नेपाल टेलिकमको प्रबन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त, पहिलाे महिला एमडीकाे कार्यकाल अपूराे

काठमाडौं । सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदमुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राजभण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । टेलिकममा प्रभावकारी रुपमा काम गर्न नसकेको र कुशल व्यवस्थापकीय क्षमता नदेखाएको आरोप लगाउदै मन्त्रिपरिषद बैंठकले उनलाई हटाउन अघि स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरणमा ‘तपाईलाई जिम्मेवारीबाट किन बर्खास्त नगर्ने ?’ भन्ने प्रश्न गरिएको छ । करिव एक महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कामिनीलाई बोलाएर टेलिकमको गतिविधि प्रति असुन्तष्ठि जनाउदै नेतृत्व फेर्ने संकेत गरेका थिए । राजभण्डारी प्रतिस्पर्धाबाट टेलिकमकी प्रवन्ध निर्देशक भएकी हुन् । यस्तै सञ्चालक समितिले पनि प्रबन्ध निर्देशकको कार्यक्षमतामा प्रश्न उठाउँदै कार्य सम्पादन मूल्यांकन सन्तोषजनक नभएको निर्णय गरेको थियो । सरकारले अप्टिकल फाइबर बिछ्याउने काममा ढिलाइ र टेलिफोनको गुणस्तरमा सुधार गर्न नसकेको आरोप लगाइएको छ । तत्कालीन सञ्चारमन्त्री राम कार्कीका पालामा ०७३ साल असोजमा नियुक्ति पाएकी कामिनीको पदावधि ०७६ सम्म थियो । सञ्चाक समिति र सञ्चार राज्यमन्त्री बास्कोटा उनको कार्यशैली प्रति असन्तुष्ठी जनाउँदै आएका थिए । राज्यमन्त्री बास्कोटाले नेपाल दूरसञ्चार प्राधिकरणको कामप्रति पनि असन्तुष्टि जनाएका छन् । सेयर पुँजीको आधारमा नेपालको सबैभन्दा ठूलो कम्पनीको कार्यकरी प्रमुख पदमा महिला पुगेकी थिइन् । तर उनी उक्त पदमा पूर्ण कार्यकाल रहन सकिनन् । ९५ प्रतिशत सेयर सरकारको स्वामित्वमा रहेको यस कम्पनीमा सत्तारुढ दल निकट मान्छेलाई कार्यकारी प्रमुख बनाउँदै आएको छ । परिणाम यस संस्थाको कार्यकारी प्रमुख पद अस्थीर बन्दै आएको छ । सरकारी स्वामित्मा रहेका कम्पनी मध्ये नेपाल टेलिकम सबैभन्दा बढी नाफा गर्ने र सरकारलाई सबैभन्दा बढी कर बुझाउने संस्था हो । तर पछिल्लो समय नेपाल टेलिकम प्रतिस्पर्धामा पछाडि धकेलिदै गएको छ । मन्त्रीपरिषद्का अन्य निर्णय यस्तै मन्त्रीपरिषद्को बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको पुनर्गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । बैठकले प्रतिष्ठानमा डिल्लीराज घिमिरे, डा खड्क केसी, प्राडा मीना वैद्य मल्ल, उपरथी हिमालय थापा, हरि फुयाँल, डा शंकर शर्मा, भवानी राणा र लालबाबु यादवलाई तीन वर्षका निम्ति नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले बालबालिकासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारसम्बन्धी विधेयक र रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए । बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा महालेखा नियन्त्रक सुरेश प्रधानलाई तोक्नुका साथै मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्यका लागि बूढानीलकण्ठ क्षेत्रको नौ आना जग्गा अधिग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको छ । साथै बैठकले बोनस (चौथो संशोधन) नियमावली, २०७५ स्वीकृत गर्ने निर्णय गरेको उहाँले जानकारी दिए ।

नेपाल टेलिकमको बजार हिस्सा बढेर ५१ प्रतिशत पुग्यो, गत वर्ष १५ अर्ब ६६ करोड नाफा

काठमाडौं । सरकार स्वामित्वको नेपाल टेलिकमको बजार हिस्सा बढेर ५१ प्रतिशत पुगेको छ । यसअघि ४९ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा २ प्रतिशत बढाएर ५१ प्रतिशत पुर्याएको हो । गत जेठ मसान्तसम्म कम्पनीका टेलिफोन ग्राहक आधार १ करोड ९७ लाख ४७ हजार ४४५ पुगेको प्रवत्ता प्रतिभा वैद्यले बताइन् । उनका अनुसार इन्टरनेट ग्राहक आधार १ करोड ६ लाख ५२ हजार ४२९ रहेको छ । यसरी २०७४ असार मसान्तको तुलनामा कम्पनीको ग्राहक आधार टेलिफोनतर्फ २१ लाख ४५ हजार २२३ र इन्टरनेटतर्फ २२ लाख २६ हजार ५३५ ले बृद्धि भएको उनले जानकारी दिइन् । गत वर्ष टेलिकमको नाफा १.९२ प्रतिशत वृद्धि भई १५ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ पुगेको छ । नाफमा भएको वृद्धिले प्रतिसेयर आम्दानी (ईपीएस) पनि १.९६ प्रतिशत बढेर १०४ रुपैयाँ ४५ पैसा पुगेको वैद्यले बताइन् । टेलिकमको आम्दानी २.१९ प्रतिशत बढेर ४५ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ पुगेको छ । टेलिकमले पाँचथरको चियो भञ्ज्याङदेखि गोर्खा-धादिङको आरुघाटसम्म २ हजार १७९ किलोमिटर अप्टिकल फाइवर नेटवर्क विस्तार गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७५।७६ मा पोष्टपेडतर्फ ५९ हजार ८३० लाइन र प्रिपेडतर्फ २५ लाख ५० हजार मोबाइल लाइन वितरण गर्ने लक्ष्य लिइएको छ । सातै प्रदेशमा फोरजी एटीई सेवा विस्तारको काम अघि बढिसकेको वैद्यले जानकारी दिइन् । यस आर्थिक वर्षमा सीडीएमए प्रविधिका ८१ हजार ६ सय २ लाइन टेलिफोन वितरण गर्ने लक्ष्य लिइएको छ । भ्वाइस सेवातर्फ कुल २७ लाख ३३ हजार टेलिफोन लाइन‍ थप वितरण गरी टेलिघनत्व ७० प्रतिशत पुर्याउने तथा डाटा सेवाको घनत्व पनि बृद्धि गर्दै ४५ प्रतिशत पुर्याउने टेलिकमकाे लक्ष्य रहेको छ ।

स्याङ्जाका मिर्मिमा नेपाल टेलिकमको टेलिफोन क्षमता विस्तार

काठमाडौं । नेपाल टेलिकम दूरसञ्चारका गल्याङले स्याङ्जाको पर्यटकीय क्षेत्रको रुपमा रहेको मिर्मिमा आफ्नो पिएसटिएन टेलिफोन लाईन तथा एडिएसएल वितरणको क्षमतामा विस्तार गरेको छ । विस्तार पश्चात अब पिएसटिएन तथा एडिएसएल सेवाका नयाँ उपभोक्ताहरुले सहजै सेवा प्राप्त गर्ने भएका छन् । टेलिकमका गल्याङका कार्यालय प्रमुख रामराज उपाध्यायका अनुसार मिर्मिका उपभोक्ताहरुले नयाँ लाइन नपाएका कारण एडिएसएल समेत चलाउन नपाएको अत्याधिक गुनासो गरेपछि उक्त सेवा सञ्चालनमा ल्याइएको हो । साथै, हाललाई यसअघि वितरित लाइन भन्दा ४८ लाइनको क्षमता मात्रै विस्तार गरिएको हो । तथापी आगामी दिनमा माग बढ्दै गए पुनः क्षमता विस्तार गर्दै लगिनेछ उनले बताए । समयमा नयाँ लाइन नपाएका कारण विगत दुई महिनादेखि लाईनको पर्खाइमा रहेको प्राइम कमर्शियल बैंक मिर्मि शाखाले अब आपूmलाई आवश्यक लाइन तुरुन्त पाइने भएकोमा खुशी लागेको बैंकका शाखा प्रबन्धक लोकबहादुर कुँवरले बताए । नेपाल टेलिकमद्वारा वितरित पिएसटिएन फिक्ड लाइन भरपर्दो टेलिफोनका रुपमा लिइन्छ भने सोमार्पmत फाइभ एमबिपिएस स्पिड क्षमता भएको हाईस्पिड ब्रोडव्याण्ड एडिएसएल इन्टरनेट समेत सहजै चलाउन सकिन्छ ।

नेपाल टेलिकमको नाफा ११ अर्ब ८५ करोड, ईपीएस १०५ रुपैयाँ

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नेपाल दृुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले नाफा बढाएको छ । गत चैतसम्म टेलिकमले ११ अर्ब ८५ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीका ११ अर्ब ३२ करोड रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर आम्दानी १०५ रुपैयाँ छ । गत वर्षको सोही अवधिमा प्रतिसेयर आम्दानी १०० रुपैयाँ थियो । समीक्षा अवधिमा टेलिकमले ३३ अर्ब ८५ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा आम्दानी ३२ अर्ब ८६ करोड रुपैयाँ थियो । डलरको भाउ उतारचढाव हुँदा ७ करोड १२ लाख रुपैयाँ नोक्सान भएको टेलिकमले जनाएको छ । संचित कोषको आकार बढेर ७९ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।

नेपाल टेलिकमबाट कामिनी राजभण्डारीलाई हटाउने तयारी, सरकारले भन्याे : तपाईलाई जिम्मेबारीबाट किन बर्खास्त नगर्ने ?

काठमाडौं । सरकारले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई स्पष्टिकरण सोधेको छ । टेलिकममा प्रभावकारी रुपमा काम गर्न नसकेको र कुशल व्यवस्थापकीय क्षमता नदेखाएको आरोप लगाउदै मन्त्रिपरिषद बैंठकले उनलाई हटाउन अघि स्पष्टिकरण सोधेको हो । स्पष्टिकरणमा ‘तपाईलाई जिम्मेवारीबाट किन बर्खास्त नगर्ने ?’ भन्ने प्रश्न गरिएको छ । स्पष्टिकरण लिएपछि चित्त नबुझे मान्त्रिपरिषदले उनलाई हटाउन सक्ने छ । पछिल्लो समयमा निजी क्षेत्रको प्रतिस्पर्धी गर्न नसकेको सेवा र गुणस्तर ओरालो लागेको आरोप लगाउदै सरकारले उनलाई स्पष्टिकरण सोधेको हो । दुई साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कामिनीलाई बोलाएर टेलिकमको गतिविधि प्रति असुन्तष्ठि जनाउदै नेतृत्व फेर्ने संकेत गरेको केही दिनमै सरकारले उनलाई हटाउनका लागि स्पष्टिकरण सोधेको हो । राजभण्डारी प्रतिस्पर्धाबाट टेलिकमकी प्रवन्ध निर्देशक भएकी हुन् । यस्तै सञ्चालक समितिले पनि प्रबन्ध निर्देशकको कार्यक्षमतामा प्रश्न उठाउँदै कार्य सम्पादन मूल्यांकन सन्तोषजनक नभएको निर्णय गरेको थियो । सरकारले अप्टिकल फाइबर बिछ्याउने काममा ढिलाइ र टेलिफोनको गुणस्तरमा सुधार गर्न नसकेको आरोप लगाइएको छ । तत्कालीन सञ्चारमन्त्री राम कार्कीका पालामा ०७३ मा नियुक्ति पाएकी कामिनीको पदावधि ०७६ सम्म छ । सञ्चाक समिति र सञ्चार राज्यमन्त्री गोकुल बास्कोटा उनको कार्यशैली प्रति असन्तुष्ठ रहेका छन् । राज्यमन्त्री बास्कोटाले नेपाल दूरसञ्चार प्राधिकरणको कामप्रति पनि असन्तुष्टि जनाएका छन् ।      

नेपाल टेलिकमको ग्राहक आधार २ करोड नजिक

काठमाडौं । नेपाल टेलिकमको ग्राहक आधार १ करोड ९१ लाख १३ हजार ७ सय ८७ पुगेको छ । फागुन मसान्तसम्म कम्पनीको डाटा सेवाका प्रयोगकर्ता ९९ लाख ५४ हजार ७ सय २२ पुगेका छन् । डाटा सेवाका लागि कम्पनीले हाल ५ एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा मासिक न्यूनतम ५ सय ८३ रुपैयाँ सम्मको मूल्यमा उपलब्ध गराइरहेको छ । चालु आर्थिक वर्षको फागुन महिनासम्ममा कम्पनीको डाटा सेवाका ग्राहक आधार १८.१४ प्रतिशतले वृद्धि भएको देखिएको छ । कम्पनीले मुलुकमै पहिलोपटक गत वर्ष देखि शुरु गरेको फोरजी सेवालाई देशैभर विस्तार गर्नका लागि आह्वान गरेको टेण्डर हाल मूल्याङ्कनको अन्तिम चरणमा रहेको छ । कम्पनीको एक करोड जीएसएम आयोजना अन्तर्गत दुई प्याकेज मध्ये काठमाडौं उपत्यका तथा पश्चिमाञ्चल क्षेत्रको ४८ लाख क्षमताको नेटवर्क विस्तार कार्य सतप्रतिशत सम्पन्न भइसकेको र अर्को प्याकेज अन्तर्गत मध्यमाञ्चल क्षेत्र (काठमाडौं उपत्यका वाहेक), पूर्वाञ्चल क्षेत्र, मध्य पश्चिमाञ्चल क्षेत्र तथा सुदूर पश्चिमाञ्चल क्षेत्रको ५२ लाख क्षमताको नेटवर्क विस्तार कार्य ७२ प्रतिशत सम्पन्न भई बाँकी विस्तार कार्य तदारुकताका साथ जारी रहेको छ । आयोजना अन्तर्गत मुलुकका अति विकट तथा दुर्गम स्थानहरु मुगुको रारा क्षेत्र, सिन्धुपाल्चोकको चेपेडाँडा, बाग्लुङको तमान खोला, दोलखाको गौरीशंकर, च्छोरोल्पा क्षेत्रको बेदिङ, धादिङको लापा र तिप्लिङ लगायत गोर्खा, मनाङ र मुस्ताङ जिल्लाका अति विकट स्थानमा समेत मोबाइल सेवा विस्तार गरिएको छ । प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै ती स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो । मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने कार्यका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग भएको सम्झौता पश्चात् आवश्यक सम्पूर्ण सर्भे कार्य सम्पन्न गरी कम्पनीले माइक्रोवेभ ट्रान्समिसन तथा टावरको छुट्टाछुट्टै बोलपत्र आह्वान गरी टावर निर्माण कार्य सुरु भइसकेको र माइक्रोवेभ ट्रान्समिसनको बोलपत्र मूल्यांकनको अन्तिम चरणमा रहेको छ । साथै प्रदेश १, २ र ३ मा अप्टिकल फाइबर बिछ्याउने कार्यको तीन वटा छुट्टाछुट्टै बोलपत्रहरु, उच्च क्षमताका डिएमडीडब्ल्यु उपकरण र राउटर उपकरणको छुट्टाछुट्टै बोलपत्रहरु तयार गरी अन्तिम स्वीकृतिका लागि सञ्चालक समितिमा पेश भइसकेको छ । कम्पनीले सेवा विस्तारका लागि आवश्यक उपकरण जडान गर्ने कार्यलाई पनि तीव्रता दिएको छ । आर्थिक वर्ष २०७३÷७४ मा मात्रै १,४१५ नयाँ बीटीएस टावर सञ्चालन र ६८९ पुरानो बीटीएस टावर प्रतिस्थापन तथा ३८७ फोरजी बीटीएस समेत गरी कुल २,४९१ बीटीएस सञ्चालन भएका छन् । आर्थिक वर्ष २०७४/७५ को अन्त्य सम्ममा थप २३५ स्थानमा बीटीएस सञ्चालन गर्ने लक्ष्य छ । सो मध्ये ४० बीटीएस सिराहा र सप्तरीमा मात्रै सञ्चालन गर्ने लक्ष्य रहेकोमा १२ वटा सञ्चालनमा आइसकेका छन् भने ३ वटा सञ्चालनको क्रममा रहेका छन् । ७ वटा बीटीएस जडानको क्रममा रहेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन् ।

शुक्रबारदेखि नेपाल टेलिकमका प्रीपेड ग्राहकलाई निर्ब्याजी ऋण, ब्यालेन्स नभएर फोन काटिने दिन सकिए

काठमाडौं । नेपाल टेलिकमले शुक्रबारदेखि  प्रीपेड ग्राहकहरुलाई निर्ब्याजी ऋण उपलब्ध गराउने भएको छ । टेलिकमले शुक्रबार बिशेष कार्यक्रम मार्फत प्रीपेड ग्राहकहरुलाई बिना ब्याज ऋण उपलब्ध गराउन लागेको हो । तत्कालिन व्यवस्थापिका संसदको विकास समितिले टेलिकमलाई सापटी सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । सोही अनुसार टेलिकमले माघ २२ गते नमस्ते क्रेडिट सेवाको सफ्ट लञ्च गरेको थियो । अब टेलिकमको प्रीपेड मोबाइल उपयोग गर्नेहरुले पैसा सकिएर फोन काटिने हैरानीबाट मुक्ती पाउनेछन् । टेलिकमले फोन गर्दा गर्दै काटिएमा ग्राहको खातामा स्वत पैसा राखिदिनेछ । उपभोक्ताले रिचार्ज गरेपछि सो रकम काटिने छ तर सेवा शुल्क भने असुल्ने छैन् । शुक्रबार बिहान सञ्चार तथा सूचना प्रबिधि राज्यमन्त्री गोँकुल बाँस्कोटाले नमस्ते क्रेडिट सेवाको आरम्भ गर्ने कार्यक्रम तय भएको टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।

नेपाल टेलिकमको नाफा घट्यो, ६ महिनामा ७ अर्ब ४८ करोड मात्र

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाल टेलिकमको नाफा घटेको छ । गत पुससम्म टेलिकमले ७ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा टेलिकमको नाफा ७ अर्ब ९१ करोड रुपैयाँ थियो । चालु आवको दोस्रो त्रैमाशमा टेलिकमले २२ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा टेलिकमको नाफा २२ अर्ब ४७ करोड रुपैयाँ थियो । नाफा घटेपछि टेलिकमको प्रतिसेयर आम्दानी (ईपीएस) ९९ रुपैयाँ ७७ पैसामा झरेको छ ।

नेपाल टेलिकमको अफरको वर्षा, डाटामा १५ र भ्वाइसमा ३५ रुपैयाँमा अनलिमिटेड प्याकेज

काठमाडौं। नेपाल टेलिकमले ३ दिनका  लागि ३५ रुपैयाँमा अनलिमिटेड नाईट भ्वाइस प्याकेज (राति १० देखि बिहान ६ बजेसम्मका लागि) ल्याएको छ । सोमबार कम्पनीका प्रवन्ध निर्देशक कामिनी राजभडारीले राजधानीमा आयोजित टेलिकमको १४ औं वार्षिकोत्सवको असरमा उक्त योजनाको सम्बन्धमा जानकारी दिएकी थिइन । कम्पनीले १५ रुपैयाँमा एक रातको लागि अनलिमिटेड नाईट डाटा प्याकेज (राति १० देखि बिहान ६ बजेसम्मका लागि) को योजना ल्याएको उनको भनाइ छ । उनका अनुसार ५० रुपैयाँमा अनलिमिटेड अल टाइम डाटा प्याकेज (कुनै पनि सयममा प्रयोग गर्न सकिने) २४ घण्टाको लागि प्रदान गर्ने भएको छ । उक्त सुबिधाहरु एनटीसीको जिएसएम सेवाफर्त माघ २३( भोलि)देखि फागुन ८ गतेसम्म लागु हुने उनले कार्यक्रममा जानकारी दिइन् । रिचार्ज गर्दा बोनस त्यस्तै उनले रिचार्ज बोनसतर्फ माघ २३ देखि २९ गतेसम्मको लागि रू. ५०, १०० र २०० को रिचार्जमा १० प्रतिशत बोनस दिने बताइन् । ५०० र १००० को रिचार्जमा १५ प्रतिशत बोनस दिइने छ । विदेशबाट फोन आउदा बोनस कम्पनीका अनुसार माघ २५ गतेदेखि वैशाख २५ गतेसम्म छिमेकी देश भारतमा कल गर्न रू २ रुपैयाँ २२ पैसादेखि २ रुपैयाँ ३३ पैसा प्रतिमिनेटसम्मका विभिन्न प्याकेजहरु ल्याइएको छ । अन्तर्राष्ट्रिय आगमन कल प्राप्त गर्ने कम्पनीका ग्राहकहरुलाई प्रत्येक ७ दिनमा ७ मिनेटभन्दा बढि कल प्राप्त भएमा कम्पनीको नेटवर्कभित्र कल गर्न तथा एसएमएस पठाउन बोनस प्रदान गरिने कम्पनीको भनाइ छ । त्यस्तै कम्पनीले अन्य छुट र प्याकेजहरु ल्याएको छ । एफटीटीएच सेवा प्रवर्धन गर्न यही माघ २५ देख २०७५ वैशाख २५ गतेसम्म ९० दिन सो सेवाका व्यक्तीगत तथा कर्पोरेट ग्राहकहरुको लागि विभिन्न प्याकेजहरु प्रदान गरिएको छ । पीएसटीएन सेवाग्राहीका लागि फागुनसम्म थप २५ कल बराबरको छुट दिइनेछ । सीडीएमएमा डाटा वोनस, प्रिपेड ग्राहकहरुलाई सीयुजी सेवामा आबद्ध गरिने कम्पनीको भनाइ छ । साथै स्प्रीङ अफर लगातका सुविधाहरु कम्पनीले बार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको छ ।

बर्सेनी नाफा बढाउँदै नेपाल टेलिकम, प्रतिसेयर आम्दानी १०२ रुपैयाँ

काठमाडौं । सरकार संलग्न अधिकांश कम्पनी ओरालो लागिरहेका बेला नेपाल टेलिकमले भने निरन्तर प्रगति गरिरहेको छ । बहुमत सेयर सरकारले ओगटेको टेलिकमले सरकारी निर्णय प्रक्रियालाई छिचोल्दै नाफा, गुणस्तर र सेवा विस्तारमा आफुलाई अब्बल सावित गरिरहेको छ । नेपाल टेलिकमले १५ औं बार्षिकोत्सव मनाईरहँदा खुद नाफा १५ अर्ब ३७ करोड पुर्याएको छ । त्यस्तै, प्रतिसेयर आम्दानी (ईपीएस) बर्सेनी बढ्ने क्रमा छ र अहिले १०२ रुपैयाँ ४९ पैसा पुगेको छ । ४ वर्षको अवधिमा टेलिकमका लगानीकर्ताको ईपीएस २५ रुपैयाँ बढेको छ । गत आवमा गरेको नाफाबाट सेयरधनीलाई ५५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । यो वर्ष गत वर्षको भन्दा बढी लाभांश दिने अवस्थामा टेलिकम पुगेको छ । चालु आर्थिक वर्षमा टेलिकमको ईपीएस अझै बढ्ने छ । बैंक तथा वित्तीय संस्थाको ईपीएस घट्दै गएका बेला नेपाल टेलिकमको भने बढेको छ । आव ०७०/०७१ मा टेलिकमको ईपीएस ७७ रुपैयाँ १२ पैसा थियो । ०७१/०७२ मा बढेर ९७ रुपैयाँ पुगेको थियो । ०७२/०७३ मा ईपीएस घटेर ९० रुपैयाँमा झरेको थियो । नाफा वर्षेनी बढ्दै गएकाले उसको ईपीएसमा वृद्धि भएको हो । गत आर्थिक वर्षमा टेलिकमको खुदनाफा बढेर १५ अर्ब ३७ करोड २७ लाख रुपैयाँ भएको थियो । यो वर्ष नाफा अझ बढ्ने प्रक्षेपण टेलिकमको छ । ४ वर्षअघि टेलिकमको नाफा ११ अर्ब ५६ करोड रुपैयाँ थियो । ४ वर्षमा टेलिकमले नाफा ४ अर्ब रुपैयाँ बढाएको छ । गत वर्ष टेलिकमले ४४ अर्ब ५८ करोड रुपैयाँ आम्दानी गरेको थियो । ४ वर्षअघि टेलिकमको आम्दान ि३९ अर्ब ६७ करोड रुपैयाँ थियो । टेलिकमको आम्दानी वर्षेनी बढ्दै गएको देखिन्छ । टेलिकमले गत वर्षमात्र अग्रिम आय, मूल्य अभिवृद्धि कर, दुरसञ्चार सेवा शुल्क, स्वामित्व शुल्क, भन्सार शुल्क, रोयल्टी आरटीडीएफ, लाभांश र सम्पत्ति र सवारीसाधन गरी २४ अर्ब ५४ करोड ६९ लाख रुपैयाँ कर सरकारलाई बुझाएको थियो । चालु आवको पुससम्म टेलिकमले लाभांश बाहेक साढे ६ अर्ब रुपैयाँ कर बुझाएको छ । ४ वर्षअघि टेलिकमले २० अर्ब ३५ करोड रुपैयाँ कर सरकारलाई बुझाएको थियो । चौथो पुस्ता सेवा सुरु गरेको टेलिकमले यो वर्षदेखि नेपाल–चीन ट्रान्सबोर्डर अप्टिकल लिंकको पनि सुरु गरेको छ । गत मंसिरसम्म टेलिकमको भ्वाइस सेवातर्फ १ करोड ८५ लाख ५८ हजार बढी ग्राहक पुगेका छन् । जीएसएम मोवाइलका प्रयोगकर्ता १ करोड ६२ लाख २५हजार, सीडीएमए सेवाका १५ लाख ५० हजार र पीएसटीएन सेवाका ६ लाख ८२ हजार ग्राहक छन् । टेलिकमको भ्वाइस सेवातर्फको बजार हिस्सा ४९ प्रतिशत पुगेको जानकारी दिएको छ । यस्तै इन्टरनेट डाटा सेवातर्फ पनि प्रयोगकर्ताको संख्या ८९ लाख ३५ हजार पुगेको छ । डाटा सेवातर्फ ५२.७३ प्रतिशत बजार हिस्सा रहेको टेलिकमले जनाएको छ । टेलिकमले फोरजी सेवा विस्तार र द्रुतगतिको इन्टरनेट सेवा दिने जानकारी दिएको छ ।

नेपाल टेलिकमको पैसामा विवाद हुँदा नविल सीईओमा लफडा ! जोशी किन गए, शाह किन आए ?

काठमाडौं । नेपाल टेलिकमको पैसाका कारण नबिल बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत सशीन जोशीले बैंकबाट हात धुनु परेको तथ्य उजागर भएको छ । एनसेलले नबिल बैंकमा राखेको निक्षेप फिर्ता लिने निश्चित भएपछि सीडी रेसियो मिलाउन बैंकका प्रमुख कार्यकारी अधिकृतले सशीन जोशीले नेपाल टेलिकमले गरेको निक्षेप टेण्डरमा उच्च व्याजदर विड गरेका थिए । १३ प्रतिशतभन्दा माथि गएर करिव ३ अर्ब रुपैयाँ निक्षेप टेलिकमसँग लिएपछि बैंक सञ्चालक समितिले प्रमुख कार्यकरी अधिकृत जोशीसँग असन्तुष्टि जनाएको थियो । सञ्चालक समितिसँग समन्वय नगरी महंगो ब्याजदरमा निक्षेप लिएको भन्दै अध्यक्ष शम्भु पौडेलले केरकार गरेपछि सशीन जोशीले राजीनामा दिएको स्रोतले बतायो । जोशीले फागुन ५ गतेदेखि लागु हुने गरि मंसिर दोस्रो साता राजीनामा दिएका थिए । अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतबीच ठाकठूकले निम्त्याएको राजीनामा बैंक सञ्चालक समितिले मंसिर १९ गते स्वीकृत गरेको थियो । जोशीको राजीनामा स्वीकृतसँगै बैंक थप समस्यामा परेको थियो । खासगरी निक्षेप संकलनमा बैंकले धेरै मिहेनत गर्नु पर्ने अवस्था थियो । राजीनामा स्वीकृत भईसकेको सीईओले त्यसमा जोड नदिएपछि बैंकको निक्षेप घट्न थालेको थियो । गत असोजमा १२३ अर्ब रुपैयाँ निक्षेप भएको नविलमा पुस मसान्तमा १२१ अर्ब रुपैयाँ निक्षेप भएको छ । सोही अवधिमा एनआईसी एशिया बैंकले करिव २० अर्ब रुपैयाँ निक्षेप वृद्धि गरेको छ । चर्को दवावपछि अनिल शाहलाई डेपुटी सीईओ नविललाई निक्षेपको अभाव खड्किँदै गएको थियो । बैंक सञ्चालकका नजरमा निक्षेप बढाउन सक्ने एक मात्र सिईओ अनिल शाह मात्रै देखिए । सञ्चालक समितिले अनिललाई सेञ्चुरी बैंकबाट नबिल ल्याउने निर्णय गरे । तर केन्द्रिय बैंकले कुलिङ पिरियडको मापदण्ड ल्याएर अनिललाई नबिल जानबाट रोक लगायो । त्यसपछि नविलले आफूलाई झन् असुरक्षित महसुस गर्यो । माग १५ गतेसम्म २७ वटा वाणिज्य बैंकहरु वित्तीय विवरण सार्वजनिक भयो । पुस मसान्तको रिपार्टमा नविल बैंकले आफ्नो पोजिशन गुमाउने स्थिति देखियो । खुद नाफामा नविल भन्दा इन्भेष्टमेन्ट बैंक ७३ लाख रुपैयाँ पछाडि देखियो । निक्षेप नविलको भन्दा ८ अर्ब बढी इन्भेष्टमेन्ट बैंकको देखियो । अहिलेकै वृद्धिदर कायम भएमा चैत मसान्तसम्ममा निक्षेप र कर्जा दुबैमा एनआईसी एशिया बैंक अगाडि आउने भयो । त्यसले नविल बैंक सञ्चालक समितिलाई झनै तनावमा पुर्यायो । अनिल शाहलाई ६ महिना कुर्दा असार मसान्तसम्ममा नबिल बैंकले यसअघि अगुवाई गरेका सूचकाङ्क मध्ये धेरैमा अरु बैंकले अगुवाई गर्नेस्थिति देखियो । उता अनिल शाह पनि आफ्नो नविलमा पुन सीईओ बन्ने आफ्नो प्रयासलाई अर्जुन दृष्टि लगाएका थिए । विनोद चौधरी देखि गभर्नरसम्मका व्यक्तिसँग लविङ गर्दै उनी डेपुटी सीईओ स्वीकार गर्न तयार भएको थिए । नविलमा अनिल प्रभाव यसअघि अनिल शाहले नै नबिललाई स्ट्याण्डर्ड चाटर्ड बैंक भन्दा अगाडी पुर्याएर निजी क्षेत्रका बैंकमा अब्बल बैंकको उपमा उभ्याएका थिए । अनिलकै नेतृत्वमा नबिलले नाफा, सेयर मूल्य, व्यवसाय लगायतका सूचांकमा अन्य बैंकलाई उछिनेको थियो । कुलिङ पिरियड लाग्ने र नयाँ सिइओ ल्याउन नसक्दा असार मसान्तको वित्तीय विवरणमा नबिललाई नेपाल इन्भेष्टमेन्ट बैंकले धेरै सुचांकमा जित्ने खतरा मडारिरहँदा सञ्चालकहरुले विकल्प निकाले । र अनिल शाहलाई डेपुटी सिईओका रुपमा नियुक्ती दिलाए । कुलिङ पिरियडको बन्देज हटे लगत्तै नबिलले शाहलाई नै सिईओ नियुक्त गर्नेछ ।

नेपाल टेलिकमको ५५ प्रतिशत नगद लाभांश पारित, माघ २ गतेदेखि वितरण गरिने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को सेयरधनीलाई ५५ प्रतिशत नगद लाभांश पारित भएको छ । आइतबार सम्पन्न टेलिकमको १०औँ वार्षिक साधारणसभाले कम्पनीको उक्त प्रस्तावलाई पारित गरेको छ । सभाले पारित गरे बमोजिम टेलिकमले आर्थिक वर्ष २०७३/७४ को मुनाफा रकम मध्येबाट ५५ रुपैयाँ प्रतिसेयरका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आगामी माघ २ गते देखि सो मात्राको लाभांश रकम आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भएको छ । कम्पनीले वितरण गर्न लागेको उक्त लाभांश रकम अहिलेसम्म वितरण गरिएको लाभांश रकम मध्ये सबैभन्दा बढी हो । साथै, सभाले सर्वसाधारण शेयरधनी मध्येबाट निर्वाचित हुने सञ्चालकको कार्यकाल ३ वर्ष वा नियुक्ति भएको मिति देखि तीन वटा साधारणसभा बस्ने मिति मध्ये जुन पहिलो हुन्छ, सो मितिसम्म मात्र हुने व्यवस्था गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा खुद मुनाफा १५ अर्ब ३७ करोड रुपैयाँ कमाएको छ । साथै, गत आवको तुलनामा १७.२३ प्रतिशतले ग्राहक संख्यामा वृद्धि भई १ करोड ७६ लाखभन्दा बढी ग्राहकहरूलाई सस्तो तथा भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउन कम्पनी सफल भएको सभामा जानकारी गराइएको छ ।

नेपाल टेलिकमले बैंकबाट सवा ८ अर्ब निक्षेप फिर्ता लिदै, तरलता समस्या झन जटिल बन्ने

काठमाडौं । बैकिङ क्षेत्रमा तरलता अभावको संकट गहिरदै गएको बेलामा नेपाल टेलिकमले विभिन्न बैंकबाट ८ अर्ब २५ करोड रुपैयाँ निक्षेप निकाल्ने भएको छ । त्यस मध्ये ७ अर्ब ९२ करोड रुपैयाँ सरकारलाई बुझाउने छ । १५ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको यस कम्पनीले ५५ प्रतिशत नगद लाभांश दिदैछ । यस कम्पनीमा करिव ९६ प्रतिशत सेयर सरकारको भएकोले कम्पनीले नाफा वापतको ७ अर्ब ९२ करोड रुपैयाँ सरकारलाई बुझाउने छ । अघिल्ला वर्षहरुमा चैत महिनामा साधारणसभा गर्दै आएको नेपाल टेलिकमले यस पटक तीन महिनाअघि अर्थात आगामी पुस ३० गते गर्दैछ । सञ्चालक समितिको प्रस्ताव साधारणसभाबाट अनुमोदन भएको भोलिपल्ट देखि नै सेयरधनीलाई लाभंश वितरण गर्ने कम्पनीको अभ्यास भएको सो कम्पनीको सूचना अधिकारी शोभन अधिकारीले बताए । कम्पनीले गत आर्थिक वर्षको नाफा विभिन्न बैंकमा निक्षेपको रुपमा राखेको छ । सरकारले लाभांश लैजादा सो रकम राष्ट्र बैंकमा जम्मा हुन जान्छ । पुस मसान्तमा ६० देखि ७० अर्ब रुपैयाँ राजश्व वापत जम्मा हुने अनुमान गरिएको छ । त्यसमाथि टेलिकमबाट करिव ८ अर्ब रुपैयाँ सरकारको खातामा जाँदा बजारमा तरलताको संकटमाथि थप दवाव पर्ने जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत (सीइअाे) परशुराम क्षेत्रीको भनाई छ । हाल सरकारको खातामा करिव ३५७ अर्ब रुपैयाँ जम्मा भएको छ । यो बैंक तथा वित्तीय संस्थामा जम्मा भएको कुल निक्षेपको १८ प्रतिशत हो । तरलता संकट गहिरीदै जाँदा बैंकहरूले निक्षेप र कर्जा दुबैकाे व्याज बढाउँदै अाएका छन् । त्यसकाे कर्जाकाे व्याजदर पनि बढ्दै गएकाे छ । उच्च व्याजदरले अर्थतन्त्र महँगाे हुने र त्यसले उत्पादन लागत बढाउने र उपभाेक्ता मुल्य पनि बढाउने विश्लेषकहरूकाे भनार्इ छ । पुसमा करको रुपमा अर्बौ रुपैयाँ राज्यको ढुकुटीमा जाने भएपछि बजारमा लगानीयोग्य पुँजीको अभाव हुने बैकरले बताएका छन् । सरकारले खर्च बढाउन नसके बैंकिङ प्रणालीमा ठुलो समस्या आउने संभावना रहेको माछापुच्छे बैंकका सीईओ निरजकुमार श्रेष्ठ बताउछन् ।  

सेयर बजार घट्दा पनि लगानीकर्ताको आकर्षण स्ट्याण्डर्ड चाटर्ड बैंक र नेपाल टेलिकममा

काठमाडौं । सेयर बजारमा गिरावट आएका बेला बोनस र लाभांश पाउने आशामा स्ट्याण्डर्ड चाटर्ड बैंक र नेपाल टेलिकममा लगानीकर्ताको आकर्षण बढेको छ । बिहीबार स्ट्याण्डर्ड चाटर्डको सेयर प्रतिकित्ता १ हजार ९३२ रुपैयाँमा २२ करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको छ । स्ट्याण्डर्डको बिहीबारसम्म सेयर किन्नेले मात्र शतप्रतिशत बोनस सेयर पाउने भएपछि उसको सेयर कारोबार बढेको हो । आइतबारदेखि स्ट्याण्डर्डको सेयर किन्नेले बोनस सेयर पाउदैनन् । यस्तै ५५ प्रतिशत नगद लाभांश पाउने भएपछि नेपाल टेलिकमको पनि सेयर कारोबार बढेको छ । टेलिकमको सेयर आइतबारसम्म किन्नेले नगद लाभांश पाउने छन् । बिहीबार टेलिकमको प्रतिकित्ता ८४३ रुपैयाँमा १० करोड ३० लाख रुपैयाँको सेयर किनबेच भएको छ । बजार घटेका बेलामा प्रभु बैंकको संस्थापक सेयर पनि कारोबार भएको छ । प्रतिकित्ता १७० रुपैयाँमा ३ करोड १८ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । सेयर बजार घटन थालेपछि लगानीकर्ताले संस्थापक सेयरमा लगानी गर्न थालेका छन् । संस्थापक सेयर आधा मूल्यामा किन्न पाइने र लाभांश उत्तिनै पाउने भएपछि बजार घटेका बेला संस्थापक सेयरको कारोबार हुने गरेको छ । स्ट्याण्डर्ड, टेलिकम र प्रभुका कारण बजार घटेपनि ८१ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बिहीबार सेयर बजार १०.७३ अंक घट्ेको छ । बजार घटेर नेप्से परिसुचक १ हजार ४१४ अंकमा सीमित भएको छ । महुली सामुदायिक लघुवित्तीय संस्था लिमिटेडको सेयर १० प्रतिशत बढेको छ । महुली लघुवित्तका लगानीकर्ताले बिहीबार प्रतिसेयर २९२ रुपैयाँ कमाएका छन् । महुलीको सेयर मूल्य बढेर प्रतिकित्ता ३ हजार २१२ रुपैयाँ पुगेको छ । बिहीबार व्यापार र होटल समूहको सेयर बढेको छ भने बैंक, वित्त कम्पनी, बीमा, जलविद्युत र उत्पादनमुलक क्षेत्रको सेयर मूल्य घटेको छ ।  

नेप्से २० अंकले घट्यो, लगानीकर्ता झुम्मिए नेपाल टेलिकम र स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरमा

काठमाडौं । मंगलबार नेप्से २० अंकले घटेको छ । दुई सातासम्म निरन्तर ओरालो लागेको नेप्से १५२० बाट ७३ अंक गिरेर मंगलबार १४४७ अंकमा झरेको छ । बजार घट्दा पनि नेपाल टेलिकमको सेयर मूल्य प्रतिकित्ता ७ रुपैयाँले बढेर ८५७ रुपैयाँ पुगेको छ । माहुली सामुदायिक लघुवित्तको सेयर प्रतिकित्ता २४१ रुपैयाँले बढेर २६५५ रुपैयाँ पुगेको छ । नेप्से १.४१ प्रतिशतले घट्दा महुलीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । अन्य समूहबाहेक सबै समूहको परिसूचक घटेको छ । बीमा समूहको परिसूचक १३८ अंकले घट्दा बैक समूहको परिसूचक १८ अंकले घटेको छ । बुधबार ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकम र कारोबार भएको सेयर संख्या दुबैको आधारमा स्टयाण्डर्ड चार्टर्ड बैंक र नेपाल टेलिकमको सेयर सबैभन्दा बढी कारोबार भएको छ । टेलिकमको सेयर मूल्य ७ रुपैयाँँले बढेको छ भने स्टयाण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य ६७ रुपैयाँले घटेको छ । मूल्य घटे पनि बढे पनि लगानीकर्ता यी दुई कम्पनीको सेयरमा झुम्मिएका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकले १०० प्रतिशत बोनस सेयर दिँदैछ भने नेपाल टेलिकमले ५५ प्रतिशत नगद लाभांश दिदैछ । सेयरको आपूर्तिमा वृद्धिका साथै व्याजदरमा आएको वृद्धिले सेयर बजार निरन्तर घटिरहेको देखिएको छ । वाम गठबन्धनले निर्वाचन जितेपछिको राजनीतिक तरङ्क र सरकार गठनमा भएको विवादले पनि बजारलाई नकारात्मक असर परेको लगानीकर्ताहरु बताउँछन् ।

नेपाल टेलिकमका लगानी कर्तालाई ५५ प्रतिशत लाभांश

काठमाडौं । नेपाल टेलिकमका लगानी कर्ताले ५५ प्रतिशत लाभांश पाउने भएका छन् । टेलिकमले गत आव २०७३।७४ को नाफाबाट आफ्ना लगानी कर्तालाई ५५ प्रतिशत नगद लाभांश दिन लागेको हो । कम्पनीले पुस ३० गतेको साधारण सभाबाट पारित गरेर सेयरधनीलाई लाभांश दिनेछ । नेपाल टेलिकमले गत आवमा १५ अर्ब ४२ करोड नाफा कमाएको थियो ।

नेपाल टेलिकमले प्रीपेड ग्राहकलाई ऋण दिने, ब्याज नलिने

काठमाडौं । नेपाल टेलिकमको प्रीपेड सिम प्रयोगकर्ताहरुका लागि खुसिका खबर आएको छ । टेलिकमको प्रीपेड सिमबाट फोन गर्दा गर्दै ब्यालेन्स सकिएर बिचमै फोन काटिने समस्या अब समाधान हुँदैछ । किनकी नेपाल टेलिकमले आफ्ना प्रीपेड ग्राहकहरुका लागि सापटी योजना ल्याउँदैछ । सापटी लिएपछि ब्याज(सेवा शुल्क) कति लाग्ला भन्ने जिज्ञासा पनि तपाईको मनमा आउन सक्छ । त्यसमा पनि चिन्ता नगर्नुस, टेलिकमले बिना ब्याज(सेवा शुल्क बिनै) त्यस्तो सापटी(ऋण) उपलब्ध गराउन लागेको हो । ‘प्रिपेड सेवाग्राहीहरुलाई कुरा गर्दा गर्दै ब्यालेन्स सकिए पनि कल निरन्तरता दिन विना ब्याज लोन(ऋण) रकम उपलब्ध गर्ने व्यवस्था गर्न कम्पनीले सेवा सञ्चालनमा ल्याउने तयारी कार्य गरिरहेको छ’, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनीराज भण्डारीले भनिन् । उनले टेलिकमको सेवालाई उपभोक्ता मैत्री र गुणस्तरिय बनाउन सेवा शुल्क बिनै निश्चित रकम सापटी(ऋण) दिन लागिएको बताईन् । यद्यपी ब्याज बिना कति रकम ऋण दिने भन्नेबारे भने यकिन भैसकेको छैन् । टेलिकमका सयहाक प्रवक्ता सोभन अधिकारीले पनि सापटी योजनाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘प्रिपेड ग्राहकलाई बिना ब्याज ऋण दिने सम्बन्धी तयारी धेरै अघि बढिसकेको छ, चाँडै उपभोक्ताले सुबिधा उपयोग गर्न पाउनेछन’, टेलिकमका सहायक प्रवक्ता अधिकारीले विकासन्युजसँग भने । यस अघि नै एनसेलले आफ्ना प्रीपेड ग्राहकहरुलाई सापटी दिँदै आएको थियो । यद्यपी एनसेलले सेवा शुल्क वापत २ रुपैंयाँ ५१ पैसा असुल्दै आएको छ । नेपाल टेलिकमले भने सेवा शुल्क नलिएरै सापटी दिन लागेको हो । व्यवस्थापिका संसदको विकास समितिले सापटी योजना ल्याउन निर्देशन दिएको थियो ।

राष्ट्रिय बाणिज्य बैंक र नेपाल टेलिकममा ६०९ जनालाई जागिर खुल्यो

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक र नेपाल टेलिकममा ६०९ जनालाई जागिर खुलेको छ ।  राष्ट्रिय बाणिज्य बैंकले ५७१ जनाका लागि जागिर खुलेको हो । बैंकले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरेर सहायक कर्मचारीदेखि मुख्य प्रबन्धकसम्मका पदमा ५७१ जनालाई जागिर खुलाएको हो । नेपाल टेलिकमले पनि सहायक अधिकृतदेखि उप प्रवन्धकसम्मका पदमा ३८ जनालाई जागिर खुलाएको छ । राष्ट्रिय बाणिज्य बैंकले मुख्य प्रवन्धक एक जना, वरिष्ठ प्रवन्धक दुई जना, प्रबन्धक ४ जना, प्रबन्धक सूचना प्रविधि एक जना, उप प्रबन्धक ८ जना, उप प्रबन्धक लेखा ५ जना, सहायक प्रबन्धक ८५ जना, सहायक प्रबन्धक कानुन ६ जना, सहायक प्रबन्धक इन्जिनियर ३ जना, सहायक प्रबन्धक लेखा १६ जना, सहायक प्रबन्धक (कृषि) ७ जना, बरिष्ठ सहायक ५६ जना, बरिष्ठ सहायक खजाञ्ची ३० जना, बरिष्ठ सहायक कम्प्युटर अपरेटर ६ जना, सहायक २४६ जना, सहायक नगद ४० जना, सहायक कम्प्युटर ५५ जना कर्मचारी मागेको हो । नेपाल टेलिकम पनि १७ जना बरिष्ठ इन्जिनियर, ४ जना सहायक स्तरका अधिकृत र ११ जना प्राबिधक माग गरेको हो । बाणिज्य बैंकमा जागिर खान चाहनेले असोज ८ देखि कार्तिक ६ गतेसम्म आवेदन दिन सक्नेछन् भने टेलिकममा असोज ६ गतेदेखि ३० दिनभित्रमै आवेदन दिइसक्नुपर्नेछ ।  

नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा क्षेत्रमा प्रिपेड सिम निःशुल्क उपलब्ध गराउँदै

काठमाडाै‌ । नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा जिल्लाहरु झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही लगायतका जिल्लाहरुमा प्रिपेडको सिम निःशुल्क वितरण गरिरहेको छ । सो सिममा ५० रुपैयाँको  टक भ्यालू सहितको जिएसएम प्रिपेड सिम कार्ड र सिम कार्डबाट कम्पनीको नेटवर्क भित्र थप ५० मिनेट बराबरको निःशुल्क कल गर्ने सुविधा सहितको सिम निःशुल्क वितरण गरी रहेको छ । साथै, बाढी प्रभावित क्षेत्रका नेपाल टेलिकमका ग्राहकहरुले आफुले प्रयोग गरिरहेको सिम नष्ट भएको वा हराएको भनी निवेदन पेश गरेमा सो को सट्टामा अर्को सिम कार्ड नेपाल टेलिकमले निःशुल्क उपलब्ध गराउने एनटीसीले जनाएको छ । टेलीकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकहरुका लागि यो सेवा उपलब्ध गराएको जानकारी दिएको छ । यो सुविधा यहि भाद्र १२ गते देखि २६ गतेसम्म उपलब्ध हुनेछ । कम्पनीको ग्राहक सेवा केन्द्रबाट यो सुविधा लिन सकिनेछ ।

नेपाल टेलिकमले फेरि ल्यायो निशुल्क भ्वाइस कल सेवा, आगामी कात्तिक सम्म लागु  

काठमाडौं । नेपाल टेलिकमले प्रयोगकर्ताले एकअर्कामा निशुल्क भ्वाइस कल गर्न मिल्ने कर्पोरेट युजर ग्रुप (सीयुजी) सुविधा मंगलबारदेखि फेरि सुरु गरेको छ । अब सीयूजी सुविधा प्रयोग गरी एउटै सीयूजी प्याकेज अन्तर्गत रहेका कर्पोरेट ग्राहकहरुले एक अर्कामा निःशुल्क रुपमा असीमित भ्वाइस कल गर्न सक्ने छन् । टेलिकमका अनुसार यो सुविधा आगामी कात्तिक २७ गतेसम्म लागू हुनेछ । जीएसएम पोष्टपेड मोबाइलका कर्पोरेट ग्राहकका लागि टेलिकमले नयाँ महसुल दर समेत निर्धारण गरेको छ । साथै कर्पोरेट युजर ग्रुप वाहेक नेपाल टेलिकमकै नेटवर्क भित्रका अन्य नम्बरमा समेत भ्वाइस कल गर्न र डाटा चलाउन पाइने छ । कम्पनीले कर्पोरेट ग्रुपका विभिन्न समूहलाई उपयुक्त हुने गरी कर सहित ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँको विभिन्न दरका सीयूजी प्याकेजहरु उपलब्ध गराएको छ । सबैभन्दा सस्तो प्याकेज ४ सय रुपैयाँमा रहेको छ । यस अन्तर्गत सीयूजी ग्रुप भन्दा बाहिर कम्पनीकै नेटवर्कमा १५० मिनेट भ्वाइस कल गर्न तथा ३०० एमबी डाटा चलाउन पाइने छ । त्यसैगरी ७ सय रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न र ८०० एमबी डाटा चलाउन सकिने छ । यो वाहेक १ हजार रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न र १५०० एमबी डाटा चलाउन, १३ सय रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न र २१०० एमबी डाटा चलाउन तथा १६ सय रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न र २७०० एमबी डाटा चलाउन पाइने छ । सबै प्याकेजमा रहेका ग्रुप सदस्यहरु बीचमा भने असीमित भ्वाइस कल गर्न सकिने छ । कुनै कर्पोरेट हाउसका कमसेकम १० जना जीएसएम पोष्टपेड प्रयोगकर्ता यो प्याकेजमा सहभागी हुन सक्ने टेलिकमले जनाएको छ । कर्पोरेट हाउसले आधिकारिक रुपमा कम्पनीलाई जानकारी गराए पछि तोकिएका ग्राहकलाई सीयूजी प्याकेज उपलब्ध गराइएको छ । कम्पनीको ग्राहक सेवा केन्द्रबाट यो सुविधा लिन सकिने छ ।