बैंकमा जागिर खोज्नेलाई राम्रो अवसर, सिटिजन्स बैंकले माग्यो कर्मचारी

काठमाडौं । बैंकका जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । सिटिजन्स बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले अफिसमा लागि ११ पदका लागि कर्मचारी माग गरेको हो । बैंकले एक सूचना प्रकाशित गर्दै क्लस्टर हेडदेखि आईटी सपोर्ट लगायतका अन्य पदमा कर्मचारी माग गरेको छ । बैंकले क्लस्टर हेडमा सिनियर अफिसर र एसिस्टेन्ट म्यानेजर पदका लागि कर्मचारीको माग गरेको छ । सिनियर अफिसर पदका निमित्त ८ र एसिस्टेन्ट म्यानजर पदका लागि १० वर्षको अनुभव हुनुपर्नेछ । यस्तै कानुन विभाग अन्तर्गत पनि क्लस्टर हेडको झैं पद र अनुभवसहित आवेदन आह्वान गरिएको छ । बैंकले जुनियर अफिसर, अफिसर र सिनियर अफिसर पदमा शाखा प्रबन्धकको माग पनि गरेको छ । जुनियर अफिसरका लागि ५ वर्ष र अफिसरका लागि ७ वर्ष अनुभव हुनुपर्ने सुचनामा खुलाइएको छ । साथै, बैंकले केही रिलेसनसिप अफिसर र चार्टर्ड एकाउन्टेन्टलाई जागिर दिने भएको छ । डिजिटल बैंकिङ इकाइतर्फ ग्राहक अनुभव इकाइमा सिनियर अफिसर, अफिसर, जुनियर अफिसर र सुपरभाइजर पदमा जागिर खुलेको छ । सुपरभाइजर पदमा आवेदन दिन ३ वर्षको अनुभव हुनुपर्नेछ । साथै, केही डेभलपरलाई पनि बैंकले जागिर दिँदैछ । बैंकले आईटी विभागमा आईटी एमआईएस इकाइ र आईटी सपोर्टमा केही कर्मचारी राख्ने जानकारी दिएको छ । ईच्छुक उम्मेदवारले मंसिर १५ गते बैंकको वेवासाईट मार्फत आवेदन दिन सक्नेछन् ।

बर्सेनि ५ लाख रोजगारीको अवसर सिर्जना नगरेसम्म वैदेशिक रोजगारीको बाध्यता कायम रहन्छ : श्रममन्त्री

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बर्सेनि ५ लाख रोजगारीको अवसर सिर्जना गर्न नसकेसम्म वैदेशिक रोजागरीको बाध्यता कायम रहने बताएका छन् । सोमबार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले हरेक वर्ष नेपालमा ५ लाख मानिस श्रम बजारमा आउने र त्यसमध्ये १ लाख मानिसले मात्रै रोजगारी पाउने गरेको बताए । बाँकी ४ लाख मानिसलाई रोजगारी दिन नसकेसम्म वैदेशिक रोजगारीमा जाने मानिसहरुको संख्यामा कमी नहुने जानकारी दिए । उनले बर्सेनि सरकारले रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताए । अवसर सिर्जना गर्नको निम्ति मुलुकको समष्टिगत राजनीतिक परिस्थितिदेखि सबैकुरा अनुकुल बनिरहेको बताए । वर्तमान सरकार सरकार बनाउनका लागि मात्रै नभइ काम गर्नका लागि बनेको बताए । सरकारलाई असफल हुने छुट नरहेको जानकारी दिए । ‘कहिले अवसरका खोजि भन्छौँ, जे भनेपनि सत्य कुरा के हो भने यो मुलुकमा हरेक वर्ष ५ लाख मानिस श्रम बजारमा आउँछन्, १ लाख मानिसले यो मुलुकको श्रम बजारमा रोजगारी पाउँछन् । ४ लाख मानिस बेरोजगार छन्’, उनले भने । श्रममन्त्री भण्डारीले मुलुकभित्रका रोजगारका सम्भावनालाई हेर्ने आन्तरिक रोजगार महाशाखा बनाउन लागेको जानकारी दिए ।

परिश्रम गर्ने युवालाई दैशमै अवसर, अकबरे खुर्सानी बेचेर ६ महिनामै १० लाख आम्दानी

ढोरपाटन । बागलुङको गलकोट नगरपालिका–२ आरुखर्कका २८ वर्षीय महादेव कार्की १४ वर्षको उमेरमा चितवन झरे । बसाइँसराइगरी परिवारसहित चितवन झरेका कार्की १० वर्षपछि गाउँ फर्किएर व्यावसायिक अकबरे खुर्सानीको खेतीमा लागेका छन् । पाँच वर्ष अगाडि गाउँ फर्किएर सुरुमा कुखुरापालन गरेका कार्की व्यवसाय राम्रो नभएपछि बाख्रापालनमा लागेका थिए । उनी बाख्रापालनसँगै गत वैशाखदेखि अकबरेखेतीमा लागेका हुन् । कार्कीले अकबरेखेतीमा राम्रो आम्दानी देखेपछि अहिले यसको खेतीतर्फ जोड दिएका छन् । वैशाखमा लगाएका अकबरेका बिरुवाले अहिले फल दिएपछि कार्कीको खुर्सानीबारी राताम्यै बनेका छन् । छ महिनामै १० लाख रुपैयाँको अकबरे बिक्री गरेकाका कार्की खेती विस्तार गर्ने योजनामा छन् । बढ्दो बसाइँसराइ र युवाको विदेश मोहले गर्दा अहिले गाउँका खेतीयोग्य जमिन बाँझोमा परिणत भएका छन् । बसाइँसराइ गरेर गएको १० वर्षपछि फर्किएर व्यवसाय थालेका कार्कीले गाउँमा ठूलो सम्भावना देख्छन् । अहिले उनले गाउँका बाँझो जमिनलाई उत्पादनसँग जोड्न थालेका छन् । अकबरेको मागसमेत बढेको हुँदा उत्पादन बढाउनुपर्ने दबाबमा कार्की छन् । करिब १० रोपनी क्षेत्रफलमा करिब छ हजार अकबरेका बिरुवा सप्रिएर फल दिएपछि उनी बिहानदेखि साँझसम्मै बारीमा व्यस्त छन् । करिब तीन लाख रुपैयाँ लगानी गरेर सुरु गरेको खुर्सानी खेतीबाट यो याममा २० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहे पनि सुरुआती चरण भएको हुँदा सोचेअनुसार नभएको कार्कीले बताए । प्रतिकिलो दुई सय रुपैयाँमा करिब पाँच हजार किलो अकबरे बिक्री गरिसकेको उनको भनाइ छ । अझै केहीमात्रामा खुर्सानी टिप्न बाँकी रहेको उनी बताउछन् । अकबरेको बजारका लागि कुनै समस्या नभएको भन्दै अहिले बागलुङसहित चितवन पठाउने गरेको कार्कीले बताए । चितवनमा बुबाआमा रहेको हुँदा उनीहरुले बिक्री गर्ने गरेको कार्की बताउँछन् । ‘हाम्रो परिवारले धेरै वर्ष अगाडि चितवन बसाइँसराइ गरेको थियो, म पनि धेरै वर्ष उतै बसेँ, पछि गाउँ धेरै सम्भावना देखेर आएको हुँ, सुरुमा कुखुरापालन गरियो, राम्रो भएन, पछि बाख्रापालन थाले राम्रो हुँदै गयो, अहिले अकबरेलाई जोड दिएको छु, यसबाट धेरै राम्रो भयो’, कार्कीले भने, ‘सुरुमा धेरै सोच भएन, अलि धेरै आम्दानी गर्न सकिन्छ कि भन्ने लागेको थियो, त्यो हुन सकेन, विस्तारै ज्ञान हुँदै गएको छ, अर्को वर्षबाट राम्रो हुने आशा गरेको छु, गाउँमा जग्गा जति पनि छ, मान्छेहरु कोही बजार झरेका छन्, कोही विदेश गएका छन् ।’ कार्कीलाई उनकी श्रीमती सन्दीपाले साथ दिँदै आएका छन् । चार वर्षदेखि बाख्रापालन गर्दै आएकी कार्कीले यसबाट पनि राम्रो आम्दानी गर्दै आएकी छन् । अब अकबरे खेतीलाई नै बढी समय दिने उनको भनाइ छ । हाल उनको बाख्रा फार्ममा ६० खसीबोका छन् । बढ्दो बसाइँसराइले गाउँ रित्तिएपछि सुनसान बन्दै गएको छ । गाउँमा व्यवसाय गरेर अरुलाई पनि यहाँ धेरै सम्भावना रहेको देखाउनेगरी काम गर्ने कार्की बताउँछिन् । नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले पछिल्लो समय गाउँमा बस्नेको सङ्ख्या घट्दै गएपछि पालिकाले युवालाई उद्यमसँग जोड्नेगरी काम गर्न थालेको बताउँछन् । कार्कीले सिँचाइका लागि पाइप माग गरेको हुँदा केही समयमै उपलब्ध गराउने उनको भनाइ छ । कार्कीलाई आवश्यक कृषि अनुदानका साथै आवश्यक प्राविधिक सहयोग पनि गर्दै जाने प्रवक्ता भण्डारीले बताए । खुर्सानीखेती पहिलो पटक गर्न लागेको हुँदा बजारलगायत अन्य समस्या परे नगरपालिकाले सहजीकरण गर्ने उनी बताउँछन् । प्रवक्ता भण्डारीले भने, ‘नगरपालिकाले व्यावसायिक रुपमा कृषि गर्ने किसानलाई प्रोत्साहनका लागि अनुदानसहित प्राविधिक सहयोग गर्दै आएका छौँ, गलकोटमा नयाँ व्यवसायी थपिनु हाम्रा लागि राम्रो पक्ष हो, यस्ता पौरख गर्ने किसानलाई नगरपालिकाबाट सक्दो सहयोग हुन्छ, उनीहरुलाई प्रेरित हुनेगरी काम गर्नेमा हामी प्रतिबद्ध छौँ ।’ रासस