारे खासै उल्लेख नगरिएकाले तत्काल सरकारात्मक वा नकारात्मक प्रभावको अपेक्षा राख्न अवस्था नरहेको दावी गरे । बाम सरकारसँग सेयर बजारका लगानी कर्ता आत्तिनु नपर्ने उनको भनाई छ । तर पनि सेयर बजारमा मनोवैज्ञानिक त्रास भने उत्पन्न हुन सक्ने बताए ।‘बापमन्थी सेयर बजार प्रति निरपेक्ष देखिन्छन्, न सुधार्ने योजना देखिन्छ न त बिगार्ने नै । यद्यपी लगानी कर्तामा मनोवैज्ञानिक त्रास आउन सक्छ । तर डराउनुपर्ने अवस्था रहनन’, दाहालले भने । तर बजारमा बैंक तथा वित्तिय संस्थाहरुको बोनस सेयर धमाधम आउने क्रममा छ । लाइफ र नन लाइफ बीमा कम्पनीहरुको हकप्रद सेयरको बाढी नै आउँदैछ । केहि कम्पनीहरुले प्रीमियम मूल्यमा एफपिओ नै जारी गर्दैछन् । केहि बैंकहरुको हकप्रद सेयरको आवेदन अझै खुल्ला रहेको छ । धेरै जलविद्युत कम्पनीहरु आइपीओ निष्काशनको तयारीमा जुटेका छन् । यसैबिच, बैंकहरुले ब्याजदर तत्काल घटाउने अवस्था पनि नरहेको विश्लेषकहरु बताउँछन् । महंगो ब्याजमा ऋण लिएर सेयर बजारमा लगानी गर्ने अवस्था नरहेकाले पनि सेयर बजारमा अपेक्षित सुधार आउन नसक्ने अनुमान गरिएको छ । त्यसो त अब गठन हुने बामपन्थी सरकारको आर्थिक नीति हेर्ने सम्भावित पात्रका रुपमा रहेका डा. युवराज खतिवडा देखिन्छन् । उनी रियलस्टेट र सेयर बजार प्रति सकारात्मक सोँच नभएका अर्थशास्त्री मानिन्छन् । खतिवडा नेतृत्वको विज्ञ समुहले तयार पार्ने आर्थिक नीतिले पनि सेयर बजारलाई खासै प्रोत्साहन दिने छैन् । बामपन्थी सरकारले सेयर बजारलाई सुधार्न कुनै ठोस कदम नचाले पनि बिगार्ने प्रयास पनि नगर्ने भने पक्का छ । खुल्ला बजार अर्थतन्त्रका पक्षपातीहरु सरकारमा आएपछि मात्रै सेयर बजार उकालो लाग्छ भन्ने मान्यतालाई शेर बहादुर देउवा नेतृत्वको सरकारले गलत सावित गरिसकेको छ । काँग्रेस सभापति शेर बहादुर देउवाले सरकार सम्हालेको ६ महिने अवधीमा सेयर बजार करिब ७५ अंकले घटेको देखिन्छ । त्यसकारण पनि बामपन्थी सरकारका पालामा सेयर बजारमा कुनै असर नपर्ने विश्लेषकहरु बताउँछन् ।
सेयर बजारमा हरियाली, नेप्से दोहोरो अंकले बढ्दा ६७ करोडको सेयर किनबेच
काठमाडौं । दोश्रो चरणको चुनाव नजिकिँदै गर्दा सेयर बजारमा हरियाली छाएको छ । चुनावको अघिल्लो दिनको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा बुधबारको नेप्से ११.६७ अंकले उकालो लागेर १५३६.५४ अंकमा पुगेको छ । बजारमा ६७ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम मंगलबारको तुलनामा १३ करोड रुपैयाँ बढी हो । मंगलबारको बजारमा कुल ५४ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बुधबारको बजारमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस दिन कम्पनीको ६ करोड ४० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७७८ रुपैयाँ रहेको छ । बीमा समूहको परिसूचक सबैभन्दा बढी ६८.६३ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रो, होटल, माइक्रोफाइनान्स र विकास बैंकको परिसूचक क्रमशः ३२, २८, २४ र २३ अंकले उकालो लागेका छन् । बजारमा ट्रेडिङ समूहको परिसूचक सामान्य २.४५ अंकले ओरालो लागेको छ भने बाँकी समूहको परिसूच सामान्य अंकले उकालो लागेका छन् । दोहोरो अंकले बढेको बजारमा सबैभन्दा बढी छ्याँङदी हाइड्रोपावरका लगानीकर्ताले ७.५३ प्रतिशत कमाएका छन् । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँ रहेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १४ रुपैयाँ बढी हो । उता हिमालयन पावर पार्टनरका लगानीकर्ताले २.३५ प्रतिशित गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४१५ रुपैयाँ रहेको छ ।
सेयर बजार दोहोरो अंकले ओरालो, दुई समूहबाहेक सबै समूह राताम्मे
काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । बजार खुलेको करिब आधा घण्टा उकालो लागेको नेप्से परिसूचक त्यसपछिको कारोबारमा भने ओरालो लागेको हो । सो दिन बजार बन्द हुँदा नेप्से परिसूचक १०.९० अंकले ओरालो लागेर १५२६.७७ अंकमा झरेको छ । बजारमा नेप्से परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । १५७ कम्पनीको कारोबार भएको सोही दिनको बजारमा जम्मा ५४ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बजारमा जम्मा १० लाख १६ हजार कित्ता सेयर किनबेच भएको छ । दोहोरो अंकले ओरालो लागेको बजारमा दुई समूहको बाहेक अन्य बाँकी ८ समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १०४ अंकले ओरालो लागेको छ । उता होटल र उत्पादनमूलक समूहको परिसूचक भने क्रमशः १८.९३ र ५.३५ अंकले उकालो लागेका छन् । सोमबार जम्मा १० समूह कारोबारमा आएका थिए । बजारमा सबैभन्दा बढी यूनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले ५.२७ प्रतिशत गुमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२७६ रुपैयाँ रहेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ७१ रुपैयाँ घटी हो ।
काँग्रेस सरकारलाई पत्याएन सेयर बजारले, ६ महिनामा ८५ अंकले ओरालो
काठमाडौं । उदार अर्थतन्त्रको प्रवर्तक बताउँदै आएको नेपाली काँग्रेस नेतृत्वको वर्तमान सरकारका पालामा सेयर बजार ह्वात्तै घटेको छ । काँग्रेस सभापति शेर बहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ६ महिने अवधीमा सेयर बजार ८५.४६ अंकले घटेको हो । देउवा प्रधानमन्त्री भएको दिन अर्थात गत जेठ २४ गते १६२३.१३ अंकमा रहेको नेप्से परिसूचक हाल १५३७.६७ अंकमा झरेको छ । संसारभरका कम्युनिष्ट सरकारहरु सेयर बजार प्रति नकारात्मक हुने र बजार ओरालो लाग्ने परिस्थिती बन्दै आएको छ । तर नेपालमा भने खुल्ला बजार अर्थतन्त्रको हिमायती मानिएकै काँग्रेस नेतृत्वको सरकारका पालामा बजार निरन्तर ओरालो लागेको देखिन्छ । अर्काे संयोग के पनि छ भने नेपालको सेयर बजारमा हालसम्मकै उच्च बिन्दु भने कम्युनिष्ट सरकारकै पालामा कायम भएको देखिन्छ । काँग्रेसले सेयर बजारको स्वभाविक विकासक्रमका विरुद्ध कुनै निती नल्याए पनि बजार विस्तारका लागि पनि चासो नदेखाएको लगानी कर्ताहरुले बताउँदै आएका छन् । नागरिक दैनिकबाट
सेयर बजारमा उतारचढाव, नेप्से सामान्य अंकले उकालो
काठमाडौं । बिहीबारको सेयर बजारमा उतारचढाव देखिएको छ । बजार खुल्नासाथ उकालो लागेर १५४० अंकमा पुगको नेप्से करिब २ घण्टामा ओरालो लागेर १५२७ अंकमा झरेको थियो । त्यसपछिको बजारमा भने नेप्सेलाई केही टेवा पुगेको देखिन्छ । अन्ततः बजार बन्द हुँदा नेप्से परिसूचक सामान्य १.५५ अंकले उकालो लागेर १५३७.६७ अंकमा पुगेको छ । बुधबारको तुलनामा नेप्सेमा सामान्य सुधार भएता पनि कारोबार रकमा भने भारी गिरावट आएको छ । बुधबार एक अर्ब बढी रुपैयाँको कारोबार भएको सेयर बजारमा बिहीबार जम्मा ७४ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । उक्त रकम अघिल्लो दिनको तुलनामा करिब २५ करोड रुपैयाँ घटी हो । बिहीबारको बजारमा जम्मा १६४ कम्पनीको १३ लाख ५२ हजार कित्ता सेयर किनबेच भएका छन् । साताको अन्तिम कारोबारमा सबैभन्दा बढी होटल समूहको परिसूचक २५ अंकले बढेको छ । त्यस्तै, हाइड्रो समूहको परिसूचक २१ र बीमाको २० अंकले उकालो लागेको छ । त्यस्तै, विकास बैंक, फाइनान्स र उत्पादनमूलक समूहको परिसूचक सामान्य अंकले झरेका छन् भने बाँकी समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् ।
सेयर बजार दोहोरो अंकले उक्लियो
काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सोमबार सामान्य अंकले ओरालो लागेको नेप्से परिसूचक बुधबार भने १०.१२ अंकले उकालो लागेर १५२३ अंकमा पुगेको छ । बजारमा अघिल्लो दिनको तुलनामा परिसूचकमा वृद्धि भएता पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन(सोमबार) ६५ करोडको सेयर कारोबार भएको बजारमा मंगलबार(आज) जम्मा ५७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम करिब ८ करोड रुपैयाँले घटि हो । चिलिमे हाइड्रोपावर कम्पनीको सबैभन्दा बढीको सेयर किनबेच भएको छ । सो दिन यस कम्पनीको ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९६० रुपैयाँ रहेको छ । त्यस्तै, मंगलबार कारोबारमा आएका १० समूहमध्ये ७ समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी अन्य समूहको परिसूचक ३४.४१ अंकले उकालो लागेको छ । उता, ट्रेडिङ समूहको परिसूचक स्थिर रहेको छ भने बीमा र उत्पादनमूलक समूहको परिसूचक राताम्मे भएका छन् । मंगलबार मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले करिब ८ प्रतिशत कमाएका छन् ।
सेयर बजार २१ अंकले बढ्यो, यी हुन धेरै कारोबार हुने ६ कम्पनी
काठमाडौं । आइतबार सेयर बजार २१ अंकले बढेको छ । केही दिनदेखि गिरावट आएको सेयरबजार आइतबार बढेर नेप्से परिसूचक १५१४.३४ अंकमा पुगेको छ । बजार बढेपछि आइतबार ५९ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार व्यापार बाहेक सबै क्षेत्रको बजार बढेको छ । आइतबार सबैभन्दा बढी सेयर कारोबार स्ट्याण्डर्ड चाटर्ड बैंकको भएको छ । स्ट्यान्डर्डको प्रतिकित्ता २ हजार ११५ रुपैयाँमा ६ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै नेपाल बैंकको ५ करोड ५९ लाख, चिलिमे हाइड्रो पावर कम्पनीको ४ करोड १२ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ४९ लाख, एभरेष्ट बैंकको २ करोड ३८ लाख र बुटवल पावर कम्पनीको २ करोड २२ लाख मूल्य बराबरको सेयर किनबेच भएको छ । आइतबार बढी कमाउनेमा नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले प्रतिकित्ता २७५ रुपैयाँ र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले २३५ रुपैयाँ कमाएका छन् ।
बुधबारको सेयर बजार ८ अंकले उकालो
काठमाडौं । बुधबारको सेयर बजार ८ दशमलब ०२ अंकले उकालो लागेर १४८० अंकमा पुगेको छ । बजारमा १५९ कम्पनीको ९ लाख ३१ हजार कित्ता सेयर ३४ करोड ८२ लाख रुपैयाँमा किनबेच भएको छ । सो दिन सबैभन्दा बढी बीमा समूहको परिसूचक ५५ अंकले बढेको छ । त्यस्तै, होटल र हाइड्रोपावर समूहको परिसूचक क्रमशः ३५ र २० अंकले उकालो लागेका छन् । फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः ०.१६ र ०.८६ अंकले झरेका छन् । मंगलबार जस्तै बुधबार पनि सबैभन्दा बढी ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा वृद्धि भएको छ । बुधबार यस कम्पनीको सेयर मूल्य ९.८६ प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा बढी सांग्रिला डेभलपमेन्ट बैंकको २ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सिर्जना फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ५.४९ प्रतिशत गुमाएका छन् ।
सेयर बजारमा ३९ करोडको कारोबार, ग्रीन डेभलपमेन्टको सेयर मूल्य ९.९६ प्रतिशतले वृद्धि
काठमाडौं । सोमबारको सेयर बजारमा ३९ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ६ करोड रुपैयाँ घटि हो । आइतबारको बजारमा ४५ करोड बराबरको सेयर कारोबार भएको थियो । सोमबार १६० कम्पनीका ११ लाख ४६ हजार कित्ता सेयर किनबेच भएका छन् । बजारमा कारोबार रकम सँगै नेप्से परिसूचकमा पनि गिरावट आएको छ । आइतबार दोहोरो अंकले ओरालो लागेको नेप्से सोमबार ६.५६ अंकले झरेर १४६९ अंकमा अडेको छ । बजार राताम्मे हुँदा पनि ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । अघिल्लो दिनको तुलनामा आज यस कम्पनीका लगानीकर्ताले ९.९६ प्रतिशत अर्थात प्रतिकित्ता ४६ रुपैयाँ बढी कमाएका छन् । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५०८ रुपैयाँ रहेको छ । यस कम्पनीले सेयरधनीमाझ ४०० प्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डको अनुमति पाइसकेको छ । सोमबार अन्य समूहको परिसूचक बाहेक बाँकी समूहका परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २९ अंकले ओरालो लागेको छ । अन्य समूहको परिसूचक भने सामान्य २.८९ अंकले उकालो लागेका छन् ।
सेयर बजार १३ अंकले झर्यो, नेपाल हाइड्रोका लगानीकर्ताले गुमाए ९ प्रतिशत बढी
काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक १३.३४ अंकले झरेर १४७५.७२ अंकमा अडेको छ । सो दिन बजारमा ४५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बजारमा १५६ कम्पनीका ११ लाख ५५ हजार कित्ता सेयर किनबेच भएका छन् । दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.१५ प्रतिशत गुमाएका छन् । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७८ रुपैयाँ रहेको छ । जुन रकम बिहीबारको तुलनामा २८ रुपैैयाँ घटी हो । सो दिन उत्पादनमूलक समूह बाहेक अन्य बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । बीमा समूहको परिसूचक १३४ अंकले ओरालो लागेको छ । उत्पादनमूलक समूह भने ६.८२ अंकले उकालो लागेका छन् । आइतबार सबैभन्दा बढी एभरेष्ट बैंकको ७ करोडको सेयर कारोबार भएको छ । ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले करिब ४ प्रतिशत कमाएका छन् ।
सेयर बजार १५ अंकले ओरालो
काठमाडौं । बिहीबारको सेयर बजार १५.७३ अंकले ओरालो लागेर १४८९ अंकमा झरेको छ । सो दिन नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । बजारमा कुल ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् । दोहोरो अंकले ओरालो लागेको बजारमा सबै समूहका परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६९ अंकले ओरालो लागेको छ । त्यस्तै, फाइनान्स, अन्य समूह र ट्रेडिङ समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् भने बाँकी समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् । सो दिन सबैभन्दा बढी नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य ४.९६ प्रतिशतले घटेको छ ।
सेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । यस साताको शुरुवातदेखि नै दोहोरो अंकले उकालो लागेको सेयर बजार आज भने दोहोरो अंकले ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक ११.२३ अंकले झरेर १५०४ अंकमा अडेको छ । बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । सो दिन ५९ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो दिन(मंगलबार)को तुलनामा करिब १६ करोड रुपैयाँ घटि हो । मंगलबारको बजारमा ७५ करोडको सेयर किनबेच भएको थियो । बजारमा बीमा समूह सबैभन्दा बढी अंकले ओरालो लागेको छ । यस समूह १०३ अंकले ओरालो लागेको हो । बुधबार तीन समूह(उत्पादनमूलक, होटल र अन्य समूह)बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी किसान माइक्रोफाइनान्सका लगानीकर्ताले ५.४४ प्रतिशत गुमाएका छन् । सबैभन्दा बढी हिमालयन डिष्टीलरीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । सो दिन चिलिमे हाइड्रोपावर, नेपाल बैंक र नेपाल दुरसञ्चार कम्पनीको तीन करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
के बाम गठबन्धनसँग डराएकै हो त सेयर बजार ?
काठमाडौं । ‘वामपन्थी गठबन्धनको सरकारलाई देखाएर केहि व्यक्ति तथा समूह सेयर बजार घटाउन लागिपरेका छन् । वास्तवमा बामपन्थी गठबन्धनबाट सेयर बजारलाई कुनै जोखिम छैन’, यो भनाई हो इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारको । रौनियारकै भनाईलाई आधार मान्ने हो भने सेयर बजारमा निर्वाचनपछि यदी बामपन्थी गठवन्धनको सरकार बने उसले अख्तियार गर्ने आर्थिक नीतिको त्रास देखिन्छ । तर उनी आफैं भनिरहेका छन् की बामपन्थी गठबन्धनको सरकारबाट सेयर बजारमा कुनै प्रकारको जोखिम छैन । किनकी अहिले बाम गठबन्धनमा सामेल दलले यसअघि पनि सेयर बजार प्रतिकुल कुनै नीति लिएका थिएनन् । र, फेरी पनि त्यस्तो सम्भावना छैन् । बामपन्थीहरुले आफ्नो साझा घोषणा पत्रमा स्पष्ट भाषामा लेखेका छनः ‘निजी क्षेत्रलाई अर्थतन्त्रको राष्ट्रिय अर्थतन्त्रको महत्वपुर्ण अंगका रुपमा सामेल गरि प्रोत्साहन गरिनेछ । लगानीमैत्री वातावरण, अनुकुल श्रम सम्बन्ध र लगानी तथा मुनाफाको सुरक्षाको प्रत्याभूति गरिनेछ । सार्वजनिक–नीजी साझेदारीलाई महत्वका साथ अवलम्बन गरिनेछ ।’ घोषणा पत्रमै स्पष्ट भाषामा लेखिएको र विगतका सबै बामपन्थी सरकारले खुल्ला बजार अर्थतन्त्रमा अंकुश नलगाएको इतिहासले पनि सेयर बजार घट्नुमा बामपन्थी गठबन्धन दोषी नगरेहेको ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीको भनाई छ । ‘बामपन्थी सरकार भएकै बेलामा नेप्से परिसूचकले उच्च विन्दु कायम गरेको रेकर्ड छ, भरतमोहन अधिकारीदेखि बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे, बर्षमान पुन, बिष्णु पौडेल र कृष्ण बहादुर महराले अर्थमन्त्रालय सम्हाल्दा पुँजी बजारको विकासलाई उच्च महत्व दिएका थिए’, रेग्मीले भने । भरतमोहन अधिकारीले अर्थ मन्त्रालय सम्हाल्दा प्रमुख आर्थिक सल्लाहकार रहेका अर्थशास्त्री केशब आचार्यले पनि बाम गठबन्धनलाई देखाएर सेयर बजार ओरालो लाग्यो भन्नु हास्यास्पद तर्कको संज्ञा दिए । ‘बामपन्थी दलहरुले लोकतन्त्र प्रतिको आफ्नो प्रतिवद्धता जाहेर गरिरहेका छन, राष्ट्रिय पुँजीको विकास गर्ने भनिरहेका छन, यस्तो अवस्थामा पुँजी बजारका लगानीकर्ताले डराउनुपर्ने कुनै कारण छैन’, अर्थशास्त्री आचार्यले भने । काठमाडौं क्षेत्र नम्बर ४ को निर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओली पनि लोकतान्त्रिक मूल्य मान्यता प्रतिको आफुहरुको प्रतिवद्धतामाथी प्रश्न नगर्न आग्रह गरेका थिए । कति घट्यो बजार ? कात्तिक ५ गते १५७१.९२ अंकबाट ओरालो लागेको नेप्से परिसूचक कात्तिक २३ गते १४६०.७३ अंकमा आइपुगेको छ । यो अवधीमा बजार जम्मा १५ दिन खुलेको छ र १११.१९ अंकले ओरालो घटेको छ । १५ दिनसम्म बजार औषतले ७.४१ अंकले घटेको देखिन्छ ।
१४ दिनमा १११ अंकले किन घट्यो सेयर बजार, यस्ता छन् कारण
काठमाडौं । कात्तिक ५ गते १५७१.९२ अंकबाट ओरालो लागेको नेप्से परिसूचक कात्तिक २३ गते १४६०.७३ अंकमा आइपुगेको छ । यो अवधीमा बजार जम्मा १४ दिन खुलेको छ र १११.१९ अंकले ओरालो घटेको छ । १४ दिनसम्म बजार औषतले ७.९४ अंकले घटेको देखिन्छ । इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारको बुझाईमा सेयर बजार ओरालो लाग्नुमा आधा दर्जन जति कारण छन् । रौनियारका अनुसार यतिबेला लगानी कर्ताको मनोबल ह्वात्तै घटेको छ । लगानी कर्ताले यतिबेला बैंकको ब्याजदर घट्ने आस गरेका थिए तर अझै पनि ब्याजदर १२/१३ प्रतिशतमै छ । चर्काे ब्याजदरका कारण लगानी कर्ताले सेयरमा लगानी बढाउने हिम्मत गरिरहेका छैनन् । अर्काे पक्ष भनेको कात्तिक २१ गतेबाट अनलाइन सेयर कारोबार आरम्भ हुने नेप्सेको पुर्व घोषणा २०७५ जेठमा सरेको छ । यसले पनि लगानी कर्तालाई केहि हदसम्म झस्काएको उनी बताउँछन् । ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीले पनि बैंकको ब्याजदर नघट्नु, अनलाईन सेयर कारोबार पछि धकेलिनु र बजारमा सेयरको आपुर्ति बढेकाले सेयर बजार ओरालो लागेको बताए । रेग्मीले बैंक तथा वित्तिय संस्थाहरुको पहिलो त्रैमासिकको वित्तिय विवरणले सकारात्मक संकेत नदेखाएकाले लगानी कर्ता हच्किएको दावी पनि गरे ।‘हाम्रो पुँजी बजार भनेको बैंक तथा वित्तिय संस्थाहरुको ठुलो हिस्साले भरिएको छ, पहिलो त्रैमासिकको रिपोर्टले राम्रो अवस्था नदेखाएपछि लगानी कर्ता हच्किएका हुनसक्छन’, रेग्मीले भने । उता, रौनियारले भने बाम एकताले सेयर बजार तहसनस पार्ने हल्ला फिँजाएर केहि तत्वले बजारलाई प्रभावित पारेको दावी पनि गरे । ‘बाम एकताको डर देखाएर केहि तत्वकाले बजार घटाउने र त्यसबाट फाइदा लिन खोजेको जस्तो पनि देखिन्छ, तर नेपालको पुँजी बजार त बामपन्थी सरकारकै पालामा उच्चतम विन्दुमा पुगेको छ’, रौनियारले भने । नेपाल धितोपत्र बोर्डले भने बजार घट्नु र बढ्नु सामान्य प्रक्रिया भएको बताएको छ । ‘बजार घट्नु र बढ्नु सामान्य प्रक्रिया नै हो, धितोपत्र बोर्डले हेर्ने भनेको बजार असामान्य तवरले बढेको वा घटेको छ की छैन भन्ने मात्रै होे’, बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले भने । ब्रोकर एसोसियसनका अध्यक्ष रेग्मीले भने बाम गठबन्धनले सेयर बजार घटाउन कुनै भूमिका नखेलेको बताए ।