पर्यटन केन्द्र ओझेलमा, ‘रक क्लाइम्बिङ’ को छैन प्रचार
१४ पुस । लमजुङको पर्यटकीय गाउँ पुरानोकोट गाविसका बासिन्दा गाउँलाई साहसिक पर्यटनको केन्द्र बनाउन लागिपरे पनि पर्यटक तान्न भने सकेका छैनन् । ऐतिहासिक पुरातात्विक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण पुरानोकोटमा विदेशी पर्यटकलाई समेत लोभ्याउन साहसिक पर्यटनको विकास गर्न गाउँलेहरू कस्सिए पनि उचित प्रचारप्रसार तथा स्थानको प्रवद्र्धन हुन नसक्दा पर्यटकहरूको आकर्षण हुन नसकेको हो । पुरानकोटामा डोरीको सहायताले पहरामा चढ्ने र झर्ने अर्थात रक क्लाइम्बिङका लागि उपयुक्त स्थान छनोट गरी आवश्यक जनशक्तिसमेत उत्पादन गरिएको छ । अमेरिकी नागरिक टाइलटले रक क्लाइम्बिङका लागि आवश्यक डोरी, जुत्तालगायतका सामग्री पनि उपलब्ध गराएका थिए । डेढ सय मिटर अग्लो पहरोलाई रक क्लाइम्बिङका लागि तयार पारीएको छ । गाउँका धेरै युवाहरूले यससम्बन्धी प्रशिक्षण लिए पनि ३ जना युवाहरू दक्ष भएर निस्केका छन् । तर यससम्बन्धी प्रशिक्षण लिएर दक्ष बनिसक्दा पनि यसको प्रमाण पत्र दिने निकाय नेपालमा नभएकाले समस्या परेको बताइएको छ । रक क्लाइमिङबाट साहसिक पर्यटकहरू आउने अपेक्षा गरिए पनि त्यसअनुरुप पर्यटक भित्राउन नसकिएको पुरानोकोट ग्रामीण पर्यटन विकास बोर्डका अध्यक्ष ऋषिकान्त खनालले बताए । लमजुङ जिल्लाको पर्यटन गुरुयोजनामा पुरानकोटको रक क्लाइमिङ र ताघ्रिङ स्याँगेको क्यानोनिङलाई साहसिक पर्यटनभित्र राखे पनि उचित प्रचार प्रसार हुन सकेको छैन् । जसका कारण पुरानकोटको रक क्लाइमिङ र ताघ्रिङको क्यानोनिङ साहसिक खेल पर्यटनको राम्रो सम्भावना बोक्दा बोक्दै पनि पर्यटक आकर्षित गर्न सकेको छैन । साहसिक खेल पर्यटनका लागि जिल्लाले विभिन्न समयमा कार्यक्रम नै आयोजना गरेर स्थानको परिचय तथा प्रर्वद्धन गर्नुपर्ने सरोकारवालाहरू बताउँछन । बेसीशहरबाट निकै नजिकै रहेको र पर्यटकीय सम्भावना राम्रो भएको पुरानोकोटलाई विकास गर्न पुरानकोटबासीले राजनीतिक दल तथा सम्बन्धित निकायसँग पनि आग्रह गरेका छन् । तर पर्यटन विकासका लागि जिल्लाले पर्याप्त मात्रामा रकम विनियोजन गर्न सकेको छैन । पर्यटन क्षेत्रका लागि विनियोजन गरिएको रकम महोत्सव तथा सांस्कृतिक कार्यक्रम गरेर सक्ने प्रचलन रहेको पर्यटनकर्मीहरूले बताएका छन् । पुरानकोटमा च्वाइस नेपालको सहयोगमा एक अमेरिकी नागरिक झिकाइ गाउँका केही युवाहरुलाई ‘रक क्लाइम्बिङ’ को प्रशिक्षण दिइएको थियो । पुरानोकोटको तारे भित्ता भन्ने भीरलाई ‘रक क्लाइम्बिङ’ को लागि छनोट गरिएको छ । सोही भीरमा अमेरिकी नागरिक टाइलटले ६ महिनासम्म स्थानीय युवाहरुलाई प्रशिक्षण दिएका थिए । पुरानकोटको तारेभिरको उचित प्रचार प्रसार तथा प्रर्वद्धन गर्न सके सहासिक खेलका लागि स्वदेशी तथा विदेशी पर्यटकहरु भित्राउन सकिने गाउँलेहरूको धारणा छ । बेसीसहरमा बसेर पर्यटनको गफ चुट्ने होटल ब्यबसायीहरूले पनि पुरानकोटको रक क्लाइमिङको प्याकेज बनाएर गाउँमा पर्यटक पठाउन नसकेको गाउँलेहरूले गुनासो गरेका छन् ।
दरबार मार्गको नाङलो रेष्टुरेन्ट बन्द
६ पुस । दरबार मार्गको नाङलो रेष्टुरेन्ट बन्द भएको छ । नाङ्लो प्रा.लि ले आईतबार सूचना प्रकाशित गरी पुस ६ गतेदेखि नै रेष्टुरेन्ट बन्द गरेको जनाएको छ । ‘दुभाग्यभस प्रतिकूल बातावरणका कारण आजैको मितिदेखि हामीले हाम्रो सेवाबाट अवकाश लिएको घोषणा गर्दछौं’ कम्पनीले जनाएको छ । के कति कारणले व्यवसाय गर्न प्रतिकूल बातावरण भयो भन्नेबारे सूचना उल्लेख गरिएको छैन । केहि समय पहिले नाङलोका प्रबन्ध निर्देशक गोपालसुन्दर कक्षपतिले विदेशमा समेत शाखा विस्तार गर्ने तयारी गरिरहेको बताएका थिए । सन १९७६ मा एक लाख रुपैंयाँको लगानीबाट सुरु गरिएको नाङलो र यसका सिस्टर कम्पनी द वेकरी क्याफेका देशभर १८ शाखा विस्तार भैसकेका छन् भने करोडौंको लगानी रहेको छ । नाङलोमा हाल करिब पाँच सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने झण्डै ५० जना अपाङगहरुले समेत काम गरिरहेका छन् । नाङलोले सार्वजनिक गरेको सुचना अनुसार केहि समय भित्रै उपभोक्ताहरुको चाहनालाई ख्याल गर्दै पुनः सञ्चालनमा आउने समेत उल्लेख छ । कम्पनीले आफ्ना ग्राहक, कर्मचारी, जग्गाको मालिक, व्यवसायका पार्टनर, बैकर्स, आपूर्तिकर्ता सबैलाई धन्यवाद दिएको छ ।नेपालमा रेष्टुरेन्ट व्यवसायलाई प्रवेश गराउनेदेखि लामो समय यो क्षेत्रको रोलमोडल रेष्टुरेन्ट रुपमा चल्दै आएको थियो ।
यस्तो बन्दैछ शेष घलेको शेराटन होटल
२२ मंसिर । नेपाल मूलका अस्ट्रेलियन धनाढ्य एवं गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले अक्टुवर ११ तारिखका दिन शेराटन होटल निर्माण आरम्भ गरे । उनले प्रधानमन्त्री सुशील कोइरालाका हातबाट होटलको शिलान्यास गराएका थिए । गैरआवासीय नेपालीहरू चाडबाड मान्न नेपाल आउँछन् र लगानी गर्ने गफ लगाएर फेरि विदेश फर्कन्छन भन्ने आरोपलाई चिर्दै घलेले आठ अर्ब लगानीको मेगा प्रोजेक्टका रूपमा शेराटन होटल निर्माण आरम्भ गरेका थिए । एमआईटी ग्रुप होल्डिङ्सका मालिक घलेले झन्डै चार वर्षको तयारीपछि ‘शेराटन काठमाडौं होटल’ को निर्माण कार्य आरम्भ गरेको बताएका थिए । के के छन् त शेराटन होटलमा ? पाँचतारे लक्जरी होटल शेराटन काठमाडांैमा २ सय १८ वटा गेस्टरुम र सुइट रहने छन् । हेल्थ क्लब, स्पा, वातानुकूलित स्विमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधा उपलब्ध हुनेछन् । होटलभित्रै रिटेल सपिङ सुविधाका साथै स्थानीय र अन्तर्राष्ट्रिय स्वादका खानाको आनन्द लिन सकिने छ । विवाह तथा सभा समारोहका लागि करिब एक हजार सिट क्षमताको सभाकक्ष हुनेछ, जुन काठमाडौंमा हालसम्म उपलब्धमध्ये सवैभन्दा ठूलो हुने छ । यसबाहेक थप दुईवटा सभाकक्ष, तीनवटा मिटिङ रुम र बोर्ड रुम पनि रहनेछन् । भवन निर्माणमा आधुनिक ‘पोस्ट टेन्सन्ड कंक्रिट’ को प्रयोग भइरहेको छ । काठमाडौंमै पहिलोपटक प्रयोग गर्न लागिएको यो प्रविधिले भवनलाई बलियो र सुरक्षित बनाउने छ । रोजगारीको अवसर होटल निर्माणका क्रममा करिब ५० हजारले प्रत्यक्ष रोजगारी पाउने छन् भने होटल सञ्चालनपछि ४ सय ५० जना दक्ष जनशक्तिले रोजगारी पाउनेछन् । के हो शेराटन होटल ? विश्वकै अग्रणी होटल म्यानेजमेन्ट कम्पनी ‘स्टारवुड होटल र एन्ड रिसोर्ट वल्र्डवाइड इंक’ ले सञ्चालन गर्ने विभिन्न होटल ब्रान्डमध्ये शेराटन पनि एक हो । शेराटन ब्रान्डमा विश्वका करिब ७० मुलुकमा ४ सय होटल सञ्चालन भइरहेका छन् । स्टारवुडले शेराटनबाहेक सेन्ट रेगिस, द लक्जरी कलेक्सन, डब्ल्यु, वेस्टिन, लि मेरिडियन, शेराटन, फोर पोइन्ट्स वाई शेराटन, अलोफ्ट र इलेमेन्ट ब्रान्डमा विश्वका झन्डै एक सय मुलुकमा होटल सञ्चालन गरिरहेको छ । यी होटलहरुमा करिब १ लाख ८१ हजार ४ सय कर्मचारी कार्यरत छन् । कसरी जुट्दैछ लगानी ? करिब ८ अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको होटलमा सतप्रतिशत वैदेशिक (अस्ट्रेलियन) लगानी रहेको छ । होटलको प्रवद्र्धक अस्ट्रेलियाको एमआईटी ग्रुप होल्डिङ्स रहेको छ भने व्यवस्थापन तथा सञ्चालन सिंगापुरको स्टारवुड ग्रुपले गर्नेछ । कान्तिपथस्थित केशरमहलसँगै रहेको करिब १४ रोपनी क्षेत्रफलमा होटल निर्माण हुनेछ । १७ तलाको होटलमा दुई तला पार्किङ, बेसमेन्ट, लबीसहित १३ वटा तलामा गेस्टरुम हुनेछन् । सन् २०१७ को अन्त्यसम्ममा निर्माण सम्पन्न गरी सन् २०१८ फेब्रुअरी महिनाबाट होटल सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको छ । अन्तराष्ट्रिय स्तरको प्रतिष्ठित शेराटन होटल नेपाल आउनु मुलुकको पर्यटन उद्योग र समग्र आर्थिक विकासमा समेत महत्वपूर्ण उपलब्धि सावित हुने अनुमान गरिएको छ । यो नै मुलुकको सेवा क्षेत्रमा आएको सवैभन्दा ठूलो प्रत्यक्ष बैदेशिक लगानी हो । के हो एमआईटी ग्रुप होल्डिङ ? एमआईटी ग्रुप होल्डिङ गैरआवासीय नेपाली शेष घले र जमुना गुरुङद्वारा प्रवद्र्धित अस्ट्रेलियाको मेलवर्नमा मुख्यालय रहेको कम्पनी हो । यसले शिक्षा र रियलस्टेट क्षेत्रमा काम गरिरहेको छ । एमआईटीको लगानीमा मेलवर्न र सिड्नीमा ‘मेलवर्न इन्टिच्यूट अफ टेक्नोलोजी’ कलेज सञ्चालन गरिरहेको छ । त्यहाँ करिब ३ हजारभन्दा धेरै अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत छन् । एमआईटी ग्रुपले पोपर्टी म्यानेजमेन्टको काम पनि गरिरहेको छ । एमआईटीसँग मेलवर्न र सिड्नीका मुख्य स्थानमा रहेका विभिन्न व्यावसायिक भवनहरुको स्वामित्व छ ।