सेयर बजारलाई प्राथमिकतामा राखेर नीतिगत व्यवस्थामा सुधार गर्छु : अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पुँजीबजारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । आइतबार नेपाल धितोपत्र ब्रोकर एसाेसियसनका प्रतिनिधिहरूसँगको भेटमा अर्थमन्त्री पुनले नीतिगत व्यवस्थामा सुधार गरेर भए पनि पुँजीबजारको विकास र प्रवर्द्धन गर्ने बताएका हुन् । ‘सेयर बजार प्राथमिक विषय हो, बजारमा देखिएका समस्यालाई समाधान गर्छाैं, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट देखिएका समस्या समाधान गर्न गभर्नर र सेबोन अध्यक्षसँग बसेर समाधान गर्छु,’ एक ब्रोकर व्यवसायीले अर्थमन्त्रीलाई उदृत गर्दै विकासन्युजसँग भने, ‘६०/६२ लाख लगानीकर्ता प्राथमिक बजार र २० लाख लगानीकर्ता दोस्रो बजारमा सक्रिय छन्, बजारको आवश्यकता र लगानीकर्ताको मनोबल बढाउन सरकार सकारात्मक छ ।’ अर्थमन्त्री पुनले सेयर बजार अर्थतन्त्रको एक हिस्सा रहेको बताएका छन् । ब्रोकर व्यवसायीहरूले बजारको विकास र प्रवर्द्धनका लागि तत्काल र दीर्घकाल गर्नुपर्ने कामहरूलाई सुझावका रूपमा पेस गरेका थिए । बैंक तथा वित्तीय संस्थाहरूलाई संस्थागत लगानीकर्ताका रूपमा दोस्रो बजारमा सहजरूपमा कारोबरा गर्न दिनुपर्ने माग ब्रोकर व्यवसायीहरूले गरेका छन् । हाल बैंक तथा वित्तीय संस्थाहरूले कोर क्यापिटलको १ प्रतिशतभन्दा बढी सेयर कारोबार गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । संस्थागत लगानकर्तालाई बढी जोड दिएर बैंकका लागि पुरानै व्यवस्था कायम गर्नुपर्ने उनीहरूको माग छ । साथै, कर्जामा जोखिम भार घटाउनुपर्ने, व्यक्तिगत र संस्थागत लगानीकर्ताका लागि तोकिएको १५/२० करोडको क्याप हटाउनुपर्ने लगायतका माग आफूहरूले राखेको ब्रोकर व्यवसायीहरूको भनाइ छ ।
साताको सेयर बजार : तीव्र उतारचढावबीच ७० अङ्कको वृद्धि
काठमाडौं । सत्तागठबन्धन परिवर्तनको प्रभाव यो साताको पुँजीबजारमा पनि देखिएको छ । तीव्र उतारचढावका बीच यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ । साताको पहिलो दिन आइतबारको कारोबारपछि एक हजार नौ सय ६० को बिन्दुमा कायम भएको नेप्से परिसूचक अन्तिम दिनको कारोबार बिहीबार दुई हजार तीस दशमलव ५६ को बिन्दुमा पुगेको छ । सत्तागठबन्धन परिवर्तनसँगै सोमबार मात्र नेप्से परिसूचक एक सय १७ दशमलव ७० अङ्क अर्थात् छ प्रतिशतले बढेको थियो । उक्त दिन सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको बजारमा मङ्गलबार भने उच्च अङ्कको गिरावट देखियो । मङ्गलबार परिसूचक ७० दशमलव ३१ अङ्कले घटेर दुई हजार सात दशमलव ६९ को बिन्दुमा कायम भएको थियो । बुधबार र बिहीबार दुवै दिन परिसूचक बढ्यो । नेप्सेका अनुसार परिसूचक बुधबार नौ दशमलव ३३ र बिहीबार १३ दशमलव ५१ अङ्कले बढेको थियो । यो साता पुँजी बजारमा रु १३ अर्ब २२ करोड १७ लाख १७ हजार बराबरको तीन करोड ६० लाख ४४ हजार ३१ कित्ता सेयर कारोबार भएको छ । आइतबार रु दुई अर्ब पाँच करोड ८५ लाख ९४ हजार बराबरको ५२ लाख ३८ हजार छ सय ९६ कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा सकरात्मक सर्किट लागेको सोमबार भने रु ३७ करोड ३७ लाख ५१ हजार बराबरको नौ लाख २० हजार तीन सय ९९ कित्ता शेयर मात्रै किनबेच भयो । मङ्गलबार रु चार अर्ब चार करोड ५२ लाख ८२ हजार सात सय ५४ बराबरको एक करोड चार लाख दुई हजार नौ सय ४० कित्ता सेयर कारोबार भएको छ । त्यसैगरी, बुधबार रु तीन अर्ब ४२ करोड २४ लाख ८४ हजार बराबरको ८५ लाख २८ हजार दुई सय ५५ कित्ता र बिहीबार रु दुई अर्ब ५८ करोड ७३ लाख १६ हजार बराबरको ६३ लाख ७२ हजार चार सय ५२ कित्ता शेयर खरिद बिक्री भएको छ । बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण रु ३१ खर्ब ९१ अर्ब ७५ करोड ७८ लाख ९५ हजार तीन सय ९४ बराबर कायम भएको छ । रासस
उतारचढावबीच दोहोरो अंकले बढ्यो सेयर बजार, पिपुल्स हाइड्रोमा लाग्यो सर्किट
काठमाडौं । बिहीबारको सेयर कारोबारमा तीव्र उतारचढाव देखियो । दिनभर उतारचढाव देखिएको बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक १३.५१ अंकले बढेको छ । बुधबारको तुलनामा बिहीबारको परिसूचक ०.६७ प्रतिशतले बढेर २०३०.५५ बिन्दुमा पुगेको छ । बजारमा परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । बुधबार ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबारको कारोबार भने ३ अर्ब १९ करोडमा सीमित भएको छ । बिहीबार कारोबारमा आएका कम्पनीमध्ये नेपाल रिइन्स्योरेन्सको सबैभन्दा बढी रकमको संस्थापक सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन ५६ करोड २० लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ । बजारमा १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ कम्पनीको सेयर मूल्य घटेको छ । सेयर मूल्य बढ्नेमा पिपुल्स हाइड्रोपावर अगाडि रहेको छ । कम्पनीको सेयर मूल्य एकैदिन १० प्रतिशत अर्थात ३१.८० रुपैयाँले बढेर प्रतिकित्ता ३४९.८० रुपैयाँ पुगेको छ । बिहीबार तीन समूह राता देखिएका छन् भने बाँकी समूहमा हरियाली छाएको छ । राताम्मे देखिनेमा होटल्स एण्ड टुरिजम, म्यूचुअल फण्ड र ट्रेडिङ समूह रहेका छन् ।
अर्थमन्त्रीले सेयर बजारप्रति सकारात्मक धारणा राखेपछि लगानीकर्ता खुसी, हरियाली बजार
काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई सेयर बजारले स्वागत गरेको छ । अर्थमन्त्रीकारूपमा नियुक्त भएको दोस्रो दिनमा सेयर बजार बढेर अर्थमन्त्री पुनलाई स्वागत गरेको हो । यो समाचार तयार पार्दासाँ नेप्से परिसूचक २२.६७ अंकले बढेर पौने ७ करोड रुपैयाँको कारोबार भएको छ । बुधबार अर्थमन्त्री पुनले सेयर बजारप्रति सकारात्मक धारणा राखेका थिए । उनले सेयर बजारमा भएका नीतिगत कुरालाई करेक्सन गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । उनले अहिले प्यानिक अवस्थामा रहेका लगानीकर्तालाई केही राहत हुने गरी काम गर्नु पर्ने बताएका थिए । अर्थमन्त्री पुनले आफूले ६० लाख सेयर लगानीकर्ताको हितमा काम गर्ने बताउँदै अहिलेको अवस्थामा लगानीकर्ताको मनोवल बढाउने काम गरेर सेयर बजारलाई विगतमा जस्तो हेरेर नहुने धारणा राखेका थिए । ‘सेयर बजार तलमाथि भइरहन्छ, यसमा भएका समस्याहरूलाई संरचनागत तथा नीतिगत रूपले सुधार गर्नुपर्छ, ६० लाखभन्दा धेरै सेयर होल्डरहरू बजारमा छन्, उनीहरू सबैको हितका लागि काम गर्नुपर्छ,’ उनले भनेका थिए । अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रलाई विश्वासमा लिएर काम गर्ने पनि उनको भनाइ थियो । उनको यस्तो अभिव्यक्तिप्रति सेयर लगानीकर्ता पनि खुसी भएका छन् । बिहीबार बजार खुलेदेखि बजार निरन्तर बढिरहेको छ ।
अर्थमन्त्रीको टुंगो नलागेपछि ७० अंकले घट्यो सेयर बजार
काठमाडौं । मंगलबार सेयर बजार ठूलाे अंकले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.३८ प्रतिशत अर्थात् ७०.३१ अंकले घटेर २००७.६९ अंकमा बन्द भएको हो । सत्ता गठबन्धन परिवर्तन भएपछि सोमबार ६ प्रतिशतले बढेको सेयर बजार मंगलबार भने ठूलो अंकले घटेको हो । साेमबार नेप्से परिसूचक ११७.७० अर्थात ६ प्रतिशतले बढेर २०७८ बिन्दुमा पुगेको थियो । एक दिन अगाडि सकारात्मक सर्किट लागेकाे पुँजी बजारमा दोस्रो दिन नै उच्च अंकले घटेको हो । सोमबार गठबन्धन परिवर्तन हुँदा अर्थमन्त्रीमा विष्णु पौडेल र वर्षमान पुनकाे आउने चर्चा थियो । तर, मंगलबार पाैडेलकाे नाम चर्चामा छैन । पुन नै अर्थमन्त्री बन्ने चर्चा छ । यसले लगानीकर्ताकाे मनाेवल घटेकाे बुझ्न सकिन्छ । आज दिनभरमा ३१६ कम्पनीको १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर ६९ हजार २०८ पटक खरिदबिक्री हुँदा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । मंगलबार २१३ कम्पनीको सेयर मूल्य घटेको छ भने ३३ कम्पनीको सेयर मूल्य बढेको छ । मंगलबार म्युचुअल फण्ड समूह ०.६६ प्रतिशत बढेको छ भने अन्य सबै समूहमा राताम्य छाएको छ । आज बैंकिङ समूह ३.०१ प्रतिशत, विकास बैंक समूह ३.६५ प्रतिशत, फाइनान्स समूह २.७५ प्रतिशत, होटल तथा पर्यटन समूह ३.६९ प्रतिशत, जलविद्युत समूह ४.३० प्रतिशत, लगानी समूह ३.४८ प्रतिशत, जीवन बीमा समूह ३.४९ प्रतिशत, उत्पादन समूह ४.२० प्रतिशत, लघुवित्त समूह १.२७ प्रतिशत, निर्जीजन बीमा समूह २.६० प्रतिशत, अन्य समूह ४.३५ प्रतिशत र व्यापार समूह २.१५ प्रतिशतले गिरावट आएको छ । बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशत घटेको छ । यस कम्पनीको सेयर मूल्य २ हजार ३२८.६० रुपैयाँ घटेर २० हजार ९६२ रुपैयाँमा झरेको छ । जोशी हाइड्रोपावर ९.९९ प्रतिशत अर्थात ३८.४० रुपैयाँ घटेर ३४६ रुपैयाँमा सीमित भएको छ । यस्तै, बोटलर्स नेपाल (तराई)को ९.४५ प्रतिशत अर्थात् १ हजार ५४४.४० रुपैयाँ घटेर १४ हजार ८ सय रुपैयाँमा सेयर मूल्य झरेको छ । बजारमा भारि अंकको गिरावट भएपनि गुराँस लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ८.७३ प्रतिशत अर्थात् ७९.९० रुपैयाँ बढेर ९९५ रुपैयाँ पुगेको छ । साथै, मंगलबार सोनापुर मिनिरल्सको सेयर कारोबार सर्वाधिक भएको छ । यस कम्पनीको ४१ करोड ९१ लाख २२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, शिवम् सिमेन्टको २४ करोड ६५ लाख रुपैयाँ, घोराही सिमेन्टको १४ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
निरन्तर सर्किट लागेपछि बन्द भयो सोमबारको सेयर बजार
काठमाडौं । सोमबारको सेयर बजार बन्द भएको छ । कारोबार खुलेदेखि निरन्तर बढेर तेश्रो सर्किट लागेसँगै सोमबारको सेयर कारोबार बन्द भएको हो । बजारमा १२ बजेर ४ मिनेटमै तेश्रो सर्किट लागेको छ । यो अवधिमा नेप्से परिसूचक ११७.७० अर्थात ६ प्रतिशतले बढेर २०७८ बिन्दुमा पुगेको छ । सेयर बजार सुरुमा ४ प्रतिशत बढेर १४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यसपछि ५ प्रतिशतले बढेर ४० मिनेटका लागि बन्द भएर खुलेको बजारमा पुनः ६ प्रतिशतले बढेर सर्किट लागेको हो । सत्ता गठबन्धन फेरिने हल्लाले सोमबारको सेयर बजारमा एकाएक सकारात्मक सर्किट लागेको हो । नयाँ गठबन्धनसँगै अर्थमन्त्री पनि परिवर्तन हुने भएपछि लगानीकर्तामा खुसीयाली छाएको हो । यसको संकेत लगानीकर्ताले हालका अर्थमन्त्री डा.प्रकाशशरण महतलाई नरुचाएको र नयाँ अर्थमन्त्री खोजेको बुझ्न सकिन्छ । यससँगै सोमबारको बजारमा ३७ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने कारोबारमा आएकामध्ये सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । बजारमा २३० कम्पनीको सेयर मूल्य बढेको छ भने दुई कम्पनीको सेयर मूल्य घटेको छ । कारोबार बढ्नेमा पनि ४१ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
सेयर बजारमा खुसीयाली, नयाँ अर्थमन्त्रीको पर्खाइमा लगानीकर्ता
काठमाडौं । सत्ता गठबन्धन फेरिएसँगै सेयर बजारमा खुसीयाली छाएको छ । नयाँ गठबन्धनसँगै अर्थमन्त्री पनि परिवर्तन हुने भएपछि लगानीकर्तामा खुसीयाली छाएको हो । यसको संकेत लगानीकर्ताले हालका अर्थमन्त्री डा.प्रकाशशरण महतलाई नरुचाएको र नयाँ अर्थमन्त्री खोजेको बुझ्न सकिन्छ । सोमबार ४ प्रतिशत बढेर २० मिनेका लागि स्थगित भएको सेयर बजार पुनः ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको हो । सेयर बजार सुरुमा ४ प्रतिशत बढेर १४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यसपछि ५ प्रतिशतले बढेर ४० मिनेटका लागि कारोबारमा रोकिएको छ । यो अवधिमा नेप्से परिसुचक ९८.६९ अंकले बढेर २०५९ बिन्दुमा कायम भएको छ भने कुल २६ करोड ३७ लाख रुपैयाँबराबरको कारोबार भएको छ । नेप्से परिसुचक ६ प्रतिशतले बढेमा दिनभरीको कारोबारमा बन्द नै हुन्छ ।
अर्थमन्त्री फेरिने हल्लाले लगानीकर्ता खुसी, सेयर बजारमा लाग्यो सर्किट
काठमाडौं । सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सकारात्मक सर्किट लागेको छ । गठबन्धनसँगै अर्थमन्त्री पनि परिवर्तन हुने भएपछि बजारमा सकारात्मक सर्किट लागेको हो । सोमबार कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशत बढेको हो । कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार घटबढ भएमा सर्किट ब्रेक लाग्छ । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ । यो समाचार तयार पार्दासम्म सेयर बजार ७९.२९ अंकले बढेको छ भने १४ करोड ८० लाख रुपैयाँबराबरको कारोबार भएको छ । कारोबार स्थगित भएको समयदेखि २० मिनेटपछि बजार फेरि खुल्नेछ ।
२८ अंकले घट्यो बिहीबारको सेयर बजार, सबै समूह राताम्मे
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक २८ अंकले घटेको छ । कारोबार खुलेदेखि निरन्तर घटेको परिसूचक कारोबार बन्द हुँदा २८.६८ अंकले घटेर १९७२.०९ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.४३ प्रतिशतले घटी हो । परिसूचक घटेपनि कारोबार भने बुधबारको तुलनामा बढेको छ । बुधबार २ अर्ब ३ करोडको कारोबार भएको बजारमा बिहीबार २ अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । ३०९ वटा स्क्रीप्स कारोबारमा आएको बजारमा सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ११ करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । घटेको बजारमा पनि दुई कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । बोटलर्स नेपाल (बालाजु) को १० प्रतिशत र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८६ प्रतिशतले बढेर क्रमशः प्रतिकित्ता २१ हजार ६०५ र ७५८ रुपैयाँ पुगेको छ । बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । राताम्मे देखिएको बिहीबारको बजारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ३५०.९० रुपैयाँमा झरेको छ ।
सिनियर डीसीईओ पक्राउ पर्दा बैंकका लगानीकर्ता शान्त, सेयर बजारमा शून्य प्रभाव
काठमाडौं । मंगलबार प्रभु बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मनोज न्यौपाने पक्राउ परे । उनीसहित प्रभु बैंकमा मर्ज भएका तत्कालिन सेन्चुरी बैंकका विभिन्न १० जना पक्राउ परे । बैंकका सिनियर डीसीईओ न्यौपाने पक्राउ परेको खवरले दिनभर वित्तीय क्षेत्र ततायाे तर पनि यसको असर सेयर बजारमा भने खासै परेन । बजारमा प्रभुको सेयर मूल्य सामान्य अर्थात १.२० रुपैयाँले घटेको छ । प्रतिकित्ता १४९ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य बजार बन्द हुँदा २ रूपैयाँले घटेर प्रतिकित्ता १४७ रुपैयाँमा काराेबार बन्द भयो । प्रभुको सेयर भाउ अधिकांश बैंकको तुलनामा सस्तो हो भने कुमारी बैंकको तुलनामा महंगो हो । यसअघि प्रभुको सेयर प्रतिकित्ता न्यूनतम १४६ रुपैयाँसम्ममा कारोबार भएको थियो । बैंकले यस वर्ष वार्षिक साधारणसभा पनि गर्न बाँकी छ ।बैंकको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुन बाँकी रहेको स्रोतले बतायो । मंगलबारको बजारमा प्रभु बैंकको ७७ हजार ९४३ कित्ता सेयर एक करोड १४ लाख रुपैयाँमा किनबेच भएको छ । समग्रमा मंगलबारको सेयर बजार ९.३४ अंकले बढेर २००१.६४ बिन्दुमा पुगेको छ । तर कारोबार रकम भने घटेर एक अर्ब ८६ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो दिन अर्थात सोमबारको बजारमा दुई अर्बमाथिको सेयर कारोबार भएको थियो । मंगलबार बोटलर्स नेपाल (बालाजु) र बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १०/ १० प्रतिशतले बढेको छ । त्यस्तै, सामलिङ पावरको सेयर मूल्य ९.२६ प्रतिशतले बढेर प्रतिकित्ता ६६१ रुपैयाँ पुगेको छ । बजारमा सबैभन्दा बढी सेयर मूल्य घट्नेको शीर्ष स्थानमा चिर्ख्वा हाइड्रोपावर रहेको छ । जसको सेयर मूल्य ५.०६ प्रतिशतले घटेर प्रतिकित्ता ६०२.९० रुपैयाँमा झरेको छ ।
एक सातापछि बढ्यो सेयर बजार, दुई अर्बमा खुम्चियो कारोबार
काठमाडौं । निरन्तर एक सातासम्म घटेको सेयर बजार सोमबार दोहोरो अंकले बढेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक १३.२८ अंकले बढेर १९९२.३० बिन्दु पुगेको छ । कारोबार खुलेको करिब आधा घण्टामा बढेर ११९७ बिन्दुसम्म पुगेको परिसूचक त्यसपछि ओरालो लागेर १९७३ बिन्दुसम्म झरेको थियो । तर, कारोबारको अन्तिम घडीमा पुनः ह्वात्तै बढेर बजार बन्दा हुँदा परिसूचक १९९२ बिन्दुसम्म पुगेको छ । परिसूचक बढेपनि कारोबार रकम भने निरन्तर घट्दो क्रममा छ । अघिल्लो दिन तीन अर्ब बढीको सेयर कारोबार भएको बजारमा सोमबार भने दुई अर्बमा सीमित भएको छ । ३१४ वटा स्क्रीप्स कारोबारमा आएको बजारमा कूल २ अर्ब एक करोड ७७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । जसमध्ये सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक अर्थात ९ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको कारोबार रकमसँगै सेयर मूल्य पनि ३० रुपैयाँले बढेर प्रतिकित्ता ४३८ रुपैयाँ पुगेको छ । बजारमा बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६ हजार २३२ रुपैयाँ पुगेको छ । आइतबार नकारात्मक सर्किट लागेको समाज लघुवित्त वित्तीय संस्थाको सेयरमा सोमबार पनि नकारात्मक सर्किट नै लागेको छ । जसको सेयर मूल्य १० प्रतिशत अर्थात १९५.८० रुपैयाँले घटेर प्रतिकित्ता एक हजार ७६२.९० रुपैयाँमा झरेको छ । सोमबारको बजारमा फाइनान्स, लघुवित्त र म्युचुअल फण्ड घटेका छन् भने बाँकी समूह बढेर हरिया देखिएका छन् ।
थामिएन सेयर बजारको गिरावट, २ अर्ब २४ करोडमा खुम्चियो कारोबार
काठमाडौं । बुधबार पनि सेयर बजार घट्नबाट थामिएन । गत सातादेखि निरन्तर घटेको नेप्से परिसूचक बुधबार पनि ६.४६ अंकले घटेर २०२६.५९ बिन्दुमा झरेको छ । परिसूचकसँगै कारोबार रकम पनि घट्ने क्रम रोकिएको छैन । मंगलबारको तुलनामा बुधबार एकैदिन ८७ करोडले सेयर कारोबार घटेको छ । अघिल्लो दिन ३ अर्ब माथिको कारोबार भएको बजारमा बुधबार २ अर्ब २४ करोडको मात्रै सेयर किनबेच भएको छ । विगतका दिनजस्तै, बुधबार पनि सर्वाधिक कारोबार गर्नेको शीर्ष स्थानमा हिमालयन रि इन्स्योरेन्स रहेको छ । जसको एकैदिन ११ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । घट्दो बजारमा पनि चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । बोटलर्स नेपाल (बालाजु), हिमालय उर्जा विकास कम्पनी, समाज लघुवित्त वित्तीय संस्था र बोटलर्स नेपाल (तराई)को सेयर मूल्य १० प्रतिशतले घटेको छ । बुधबार ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९० कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी दुई कम्पनीको सेयर मूल्य भने स्थीर रहेको छ । त्यस्तै, बजारमा उत्पादनमूलक बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । उत्पादनमूलक समूह पनि सामान्य अर्थात २.८४ प्रतिशतले बढेको छ ।
दिनानुदिन घट्दै सेयर बजार, तीन अर्बमा खुम्चियो कारोबार
काठमाडौं । पछिल्लो समय सेयर बजार दैनिक रुपमा घटिरहेको छ । गत बिहीबारदेखि घट्दो क्रममा रहेको सेयर बजारले आज मंगलबारसम्म निरन्तरता पाएको छ । पछिल्लो तीन दिनको अवधिमा नेप्से परिसूचक ४३.४३ अंकले घटिसकेको छ । मंगलबारको बजारमा भने परिसूचक सामान्य १.७६ अंकले घटेर २०३३.०६ बिन्दुमा झरेको छ । जबकी बुधबारको बजारमा परिसूचक २०७६.५० बिन्दुमा थियो । बजारमा परिसूचक मात्रै नभई कारोबार रकम पनि घट्दो क्रममा छ । गत बुधबार ४ अर्ब माथिको सेयर कारोबार भएको बजारमा आज मंगलबारसम्म आइपुग्दा घटेर ३ अर्ब ११ करोड रुपैयाँमा सीमित भएको छ । यसअघि अर्थात आइतबारको बजारमा ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । अन्य दिनजस्तै मंगलबार पनि सर्वाधिक कारोबार गर्नेको अग्रस्थानमा हिमालयन रि इन्स्योरेन्स रहेको छ । जसको एकैदिन ३१ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सेयर मूल्य बढेर प्रतिकित्ता ६५० रुपैयाँ पुगेको छ । घटेको बजारमा पनि बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । ग्रीन लाइफ हाइड्रोपावरको सेयर मूल्य भने सबैभन्दा बढी अर्थात १० प्रतिशतले घटेर प्रतिकित्ता २१८.७० रुपैयाँमा झरेको छ ।
किन निरन्तर घटिरहेको छ चीनको सेयर बजार ?
काठमाडौं । चीनको सेयर बजारमा ठूलो गिरावट आएपछि लगानीकर्ताको निद्रा हराएको छ । तीन वर्षमा चीनको सेयर बजार पुँजीकरण ७ ट्रिलियन डलरकाे गिरावट आएको हो । यो गिरावटपछि चीनको बजार नियामक पनि सक्रियरूपमा काम गर्न लागेको छ । बजारको मनोबल बलियो बनाउन चिनियाँ बजार नियामकले बजार हेरफेर, गलत सर्ट सेलिंग र वित्तीय अपराध रोक्न नियम परिवर्तन गर्ने गर्ने बताइसकेको छ । चीनको सेयर बजारको नियामकले सेयरधितो सम्बन्धी नीति पनि परिवर्तन गरिने जनाएको छ । फेब्रुअरी २०२१ मा नयाँ उचाइमा पुगेपछि चीनको सेयर बजार लगातार घटिरहेको छ। सन् २०२४ को सुरुवातमै बजार नाजुक अवस्थाबाट गुज्रिरहेकाे छ । सबैभन्दा बढी गिरावट मिडक्याप र स्मलक्यापमा देखिएको छ । घरजग्गामा मन्दी चीनको घरजग्गा क्षेत्रको देखिएको संकट र देशको अर्थतन्त्रमा देखिएको सुस्सताले त्यहाँको सेयर बजारमा पनि असर गरिरहेको छ । अमेरिकासँगको चिसिदाने सम्बन्ध पनि सेयर बजार घट्नुको कारण रहेको जानकारहरूको भनाइ छ । यस्तो अवस्थामा सेयर बजारबाट घाटा बेहोरेका लगानीकर्ताले अमेरिकी दूतावासको ब्लग एकाउन्ट र अन्य सामाजिक सञ्जालमार्फत निराशा र असन्तुष्टि व्यक्त गरिरहेका छन् । सेयर बजारमा आएको यो गिरावटबाट चिन्तित चीनले अर्थतन्त्रमा विश्वास जगाउन र सेयर बजारमा लामो मन्दी आउन नदिन निरन्तर प्रयास गरिरहेको बताएको छ । तर, चीनको अर्थतन्त्रमा यति धेरै छिद्रहरू छन् कि ती भर्ने सबै प्रयासहरू अपर्याप्त साबित भइरहेका छन् । आर्थिक वृद्धिको कमजोर अनुमानले सेयर बजारमा प्रभाव अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमान अनुसार चीनको वृद्धिदर सन् २०२३ मा ५.२ प्रतिशतबाट घटेर ४.६ प्रतिशतमा सीमित हुनेछ । यदि यो अनुमान सही साबित भयो भने यो विगत १० वर्षमा चीनको अर्थतन्त्रको सबैभन्दा खराब हुनेछ। २०२८ सम्म यो ३.५ प्रतिशतमा झर्न सक्ने अनुमान गरिएकाे छ। यही डरले चीनको सेयर बजारमा गिरावट आएको बुझाइ विश्लेषकहरूको छ । यो साता चीनको सेयर बजार शाङ्घाई कम्पोजिट सूचकांकमा ६.२ प्रतिशतले गिरावट आएको छ, जुन अक्टोबर २०१८ पछिको सबैभन्दा ठूलो गिरावट हो । यो वर्षको सुरुदेखि नै यो परिसूचक ८ प्रतिशतभन्दा बढीले घटेको छ । जहाँ शेन्जेन कम्पोनेन्ट इन्डेक्स ८.१ प्रतिशतले घटेको छ र यो ३ वर्षयताकै सबैभन्दा ठूलो गिरावट हो । र, यो वर्षको सुरुदेखि अहिलेसम्म यो सूचकांक १५ प्रतिशतभन्दा बढीले घटेको छ । सबैभन्दा खराब हप्ता यो साता चीनको अर्थतन्त्रका लागि निकै खराब भएको छ । हप्ताको सुरुवात विश्व र चीनको सबैभन्दा ठूलो घरजग्गा कम्पनी एभरग्रान्डको आसन्न बिक्रीबाट भएको थियो । हङकङको अदालतले एभरग्रान्डलाई खारेज गर्न आदेश दिएको थियो । यो संसारको सबैभन्दा ठूलो ऋणमा डुबेको घर जग्गा विकासकर्ता हो। हङकङको अदालतले एभरग्रान्डलाई उसको ३०० अर्ब डलरको ऋण तिर्न बेच्न आदेश दिएको छ । चीनको दोस्रो ठूलो कम्पनी कन्ट्री गार्डेन डिफल्टर बनेको छ । यससँगै चीनको सम्पत्ति बजारमा संकट गहिरिएको छ । यस घरजग्गा संकटले विकासकर्तालाई ऋण दिने बैंकहरू पनि समस्यामा पर्न सक्ने डर बढ्दै गएको छ । यस्तो अवस्थामा चीनको अर्थतन्त्रको एक चौथाइ हिस्सा ओगटेको चीनको घर जग्गा क्षेत्रको संकटले त्यहाँका नीति निर्माताहरूलाई असर गरेको छ । पहिले नै संकटग्रस्त घरजग्गा क्षेत्रलाई चीनको कमजोर अर्थतन्त्रको लागि दोष दिइन्छ । यस्तो अवस्थामा चीन सरकारका लागि घरजग्गा क्षेत्र बचाउनु निकै महत्वपूर्ण छ । चीनको रियल इस्टेट क्षेत्रको अवस्था यति दयनीय बनेको छ कि यहाँ लाखौं फ्ल्याटहरू खाली छन् । यी फ्ल्याटहरूमा बस्न कोही पनि तयार छैनन् । यस्तो अवस्थामा कम्पनीहरूले घर बेच्न अनौठो अफर दिन थालेका छन् । चीनमा ग्राहकको पर्खाइमा रहेका रियल स्टेट कम्पनीले घरको मूल्य घटाउन थालेका छन् । बजारमा माग कम र आपूर्ति बढी भएकाले घरको भाउ घटेको हो । चीनका चार ठूला सहरमा घरको मूल्य १४ प्रतिशतले घटेको छ । नयाँ घरको बिक्री पनि ६ प्रतिशतले घटेको छ । २०२०–२३ को बीचमा घरजग्गा विकासकर्ताहरूको डिफल्ट १२५ अर्ब डलर नाघेको छ। चीनमा ५० भन्दा बढी विकासकर्ताहरू पतनको कगारमा छन् । जग्गा बिक्रीबाट आम्दानी गर्ने चीनमा स्थानीय सरकारको ऋण ८०० अर्ब डलर नाघेको छ । चीनका ७० सहरमा हरेक महिना घरको मूल्य घटिरहेको छ । चीनको विकासदरलाई लिएर पनि प्रश्न उठिरहेको छ । चीनको हरेक क्षेत्रमा यति खराब अवस्था छ भने ५.२ प्रतिशतको दरले विकास कसरी हुन्छ ? भनेर प्रश्न पनि उठिरहेको छ । विगत ४० वर्षमा चीनको वृद्धि लगानी, आन्तरिक उपभोग र निर्यातका कारण भएको हो। तर, कोभिड–१९ पछि यी तीनै ठाउँमा चीनको स्थिति कमजोर भएको छ । घरजग्गा क्षेत्रलगायत चीनका धेरै ठाउँमा जुन प्रकारको अवस्था आएको छ, त्यसले ५.२ प्रतिशतको दरले वृद्धि हुने देखिएको छैन । बैंकबाट लिएको ऋण तिर्न नसक्ने अवस्थामा चीनका करिब ३० करोड जनता ऋणी हुने सम्भावना छ । घरजग्गा क्षेत्र संकटबाट बाहिर आउन १० वर्ष लाग्ने भएकाले भविष्यमा स्थितिमा सुधार आउने आशा छैन । ‘वुल्फ वारियर डिप्लोमेसी’का कारण चीनलाई विकसित मुलुकसँग व्यापार गर्न गाह्रो भइरहेको कारण निर्यातमा कमी आएको हो । एजेन्सी
सेयर बजारमा सुधार, टप गेनरको सूचीमा अधिकांश हाइड्रो कम्पनी
काठमाडौं । आइतबारजस्तै सोमबारको सेयर बजारमा पनि सुधार देखिएको छ । बजारमा नेप्से परिसूचक १०.२६ अंकले बढेर २१०४.७२ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४८ प्रतिशतले बढेको हो । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । आइतबार ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । ३११ वटा स्क्रीप्स कारोबारमा आएको बजारमा हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । गत सातादेखि निरन्तर सर्वाधिक कारोबार भएको इन्स्योरेन्सको सोमबार ६० करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य आइतबारको तुलनामा २५ रुपैयाँले बढेर प्रतिकित्ता ६७० रुपैयाँ पुगेको छ । बजारमा हाइड्रोपावर कम्पनीको सेयरमा उछाल देखिएको छ । सो दिन टप गेनरको सूचीमा अधिकांश हाइड्रो कम्पनी रहेका छन् । युनियन हाइड्रोपावरको १० प्रतिशत, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ९.९९ प्रतिशत, मिडसोलु हाइड्रोपावरको ९.९९ प्रतिशत, विन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८.७० र अप्पर स्यांगे हाइड्रोपावरको सेयर मूल्य ८.४३ प्रतिशतले बढेको छ । सोमबार टप लुजरको शीर्ष स्थानमा गरिमा डिबेन्चर २०८५ रहेको छ । जसको मूल्य प्रतिथान १० प्रतिशतले घटेर प्रतिथान ८८६.५० रुपैयाँमा झरेको छ । बजारमा बैंकिङ्ग, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूह ओरालो लागेका छन् भने बाँकी समूह उकालो लागेका छन् ।
ब्याज अझै घट्छ, सेयर बजारमा सुधार हुन्छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले राजनीतिक परिवर्तन पछि अब आर्थिक समृद्धि र पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । नेपाल मार्केटिङ एशोसियनले शनिबार आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा. महतले अर्थतन्त्र विस्तारै लयमा फर्किएकाले अब पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । ‘देशको अर्थतन्त्र समस्यामा थियो, विस्तारै सुधार हुँदैछ, हामीले धेरै राजनीतिक आरोह–अवरोह पार गरिसक्यौं, राजनीतिक पूर्वाधार तयार पारिसक्यौं, अब अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक छ, यो पूर्वाधार हामी तयार पार्न सक्छौं भन्ने कुरामा विश्वस्त छौं’ मन्त्री डा महतले भने, ‘हाम्रो आर्थिक सूचाङ्क सकारात्मक छन् । मूल्यवृद्धि नियन्त्रणमा छ । ब्याजदर घटिरहेको छ, अझैं घट्छ, सेयर बजारमा सुधार भइरहेको छ, आर्थिक गतिविधि पनि विस्तारै चलायमान बन्दै गएको छ ।’ मुलुकलाई आर्थिक गति दिनका लागि स्पष्ट मार्गचित्र बन्दै गएको अर्थमन्त्री महतको दावी छ । अर्थतन्त्रमा शिथिलता देखिएका कारण बजार चलायमान हुन नसक्दा उपभोक्ता तथा निजी क्षेत्रको घट्दै गएको आत्मविश्वास अहिले सुधार हुँदै गएको पनि उनको भनाइ छ । ‘अहिलेको आवश्यकता भनेको आत्मविश्वास आर्जन गर्नु पर्ने छ, त्यसका लागि सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ, अहिलेसम्म हामीले धेरै नकारात्मक कुरा गर्यौं, यसले गर्दा हामी आत्मविश्वास कमजोर बन्यो, यथार्थ विषयवस्तुलाई नकारात्मक सन्देशले बल पुग्यो’, मन्त्री डा महतले भने, ‘सकारात्मक सन्देश प्रवाहसँगै हाम्रो व्यापार व्यवसायमा आत्मविश्वास बढ्छ । उपभोक्ताको आत्मविश्वास बढ्छ । उपभोक्तामा आत्मविश्वास बढ्दा व्यापार व्यवसाय बढ्ने हो । व्यापार व्यवसायमा चलपहल हुनेवित्तिकै लगानी वृद्धि हुन्छ । यसले आर्थिक गतिविधि बढाउँछ ।’ नेपालको विशिष्ट पहिचान बोकेका वस्तु र सेवाको पर्याप्त बजारीकरण हुन नसकेको पनि अर्थमन्त्री महतले बताए । वस्तु तथा सेवाको उत्पादन, बजारीकरण र खपतसँग जोडिएका सबै पक्ष मिलेर नेपाली उत्पादनको प्रयोग र बजारीकरणलाई बढावा दिन जरुरी रहेको उनले उल्लेख गरे । विशिष्ट खालका वस्तु तथा सेवा उत्पादन गरेर विश्वका विभिन्न देशले आफ्नो पहिचान स्थापित गरेकोमा नेपालले पनि त्यसबाट लाभ लिनसक्नुपर्ने उनको भनाइ छ । ‘नेपालमा युनिक उत्पादन गरेर संसारभरि बजारीकरण गर्न सकिन्छ, उपभोक्ताले जहिले पनि अरुभन्दा फरक रुचाउँछन्, नेपालको सकारात्मक पक्ष भनेको विशिष्ट खालका वस्तुको उत्पादन हो, हाम्रो संस्कार, संस्कृति, जनजाति, वन्यजन्तु र सामाजिक एकता यहाँको विशिष्ट पहिचान हो”, अर्थमन्त्री महतल भने ।
नाफा बुक गर्ने हाबी हुँदा सेयर बजारमा करेक्सन, पौने १० अर्बको कारोबार
काठमाडौं । बुधबारको सेयर बजारमा करेक्सन देखिएको छ । मंगलबार बढेर उच्च बिन्दुमा पुगेको नेप्से परिसूचकमा बुधबार १२.१० अंकको करेक्सन देखिएको हो । कारोबार खुल्दा उकालोको बाटो समाएको बजारले बन्द हुँदा ०.५५ प्रतिशतले घटेर २१६३.०६ बिन्दुमा झरेको छ । नाफा बुक गर्ने हाबी हुँदा बजारमा करेक्सन देखिएको हो । दिनभरको बजारमा पौने १० अर्ब बढीको सेयर कारोबार भएको छ । ३०० वटा स्क्रीप्स कारोबारमा आएको बजारमा ९ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दिनभरमा ३ करोड ३५ लाख २५ हजार ७०२ वटा सेयर खरिदबिक्री भएका छन् । बुधबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ६५ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोश्रो बजारमा कारोबार शुरु भएदेखि निरन्तर सर्किट लागेको कम्पनीको सेयर मूल्यमा बुधबार पनि सर्किट लागेको छ । जसको सेयर मूल्य प्रतिकित्ता ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६०२.२० रुपैयाँ पुगेको छ । दोहोरो अंकले घटेको बजारमा हिमालयन रि इन्स्योरेन्ससहित चार कम्पनीको सेयर मूल्य सर्किट लागेको छ । जसमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत, नेपाल वेयरहाउजिङ कम्पनीको १० प्रतिशत र गरिमा डिबेन्चर, २०८५ को ९.८९ प्रतिशतले सेयर मूल्य बढेको छ । दोहोरो अंकले घटेको बजारमा तीन कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । इष्ट्रन हाइड्रोपावर, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । बजारमा बैंकिङ, विकास बैंक, माइक्रोफाइनान्स र अन्य समूह बाहेक सबै समूह राताम्मे देखिएका छन् ।
सेयर बजारमा छायो हरियाली, ५३ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आइतबारको सेयर बजारमा हरियाली छाएको छ । कारोबार शुरु भएदेखि परिसूचक उकालो लागेसँगै बजारमा हरियाली छाएको हो । कारोबार शुरु भएको साढे दुई घण्टाको अवधिमा सेयर मूल्य मापक नेप्से परिसूचक ५३.१८ अंकले बढेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.५० प्रतिशतले बढी हो भने परिसूचक २१७३.८० बिन्दुमा पुगेको छ । यो समाचार तयार पर्दासम्म ५ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । २२५ कम्पनीको सेयर मूल्य बढेको छ भने २० वटा कम्पनीको मूल्य घटेको छ ।
सेयर बजारमा दोहोरो अंकको सुधार, नेपाल रिको सर्वाधिक कारोबार
काठमाडौं । साताको पहिलो दिन कारोबार भएको सेयर बजारमा सुधार देखिएको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ३१.६२ अंकले बढेर २१२०.६२ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.५१ प्रतिशतले बढेको छ । बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । गत बिहीबार ४ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आइतबार ५ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । ३१४ वटा स्क्रीप्सको कारोबार भएको बजारमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ३५ करोड ६८ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता एक सय रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको ३ करोड ५२ लाख रुपैयाँ बराबरको साधारण सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने प्रतिकित्ता ६७२ रुपैयाँ छ । संस्थापक र साधारण सेयर गरी कम्पनीको आइतबार मात्रै ३९ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा ११ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा हिमालयन पावर पार्टनर, कालिका पावर कम्पनी, तेह्रथुम पावर कम्पनी, मध्य भोटेकोशी जलविद्युत कम्पनी, माथिल्लो मैलुन खोला जलविद्युत, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ्ग कम्पनी, हिमालयन रि इन्स्योरेन्स, दिब्याश्वरी हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर कम्पनी रहेका छन् । बजारमा होटल्स र ट्रेडिङ्ग समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् ।
सेयर बजार २७ अङ्कले बढ्यो, चार अर्ब चार करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक २७.९० अङ्कले बढेर दुई हजार ५८ को विन्दुमा कायम भएको हो । आज तीन सय छ कम्पनीको एक करोड पाँच लाख चार सय ९८ कित्ता सेयर ९६ हजार दुई सय ५२ पटक खरिदबिक्री हुँदा रू चार अर्ब चार करोड ८८ लाख ५७ हजार चार सय ५४ बराबरको कारोबार भएको छ । सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह तीन दशमलव ०८ र उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ०८ प्रतिशतले बढेको छ । आजको कारोबारमा सातवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै गुमाउनेमा भने लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य पाँच दशमलव १० र प्रभु स्मार्ट फन्डको सेयर मूल्य चार दशमलव ८१ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्यामा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू २६ करोड ६३ लाख ९१ हजार चार सय १६ बराबरको पाँच लाख ७० हजार सात सय १७ कित्ता सेयर किनबेच भएको छ ।