प्रोफेशनल दियालो विकास बैंकको नाफा ३ करोड ५३ लाख, ११ प्रतिशत बोनस सेयर दिन सक्ने

काठमाडौं, ९ साउन । प्रोफेशनल दियालो विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष ३ करोड ५३ लाख रुपैँया खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलानामा बैंकले ५८ प्रतिशत नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले २ करोड २३ लाख रुपैँया खुद नाफा गरेको थियो । बैंकले गत आर्थिक वर्षको नाफाबाट करिब ११ प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । कम्पनीको चुक्ता पुँजी २४ करोड ३ लाख रुपैयाँ मात्र छ । पुँजी वृद्धि सम्बन्धि राष्ट्र बैंकको निर्देशनका कारण यस बैंकलाई पनि बोनस सेयर दिनुपर्ने बाध्याता छ । यस बैंकले निक्षेप २ अर्ब १ करोड रुपैयाँ र कर्जा तथा लगानी १ अर्ब ७२ करोड रुपैयाँ परिचालन गरेको छ । बैंकको खराब कर्जा ०.५३ प्रतिशत मात्र छ भने कर्जा निक्षेप अनुपात ७४ प्रतिशत रहेको छ ।

पुननिर्माण प्राधिकरणलाई ८४ अर्ब खर्च गर्ने अख्तियारी

काठमाडौं, ८ साउन । अर्थ मन्त्रालयबाट चालू आर्थिक वर्ष २०७३/७४ का लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई करिव ८४ अर्ब रुपैयाँ बराबरको अख्तियारी दिएको छ । सो रकम मध्ये १२ अर्ब २८ करोड ९६ लाख २८ हजार रुपैयाँ नेपाल सरकारको स्रोतबाट प्रदान गरिनेछ । वैदेशिक सहायतातर्फ नगद अनुदानतर्फ जाइकाबाट १ अर्ब ८३ करोड ३५ लाख रुपैयाँ, युरोपियन युनियनबाट ११ अर्ब रुपैयाँ, चीनबाट ५० करोड रुपैयाँ, पुनर्निर्माण संयुक्त कोषबाट १ अर्ब ५० करोड रुपैयाँ, भारतबाट १२ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यस्तै जर्मनी केएफडब्लुबाट ३ अर्ब रुपैयाँ, कोरियाबाट ८५ करोड रुपैयाँ, एसियाली विकास बैंकबाट ९८ करोड रुपैयाँ रहेको छ । ऋणतर्फ आइडिएबाट १३ अर्ब २५ करोड ८७ लाख ७७ हजार रुपैयाँ, एसियाली विकास बैंकबाट ९ अर्ब ५५ करोड ५२ लाख ७६ हजार रुपैयाँ, यस्तै जाइकाबाट ११ अर्ब ६६ करोड ५३ लाख ५८ हजार रुपैयाँ र आइएमएफबाट ५ अर्ब रुपैयाँ स्रोत उपलब्ध हुनेछ । सरकारले बजेट वक्तव्यमा चालू आर्थिक वर्षका लाग १ खर्ब ४२ अर्ब रुपैयाँ व्यवस्था गरेको छ । गत वर्ष अर्थ मन्त्रालयबाट ४ वटा खर्च शिर्षकमा रकम विनियोजन भएको हुँदा स्रोतान्तर रकमान्तर लगायतको प्रकृयामा बढी समय लागेको थियो । यस पटक १३ वटा खर्च शिर्षकमा रकम विनियोजन भएकाले सम्बन्धित निकायमा रकम विनियोजन गर्न सहज हुने प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए ।

सरकारले भ्याट १० प्रतिशत मात्रै उठाउन पाउने, भ्याट र आयकर बाहेक अन्य कर उठाउन नमिल्ने

रामेश्वर खनाल काठमाडौं, ८ साउन । शुक्रवार व्यवस्थापिका संसदले चालु आर्थिक वर्षका लागि ल्याइएका आर्थिक विधयेक अस्वीकृत भएपछि करदाताले आयकर र मूल्य अभिबृद्धि कर (भ्याट) बाहेकका कर तिर्नु नपर्ने भएको छ । तर भ्याट पनि १० प्रतिशत मात्रै तिर्नुपर्ने भएको छ । पूर्वअर्थसचिव रामेश्वर खनाल चालु आर्थिक वर्षको साउनदेखि नै सरकारले १० प्रतिशत मात्रै भ्याट लिन पाउने बताउछन् । भ्याट ऐन २०५२ को पहिलो संसोधन २०५८ मा १० प्रतिशत भ्याट लाग्ने ब्यवस्था भएको र आर्थिक ऐन २०६१ देखि प्रत्येक बर्षको आर्थिक ऐनमा यस्तो भ्याट १३ प्रतिशत लाग्ने व्यवस्था गरिएको खनालले जानकारी दिए । ‘२०६१ देखिका आर्थिक ऐनमा ब्यवस्था गरेर भ्याट १३ प्रतिशत लिन थालिएको हो, चालु आर्थिक वर्षको आर्थिक ऐन नै फेल भएपछि चालु आर्थिक वर्षदेखि १० प्रतिशत नै भ्याट लाग्छ, १३ प्रतिशत लिनु गैरकानुनी हुन्छ’ खनालले विकासन्युजसँग भने । समसामयिक कर असुली ऐन २०१२ अनुसार कर लिन सकिने भन्ने व्याख्या पनि गलत भएको खनालको भनाइ छ । सो ऐनले आर्थिक ऐन पारित नहुन्जेलको लागि व्यवस्था गर्ने र आर्थिक ऐन नै संसदवाट फेल भएको अवस्थामा सामयिक कर असुली ऐन स्वतः निष्प्रभावी हुने उनले बताए । खनालका अनुसार सरकारले शिक्षा कर, स्वास्थ्य कर, मालपोत शुल्क, रजिष्ट्रेसन शुल्क, अन्त शुल्क, पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार शुल्क, प्रदुषण शुल्क जस्ता करहरु तिर्नु नपर्ने उनको भनाइ छ । ‘यस्ता करका दरहरु सम्बन्धित ऐनमा ब्यवस्था छैन, यसको दर तोक्ने काम आर्थिक ऐनले गर्ने गरेको र अहिले आर्थिक ऐन नै फेल भएकोले त्यस्तो कर उठाउन सरकारले सक्दैन, कानुनको आफूखुसी ब्याख्या गर्ने हो भने बेग्लै कुरा हो,’ खनालले भने । शुक्रवार ब्यवस्थापिका संसदवाट फेल भएका आर्थिक विधयेक, राष्ट्र ऋण उठाउने विधयेक र ऋण तथा जमानत ऐन, एक्काइसौं संसोधन विधयेक नयाँ बनाउनु पर्ने भएको छ । एक पटक संसदले अस्वीकार गरेको विधयेक जस्ताको तस्तै पुन संसदमा पेश हुन नसक्ने ब्यवस्थाको कारण नयाँ विधयेक बनाउनु पर्ने भएको हो ।

फेसबुक मार्फत करिब २३ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौं, ७ साउन । फेसबुकबाट सम्पर्क बढाई अमेरिका, क्यानडा पठाइदिन्छु भन्दै करिब २३ लाख रुपैयाँ ठगी गर्ने एक युवालाई प्रहरीले बधुबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । सिन्धुपाल्चोक माङ्खा गाविस–७ घर भई हाल भक्तपुर बस्दै आएका तुलबहादुर तामाङलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको थियो । तामाङले जेभी नाममा फेसबुक खोली आफू अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त व्यक्ति भएको , आफ्नी आमा क्यानडाको डाक्टर भएको भनी लेबनानमा रहेकी सिर्जना दोङ, सिर्जनाका भाइ सञ्जय दोङ र मिम लामालाई क्यानडा पठाउने भनी १३ लाख रुपैयाँ तथा साइप्रसमा रोजगारीमा रहेकी कुसुम लामालाई क्यानडामा आफ्नो आमा डाक्टर रहेकाले क्यानडा सँगै जाऔं भनी नेपाल बोलाई नौ लाख रुपैयाँ लिइ फरार भएका थिए । पीडितको उजुरीका आधारमा तामाङलाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान एवम् कारबाहीका लागि महाशाखाले बिहिबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ । रासस

सिटिजन्स बैंकको नाफा १ अर्ब १० करोड

काठमाडौं, ७ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको गत आर्थिक वर्ष १ अर्ब १० करोड रुपैँया खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलानामा बैंकले ५२ प्रतिशत नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ७२ करोड ३ लाख रुपैँया खुद नाफा गरेको थियो । यस बैंकले निक्षेप ४७ अर्ब ३९ करोड र कर्जा तथा लगानी ४८ अर्ब १३ करोड रुपैयाँ परिचालन गरेको छ । बैंकको खराब कर्जा १.३१ प्रतिशत मात्र रहेको छ भने कर्जा निक्षेप अनुपात ७७ प्रतिशत छ ।

मालिका विकास बैंकको नाफा १३ करोड २१ लाख, ३३% बोनस सेयर दिन सक्ने

काठमाडौं, ७ साउन । मालिका विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष १३ करोड २१ लाख रुपैँया खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलानामा बैंकले १०० प्रतिशत नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ६ करोड ६० लाख रुपैँया खुद नाफा गरेको थियो । बैंकले गत आर्थिक वर्षको नाफाबाट करिब ३३ प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । कम्पनीको चुक्ता पुँजी ३१ करोड ३२ लाख रुपैयाँ मात्र छ । पुँजी वृद्धि सम्बन्धि राष्ट्र बैंकको निर्देशनका कारण यस बैंकलाई पनि बोनस सेयर दिनुपर्ने बाध्याता छ । यस बैंकले निक्षेप ३ अर्ब ९५ करोड रुपैयाँ र कर्जा तथा लगानी ३ अर्ब १६ करोड रुपैयाँ परिचालन गरेको छ । बैंकको खराब कर्जा १.६९ प्रतिशत मात्र छ भने कर्जा निक्षेप अनुपात ७० प्रतिशत रहेको छ ।

करिब डेढ अर्ब रुपैयाँ विकास बजेट फ्रिज

चितवन, ६ साउन । जिल्लामा भित्रिएको विकास बजेटको एक अर्ब ४४ करोड ११ लाख ८२ हजार रुपैयाँ फ्रिज भएको छ । आव २०७२/७३ मा निकासा भएको रु चार अर्ब ४२ करोड २५ लाख ९८ हजारमध्ये रु दुई अर्ब ९८ करोड १४ लाख १६ हजार मात्रै खर्च भएको छ । यो पुँजीगत खर्चको ६७ दशमलव ४१ प्रतिशत हुन आउँछ । अघिल्लो आवमा पुँजीगततर्फ रु दुई अर्ब ६५ करोड ४३ लाख १९ हजार विनियोजन गरिएकामा रु एक अर्ब ४९ करोड २६ लाख ३८ हजार खर्च भएको थियो । गत आवमा चालुतर्फ निकासा भएको रु छ अर्ब ३५ करोड ७१ लाख ६१ हजारमध्ये रु पाँच अर्ब ९० करोड २३ लाख ६३ हजार खर्च भएको छ । गत आवमा पुँजीगततर्फ नारायणगढ–मुग्लिन सडकखण्डको रु एक अर्ब ७६ करोड ८८ लाख ५२ हजार बजेट रहेकामा ४२ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरका प्रमुख नारायण शर्माले जानकारी दिए । डिभिजन सडक कार्यालयको रु एक अर्ब ११ करोड ५४ लाख बजेटमध्ये ८६ प्रतिशत, २४ करोड रुपैयाँ बजेट रहेको खानेपानी तथा सरसफाइ कार्यालयले २३ करोड ५२ लाख रुपैयाँ र १७ करोड रुपैयाँ बजेट भएको जनताको तटबन्ध कार्यालयले ९१ प्रतिशत खर्च गरेको छ । यस्तै सहरी विकास तथा भवन निर्माण कार्यालयले ९० प्रतिशत, चितवन राष्ट्रिय निकुञ्जले ९३ प्रतिशत र जिल्ला वन कार्यालयले ८७ प्रतिशत रकम खर्च गरेको बताइएको छ । रासस

कसमस डेभलपमेन्ट बैंकको खुद नाफा एक करोड ५३ लाख रुपैयाँ

काठमाडौं, ६ साउन । कसमस डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७२/०७३ मा करिब एक करोड ५४ लाख ७ हजार १८२ रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधि सम्ममा बैंकले २ करोड ४२ लाख ९ हजार रुपैयाँ संचालन मुनाफा कमाउन सफल भएको छ । बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत हृदयराज घिमिरेद्धारा बैंकको आर्थिक प्रगति विवरण र बैंकले गरेका बैंकिङ्ग सेवाको समिक्षा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बैंकको खुद नाफा प्रति शेयर आम्दानीको हिसाबले करिब ३१ प्रतिशत हुने कार्यकारी अधिकृत घिमिरेले बताए । उनका अनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा यो वर्षको खुद मुनाफा ६४ प्रतिशतका दरले वृद्धि भई ६३ करोड १४ लाख रुपैयाँ सङकलन भएको छ । साथै कर्जातर्फ ३७ प्रतिशतले बृद्घि भई ४९ करोड ९० लाख रुपैयाँ लगानी हुन गएको बैंकले बताएको छ । यसरी गरिएको लगानीमा खराव कर्जा प्रतिशत शुन्य रहेको छ । साथै आ.व.२०७२/०७३ को आषाढ मसान्तमा नेपाल स्टक एक्सचेन्जमा प्रतिशेयर मुल्य ७३० रुपैयाँ कायम हुन आएको छ बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले विप्रेषण (रेमिट्यान्स) को माध्यमबाट मात्र करिब ७६ करोड रुपैयाँ बराबरको रकम कारोवार भएको घिमिरेले जानकारी गराए । बैकको हाल कायम रहेको चुँक्ता पूँजी ५ करोड ३ लाख १२ हजार रुपैयाँमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकको सेयर पूँजी बृद्घि गर्ने कार्यका लागि यही साउन ११ गते देखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

नेप्सको दैनिक नयाँ नयाँ रेकर्ड, कति सान्दर्भिक ?

हरिबोल काफ्ले काठमाडौं, ५ साउन । नेप्से सुचकको नयाँ उचाईका बारेमा लगानीकर्ताको चासो हुनु स्वभाविक हो । यो समयमा बजारलाई सकारात्मक दिशामा लैजाने तथ्यपरक यर्थाथहरु निम्न रहेको देखिएको छ । अधिक मुनाफा र प्रतिफल बैंक, वित्तिय संस्था र बीमा कम्पनीको प्रतिफल लोभ लाग्दो देखिएको छ । लामो समयसम्मको नाकाको अवरोध र भुकम्पको मारले संस्थागत मुनाफामा असर परेको देखिएन । त्यसको विपरित संस्थाहरुको मुनाफा अधिक रह्यो । समग्र अर्थतन्त्रमा परेको प्रतिकुल प्रभावका बिचमा पनि नाफाको दर अधिक हुनाको कारणले पूँजीबजारको प्रवृतिलाई जीवन्त तुल्याएको देखिन्छ । नाकाको अवरोध वा भुकम्पको प्रकोपले बैंक, वित्तिय संस्था र बीमा कम्पनीले आफ्नो संस्थागत संरचनालाई झन् मजबुत बनाउने अवसरको रुपमा लिन पुगेका छन् । जसकाकारण आगामी वर्षहरुमा त्यसको प्रतिफल झन् लोभ लाग्दो हुन सक्छ । सापेक्ष प्रविधि प्रयोग र सूचनाको पूर्ति बजारको आवश्यकता अनुसारको प्रविधि, नीति र उपकरणको परिपुर्ति समयानुकुल विस्तार भएको छ । कारोबारको समय, प्रविधि प्रतिको विश्वासनियता र नेप्सेको प्रतिवद्धता नेप्से वुलिसको परिपुरक हो । प्रविधिको पछिल्लो प्रयोगले कारोवारका लागि लगानीकर्ताले पुरा गर्नुपर्ने अनेक प्रकारका प्रक्रियाहरु सरल र सहज बनेको छ । सुचनाको भरपर्दो संयन्त्रको विकास र लगानीकर्तालाई सुचनाको उपलब्धतामा भएको वृद्धिले अहिलेको अवस्थामा महत्वपुर्ण भूमिका खेलेको छ । नेप्सेको मार्केट डेब्थ पछिल्लो प्रयोग हो । सही सूचनाको उपयोग र विश्लेषण लगानीको निर्णयका लागि सबैभन्दा ठुलो आवश्यकता हो । विश्व बजारको अभ्यासले समेत सूचनाको श्रोत, विश्लेषणको गहिराई र तथ्य परक सूचनाको महत्वलाई सबैभन्दा ठूलो लगानीमन्त्रको रुपमा पहिचान गरेको देखिएको छ । बैंक तथा वित्तिय संस्थाले केही समय अघिदेखि मात्र सुचनाको अधिकार सम्बन्धि केही अनिवार्य व्यवस्थाहरुलाई मध्यनजर गरि सो सम्बन्धि विवरणहरु समेत प्रकासित गर्न थालेका छन् । साथै नीति र उपकरणको सार्थक प्रयोगतर्फ समेत सरोकार निकायहरु उन्मुख भएको देखिएका छन् । धितोपत्र बोर्डले समेत पछिल्लो समयमा बजार व्यवस्थित गर्नका लागि थप व्यवस्थित, पारदर्शी र विस्वसनीय भुमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेको छ । ठूला संस्थाहरुले समेत लगानी बढाउने दिशामा आफ्नो ध्येय कायम रहेको बुझाईले पनि केहि हदसम्म लगानीकर्ताको मनोवल उच्च पारेको छ , जसको सकारात्कम टेवा बजारले पाएको छ । अधिक तरलता र न्युन व्याज लामो समय सम्मको अस्थिरताले लगानीको ठूलो पूँजी स्थिर बनेको छ । अधिक तरलता भएको समयमा प्राय जस्तोसुकै स्थिर पूँजीले पनि अवसरको मुनाफालाई अवसरको विकल्पमा रोज्ने गरेको पाईन्छ । अर्थव्यवस्थामा जबसम्म अन्यत्रको क्षेत्रले मुनाफा उल्लेख्य सिर्जना गर्दैन । सेयर बजारको लगानी जबसम्म पलायन हुन खोज्दैन तब सम्म सेयर बजारको प्रवृतीमा शंका गर्नुपर्ने ठाउँ हुदैन । बजारको व्याज निर्धारण पनि तरलताको माग र पूर्तिको सन्तुलनमा भर पर्छ । अर्थात अधिक तरलताको समय भनेको लगानीमा न्युन चाप पैदा भएको अवस्था हो । यो समयमा व्याजको दर समेत न्युन विन्दुमा आईपुग्छ । न्युन विन्दुको निक्षेपणले लगानीकर्ता अधिक जोखिम लिन रुचाउने गर्दछन्, जसकाकारण बजारले ठूलो गति लिन सक्ने देखिन्छ । पूँजी वृद्धिको वाध्यता र सवल माग पक्ष विषेशत वाध्यात्मक पूँजीवृद्धिको कार्ययोजनामा सबै प्रकारका बैंक तथा वित्तिय संस्थाहरु समावेश भैसकेका छन् । चुक्तापूँजी वृद्धिको प्रभाव नेप्से वृद्धिका लागि सबैभन्दा परिस्कृत निर्णय थियो । न्युन समयभित्र ठुलो स्तरले पूँजी वृद्धिको अनिवार्य व्यवस्थालाई बैंक तथा वित्तिय संस्थाले विभिन्न प्रकारले तारतम्य मिलाउदै गएकाछन् । जस अन्र्तगत बोनस वा हकप्रद शेयरको आकांक्षाले पनि लगानीकर्ताको लगानी निरन्तर प्रवाह भएको छ । बैंक तथा वित्तिय संस्थाको पूँजी संरचना विस्तारका लागि धेरै संस्था मर्जरमा गएका छन् । जसकाकारण तिनीहरुको कारोवार समेत स्थगित छ । अभौतिकिकरण र स्थगित कारोवारको अवस्थाले बजारमा शेयरको आपुर्ति पक्षलाई समेत कमजोर बनाएको छ । आपुर्तिपक्षमा देखिएको विचलनले मागपक्ष अधिक हावि हुनु त्यसले मुल्य बढाउनु पनि वृद्धिको सान्दर्भिक तथ्य हुन सक्छ ।

‘प्रहरी मेरो साथी’ अभियानअन्तर्गत घरघरमा स्टिकर टाँस्दै

सप्तरी, ५ साउन । ‘प्रहरी मेरो साथी’ अभियानअन्तर्गत यहाँ आइतबारदेखि प्रहरीले फोन नम्बर अङ्कित स्टिकर टाँस कार्यक्रमलाई निरन्तरता दिएको छ । जिल्लाको पाँच नगरपालिका र ९१ वटा गाविसमा कुल एक लाख २१ हजार घरको मूल ढोकामा प्र्रहरी आफैँ गएर सो स्टिकर टाँस्ने अभियान सञ्चालन गरेको प्रहरीले जनाएको छ । नागरिकलाई असुरक्षा महसुस हुने गतिविधिप्रति सजग, सचेत र सतर्क गराउने, अपराधिक घटना कम गर्ने उद्देश्यले प्रहरीको पहुँच छिटो र प्रभावकारी बनाउन एवम् प्रहरी र नागरिकबीचको सम्बन्ध प्रगाढ बनाउने तथा नागरिकमा शान्ति सुरक्षाको थप अनुभूति दिलाउन यो अभियान सञ्चालन गरिएको सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। सो अभियानअन्तर्गत प्रहरीले जिल्लाको प्रत्येक घरका परिवारसँग भेटघाट गर्ने, नागरिकसँग सुमधुर सम्बन्ध स्थापित गर्न प्रयास गर्ने, नागरिक सूचनाका आधारमा फरार अपराधी अभियुक्तलाई पक्राउ गर्नेलगायतका कार्यलाई निरन्तरता दिने प्रहरी उपरीक्षक ढकालले बताए । गतवर्ष मधेस आन्दोलनको समयमा सप्तरीमा प्रहरी र नागरिकबीचको सम्बन्ध चिसिदै गएको बेला यस अभियानलाई निरन्तरता दिएको प्रहरीको भनाइ छ । रासस

ब्रोकर कमिसन करिब ४० प्रतिशतले घट्यो, (धितोपत्र बोर्डको निर्देशन पत्रसहित)

काठमाडौं, ५ साउन । अर्थमन्त्रालयले सेयर ब्रोकर कम्पनीहरुको कमिसन करिब ४० प्रतिशतले घटाउन नेपाल धितोपत्र बोर्डलाई स्वीकृति दिएको छ । मन्त्रालयको स्वीकृति पाएपछि बोर्डले आजै निर्णय गरेर सेयर कारोबारमा लाग्दै आएको ब्रोकर कमिशन  घटाएको छ । । अब ५० हजार रुपैयाँसम्मको सेयर कारोबारमा शुन्य दशमलब ६ प्रतिशत मात्रै ब्रोकर कमिसन लाग्नेछ । यसअघि ५० हजारसम्मको कारोबारमा एक प्रतिशत कमिसन लाग्दै आएको थियो । त्यस्तै, ५० हजारदेखि ५ लाखसम्मको सेयर कारोबारमा शुन्य दशमलब ५५ प्रतिशत ब्रोकर कमिसन लाग्नेछ । यस अघि सो मात्राको कारोबारमा शुन्य दशमलब ९ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको थियो । त्यस्तै ५ लाखदेखि २० लाखसम्मको कारोबारमा लाग्दै आएको शुन्य दशमलब ८ प्रतिशत कमिसनलाई पनि शुन्य दशमलब ५० प्रतिशतमा झारिएको छ । २० लाखदेखि एक करोडसम्मको कारोबारमा लाग्दै आएको शुन्य दशमलब ७ प्रतिशत कमिसन पनि घटाएर शुन्य दशमलब ४५ प्रतिशत कायम गरिएको छ । एक करोड भन्दा बढिको कारोबारमा भने जम्मा शुन्य दशमलब ४ प्रतिशत मात्रै ब्रोकर कमिसन लाग्नेछ । धितोपत्र बोर्डको बोर्ड बैठकले बुधबारै निर्णय अनुमोदन गरेर नेपाल स्टक एक्सचेञ्च(नेप्से)लाई पत्राचार गरेको छ । घटाईएको ब्रोकर कमिसन बिहिबारदेखि नै लागु हुनेछ ।

बाढी पहिरोले द्वारीखोला हाइड्रोपावरमा करोडौँको क्षति

दैलेख, ५ साउन । दैलेखको द्वारीमा निर्माण सम्पन्न हुने तयारीमा रहेको ३.७५ मेगावाटको द्वारीखोला हाइड्रोपावरले बाढी र पहिरो आउँदा ठूलो क्षति बेहोरेको छ । पाइपलाइन र मुहान साइटमा पहिरो र बाढीले दुई करोड रुपैयाँकोको क्षति पुगेको निर्माण प्रवद्र्धक भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ । बत्ती परीक्षणको तयारी हुन दुई महिना बाँकी रहँदा बाढी पहिरोले क्षति पु¥याउँदा दैलेखवासी निराश भएका छन् । दसैँदेखि विद्युत्भार कटौतीमुक्त जिल्ला हुनेमा निश्चित रहेका दैलेखवासी हाइड्रोमा आएको बाढी पहिरोले निराश भएका हुन् । साइट इन्चार्ज सन्तोष कार्कीले असोजमा काम सकेर बत्ती बाल्ने कार्ययोजना केही दिनपछि धकेलिएको बताए । कम्पनीले द्वारीखोलाबाट २६ सय मिटर लम्बाइको नहर खनेर पाइपलाइनमार्फत एक किलोमिटर तल पानी झारेर पावरहाउसबाट विद्युत् निकाल्नेछ । यसरी द्वारीखोलाबाट निकालिएको विद्युत् ३२ किमी पोल गाडेर सदरमुकाममा रहेको सवस्टेसनमार्फत राष्ट्रिय लाइनमा जोडिने जनाइएको छ । मुहानमा बाढी र पाइप विछ्याउने तयारी रहेको ठाउँमा पहिरोले दुई करोड रुपैयाँकोको क्षति पुगेको आयोजना निर्माण कम्पनी भूगोल इनर्जी प्रालिका साइट इन्चार्ज कार्कीले जानकारी दिएका छन् । कार्कीले भने – “ठूलो पानी परेपछि बाढी र पहिरोले निर्माणस्थलमा क्षति गरायो । कम्पनीका अनुसार पाइप लाइन र ड्यामसाइटमा क्षति भएको छ ।” द्वारीखोला हाइड्रोपावरसँगै अन्य दुईवटा आयोजना निर्माण चरणमा भएपनि सुस्त गतिमा छन् । छिटो निर्माण कार्य सकेमा द्वारीखोला आयोजना दैलेख जिल्लामा ठूलो लगानीमा बत्ती बल्ने पहिलो हाइड्रो हुनेछ जसका लागि पावरहाउस, जेनेरेटर र टर्वाइन जडान, सवस्टेसनसम्म पोलहरु गाड्ने काम भइसकेका छन् । चीनबाट पाइप ल्याइएको हो भने भारतमा पावरहाउसमा जोडिने मेसिन ल्याइएको र निर्माणको काम भइरहेको द्वारीखोला हाइड्रोपावर कम्पनीका सञ्चालक समितिका सदस्य मोहनविक्रम कार्कीले बताए । सिभिल निर्माण, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकलको कामसँगसँगै गरेर प्रगति राम्रो देखाएको थियो । कम्पनीले प्रभावित क्षेत्र द्वारी गाविसमा रु एक करोड रकम खर्च गरेर गाउँसम्म मोटरबाटो खनेको छ । कम्पनीले ४० रोपनी जग्गाको रु एक करोड क्षतिपूर्तिसमेत दिइसकेको छ । त्यस्तै, कम्पनीले विद्यालय, पुल, सडक, गोरेटो बाटोका साथै स्थानीयवासीलाई रोजगारीसमेत दिएको छ । रासस

प्रभुको क्रेडिट कार्ड प्रयोगकर्तालाई ‘इन्स्टापे’ र ‘रिवार्ड पोइन्टस्’ सुविधा

काठमाडौं, ५ साउन । प्रभु बैंक लिमिटेडले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुलाई थप सुविधा सहित ‘इन्स्टापे’ र ‘रिवार्ड पोइन्टस्’ नयाँ दुई योजनाहरु सञ्चालनमा ल्याएको छ । इन्स्टापे योजना अन्तर्गत ग्राहकहरुले आफ्नो क्रेडिट कार्डको माध्यमबाट विदेश भ्रमणको विल तिर्न, कलेज तथा स्कुलको फी तिर्न, अस्पतालकोे विल तिर्न, विभिन्न इलेक्ट्रोनिक समानहरु खरिद गर्न, गरगहना खरिद गरी बिल तिर्न, मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् र सो रकमलाइ बढीमा १८ महिना सम्मको मासिक किस्तामा बैंकलाई भुक्तानी गर्न सक्नेछन् । बैंकका अनुसार यो योजना अन्तर्गत उपयोग गरेको रकममा ब्याज लाग्ने छैन तर ग्राहकहरुले तोकिएको सेवा शुल्क भने तिर्नुपर्नेछ । यस योजनामा सहभागी हुन चाहने ग्राहकहरुले कारोवार भएको मितिले ७ दिनभित्र आफुले उपयोग गरेको रकम तिर्न चाहेको किस्ता संख्या उल्लेख गरी निवेदन दिनुपर्नेछ र उक्त निवेदनका आधारमा बैंकले मासिक किस्ता कायम गर्नेछ । यसैगरी अर्को योजना रिवार्ड पोइन्टस् अन्तर्गत ग्राहकहरुले आफ्नो क्रेडिट कार्डको माध्यमबाट समान खरिद गरेमा प्रत्येक २०० रुपैयाँ बराबर १ प्वाइन्ट कायम हुनेछ । यसरी कायम भएको प्वाइन्ट सञ्चित हुँदै जानेछ र ५०० प्वाइन्ट पुगेपछि बैंकले सम्बन्धित ग्राहकको खातामा ५०० रुपैयाँ नगद जम्मा गरिदिने बैंकले जनाएकोे छ । ग्राहकहरुको अधिकतम् हितलाई मध्येनजर गर्दै बैंकले सञ्चालन गर्न लागेको यी दुवै योजनाहरुबाट क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहक महानुभावहरु लाभान्वित हुन्छन् भन्ने बैंकले विश्वास लिएको छ ।

अरनिको डेभलपमेन्ट बैंकको नाफा ५ करोड ८४ लाख, १८ प्रतिशत बोनस सेयर दिन सक्ने

काठमाडौं, ५ साउन । अरनिको डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ५ करोड ८४ लाख रुपैँया खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलानामा बैंकले ८६ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ३ करोड १३ लाख रुपैँया खुद नाफा गरेको थियो । बैंकले गत आर्थिक वर्षको नाफाबाट करिब १८ प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । कम्पनीको चुक्ता पुँजी २५ करोड ७८ लाख रुपैयाँ मात्र छ । पुँजी वृद्धि सम्बन्धि राष्ट्र बैंकको निर्देशनका कारण यस बैंकलाई बोनस सेयर दिनुपर्ने बाध्याता छ । निक्षेप २ अर्ब १ करोड छ भने कर्जा तथा लगानी १ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.९८ प्रतिशत मात्र रहेको छ भने कर्जा निक्षेप अनुपात ७५ प्रतिशत छ ।

एनआईसी एशियाको नाफा १ अर्ब ७ करोड, १८ प्रतिशत बोनस सेयर दिन सक्ने

काठमाडौं, ५ साउन । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्ष १ अर्ब ७ करोड रुपैँया खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलानामा बैंकले ५७ प्रतिशत नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ६८ करोड ३ लाख रुपैँया खुद नाफा गरेको थियो । बैंकले गत आर्थिक वर्षको नाफाबाट करिब १८ प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । कम्पनीको चुक्ता पुँजी ४अर्ब ५७ करोड रुपैयाँ मात्र छ । पुँजी वृद्धि सम्बन्धि राष्ट्र बैंकको निर्देशनका कारण यस बैंकलाई पनि बोनस सेयर दिनुपर्ने बाध्याता छ । यस बैंकले निक्षेप ६९ अर्ब ४८ करोड र कर्जा तथा लगानी ७१ अर्ब ३४ करोड रुपैयाँ परिचालन गरेको छ । बैंकको खराब कर्जा ०.८२ प्रतिशत मात्र रहेको छ भने कर्जा निक्षेप अनुपात ७८ प्रतिशत छ ।

सरकारी कर्मचारीको तलव सार्वजनिक, कार्यकारी प्रधानमन्त्रीको भन्दा सेरेमोनियल राष्ट्रपतिको तलव दोब्बर बढी

काठमाडौं, ४ असार । चालु आर्थिक वर्षको बजेटमा कर्मचारीको तलव २५ प्रतिशतले वृद्धि गर्ने उल्लेख भए अनुसार अर्थ मन्त्रालयले राष्ट्रसेवक कर्मचारीको नयाँ तलवमान सुविधा मंगलबार सार्वजनिक गरेको छ । सरकारी कर्मचारीको तलवका साथै पेन्सन पनि बढेको छ । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलवमान तथा सुविधालाई स्वीकृत गरेपछि अर्थ मन्त्रालयले सार्वजनिक गरेको हो । नयाँ तलवमान अनुसार राष्ट्रपतिको १ लाख ५० हजार ४५०, उपराष्ट्रपतिको १ लाख ८ हजार ३०, प्रधानमन्त्रीको ७७ हजार २८०, उपप्रधानमन्त्रीको ६५ हजार २००, मन्त्रीको ६० हजार ९७०, राज्यमन्त्रीको ५७ हजार ७८० र सहायक मन्त्रीको ५६ हजार ४९० रुपैयाँ पुगेको छ । सरकारको कार्यकारी प्रमुख प्रधानमन्त्रीको भन्दा सेरेमोनियर राष्ट्रपति (सरकारी निर्णयमा सहि मात्र गर्नें)को तलव दोब्बर रहेको छ । यस्तै सभामुखको ६७ हजार ३२०, उपसभामुखको ६० हजार ९७०, साँसदको ५५ हजार २३०, राष्ट्रिय योजना आयोगको उपाध्यक्षको ६० हजार ९७० र सदस्यको ५६ हजार ४९० रुपैयाँ पुगेको छ । यस्तै सर्वोच्च अदालतको प्रधानन्यायधिशको ७३ हजार ६८०, न्यायधिशको ६० हजार ९७० छ । यस्तै निजामति सेवा अन्र्तगत ग्रेड सुविधा समेत गरी मुख्यसचिवको ५८ हजार ८८०, सचिवको ५४ हजार ८४८, सहसचिवको ४९ हजार ५१६, उपसचिवको ४३ हजार ३४८, शाखा अधिकृतको ३८ हजार ६३६ रुपैयाँ पुगेको छ । प्रधानसेनापतिको ५८ हजार ८८०, नेपाल प्रहरी र शसस्त्र पहरी महानिरीक्षकको ५४ हजार ८४८ रुपैयाँ पुगेको छ । सबैको तलव सूचि यस्तो छ ।

बजारमा दिनदिनै नयाँ रेकर्ड, परिसूचक १८०० विन्दुमा, कारोबार रकम २ अर्ब नाघ्यो

काठमाडौं, ४ साउन । नेप्सेले हालै कारोबारको समयावधी थप गरेसँगै सेयर बजारमा पनि दिनदिनै नयाँ नयाँ रेकर्ड बन्दै गएको छ । मंगलबार नेप्से परिसूचक १३ दशमलब ९० अंकले बढेर १८०० दशमलब ४७ अंकमा पुगेको छ । दिउँसो बजार खुल्ना साथ बढेर १८१३ अंकमा पुगेको परिसूचक १८०० अंकमा पुगेर बजार बन्द भएको छ । सो दिन १३९ कम्पनीको २९ लाख २ हजार कित्ता सेयर करिब २ अर्ब १४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी माछापुच्छ्रे बैंकको करिब ३० करोड २५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल बैंकको करिब १० करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनी, नेपाल बङ्गलादेश बैंक, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र एनआइसी एसिया बैंकको करिब ७ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार इन्स्योरेन्स, अन्य र हाइड्रोपावर समूह बाहेक अन्य समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक ४० अंकले बढेको छ । बैंकिङ् र होटल समूहको परिसूचक बराबर ३५ अंकले बढेको छ । त्यस्तै विकास बैंक र फाइनान्स समूहको परिसूचक क्रमशः १५ र ८ अंकले वृद्धि भएको छ । इन्स्योरेन्स, अन्य र हाइड्रोपावर समूह क्रमशः २४०, १७ र ९ अंकले घटेका छन् । सो दिन सबैभन्दा बढी सिद्धार्थ बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । किसान माइक्रोफाइनान्स वित्तिय संस्था र कैलाश विकास बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । त्यस्तै, सबैभन्दा बढी निर्धन उत्थान बैंकका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत गुमाएका छन् ।

अब सबै कर्मचारीसँग करार सम्झौता, पहुँचका भरमा सरुवा नहुने

काठमाडौं, ३ साउन । सरकारले सबै कर्मचारीसँग कार्य सम्पादन करार सम्झौता गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम एंव बजेट कार्यान्वयनका लागि भन्दै आर्थिक वर्षको सुरुमै सबै कर्मचारीसँग करार सम्झौता गर्न लागिएको हो । अब सबै मन्त्रालयहरुले आफ्ना मातहतका कर्मचारीसँग कार्य सम्पादन करार गरेर मात्रै कार्य क्षेत्रमा खटाउने छन् । सोही कार्य सम्पादन करार सम्झौतालाई कर्मचारीको बढुवा लगायतका वृत्ति विकासमा समेत मुल्यंकनको आधार बनाईनेछ । कर्मचारीले आफुले प्राप्त गरेको जिम्मेवारी पुरा नगरेको आरोप लागेपछि सरकारले कार्य सम्पादन सम्झौता अनिवार्य गरेको हो । त्यस्तै, सरकारले एक आर्थिक वर्षभित्र कुनै पनि कर्मचारीको सरुवा नगर्ने निर्णय समेत गरेको छ । कुनै पनि कार्यालयमा खटिएका कर्मचारीको चाँडो चाँडो हुने सरुवाले काम प्रभावित भएको निष्कर्ष निकाल्दै सरकारले एक आर्थिक वर्षसम्म सरुवा नगर्ने निर्णय गरेको हो । यसले विकासे आयोजनाहरुको कामलाई प्रभावकारी ढंगले अघि बढाउन सहयोग गर्नेछ । पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने–‘कर्मचारीलाई काम प्रति जिम्मेवार बनाउने निर्णय साह्रै राम्रो छ, यस्तो निर्णय धेरै पहिले हुनुपथ्र्याे ।’ उनले आफ्ना कार्यकालमै कार्यसम्पादन करार सम्झौता र एक आर्थिक वर्षभित्र सरुवा नगर्ने नीति कार्यान्वयन गर्न खोजेपनि सफलता प्राप्त नगरेको पनि बताए । उनले अब कर्मचारीहरुको काम प्रति जिम्मेवारीपन बढ्ने र मन्त्री तथा पहुँचवालाको दबावमा सरुवा हुने प्रवृत्तिको अन्त्य हुने अपेक्षा समेत व्यक्त गरे । मुख्य सचिव डा. सोमलाल सुवेदीको अध्यक्षमा सोमबार बसेको सरकारका सचिवहरुको बैठकले यस्तो निर्णय गरेको हो । यस अघि सरकारले अघिल्लो आर्थिक वर्षको अन्तिमसम्म विकासे आयोजनाका प्रमुखहरुको सरुवा नगर्ने निर्णय गरेको थियो ।

अग्नि इन्कर्पाेरेटेड अन्तर्गत महिन्द्राको नयाँ शोरुम लगनखेलमा

काठमाडौं, ३ साउन । महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेडले ललितपुरको लगनखेलमा नयाँ शोरुमको उद्घाटन गरेको छ । कम्पनीले ग्राहकहरुका माझ सहज तरिकाले सेवा प्रदान गर्ने उद्देश्यले सोमबार उक्त स्थानमा सो शोरुमको सुरुवात गरेको हो । कम्पनीले टियूभी र इन्ट्री–लेभल एस्यूभी गाडी, केयूभी१००को विक्री वितरण पनि उक्त लगनखेल शोरुम मार्फत गराउने भएको छ । महिन्द्राका शोरुम मार्फत सेवाग्राही समक्ष आफ्ना सेवाहरुको पहुँच सफलता पूर्वक बढाउँदै जाने लक्ष्य लिइको छ । अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको नाम र सेवालाई नेपालीहरु समक्ष सफतापूर्वक पु¥याउँदै आई आफ्ना सेवाहरु सञ्चालन गर्दै आएको छ । यस शोरुमले ग्राहकहरुलाई विश्वस्तरीय ब्राण्ड एक्सपिरियेन्स अनि उत्कृष्ट सेवा प्रस्तुत गर्नेमा कम्पनी विश्वस्त रहको विज्ञप्तिमा उल्लेख छ ।

लघुवित्तका लगानीकर्तालाई फेरी झट्का, गुमाउने १० कम्पनीमध्ये ८ वटा लघुवित्त मात्रै

काठमाडौं, ३ साउन । लघुवित्त कम्पनीका लगानीकर्ताले गुमाउने क्रम सोमबार पनि निरन्तर बनेको छ । बजार ४० दशमलब ८३ अंकले बढेर एक अर्ब ९५ करोडको कारोबार हुँदा पनि लघुवित्त कम्पनीहरुको सेयर मुल्यमा भने निरन्तर गिरावट नै आयो । सोमबार गुमाउने टप १० कम्पनीमध्ये ८ वटा माइक्रोफाइनान्स मात्रै रहेका छन् । सबै भन्दा धेरै नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले प्रति सेयर २७० रुपैयाँ गुमाएका छन् । नेरुडेको सेयर मुल्य घटेर २४३० रुपैंयामा आईपुगेको छ । त्यस्तै, लक्ष्मी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले पनि प्रतिकित्ता ३३५ रुपैंयाँ गुमाएका छन् । यो कम्पनीको सेयर मुल्य घटेर ३०२० रुपैंयाँमा आइपुगेको छ । नेपाल ग्रामिण विकास बैंकको लगानीकर्ताले प्रति कित्ता ७० रुपैंयाँ गुमाउँदा कम्पनीको सेयर मुल्य १०१० मा झरेको छ । त्यस्तै, आइएलएफसीओ माइक्रोफाइनान्सको मुल्य १४५ रुपैंयाँ घटेको छ । यसको सेयर मुल्य १३५० रुपैयाँमा आइपुगेको छ । मिथिला लघुवित्त कम्पनीका लगानीकर्ताले पनि प्रति कित्ता १४५ रुपैयाँ घाटा खाएका छन् । यो कम्पनीको सेयर मुल्य २४२० मा सिमित भएको छ । विजय लघुवित्त कम्पनीको सेयर मुल्य १५०० रुपैंयामा आइपुग्दा लगानी कर्ताले ८४ रुपैंयाँ गुमाउन पुगेका छन् । साना किसान विकास बैंकका लगानीकर्ताले पनि प्रति कित्ता ११८ रुपैयाँ गुमाउनु परेको छ । यो कम्पनीको सेयर मुल्य २१३२ मा सिमित भएको छ । त्यस बाहेक रुरल माइक्रोफाइनान्सको सेयर मुल्य ५० रुपैंयाँले घटेको । यो कम्पनीको सेयरको मुल्य १२०० मा झरेको हो । यस बाहेक सोमबार जलविद्युत लगानी तथा विकास कम्पनी र युनाइटेड फाइनान्स पनि उच्च दरमा गुमाउने कम्पनीको सूचिमा परे । जलविद्युत कम्पनीको सेयर मुल्य २१ रुपैंयाले घटेर ४५५ रुपैयाँ कायम भएको छ भने युनाइटेड फाइनान्सको मुल्य पनि ११६ रुपैयाँले घटेर ४१२ रुपैयाँमा सिमित भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीको चुक्ता पुँजी बढाउने हल्ला चलेपछि सेयर मुल्य आकाशिएको थियो । तर केन्द्रिय बैंकले मौद्रिक नीति मार्फत लघुवित्त कम्पनीको स्प्रेड दर ७ प्रतिशत तोकि दिएपछि बजार ओरालो लाग्न थालेको हो ।