कतार प्रहरीकाे कुनै माग आएको छैन, प्रलोभनमा नपर्नु: वैदेशिक रोजगार विभाग
काठमाडौं । वैदेशिक रोजगार विभागले कतार प्रहरीको रोजगारीमा कुनै माग नआएको जनाएको छ । विभागले सोमबार एक सूचना जारी गर्दै कतार रोजगारीमा पठाईदिने भन्दै पैसा मागी प्रलोभवमा पार्नसक्ने भन्दै सचेत हुन आग्रह गरेको छ । विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘वैदेशिक रोजगारीको गन्तव्य देशको रुपमा रहेको कतारमा नेपाली कामदार पठाउने काम निरन्तर चलिरहेको छ । तर हालसम्म कतार प्रहरीका लागि कुनै माग (डिमाण्ड) आएको छैन । कतारस्थित नेपाली दुतावास मागपत्र प्रमाणीकरण भएको छैन । विभागले समेत कतार प्रहरीको रोजगारीका लागि पूर्वस्वीकृति दिएको छैन ।’ विभागले पछिल्लो समय कतार प्रहरीमा पठाइदिने भनेर विभिन्न म्यानपावरहरुले श्रमिकबाट पासपोर्ट सकंलन गर्ने, अन्तरवार्ता लिने, पैसा माग्ने लगायतका अवैधानिक कार्यहरु गरिरहेको भन्दै त्यसबाट बच्न समेत आग्रह गरेको छ । कुन कन गन्तव्य मुलुकमा के कस्तो कामको लागि कति संख्यामा कामदारको माग भई आएको छ, कुन कुन इजाजत्रपत्रवाला संस्थाले विभागबाट पूर्व स्वीकृति प्राप्त गरेको छन्, अन्तरवार्ताको मिति तथा स्थान लगायतका विवरण विभागको वेबसाइटमा राखिने गरिएको भन्दै सूचना अनुसार सम्भावित ठगीबाट बच्न विभागले आग्रह गरेको छ । यसअघि कतार प्रहरीको रोजगारीका लागि भन्दै अन्तरवार्ता लिने विभिन्न कम्पनीमा विभागले छापा समेत मारेको थियो । रोजगारीको माग प्रमाणीकरण नहुँदै म्यानपावर कम्पनीहरुले आन्तरिक अन्तवार्ता लिने, ठूलो रकम माग्ने, पासपोर्ट संकलन गर्न थालेपछि विभागले प्रलोभनमा नपर्न आग्रह गरेको हो ।
दक्षिण कोरियामा राहदानीको अवधि नभए प्रवेशाज्ञा नथपिने
काठमाडाैं । दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ । यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै यहाँस्थित नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका बारेमा जानकारी गराएको हो । सूचनामा प्रवेशाज्ञा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने बताइएको छ । न्याय मन्त्रालयको पत्रानुसार नेपाली राजदूतावासले पनि एक सूचना जारी गर्दै यहाँ रहेका नेपालीहरूलाई उक्त कुरा जानकारी गराएको छ । विशेषगरी इपिएस माध्यमद्वारा इ नाइन भिसामा आउने नेपाली श्रमिकको शुरुमा तीन वर्षको सम्झौता हुन्छ भने बाँकी एक वर्ष १० महिना प्रवेशाज्ञा थपिने हुन्छ तर अबको नयाँ नियमानुसार राहदानीको अवधि नभएमा प्रवेशाज्ञा नथपिने भएको हो । यो नियम आगामी जुलाई १ तारिखदेखि लागु हुँदैछ । कोरियामा एफ फाइभ, एफ टु फोर, जी वान सिक्स भिसाबाहेक अन्य भिसावाहक विदेशी नागरिकको भिसा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने छ । विविध कारण तत्काल राहदानी नवीकरण गर्ने अवस्था नभएमा कारण हेरेर आगामी डिसेम्बरसम्म मात्र भिसा थप हुन सक्ने पनि बताइएको छ । सन् २०२० मा मात्र १६ हजार १३० विदेशी नागरिकको राहदानीको अवधि सकिएको तर उनीहरूले राहदानी नवीकरण नगरेको सूचना सार्वजनिक भएको छ । यो नियम लागु भएपछि दक्षिण कोरियामा रहेका विदेशीहरुलाई उचित व्यवस्थापन गर्न सहज हुने न्याय मन्त्रालयको विश्वास छ । विदेशीले आफ्नो राहदानी नवीकरण भइसकेपछि १५ दिनभित्र नजिकैको अध्यागमनमा दर्ता गरेमा कुनै जरिवाना नलाग्नेसमेत बताइएको छ । रासस
बैशाखदेखि नेपाली श्रमिकको अनिवार्य बायोमेट्रिक परीक्षण हुने
काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश जाने नेपाली श्रमिकले अनिवार्य रुपमा बायोमेट्रिक परीक्षण गर्नुपर्ने भएको छ । वैदेशिक रोजगार विभागले पछिल्लो समय वैदेशिक राजेगारीको लागि अभिमुखीकरण तालिम दिने संस्थाले तालिम नै नदिई प्रमाणपत्र जारी गरेपछि बायोमेट्रिक परीक्षणलाई अनिवार्य गर्न लागिएको हो । विभागले बुधबार एक सूचना प्रकाशन गर्दै उक्त नियम आगामी बैशाख १ गतेबाट लागु हुने जनाएको छ । सूचना अनुसार बायोमेट्रिक हाजिरी परीक्षण नमिल्ने श्रमिकलाई अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षबाट फर्काइनेछ । वैदेशिक रोजगार ऐन, २०६४ को दफा (२७) र वैदेशिक रोजगार नियमावली २०६४ उपनियम (२०) मा वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगारमा जानु पूर्व तोकिए बमोजिमको अभिमुखीकरण तालिम लिनुपर्ने स्पष्ट व्यवस्था रहेको छ । उक्त व्यवस्था अनुसार अभिमुखीकरण तालिम दिने संस्थाले तोकिएको समयमा सम्बन्धित व्यक्तिको बायोमेट्रिक हाजिरी गराई वैदेशिक रोजगार वोर्डबाट स्वीकृति लिएको हुनपर्छ । विभागले नक्कली बायोमेट्रिकको प्रयोग हुँदा इन्स्योरेन्स तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट बञ्चित हुनसक्ने, बायोमेट्रिक नमिल्दा विदेशबाट पूनः श्रम स्वीकृती प्राप्त गर्न कठिन हुन सक्ने जनाएको छ ।