घट्दो सेयर बजारबारे अर्थविद केशब आचार्य भन्छन्- माग भन्दा आपुर्ति बढेपछि मूल्य घट्नु स्वभाविक
काठमाडौं । अहिले राजनीतिक कारणले बजार घट्नुपर्ने होइन् । अहिले बनेको र अब बन्ने कुनै पनि सरकारले खुल्ला बजार अर्थतन्त्रको मर्म विपरित काम गर्न सक्दैनन् । अहिले बजार घट्नुको मुल कारण भनेको सेयरको अधिक आपुर्ति नै हो । बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुको पुँजी वृद्धि योजना आयो । अधिकांश कम्पनीहरुले बोनस र हकप्रद सेयरबाटै पुँजी वृद्धि गरे । यसले बजारमा सेयरको आपुर्ति अनावश्यक मात्रामा बढायो । ‘माग भन्दा आपुर्ति बढेपछि मूल्य घट्नु स्वभाविक हो ।’ केशब आचार्य, अर्थविद अर्काे कारण भनेको बैंकहरुबिच ब्याजदरको प्रतिष्पर्धा छ । ३/४ प्रतिशतको मुद्रास्फिती दर भएको देशमा निक्षेपको ब्याजदर १२ प्रतिशत छ । मुद्रास्फ्रिती कटाएर पनि ८ प्रतिशत आम्दानी हुने भएपछि मान्छेहरुले बैंकमा पैसा राख्नु स्वभिावक हो । सेयर बजारका लगानीकर्ताले पनि त्यता भन्दा बैंकमा पैसा राख्दा नै बढि आम्दानी हुने देखेपछि सेयर बेच्नु स्वभाविक नै हो । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा मलाई अर्थमन्त्रालयमा काजमा बोलाइएको थियो । त्यतिबेला सरकारलाई मैले धेरै सल्लाह पनि दिएको थिए । त्यतिबेला पनि सेयर बजार घटाइएको थियो । खासगरी मारवाडी मुलका लगानीकर्ता बामपन्थी सरकारसँग डराएका थिए । पछि हामीले कन्भिन्स गरेका थियौं । त्यसपछि प्रचण्ड २ पटक, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई प्रधानमन्त्री बनिसकेका छन् । केपी ओली पनि दोश्रो पटक प्रधानमन्त्रीको कुर्सिमा हुनुहुन्छ । बामपन्थीहरुले कसरी सरकार चलाउँछन र कस्ता आर्थिक नीति लिन्छन् भन्ने कुरा छर्लंगै भैसकेको छ । त्यसकारण बामपन्थी सरकारसँग सेयर बजारका लगानी कर्ता डराउनुपर्ने अवस्था छैन् । सम्पति सुद्धिकरण विभाग, राजश्व अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभाग र समाज कल्याण परिषदलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएपछि निजी क्षेत्र त्रसित भएको मैले बुझेको छु । यसले त झन असल रुपमा काम गर्ने व्यवसायीहरुलाई प्रोत्साहन दिन्छ । तर व्यवसायीहरु पारदर्शी हुनुपर्ने भयो भनेर डराईरहेको जस्तो देखिन्छ । त्यसरी डराउनु आवश्यक छैन् । अर्काे तर्फ केपी ओलीले प्रधानमन्त्री बन्नु अघि हामी जिम्मा लिन्छौं भनेका थिए । तर अर्थमन्त्रीले त्यसरी जिम्मा लिने कुरा गरेनन् । अर्थमन्त्रीका पछिल्ला अभिव्यक्तिहरु प्राविधिक रुपले ठिक छन् । तर उनले आश्वासन दिएनन् । गभर्नर भएका बेला वर्तमान अर्थमन्त्रीले बैंकहरुलाई गलत बाटोमा जानबाट रोका थिए । केन्द्रिय बैंकदेखि योजना आयोगको समेत जिम्मेवारी सम्हाली सकेका वर्तमान अर्थमन्त्रीसँग लगानी कर्ता अलिअलि डराएका हुन सक्छन् । तर त्यसरी डराउनुपर्ने कुनै कारण छैन् । निजी क्षेत्र अलि पारदर्शी छैन। त्यसकारण बुझेका अर्थमन्त्रीसँग डराएको हुन सक्छ । तर निजी क्षेत्रलाई निषेध गरेर होइन बिस्तारै पारदर्शी बनाउँदै लैजाने हो ।-कुराकानीमा आधारित
सेयर बजार सुधारका लागि सरकारले तत्काल चाल्नुपर्ने कदम: मार्जिन लेन्डिङ सीमा ७० प्रतिशतदेखि अनलाइन ट्रेडिङसम्म
उत्तम अर्याल काठमाडौं । नेपाल सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले सेयर बजार दिनानुदिन घट्दै गएको अवस्थामा आफू लगायत सम्पूर्ण लगानीकर्ताहरु निरुत्साहित रहेको बताएका छन् । नेपाल पुँजीबजार लगानीकर्ता संघ र नोबल इनिसियसन नेपालद्धारा आयोजित एक कार्यक्रममा अर्यालले सो कुरा बताएका हुन् । उनले केपी ओलीको सरकार आएपछि र त्यसअघि पनि सेयर बजारले नकारात्मक सन्देश दिइराखेको बताएका छन् । प्रधानमन्त्री ओलीले बजारका बारेमा सकारात्मक प्रतिकृयाहरु दिइरहेकाले लगानीकर्ताहरु आशावादी रहेका र पुँजीबजारले राम्रै गति लिन्छ भने चाहाना राखेका थिए । तर अहिलेको बजारको गतिविधिले सबै लगानीकर्ताका आशा र चाहनाहरु तुषारापात भएको उनले गुनासो छ । पुँजीबजारमा ठुलो गिरावट आइसकेको छ । २१ खर्ब रुपैयाँको पुँजीबाट १५ खर्बभन्दा तल झरिसक्दा पनि सम्बन्धित निकायहरु मौन रहेकोप्रति उनको गुनासो छ । बजार १७/१८ सयमा पुग्दा होस गरेर लगानी गर्नुस् भन्दै प्रेस विज्ञप्ति छाप्ने नियामक निकायबाट अहिलेको यस्तो गम्भीर अवस्थामा केही प्रतिकृया नआएकोमा उनले दुःख व्यक्त गरेका छन् । नियामक निकायको यस्तो कृयाकलापबाट निरुत्साहित हुँदै उनले सेयर बजार सुधारका लागि सरकाले तत्काल गर्नुपर्ने केही कामहरु उल्लेख गरेका छन् । १. सरकारी कार्यालयमा वार्षिक कार्यदेश सहितको जिम्मेवारी कार्यक्रममा संघका अध्यक्ष अर्यालले नेपालको पुँजीबजारमा कार्यरत सरकारी निकायहरुमा वार्षिक कार्यदेश सहितको जिम्मेवारी दिन आग्रह गरेका छन् । उनले वर्षमा कुन कुन निकायले केके काम गरिरहेको छ त्यसको कार्यादेश सहितको काम गर्नेलाई पुरस्कार र नगर्नेलाई दण्डको भागीदार बनाउन सरकारप्रति आग्रह गरेका हुन् । २.अनलाइन कारोबार प्रणालीको प्रगति विवरण साप्ताहिक रुपमा सार्वजनिक होस् “अनलाइन गर्ने भन्या छ तर कँहा पुग्या छ, कुन अवस्थामा छ कसैलाई केही थाहा छैन” भन्दै उनले अनलाइन प्रणालीमा सुधार गर्न आग्रह गरेका छन् । जसले गर्दा लगानीकर्ताले पनि यस प्रणालीमा यस्तो हुँदै छ, यो यँहा पुग्यो भन्ने बारेमा सम्पूर्ण विवरणहरु थाहा पाउनेछन् । ३. नयाँ लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने पुँजी बजारमा नयाँ लगानीकर्ताहरुलाई नयाँ लगानीमैत्री वातावरण सिर्जना गर्न प्रोत्साहनका कार्यक्रमहरु आवश्यक रहेको अर्यालले बताएका छन् । अहिले पुँजीबजारमा भइरहेका १०/२० लाख जनाले मात्रै पुग्दैन, अब १ सेयर हुनेको ४ सेयर भइसक्यो भन्दै उनले यसको खपत बढाउनको लागि नयाँ नयाँ लगानीकर्तालाई यस क्षेत्रमा ल्याउन नियामक निकायहरुले नयाँ कार्यक्रम गर्नुपर्ने सुझाएका छन् । ४. दीर्घकालीन लगानी गर्ने लगानीकर्ताहरुलाई कर छुटको व्यवस्था कार्यक्रममा अर्यालले पुँजीबजारमा लगानी गर्ने मध्य दीर्घकालसम्म लगानी गर्ने लगानीकर्तालाई कर छुटको व्यवस्था हुनुपर्ने बताएका छन् । यसका साथै, दीर्घकालीन लगानीकर्तालाई विभिन्न सुविधाका साथै बजारप्रति प्रोत्साहन दिने कार्यक्रमको व्यवस्था गर्न सरकारसँग उनको माग छ । ५. सेयर बाँडफाँड भएको ७ दिनभित्र सेयरधनीको खातामा पुग्ने व्यवस्था गरियोस् बैंक तथा वित्तीय संस्थाले घोषणा गरेको बोनस, हकप्रद, एफपीओ बाँडफाँड भएको मितिले ७ दिन भित्र सम्बन्धित सेयरधनीको डिम्याट अकाउन्टमा पुग्ने व्यवस्था गर्न नियामक निकायलाई ध्यानाकर्षण गरेका छन् । सेयर वितरण भएको ६/७ महिना भइसक्दा पनि बोनस सेयर आफ्नो खातामा नआएकाले नियामक निकायहरुले ध्यान पुर्याउन आवश्यक रहेको उनले बताए । ६. एउटा साधारणसभाले पारित गरेको प्रस्ताव अर्को सधारणसभाले उल्ट्याउन नपाउने विभिन्न कम्पनीहरुले एक पटक साधारणसभाबाट पास गरेको बोनस, हकप्रद, एफपीओजस्ता प्रत्यक्ष लगानीकर्तामा असर गर्ने निर्णयहरु पुनः अर्को साधारणसभाबाट थपघट वा उल्ट्याउन नपाइने व्यवस्था गर्न नियामक निकायहरुको ध्यान पुग्न आवश्यक देखिएको उनले बताए । जस्तै, एभरेष्ट इन्स्योरेन्स कम्पनीको सर्वसाधारणले किनेको १ः६ अनुपातको हकप्रद सेयर प्रमोटर सेयरमा परिणत हुँदैछ । यसले सर्वसाधारणको मान्यता दिँदैन भन्ने उनको भनाई छ । ७. राष्ट्र बैंकबाट घटाइएको मार्जिन कर्जा सीमा ७० प्रतिशत पुन कायम गरियोस् मार्जिन लेन्डिङ ५० बाट ७० प्रतिशत पुर्याउन उनको सुझाव छ । लगानीकर्ताले बैंकमा राखेको धितोमा लगानीकर्ताको धितो नपुगेर मार्जिन कल आइरहेको छ, यसबाट उनीहरुलाई राहत आउन सक्ने अर्यालले बताएका छन् ।
सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल बैंकको एफपीओ पनि रोकियो
काठमाडौं । सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल बैंकले तत्काल थप निष्कासन(एफपीओ) नल्याउने भएको छ । बजार ओरालो लागेपछि बैंकको सेयर मूल्यमा गिरावट आउँदा एफपीओको धेरै मूल्य नपाउने अवस्था देखिएपछि बैंकले तत्काल एफपीओ नल्याउने योजना बनाएको हो । बैंकले चुक्तापुँजी बढाउन १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँको एफपीओ निष्कासन गर्न लागेको थियो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।बजार घटिरहेकोले एफपीओ तत्काल नल्याउने बैंकका महाप्रवन्धक दुर्गाराज रेग्मीले बताए । विकास न्युजसँग कुरा गर्दै उनले बजार सुधार भएर अनुकुल वातावरण बनेपछि मात्र एफपीओको प्रक्रिया अघि बढाउने उनको भनाई छ । गत फागुन २५ गते सम्पन्न बैंकको ५८औं वार्षिक साधारणसभा पुँजीगत रुपमा अझ मजबुत बन्नका लागि एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । पछिल्लो समयमा बैंकको सेयर मूल्यमा पनि निरन्तर गिरावट आई प्रतिकित्ता ३ सय रुपैयाँमा झरेको छ । गत बैशाखमा बैंकको सेयर मूल्य प्रतिकित्ता ५१९ रुपैयाँसम्म पुगेको थियो । बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने गरी एफपीओ सेयर संरचना सभाले पारित गरेको छ । बैंकमा सरकारको ५१ प्रतिशत स्वामित्व रहनेछ । सेयर बजार प्रतिकुल भएका कारण एफपीओ निष्कासन गर्न मर्चेन्ट बैंकर नियुक्ति नगरेको उनको भनाई छ । मर्चेन्ट बैंकर नियुक्त गरेर एफपीओका लागि धितोपत्र बोर्डमा निवेदन दिने काम अहिले रोकिएको उनले जानकारी दिए । सैदान्तिक रुपमा एफपीओ निष्कासनको निर्णय भएपनि बजारमा प्रतिकुल अवस्था सिर्जना भएकाले केही ढिलाइ हुन गएको रेग्मीले भने ।
सेयर बजार ओरालो लाग्ने क्रम जारी, परिसूचक ८ अंकले घट्दा २६ करोडको कारोबार
काठमाडौं । केही समययता सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । बजारमा परिसूचक सँगै सेयर कारोबार रकममा पनि भारी गिरावट आइरहेको छ । बैंकसँग लगानीयोग्य पुँजी नभएपछि व्याजदर बढ्यो र सेयरबाट आउने प्रतिफल घट्दा थप लगानी आउन नसकेपछि यसको असर सेयर कारोबारमा परेको विश्लेषकहरुको भनाई छ । सोमबारको नेप्से परिसूचक ८.४४ अंकले घटेर १२७० अंकमा झरेको छ । त्यस्तै, १५२ कम्पनीको सेयर कारोबार भएको उक्त दिनको बजारमा कुल २६ करोड ६२ लाखको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४ करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(आइतबार)को बजारमा ३० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको एकैदिन ३ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नागरिक लगानी कोष र नबिल बैंकको क्रमशः २ करोड ९८ लाख र १ करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा अन्य, उत्पादनमूलक र ट्रेडिङ समूह बाहेक बाँकी समूहको ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूह ५० अंकले ओरालो लागेको छ । मंगलबार अपी पावर कम्पनीका सेयरधनीले ९.८० प्रतिशत गुमाएका छन् । त्यस्तै, काबेली विकास बैंक, यूनाईटेड इन्स्योरेन्स र अरुण काबेली पावरको सेयर मूल्य ५/५ प्रतिशतले घटेका छन् । उता स्वदेशी लघुवित्त वित्तीय संस्था र सानिमा इक्विटी फण्डका लगानीकर्ताले अघिल्लो दिनको तुलनामा ५/५ प्रतिशत कमाएका छन् ।
अर्थमन्त्री खतिवडाले भने- सेयर बजार वृद्धिको पक्षमा छु
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफु सेयर बजारको पक्षमा रहेको बताएका छन् ।उनले सेयर बजार सुधारको पक्षमा रहेको भन्दै गलत प्रचार नगर्न अनुरोध गरेका छन् । अर्थमन्त्री डा. खतिवडाले जानकारी बिना नै सेयरमा लगानी गर्दा जोखिम बढ्न सक्ने बताएका हुन् । कम्पनीको वित्तीय अवस्था हेरेर मात्र लगानी गर्न अर्थमन्त्रीले सुझाएका छन् । अबस्थामा लगानीकर्ता जानकार भए बित्तिय जोखिम कम हु्ने उनको भनाई छ । नेपाल चार्टड एकाउन्टेन्ट विद्यार्थी संगठनले शनिबार राजधानीमा आयोजना गरेको पहिलो अन्तराष्ट्रिय सिए विद्यार्थी सम्मेलनको उद्घाटन गर्दे अर्थमन्त्री खतिवडाले कम्पनीको आर्थिक अबस्था बुझेर मात्र सेयरमा लगानी गर्न सुझाव दिएका थिए । केहि दिन अघि सेयर बजारप्रति आफुले गरेको टिप्पणी नकारात्मक रुपमा प्रचार भएको भन्दै उनले आफु सधै पुँजी बजार वृद्धि हुनुपर्छ भन्ने पक्षमा रहेको सुनाए । सेयर बजार उत्पादनमुलक क्षेत्र नभएको अर्थमन्त्रीको अभिव्यत आएपछि सेयर मूल्यमा व्यापक गिरावट आएको थियो । पछिल्लो समय बजार बढ्न सकेको छ्रैन् । हकप्रद, साधारण र थप निष्कासनले आपूर्ति बढाएको र लगानीयोग्य पुँजीको अभावले बैंक ब्याजदर बढेपछि यसको असर बजारमा परेको लगानीकर्ताको भनाई छ ।
इन्भेष्टर्स फोरम तातेपछि सेयर बजारमा सुधार, सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको काराेबार
काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले सोमबार सेयरधितो कर्जा सीमा बढाउन सरकारसँग माग गरेपछिको मंगलबारको सेयर बजारमा सुधार भएको छ । फोरमले सेयर बजार निरन्तर घट्दै गएपछि सोमबार सेयरधितो कर्जा सीमा बढाउन माग गरेको थियो । खुलेदेखि नै सुधारको संकेत देखिएको मंगलबारको सेयर बजार अन्तत हरियो नै भएर बन्द भएको छ । समग्रमा नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ४.८९ अंकले उकालो लागेर १२८१.९० अंकमा पुगेको छ । कुल १५६ कम्पनीको २३ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २ करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७२० रुपैयाँ रहेको छ । त्यसैगरी, नबिल बैंक, यूनिलिभर नेपाल र एभरेष्ट बैंकको एक करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । बजारमा कारोबारमा आएका ३ समूह बाहेक अन्य बाँकी समूहको सूचक हरिया देखिएका छन् । सबैभन्दा बढी होटल समूहको सूचक ६१ अंकले उकालो लागेको छ भने सबैभन्दा बढी उत्पादनमूलक समूह ३२ अंकले ओरालो लागेको छ ।
सेयर बजार ३१ अंकले घट्यो, दुई कम्पनीका लगानीकर्ताले गुमाए ९ प्रतिशत बढी
काठमाडौं । आइतबारको सेयर बजार निरन्तर ओरालो लागेको छ । सो दिन बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक बजार बन्द हुँदा ३१.०४ अंकले घटेर १२८४.०९ अंकमा झरेको छ । बजारमा परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । आइतबार जम्मा १६० कम्पनीको ३२ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । आइतबार २ कम्पनीको सेयर मूल्यमा करिब १० प्रतिशत गिरावट आएको छ । सबैभन्दा बढी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा गिरावट आएको छ । सो दिन यस संस्थाका लगानीकर्ताले ९.३८ प्रतिशत गुमाएका हुन् । त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले पनि अघिल्लो दिनको तुलनामा ९.३३ प्रतिशत गुमाएका छन् । सो दिन कारोबारमा आएका सबै समूहका परिसूचक राताम्मे भएका छन् । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक २४३ अंकले घटेको छ । त्यस्तै, फाइनान्स समूह बाहेक बाँकी समूहको सूचक दोहोरो अंकले घटेको छन् । फाइनान्स समूह ८ अंकले ओरालो लागेको छ । आइतबार गुमाउने १० कम्पनी
अपडेटः सेयर बजार दोहोरो अंकले उकालो, सबै समूह हरिया
काठमाडौं । सेयर बजारमा उतारचढाव देखिएको छ । मंगलबार कारोबार खुलेदेखि दोहोरो अंकले ओरालो लागेको सेयर बजार करिब २ बजेतिर दोहोरो अंकले उकालो लागेको छ । दिउँसो १ बजेर ५१ मिनेट जाँदा नेप्से परिसूचक १७ दशमलब ३१ अंकले उकालो लागेर १३०५ अंकमा पुगेको छ । सो अवधिसम्म १५४ कम्पनीको ३३ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, कारोबारमा आएका ९ वटै समूह हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूह १५२ अंकले उकालो लागेको छ ।
सेयर बजार ओरालो लाग्ने क्रम जारी, नेप्से १६ अंकले घट्दा ३९ करोडको कारोबार
काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । आइतबार उच्च अंकले ओरालो लागेको नेप्से सोमबार पनि दोहोरो अंकले ओरालो लागेको छ । सोमबार बजार खुलेको आधा घण्टासम्म परिसूचक उकालो लागेर १३१९ अंकमा पुगेको थियो । तर त्यसपछिको बजार भने निरन्तर ओरालो लागेको छ । अन्ततः नेप्से परिसूचक १६ दशमलब ६९ अंकले घटेर १२८७ दशमलब ७४ अंकमा झरेको छ । दोहोरो अंकले घटेको बजारमा ३९ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५३ कम्पनीका ९ लाख ७७ हजार कित्ता सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार ट्रेडिङ र होटल समूह बाहेक बाँकी समूह राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह ११९ अंकले ओरालो लागेको छ । उत्पादमूलक, जलविद्युत र माइक्रोफाइनान्स समूह क्रमशः ४६,४५ र ४३ अंकले घटेका छन् । ट्रेडिङ र होटल समूह क्रमशः ६ र २ अंकले बढेको छ ।
सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेको होइनः अर्थमन्त्री खतिवडा
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र नभनेको बताएका छन् । उनले सेयरबजार अनुत्पादक क्षेत्र भएको कुरा कुनै पनि सञ्चार माध्यममा नबोलेको जिकिर गरेका हुन् । बीबीसीसंगको अन्तरवार्तामा खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेको सार्वजनिक भएको थियो । तर उनले भने सेयर बजारलाई अनुत्पादक क्षेत्र नभएको दावी गरेका हुन् । आफुले नभनेको कुरालाई लिएर सेयर बजारमा चलखेल भएको आरोप पनि उनले लगाएका छन् । गोरखापत्र दैनिकबाट
अर्थमन्त्री खतिवडासँग सेयर बजारले डराउनु पर्दैन
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाका कारण सेयर बजार घट्यो भन्ने आरोपमा कुनै दम छैन । खतिवडा अर्थतन्त्र बुझेका व्यक्ति हुन् । उनी अर्थतन्त्र सुधार्न र देश बनाउन भनेरै आएका हुन् । अहिले उनैलाई देखाएर सेयर बजार घट्यो भन्न थालिएको छ जसको कुनै तुक नै छैन । अहिले सेयर बजारमा सेलरको चाप पनि खासै छैन। कुनै पनि बाणिज्य बैंकको ४ करोड कित्ता सेयर बेच्न लायक हुन्छन् । तर बजारमा बेच्ने तयारी गरिएको सेयर भनेको करिब २० प्रतिशत मात्रै हुन्छ । एक दिनमा एउटा बाणिज्य बैंकको ८० लाख कित्ता सेयर बेच्न तयार हुन्छ । अहिले त्यसको २० प्रतिशत पनि बेच्ने सूचिमा आईसकेको छैन । लगानीकर्ताहरुले बैंक वा अन्य ठाउँबाट ऋण लिएर लगानी गरेका होलान् । त्यस्तो अवस्थामा अलिकति बजार घट्ने वित्तिकै डराउँछन् । बैंक भन्दा अलि राम्रो प्रतिफल आउँछ भनेर सेयरमा लगानी गरेका हुन् । कर बाहेक बार्षिक ४ प्रतिशत सेयरबाट मुनाफाबाट आउनु पर्छ भन्ने मान्यता छ । खतिवडालाई देखाएर बजारमा चलखेल भयो । अब कुरा रह्यो उत्पादक र अनुत्पादक क्षेत्रको । प्राइमरी सेयर उत्पादक हो तर दोश्रो बजारको सेयर सट्टेबाजी मात्रै हो । दोश्रो बजारको सेयर कारोबार र लगानी उत्पादक होइन । त्यो सेयरको पैसा कम्पनीमा जाँदैन । प्राथमिक सेयर चाँही उत्पादक नै हो । अर्थमन्त्रीले पनि त्यहि भन्नु भएको हो । लगानीकर्ताले प्रतिफललाई र कम्पनीको गुडविल हेर्नु पर्ने थियो । २ रुपैंयाँ पनि नकमाउने कम्पनीको सेयर मूल्य २ सय गुणा बढेको छ । त्यहाँ लगानीकर्ताले कुरा बुझेनन् । फेरी पुस देखि चैतसम्म बजार घट्ने समय नै हो । अहिलको बजारमा देखिएको गिरावट स्वभाविक प्रक्रिया हो । हामीले पनि बजार घट्ने नै अनुमान गरिरहेका थियौं । यस अघि अधिकांश कम्पनीहरुको सेयर मूल्य अस्वभाविक रुपमा बढेको थियो । बैंकहरुले ऋण नदिएर बजार घट्यो भन्नु पनि गलत नै हो । बैंकहरुले आफ्नो प्राथमिकता र केन्द्रिय बैंकको गाइडलाईन अनुसार कर्जा प्रवाह गर्ने हो । सेयर बजारमा धेरै लगानी गर्न पनि पाइँदैन र त्यस्तो जोखिम उठाउनु पनि बैंकहरुका लागि ठिक हुन्न । नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक लगायतले त सेयर कर्जा नै दिँदैनन् । त्यो बैंकहरुको व्यवसायीक योजना भित्रको कुरा हो । सेयर बजार जुवाघर होइन, यहाँ सबैले कमाउने नै हो । सेयरमा गरिएको लगानी कहिल्यै पनि शुन्य हुँदैन । राम्रो कम्पनी हेरेर लगानी गर्ने हो भने कहिल्यै नोक्सानी हुन्न । यतिबेला लगानी गर्ने सुवर्ण अवसर छ । अर्काको कुरा सुनेर लगानी गरियो त्यसैले बजारमा अस्थिरता देखिएको हो । ‘हम तो मरेंगे सनम तुम्को भी साथ ले चलेंगे’ जस्तो भैरहेको छ । लगानीकर्ताले आत्तिनु पर्दैन, खतिवडाले बजार घटाएका होइनन् । यीनले अर्थतन्त्र सुधार नै गर्छन् । खतिवडासँग सेयर बजार डराउनु पर्दैन । खतिवडाले गर्ने कामहरुले सेयर बजारलाई दिर्घकालिन फाइदा नै गर्छ । पुर्वाधारमा लगानी बढ्यो भने रोजगारी बढ्ने आयात प्रतिस्थापन हुने अवस्था आउँछ जसले अर्थतन्त्रलाई फाइदा नै गर्छ । आज अर्थमन्त्रीलाई गाली गर्नेहरुले सेयर किन्दा खतिवडालाई सोधेर किनेको हो र ? अर्थमन्त्रीले स्टक एक्सचेञ्ज बन्द गर्न भनेका छन् र ?(दाहालसँग गरिएको कुराकानीमा आधारित)
सेयर बजारमा गिरावट आएपछि लगानीकर्ताको यस्ता छन् प्रतिक्रिया
काठमाडौं । भारी अंकले ओरालो लागेको आइतबारको सेयर बजारप्रति लगानीकर्ताको विभिन्न प्रतिक्रिया आएको छ । सेयर बजारका लगानीकर्ताले विभिन्न फेसबुक वालमा दिएका प्रतिक्रिया यस्ता छन् । आशिष कोइराला लेख्छन्: नाङ्लो ठटाको देखेर हात्ती तर्सिदैन, जति सुकै घटोस बजार घाटामा सेयर बेचिदैन आर पि खनालः एमालेलाई भोट दिएर ठुलो गल्ती भयो भन्ने दिन आयो जस्तो छ । केपी ओलिजी लाखौं साना लगानी गर्ने जनताहरु मारमा पर्दैछन एउटा मन्त्री बहुलाएर सिङ्गो पार्टी बिग्रेको हेर्न चाहानु हुन्छ जस्तो लाग्दैन । चुनाब फेरि पनि आउन्छ पार्टीको समर्थक हुँदा हुदै पनि एमाले पता साफ भएको हेर्न नपरोस । नरेन्द्र सिजापति :“अनुत्पादक ” शब्दको चार घन्टामा निर्धारण भएको मुल्य ४७ अर्ब । विनोद आले: घट्ने र बढ्ने क्रम हुने नै गर्छ बजारमा भन्ने थाहा हुँदाहुँदै किन रुवाबासी । राम कुमारः जब जब डा. खतिवडा साहेबको आगमन हुन्छ, मार्केटमा सयौँ अंकको गिरावट हुन्छ । उहाँको आगमनले यसपटक पनि मार्केट १०० अंकको हाराहरी घटी सक्यो, अब रोकिन्छ कि ? मुकुन्द रञ्जितः धेरै घटेपछि हामी जस्ता गरीब जनताहरुले सेयर किन्ने मौका पाउँछ होला, अहिले सबै सेयरधनी जनताहरुको हातमा छ । गाबिन्द अर्यालः सेयरका दलाल र जग्गाका दलालहरु चिच्याउँदै छन् । अनिल श्रेत्रीः काला बजारी र दलालहरुका दिन गए । हाम्रो भोट पक्कै खेर जाँदैन जस्तो छ । दलाल र माफियाहरुको केही विकल्प खोजी गरे हुन्छ । नबिन कार्कीः सधै नाफा हुन्छ भन्ने छैन, जे मा नी रिक्स छ जसले रिक्स लिन्छ उसले कमाउँछ जो डराउँछ उसले घाटा खान्छ । सेयर मार्केटबाट सधै नाफा भनेर सोच्नु ठिक हैन । योगराज लामिछानेः नेप्से भोली ९०० मा आउँछ भन्छन् भने पनि बेचिदैन। योग श्रेष्ठः खतिवडाको नाम भजाएर गिद्दले सिनो लुछे झै लुछे आज । श्रेष्ठको स्ट्याटसमा प्रतिक्रिया दिँदै एचपी खकुरेल भन्छन्ः गिद्दको अगाडि सिनो राखिदिए पछि खाइहाल्छ नि यो कुनै नौलो कुरा नै हैन, यो उसको धर्म नै हो । रङ्गनाथ श्रेष्ठः साँडे सुत्यो … साना लागनीकर्ताको मुटु काम्यो अबको केहिदिनमा किने र होल्ड गर्नेको दिन फेरिने होकि ? खगेन्द्र आत्रेयः यो अर्थमन्त्री हुन्जेल पञ्च बर्श शेयरमा लगानी गर्नु आभिसाप हुन्छ होला हौ । दिपेन्द्र बर्जाचार्यः नेपालमा कम्युनिस्टहरुको सोच आफु धनी बन्ने जनतालाई एउटै लेभलमा राख्ने हो त्यसैले शेयर किनेर मालामाल भएकालाई सडकमा सुताउन खोज्दै छ….. । अतित आचार्यः येस्तै स्पीढमा माक्रेट घट्दै गयो भने के आइपीओ, एफपीओ भर्नु सिधै जानि सेकेन्डरी किन्नी । रमेश राउत : अर्थमन्त्रीको भनाइ र बैंकको ब्याजदर ८% भन्दा नबढनुलाइ भोलिको सेयरबजारमा लगानीकर्ताहरुले कसरी लिन्छ्न होला र नेप्से बढला कि घटला ? शम्भुलाल मल्ल : म संग १५००० कित्ता आइ पि ओ को शेयर छ । लौ अब यस सम्बन्धि बिज्ञ ज्यु हरूले बताइदिनु परो म घाटामा छु कि नाफामा ? माधव दुवाडी : घटनुको पनि सिमा हुन्छ नि हावा मा आतिएर लगानीकर्तालाई आफ्नो शेहर नबेचन मेरो आग्रह । लगतै पछुताउनु पर्नेछ । ज्ञानबहादुर पुडासैनीः अहिले पतझडको केहि समय बाकी छ । त्यसपछि पालुवा आइ हरियाली नै हरियाली हुन्छ । हेरौ पर्खौ । -साभार फेसबुक
अर्थमन्त्रीको एक बोलीले सेयर बजारमा पहिरो, नेप्से परिसूचक वर्षकै न्यूनतम बिन्दुमा, सोमबार के होला ?
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेपछि आइतबार भारी गिरावट आएको छ । अर्थमन्त्री खतिवडाले बीबीसीसँगको अन्तरवार्तामा सेयर बजार र घरजग्गा अनुत्पादक रहेको र उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनु पर्ने अभिव्यक्ति दिएपछि यसको असर आइतबारको सेयर बजारमा देखिएको हो । आइतबार बजार घटेर राताम्यै भएको छ । बैंकको महंगो ब्याजदर र बढी आपूर्तिले सेयर बजार घटिरहेका बेला अर्थमन्त्रीको अनुत्पादक क्षेत्र भन्ने अभिव्यक्तिले आइतबार बजार घटेको लगानीकर्ताको भनाई छ । सेयर बजारप्रति अर्थमन्त्री खतिवडा सकारात्मक नभएपछि आइतबारको नेप्से परिसूचक वर्षकै न्यूनतम बिन्दुमा पुगेको छ । एकै दिन बजारमा परिसूचक ४१ अंकले घटेर १३०४.४३ अंकमा पुगेको छ । जुन एक वर्ष यताकै न्यूनतम बिन्दु हो । एक वर्षअघि अर्थात २०७३ फागुन २२ गते परिसूचक १३५४ अंकमा रहेको थियो । एक वर्षअघिकाे नेप्से परिसूचक एकैदिनको बजार तीब्र गतिमा घटेर ४१ अंकले ओरालो लागेपछि बजारका लगानीकर्ता निरास र त्रसित भएका छन् । पछिल्लो समयमा बजार निरन्तर घट्दै गएकोमा आइतबार भारी गिरावट आउदा बिक्रेता अतालिएका छन् । वामपन्थी सरकार सेयर बजारमैत्री नभएको आरोप लागिरहेका बेला अर्थमन्त्रीको भनाईले लगानीकर्तालाई हत्तोसाहित बनाएको ब्रोकरहरुको भनाई छ । साधारण सेयर (आईपीओ) हकप्रद, थप निष्कासन(एफपीओ) र सामुहिक लगानी कोष (म्युचअल फण्ड) को बढी आपूर्ति भएपछि बजार माथि जान नसकेको लगानीकर्ता बताउछन् । यस्तै बैंकको महंगो ब्याजदरले ठुला लगानीकर्ताको बजारमा प्रवेश नभएपछि खरिदकर्ताको कमी र आपूर्ति बढी भएपछि बजार निरन्तर घट्दै गएको छ । बैंकबाट १४ प्रतिशत ब्याजमा ऋण लिएर ६ प्रतिशत भन्दा कम प्रतिफल आउने भएपछि ठुला लगानीकर्ता अहिले बजारबाट बाहिरिएका छन् । बजारमा कारोबारमा आएका सबैसमूह राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह २८६ अंकले ओरालो लागेको छ । त्यस्तै, अन्य बाँकी समूहको सूचक दोहोरो अंकले घटेका छन् । त्यस्तै, आइतबार कारोबारमा आएका १५१ कम्पनी मध्ये १४९ कम्पनीको सेयर सेयर मूल्यमा गिरावट आएको छ । बाँकी दुई कम्पनी सूर्योदय र स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने क्रमशः ३.९३ र १.८६ प्रतिशतले बढेको छ ।
अपडेटः सेयर बजार ३.०४ प्रतिशतले ओरालो, सबै समूह राताम्मे
काठमाडौं । आइतबार बजार खुलेको २ घण्टामै सेयर बजार ३.०४ प्रतिशतले ओरालो लागेको छ । सो दिन करिब १ बजेर ७ मिनेट जाँदा नेप्से परिसूचक ४० अंकले घटेको छ । भारी अंकले घटेको बजारमा सबै सूचकहरु राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २३४ अंकले ओरालो लागेको छ । बजारमा परिसूचक सँगै काराबार रकममा पनि गिरावट आएको छ । सो अवधिसम्म कूल १३८ कम्पनीको २३ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् ।
अर्थमन्त्रीले अनुत्पादक क्षेत्र भनेपछि सेयर बजार झनै घट्यो
काठमाडौं । सेयर बजार आइतबार ३० अंकले भारी गिरावट आएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार अनुत्पादक क्षेत्र भनेको चर्चा चलेपछि यसको असर बजारमा परेको हो । घटिरहेको बजार नयाँ सरकार आएपछि पनि झनै घटेको छ । बीबीसीसंगको अन्तरवार्तामा अर्थमन्त्री डा. खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेको बुझाइ लगानीकर्तामा अाएको छ । अर्थमन्त्री सेयर बजार प्रति सकरात्मक छैनन् । सेयर बजारमा लगानीकर्ताको मनोवल र विश्वास झनै गुमाएको एक ब्रोकरले बताए । “नयाँ सरकार आएपछि बजार बढ्ने अनुमान गरिएको थियो तर झन घट्यो” उनले भने “अर्थमन्त्रीको अनुत्पादक क्षेत्र भन्ने समाचार बाहिर आएपछि बजार घट्नमा सहयोग पुगेको हो।” अर्थमन्त्री सेयर बजारप्रति सकरात्मक नभएको आरोप लाग्दै आएको छ । अनुत्पादक क्षेत्र भनेको चर्चा चलेपछि यसको असर बजारमा परेको हो । घटिरहेको बजार नयाँ सरकार आएपछि पनि झन् घटेकाे छ । सेयर बजारमा लगानीकर्ताको मनोवल र विश्वास झनै गुमाएको एक ब्रोकरले बताए । नयाँ सरकार आएपछि बजार बढ्ने अनुमान गरिएको थियो तर झन घट्यो उनले भने अर्थमन्त्री डा. खतिवडाको अनुत्पादक क्षेत्र भन्ने समाचार बाहिर आएपछि बजार घट्नमा सहयोग पुगेको उनको भनाई छ ।
नयाँ सरकारलाई पत्याएन सेयर बजारले, परिसूचक दोहोरो अंकले ओरालो
काठमाडौं । नयाँ सरकार विस्तार भएपछि पनि सेयर बजारमा सुधार भएको छैन । सरकार विस्तार भई अर्थमन्त्रीका रुपमा डा. युवराज खतिवडा नियुक्त भएपछिकाे बुधबारको बजार पनि दोहोरो अंकले ओरालो लागेको छ । सो दिनको नेप्से परिसूचक १८.८२ अंकले घटेर १३४५.९९ अंकमा झरेको छ । केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएको दिन ३६ अंकले सेयर बजार उकालो लागेको थियो । त्यसपछि निरन्तर घटेको बजार अर्थमन्त्रीमा खतिवडा नियुक्त भएको दिन पनि सामान्य अंकले बढेको थियो । त्यसपछिको बजार भने निरन्तर ओरालो लागिरहेको छ । बजार अझै ओरालो लाग्ने क्रम जारी छ । नयाँ सरकारलाई सेयर बजारले नपत्याएको देखिएको छ । बजारमा लगानीकर्ताको विश्वास नबढेको र बैंकको चर्को ब्याजदरले पनि बढ्न नसकेको लगानीकर्ता बताउछन् । दोहोरो अंकले घटेको बजारमा कारोबारमा आएको सबै सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको सूचक १५१ अंकले ओरालो लागेको छ । त्यस्तै, जलविद्युत, होटल, लघुवित्त, विकास बैंक, बैंकिङ र अन्य समूहको सूचक दोहोरो अंकले घटेका छन् । बुधबारको बजारमा कूल १६० कम्पनीको ५४ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी प्रभु बैंकको ६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । यस प्रभुको सेयर मूल्य प्रतिकित्ता २२७ रुपैयाँ रहेको छ । प्रभुको सेयर मूल्य सस्तो भएकाले लगानीकर्ताले बढी खरिद गरेका हुन् । बजारमा सबैभन्दा बढी सिभिल बैंकका लगानीकर्ताले ५.८४८ प्रतिशत गुमाएका छन् भने सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४ प्रतिशतले बढेको छ ।
सेयर बजार घट्दा लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्समा झुम्मिए, यस्तो छ कारण
काठमाडौं । दोहोरो अंकले घटेको सोमबारको बजारमा लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा झुम्मिएका छन् । एकैदिन यस कम्पनीको ५८ हजार ६२४ कित्ता सेयर १० करोड ५६ लाख रुपैयाँमा कारोबार भएको छ । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७८४ रुपैयाँ रहेको छ । सेयरधनीलाई साढे ७०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेपछि लगानीकर्ता यस कम्पनीमा झुम्मिएका हुन् । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४२ प्रतिशत बोनस र २८.५३ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने घोषणा गरेको थियो । नेपाल लाइफ इन्स्योरेन्सपछि प्रभु बैंकको ५ करोड ९० लाख रुपैयाँ बराबराको सेयर किनबेच भएको छ । सोमबारको बजारमा कुल १५१ कम्पनीको ५५ करोड २४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । सो दिन सेयर बजार १५.७८ अंकले घटेर १३५८.९५ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा सोमबारको परिसूचक १.१५ प्रतिशतले घटेको हो । दोहोरो अंकले घटेको बजारमा कारोबारमा आएका सबै सूचकहरु राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १२२ अंकले ओरालो लागेको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक भन्छन्- सेयर बजारलाई जुवा घर बनाउनु हुन्न
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गोपाल भट्टले नेपालको सेयर बजारलाई जुवाघर बनाउनु नहुने बताएका छन् । मिडिया इन्टरनेशनलले शुक्रबार राजधानीमा आयोजित ‘नेपालको वर्तमान सेयर बजारको अवस्था र सेयर प्रविधि’ विषयक अन्तरक्र्रिया कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक भट्टले सेयर बजारमा वास्तविक क्षेत्रले नेतृत्व गर्ने गरी विकास गर्नुपर्ने बताए । ‘अहिले नेपालको पुँजी बजार वित्तीय क्षेत्रले नेतृत्व गरिरहेको छ,’ उनले भने, ‘उद्योग, व्यवसाय र सेवा क्षेत्रलाई पनि भित्राउन सके नेपालको सेयर बजार स्थिर बन्नेछ ।’ कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले प्राथमिक बजार प्रविधिको प्रयोगमा निकै अगाडी बढिसकेको भए तापनि दोस्रो बजारमा अझै पनि प्रविधि भित्रिन नसकेको बताए । ‘अन्य मुलुकहरुमा प्राथमिकको तुलनामा दोस्रो बजार प्रविधिको प्रयोगमा निकै अगाडी हुने गरेको छ । नेपालमा भने ठिक विपरीत भइरहेको छ,’ गिरीले भने, आगामी असार/साउनसम्ममा दोस्रो बजारमा पनि प्रविधि भित्र्याउनेछौँ ।’ त्यस्तै, मर्चेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष ध्रुव तिमल्सिनाले प्राथमिक बजारमा सीआस्वा लगायतका प्रविधिका कारण सेयर आवेदन दिन र संकलन गर्न सहज भएको बताए । दोस्रो बजारमा भने अझै पनि ब्रोकरकोमा धाउनुपर्ने बाध्यता रहेको भन्दै उनले छिटोभन्दा छिटो अनलाइन ट्रेडिङको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए । ब्रोकर एसोसिएसनका निवर्तमान अध्यक्ष नरेन्द्र सिजापतिले सेयर ब्रोकरको दायरा फराकिलो बनाई दोस्रो बजारलाई समेत विकसित बनाउनुपर्ने बताए । अहिले प्राथमिक बजारमा मात्रै प्रविधिहरुको विकास भइरहेको औँल्याउँदै उनले दोस्रो बजारमा पनि प्राविधिहरु प्रयोगमा जोड दिनुपर्ने उनको भनाई थियो ।
ज्ञानेन्द्रलाल प्रधान भन्छन–एनआरएनको लगानी खुला र अनलाइन कारोबार नभएसम्म सेयर बजार बढ्दैन
काठमाडौं । अझै घट्ने लगानीकर्ताको मनोविज्ञानले गर्दा सेयर बजारमा निरन्तर गिरावट आएको छ । पछिल्लो समयमा बजार निरन्तर घट्दै गएपछि सेयर लगानीकर्ताले निरन्तर गुमाउदै गएका छन् । नयाँ सरकार आएपछि बजार बढ्ने अनुमान गरिएको थियो । केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएको दिन ३६ अंक बढे बाहेक अन्य दिन बजार निरन्तर घट्दै गएको छ । बजारमा नयाँ राहतको प्याकेज नल्याएसम्म बजार बढ्ने संभावना नदेखिएको लगानीकर्ताको भनाई छ । बैंकको महंगो ब्याजदर, हकप्रद, साधारण सेयर (आईपीओ) र एफपीओको बाढीले आपूर्ति बढेपछि बजार माथि उठ्न नसकेको लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधान बताउछन् । अहिले बैंकसंग सेयरमा लगानी गर्न लगानीयोग्य पुँजी नभएका बेला बढ्दो सेयर आपूर्तिलाई खरिद गर्नका लागि ठुलो लगानीकर्ताको प्रवेश नहुदा बजार बढ्न नसकेको उनको तर्क छ । गैरआवासिय नेपाली (एनआरएन) र वैदेशिक लगानी खुला गरे मात्र बजार माथि जाने उनको विश्लेषण छ । सरकारले गैरआवासिय र वैदेशिक लगानी खुला र अनलाईन सेयर कारोबार सुरु भएपछि बजार बढ्ने उनको तर्क छ । पछिल्लो समयमा ठुला लगानीकर्ता धमाधम बजारबाट बाहिरिन थालेको उनका भनाई छ । बजार बढाउन सेयरमा ठुलो लगानी आवश्यक भएको उनको तर्क छ । सरकारले राहतको कार्यक्रम नल्याएसम्म बजार नबढ्ने एक ब्रोकर बताउछन् । बैंकको महंगो ब्याजले पनि बजारलाई प्रभावित पारेको ती ब्रोकरको तर्क छ । अहिले बैंकबाट महंगोमा कर्जा लिएर लगानी गर्दा प्रतिफल आउनुको सट्टा घाटा हुने भएपछि विशेष गरेर बैंकको ऋणबाट सेयर किन्ने ठुला लगानीकर्ता बजारबाट बाहिर रहेको उनको भनाई छ । बिहीबार पनि बजार बढ्न सकेन । बजार निरन्तर घट्दै गएर नेप्से परिसुचक १ हजार ३ सय ८७ मा झरेको छ । बिहीबार साढे ४२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । विकास बैंक, वित्त र उत्पादनमुलक बाहेक अन्य क्षेत्रको सेयर मूल्य घटेको छ । सेयर बजार घटेका बेला नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर सबैभन्दा बढी कारोबार भएको छ । प्रतिकित्ता १ हजार १ सय रुपैयाँमा संस्थापक सेयर किनबेच भएको छ । नेपाल लाइफको ५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै ओम डेभलपमेन्ट बैंकको बुक क्लोजको समय आएकाले लाभांश पाउने आशामा बढी कारोबार भएको छ । बिहीबार ओम डेभलपमेन्टको प्रतिकित्ता २३१ मा ३ करोड ६० लाख ५५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
सेयर बजार घट्दा लगानीकर्ता ओम डेभलपमेन्ट बैंकमा झुम्मिए, यस्तो छ कारण
काठमाडौं । सेयर बजार घटेका बेला बुधबार लगानीकर्ता ओम डेभलपमेन्ट बैंकमा झुम्मिएका छन् ।बुधबार ओम डेभलपमेन्टको प्रतिकित्ता २२९ रुपैयाँमा ३ करोड ५४ लाख ६४ हजार रुपैयाँ बराबरको १ लाख ५६ हजार ८२४ कित्ता सेयर किनबेच भएको छ । ओमको सेयर प्रतिकित्ता २२७ देखि २३० रुपैयाँसम्म कारोबार भएको छ । ओम डेभलपमेन्टले साधारणसभामा जाने प्रयोजनको लागि आगामी फागुन १४ गतेदेखि २५ गतेसम्म ११ दिन बुक क्लोजको घोषणा गरेपछि लाभांश पाउने आशमा लगानीकर्ता ओमको सेयर किनेका हुन् । ओमको ११औँ वार्षिक साधारणसभा फागुन २५ गते हुदैछ ।सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १७.६९ प्रतिशत अर्थात ३७ करोड ८१ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । ओमपछि राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक सेयर किनबेच भएको छ । बुधबार बीमा कम्पनीको प्रतिकित्ता १२ हजार ७७५ रुपैयाँमा ३ करोड १० लाख ३१ हजार रुपैयाँ बराबरको २ हजार ४६२ कित्ता संस्थापक सेयर कारोबार भएको छ । बुधबार सेयर बजार ९.६४ अंक घटेर १ हजार ३८७ अंकमा झरेको छ । बजार घटेपछि यसको असर कारोबार रकमा पनि परेको छ । बुधबार २८ करोड ५५ लाख रुपैयाँको मात्र सेयर किनबेच भएको छ । मंगलबारको तुलनामा बुधबार सेयर कारोबार १२ करोड रुपैयाँ घटेको छ । बुधबार सबै परिसूचकको सेयर घटेको छ ।