प्रभु क्यापिटलले मेडिकल चिकित्सकलाई दियो सेयर बजारमा लगानी सम्बन्धि तालिम

काठमाडौं । प्रभु क्यापिटलद्धारा ललितपुरमा मेडिकल चिकित्सकहरुको लागि आयोजना गरिएको १ दिने सेयर बजारमा लगानी सम्बन्धि तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम रिभाइभ लिजर पार्क, महालक्ष्मी स्थान, ललितपुरमा बुधबार सम्पन्न भएको हो । चिकित्सा पेशामा व्यस्तताका कारण चिकित्सकहरुले पनि सेयर बजारमा लगानी गरी अधिकतम लाभ पाउन सकिने मुख्य उद्धेश्यका उक्त कार्यक्रमको आयोजना गरिएको हो । तालिममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा ले गरेका थिए भने उक्त कार्यक्रममा ३० जना भन्दा बढी चिकित्सकहरुको सहभागी रहेको थियो । व्यस्त समय तथा सेयर बजारसम्बन्धी पर्याप्त ज्ञान नभएको कारण चिकित्सकहरुले प्रभु क्यापिटलको सेयर बजारको सचेतना तथा लगानीका विभिन्न विकल्पहरुको विषयमा भएको यो कार्यक्रम निकै प्रभावकारी भएको चिकित्सकहरुले बताएका थिए । सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले सेयरबजारसँग सम्बन्धित विविध वर्कसप तथा तालिम कार्यक्रमहरु समय समयमा सञ्चालन गर्दै आईरहेको छ ।

सेयर बजारमा असार मसान्तको प्रभाव मात्रै कि बुलिस ट्रेण्डको संकेत ?

काठमाडौं । लामो समयदेखि ओरालो लाग्दै तल्लाे विन्दुमा कारोबार भइरहेको सेयर बजारमा पछिल्लो एक महिनामा भने हरियाली नै देखिएकाे छ । एक महिनाको अवधिमा सेयर बजार साढे २ सय अंकले बढ्याे भने कारोबार रकम पनि ह्वात्तै वृद्धि भयाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्याङ्कअनुसार कारोबारकाे एक महिनामा नेप्से परिसूचक २५४ अंकले बढेको छ । २०८० जेठ ४ गतेदेखि असार १८ गते सोमबारसम्म ३० दिन सेयर कारोबार भएको छ । सो अवधिमा पूँजी बजार २५४ अंकले बढेको छ भने ९७ अर्ब ९ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको तथ्याङ्कले देखाउँछ । पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा तरलता सहज हुँदै गएपछि सेयर बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ताहरुले बताएका छन् । साथै, बैंकको ब्याजदर पनि घट‍्न थालेकाले त्यसकाे प्रभाव समेत सेयर बजारमा पर्दा काराेबारकाे आकार बढ्न थालेकाे लगानीकर्ताहरुकाे विश्लेषण छ । पछिल्ला दिनमा ठूला लगानीकर्ता सेयर बजार प्रवेश गरेपछि कारोबार रकम बढेको कतिपय लगानीकर्ताहरुको दावी छ । लगानीकर्ता तारा फुलेल सेयर बजारले वियरिस ट्रेण्ड पार गरेर बुलिस ट्रेण्डको बाटोमा अघि बढीरहेको बताउँछन् । असार मसान्त नजिक आएकाले बजार तलमाथि हुनु स्वभाविक रहे पनि बजारकाे नेचर भने अन्ततः बुलको तयारीमा रहेको उनी बताउँछन् । ‘बैंकको ब्याजदर घट्दोक्रममा छ । ब्रोकरको दायरा फराकिलो हुँदैछ । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको हितमा काम गर्दै आएको छ’, उनले भने । ‘बजारमा लगानीकर्तालाई चाहिने कतिपय विषयमा बोर्डले देखिने गरी काम गरिरहेको छ,’ फुलेलले भने, ‘बैंकहरुले ब्रोकर कारोबार सुरु गर्न थालेपछि देशको दूरदराजसम्म वा बैंकको शाखा कार्यालय पुगेको ठाउँसम्म ब्रोकरको सेवा पुग्नेछ । हरेक स्थानीय तहसम्म ब्रोकर सेवा पुग्छ । लगानीकर्ताले यी विषय बुझेकाले पनि बजारमा सकरात्मक उर्जा थपिइरहेकाे छ ।’ उनकाअनुसार केन्द्रीय बै‌क मार्जिन लेण्डिङकाे विषयमा पनि नरम हुने संकेत देखिएकाे छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहेको हुँदा सेयर बजारका सन्दर्भमा सकारात्मक नीति आउन सक्ने उनको भनाइ छ । बजारमा काल्पनिक भन्दा पनि फण्डामेन्टलका आधारमा घटबढ हुने उनले बताए । ‘सेयर बजारमा नकारात्मक हिट गर्ने गरी राष्ट्र बैंकले यो भन्दा बढी गर्ने कुनै पनि ठाउँ बाँकी छैन । सेयर बजारलाई कस्नुसम्म कसिसकेको छ । लगानीकर्तालाई जतिसम्म अफ्ठ्यारो पार्नु पर्ने हो राष्ट्र बैंकका नीतिहरुले पारिसकेको छ । अब खुकुलो बनाउने मात्रै विकल्प छ । तरलता सहज भएर ब्याजदर घट्दैछ,’ उनले भने । इन्ट्रा डेमा तलमाथि भइरहेकाले बजारका लागि याे सुन्दर पक्ष भएकाे उनी बताउँछन् । तर, डे वाइज तलमाथि हुनु असार मसान्तको असर हुनसक्ने फुलेलले बताए । उनले भने ‘हिजो १ अर्ब कारोबार हुन धौंधौं परिरहेको अवस्थामा अहिले ५/६ अर्ब रुपैयाँ बराबरको कारोबार भइरहेको छ, यो भनेको बजारमा लगानीकर्ता भित्रिए भन्ने संकेत हो । बजारमा पालैपालो सबै सेक्टरले लिड गर्छ ।’ ब्रोकर सञ्चालक अतित लाल श्रेष्ठ करेक्सन भएर बजार बाउन्स ब्याक हुँदै उच्च बिन्दुमा पुग्ने बताउँछन् । बैंकहरुले सेयर कर्जा प्रवाहमा जोड दिइरहेकाले अझै बढ्ने उनको भनाइ छ । नयाँ ब्रोकर कम्पनीहरुको पनि पूँजी परिचालन हुने भएकाले बजारमा पूँजी परिचालन हुने उनले बताए । ‘नयाँ ब्रोकर कम्पनीको १२ अर्ब रुपैयाँ फ्रिज (जाम) भएर बसेको छ। बैंकमा निक्षेप मात्रै थप्रिएको छ । यदि नयाँ ब्रोकर कम्पनीले काम गर्न सुरु गरेपछि जाम भएर बसेको पैसा परिचालन हुन्छ । बजारमा तरलता बढ्छ । लगानीकर्ताहरुले त्यसमै रमाइलो गर्न पाउँछन्,’ उनले भने, ‘नयाँ ब्रोकर कम्पनीहरुले बजार चलायमान गर्छन् । अहिले बजार तलमाथि हुँदा लगानीकर्ताहरुले नाफा बुक गरेका हुन सक्छन् ।’ अर्का लगानीकर्ता अम्मर डंगोलकाअनुसार बजार अलिकति करेक्सन हुँदै माथि जाने हो । बैंकको सेयर बढ्दा बजार बढ्ने र घट्दा पुरै घट्ने भइरहेको उनले बताए । अबको बुलमा बीमा कम्पनीहरुले लिड गर्ने उनले बताए । ‘बीमा, होटल कम्पनीहरु बढ्न थालेको छ, बैंक पनि केही दिनअघिसम्म बढेको थियो, बैंक बढ्दा बजार बढेको थियो, फेरी बैंकको सेयर घट्न थालेपछि बजार घटेको देखिन्छ,’ उनले भने, ‘बीमा सेक्टर जति बढेको छ त्यति घटेको देखिँदैन, अब बुल आयो भने बीमाले लिड गर्ने संकेत गरिरहेको छ, बीमा कम्पनी बजारमा बलियो देखिएको छ ।’ बैंकहरुमा तरलता उच्च भए पनि लगानी शुन्य हुँदा बजारलाई फाइदा पुगेको उनले बर्ता । बैंकहरु लगानी गर्न डराइरहेकाले सीडी रेसियो पनि ८३ प्रतिशतमा झरेको उनले बताए । यसले बजारमा सकारात्मक प्रभाव पार्ने उनले बताए । मौद्रिक नीति खुकुलो आएपछि बजारलाई सकारात्मक प्रभाव पार्ने उनको बुझाइ छ । उनका अनुसार बैंकको ब्याज र किस्ता तिर्नु पर्ने भएकाले असार २२ गतेसम्म बजार करेक्सन हुन सक्ने उनको भनाइ छ । ‘बैंकको ब्याज तिर्नका लागि बजार घटिरहेको छ, बैंकहरुले कर्जा लिएका ऋणीहरुलाई असार २५ गतेभित्र तिर्नु भनेर फोन गरिरहेका छन्, मलाई पनि फोन गरेर २५/२६ गतेभित्र ब्याज तिर्नु भनेको छ,’ उनले भने, ‘पहिला ३० गतेसम्म तिर्न पाइन्थ्यो, अहिले २५/२६ गतेभित्र भुक्तानी गर भनेर बैंकबाट फोन आइरहेको छ, जसको दबावले बजार घटेको हुन सक्छ ।’

सेयर बजारमा दोहोरो अंकको गिरावट, एकैदिन १७४ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सोमबार नेप्से परिसूचक २१.३२ अंकले घटेर २०७५ अंकमा बन्द भएको छ । नेप्से परिसूचक दोहोरो अंकले घटेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार २०९७ अंकबाट कारोबार सुरुवात भएको थियो । तर, बजार २११३ अंक पुगेर घटेको देखिन्छ । नेप्सेका अनुसार सोमबार ४ अर्ब ५ करोड १० लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज २७६ कम्पनीको ९४ लाख १८ हजार ९५२ कित्ता सेयर ६४ हजार ८६८ पटक खरिद बिक्री भएको छ । यसअघि आइतबार ५ अर्ब ८ करोड १९ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सोमबार सीवाईसी लघुवित्त, बिपीडब्लु लघुवित्त र सिटी होटलको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर १० प्रतिशत मूल्य बढेको छ । यससँगै सीवाईसी लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १ हजार २८९ रुपैयाँ, बिपीडब्लु लघुवित्तको १ हजार ५५४.८० रुपैयाँ र सिटी होटलको ५०८.९० रुपैयाँ पुगेको नेप्सेले जनाएको छ । सोमबार ४१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७४ कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ । यस्तै, कारोबारमा आएका १० वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन नभएको नेप्सले बताएको छ । सोमबार हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार सर्वाधिक भएको छ । कम्पनीको २३ करोड ९४ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, सोल्टी होटलको सेयर २० करोड ९४ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सेयर बजार राताम्मे, घटेर न्यून बिन्दुमा झर्यो नेप्से परिसूचक

काठमाडौं । सेयर मूल्य मापक नेप्से परिसूचक एकैदिन ५३.७० अंकले घटेको छ । कारोबार खुल्दा २१५५.८२ बिन्दुमा रहेको परिसूचक दिनभर ओरालो लागेर २०९७.२९ बिन्दुमा अडिएको छ । जुन दिनभरकै न्यूनतम बिन्दु हो र प्रतिशतको आधारमा भने २.५० प्रतिशतले घटी हो । परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । पछिल्लो दिन अर्थात बुधबार ५ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आइतबार भने ५ अर्ब ८ करोड रुपैयाँमा सीमित भएको छ । २८६ वटा स्क्रीप्स कारोबारमा आएकोमध्ये हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । दिनभरमा इन्स्योरेन्सको ४२ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोहोरो अंकले घटेको बजारमा पनि दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको र सिटी होटलको सेयर मूल्य क्रमशः १० र ९.९८ प्रतिशतले बढेको छ । आइतबार १८ कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।

बिदाको दिन पनि सेयर बजार खुला !

काठमाडौं । सार्वजनिक बिदाका दिन पनि सेयर बजार खुला भएको छ । सरकारले आज असार १४ गते (बिहीबार)का दिन सार्वजनिक बिदा दिएको भएपनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बजार खुला रहेको छ । इस्लाम धर्मालम्बीहरुको पर्व बकर इद (ईद उल अहजा) को अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि नेप्सेको वेवसाइटमा भने बजार खुला भनेर देखाइएको छ । बजार खुला भनेर देखिएपनि कारोबार भने भएको छैन । यस विषयमा नेप्सेका प्रवक्ता मुराहरी पराजुलीसँग बुझ्दा नेप्से कारोबार बन्द नै रहेको बताए । उनले आफूले कसरी बजार खुला देखियो भनेर बुझिरहेको बताए । ‘बजार खुला छैन, म पनि प्रयास गर्दै छु, साथीहरुसँग सम्पर्क भएको छैन, प्राविधिक साथीहरु आज बिदा भएकाले फोन पनि उठाइरहनु भएको छैन,’ उनले भने, ‘आज बिदा हो, कार्यालयमा कोही पनि छैनन्, वेवसाइटमा देखिएको होला, कसरी डिस्प्ले भयो भनेर बुझ्दै छु ।’

सेयर बजारमा छायो हरियाली, परिसूचक ६२ अंकले बढ्दा साढे ६ अर्बको कारोबार

काठमाडौं । आइतबार सेयर मूल्य मापक नेप्से परिसूचक ६२.२१ अंकले बढेको छ । कारोबार खुलेदेखि उकालो लागेको परिसूचक बजार बन्द हुँदा ३.०३ प्रतिशतले बढेर २११७.७३ बिन्दुमा पुगेको हो । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । दिनभरको कारोबारमा ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन गत बिहीबारको तुलनामा ३ अर्ब ५ करोडले बढी हो । गत बिहीबारको बजारमा ३ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आइतबार बढी कारोबार गर्नेको अग्रस्थानमा शिवम् सिमेन्ट रहेको छ । शिवम्को ४९ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, दोश्रो स्थानमा सोल्टी होटेल रहेको छ । जसको ३८ करोड ९० लाख रुपैयाँ बराबरको सेयर एकैदिन कारोबार भएको छ । उच्च अंकले बढेको बजारमा ९ कम्पनीको सेयर मूल्य ९.५ प्रतिशतभन्दा बढीले बढेको छ । जसमा ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, हिमालयन लाइफ, एनएमबी ५० र सामलिङ पावर कम्पनी रहेका छन् । त्यस्तै, बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशत, सिटी होटलको ९.९९ प्रतिशत, शिवम् सिमेन्टको ९.९८ प्रतिशत, हिमालय उर्जा विकास कम्पनीको ९.७७ प्रतिशत र नेपाल इन्स्योरेन्स कम्पनीको ९.७४ प्रतिशतले सेयर मूल्य बढेको छ । मर्जर प्रकृयामा रहेको प्रभु लाइफ इन्स्योरेन्सको पनि ९.४८ प्रतिशतले सेयर मूल्य बढेको छ । बजारमा कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् ।

‘राष्ट्र बैंकले तत्काल १० अर्बको कोष बनाउनु पर्ने, सेयर बजारमा लगानी गर्न कम्पनीलाई कर्जा दिनुपर्ने’

काठमाडौं । सेयर बजारका लगानीकर्ताले नयाँ मौद्रिक नीति २०८० का लागि नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव दिएका छन् । पूँजी बजारको विस्तार र विकासको लागि लगानीकर्ताले विभिन्न ८ बुँदे सुझाव सोमबार राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी समक्ष बुझाएका हुन् । जसमा तत्काल १० अर्बको कोष खडा गर्नुपर्ने, गैरबैंकिङ वित्तीय संस्था स्थापना गर्ने, पब्लिक कम्पनीलाई सेयर बजारमा लगानी गर्न कर्जा दिने, जोखिम भारितलाई पुर्नविचार गर्ने, ऋणपत्र तथा बचत पत्रको ९५ प्रतिशतसम्म कर्जा दिने, बैंकहरुलाई एक करोड कित्ताभन्दा बढी सेयर किनबेच गर्न दिने, सार्वजनिक कोषहरुलाई लगानीमा केन्द्रित गराउने, एफपीओ तथा मर्जरमा लगाइने कर नीतिलाई हटाउनेदेखि अब मर्जर प्रोत्साहन नीति बन्द गराउनेसम्मको लगानीकर्ताको सुझाव छ । यस्ता छन् ८ बुँदे सुझाव १. अन्तर्राष्ट्रिय अभ्यास अनुरुप नेपालको पूँजी बजारलाई दीर्घकालीन रुपमा चलायमान बनाउन सेयर दलालमार्फत नै लगानीकर्ताले सेयर किन्ने कर्जा मार्जिन ट्रेडिङ सुविधा प्राप्त गर्न नेप्सेको मार्जिन ट्रेडिङ कार्यविधि अन्तर्गत परिचालन हुने गरी राष्ट्र बैंकले तत्काल १० अर्बको कोष खडा गरिदिने । यसो हुन नसके बैंकहरुबाट ब्रोकरहरुले पर्याप्त थोक कर्जा लिनसक्ने व्यवस्था गर्ने । यस्तो व्यवस्थाबाट १० प्रतिशत स्थायी व्याज दरको मार्जिन ट्रेडिङ । कर्जा प्रवाह गरी बजारलाई निरन्तर रुपमा चलायमान बनाउन र बैंक तथा वित्तीय संस्थामा हुने तरलता अभाव, व्याजदर वृद्धि र मौद्रिक नीतिमा हुने परिवर्तनको चक्रबाट सेयर बजारमा हुने प्रभाव कम गर्ने । २. सेयर दलालहरुलाई स्थायी रुपमा मार्जिन ट्रेडिङ सुविधा प्रदान गर्न आवश्यक पर्ने वित्तीय स्रोत उपलब्ध गराउन सक्ने खालको गैरबैंकिङ वित्तीय संस्था स्थापनाका लागि राष्ट्र बैंकले नीतिगत व्यवस्था गरी तत्कालै कार्यान्वयनमा ल्याउने । ३. पूँजी बजारमा लगानी गर्ने मुख्य उद्देश्यसहित स्थापित पब्लिक लिमिटेड कम्पनीहरुलाई सेयर बजारमा लगानी गर्ने प्रयोजनका लागि धितोेले खामेसम्मको कर्जा पाउने सुनिश्चितता गर्ने र संस्थागत लगानीकर्तालाई प्रबद्र्धन गर्ने । ४. अर्थतन्त्रको आन्तरिक तथा बाह्य क्षेत्रमा सुधार आएर बैंक तथा बित्तीय संस्थामा पर्याप्त तरलता र लगानीयोग्य रकम भएसँगै सेयर धितो कर्जामा एकल ग्राहकलाई लगाईएको सिमा र जोखिम भारलाई पुनर्विचार गर्ने र सामुहिक लगानी कोषका ईकाई, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरुले जारी गर्ने ऋण पत्र, बचत पत्रहरुको अंकित मूल्यको ९५ प्रतिशतसम्म कर्जा प्राप्त हुने व्यवस्था गरी त्यस्ता उपकरणहरुको प्रवद्र्धन गर्ने । ५. बैंक तथा बित्तीय संस्थाहरुलाई एक वर्ष भन्दा छोटो अवधिको लागि सेयर बजारमा लगानी गर्न लगाईएको प्रतिबन्ध हटाई प्राथमिक पूँजीको १० प्रतिशतसम्मको मात्र वांछित सिमा बराबरको रकम सेयर बजारमा दैनिक कारोबार हुने साधारण सेयर एक करोड कित्ताभन्दा बढी सूचीकृत भएका कम्पनीहरुको धितोपत्र खरिदबिक्री गर्न पाउने शर्त बन्देजसहित अल्पकालीन लगानी खुला गर्ने । ६. पूँजी बजार वा यस्तै उपकरणहरुमा अन्यत्र लगानी गर्ने उद्देश्यले स्थापित संस्था तथा सार्वजनिक कोषहरुलाई बैंक तथा वित्तीय संस्थामा अनिवार्य रुपमा बचत राख्न तोकिएको सिमा भन्दा बढी रकम बैंकमा निक्षेप राख्दा ब्याज नपाईने नीति अख्तियार गरी त्यस्ता संस्थाहरुलाई लगानीमा केन्द्रित हुन बाध्य पार्ने । ७. नेपालका वाणिज्य बैंकहरुको चुक्ता पूँजी पर्याप्त भई सेयर बजारमा साधारण सेयरको आपुर्ति समेत अत्यधिक हुँदा प्रतिसेयर आम्दानी तथा लाभांश दरमा गिरावट आएको छ । यसबाट माग र आपूर्तिको नियम अनुसार त्यस्ता कम्पनीहरुको सेयर मूल्य पनि लगातार खस्किएर लामो समयदेखि बैंकका लगानीकर्तामा निराशा ब्याप्त रहेको हुँदा बैंक तथा वित्तीय संस्थाहरुलाई लाभांश वितरण नीतिमा बदलाव ल्याउन वा पूँजीगत जगेडा कोष बलियो बनाएर जान प्रोत्साहित गर्ने नीति ल्याउनुपर्ने । बेंकहरुलाई थप पूँजीको आवश्यक परे डिबेन्चर तथा बण्डहरु बिक्री गर्न सकिने बाटो खुला नै रहेको र अरु उपकरणहरु समेत ल्याउन दिने गरी सहजीकरण गर्नुपर्ने । ८. सरकार र राष्ट्र बैंकले दिएको सुविधा अन्तर्गत विगतमा बैंक तथा वित्तीय संस्थाले मर्जर, एक्विजिशन र थप नयाँ साधारण सेयर (एफपीओ) निष्काशन गर्ने कार्य गरेको र त्यसबाट संकलित सेयर प्रिमियम वापतको रकमबाट बोनस सेयर वितरण गरेको अवस्थामा २०८०।०८१ को आर्थिक विधेयकको बुँदा नम्बर २६ र २७ ले बैंकका लगानीकर्तामा सिर्जना गरेको अफ्ठेरो र अन्योल हटाउन राष्ट्र बैंकले पहल गर्नुपर्ने । राष्ट्र बैंकको मर्जर नीति सफल भई बैंक तथा वित्तीय संस्थाहरुको संख्या धेरै घटिसकेकोले कार्टेलिङ्ग र मनोपोली हुन नदिन बैंकर र व्यवसायी छुट्याएर अब मर्जर प्रोत्साहन नीति बन्द गर्ने ।

सेयर बजार २८ सय बिन्दुमा पुग्ने प्रक्ष्येपण, यसकारण बढ्दैछ

काठमाडौं । सेयर बजारमा पछिल्लो समय निरन्तर कारोबार रकम बढिरहेको छ । सेयर बजारमा कारोबार रकमसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक पनि बढिरहेको छ । ३२ सय अंकमा पुगेको सेयर बजार ओरालो लाग्दै १८ सय विन्दुमा झरेपछि लगानीकर्ता आत्तिएका थिए । तर, पछिल्लाे समय बजारले लय समातेर उकालाे लागेकाे विश्लेषण धेरैले गरेका छन् । ५० करोडमा झरेकाे काराेबार बिहीबार सवा ३ अर्बकाे बढी पुग्याे  भने बुधबार ५ अर्ब बढीकाे काराेबार भयाे । डेढ महिना अघिसम्म नेप्से बिन्दु १८१८ अंकमा थियो । सो बिन्दु पुनः उकालो लाग्दै २ हजार ४२ अंकमा पुगेको छ । अबको केही दिनमै बजार बढेर २ हजार २ सय अंकमा पुग्ने विश्लेषण लगानीकर्ताकाे छ । यो वर्षभर सेयर बजार सूचकलाई २८ सय अंक पुग्न सक्ने विश्लेषण रहेकाे एक लगानीकतर्ताले बताए । राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गर्ने मौद्रिक नीतिसम्म बजार बढेर २२ सय अंक पुग्ने प्रक्षेपण उनकाे छ । उनका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटेका कारण लगानीकर्ताको मनोबल बढेको छ । साथै, बैंकहरुमा निक्षेप थुप्रिएर सेयर कर्जा लिनका लागि बैंकरहरुले फोन गरेर बोलाउन थालेपछि बजार बढ्न थालेको उनको भनाइ छ । राष्ट्र बैंकले सेयर बजारसँग सम्बन्धित नीतिहरुलाई आगामी वर्षको मौद्रिक नीतिमा खुकुलो गर्न सक्ने अनुमान गरेका कारण पनि बजार बढ्न लागेको उनले बताए । अर्थतन्त्र चलायमान गर्नका लागि भएपनि लचिलो मौद्रिक नीति आउने उनको अनुमान छ । ‘बैंकको निक्षेप र कर्जाको ब्याज घटिरहेको छ, बैंकहरुले सेयर बजारलाई जोड दिइरहेका छन्, बैंकमा पैसा थुप्रिएपछि चलायमान गर्न सेयर कर्जा भटाभट दिइरहेका छन् तर, १२ करोडको सीमा तोकिएको हुँदा त्यो भन्दा बढी लिन पाउँदैनन्,’ उनले भने, ‘राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर बजारसँग सम्बन्धित नीति केही खुकुलो ल्याउन सक्ने अनुमान लगानीकर्ताहरुले गरेका छन्, १२ करोडको सीमा हट्छ हट्दैन त्यो भन्न सकिँदैन तर, अहिलेको मन्दीलाई हटाउन अर्थात् पैसा चलायमान गर्न खुकुलो मौद्रिक नीति आवश्यक छ ।’ अहिले जीवन बीमा, निर्जीवन बीमा र होटल क्षेत्रले लिड गरिरहेको भएपनि अब हाइड्रोपावर, विकास बैंक, फाइनान्स समूहको सेयर मूल्य बढ्न सक्ने उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका भने कमजोर अवस्थाका कम्पनीहरुको सेयरमा म्यानुपुलेट गरेर बजार बढाइरहेको तर्क गर्छन् । राम्रा कम्पनीहरुको सेयर मूल्यलाई मात्रै गणना गर्ने हो भने सेयर बजार सूचक १ हजार अंक मात्रै पुग्ने उनको तर्क छ । ‘काम नलाग्ने कम्पनको सेयर मूल्य बढाएर बजारलाई उच्च बनाएका छन्, केही लगानीकर्ताहरुले वित्तीय अवस्था कमजोर भएका कम्पनीको सेयर मूल्यमा म्यानुपुलेट गरेर बजार बढाइरहेका छन्,’ उनले भने, ‘राम्रा कम्पनीको सेयर मूल्य क्याल्कुलेशन गर्ने हो भने बजार अहिले पनि १ हजार अंक मात्रै पुगेको छ ।’ बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दै गएकाले सेयर बढ्ने उनको तर्क छ । साथै, सेयर बजारमा लगानीमैत्री वातावरण बन्दै गएको उनको भनाइ छ । सेयर अध्येता अम्बिर बोगटी सेयर बजार बढेर छिट्टै ५४३० को बिन्दुमा पुग्ने बताउँछन् । अहिले लगानीकर्ताको लगानी ४२/४३ प्रतिशतले घटेको भएपनि विस्तार बढ्दै जाने उनले बताए । उनका अनुसार तथ्याङ्क विश्लेषण गर्दा ४/५ वर्षमा बजारको फिगर घट्ने र बढ्ने गरेको देखिन्छ । साथै, सेयर बजार ३ वर्ष घट्ने र २ वर्ष बढ्ने वितगको तथ्याङ्कले देखाएको उनको भनाइ छ ‘अब नेप्से परिसूचक ३२ सय अंकको फिगरलाई आधार मान्दा वि.सं.२०८२ असारमा सेयर बजार १६०/१७० प्रतिशत बढेर नेप्से परिसूचक ५४०० अंक सम्म पुग्ने देखिन्छ, वि.सं.२०८० बैशाखको नेप्से परिसूचक १८०८ अंकलाई आधार मान्दा ३०० प्रतिशत फिगर बढ्न सक्ने देखिन्छ,’ उनले भने । बिगत १५ बर्षको सेयर बजारको उतारचढाबको आधारमा नेप्से परिसुचक ५४०० अंक सम्म पुग्न सक्ने आकलन गरिएको उनको भनाइ छ । किनकी हरेक ५ वर्षमा ३ वर्ष बजार घट्ने र २ वर्ष बढेको विगतको इतिहासले देखाएको उनले बताए । ‘ब्यापार व्यवसाय चलायमान भइरहेको छ, सर्वसाधारणको दैनिकी पनि पुरानै अवस्थामा फर्किरहेको छ, रुस र यूक्रेन युद्ध पनि समाधान उन्मुख हुँदै गएको भएर इन्धनको मूल्य पनि घटिरहेको छ, सरकारले गैह्र आवासीय नेपालीलाई सेयर बजारमा लगानी खुल्ला गराउने र पूँजी बजारको संरचनागत सुधार गर्ने तथा लगानीमैत्री नीति नियमहरु सहज बनाउन तदारुकता देखाएको छ,’ उनले भने, ‘विगत ३ महिनादेखी बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटिरहेको छ र आगामी दिनहमा अझ घट्न सक्ने देखिएको छ, देशमा आर्थिक गतिविधि बढ्दै गइरहेको छ, उद्योगधन्दाहरु चलायमान भइरहेका छन् ।’ ब्याजदर र बजारको सम्बन्ध उल्टो रहेको उनले बताए । उनका अनुसार ब्याजदर बढ्दा बजार घट्ने र ब्याजदर घट्दा बजार बढेको विगतको इतिहास छ । ब्याजदर बढेपछि बजार जहिले पनि घटेको उनले बताए । ‘जब तरलता अभाव हुन थाल्यो, बैंकले निक्षेपको ब्याजदर बढाउन थाले, बैंकका कर्मचारी घरघर पठाएर निक्षेप उठाउन थाले भने अब बजार घट्छ भनेर अनुमान गर्नु पर्छ, जब कर्जा लिन आउनुहोस् भनेर बैंकहरुले भन्न थाल्छन् तब बजार बढ्छ, अहिले पनि ब्याजदर निक्षेपमा घटिसकेको छ, अब ब्याजदरका कारण बजार प्यानिक हुँदैन,’ उनले भने । स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा पूँजी बजारको विकासका लागि ब्रोकरको पहुँच, प्रडक्ट र पूर्वाधारको विकास हुनुपर्ने बताउँछन् । साथै, इन्ट्रा डे कार्यान्वयनमा ल्याए दैनिक १ सय अर्बको कारोबार हुने उनको भनाइ छ । ‘इन्ट्राडे र सट्स सेल लागू गरेर अर्थतन्त्रलाई चलायमान बनाउनु पर्छ, प्रडक्ट विस्तारमा तीब्र गतिमा कुद्नु पर्छ, यदि इन्ट्रा डे कार्यान्वयनमा ल्याउने हो भने दैनिक १ सय अर्बको कारोबार हुन्छ, किनभने इन्ट्राडे लागू भएपछि अहिले भइरहेको ५/१० गुणा कारोबार बढाउँछ,’ उनले भने । लगानीकर्ताको सचेतना बढाएर मात्रै पूँजी बजारको पहुँच विस्तार गर्नुपर्ने उनको धारणा छ । दोस्रो बजार सूचनाको बजार रहेको उनले बताए । साथै, पूँजी फर्मेसनका लागि पूँजी बजार सञ्चालनमा आएको उनको भनाइ छ । ‘घरघरमा भएको पूँजीलाई क्यापिटलको रुपमा फर्मेसन गर्न पूँजी बजार आएको हो, प्राथिमक बजारमा आईपीओ मार्फत हुन्छ, प्राथमिक बजारमा फर्मेटेड भएको क्यापिटल त्यतिकै बस्न सक्छ, यो पूँजी त्यतिकै अड्किन नदिनका लगि दोस्रो बजार हो, दोस्रो बजारले तरलता सिजना गर्छ,’ उनले भने, ‘दोस्रो बजारमा सूचनाका बारेमा राम्रोसँग बुझेको ब्यक्तिले मात्रै प्रवेश गर्ने हो, राम्रोसँग बुझेर कम्पनी छनोट गर्न सक्ने ब्यक्तिलाई पूँजी बजारमा सहज हुन्छ, पहुँच विस्तारलाई मात्रै मान्यता दियो भने अन्ततः ठूलो दुर्घटनामा पर्न सकिन्छ, त्यसकारण पहुँच विस्तार भन्दा पहिला सचेतना दिनुपर्छ ।’

सेयर बजारमा उल्लास कायमै, ४ अर्ब माथिको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार ३२.४६ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज९नेप्से०को अनुसार मंगलबार सेयर बजार बढेर २०१८.९३ विन्दुमा पुगेको छ । आज एक करोड ७ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा चार अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ ।  जसमा सबैभन्दा बढी शिवम् सिमेन्टले २७ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा विन नेपाल लघुवित्त वित्तिय संस्था, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र सिटी होटल्स रहेको छ ।

सामान्य अंकले बढ्यो सेयर बजार, ६ कम्पनीमा सर्किट

काठमाडौं । सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार ७.७९ अंकले बढेर १९८७.८७ विन्दुमा पुगेको छ । बजार सामान्य अंकले बढ्दा ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । नेप्सेको अनुसार ५ कम्पनीमा सकारात्मक सर्किट र १ कम्पनीमा नकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लाग्नेहरु क्रमश: अभियान लघुवित्त वित्तिय संस्था, कालिन्चोक दर्शन, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, सिटी होटल्स र चन्द्रगिरी होटल्स रहेको छ । यस्तै, नकारात्मक सर्किट लाग्नेमा प्रभु स्मार्ट फण्ड रहेको छ । आज ७४ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ। जसमा सबैभन्दा बढी सोल्टी होटलले १० करोड रुपैयाँको कारोबार गरेको छ ।

२३ अंकले बढ्यो सेयर बजार, दुई अर्बको कारोबार

काठमाडौं । सेयर बजार मंगलबार २३.१२ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनुसार मंगलबार सेयर बजार बढेर १९२५.१२ विन्दुमा पुगेको छ । आज ५३ लाख ८२ हजार ३४२ कित्ता सेयर बिक्री हुँदा एक अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको छ । जसमा सोल्टी होटलले ९ करोड ६८ लाख रुपैयाँको कारोबार गरेको छ । नेप्सेको अनुसार आज न्यादी हाइड्रोपावर र सनराइज फोकस्ड इक्विटी फण्डको सेयर सकारात्मक लेभलमा कारोबार भएको छ  । न्यादी हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता २७ रुपैयाँले बढेको हो भने सनराइज इक्विटी फण्डको मूल्य प्रतिकित्ता ०.७३ रुपैयाँले वृद्धि भएको हो ।

सेयर बजारमा ठूलाले सानालाई डुबाउने खेल खेले : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले सेयर बजारमा ठूलाले सानालाई डुबाउने खेल खेलेको बताएका छन् ।  इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले सेयर बजारको समस्या समाधान नभएको बताउँदै उनले यस्तो बताएका हुन् । ‘सेयर बजारमा ठूलाले सानालाई डुबाउने खेल खेलिरहेका छन्, अहिले पनि बजार घटेर सानाल किनेका छैनन्, बिअरिसमा ठूलाले नै खेलिरहेका छन्, डुब्ने साना नै हुन्,’ उनले भने । महालेखाले प्रश्न उठाएपछि आर्थिक ऐनको दफा २६ र २७ ल्याइएको उनले बताए । महालेखाले बेरुजु भयो उठाउ भनेपछि ब्याज शुल्क छुट दिएर उठाउन खोजिएको समेत उनको भनाई छ । ‘मैले छुट नदिन पनि सक्थें, तर दिएँ, अब अन्तिम निर्णयकर्ता अदालत छ, अदालतले दिनु पर्दैन भन्यो भने नउठाउँला,’ अर्थमन्त्री डा. महतले भने ।

आध्यात्मिक सीएको सेयर बजार यात्रा, ‘ध्यानले धन र जोखिम लिने क्षमता बढाउँछ’

एलपी भानु शर्मा अध्यात्म गुरु हुनुहुन्छ । शिक्षाले चार्टर्ड एकाउन्टेन्ट बन्नु भएका शर्माले पुँजी बजारसँगै शिक्षण पेशामा लामो समय बिताउनु भयो । पछिल्लो समय अध्यात्मिक जागरण फैलाउने संस्था जीवन विज्ञानमार्फत आध्यात्मिक शिक्षा फैलाउने क्रममा उहाँलाई धेरैले चिनेका छन् । योगाभ्यास, प्राणायाम र ध्यानमा मानिसहरुलाई अभ्यस्त गराउने जीवन विज्ञानको जागरण अभियान विश्वभर ४० भन्दा बढी देशमा फैलिएको र ३० लाखभन्दा बढी मानिसहरु यसमा अभ्यस्त भैसकेका छन् । प्रभु क्यापिटल लिमिटेडका अध्यक्ष समेत रहनु भएका शर्मासँग विकासन्युजका लागि सीआर भण्डारीले पुँजी बजार र अध्यात्म शिक्षाबारे कुराकानी गरेका छन् । मर्चेन्ट बैंकलाई पूँजी बजारको अंगका रुपमा लिइन्छ । तपाईं प्रभु क्यापिटलको अध्यक्ष हुनुहुन्छ । आध्यात्मिक चिन्तनमा लागेको ब्यक्ति कसरी पूँजी बजारमा जोडिनु भयो ? म शिक्षाले चार्टर्ड एकाउन्टेन्ट हुँ । वित्तीय क्षेत्रमा मैले लामो समय काम गरेको अनुभव छ । यो क्षेत्रमा रुची पनि छ । मान्छेको जीवनमा २ वटा कुरा आवश्यक पर्छ । मोटरमा ब्रेक र एक्सलेटर दुवै हुन्छ । एक्सलेटर मात्रै छ तर ब्रेक छैन वा ब्रेक मात्रै छ र एक्सलेटर छैन भने त्यो काम लाग्दैन । मान्छे पनि गतिशिल र शान्त दुवै हुन सक्नु पर्छ । एक्सलेटरमा गतिशिलता हुन्छ । अर्थतन्त्रका विभिन्न पाटाहरु गतिशिल हुन् । र, अध्यात्म शान्त, स्थीर रहने कला हो । यी दुवै अनिवार्य आवश्यक पर्छ । पूँजी बजारमा उतारचढाव हुन्छ । त्यो उतारचढावको बीमा हुँदैन । जो ब्यक्ति उतारचढावको मज्जा लिएर नाफा मात्रै गर्छु भनेर बजारमा प्रवेश गरेको हुन्छ, उसले दुःख पाउनु र मानसिक पीडा भोग्नु स्वभाविक हो । किनभने बजार उसको शैलीमा चल्दैन । हामी पनि प्रभु क्यापिटलमा संलग्न भएर बजारका लागि महत्वपूर्ण योगदान गर्दै आएका छौं । केवल धन कमाउने उद्देश्यले मात्रै नभइ मान्छेको जीवन परिवर्तन गर्न योगदान गर्न सकिन्छ भन्ने इच्छा वा सोच हो । आध्यात्मिक चेत शान्त र स्थीर हुन्छ भन्नुभयो, पूँजी बजार बारम्बार उथलपुथल हुने क्षेत्र हो । बजारमा उथलपुथल भएको बेला एउटा लगानीकर्ता कसरी शान्त रहन सक्छ ? आजको आजै सन्तुलन गर्न सकिँदैन । स्थीरता र शान्तको अभ्यास गर्नुपर्छ । यसलाई ध्यान भनिन्छ । जीवन विज्ञानमा गरिने सबै ध्यान शान्तिको अभ्यास हो । अभ्यास गरेर शान्तिको केन्द्र पत्ता लगायो भने उथलपुथलबाट प्रभावित हुँदैन । पूँजी बजारमा मात्रै नभएर हरेक क्षेत्रमा उथलपुथल भइरहेको हुन्छ । यदि सवारी चलयाएर कतै जानु हुन्छ भने कुनै ठाउँमा दुर्घटना हुनसक्छ । बाटोमा हिँड्दा कतै लड्न सकिन्छ । खाना खाँदाखेरी ढुंगा पर्न सक्छ । त्यसैले जोखिम जहाँ त्यही छ । गतिशिलता जीवनका हरेक अंगमा छ । गतिशिलताको एउटा नियम हुन्छ, त्यो हो जोखिम । अध्यात्मले ब्यक्तिलाई जब शान्त बनाउन सिकाउँछ तब ब्यक्तिको जोखिम लिने क्षमता पनि बढ्दै जान्छ । जो ब्यक्ति शान्त छ उसले बढी जोखिम लिन सक्छ । उदाहरणको रुपमा बिलगेट्सलाई लिन सकिन्छ । यदि ती ब्यक्ति शान्त हुँदैनथे भने यति धेरै काम गर्न सक्ने थिएनन् । जो ब्यक्ति धेरै काम गर्न सक्छ, उसको केन्द्र बिन्दुमा स्थीरता छ । तर, हामी गतिशिल मात्रै हुन खोज्छौं, स्थीर हुन खोज्दैनौं । यदि ब्यक्तिको भित्र मन शान्ति छ भने सन्तुलन आफै आउँछ । ब्यक्तिभित्रको शान्तिले कति जोखिम लिने र कति जोखिम नलिने भनेर टुंंगो लगाउन सक्छ । उतारचढावमा पनि धेरै प्रभावित नभइकन आफ्नो आधार रेखामा बस्नुपर्छ । मलाई यत्ति भए ठिक छ भनेर आधार रेखा निर्धारण गर्नु पर्ने हुन्छ । सन्तुलित हुने प्रयास गर्नु पर्दैन । अध्यात्मले ब्यक्ति भित्रको सन्तुलनलाई जागृत गरिदिन्छ । सन्तुलतको केन्द्र ब्यक्ति भित्र नै हुन्छ । पुँजी बजारमा लागेका मान्छेको ध्यान पैसामा केन्द्रीत हुन्छ । पैसा र अध्यात्म बीचको सम्बन्धलाई कसरी जोड्नुहुन्छ ? यी एक अर्काका परिपूरक छन् । मान्छेले बिना धन दैनिक जीवन यापन गर्न सक्दैन । यदि धन नै छैन भने के खाने ? अध्यात्म नगरेको मान्छे जहिल्यै पनि तनाव, हतार, आत्तिएको र असुरक्षाको गहिरो पीडामा रहन्छ । ध्यानले धन आर्जन गर्ने क्षमता बढाउँछ तर धनले ध्यान बढाउँदैन । त्यसकारण ब्यक्तिले ध्यान आर्जन गर्ने क्षमता बढाउँदा मात्रै धन आर्जन गर्न सिक्नुपर्छ । ध्यान र धन दुईटैलाई सँगसँगै लिनु पर्छ । पूँजी बजारमा दैनिक उतार चढाव हुँदा लगानीकर्ताहरु तनावमा हुन्छन् । लगानीकर्ताहरु शान्त जीवनमा बस्नका लागि आधात्मिक क्षेत्रबाट कस्तो सुझाव दिनु हुन्छ ? घाटा होस् या नाफा स्वस्थ शरीर चाहिन्छ । नाफा र घाटाले शरीरलाई असर गर्न थाल्यो भने धेरै समय टिक्न सकिँदैन । त्यो मान्छेले दीर्घकालसम्म काम गर्न सक्दैन । संसारिक जीवनमा उथलपुथलले कम प्रभाव पर्न सक्ने बन्नुपर्छ । पहिला आफ्नो स्वास्थ्यको रक्षा गर्नुपर्छ । स्वास्थ्यको रक्षा पैसा वा पूँजी बजारले गर्दैन । घाटा नाफा जेसुकै भएपनि हरेक दिन योगाभ्यास वा व्यायाम गर्नुपर्छ । स्वस्थ शरीर भएर मात्रै काम गर्न सकिन्छ । शरीरलाई स्वस्थ अरु कसैले पनि गर्दैन । धन आर्जन गर्नु पर्छ तर, स्वास्थ्यलाई बिगारेर वा गुमाएर होइन । जीवन विज्ञानले प्रत्येक दिन निश्चित तालिका र विधि दिन्छ । त्यो तालिका र विधिमा ब्यक्तिको स्वास्थ्य आफै राम्रो हुन्छ । व्यायाम गर्ने मान्छेको जीवनमा अनुशासन पनि हुन्छ । दीर्घकाल टिक्नका लागि अनुशासन आवश्यक पर्छ । स्थायी भएर काम गर्नु छ, अस्थायी होइन । रातारात केही पनि हुँदैन । जसरी शरीरको स्वास्थ्यका लागि योगाभ्यास गर्नु हुन्छ, त्यसैगरी मनको स्वास्थका लागि प्राणायाम गर्नुपर्छ । स्वास प्रस्वासका बिधिलाई प्राणायाम भनिन्छ । र, जीवन विज्ञानका प्राणायमका विधिहरु आधुनिक मनुष्यलाई लक्षित गरेर निर्माण गरिएका छन् । ५ मिनेट प्राणायाम गर्नुभयो भने तुरुन्तै आफ्नो तनाव फाल्न सकिन्छ । अध्यात्म मरेपछि स्वर्ग जाने होइन, जीवनलाई स्वर्ग बनाउने विज्ञान हो । परिवारलाई पनि स्वर्ग बनाउँछ । मान्छेलाई शान्ति र स्थीरता चाहिन्छ । यसको लागि ध्यान गर्नुपर्छ । योगाभ्यास, प्राणायाम र ध्यान हरेक दिन गर्नु भयो भने संसारमा सबैभन्दा ठूलो बीमा खरिद गरे सरह नै हुन्छ । बीमाले स्वास्थ र औषधि दिन सक्छ । धनले औषधि मात्रै दिन्छ । तर, स्वस्थ शरीर व्यायामले मात्रै दिन्छ । स्वस्थ शरीर दिने क्षमता ब्रम्हाण्डमा कसैको पनि छैन । ब्यक्तिको मनलाई शान्ति पनि कसैले गर्न सक्दैन । मनले खोजेको कुरा पैसाले किन्न सक्नुहुन्छ । तर, भएको कुरालाई उपभोग गर्न मन शान्त चाहिन्छ । जस्तो घरमा मिष्ठान्न भोजन पकाएको छ । तर, कोही मान्छे बिरामी छ भने मिष्ठान्नको फाइदा लिन सकिँदैन । योगाभ्यास, प्राणायाम र ध्यानलाई दैनिक जीवनको अंग बनाउनु पर्छ । यसलाई खाना खाए जस्तै बनाउनु पर्छ । यसलाई खाना भन्दा पनि बढी महत्व दिनुपर्छ । एक दिन खाना खानु भएन भने केही फरक पर्दैन, बरु व्रत नै हुन्छ । शरीर राम्रो हुन्छ । तर, एक दिन पनि योगाभ्यास, प्राणायाम र ध्यान गर्नु भएन भने समस्या आउँछ । त्यो समस्या बुढेशकालमा झनै देखिन्छ । तनावले मानिसहरुमा हानिकारक हर्माेनहरु उत्पादन हुन्छ । सेयर बजार दैनिक उथलपुथल हुँदा लगानीकर्ताले नचाहेर पनि तनाव लिएका हुन्छन् । लगानीकर्ताले यो कठिन जीवनबाट कसरी शान्त जीवन बनाउने ? यदि कोही मान्छे मोटरसाइकल चलाउँदै छ भने हेलमेट लगाउँदा दुर्घटना हुने सम्भावना कम हुन्छ । हेलमेट नलगाएर मोटर चलाएको छ भने दुर्घटना हुँदा असर बढी हुन्छ । जसरी हेलमेटले सुरक्षा गर्छ, त्यसैगरी आध्यात्मले भित्री सुरक्षा दिन्छ । आध्यात्मको पाठ सिकेको छ भने मान्छे ढुक्क हुन्छ । आफ्नो बलमा भरोसा धेरै गर्न सकिन्छ । जुन दिन आत्मबलमा भरोसा गरिन्छ, त्यो बेला बजार घटेपनि केही छैन, फेरी उठिहाल्छु भन्ने मान्यता राख्छ । मान्छेमा गहिरो आत्मविश्सास जन्मन्छ । जीवन विज्ञानको कार्यक्रमहरुले मान्छेको आत्मविश्वास जगाएर शान्त र स्वस्थ बनाउँछ । तनावको बेलामा कर्केश्वर हर्माेन जन्मिन्छ । जुन हर्माेनले सबै कुराहरु बिगार्छ । योगाभ्यास, प्राणायाम र ध्यान गर्नुभयो भने खराब तत्वहरु उत्पादन हुँदैनन् । शरीरमा नकारात्मक असरलाई हटाउन, मनलाई शान्त बनाउन योगाभ्यास, प्राणायाम र ध्यान गर्याे भने सकारात्मक हर्माेन उत्पादन हुन्छन् । तनावमा भएका लगानीकर्ताहरुले जीवन विज्ञानका योगाभ्यास, प्राणायाम र ध्यान गर्नुपर्छ । धेरै जना लगानीकर्ता, उद्योगपति जीवन विज्ञानमा आएर योगाभ्यास, प्राणायाम र ध्यान गरिरहनु भएको छ । जीवन विज्ञान मार्फत २० लाख मान्छेले फाइदा लिएका छन् । जीवन विज्ञानले ३० हजारभन्दा बढीलाई डिप्रेशनबाट जोगाएका छौं । नियमित रुपमा जीवन विज्ञानका कार्य गर्नु हुन्छ भने जीवनमा डिप्रेशन आउने कुरा शुन्य हुन्छ । जस्तो कम्प्युटरमा पहिला नै एन्टि भाइरस राख्यो भने कम्प्युटर ह्याक हुने सम्भावना न्यून हुन्छ । त्यसैले डिप्रेशनमा जानु भन्दा अघि नै योगाभ्यास, प्राणायाम र ध्यान गर्नु पर्छ । पूँजी बजारमा आज लगानी गरेर भोलि नै नाफा खोजिन्छ । तर, आध्यात्मले त्यस्तो भन्दैन । तपाईंले प्रवाह गर्नु भएको विचारसँग मेल खाँदैनन् नी ? पूँजी बजार, फलाम बजार, इट्टा बजार, आइटी बजार लगायत सबै बजार बिगार्ने भनेको लोभीपापीले हो । जसको मनमा अत्याधिक लोभ छ, उसले बजारलाई बिगार्छ । जो दीर्घकालिन रुपमा बजारमा प्रवेश गरेको छ, उसले बजारलाई पनि मद्दत हुने गरी काम गरेको हुन्छ । रातारात कमाउन खोज्ने मान्छेको हृदयभित्र धेरै लोभ हुँदा लोभले खान्छ । त्यो लोभ मनबाट उत्पन्न भएको हो । लोभ र पाप मनमा छ भने त्यसले कसैलाई पनि हित गर्दैन । त्यसैले दिगो काम गर्न चाहनु हुन्छ भने मनमा रहेको पापलाई फाल्नु पर्छ । लामो दौडको घोडा जस्तै बन्नुपर्छ । आजको भोलि कमाउन खोज्ने वा मनमा लोभपाप भएका ब्यक्तिलाई एक÷दुई वर्ष पछि फलफूल बोकेर अस्पतालमा भेट्न जानु पर्छ । आध्यात्मले दीगो काम गर्न सिकाउँछ । दीगो जीवन यापन गर्न सिकाउँछ । मर्चेन्ट बैंकरलाई उकास्नका लागि नियामक निकायले के गर्नुपर्छ ? नियामक निकायले अध्ययन र अनुसन्धानमा खर्च गर्नुपर्छ । एउटा स्थीर बजारले लाखौं ब्यक्तिको आम्दानी र रोजगारी सिर्जना गर्छ । बजार कल्पवृक्ष हो । बजार कामधेन हो । थीर बजार निर्माण गर्नका लागि अध्ययनशील ब्यक्ति चाहिन्छ । नियामक निकायले अध्ययन र अनुसन्धानमा लगानी गर्न जरुरी छ । मानव संशाधनको विकासमा लगानी गर्नुपर्छ । एउटा टिममा भिजन बनाएर काम गर्नुपर्छ । पूँजी बजारमा सूचना, सरोकारवालाहरुको जानकारी र शिक्षाको एकदमै ठूलो अभाव छ । लगानीकर्ता र बजारमा रहेका खेलाडीहरुको शिक्षालाई महत्वपूर्ण मानिन्छ । त्यो शिक्षामा नियामक निकायले आध्यात्मिक शिक्षामा जोड्नु पर्छ । पूँजी बजार विकास नहुनुमा राम्रा संस्थाहरु बजारमा नआउनु हो । राम्रा संस्थालाई बजारमा आउन प्रेरित गर्नु पर्छ । र, बजारमा आउने व्यवस्था मर्चेन्ट बैंकरहरुले गर्छन् । संस्थाहरुको भ्यालू डिस्कोभरी गर्ने कामका लागि मर्चेन्ट बैंकलाई तालिम दिनुपर्छ । लुकेर बसेका राम्रा संस्थाहरु आए भने बजारमा स्थीरता र दीगोपना आउँछ । नियामक निकायहरुमाथि आम जनताको धेरै ठूलो भरोसा हुन्छ । यदि सेबोनमाथि आम जनताको भरोसा रहेन भने कसैले पनि लगानी गर्दैन । त्यसकराण यी संस्थाहरु आफैं आध्यात्मिक बन्दै जानुपर्छ । ताकी लगानीकर्ताको यी संथाहरुमा विश्वास बढोस् । संस्थाहरु पनि आध्यात्मिक बन्नुपर्छ । यदि संस्थाहरु लोभ र पापमा छैनन भने लगानीकर्ताहरुको विश्वास पनि बढ्छ । नियामकको बारेमा एउटा पनि नराम्रो कुरा आयो भने त्यसले पुरै बजारलाई असर गर्छ ।

५३ अंकले बढ्यो सेयर बजार, ५ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । आइतबार सेयर बजार ५३.०३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सेयर बजार आज २.८४ प्रतिशतले बढेर १९१९.३७ विन्दुमा बन्द भएको छ । सो क्रममा ४५ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमा सबैभन्दा बढी शिवम् सिमेन्टको १५ करोड ८१ करोडको सेयर किनबेच भएको छ । यस्तै, आज एक कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने ४ कम्पनीको सेयर सकारात्मक लेभलमा कारोबार भएको छ । सकारात्मक सर्किट लाग्ने कम्पनी आइिजिआई इन्स्योरेन्स रहेको छ । आज आइजिआईको सेयर मूल्य ३७.०८ रुपैयाँले वृद्धि भएको छ । त्यस्तै, सकारात्मक सर्किट लेभलमा कारोबार हुनेहरु क्रमश: सामुदायिक लघुवित्त वित्तिय संस्था, ग्लोबल आइएमई ब्यालेन्सड फण्ड(१, सोल्टी होटल र तारागाउँ रिजेन्सी रहेको छ । आइतबार अर्थमन्त्रीले पुँजीगत लाभकर नै अन्तिम भएको विश्वास दिलाएपछि सेयर कारोबार उकालो लागेको जानकारहरु बताउँछन् ।

सरकारको गलत नीति र सेयर बजारमा फसेका लगानीकर्ता

पुँजी बजारको सिद्धान्त र अन्तर्राष्ट्रिय अभ्याससँग मेल नखाने, सबैका लागि पुँजी बजार भन्दै सर्बसाधारण जो कोहीलाई उच्च जोखिमयुक्त बजारमा समाहित गराउने, नीति निर्माण तथा ठूला लगानीकर्तालाई उच्च लाभको अवसर प्रदान गर्ने र एउटै निर्णयबाट सर्बसाधारण लाखौं लगानीकर्ताको सम्पत्ति नोक्सान गराउने जस्ता गम्भीर र गलत अभ्यास नेपालको पुँजी बजारमा भइरहेका छन् । विद्वान वर्गमा दुईमत नै छैन कि लगानीकर्ताको लागि सेयर उच्च जोखिमपूर्ण बजार हो । जसले कम्पनीको वित्तीय अवस्था बारे राम्रो जानकारी लिन सक्छ, जसले कम्पनीका मुख्य लगानीकर्ता, उच्च व्यवस्थापन व्यक्तिगत जानकारी लिन सक्छ, जसले कम्पनीको लाभांश इतिहासबारे जानकारी लिन्छ, भविष्यमा दिने लाभांशबारे उचित पूर्वानुमान गर्न सक्छ, जसले कम्पनीको व्यवसायिक प्रकृति, प्रतिस्पर्धीको अवस्था र सम्बन्धित कम्पनीले लिएको रणनीतिबारे जानकारी लिन, बुझ्न, विश्लेषण गर्न सक्छ, जसले देशको अर्थतन्त्रको गतिको चाल पाउन सक्छ, सरकारको नीतिले अर्थतन्त्रमा पार्ने प्रभावबारे सही विश्लेषण गर्न सक्छ, जसले पुँजी बजारमा सक्रिय लगानीकर्ताको मनोविज्ञानलाई बुझेर सही निर्णय लिन सक्छ, त्यो लगानीकर्ताले सेयर बजारमा कमाउँछ । यति बुझक्की, विवेकशिल र चलाख लगानीकर्ताले सेयर बजारमा हमेसा गुमाउँदैन । तर, यो तहको क्षमता सबै नागरीकमा हुँदैन । १०० जनामध्ये १० जनामा पनि यस्तो क्षमता नहुन सक्छ । तर, सरकारको नीति पुँजी बजारमा आम मानिसलाई सहभागी गराउने भन्ने छ । यो नीति गलत छ । लगानीको सबैभन्दा सानो इकाई १० कित्ता सेयर आवेदन गर्नेलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ । उसलाई अग्राधिकार दिइएको छ । सरकारको बार्षिक नीति तथा कार्यक्रम सुन्नुहोस् वा बजेट सुन्नुहोस्, जहिले पनि एउटा रटान सुनिन्छ, ‘पुँजी बजारमा आम सर्बसाधारणको सहभागिता सुनिश्चित गरिनेछ ।’ नेपाल धितोपत्र बोर्डले एउटै गीत गाउन थालेको २ दशक भयो, ‘सेयर ब्रोकर गाउँ–गाउँमा जानु पर्यो, धनीलाई मात्र होइन, गरिबलाई पनि सेयरधनी बनाउनु पर्यो । राम्रा कम्पनीको मालिक बनाउनु पर्यो ।’ यस्तो भ्रमपूर्ण सोच, चिन्तन, नीति, कार्यक्रम, बजेटलाई जबसम्म बोकेर हिड्छौं तबसम्म पुँजीबजारमा नीतिगत रुपमा ठगी धन्धा चलिरहन्छ । साना लगानीकर्ता डुबिरहन्छन्, ठूला लगानीकर्ताले कमाइरहन्छन् । सेयर बजारबाट धनीले छोटो समयावधिमा आफ्नो सम्पत्ति गुणात्मक दरले वृद्धि गर्न सक्छ । तर, गरिबले सक्दैन । पुँजी बजारको जन्म, विकास र अभ्यास नै पुँजीबादी सोच, सिद्धान्त र अभ्यासमा आधारित छ । तसर्थ पुँजीबादको उच्चतम प्रयोगशाला भित्र समाजबादी सोचको अभ्यास गर्नु र गरिबलाई धनी वर्गमा रुपान्तरणको अभ्यास गर्नु कोलमा बालुवा पेलेर तेलको जर्किन थाप्नु जस्तै हो । सानो लगानीकर्ता पनि पुँजी बजारबाट उठेर ठूलो पुँजीपति बनेको एकाध उदाहरणहरु पाइन्छन् । यस्ता अपवादलाई आधार मानेर साना लगानीकर्तालाई प्रोत्साहित गर्ने, संरक्षण गर्ने नीति लिनु भनेको कलेज वा विश्वविद्यालय नपढी नेतृत्वमा पुगेको वा विश्व हल्लाउन सफल केही अपवाद पात्रलाई उदाहरण देखाएर भए भरका विश्वविद्यालयहरु बन्द गराउने नीति लिनु जस्तै हो । पछिल्लो समय कुनै पनि कम्पनीले साधारण सेयर निष्काशन गर्दा त्यसको १० प्रतिशत बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई दिनै पर्ने नीति नेपाल धितोपत्र बोर्डले लिएको छ । विदेशमा काम गर्न जाने नेपालीलाई सेयरमा अग्राधिकार दिनु गलत छ । यो त नेपालभित्र पसिना बगाउने परिश्रमी नागरीकलाई हेप्नु हो । नेपाल भित्र काम गरेर कमाउने, बचत गर्ने र बचतको केही हिस्सा लगानी गर्छु भन्ने सोच भएका नेपालीहरुलाई उक्त अवसरबाट बञ्चित गर्ने नीतिगत बेइमानी हो । विदेशमा काम गर्न जानेलाई सरकारी लगानीमा तालिम दिएर सीप विकासमा मद्दत गर्ने तर नेपालमा बस्नेलाई मद्दत नगर्ने, विदेश जाने नेपालीको अनिवार्य बीमा गराउने तर नेपालभित्र बस्ने नेपालीको बीमा नगर्ने, विदेशको कारखानामा काम गर्दै गर्दा मृत्यु भयो. भने त्यही नेपालीलाई २० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने तर नेपालमा काम गर्दै गर्दा सर्पले टोकेर मर्यो वा रुखबाट खसेर मर्यो भने त्यही नेपालीले कत्ति पनि क्षतिपूर्ति नपाउने, नेपालभित्र बस्ने नेपालीलाई भन्दा विदेशमा बस्ने नेपालीले बचत गर्दा १० प्रतिशत बढी व्याज दिलाउने जस्ता गलत नीतिको कारण हो विदेशमा बस्ने नेपालीलाई सेयरमा पनि १० प्रतिशत अग्राधिकार दिनु । विदेशमा काम गर्नेलाई उच्च अधिकार, उच्च सुविधा, उच्च संरक्षण दिने तर नेपालभित्र बस्नेले केही पनि नपाउने सरकारी नीति दीर्घकालका लागि आत्मघाती सावित हुँदैछ । यस्तै नीतिको परिणाम हो दैनिक ४ हजार नेपाली देश छोडेर विदेश उड्नु । पुँजी बजारमा अर्को ठूलो बेथिति भनेको लाइसेन्सराज हो । आज नयाँ स्टक एक्स्चेञ्जको लाइसेन्स लिनका लागि ठूलो मारमुङ्ग्री चलिरहेको छ । ३ अर्ब रुपैयाँ पुँजी लगानी हुने कम्पनीको लाइसेन्स लिन लगानीकर्ताहरु ६ अर्ब रुपैयाँ लगानी गर्न तयार भएका छन् । लगानीकर्ताहरुको समूहले पालै पालो प्रधानमन्त्रीलाई भेटेर आफूलाई लाइसेन्स दिन माग गर्दै प्रतिस्पर्धीले धितोपत्र बोर्डलाई ठूलो रकम घुस खुवाएको लान्छानायुक्त सुराकी समेत लगाए । लेखक लगानीकर्ताले व्यवसाय देखेको छ, सरकारले तोकेको मापदण्ड पुरा गरेको छ, नियम कानुनको पालना भएको छ । लगानीकर्ताले जोखिम मोलेर लगानी गर्दैछ, सरकारले राजश्व पाउँदैछ, बेरोजगारहरुले जागिर पाउँदैछन् भने सरकारले लाइसेन्स किन दिदैन ? सरकारको छाती भँगेराको जत्रो हुनु हुन्न । नियमको पालना गरेर, तोकिएका मापदण्ड पूरा गरेर खुल्ने स्टक एक्स्चेञ्ज होस्, वा सेयर ब्रोकर, मर्चेन्ट बैंकर्स, कमोडिटी मार्केट होस् वा पुँजी बजारको अर्थचक्रलाई गतिशित बनाउन मद्दत गर्ने जुनसुकै कम्पनीलाई लाइसेन्स खुला गर्नु पर्छ । बजारमा नवितम् सोच, सेवा र प्रविधि भित्र्याउने हो भने नयाँ लगानीकर्तालाई सधैं व्यवसायको ढोका खोलिदिनु पर्छ । व्यवसाय गर्न सकिन भन्नेहरुलाई कम्पनी बेच्न वा खारेज गर्न पनि सहज गरिदिनुपर्छ । पछिल्लो समय चरम घाटामा रहेका कम्पनीले पनि सेयर निष्काशन गर्ने र स्वार्थ समूहसँगको मिलोमत्तोमा उच्च प्रिमियम मूल्यमा सेयर निष्काशनको अभ्यास बढ्दो छ । नेपाल धितोपत्र बोर्डले रिपब्लिक मिडियाको सेयर सर्वसाधारणमा बिक्री अनुमति दिएको छ । २०७६ चैतमा लकडाउन भएदेखि यो कम्पनीले पत्रकारलाई नियमित तलव खुबाउन सकेको छैन । कयांै कर्मचारीले ७÷८ महिनाको तलब बाँकी राखेर जागिर छोडेका छन् । कम्पनीले बैंकको किस्ता तिर्न नसक्दा बैंकले सार्वजनिक सूचना जारी गरेको छ । कर कार्यालयले कर बक्यौता तिर्न कम्पनीलाई पटक–पटक ताकेता गर्दै आएको छ । यस्तो कम्पनीको सेयर निष्काशन गर्न धितोपत्र बोर्डले स्वीकृत दिएको छ । यो मात्र होइन, घोराही सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीहरुले नियमित तलब पाउनु पर्ने माग राखेर गत फागुनमा आन्दोलन नै गरे । यो कम्पनीले विद्युत प्राधिकरणलाई सवा अर्ब रुपैयाँभन्दा बढी विद्युत महशुल तिरेको छैन । गत मंसिरदेखि बैंकको किस्ता अनियमित छ । जुन कम्पनीले बैंकको किस्ता तिर्न सकेको छैन । कर्मचारीलाई तलब खुवाउन सकेको छैन । विद्युतको महशुल बुझाउन सकेको छैन । त्यो कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सेयर ४०० रुपैयाँमा बिक्रीका लागि धितोपत्र बोर्डले अनुमति दिएको छ । यो कम्पनीको सेयर निष्काशन विवाद बढ्दैछ । स्थानीयवासीको लागि छुट्याएको १० प्रतिशत सेयर उनीहरुले किन्न मानेनन् । यस्ता कम्पनीहरुलाई उनीहरुको माग अनुसार सेयर निष्काशन गर्न नियामक निकायले स्वीकृति दिँदै जाने हो भने आईपीओमा लगानी गर्दा डुबिदैन भन्ने जनविश्वास छिट्टै गुम्नेछ । र, राम्रा कम्पनीले सेयर निष्काशन गर्दा पनि सेयर बिक्री नहुने अवस्था आउन सक्छ । कम्पनीको सेयर प्रिमियम निर्धारण गर्दा संस्थापक लगानीकर्ता, नियामक, रेटिङ एजेन्सी, अन्डरराइटिङ गर्ने कम्पनीहरुबीच मिलोमत्तो हुने गरेको यसअघि सर्वोत्तम सिमेन्टको सेयर प्रिमियम निर्धारण प्रकरणमा पुष्टि नै भैसकेको छ । उक्त प्रकरणमा दोषी ठहर भएपछि नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगानाले पदबाट राजीनामा नै दिनु परेको थियो । यस्ता प्रकरण बारम्बार दोहोरिन थालेपछि पुँजी बजारप्रति सर्बसाधारणमा ठूलो अविश्वास सिर्जना हुनेछ । सेयर बजारमा मूल्यलाई उच्च दरमा उतारचढाव गराउन ठूला लगानीकर्ता र नीति निर्माताबीच मिलोमत्तो पटक–पटक देखिएको छ । सेयर बजारसँग सम्बन्धित नीतिमा बारम्बार हुुने परिवर्तन यसको प्रमाण हो । कहिले सेयर धितो राखेर बजार मूल्यको ८० प्रतिशतसम्म कर्जा दिन पाउने नीति बनाउने, कहिले मूल्यको ५० प्रतिशतमा झार्ने, कहिले ७० प्रतिशत पुर्याउने, कहिले ६० प्रतिशतमा झार्ने काम भएका भइरहेका छन् । सेयर धितो कर्जाको जोखिमभार कहिले १०० प्रतिशत बनाउने, कहिले १५० प्रतिशत बनाउने काम भएका छन् । सेयर कारोबारीले तिर्ने पुँजीगत लाभकर कहिले १० प्रतिशत बनाउने कहिले ५ प्रतिशतमा झार्ने, कहिले ७.५ प्रतिशत बनाउने काम भएका छन् । यी सबै नीतिगत भ्रष्टाचारका उत्पादन हुन् । यसमा क–कसले लगानी गरे ? क–कसले फाइदा दिए भन्ने भनेर अध्ययन हुने हो भने प्रमाणित गर्न सकिन्छ । पुुँजीगत लाभ गर अन्तिम कर हो कि होइन, यो पुँजीगत लाभकर तिरेपछिको आम्दानीमा आयकर लाग्ने कि नलाग्ने ? अहिले पनि ठूलो विवाद छ । कम्पनीले नाफाका लाग्ने कर तिरेपछि सेयरधनीलाई लाभांश वितरण गर्दा फेरी कर लगाइन्छ । यसरी लगानीकर्तालाई करको चक्करमा सरकारले फसाएको छ । जब सेयर बजारमा मूल्य उच्च हुँदै जान्छ, सर्वसाधारण लगानीकर्ता आकर्षित हुन्छन्, ठूलो परिणाममा सेयर कारोबार हुन्छ, ठूला लगानीकर्ताले सेयर बेचिसकेका हुन्छन्, तब सरकारले कि करको दर बढाउँछ, कि राष्ट्र बैंकले सेयर कर्जा नीति कडाइ गर्छ र बजारमा सेयरको मूल्य सस्त्याउने कामहुन्छ । जब बजारमा सेयरको मूल्य सस्तो हुन्छ, साना लगानीकर्ता आत्तिएर, घाटा खाएर सस्तोमा सेयर बेच्छन्, ठूला र बाठा लगानीकर्ता सेयर बजारमा प्रवेश गर्छन, अनि नीति निर्माताले पनि सेयर बजारलाई मलजल पुग्ने खुकुलो नीति बनाउँछन् । यसरी ठूला लगानीकर्ता र नीति निर्माताको मिलोमत्तो सेयर बजारलाई तलमाथि गर्ने र मनग्य कमाउने धन्दा चलिरहेको हुन्छ । सरकारकै संलग्नतामा धनीलाई झन धनी र गरिबलाई झन् गरिब बनाउने काम भएका छन् । सेयर बजारमा अर्को नयाँ सडयन्त्र पनि बुनिदैछ । जब–जब बजारमा सेयर मूल्य निकै सस्तो हुँदै जान्छ, तब–तब सरकारी अधिकारीहरु विदेशीलाई सेयर बजारमा लगानी खुला गर्ने, गैर–आवासीय नेपालीलाई सेयर बजारमा लगानी खुला गर्ने नीतिको वकालत गर्न थाल्छन् । यस पटकको बजेटमा पनि गैर–आवासीय नेपालीलाई नेपालको सेयर बजारमा लगानी खुला गर्ने घोषणा गरिएको छ । यो सबै सम्भावित ठूला लगानीकर्ताबाट लाभ लिएर गरिएका घोषणा हुन् । अहिले बजार सस्तो भएको बेलामा विदेशीहरुलाई सेयर बजार खुला गर्नु भनेको नेपालीको स्वात्विमा रहेको सेयर सस्तोमा विदेशीको स्वामित्वमा पुर्याउनु हो । जसरी जग्गा कारोबारमा राजनीति नेतृत्व संलग्न हुँदै आएको छ । प्रशस्त नाफा आर्जन गर्दै आएको छ, त्यसरी नै पुँजी बजारसँग सम्बन्धित नियामकका कर्मचारी नै सेयर बजारमा संलग्न भएर मनग्य कमाउ धन्दा चलाइरहेका हुन्छन् । वडाअध्यक्षदेखि मेयर, सांसद, मन्त्रीसम्म सरकारी लगानीमा पैसा कमाउनको लागि जग्गा व्यापार गर्दै आएका छन् । जहाँ बजार वा वस्ती विकासको सम्मावना बढी छ । तर, मोटर बाटो छैन, त्यहाँ पहिला चरणमा नेता वा तिनका आसेपासेहरुले जग्गा किन्छन् । त्यसपछि उनीहरु अधिकारको प्रयोग गरेर, सरकारी बजेट खर्च गरेर मोटर बाटो बनाउँछन् । खोलामा पुल बनाउँछन् । विद्युत, ढल, खानेपानी, टेलिफोन टावरको प्रबन्ध गर्छन् र उच्च मूल्यमा त्यही जग्गा बिक्री गरेर लाभ लिने गर्छन । अहिले पब्लिक कम्पनीका नियामकका हाकिमहरु वा करका दर निर्धारण गर्ने अर्थमन्त्रालयका हाकिमहरु वा नीति निर्माताहरुले सेयर बजारमा यही शैली अपनाउन थालेका छन् । जुन पुँजी बजारको लागि डरलाग्दो खेल हो । पुँजी बजारमा अर्को गलत नीति के छ भने साधारण सेयरको मूल्य ४०० रुपैयाँ हुँदा संस्थापक सेयरको मूल्य २०० रुपैयाँ छ । कम्पनी एउटै हो, सेयरको अंकित मूल्य १०० नै हो, लाभांश पाउने समान हो । तर, बजारमा कारोबार हुने मूल्य २०० र ४०० रुपैयाँ छ । सरकारले सिर्जना गरेको बिभेदकारी नीतिको नतिजा हो यो । संस्थापक सेयरधनीले सेयर बेच्न सरकारी निकायको अनुमति लिनुपर्छ । सेयर खरिदकर्ता आफैले खोज्नुपर्छ । सेयरधितो राखेर कर्जा लिन सकिँदैन । कर्जा पाइहाल्यो भने पनि बजार मूल्यको २५ प्रतिशत मात्र पाइन्छ । संस्थापक सेयरधनीले आफ्नो सम्पत्तिको कुरा गर्नुअघि ङिच्च दाँत देखाएर निधारमा ३२ मुजा बाट्नुपर्छ र अनुहारमा रातो–पिरोपन देखाउनु पर्ने बाध्यता छ । संसारमा नभएको नियम नेपालमा छ । संसारमा नभएको संकीर्णता नेपालमा छ । यही समाज हो, यहि देश हो, तिनै लगानीकर्ता हुन्, जहाँ यस्तो विभेद जलविद्युत कम्पनीका सेयरमा छैन, सिमेन्ट उद्योगमा छैन तर बैंकमा छ, बीमामा छ । यस्तो उधाङ्गो विभेदकारी नीति हट्नु पर्छ । पुँजी बजारको व्यवसायिक क्रक पनि प्रदुषित छ । एउटै प्रवद्र्धक समूहले बैंक पनि खोलेका छन् । बीमा कम्पनी पनि खोलेका छन् । जलविद्युत कम्पनी पनि खोलेका छन् । होटल पनि खोलेको छन् । सेयर निकाष्काशन तथा बिक्री प्रबन्धक पनि खोलेका छन् । सेयर ब्रोकर पनि खोलेका छन् । रेटिङ कम्पनी पनि खोलेका छन् । नयाँ स्टक एक्स्चेञ्ज पनि खोल्ने कसरतमा छन् । सेयर निष्काशन गर्ने कम्पनी, कर्जा लगानी गर्ने बैंक, बीमा गर्ने कम्पनी, वित्तीय अवस्थाको रेटिङ गर्ने कम्पनी, सेयरको अण्डरराइटिङ गर्ने कम्पनी, सेयर निश्कासन तथा बिक्री प्रबन्धक, सेयर ब्रोकर हुँदा कारोबार गराउने स्टक एक्स्चेञ्जसम्म सबैका प्रवद्र्धक समूह एउटै छन् । या व्यवसायिक साझेदार छन् भने त्यहाँ स्वस्थ्य व्यवसायिक अभ्यास हुन सक्दैन । त्यहाँ व्यवसायिक लाभ, प्रवद्र्धकको स्वार्थले प्राथमिकता पाउँछ । कम्पनी रेटिङ होस् वा अण्डरराइटिङ सबै कार्यमा विश्वसनियता हुँदैन । जब सबै काम मिलोपत्तोमा हुन थाल्छ, बजारमा स्वस्थ्य प्रतिस्पर्धा हुन छोड्छ, तब पुँजी बजारप्रति सर्वसाधारणको विश्वास गुम्छ । आम लगानीकर्ताको विश्वास टुटेको दिन पुँजी बजारका सबै लगानीकर्ताले गुमाउने नै हुन् । सरकार, नियामक, सेयर निष्काशन गर्ने कम्पनी सबैले हार्ने नै हुन् ।

५ र ७.५ प्रतिशत पूँजीगत कर नै अन्तिम, सेयर बजारमा हरियाली

काठमाडौं । अर्थमन्त्रालयले पूँजीगत लाभकरमा साविकै कर लागू हुने बताएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महत र लगानीकर्ताबीच भएको छलफलमा साविककै कर लागू हुने बताएको हो । साथै, अर्थमन्त्रालय र सेयर लगानीकर्ताबीच सहमति पनि भएके छ । पूँजीगत लाभकर ५ र ७.५ प्रतिशत नै अन्तिम हुने गरी सहमति भएको हो । ‘आर्थिक विधेयक, २०८० को दफा २९ का सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरु बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ, त्यस्तो कारोवारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने छ,’ अर्थमन्त्रालयले प्रकाशन गरेको सूचनामा उल्लेख छ । सबै ब्रोकर कम्पनीमा लगाइएको ताला पनि खुलाइएको लगानीकर्ताले बताएका छन् । यससँगै सेयर बजारमा हरियाली छाएको छ । सवा १२ बजेसम्मको तथ्याङ्क अनुसार ५६.८९ अंक अर्थात् ३.०५ प्रतिशत बढेर १९२३.२४ अंक पुगेको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार सवा एक घण्टामा १० करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

खुलेको एक घण्टामै ५६ अंकले बढ्यो सेयर बजार

काठमाडौं । आइतबार सेयर बजार ५६।२२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार खुलेको एक घण्टा १५ मिनेटमा बढेर १९३३.५७ विन्दुमा पुगेको छ । १२स्१५ सम्ममा बजारमा दुई लाख ३१ हजार कित्ता सेयर किनबेच भएर ८ करोडको बढीको कारोबार भएको छ । अर्थमन्त्रीले पुँजीगत लाभकर नै अन्तिम भएको विश्वास दिलाएपछि सेयर कारोबार उकालो लागेको जानकारहरु बताउँछन् ।

मंगलबार ५३ अंकले घट्यो सेयर बजार, ४ कम्पनीमा सर्किट  

काठमाडौं । मंगलबार सेयर बजार ५३.१६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आज सेयर बजार घटेर १८८८.६१ विन्दुमा पुगेको छ । घटेको बजारमा आज ७० लाख कित्ता सेयर किनबेच हुँदा कुल दुई अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको २१ करोडको भएको छ । यस्तै, दुई लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सकारात्मक सर्किट लाग्नेमा आत्मानिर्भर लघुवित्त वित्तिय संस्था र बिपिडब्लु लघुवित्त वित्तिय संस्था रहेको छ । यस्तै, नकारात्मक सर्किट लेभलमा कारोबार हुनेहरु स्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन कम्पनी र सिटिजन म्युचल फण्ड(१ रहेको छ ।

बजेटले सेयर बजारमा पहिरो, एक घण्टामै ३७ अंकले घट्यो

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) खुलेको एक घण्टामा घटेर १९०३.८६ विन्दुमा पुगेको छ । बजेट सार्वजनिक भएपछि मंगलबार नेप्से बजार खुलेको पहिलो दिन ३७.९१ अंकल घटेको हो । यसरी बजार घट्दा आत्मानिर्भर लघुवित्त वित्तिय संस्थाकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागिसकेकाे छ । कम्पनीकाे सेयर मूल्य प्रति कित्ता १६५.३० रुपैयाँले घटेर सर्किट लागेकाे हाे । यस्तै, एक घण्टामा ७७ कराेड २६ लाख रुपैयाँकाे २० लाख कित्ता सेयर किनबेच भएकाे छ । जसमा सबैभन्दा धेरै शिवम् सिमेन्टकाे ८ कराेड ५६ लाख रुपैयाँकाे सेयर काराेबार भएकाे छ ।

एलिट क्यापिटलले शुरु गर्यो सेयर बजारबारे निःशुल्क तालिम

काठमाडौं । एलिट क्यापिटलले निःशुल्क सेयर परामर्श एवं वित्तिय योजना तालिम सुरु गरेको छ । शुक्रबारदेखि लाजिम्पाट उत्तरढोकास्थित आफ्नै कार्यालयमा लगानीकर्ताहरुका लागि निशुल्क तालिम तथा परामर्श शुरु गरेको हो । यस्तो तालिम हरेक शुक्रवार एलिटल क्यापिटलको कार्यालयमा हुने जनाइएको छ । सेयर बजारमा लामो समय अनुभव हासिल गरेका प्राविधिक व्यक्ति तथा विज्ञहरुले तालिम दिने जनाइएको छ । क्यापिटलले तालिममा सेयर बजारको आधारभुत चरित्र, वित्तिय लगानी योजना, नेपालमा शेयर बजार प्रणाली, सेयर बजारमा अवसर र जोखिमहरु लगायतका बिषयमा परामर्श दिइने छ । यस्तै सेयर बजारमा लगानीको योजना र सही कम्पनीहरुको छनोट तथा शेयरमा लगानी र कारोवारी तरिकाबारे पनि जानकारी दिईने क्यापिटलले जनाएको छ । तालिममा बजार प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरुदेखि कारोवार गरिरहेका लगानीकर्ताहरु पनि सहभागि हुन सक्नेछन् । यस तालिममा सहभागिहरुलाई तालिम पश्चात पनि एलिट क्यापिटलले आप्mना अनुसन्धान प्रक्रियामा सहभागि गराउने तथा लगानी टिप्स र परामर्श निरन्तर प्रदान गरिरहने क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले जानकारी दिए । हरेक शुक्रबार आयोजना हुने यस्तो तालिममा न्यूनतम १५ जनाको सहभागिता रहने र उनीहरुले पहिले नै एलिट क्यापिटलको फेसबुक पेज, वेबसाईटमा गएर गुगल फर्म भर्ने वा टेलिफोन गरेर नाम दर्ता गराउन सक्नेछन् । तालिममा सहभागिताका लागि कुनै शुल्क नलाग्ने तर सिमित सिट भएका कारण पालो आउन भने समय लाग्न सक्नेछ ।