कृषि विकास बैंकको अध्यक्षमा डिम पौडेल नियुक्त

काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन् । अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेका उनलाई बुधबार बसेको समितिको बैठकले अध्यक्षमा नियुक्त गरेको हो । नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक समेत रहेका पौडेलसँग निजी क्षेत्रका राष्ट्रिय तथा बहु राष्ट्रिय कम्पनीमा नेतृत्व गरेको अनुभव छ ।  त्यस्तै उनले चितवन मेडिकल कलेज र नेपाल क्यान्सर अस्पताल जस्ता संस्थाको सफल नेतृत्व गरिसकेका छन् । उनी बैंकको अध्यक्षमा नियुक्त भइसकेपनि नेपाल राष्ट्र बैंकका गभर्नरबाट सपथ लिन भने बाँकी रहेको छ ।

धितोपत्र बोर्डको सञ्चालकमा हेमराज ढकाल नियुक्त

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालकमा व्यवसायी हेमराज ढकाल नियुक्त भएका छन् । निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकाल बोर्डमा प्रवेश गरेका हुन् । यसअघि उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठ निजी क्षेत्रको प्रतिनिधित्व गर्दै बोर्ड सञ्चालक बनेका थिए । तर व्यक्तिगत कारण देखाउँदै उनले राजीनामा दिएपछि पद रिक्त रह्यो । सो पदमा महासंघले ढकाललाई पठाउने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक ढकाललाई बुधबार बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ गराए । उद्योग–व्यवसायमा चार दशकभन्दा बढी समय बिताएका ढकाल नेपालको वित्तीय क्षेत्रमा पनि तीन दशकदेखि सक्रिय छन् । उनी हेरिटेज ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष हुन्, जसअन्तर्गत हेरिटेज कार्पेट, हेरिटेज म्याट्रेस, हेरिटेज टी, व्यापारलगायत दर्जनभन्दा बढी कम्पनी सञ्चालनमा छन् ।

सशस्त्र प्रहरीमा ७७ जना अधिकृतको बढुवा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेको ७७ पदमा बढुवा सिफारिस गरिएको छ । रिक्त पदमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा ६, सशस्त्र प्रहरी उपरीक्षकमा २२, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकमा एक र सशस्त्र प्रहरी नायब उपरीक्षकमा ४८ जनालाई बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता कालिदास धौवजीले जानकारी दिए । ज्येष्ठता, व्यावसायिक क्षमता तथा कार्यसम्पादन मूल्याङ्कनलगायतलाई प्राथमिकतामा राखी रिक्त पदमा बढुवा गरिएको र यसले सङ्गठनको वृत्तिविकास, सुरक्षा फौजको मनोबलमा हौसला वृद्धि हुने विश्वास गरिएको उनले बताए ।   सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिसमा दोस्रो ब्याचको पहिलो चरणमा सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएकाहरु छन्भने उपरीक्षकमा बढुवा सिफारिस भएकाहरु तेस्रो ब्याच, सोही ब्याचका वैकल्पिक समूहमा परेका तथा चौथो ब्याचबाट ज्येष्ठता, व्यावसायिक क्षमता तथा कार्य सम्पादन मूल्याङ्कनलाई समेत आधार मानेर गरिएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस भएका अधिकृतहरु नवौँ ब्याचका छ्न् । मुख्यालयले बढुवा हुनका लागि असार ३२ गते सूचना जारी गर्दै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी नायब उपरीक्षकमा १५ दिनभित्र बढुवा फाराम भरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको थियो । बढुवा मूल्याङ्कन फारामका लागि योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक प्रमाणपत्रहरुको प्रतिलिपिहरु संलग्न गरी बढुवा समितिको सचिवालयमा पेस गर्न भनिएको थियो ।