मार्जिन ट्रेडिङ कार्यविधि पास, जेठदेखि कारोबार सुबिधा, बढ्ला त सेयर बजार ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन ट्रेडिङ कार्यविधि पास गरेको छ । बिहीबार धितोपत्र बोर्ड सञ्चालक समितिले कार्यविधि पारित गरेको बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले बताए । कार्यविधि पास भएसँगै आगामी जेठ महिनाभत्रै योग्यता पुगेका ब्रोकरहरुले मार्जिन कारोबार गर्न सक्ने भएका छन् । उक्त कार्यविधि तत्काल कार्यान्यनमा ल्याउन बाेर्डले जेठ ३ गते नै नेप्सेलाई निर्देशन दिएको छ । बाेर्डको निर्देशन बमोजिम नेप्सेले छिट्टै उक्त कार्यविधि कार्यान्वयनमा ल्याउने र सोबाट धितोपत्रको दोस्रो बजारमा नयाँ अध्याय थपिने बोर्डको विश्वास छ । दक्षिण एसियाका कतिपय मुलुकहरुमा समेत कार्यान्वयनमा आइनसकेको यो सुविधाबाट दोस्रो बजारको तरलतामा अभिबृद्धि हुने, लगानीकर्ताहरुलाई शेयर खरिद बिक्री गर्न थप सहज हुने तथा धितोपत्र व्यवसायको दायरा समेत फराकिलो हुनगई धितोपत्र कारोवार बढी गतिशिल हुन मद्दत पुग्ने बोर्डको अपेक्षा रहेको छ । मार्जिन ट्रेडिङको सुबिधाले सेयर बजारको विकास र स्थायीत्वमा सहयोग पुग्ने अनुमान गरिएको छ । तर मार्जिन कारोबार सम्बन्धी निर्देशन अनुसार थोरै ब्रोकर कम्पनीले मात्रै यो सुबिधा दिन सक्ने सेयर ब्रोकरहरुको भनाई छ । अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुरुप लगानीकर्तालाई मार्जिन कारोवार सुविधा उपलब्ध गराउने तथा धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यले बोर्डले मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन २०७४ र कार्यविधि २०७५ जारी गरेको बोर्डले जनाएको छ ।
साउनयता सेयर बजारमा मात्रै २८ अर्ब २४ करोड थप लगानी
काठमाडौं । साउनयता सेयर बजारमा विभिन्न माध्यमबाट २८ अर्ब २४ करोड रुपैयाँ लगानी भएको छ । साधारण सेयर (आईपीओ) एफपीओ र हकप्रद सेयर खरिदका लागि सो रकम लगानी भएको हो । जसअनुसार आईपीओ र एफपीओमा २ अर्ब ६६ करोड ९० लाख रुपैयाँ लगानी भएको छ । यस्तै हकप्रद सेयर खरिदमा मात्रै २० अर्ब ७७ करोड ५८ लाख रुपैयाँ लगानी भएको छ । सामूहिक लगानी कोष (म्युचअल फण्ड) को एकाई खरिदमा ४ अर्ब ८० करोड रुपैयाँ लगानी भएको हो । हालसम्म जलविद्युत, वित्त र बीमाका गरी १६ कम्पनीले आईपीओ र एफपीओ निष्कासन गरिसकेका छन् । यस्तै विभिन्न ४ वटा बैंकले म्युचअल फण्डको एकाई बिक्री गरिसकेका छन् । पुँजी वृद्धिका लागि बैंक, वित्त, बीमा र जलविद्युत गरी ४५ कम्पनीले हकप्रद सेयर निष्कासन गरेका छन् । यसमध्ये केही कम्पनीले हकप्रद सेयर निष्कासनको तयारी थालेका छन् । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी), ग्रामिण विकास बैंक र प्रमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले एफपीओ निष्कासन गरेका छन् । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, सान्जेन जलविद्युत कम्पनी लिमिटेडललगायतले आईपीओ निष्कासन गरेका छन् । मेगा बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, सिभिल बैंक, प्रभु बैंक, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीलगायतले हकप्रद निष्कासन गरेका छन् । म्युचअल फण्डअन्र्तगत सिद्धार्थ, सानिमा, एनआईसी एशिया र सिटिजन्स म्युचल फण्ड रहेका छन् । अझै अर्बौ रुपैयाँ बराबरको आईपीओ, एफपीओ, हकप्रद र म्युचअल फण्ड आउने तयारीमा छन् ।
सेयर बजार दोहोरो अंकले घट्दा हिमालयन डिष्टीलरीका सेयरधनीले कमाए ९ प्रतिशत बढी
काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले घटेको छ । कारोबार खुलेदेखि नै ओरालो लागेको बजार अन्त्य सम्म निरन्तर ओरालो लागेको छ । अन्ततः नेप्से परिसूचक १०.२८ अंकले घटेर १३३८.१७ अंकमा झरेको छ । अघिल्लो कारोबारको तुलनामा सेयर करोबारमा भने वृद्धि भएको छ । गत बिहीबार ३५ करोडको सेयर किनबेच भएको बजारमा सोमबार साढे ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कुल १६३ कम्पनीको १० लाख कित्ता सेयर किनबेच भएका छन् । दिनभर निरन्तर रुपमा घटेको बजारमा हिमायलन डिष्टीलरी लि.का लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यस कम्पनीका सेयरधनीले अघिल्लो दिनको तुलनामा ९.९५ प्रतिशत कमाएका छन् । त्यस्तै, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ७.०६ प्रतिशतले बढेको छ । बजारमा बीमा समूह ६९ अंकले ओरालो लागेको छ । त्यस्तै, विकास बैंक २६, माइक्रोफाइनान्स २२, हाइड्रोपावर १५ र बैंकिङ समूह १० अंकले घटेका छन् । उत्पादनमूलक २५, होटल ८ र अन्य समूह ३.६३ अंकले हरिया भएका छन् भने बाँकी समूह राताम्मे भएका छन् ।
सेयर बजार ओरालो लाग्ने क्रम जारी, सबै समूह राताम्मे
काठमाडौं । केही दिनयता सेयर बजार निरन्तर ओरालो लागेको छ । साताभरको बजारमा उतारचढाव देखिएको छ । सो अवधिमा मंगलबार बाहेक अन्य ४ दिनको बजार ओरालो लागेका छन् । अन्ततः साताको अन्तिम कारोबारमा(बिहीबार) नेप्से परिसूचक ७.७० अंकले घटेर १३४८ अंकमा झरेको छ । सो दिनको बजार ०.५७ प्रतिशतले घटेको हो । बजारमा कुल १६१ कम्पनीको ३५ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा एक करोड रुपैयाँ बढी हो । बिहीबारको बजारमा कुल ७ लाख ७३ हजार २१० कित्ता सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २ करोड २२ लाख रुपैयाँको सेयर किनबेच भएको हो । त्यस्तै, सो दिन कारोबारमा आएका ९ वटै सूचक राताम्मे भएका छन् । जसमध्ये बीमा समूहको सूचक सबैभन्दा बढी ६९ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल ३१, हाइड्रोपावर २५ र माइक्रोफाइनान्स १४ अंकले घटेका छन् भने बाँकी समूह सामान्य अंकले झरेका छन् । बजारमा सबैभन्दा बढी नेरुडे लघुवित्त विकास बैंकको ४.२५ प्रतिशतले सेयर मूल्य घटेको छ । सो दिन समता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ५.९५ प्रतिशत कमाएका छन् ।
सेयर बजार घट्दा जीबन बीमा कम्पनीको नाफामा गिरावट, नेपाल लाइफले गर्यो २० करोड नोक्सानी व्यवस्था
काठमाडौं । सेयर बजार घटेपछि अधिकांश जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाफामा गिरावट आएको छ । पछिल्लो समयमा सेयर बजारमा निरन्तर गिरावट आएपछि जीवन बीमा व्यवसाय गर्ने अधिकांश कम्पनीको असर नाफामा परेको हो । जीवन बीमा कम्पनीले १० प्रतिशतसम्म सेयर बजारमा लगानी गर्न पाउने व्यवस्था छ । बजार घटेका कारण नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा २० करोड ३८ लाख रुपैयाँ नोक्सानीको व्यवस्था गरेको छ । ठुलो रकम कर्जा नोक्सानीमा राख्नु पर्दा नेपाल लाइफको चालु आर्थिक वर्षको ९ महिनामा नाफा ६.३७ प्रतिशत मात्र बढेको छ । गत चैतसम्म कम्पनीले ४३ करोड ५७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४० करोड ९६ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आवको चैतसम्म नेपाल लाइफले ८२ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ५४ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको थियो । नोक्सानी व्यवस्था नगरेको भए २० करोड ३८ लाख रुपैयाँ नाफामा बढ्ने थियो । सेयर बजार घट्दै गएपछि बुक भ्यालुमा नोक्सान देखिएको नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झा बताउछन् । कम्पनीले हालसम्म ६३ अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । चालु आवमा मात्रै १० अर्ब ७७ करोड रुपैयाँ आर्जन गरेको कम्पनीले जनाएको छ । कम्पनीसंग हालसम्म ११ लाख १२ हजार ५७९ बीमालेख रहेको छ । अधिकांश बीमा कम्पनीले सेयरमा लगानी गरेका छन् । “१० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था हुँदाहुँदै हामीले ४ प्रतिशत मात्र सेयर बजारमा लगानी गर्दा २० करोड बढी नेक्सानीको व्यवस्था गर्नुपरेको छ” उनले भने “२ वर्षअघि सेयर बजार बढ्दा ५० करोड रुपैयाँ कमाएका थियौ अहिले घटेको छ ।” सेयर बजार बढेपछि यसको कर्जा नोक्सानीबाट सो रकम नाफामा फिर्ता हुने उनको भनाई छ । १ हजार ८८१ अंक पुगेको सेयर बजार अहिले घटेर १ हजार ३५० अंकमा छ ।
सेयर बजार फेरी ओरालो, अर्थमन्त्री देखि गभर्नरका टिप्सले पनि काम गरेन
काठमाडौं । पुँजी बजारको विकासका लागि भन्दै आयोजना गरिएको एक्स्पोमा बुधबार अर्थमन्त्रीदेखि गभर्नरसम्मले लगानीकर्तालाई टिप्स सुनाए तर सेयर बजार भने ओरालो नै लाग्यो । अर्थमन्त्री डा. युवराज खतिवडा, राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहाद’र कार्की, बीमा समितिका अध्यक्ष चिरञ्जीवी नेपाल र नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदले सेयर बजारमा लगानी गर्दाका जोखिम र त्यसबाट बच्ने उपाय सुनाएका थिए । खचाखच भरिएका लगानीकर्ताले उनीहरुका टिप्स सुने, ताली बजाए तर सोही दिन सेयर बजार भने फेरी पनि ओरालो लाग्यो । बुधबार सेयर बजार ४.८७ अंकले आरोलो लागेर १३५६.१५ अंकमा झरेको छ । १६० कम्पनीको कारोबार भएको बजारमा कुल ३४ करोड ७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा अन्य समूह बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह १८ अंकले घटेको छ । सामान्य अंकले घटेको बजारमा सबैभन्दा बढी सिन्धु विकास बैंकको सेयर मूल्य ६.८५ प्रतिशतले घटेको छ । सबैभन्दा बढी समाता माइक्रोफाइनान्सको सेयर मूल्य ३.९१ प्रतिशतले बढेको छ ।
सेयर बजारका लगानीकर्तालाई अर्थमन्त्रीको सुझाव: ‘नाफा घाटा ब्यहोर्नुस्, सरकारलाई धारे हात नलगाउनुस्’
काठमाडौं । सेयर बजारका लगानीकर्तालाई अर्थमन्त्री युवराज खतिवडाले नाफा घाटा आफैं बेहोर्न सुझाएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खतिवाडाले सेयर बजारको नाफाघाटा सरकारले ब्यहोर्न नसक्ने बताएका हुन् । उनले ब्याङग्य गर्दै भने ‘लगानी गर्ने तपाइहरुले हो यसमा सरकारले कुनै जिम्मा लिन सक्दैन, नाफा भए आफैं खानुस् घाटा भए ब्यहोर्नुस अब सरकारलाई धारे हात नलगाउनुहोस् ।’ उनीले पुँजी बजारको विकासमा सरकारले कुनै कन्जुस्याँई नगर्ने बताउँदै पुँजी बजारको विकासमा आफुलाई नसिकाउन समेत चेतावनी दिए । बजारका विद्धानहरु पुँजीबजारको ‘क’ ‘ख’ सिक्दै गर्दा आफु पुँजिबजारको किताब लेख्ने भैसकेको बताउदै यस विषयमा कुनै कुरा सिकाउनु नपर्ने उनले बताए । मन्त्रीले अहिले बजारको म्युचुअल फन्ट कमजोर हुँदै गएकोले सेयर बजारमा जोखिम बढ्दै गएको बताए । जोखिम कम हुने क्षेत्रमा मात्र लगानी गर्न सुझाव दिदैं नाफा भएनी मलाई दिनु पर्दैन घाटा भएनी सरकारले बेहोर्न सक्दैन कमजोर मुटु हनेले सेयरमा लगानी नै नगर्न मन्त्री खतिवाडाले सुझाव दिए । जलविद्युतमा सबै नेपालीको लागानी हास् भन्ने सरकारको चाहाना रहेको पनि खतिवाडाले बताए ।
सेयर बजारमा एकाएक हरियाली, नेप्से १५ अंकले बढ्दा बीमा १६१ अंकले उकालो
काठमाडौं । केही दिनयता लगातार ओरालो लागेको सेयर बजार मंगलबार एक्कासी उकालो लागेको छ । सो दिनको बजारमा नेप्से परिसुचक १५ दशमलब ६५ अंकले उकालो लागेर १३६१ अंकमा पुगेको छ । बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि वृद्धि भएको छ । कुल १६५ कम्पनीको ५० करोड ६४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । सो मध्ये सबैभन्दा बढी सिभिल बैंकको ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोहोरो अंकले बढेको बजारमा बीमा समूहको सूचक १५१ अंकले उकालो लागेको छ । सो दिन उत्पादनमूलक बाहेक अन्य बाँकी समूह हरिया भएका छन् । उत्पादनमूलक भने सामान्य २.४३ अंकले घटेको छ ।
बजेटमा लगानीकर्ताका मागः १५ खर्बको सेयर बजार २७ किलोमिटर भित्र, ब्रोकरको सिण्डीकेट कहिलेसम्म ?
काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले १५ खर्ब रुपैयाँको सेयर बजारलाई २७ किलोमिटर भित्र नखुम्च्याउन माग गरेको छ । फोरमले अर्थमन्त्री डा. युवराज खतिवडालाई बुझाउन तयार पारेको ज्ञापन पत्रमा सेयर बजार विस्तार सम्बन्धी आफ्ना धारणा अघि सारेको छ । फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले अर्थमन्त्रीलाई भेटेर सेयर बजारको विस्तार र विकासका लागि नयाँ बजेटमा आफ्ना सुझाव दिने तयारी भैरहेको बताए ।फोरमले १५ खर्ब रुपैयाँको सेयर बजारलाई २७ किलोमिटरको रिङरोडभित्र कैद नगर्न, सेयर बजारमा ब्रोकरको सिण्डीकेट तोड्न माग गरेका छन् । फोरमले यी बिषय समेटेर अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदैछ बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया तत्काल कार्यान्वयन गर्ने बाटो खोलियोस् । ब्रोकर लाइसेन्स मर्चेण्ट बैंकरलाई दिए पनि हुन्छ । बैंक वा मर्चेण्ट बैंकरलाई ब्रोकर लाइसेन्स दिएर ७७ वटै जिल्लामा सेयर बजारलाई विस्तार गरियोस् । ५० वटा ब्रोकर कम्पनीबाट सेयर बजारलाई मुक्त गरियोस् । यातायात क्षेत्रको सिण्डीकेट अन्त्य भयो अब पुँजी बजारको सिण्डीकेट कहिले हट्छ ? उपत्यका भित्र ५० वटा र बाहिर ५० वटा गरि १०० ब्रोकरलाई लाइसेन्स दिनुपर्छ । ब्रोकर कमिसन घटाउनु पर्यो । ब्रोकर कमसिन नै पुँजी बजारको बाधक हो । यसलाई घटाएर बजार बढाउन सहयोग गर्नुपर्छ । एनआरएनलाई पनि सेयर बजारमा लगानीको वातावरण बनाउनु पर्छ । एनआरएनलाई लगानी गर्न झ्याल खुलेको छ अब ढोका खुलाउनु पर्छ । उनीहरुलाई सहि बाटोबाट लगानी गर्न दिने र त्यस्तो लगानीबाट आएको मुनाफा फिर्ता लैजाने वातावरण बनाइदिनु पर्छ । अनलाईन कारोबारलाई तोकिएकै समयमा ल्याउनु पर्छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई मार्केट डिलरको लाइसेन्स दिनुपर्छ । म्युचुअल फण्डलाई उचित नियमन गरिनु पर्छ । पुँजी बजारमा भ्याट लगाउनै हुन्न् । भ्याट भनेको अन्तिम उपभोक्ताले तिर्ने हो । सेयर बजारका लगानी कर्ता अन्तिम उपभोक्ता होइनन् । पुँजी बजार भनेको चल सम्पति हो । चल सम्पतिमा भ्याट लगाउने नियम संसारमै छैन् । नेपालमा पनि भ्याट लगाउने कुराले पुँजी बजारको विस्तार हुनै सक्दैन् ।
सेयर बजार ओरालो लाग्ने क्रम जारी, ४० करोडको सेयर किनबेच
काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । आइतबारको सेयर बजार ८.२१ अंकले घटेर १३४९.०१ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचक सहित कारोबार रकममा पनि गिरावट आएको छ । सो दिन १६१ कम्पनीको ४० करोड ३५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा ६ कम्पनीको एक करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर, नेपाल बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनीकाे साे मात्राकाे काराेबार भएकाे हाे । सबैभन्दा बढी बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७.७७ प्रतिशत गुमाएका छन् । त्यस्तै, जानकी फाइनान्स र यूनाईटेड मोदी हाइड्रोपावरको सेयर मूल्य क्रमशः ६.५ र ६.१९ प्रतिशत घटेको छ । उता स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकताकर्ताले भने ९.९४ प्रतिशत कमाएका छन् । बजारमा होटल, उत्पादनमूलक, विकास बैंक, बीमा र ट्रेडिङ समूहको सूचक हरिया छन् भने बाँकी समूहको सूचक राताम्मे छन् । होटल समूह ३५ अंकले उकालो लागेको छ भने बैंकिङ् समूह ११ अंकले ओरालो लागेको छ ।
साना लगानीकर्ता आत्तिएपछि सेयर बजारमा २९ अंकको गिरावट, बीमा समूह २३१ अंक तल
काठमाडौं । साना लगानीकर्ताहरु आत्तिएपछि बिहीबार पनि सेयर बजार भारी अंकले ओरालो लागेको छ । साे दिनकाे परिसूचक २९.२५ अंकले घटेर १३५७ अंकमा झरेको छ । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले पछिल्लो समय सेयर बजार कुनै कारण बिनै ह्वात्तै बढ्ने र घट्ने क्रम देखिएको र त्यस्तो क्रमले अस्वभाविक भएको पनि बताए । रौनियारले रिङरोड भित्र सेयर बजारलाई खुम्च्याउने प्रयास गरिएकाले पनि बजारमा परिपक्वता नदेखिएको आरोेप पनि लगाए । सो दिन बजारमा कारोबार भएका सबैसमूहको परिसूचक राताम्मे भएका छन् । त्यसमध्ये पनि बीमा समूह २३१ अंकले घटेको छ । त्यस्तै, होटल ४७, हाइड्रोपावर ४६ र माइक्रोफाइनान्स समूह ४३ अंकले ओरालो लागेका छन् भने बाँकी समूह दोहोरो अंकले झरेका छन् । दोहोरो अंकले ओरालो लागेको बजारमा विभिन्न ४ कम्पनीको सेयर मूल्य ७ प्रतिशतले घटेको छ । सबैभन्दा बढी नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले ७.५८ प्रतिशत गुमाएका छन् । त्यस्तै, ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्थाको ७.५५, बोटलर्स नेपाल(तराई)को ७.२६ र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ७.१६ प्रतिशतले घटेको छ । बजारमा सबैभन्दा बढी स्वदेशी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ५.९९ प्रतिशत कमाएका छन् । सो दिन राष्ट्रिय बीमा कम्पनीको २ करोड ८२ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । बिहीबार कुल १५९ कम्पनीको ६३ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेयर बजार घटेको दिन नेपाल बैंकको मात्र झण्डै १० करोडको कारोबार, यस्तो छ कारण
काठमाडौं । सेयर बजार घटेका बेला नेपाल बैंकको सबैभन्दा बढी किनबेच भएको छ । बैंकको प्रतिकित्ता ३६३ रुपैयाँमा ९ करोड ५९ लाख रुपैयाँ बराबरको २ लाख ६० हजार ६५८ कित्ता सेयर किनबेच भएको छ । आइतबार बैंकको सेयर प्रतिकित्ता ३६८ रुपैयाँमा कारोबार भएकोमा सोमबार ५ रुपैयाँ गिरावट आएको छ । नेपाल बैंकको सेयर मूल्य सस्तो हुनु र सोमबार चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक भएपछि बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको हो । नेपाल बैंककको सेयर मूल्य सस्तो भएको हुदा लगानीकर्ताले सुरक्षित ठानेर लगानी बढाउदा बढी कारोबार भएको एक ब्रोकरले बताए । सस्तो मूल्य र वित्तीय विवरणले लगानीकर्तालाई लोभ्याएको ती ब्रोकरको भनाई छ । बैंकले सोमबार चालु आवको ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरी खुदनाफा २ अर्ब ५६ करोड रुपैयाँ भएको जानकारी दिएको थियो । यस्तै बैंकको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ बढी छ । यस्तै राष्ट्रिय बीमा कम्पनी लिमिटेडको पनि प्रतिकित्ता १३ हजार १०० रुपैयाँमा ४ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सेयर बजारमा ५० अंकको ऐतिहासिक उछाल, बजार बढ्नुका पाँच कारण
काठमाडौं । सेयर बजारमा आइतबार ५० अंकको ऐतिहासिक वृद्धि देखा परेको छ । बिहिबार १३८८ अंकमा रहेको नेप्से परिसूचक आइतबार ५०.१८ प्रतिशतले बढेर १४३८.४९ पुगेको हो । आइतबार नेप्से परिसुचक मात्रै नभएर कारोबार रकम पनि बढेर एक अर्ब २३ करोड पुगेको छ । सेयर बजारका पण्डितहरुले नै सेयर बजारमा आइतबार देखिएको उत्साह ऐतिहासिक रहेको बताउँछन् । सेयर बजारका जानकार ज्योति दाहालले सेयर बजारमा देखा परेको उत्साह साह्रै सकारात्मक भएको बताए । उनले बजारमा एकै दिन ५० अंकको वृद्धि आफुले पहिलो पटक देखेको पनि बताए । ‘हामीलाई यसरी बजार बढेको बिरलै थाहा छ, ५२ अंकले बजार घटेको केहि समय भित्रै ५० अंकले बढ्यो, कारोबार रकम पनि बढेकै छ, लगानीकर्तामा उत्साह देखियो ।’ दाहालले भने । उता, नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले पनि बजारमा ऐतिहासक सुधार देखा परेको बताए । उनले सेयर बजारमा ऐतिहासिक उछाल आउनुका पछाडी पाँच वटा कारण रहेको पनि बताए । ब्याजदरमा देखिएको सुधार, वाणिज्य बैंकहरुले विदेशी बैंकबाट चुक्ता पुँजीको २५ प्रतिशत ऋण लिन सकिने व्यवस्था अघि बढ्नु, बजारमा म्युचुअल फण्डहरुको प्रवेश, तरलताको समस्या समाधान उन्मुख हुनु र अनलाइन कारोबार सुरु हुने प्रक्रिया अघि बढ्नु जस्ता कारणले सेयर बजारमा ऐतिहासिक सुधार देखिएको बताए । उच्च अंकले बढेको बजारमा कारोबारमा आएका सबैसूचकहरु दोहोरो अंकले उकालो लागेका छन् । त्यसमध्ये सबैभन्दा बढी बीमा समूह ३५२ अंकले बढेको छ । त्यस्तै, माइक्रोफाइनान्स १००, हाइड्रोपावर ८९, होटल ६५, विकास बैंक ६१, उत्पादनमूलक ४०, बैंकिङ् ३९, फाइनान्स २३ र अन्य समूहको १२ अंकले बढेका छन् । आइतबार विभिन्न २१ कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ प्रतिशत बढीले बढेका छन् । अरुण काबेली पावर, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनीका र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयरका सेयरधनीले १० प्रतिशत कमाएका छन् । दिनभरको बजारमा १६७ कम्पनीका २८ लाख ८९ हजार कित्ता सेयर किनबेच भएका छन् । सबैभन्दा बढी कुमारी बैंकको ५ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको ४ करोड ४० लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ ।
२०७५ सालमा सेयर बजारलाई ग्रीन सिग्नल, लगानीकर्ता भन्छन्- अब सुनौला दिन आउँछन्
काठमाडौं । नयाँ वर्ष सुरु भएपछि सेयर बजारमा सकरात्मक संकेत देखापरेको छ । गत वर्षको चैतसम्म बजार निरन्तर घट्दै गएर लगानीकर्तामा निराशा देखापरेकोमा बैशाख लागेपछि बजारमा सुधारको संकेत देखिएको छ । कारोबार भएको ५ दिनमा सेयर बजार १११ अंकले बढेको छ । गत बिहीबार सेयर बजार घटेर १ हजार २७७ अंकमा रहेकोमा बढेर १ हजार ३८८ अंक पुगेको छ । आइतबारदेखि सुरु भएको वृद्धि बिहीबारसम्म कायम रहेको छ । सेयर बजार बढ्ने संकेत देखिएको लगानीकर्ताको भनाई छ । बजारमा लगानीयोग्य पुँजीमा केही सुधार हुनुका साथै नेपाल राष्ट्र बैंकले विदेशी बैंकबाट लगानी ल्याउन वाणिज्य बैंकलाई खुला गरेपछि यसको सकरात्मक प्रभाव बजारमा परेको सेयर लगानीकर्ता छोटेलाल रौनियार बताउछन् । आगामी दिनमा बैंक ब्याजदरमा पनि गिरावट आउने भएकाले ठुला लगानीकर्ताको प्रवेश भएपछि बजारले अझ गति लिने उनको तर्क छ । लगानीकर्तामा रहेको मार्जिन कलको ह्याङ हट्नुका साथै कम्पनीको वित्तीय विवरण धमाधम आउने क्रममा रहेको आगामी दिनमा सुधार हुने देखिने उनको तर्क छ । मार्जिन कलको ह्याङ ३ महिनालाई हटेको उनको भनाई छ । यस्तै ब्रोकर सेमीअटोमेसनमा गएको र आउदो ३ महिनामा सेयर बजार अनलाईनमा जाने भएकाले आगामी दिन सेयर बजारका लागि सुनौलो दिन भएको उनको भनाई छ । पछिल्लो समयमा नेप्से परिसूचकमा भएको वृद्धिसंगै कारोबार रकम पनि बढेर १ अर्ब १२ करोडको रुपैयाँसम्म पुगेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको सेयरबजार प्रतिको नकरात्मक टिप्पणीले पनि बजार घटाउन सहयोग पुगेको लगानीकर्ताको भनाई छ । सेयर बजारलाई अनुत्पादक भनेपछि बजारमा भारी गिरावट आएको थियो । यता बैंकसंग लगानीयोग्य पुँजी नभएपछि ब्याजदर बढेर १५ प्रतिशत पुगेको छ ।
सेयर बजार उकालो लाग्ने क्रम जारी, परिसूचक २५ अंकले बढ्दा अबौँको कारोबार
काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा उकालो लागिरहेको छ । साताको अन्तिम कारोबारमा पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । दिनभर सामान्य उतारचढाव आएता पनि बिहीबारको परिसूचक २५ अंकले बढेर १३८८ अंकमा पुगेको छ । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि राम्रै सुधार भएको छ । पछिल्लो ३/४ दिन पछिको बजारमा अर्बौँ रुपैयाँ बराबरको सेयर किनबेच भइरहेको छ । त्यस्तै, बिहीबार पनि एक अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कमाउने १० कम्पनी: बजारमा १६८ कम्पनीको २६ लाख ६३ हजार कित्ता सेयर किनबेच भएका छन् । सोमध्ये सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीको सवा ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल बैंक, सानिमा माई हाइड्रोपावर, सानिमा बैंक र कुमारी बैंकको ३ करोड माथिको सेयर किनबेच भएका छन् । बजारमा ट्रेडिङ समूह बाहेक कारोबारमा आएका सबैसमूह हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूह ५१अंकले उकालो लागेको छ । सो दिन प्रोगेशिभ फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ९.९३ प्रतिशत कमाएका छन् भने सहयोगी विकास बैंकको सेयर मूल्य ७.२० प्रतिशतले घटेको छ ।
सेयर बजार ३१ अंकले बढ्दा १ अर्बबढीको कारोबार, लगानीकर्ताको विश्वास बढेकै हो ?
काठमाडौं । नयाँ वर्ष शुरु भएपछि सेयर बजार बढ्न थालेको छ । बजारमा सुधार आएपछि लगानीकर्ताको विश्वास पनि बढेको छ । लगातार घट्दै गएको बजारले निराशा बनाएको लगानीकर्तालाई आइतबारदेखिको वृद्धिले आशा जगाएको छ । निरन्तर बढ्दै गएको बजार बुधबार पनि ३१ अंकले बढेर १३६३ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचकका साथै सेयर कारोबारमा वृद्धि देखिएको छ । बुधबार मात्रै सेयर बजारमा १ अर्ब १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम एकवर्ष यताकै उच्च हो । सो दिनको बजारमा १६५ कम्पनीको २४ लाख ४० हजार कित्ता सेयर किनबेच भएको छ । केही दिनयता सेयर लगानीकर्ताको विश्वास बढ्दै गएकाले बजारमा सुधार आएको विश्लेषकहरु बताउछन् । बुधबार ११ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी न्याङदी ग्रुप पावर, हिमालयन पावर पार्टनर र नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर ९.९५, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ९.९०, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ९.८६, कर्णाली डेभलपमेन्ट बैंकको ९.८४ र सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.६८ प्रतिशतले बढेको छ । त्यसैगरी, हथवे फाइनान्स कम्पनी, सिनजी पावर डेभलपमेन्ट र राधी विद्युत कम्पनीका लगानीकर्ताले क्रमशः ९.६६, ९.५६ र ९.५४ प्रतिशत कमाएका छन् । बजारमा सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ४.२७ प्रतिशतले घटेको छ । बुधबार कारोबारमा आएका १० वटै समूहको सूचक हरिया भएका छन् । त्यसमध्ये सबैभन्दा बढी हाइड्रो समूहको सूचक १०७ अंकले उकालो लागेको छ । ट्रेडिङ, माइक्रोफाइनान्स र अन्य समूह सामान्य अंकले बढेका छन् भने बाँकी समूहहरु दोहोरो अंकले बढेका छन् ।
सेयर बजार ३३ अंकले बढ्दा सबैभन्दा बढी कारोबार सूर्या लाइफ इन्स्योरेन्सको, यस्तो छ कारण
काठमाडौं । लगानीकर्ताको विश्वास बढ्न थालेपछि मंगलबारको सेयर बजारमा उछाल आएका छ । मंगलबार बजार बढेर ३३.६१ अंक बढेर नेप्से परिसुचक १ हजार ३३१ मा पुगेको छ । मंगबार बजार बढ्दा सबै क्षेत्रमा हरियाली देखिएको छ । मंगलबार ९५ करोड ४० लाख रुपैयाँको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ३७ करोड ७२ लाख रुपैयाँ बढी हो । सोमबारको बजारमा ५७ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सबैभन्दा बढी सूर्या लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ ।मंगलबार व्यापार बाहेक, बैंक, वित्त, बीमा, जलविद्युत, उत्पादन र लघुवित्त समूहको सेयर मूल्य बढेको छ । कारोबार रकममा उच्च वृद्धि देखिएको सो दिनको बजारमा यस कम्पनीको मात्रै ५ करोड ९८ लाख बराबरको सेयर किनबेच भएको छ । चुक्तापुँजी बढाउन ४० प्रतिशत हकप्रद निष्कासन गर्ने भएपछि लगानीकर्ता सूर्या लाइफमा झुम्मिएका हुन् । कम्पनीको करिब १००० रुपैयाँको प्रतिकित्ता सेयर १०० रुपैयाँमा आउने भएपछि सेयर लगानीकर्ताहरु यस कम्पनीमा झुम्मिएका हुन् । कम्पनीको आज हकप्रद सुरक्षित गर्ने अन्तिम दिन भएकाले सेयर कारोबार बढेको हो । कम्पनीले जारी गरिरहेको उक्त हकप्रद सेयरको म्याद भोलिदेखि बन्द हुँदैछ ।
सेयर बजार दोहोरो अंकले उकालो, ६ कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । बजार खुलेदेखि नै बढ्ने क्रममा रहेको सो दिनको परिसूचक बजार बन्द हुँदा १७.४२ अंकले उकालो लागेर १२९७ अंकमा पुगेको छ । बजारमा परिसूचकका साथै सेयर कारोबारमा पनि वृद्धि भएको छ । बजारमा दिनभर १६७ कम्पनीको ५७ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो मध्ये प्रभु इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । दोहोरो अंकले बढेको बजारमा विभिन्न ६ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी प्रुडेन्सियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स कम्पनी, यूनाईटेड इन्स्योरेन्स कम्पनी एसियन लाइफ इन्स्योरेन्स कम्पनी र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशत बढीले उकालो लागेको छ । त्यसैगरी, बीमा समूह २९३ अंकले बढेको छ । त्यस्तै, अन्य र बैंकिङ समूह बाहेक बाँकी समूहको सूचक दोहोरो अंकले उकालो लागेका छन् । बैंकिङ समूह ४.२८ अंकले बढेको छ भने अन्य समूह १.२१ अंकले घटेको छ ।
यस्तो छ २०७५ सालको आर्थिक राशिफलः धनु, कर्कट र मकर राशिलाई यो वर्ष सेयर बजार नफाप्ने
ज्यो.प. नारायणप्रसाद दुलाल मेष: मेष राशि भएका व्यक्तिहरूका लागि समग्रमा २०७५ साल शुभफलदायी नै रहनेछ । व्यापार व्यवसायका निम्ति वर्षको पूर्वार्ध उत्तम फलदायी रहनेछ । बैंकिङ क्षेत्रमा गरेको लगानीबाट अधिक सफलता मिल्नेछ । होटल व्यवसायबाट प्रसस्त फाईदा मिल्नेछ । सेयर बजारमा लगानी गर्नेहरूका लागि पनि निकै फाइदाजनक हुनेछ । शैक्षिक क्षेत्रबाट राम्रो प्रतिफल पाईनेछ । वैदेशिक क्षेत्र शुभ फलदायी रहनेछ । मेसिनरी सामानको व्यवसायबाट बढी फाइदा मिल्नेछ । कार्तिक महिनाबाट आयमा स्थिरताका साथै स्वाथ्यमा प्रतिकूलता रहन सक्नेछ । यात्रामा सजगता अपनाउनु नै उत्तम हुनेछ । कार्तिक र मङ्सिर महिनामा हानी हुनेछ भने असार,असोज, माघ र फाल्गुनमहिनामा अधिक लाभ मिल्नेछ । वृष वृष राशि भएका व्यक्तिहरूका लागि २०७५ साल अर्थदायीनै रहनेछ । व्यापार वा व्यवसायिक दृष्टिले विशेष लाभ हुनेछ । कार्तिक महिनाबाट अझ बढी उत्तम फलदायी रहने देखिन्छ । नयाँ व्यवसाय प्रारम्भ सुरु गर्न सकिनेछ । फैन्सी क्षेत्रमा गरेको लगानी लाभदायक हुनेछ । वस्त्रको कारोवारबाट विशेष सफलता मिल्नेछ । स्वास्थ्य तथा बीमाबाट भने नोक्सान हुनेछ । शनि अढैया वर्षभरि रहने भएकाले कार्यमा अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ । अनावश्यक झन्झट तथा झमेलाको सामना गर्नुपर्नेछ । वाहनबाट त्यति फाईदा नहोला । व्यवसायिक दृष्टिले असार पौष र आश्विन महिना कष्टदायी रहने छन् । भाद्र, मंसिर, माघ र चैत्र महिना फलदायी हुनेछन् । मिथुन मिथुन राशि हुनेहरूको लागि यो वर्षको मध्य भागमा केही कठीन परिस्थितिको सामना गर्नुपरे पनि समग्रमा अनुकूल नै रहनेछ । व्यावसायिक दृष्टिले यस वर्ष राम्रै प्रतिफल मिल्नेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुनेछ । कर्म क्षेत्र सबल रहने भएकाले पदोन्नतिका अवसर पनि प्राप्त हुनेछ । घर जग्गाको कारोबारबाट भने जस्तो आम्दानी गर्न सकिनेछ । सुखद् यात्राको योग पनि देखिन्छ । वैदेशिक लगानीका लागि समय राम्रो छ । तथा कृषि क्षेत्रबाट प्रशस्त आम्दानी गर्न सकिनेछ । सेयर बजारमा भने केही उतारचढाव हुनेछ । आर्थिक दृष्टिले श्रावण, असार, कार्तिक, पौष , फाल्गुन र माघ महिना खर्चदायी हुनसक्छ । बैशाख, जेठ, भदौ र मसिर महिना उत्तम रहने छन् । कर्कट कर्कट राशि हुनेहरूकालागि यो वर्षआर्थिक दृष्टिले वर्षको पूर्वार्ध उन्नतिकारक रहनेछ । विद्या,बुद्धि र सन्तान सुख मिल्नेछ । विज्ञान प्रविधीको सहयोगले व्यवसाय फस्टाउनेछ । फलाम तथा हार्डवेयरले फलिफाप गराउनेछ । कृषि क्षेत्रको व्यावसायबाट मनग्य धनार्जनगर्न सकिनेछ । घरजग्गाबाट मनग्य आम्दानी गर्न सकिनेछ । वर्षको उत्तरार्धमा खर्चमा वृद्धि हुनेछ । चिन्ता, शत्रुबाधा तथा गरेको कर्यमा ढिलासुस्ती हुनेछ । तपाई विरुद्ध षड्यन्त्रको योजना बन्नसक्छ । शेयर बजारको लगानी डुब्ने भय छ । नयाँ ठाउँमा लगानी गर्दा विचार पुर्याएर लगानी गर्नु पर्नेछ । व्यवसायिक दृष्टिले भाद्र, कार्तिक र फाल्गुन महिना फलदायी हुनेछ र श्रावण, कार्तिक र फागुन महिना खर्चिलो रहने देखिन्छ । सिंह सिंह राशि हुनेहरूकालागि २०७५ सालमा आँटेको र ताकेको कार्याहरू पूराहुनेछ । यो बर्ष आर्थिक हिसावले निकै राम्रो एवम् सुखद् रहनेछ । छ । गरेको कार्यमा सफलता मिल्नेछ । भौतिक सुखमा बढोत्तरी हुनेछ । मंगल कार्यको अवसर मिल्नेछ । बैंकिङ तथा वित्तिय क्षेत्रमा गरीएको लगानि मौलाउनेछ । कृषी तथा चौपायाको व्यापार फस्टाउनेछ । अनावस्यक खर्च नियन्त्रण हुनेछ । फेन्सी तथा सजावटी क्षेत्रको लगानी विशेष फलदायी हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै वैदेशिक यात्राको योग पनि देखिन्छन् । तपाईको राशिबाट वर्ष भरिनै पंचम भावमा शनिले गोचर गर्ने भएकाले अग्नी तथा चोरको भय रहनेछ ।वाहनको लगानिबाट भने नोक्सानी बेहोर्नु पर्नेछ । कन्या कन्या राशिका जातकहरूकालागी यो वर्ष शुभरअशुभ मिश्रीत फल मिल्नेछ । वर्षको पूर्वार्धमा समचार सुन्नमा आउने र देश बिदेशको यात्रा हुनेछ ।रोकिएका धन हात पर्नेछ । फेन्सी तथा कपडाको व्यापार फस्टाउनेछ ।आश्विन १९ गतेबाट फाल्गुन २० गतेसम्म मानशिक चिन्ता बढाउनेछ । गरेको कार्यमा नोक्सानी वेहोर्नु पर्नेछ । सेयर कारोवारको लगानी भने सुझबुझमा भरपर्छ । घरजग्गाको कारोवारमा मन्दि आउनेछ ।फाल्गुन २० बाट भौतिक सुख प्रदान गर्नेछ । जलीय पदार्थबाट विशेष लाभ रहनेछ । अढैयाशनिको प्रभावले गर्दा कार्यमा उल्झनआई आत्मघाती कार्यगर्न पुगिएला सचेत रहनुहोला ।साउन, असोज र चैत्रमा कुनैपनि कारोवारमा लगानी गर्नुपूर्व विशेष विचार गर्नुहोला । तुला तुला राशिका लागि यो वर्ष उन्नतिकारक रहनेछ । नयाँ कार्यको योजनाले पूर्णता पाउनेछ । आँटेको र ताकेको कार्यले पूर्णता पाउनेछ । व्यापार व्यवसायको आर्थिक संकट नाश हुनेछ । वैदेशिक लगानीबाट सफलता मिल्नेछ । शैक्षिक क्षेत्रमा गरिएको लागानीबाट राम्रै प्रतिफल पईनेछ । वित्तिय संस्थाको लगानी फस्टाउनेछ । पदोन्नतिका अवसर पनि प्राप्त हुनेछन् । खाद्यान्नको लगानी फलदाई हुनेछ । तर वर्ष भरिनै तृतीय भावमा शनिले गोचर गर्ने भएकाले मनमा निराशा र शरीरमा आलस्य आउनेछ । मानसिक चिन्ता पनि बढ्नेछ । धनमाल हराउने योग पनि भएकाले सजग रहनुहोला । आर्थिक दृष्टिले साउन, भदौ र पौष र महिना लाभदायी रहनेछन् भने कार्तिक, माघ र फागुन महिना अस्थीर रहने देखिन्छ । वृश्चिक वृश्चिक राशि हुनेहरूको लागि २०७५ सालको पूर्वार्धमा समस्यामा झेलिनु पर्नेछ भने उत्तरार्धमा इच्छा र आकांक्षा पूर्ण हुनेछन् । सेयर बजारबाट पनि मनग्य आम्दानी गर्नेछन् । धातुजन्य व्यावसायबाट अधिक सफलता मिल्नेछ । मित्र सहयोग प्राप्त हुनुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । व्यापार व्यावसायबाट अपार एवम् चमत्कारी ढंगले सफलता मिल्नेछ । यो वर्ष भरिनै शनिको अन्त्य शाढेशाति दशाको कारणले गर्दा झुटा आरोप लाग्ने, गरेको कार्यमा बिलम्ब हुने तथा चोट पटकको भय रहनेछ । आर्थिक दृष्टिले भद्रा, आश्विन, माघ महिनामा लाभदायक परिणाम प्राप्त हुनेछ भने आषाढ, कार्तिक र चैत्र महिना खर्चिला रहनेछन् । धनु २०७५ साल धनु राशि भएका व्याक्तिहरूलाई शुभ र अशुभ मिश्रीत फल मिल्नेछ । आश्विन १८ गतेसम्म धन, विद्या र बुद्धिको विकास हुनेछ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त आम्दानी गर्न सकिनेछ । वित्तीय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । सेयर बजारमा लगानी नगरेकै राम्रो हुनेछ । खाद्यान्न तथा होटल व्यवसाय गर्नेहरूका लागि निकै फाइदाजनक देखिन्छ । आश्विन १९ गतेबाट खर्च बढ्नुका साथै विदेशीनु पर्नेछ । साढेसातिको प्रभाव वर्षभरिनै रहनाले उक्तसमय केहि संघर्षमय रहनेछ । जन्म कुण्डलिमा यदि शनि कमजोर भए अनावस्यकविविध समस्या आईपर्ने, अन्तिम समयमा काम बिग्रिने, झुटा आरोप लाग्ने तथाकार्यमा ढिलासुस्ती हुनेछ । आर्थिक दृष्टिले जेठ, असोज,कार्तिक र फागुन महिना शुभ रहनेछन् । यसैगरी वैशाख, श्रावण र मंसिर महिना भने खर्चिला रहनेछन् । मकर २०७५ साल मकर राशि हुनेहरूका लागि मिश्रित फल लिएर आएको छ । आश्विन १८ गतेसम्म राज्य तथा समाजिक कार्यमा प्रगति हुनेछ । आय आर्जनका अवसर प्राप्त हुनेछन् । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । घर जग्गा तथा स्थायी सम्पतिबाट भने सफलता मिल्नेछ । फाग्गुन १९ गतेबाट खर्च भावमा जाने बृहस्पतिले मानसिक चिन्ता बढाउनेछ । पैसा फस्ने तथा धनमाल हराउने योग भएकाले अलि बढी सजग रहनु होला । सेयर बजारबाट नोक्सानी नै वेहोर्नु पर्नेछ । वर्षभरिनै शनिको अढैयाको प्रभावले कार्यमा ढिलासुस्ती र चोटपटकको भए रहनेछ । आर्थिक दृष्टिले असार, कार्तिक, मंसिर र चैत महिना शुभ छन् भनेवैशाख, श्रावण र पौष महिना खर्चिला रहनेछन् । कुम्भ कुम्भ राशि हुनेहरूका लागि २०७५ साल सानो प्रयासले ठूलो सफलता मिल्नेछ । उच्च पद प्राप्ति तथा भाग्यमा वृद्धि हुनेछ । व्यवसायिक सन्दर्भमा वैदेशिक यात्रा हुनेछ । भौतिक सुखमा बढोत्तरी हुनेछ । नयाँ कार्यको थालनी हुनेछ, आर्थिक पक्ष सबल नै रहनेछ । घर, जग्गामा गरेको लगानीबाट चमत्कारी परिणाम आउन सक्छ । शेयर बजारको कारोवार मध्यम रहनेछ । शैक्षिक क्षेत्रमा गरेको लगानीबाट मनग्य फाईदा मिल्नेछ । वर्षको उत्तरार्धमा अनावस्यक खर्च र मानसिक चिन्ता बढ्नेछ । यान्त्रिक वस्तुका साथै अग्नि जन्य कुरा हानिकारक रहनेछन् । वैशाख साउन र मंसिर महिना विशेष लाभदायी रहनेछन् भने जेठ, असोज र माघ महिना कष्टदायी रहने देखिन्छ । मीन मीन राशि भएका व्याक्तिहरूका लागि २०७५ सालमा मिश्रीत फल मिल्नेछ । यो वर्ष व्यापार तथा व्यवसायबाट अपेक्षित लाभ मिल्नेछ । वर्षको पूर्वार्धमा बैंकिङ कारोबारबाट अधिक फाइदा हुनेछ फेन्सी तथा सजावटिका व्यवासायिलाई मनग्य फाइदा हुनेछ । भूधन विशेष लाभदायी रहनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै कीर्ति वृद्धिका योग देखिन्छन् । शेयर बजारले सफलता दिलाउनेछ भने उत्तरार्धमा शरीरमा आलस्य र मनमा निराशा छाउने छ । सवारी साधनको प्रयोग गर्दा वा पैदल यात्रा गर्दा ध्यान दिनुहोला । जेठ महिनामा केही धनमाल हराउने योग छ । आर्थिक दृष्टिकोणले भाद्र, पौष र माघ पहिना शुभ रहेका छन् भने असार, कार्तिक र फागुन महिना खर्चिलो रहनेछ । (ज्यो.प. नारायणप्रसाद दुलाल, सम्पर्क ९८४९५५९५०२)
लगानीकर्ताको विश्वास गुम्दा सेयर बजार साढे १७ अंक घटेयो
काठमाडौं । लगानीकर्ताले विश्वास गुमाउदा मंगलबार पनि सेयर बजार साढे १७ अंकले घटेको छ । केही दिनदेखि लगातार बढेको सेयर बजार सोमबारदेखि लागेको ब्रेक मंगलबार पनि निरन्तर रहेको छ । २ दिनमा बजार झण्डै २४ अंकले घटेको छ । नेप्से परिसुचकमा पनि गिरावट आई १ हजार २७० अंकमा झरेको छ । मंगलबार बैंक, वित्त, होटल, जलविद्युत, बीमा, उत्पादनमुलक र लघुवित्तलगायत सबै क्षेत्रको सेयर मूल्यमा गिरावट आएको छ । बजार घटेपछि करोबार रकम घटेर ३४ करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार बजार घटेपनि ९४ करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।